ऐतिहासिक दरबारका बिरुप कथा : खण्डहरमा परिणत भएको वर्षौं बित्दा पनि ऐतिहासिक दरबारहरूको पुनर्निर्माणमा किन चासो दिइँदैन ?

नक्सालस्थित सीता निवास रहेको नक्सालस्थित बालमन्दिरमा एक सय १० बालबालिकाका जीर्ण भवनमा बस्न बाध्य छन्। भूकम्पका कारण जीर्ण भएको यो भवन नवजात शिशुलाई राख्न सकस परेको छ। कतिबेला भत्किने हो भन्ने त्रास छ। ‘जीर्ण भवन कुन बेला के हुने हो थाहा छैन, त्यस्तो भवनमा नवजात शिशु राख्नु भनिरहेको छ’, नेपाल बाल संगठनका महासचिव गणेशभक्त श्रेष्ठ भन्छन्, ‘चार वर्षदेखि जोखिमपूर्णरूपमा त्यस्तो भवनमा बालबालिका राखिरहेका छौं।’ नवजात शिशु कक्षा कोठामा तापक्रम सन्तुलित नहुँदा बिरामी हुने गरेका उनको भनाइ छ।

‘भुइँचालोपछि बालमन्दिरका नवजात शिशुलाई प्रिफ्याव भवनमा राखिएको छ’, उनले भने, ‘सो भवनमा तापक्रम सन्तुलित नहुँदा बिरामी पर्ने जोखिम पनि त्यत्तिकै हुन्छ।’ सरकारले पुनर्निर्माणका लागि नक्सालस्थित बालमन्दिरलाई पहिलो प्राथमिकतामा राखे पनि पुनर्निर्माणले भने गति लिन सकेको छैन। बालमन्दिरलाई दिइँदै आएको रकममा यसपटक सरकारले ६० प्रतिशत कटौती गरेकाले झन् मार थपिएको बाल संगठनका सञ्चालक महासचिव श्रेष्ठले बताए। पुनर्निर्माणका लागि तत्काल छाड्न निर्देशन आएपछि अझै कन्तविजोग भएको उनले बताए। ‘अब नाबालक शिशु लिएर कहाँ जाने ? ’, उनले भने। तत्कालीन श्री ३ महाराज भीमशमशेर राणाले कान्छी महारानीका नाममा त्यो दरबार (सीता निवास) बनाइदिएका हुन्। यही भवनमा ललितकला प्रज्ञा प्रतिष्ठानसमेत छ।



ललितपुरको पुल्चोकस्राणाकालीन दरबार हरिहर भवनमा तीन कार्यालय थिए- राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय पुस्तकालय र कर्मचारी किताबखाना। यसै पनि जीर्ण रहेको यो दरबार २०७२ को भूकम्पले थिलथिलो भएपछि त्यहाँ रहेका ती कार्यालय सरेका छन्। त्यसको कम्पाउन्डभित्र मन्त्रीनिवास बनाइएको छ।

मानव अधिकार आयोग र किताबखाना अगाडि टहरामा सारिएको छ भने पुस्तकालयका पाठ्यपुस्तक लथालिंग अवस्थामा छन्। मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराई भवन भूकम्पले बस्ने नसक्ने बनाएपछि सेवा प्रवाहमा असर परेको बताउँछन्। अन्य सबै संवैधानिक आयोगका आफ्नै भवन भए पनि मानव अधिकार आयोग भने टहरामा सञ्चालन भइरहेको छ। देशमा मानव अधिकारको अवस्थालाई यसैले इंगित गर्छ। अहिले पुनर्निर्माण गर्ने भनेर आयोग रहेका टहरासमेत छाड्न निर्देशन दिइएको छ।

किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जीर्ण हरिहर भवनको छेउमा जोखिमपूर्ण टहरामा बस्नुपरेको बताउँछन्। ‘भवनको छेउ गइरहनुपर्छ, कतिबेला दुर्घटनामा परिन्छ भन्ने डर छ’, उनले भने, ‘दिनहुँजसो ठूलो संख्यामा कार्यरत र सेवानिवृत कर्मचारी आइरहन्छन्, उनीहरू भवनछेउ पुगेर त्रसित हुने गर्छन्।’ राष्ट्रिय पुस्तकालयको कन्तविजोग छ। ऐतिहासिक पुस्तक जताजतै छरपस्ट छन्। यसतर्फ कसैको ध्यान पुगेको छैन।

हरिहरभवन चन्द्रशमशेरले बनाएका हुन्। यो भवन चन्द्रशमशेरले आफ्नी कान्छी रानी बालकुमारी देवीतर्फका छोरा शंकरशमशेरलाई दिएका थिए। जसलाई ‘ज्ञानी हजुर’ पनि भन्दथे। १९८६ सालमा चन्द्रशमशेरको मृत्युपछि शंकरशमशेर ‘ज्ञानी हजुर’ सिंहदरबारबाट हरिहर भवन सरेका थिए। १९९० सालको भूकम्पले पनि यो भवनमा क्षति पुर्‍याएको छ। ज्ञानी हजुरले मर्मत गराएका थिए। ज्ञानी हजुरलाई २००५ सालमा तत्कालीन राणा प्रधानमन्त्री मोहनशमशेरले हजुरियामा नियुक्ति गरे। २००६ सालमा शंकरशमशेर संयुक्त अधिराज्य (बेलायत) को राजदूत बनाइए। राजदूत भएपछि शंकरशमशेर उतै बसे। २००९ सालमा राजदूतबाट हटाइयो र उनको उपयोग गरिरहेको हरिहर भवन सरकारले अधिकरण गरेको हो। २०३४ सालमा शंकर शमशेरको बेलायतमै मृत्यु भयो।

सिंहदरबारभित्र पूर्वसांसद मञ्च रहेको भवन र रक्षा मन्त्रालय पुतली बगैंचामा छ। त्यो भवनमा बस्नै नहुने भनेर रातो स्टिकर टाँसिएको छ। मञ्चको कार्यालय अहिले पनि त्यहीं छ। रक्षा मन्त्रालय भने अन्यत्र भवन बनाएर सर्ने तरखरमा छ।

सिंहदरबारस्थित सविकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अवस्था पनि त्यस्तै छ।

१९५८ सालमा चन्द्रशमेशर सत्तामा आएपछि वीरशमशेरले बनाएको लालदरबार र सेतोदरबारमा उनले आँखा लगाए। तर ती दरबारको अस्वाभाविक मोल मागेपछि किन्न आँट गरेनन्। त्यसपछि जितशमशेरको लाजिम्पाट दरबार र रुद्रशमशेरको चारबुर्जा दरबार खरिद गर्न सहमत भए। त्यी दुई दरबार किन्न लागेका समयमा तत्कालीन इन्जिनियर कुमारजरसिंह राणा र किशोरनरसिंह राणाले भने नयाँ दरबार बनाउन सुझाव दिए। त्यसपछि चन्द्रशमशेर नयाँ दरबार बनाउने निधोमा पुगे। सिंहदरबारमा ३५० रोपनी जग्गा ९० रुपैयाँ प्रतिआनाको दरले किने। त्यहीं सिंहदरबार बनाउन थाले। उनले ५० लाखभन्दा बढी खर्च गरेर त्यो दरबार निर्माण गरेका हुन्। सिंहदरबार निर्माण भएपछि एक दिन चन्द्रशमेशर कान्छी रानी बालकुमारीदेवीलाई साथमा लिएर दरबारको कौसीमा गए। रानीलाई उनले त्यहाँबाट बाघदरबार देखाए। रानीले महाराज, त्यो बाघदरबार हो भने यसको नाम सिंह राखे कसो होला (? ) भनिन्। रानीकै प्रस्तावमा चन्द्रशमशेरले यो दरबारको नाम सिंहदरबार राखेका हुन्। निर्माणपछि भारदारीसभामा चन्द्रशमशेरले यो दरबार सरकारलाई बेच्ने प्रस्ताव गरे। उनले सिंहदरबारलाई बिक्री गरी राष्ट्रको ढुकुटीबाट दुई करोड रुपैयाँ लिए। सिंहदरबार निर्माण गरी बिक्री गर्दा चन्द्रशमशेरलाई डेढ करोड नाफा भएको थियो। जंगबहादुरले १९२५ मा देशमा संकटकालीन अवस्था आएमा वा दैवीप्रकोप परेमा मात्र झिक्ने गरी ११ करोड राष्ट्रको ढुकुटी (जसलाई कौसी तोषाखाना भनिन्थ्यो) मा राखिदिएका थिए। जंगबहादुर अन्यथा कुनै अवस्थामा तोषाखानाबाट पैसा नझिक्नू, बरु ढुकुटीमा थप्दै जानू भन्ने निर्देशन दिएका थिए। तर चन्द्रशमशेरले त्यसविपरीत कौसी तोषाखानाबाट दुई करोड रुपैयाँ झिकेर राष्ट्रको ढुकुटीमा बह्मलुट गर्न थालेको देखिन्छ। चन्द्रशमशेरले २९ बर्र्से शासनकालमा २८ वर्ष सिंहदरबारमा बिताए। चन्द्रशमशेरको मृत्युपछि प्रधानमन्त्री बनेका भीमशमशेर र जुद्धशमशेरले सिंहदरबारबाटै शासन चलाए तर प्रधानमन्त्री बने पनि पद्मशमशेर भने सिंहदबार गएनन्। उनले आफ्नो विशालनगर दरबारबाट शासन चलाए। पद्मशमशेर औषधोपचारका लागि भारत गएका मौकामा मोहनशमशेरले सिंहदरबार कब्जा गरे। आफ्नै बाबु चन्द्रशमशेरले सरकारलाई बिक्री गरेको सिंहदरबारमा प्रधानमन्त्री नहुँदै मोहनशमशेर बस्न थाले। उपचारका लागि गएका पद्मशमशेरले भारतबाटै राजीनामा पठाए। पद्मशमशेरको राजीनामापछि मोहनशमशेर नै प्रधानमन्त्री भए।

त्यो भवनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालय बसेको थियो। अहिले भने त्यो भवनबाट कार्यालय सरेको छ।

जीर्ण दरबारमा सरकारी कार्यालय जोखिमपूर्ण रूपमा सञ्चालन भइरहेका छन्। कर्मचारी जोखिमपूर्ण रूपमा तिनै भवनमा काम गर्न विवश छन्।

डिल्लीबजारस्थित चारखाल अड्डाको भवन मर्मत गरिएको छैन र भत्काइएको पनि छैन। भग्नावशेष असरल्ल पारेर वातावरणसमेत प्रदूषित बनाइएको छ। नापी विभागका तत्कालीन महानिर्देशक बुद्धिनारायण श्रेष्ठले राणाकालमा सिंहदबारको सचिवालयको रूपमा रहेको यो चारखाल अड्डा पूनर्निर्माणमा कसैको ध्यान नगएको भन्दै चिन्ता व्यक्त गरेका थिए। यो भवनमा लामो समय नापी विभागको कार्यालय रहेको थियो। श्रेष्ठले आफूले यो भवनमा नापी महानिर्देशक हैसियतमा पूरा पाँच वर्ष, नापी योजना शाखा प्रमुख नापी अधिकृतको पदमा चार वर्ष, नापी योजना शाखा प्रमुख नापी अधिकृतकै पदमा ६ वर्ष गरी १५ वर्ष बिताएका थिए।

‘कोठा नं २ र ३ मा एउटै टेबल र एउटै कुर्सीमा बसेर हजारौं त नभनौं, तर पौने हजारजति टिप्पणी उठाएको थिएँ’, श्रेष्ठले भने, ‘तीमध्येका केही टिप्पणी प्रधानमन्त्री तथा राजा महेन्द्र र वीरेन्द्रसम्म पनि पुग्थ्यो।’ यी भवनबाट नापनक्सासम्बन्धी नबौं र दशौं योजना पनि कोरिएको थियो। यो भवनसँग आफ्नो भावनात्मक सम्बन्ध जोडिएको बताउँदै उनले भने, ‘यो भग्नावशेषलाई या त पाताल बनाउनुपर्‍यो। या त नयाँ व्यापारिक एवं कार्यालय कम्प्लेक्स बनाउनुपर्‍यो, सरकार सक्दैन भने निजी क्षेत्र तयार हुन्छ होला।’

केशरमहल अर्को ऐतिहासिक दरबार हो। यो दरबार पनि भूकम्पले जीर्ण बनेको छ।

यो दरबारको निर्माण चन्द्रशमशेरले गराएका हुन्। दरबारको निर्माण कार्य समाप्त भएपछि चन्द्रशमशेरले आफ्ना साहिँला छोरा केशरशमशेरलाई त्यो भवन दिए। केशरशमशेरको स्वामित्वमा आएपछि त्यो दरबारको नाम केशरमहल राखिएको हो। केशरशमशेरले त्यहाँ पुस्तकालय स्थापना गरे। २०२१ सालमा केशरशमशेरको मृत्यु भएको थियो। उनले मृत्युपूर्व नै केशर पुस्तकालय तत्कालीन श्री ५ को सरकारलाई दिएका थिए। त्यहाँ लामो समय शिक्षा मन्त्रालय बस्यो। २०७२ को भूकम्पपछि शिक्षा मन्त्रालय सिंहदरबारमा आएपछि त्यहाँ मन्त्रालयका केही शाखा राखिए। अहिले त्यो भूकम्पले जीर्ण भएको भवनमा केशर पुस्तकालय, वैदेशिक अध्ययन अनुमति शाखा, छात्रवृत्ति शाखा छन्।

हाल बबरमहल जंगबहादुर राणाले बनाएका हुन्। तर त्यसबेला त्यो दरबारलाई बबरमहल भनिँदैनथ्यो। जंगबहादुरले बबरमहल रहेको स्थानमा थापाथली दरबार बनाएका थिए। पुरानो दरबार तत्कालीन वास्तुकलाविद् लसुर विष्टले बनाएका थिए। त्यो दरबार पाँचतले थियो। त्यसको चौथो तलामा जंगबहादुर आफै‌ बस्थे। १९४२ साल कात्तिकमा भएको विद्रोहपछि यो दरबार देवशमशेरमातहत आयो। देवशमशरलाई पदच्युत गरी धनकुटा पठाइएपछि तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशममेशरले जंगबहादुरद्वारा निर्मित त्यो भवन हत्याए। त्यसलाई १९६३ सालमा तोडमोड गराएर दरबार निर्माण गर्न लगाए। त्यो दरबारको स्वामित्व आफ्ना महिला छोरा बबरशमशेरलाई दिए। त्यतिबेलादेखि यो दरबारको नाम बबरमहल रहन गएको इतिहासकार पुरुषोत्तमशमशेर राणाको राणाकालीन प्रमुख ऐतिहासिक दरबार नामक पुस्तकमा उल्लेख छ। चन्द्रशमशेर श्री ३ प्रधानमन्त्री भएदेखि मृत्यु नहुञ्जेल (१९५८ असार १० देखि १९८३ मंसिर ३० गतेसम्म) बबरशमशेर सिंहदरबारमा बस्थे। चन्द्रशमेरको मृत्युपछि बबरशमशेर बबरमहलमा स्थायी रूपमा बस्न थाले। १९९० सालको भूकम्पमा बबरमहलमा क्षति पुग्यो। त्यसको जीर्णोद्धार बबरशमेरले गरे। २००७ सालमा बबरशमशेर रक्षामन्त्री भए। रक्षामन्त्री भएको केही दिनमा सधैंका लागि नेपाल त्यागेर भारतको ब्याङलोरमा गए। त्यसपछि बबरमहल सरकारले अधिकरण गर्‍यो। त्यहाँ यातायात मन्त्रालय राखियो। पछि यातायात मन्त्रालय सिंहदबार गएपछि त्यहाँ सडक विभाग, महालेखा परीक्षकको कार्यालय, विभागलगायतका कार्यालय बसेका छन्। त्यो दरबार पनि भूकम्पले क्षति पुर्‍याएको छ। बबरमहलका विषयमा विवाद रहँदै आएको छ।

बागदरबार जहाँ महानगरपालिकाको कार्यालय छ। भूकम्पले त्यो भवन पनि जीर्ण बनाएको छ। त्यो दरबार तत्कालीन प्रधानमन्त्री भीमसेनले बनाएका थिए। यो भवनमा भीमसेनका बुबा अमरसिंह थापा घर बनाएर बसेका थिए। तत्कालीन दरबारसँग थापाको राम्रो सम्बन्ध भएकाले १२० रोपनी जग्गा ओगटेर बागदरबार बनाए। धरहरा र सुन्धाराको निर्माण भीमसेनले नै गराएका हुन्। भीमसेनका छोरा माथवरसिंह थापा प्रधानमन्त्री भएपछि उनी त्यही दरबारमा बस्थे। उनले त्यहाँ एउटा पाटेबाघ पालेका थिए। पाटेबाघ पालेका कारण जनताले त्यो दरबारको नाम ‘बाघदरबार’ भन्न थाले। बाघदरबारको अपभ्रंश भएपछि त्यसलाई बागदरबार भन्न थालिएको हो। राणाकालीन समयको पूर्वाधारसम्म त्यो दरबारको खोरमा ‘पाटेबाघ’ रहेको विभिन्न पुस्तकमा उल्लेख रहेको पाइन्छ। थापाकालीन समयमा बाघको खोर कम्पाउन्डभित्रै थियो भने राणाकालीन समयमा बाघको खोर बाहिर सारिएको थियो।

१९०२ सालमा माथवरसिंह थापाको हत्यापछि जंगबहादुरले त्यो दरबार सरकारीकरण गरिदिए। तत्कालीन राजा सुरेन्द्रविक्रम शाहको हत्यापछि उनका माहिला भाइ उपेन्द्रलाई बागदरबारमा राखियो। उपेन्द्रका छोरा धीरेन्द्रविक्रमले त्यसपछि बागदरबार उपभोग गर्न थालेको इतिहास छ। धीरेन्द्रको मृत्युपछि जेठा छोरा भूपतेन्द्र त्यो दरबारमा बस्न थाले। भूपतेन्द्रका छोरा मोहनविक्रम ‘रामराजा’ यहीं बसे। रामराजाबाट त्यो बागदरबार भैरवशमशेरले किने। भैरवशमशेरको मृत्युपछि भरतशमशेरले हिमालय होटल बनाउने प्रयोजनका लागि बिक्री गरेका थिए। रामराजाका सौतेला भाइ चन्द्रविक्रम ‘लक्ष्मण राजा’ ले बागदरबारमा रजाइँ गर्न छाडेनन्। रामराजा र लक्ष्मण राजा जुद्धशमशेरका छोरीज्वाइँ थिए।

जुद्धशमशेरका छोरा हरिशमशेरले बागदबारमा अधिपत्य जमाएर बस्न थाले। हरिशमशेरले ‘लक्ष्मण राजा’ लाई कालीमाटी सारिदिए। बागदरबार पूर्णरूपमा आफ्नो प्रयोगमा ल्याए। हरिशमशेरको मृत्युपछि उनका श्रीमती र छोराछोरीले मुख्य बागदरबार तत्कालीन श्री ५ को सरकारलाई बिक्री गरे भने जग्गा अरूलाई नै बिक्री गरे। अहिले त्यो बागदरबार भवन जीर्ण छ। त्यही जीर्ण भवनमा पनि महानगरका केही शाखा सञ्चालित छन्।

थापाथलीस्थित सिंहमहल जहाँ अहिले राष्ट्र बैंकको एउटा शाखा छ। त्यो भूकम्पकै कारण जीर्ण भएको छ। १९११ सालमा त्यो दरबार जंगबहादुरले निर्माण गराएका थिए। जंगबहादुरले यो दरबार जेठा छोरा जगतजंग र बुहारी शाहज्यादी टीका राज्यलक्ष्मीदेवी राणालाई दिए। १९३५ सालमा जगतजंग मनहरामा दरबार बनाएर सरेपछि थापाथलीस्थित यो दरबार आफ्नो जेठा छोरा जुद्धप्रताप जंग ‘नाति जर्नेल’ लाई दिए। १९४२ सालमा नाति जर्नेलको हत्या भयो। त्यसपछि यो दरबार चन्द्रशमशेरले हात पारे। चन्द्रशमशेरले यो दरबारको जीर्णोद्धार गरे। १९६० सालसम्म चन्द्रशमशेर यही दरबारमा बसे। चन्द्रशमशेर साहिँला छोरा सिंहशमशेरलाई दिने विचार गरेर त्यो दरबारको नाम नै सिंहमहल राखे। १९८३ मंसिर ३० गते चन्द्रशमशेरको मृत्यु भएपछि सिंहशमशेर स्थायी रूपमा सिंहमहलमा बस्न थाले। त्यसभन्दा पहिले उनी बुबा चन्द्रशमेशरसँगै सिंहदरबारमा बस्थे। १९९० सालको भूकम्पले सिंहमहल क्षति भयो। त्यसलाई सिंहशमशेरले नै जीर्णोद्धार गराए। २००७ मा प्रजातन्त्रको स्थापनापछि जंगबहादुर सन्तान त्यो सिंहमहलमाथि दाबी गर्न आए। तर सिंहशमशेरले विभिन्न बहाना बनाएर त्यो दरबार फर्काउन मानेनन्। पञ्चायतकालमा सिंहशमशेरले ९ लाखमा सिंहमहल नेपाल राष्ट्र बै‌कलार्इ बिक्री गरे। २०७२ सालको भूकम्पले यो भवनमा पनि क्षति पुगेको छ। यो भवन जीर्ण भएको चार वर्ष बित्दासम्म पुनर्निर्माण थालिएको छैन।

थापाथलीमा निर्मित चाँद कुँवर ‘कौर’ को चारबुर्जे ‘घर’ दरबारमा प्रसूति गृह बसेको छ। त्यो भवन पनि भूकम्पले थिलथिलो बनाएको छ। १९०६ सालमा भारतका पूर्वराजा पन्जाबकेशरी, ‘शेर पन्जाब’ रणजितसिंहकी रानी चाँद कुँवर ‘चाँद कौर’ शरणार्थीका रूपमा काठमाडौं आइपुगिन्। उनलाई जंगबहादुरले शरण दिए। उनले सुपुर्दगीसमेत नगरी थापथली कम्पाउन्डभित्रै सुरक्षाका साथ राखे। जंगबहादुरले रानी चाँद कुँवरलाई थापाथलीमा कम्पाउन्डभित्रै घर ‘दरबार’ बनाएर राखे। त्यो दरबारको चारबुर्जा भएकाले त्यसको नाम नै ‘चारबुर्जे दरबार’ राखियो।

१९११ सालमा स्वेच्छाले स्वदेश फर्केपछि रानी चाँद कुँवरले यो दरबार एक ब्राह्मणलाई दान दिइन्। यो चारबुर्जे दरबार ब्राहमणसँग जंगबहादुरले किनेर आफ्नो स्वामित्वमा लिए। जंगबहादुरकै पालादेखि यो दरबारबाट अदालती कामकारबाहीको थालनी भयो। १९९० सालको भूकम्पले त्यो दरबार पूर्णरूपमा ध्वस्त भयो। लामो समयसम्म कसैले पनि त्यो दरबारको जीर्णोद्धार गरेनन्। पछि यही दरबारलाई बनाएर प्रसूति गृह सञ्चालन गरिएको छ। २०७२ सालको भूकम्पले यो दरबार जीर्ण बनाएको छ। तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको श्रीमहल जीर्ण छ।

अधिकांश राणाकालीन कलात्मक र ऐतिहासिक दरबार जीर्ण छन्। राणाकालीन समयमा आफ्नै सुखसयलका लागि भए पनि भव्य दरबारको निर्माण भएका थिए। तीमध्ये कतिपय दरबार सरकारीकरण भए भने कतिपय राणा परिवारले नै उपयोग गरिरहेका छन्। तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणा, वीरशमशेर, चन्द्रशमशेरले धेरै ऐतिहासिक दरबार बनाएका थिए।

नैनसिंह थापाद्वारा निर्मित थापाथली दरबार भण्डारखाल पर्वपछि राणाले हत्याए। जंगबहादरले थापाथली दरबार एकलौटी बनाउनुका साथै १५ सय रोपनी जग्गासमेत ओगटे। जंगबहादरले त्यो दरबार छोरा जितजंग र माहिली बुहारी नरेन्द्र राज्यलक्ष्मीदेवी राणालाई दिए।

१९४२ सालमा तत्कालीन मुख्तियार (प्रधानसेनापति) जितजंगले भारतबाटै राजीनामा दिए। त्यसपछि त्यो दरबार देशशमशेरको मातहतमा आयो। १९५८ मा देवशमेशर पदमुक्त भएपछि जेठी रानी कर्मकुमारीदेवी तर्फका जेठा छोरा जंगशमशेरको मातहतमा आयो। जंगशमशेरको मृत्युपछि उनकै छोरा कल्याणशमशेर, त्यसपछि उनका भाई भीष्मशमशेरलाई बेचिदिए। हाल भीष्मशमशेरकै सन्ततिले यो दरबारको जायजेथा भोग गर्दै आएका छन्। जंगबहादुरद्वारा निर्मित थापाथली वैद्यखाना देवशमशेरका सन्ततिहरूले उपभोग गरिरहेका छन्।

कतिपय राणाकालीन दरबार होटल सञ्चालन भएका छन्। काजी वीरकेशर पाँडेद्वारा निर्मित लाजिम्पाट दरबारमा ‘शंकर होटल’ सञ्चालनमा छ। कतिपय दरबारको नामोनिसान छैन। धोकलसिंह बस्नेतद्वारा निर्मित हिटी दरबार हिजोआज देख्न पाइँदैन। हिटीदरबार नारायणहिटी दरबारकै झैं बस्नेतको वासस्थान थियो। पछि त्यो दरबार धीरशमशेरका हातमा आयो। उनले यो दरबारको पुनर्निर्माण गरे। धीरशमशेरका १७ जना छोरा हिटीदरबारमै जन्मेका हुन्। धीरशमशेरको मृत्युपछि उनका छोराले विद्रोह गरे। त्यो विद्रोह सफल भयो। त्यसपछि हिटीदरबार धीरशमशेरका छोरा वीरशमशेरका हातमा आयो। पछि वीरशमशेरले नयाँ दरबार बनाएर सरे। उनले साहिँली बुहारी चक्रशमशेरकी रानी ‘रानी साहेब’ लाई दिए। त्यो हिटी दरबार भत्काएर त्यहाँ नयाँ शैलीका घर बन्यो। हिटी दरबारको अस्तित्व नै समाप्त भयो।

१९९० साल र ०७२ सालको भूकम्पबाट ती दरबार भत्किएका थिए। २० वटा राणाकालीन दरबारले पुनर्निर्माणको काम थालेको पुरातत्व विभागले जनाएको छ। विभागका प्रवक्ता रामबहादुर कुँवरले कलात्मकरूप ती भवनको निर्माण प्रक्रिया थालिएको दाबी गरे। २०७२ असार ३० गते र २०७२ पुस २७ गते लक्ष्मीनिवास भत्काएर पुनर्निर्माण गर्ने सहमति भएको हो।

२०७२ माघ ३ गते नै जुद्धकला पाठशाला÷ललितकला क्याम्पस भत्काएर निर्माण गर्ने निर्णय गरेको छ। पुरानो राणाकालीन घर रेडियो नेपालको कार्यालय भवन निर्माणका लागि भत्काइएको छ। नेपाल राष्ट्र बैंक बसेको थापाथली दरबार पुरानो स्वरूपमा कुनै परिवर्तन नहुने गरी नयाँ भवन निर्माण गर्न २०७२ जेठ ६ गते नै निर्णय भएको हो। धीर डिस्पेन्सरी भवन, सिंहदरबारको प्रवेशद्वार, ललिता भवन बालुवाटार, सम्पदा भवन, शीतलनिवासको पश्चिमतर्फको एनेक्स भवन÷राष्ट्रपतिको कार्यालय पुनर्निर्माण गर्ने सहमति भइसकेको छ। दरबार हाइस्कुलको पुनर्निर्माण भइरहेको छ। हुलाक सेवा प्रशिक्षण केन्द्रको कार्यालय रहेको तबेला घर धरहरा पुनर्निर्माण अभियानअन्तर्गत प्रतिस्थापन गरिने भएको छ।

राणाकालीन प्रमुख ऐतिहासिक दरबार

अमरसिंह थापाद्वारा निर्मित बागदरबार

धोकलसिंह बस्नेतद्वारा निर्मित नारायणहिटी दरबार

काजी वीरकेशर पाँडेद्वारा निर्मित लाजिम्पाट दरबार

जंगबहादुरद्वारा निर्मित बबरमहल

थापाथली दरबार

थापाथली वैद्यखाना

थापाथलीमा निर्मित चाँदकुँवर ‘कौर’ को चारबुर्जे ‘घर’ दरबार

जंगबहादुरद्वारा निर्मित थापाथली गोल बैठक

धोकलसिंह बस्नेतद्वारा निर्मित हिटीदरबार

जगतजंगद्वारा निर्मित मनहरादरबार

वीरशमशेरद्वारा निर्मित नारायणहिटी दरबार

सेतो दरबार

टंगाल दरबार

जाउलाखेल दरबार

महाराजगञ्जस्थित पानीपोखरी दरबार

हाँडीगाउँको भाटभटेनी दरबार

चारबुर्जा दरबार

लालदरबार

फोहरादरबार

तबेला घर

चारखाल अड्डा

पुलती बगै‌चा

सीता भवन

दियालो भवन

कान्ती भवन

ऐतिहासिक दरबारका अवस्था देख्दा जोकोहीको मन रुन्छ। सर्वसाधारण पनि त्यहाँनेर पुगेपछि इतिहास स्मरण हुने बताउँछन्। तर ती ऐतिहासिक दरबार खण्डहरमा परिणत हुँदा कसको पो मन रुँदैन होला? यी ऐतिहासिक दरबार पुनर्निर्माणमा किन चासो दिइँदैन? http://annapurnapost.com/news/142500अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

 

Post a Comment

0 Comments