गतिलामा नेताका नातागोता
राजनीतिमा परिवारवाद पुरानै प्रवृत्ति हो। पारिवारिक विरासतका नाममा राजनीतिक योगदानबिना नै कतिपयले पद ओगट्ने गरेका छन्। यसपटक स्थानीय तह निर्वाचनमा काठमाडौं, भरतपुर, पोखरा र विराटनगर महानगरपालिकासहित धेरै स्थानीय तहमा शीर्ष नेताको परिवारका सदस्य उम्मेवार बनेका छन्। शक्तिको आडमा श्रीमती, छोरी, छोरा, भाइलगायत आफन्त स्थानीय सरकारको नेतृत्व लिन तम्सिएका छन्।
annapurna post
नेपाल तथा एसियाली अध्ययन केन्द्र सिनासका निर्देशक डा. मृगेन्द्रबहादुर कार्की नेपालको राजनीतिमा नेताको सर्वसत्तावाद हाबी रहेको बताउँछन्। ‘स्थानीय तहमा प्रशस्त शक्ति र स्रोत हुन्छ। नेताहरू त्यो होल्ड गर्न चाहन्छन्’, डा. कार्की भन्छन्, ‘परिवार, आफन्तबाट मात्रै त्यो शक्ति र स्रोत होल्ड गर्न सकिन्छ भनेर उनीहरू परिवार, आफन्तलाई राजनीतिमा ल्याउँछन्।’
उनका अनुसार नेपालमा परिवारवाद लोकतन्त्रमा मिसिएको छ। दक्षिण एसियामै यो प्रवृत्ति बढिरहेको उनी बताउँछन्। ‘राजनीतिमा परिवारको विरासत भित्र्याउन आन्दोलन भएको होइन। यहाँ राजनीतिलाई शक्तिसँग जोडिन्छ। आफूभन्दा बाहिर जान दिइँदैन’, उनी भन्छन्, ‘यो कुरा जनआन्दोलनको उपलब्धिविपरीत छ। यो जनताको सपना पनि होइन, तर नेताहरू नातावाद, कृपावादभन्दा पर जानै सकेका छैनन्।’
माओवादी नेता देव गुरुङ गठबन्धनले ल्याएका उम्मेदवारमा प्रश्न उठाउने ठाउँ नरहेको बताउँछन्। ‘परिवारलाई ल्याएजस्तो देखिने मात्र हो। योगदान र क्षमताको आधारमै ल्याइएको हुन्छ’, नेता गुरुङ भन्छन्, ‘केही योगदानै नगरी ल्याउँदा कहाँ यत्तिकै चुप लागेर बस्ने ठाउँ हुन्छ र ? चर्को विरोधमा साथीहरू उत्रनुहुन्छ। राजनीतिमा यी कुराले खासै महत्व राख्दैनन्।’
काठमाडौंमा प्रकाशमान पत्नी सिर्जना
गठबन्धनबाट काठमाडौंमा कांग्रेसकी सिर्जना सिंह मेयरमा उठेकी छन्। उनी कांग्रेस नेतृ प्रकाशमान सिंहकी श्रीमती हुन्। कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह, मंगलादेवी सिंहको राजनीतिक विरासत कायम राख्न उनलाई अघि सारिएको हो। २०४६ सालको जनआन्दोलनका कमान्डर गणेशमानले आन्दोलन सफल भएपछि प्रधानमन्त्री हुन अस्वीकार गरेका थिए। तर, गणेशमानका छोरा प्रकाशमानले दुई दर्जनभन्दा बढी मेयरका आकांक्षीलाई पछि पार्दै पत्नीलाई टिकट दिलाएका हुन्।
सिर्जना पछिल्लो समय राजनीतिमा सक्रिय थिइनन्। उनको चर्चा पनि थिएन। निवर्तमान उपमेयर हरिप्रभा खड्गी, नगर सभापति निलकाजी शाक्यसहित प्रगतिमान रञ्जित, सुसन वैद्य आकांक्षी थिए। पूर्वमन्त्री तीर्थराम डंगोलको पनि चर्चा थियो। तर, काठमाडौंमा प्रकाशमानको ‘होल्ड’ भएकाले मेयरको टिकट सिर्जनाले पाएकी हुन्।
अर्कोतिर प्रकाशमानले १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई सघाएबापत त्यसको गुन तिर्न सिर्जनालाई उम्मेदवार बनाएको चर्चा छ। तर, काठमाडौंको संगठनमा प्रकाशमानको पकडका कारण सिर्जनाको उम्मेदवारीमा पार्टीभित्र भने कुनै विवाद देखिएन।
सिर्जना युवा हुँदा राजनीतिमा सक्रिय थिइन्। २०३३ सालमा पार्टीको सदस्य लिएर शंकरदेव कलेजमा स्ववियु कोषाध्यक्ष भएकी थिइन्। प्रकाशमानसँग २०४२ सालमा विवाह गरेपछि भने राजनीतिबाट टाढिइन्। उनले मनोनयन दर्तापछि भनिन्, ‘मैले राजनीति छाडेको छैन। मैले अहिलेसम्म कुनै पद लिएको छैन। तर, म सधैंं महाधिवेशन प्रतिनिधि भएर कांग्रेसमा सधैंभरि सक्रिय राजनीति गर्दै आएकी थिएँ। विभिन्न भ्रातृ संगठनहरूमा सक्रिय भएर लागेको छु।’
भरतपुरमा दाहालपुत्री रेनु
भरतपुरको मेयर रेनु दाहाल दोस्रो पटक उम्मेदवार भएकी छन्। रेणु माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्। उनी २०७४ को निर्वाचनमा मेयरमा विजय भएकी थिइन्। माओवादीले त्यस बेला कांग्रेससँग गठबन्धन गरेको थियो। माओवादी कार्यकर्ताले मतपत्र च्यातेर पुनः मतदान गरेपछि रेनुले जितेकी थिइन्। उनीसँग एमालेका देवी ज्ञवाली पराजित भएका थिए। कांग्रेस कार्यकर्ताले व्यापक विरोध जनाए पनि रेनुले भरतपुरमा मेयरको टिकट प्राप्त गरेकी हुन्। उनले गठबन्धनबाट पुनः टिकट पाएपछि कांग्रेसका पुराना नेता जगन्नाथ पौडेल बागी उठेका छन्।
पहुँचको आधारमा मेयर बनाएको भन्दै रेणुको आलोचना हुने गरेको छ। दाहालले भने रेनुको राजनीतिक यात्राले अवसर पाएको दाबी गर्दै आएका छन्। उनी आफ्नै राजनीतिक इतिहासका कारण स्थापित भएको दाहालको भनाइ छ। उनले तीन साताअघि चितवनको एक कार्यक्रममा आफू रेनुको बुवाका रूपमा चिनिएको बताएका थिए।
‘२०७४ को चुनावमा प्रचण्डकी छोरी भन्ने थियो। अहिले दाहालकी छोरी होइन रेनुको बुवा प्रचण्ड भएको छ। तर, मलाई खुसी छ’, उनले भनेका थिए। आफ्नो क्षमता, कार्यकुशलताको आधारले नेता भएको उनको भनाइ छ।
उनी छोरीलाई फेरि जिताउन भरतपुर केन्द्रित भएका छन्। भरतपुरको चुनावी रणनीतिका लागि दाहाल मंगलबार सुटुक्क चितवन आए। दाहाल करिब पाँच घण्टा बसेर फर्किए। उनले गठबन्धनका नेताहरूलाई भेटेर चुनावी माहोल बढाउन छलफल गरे। कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नेतासँग भेट गरे। उनी भरतपुर महानगरपालिकाको माध्यमबाट चितवनमा स्थापित हुन खोजेको देखिन्छ। त्यसका लागि पनि उनले छोरीलाई उम्मेदवार बनाएका हुन्।
विराटनगरमा उपेन्द्रका छोरा अमरेन्द्र
विराटनगरको उपमेयरमा अमरेन्द्र यादवको उम्मेदवारी परेको छ। गठबन्धनका तर्फबाट उम्मेदवार भएका अमरेन्द्र जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्। उनी जसपाको विराटनगर महानगर कमिटी अध्यक्ष छन्। पार्टीमा लामो समयदेखि योगदान दिएकालाई पाखा लगाउँदै उपेन्द्रले छोरालाई टिकट दिएको आरोप लागेको छ।
गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसले पाएपछि जसपाका दाबेदार उमेश यादवले पार्टी छोडेका छन्। उमेश २०७४ को निर्वाचनमा जसपा र माओवादी केन्द्रको गठबन्धनबाट मेयरमा लडेका थिए। त्यो बेला उनी तेस्रो भएका थिए। उनले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले अन्नपूर्ण पोस्ट्सित भने, ‘नेताका परिवारलाई सेट गर्न गठबन्धन बनाइएको छ। साथीहरूका लागि मैले विद्रोहको सुरुवात गर्नुपरेको हो’।
मेयरमा जसपाबाट उमेश यादव, तेजलाल कर्ण, भूराज राई र अमरेन्द्र यादव आकांक्षी थिए। वसुन्धरा झा, विमला अर्याल, सदिना खातुन र प्रीति झा उपमेयरका आकांक्षी थिए। तर, पार्टीले उपमेयर मात्र पाएपछि मेयरका आकांक्षी नै उपमेयरमा जान ‘लबिङ’ गरेका थिए।
मधेसका मुख्यमन्त्रीकी पत्नी उम्मेदवार
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्नी जलेखा खातुन पर्साको जगरनाथपुर गाउँपालिकामा उपाध्यक्ष उम्मेदवार बनेकी छन्। उनले जसपाबाट उम्मेदवारी दिएकी हुन्। मधेस आन्दोलनका सहिदका परिवारलाई टिकट नदिएर मुख्यमन्त्री राउतकै जोडबलमा जसपाले खातुनलाई अघि सारेको हो।
सहिद सोहन साह कलवारकी पत्नी विनिता साह कलवारले टिकट पाइनन्। उनले विवेकशील साझा पार्टीबाट वीरगन्ज–१६ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन्। उनी २०७४ को निर्वाचनमा महिला सदस्यमा जसपाबाटै निर्वाचित भएकी थिइन्। खातुन राजनीति र पार्टीमा खासै सक्रिय थिइनन्। मुख्यमन्त्री राउतले पत्नीलाई उठाउने तयारी गरेपछि जसपा नेतृ एवं निवर्तमान गाउँपालिका उपाध्यक्ष बिस्मिल्लाह खातुन माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्। जगरनाथपुर गाउँपालिका उपाध्यक्षमान बस्मिल्लाहका पति महम्मद सरिफ गद्दीले पनि माओवादी केन्द्रबाट उम्मेदवारी दिएका छन्।
लिङदेनका भाइ अध्यक्षका उम्मेदवार राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनका भाइ रवीन्द्रप्रसाद लिङदेनले झापाको हल्दीबारी गाउँपालिकामा पुनः अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। उनी २०७४ सालमा पनि राप्रपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। यसपटक ६ जना आकांक्षीलाई पाखा लगाउँदै राजेन्द्रले भाइलाई नै अघि सारेका हुन्। उम्मेदवार लिङदेनले भने, ‘पार्टीले यसअघि काम गरेको आधारमा मूल्यांकन गरेरै टिकट दिएको हो। यो जनताको माग हो।’
गृहमन्त्री खाँणका भाइ मैदानमा
कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाँणका भाइ रामकृष्ण खाँण रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर उम्मेदवार बनेका छन्। उनी २०७४ सालको चुनावमा राष्ट्रिय जनमुक्ति पार्टीको सहयोग लिएर पनि मेयरमा हारेका थिए। यसपटक गठबन्धनबाट जिताउन खाँणले पुनः भाइलाई अघि सारेका हुन्। भाइलाई उठाएको भन्दै कांग्रेसभित्र असन्तुष्टि देखिएको छ।
सिन्धुपाल्चोकमा सभामुखका भाइ
सभामुख अग्निप्रसाद सापकोटाले भाइ कृष्णप्रसाद सापकोटालाई सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा टिकट दिलाएका छन्। चौताराको मेयरमा उम्मेदवारी दर्ता गर्ने बेला झडप नै भएको थियो। सभामुखका भाइले टिकट पाएपछि निवर्तमान मेयर अमानसिंह तामाङ पक्षसँग झडप भएको हो। उनलाई शक्तिको आडमा टिकट ल्याएको आरोप लगाइएको थियो।
माओवादी अध्यक्ष दाहालले निवर्तमान मेयर तामाङलाई पनि टिकट दिइसकेका थिए। तर, तामाङलाई उछिनेर सभामुखको पावरमा कृष्णप्रसादले टिकट अपहरण गरेको आरोप पनि लागेको छ। नेता तामाङले जनताको माग भन्दै स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनी माओवादीबाट टिकट नपाए एमाले या कांग्रेसमा जानेसम्मको तयारीमा थिए। टिकट दिने पूरै आश्वासन दिएर अन्तिम समयमा आएर खोसेको उनको आरोप छ।
लेखराजका भाइलाई टिकट
एमाले सचिव तथा सुदूरपश्चिम प्रदेश कमिटीका इञ्चार्ज लेखराज भट्टका भाइ गोकर्ण भट्टले कैलालीको गोदावरी नगरपालिकाको मेयर पदमा टिकट पाएका छन्। उनी पार्टी एकीकरणअघि माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए। एमालेका हरिसिंह साउदले मेयरमा जित्दा गोकर्ण तेस्रो भएका थिए। उनी एमाले प्रदेश कमिटी सदस्य तथा गोदावरी नगर कमिटी अध्यक्ष पनि छन्।
बिजुक्छेका भाइ
नेपाल मजदुर किसान पार्टीले भक्तपुरको भक्तपुर नगरपालिका–५ मा योगेन्द्रमान बिजुक्छेलाई वडाध्यक्ष उम्मेदवार बनाएको छ। उनी अध्यक्ष नारायणमान बिजुक्छेका कान्छा भाइ हुन्। उनी भक्तपुर नगरपालिका–१० देकोचास्थित जेन्युइन सेकेन्डरी स्कुलका लगानीकर्ता एवं प्रिन्सिपल हुन्। उनी यसअघि राजनीतिमा सक्रिय थिएनन्। नेमकिपाले पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालका बहिनीज्वाइँलाई पनि वडाध्यक्ष उम्मेदवार बनाएको छ। सुवालका बहिनीज्वाइँ कृष्णप्रसाद कोजूलाई नेमकिपाले भक्तपुर नपा–८ को वडा अध्यक्षमा उठाएको छ। कोजू इँटा उद्योग व्यवसायी हुन्।
नेपालगन्जको उपमेयरमा जसपा नेता एवं सांसद इस्तियाक राईका भाइ कमरुद्दिन राई गठबन्धनबाट उम्मेदवार भएका छन्। उनी जसपा बाँकेका अध्यक्ष हुन्।
हेटौंडा उपमहानगरपालिकामा कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँका नातेदार राजेश बानियाँ उपमेयर उम्मेदवार बनेका छन्। उनलाई उपमेयरको टिकट दिन हेटौंडामा कांग्रेसले पाएको मेयरको टिकटमा सभापति बानियाँले अडान नलिएको भन्दै कांग्रेसभित्र तीव्र आलोचना छ।
राप्रपाबाट विराटनगरको उपमेयरमा उम्मेदवारी दिएकी बिन्दाकुमारी लुइँटेल आचार्य (बबिता) पार्टीका मोरङ अध्यक्ष माधव आचार्यकी पत्नी हुन्। बिन्दाकुमारी राप्रपा मोरङकी प्रवक्ता छन्। माधवले भने टिकट वितरण आफ्नो हातमा नरहेको बताए। ‘पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनबाटै टिकट वितरण भएको हो। यसमा मेरो केही पनि हात छैन,’ उनले भने, ‘पार्टीको केन्द्रले गरेको निर्णयलाई मैले मान्नुपर्ने हुन्छ। तर, पार्टीको राजनीतिमा मेरी श्रीमतीको पनि ठूलो योगदान छ।’
रामेछापमा कांग्रेस उपसभापति लेखबहादुर कार्कीले श्रीमती बालाकुमारी कार्कीलाई उपमेयर उम्मेदवार बनाएका छन्। कांग्रेस रामेछापका सचिव दीपक खड्काका भाइ काजीबहादुर खड्का (दिनेश) गोकुलगंगा गाउँपालिका अध्यक्ष उम्मेदवार भएका छन्। उनी नेपाल तरुण दलका जिल्ला सभापति पनि हुन्।
बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्काका भान्जा विश्वास कार्की गौरीशंकर गाउँपालिका अध्यक्ष उम्मेदवार भएका छन्। माओवादी केन्द्रका उनी गठबन्धन दल माओवादी र कांग्रेसको साझा उम्मेदवार हुन्।
हनुमाननगर कंकालिनी नगरपालिकामा जसपाबाट मेयरमा उम्मेदवारी दिएका शैलेशकुमार साह मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह सुडी ‘रामबाबु’का छोरा हुन्। यसअघि राष्ट्रिय जनता पार्टी नेपालबाट मेयरमा निर्वाचित उनी पार्टी विभाजनका बेला बुवासँगै समूह परिवर्तन गरी जसपामै बसेका हुन्।
हनुमाननगर क्षेत्र र पार्टीमा नवलकिशोरको राजनीतिक वर्चस्व भएकै कारण गत निर्वाचनमा टिकट पाएर मेयरमा निर्वाचित भएका थिए। त्यसपछि नै शैलेशको परिचय ‘रामबाबु’को छोराबाट मेयरमा परिणत भएको हो। लोसपा नेता राजेन्द्र महतोनिकट मानिएका तत्कालीन राजपा वरिष्ठ उपाध्यक्ष नवलकिशोर हाल जसपामा नेता छन्।
लोसपा वरिष्ठ नेता तथा राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहका छोरा सतिशकुमार सिंहले तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा पुनः उम्मेदवारी दिएका छन्। पुराना जमिन्दार, व्यवसायी, राजपरिवारसँग सम्बन्ध रहेका शेखर राजपाका केन्द्रीय उपाध्यक्ष हुँदा सतिशले गत स्थानीय तहको चुनावमा टिकट हात पारेर अध्यक्षमा निर्वाचित भएका थिए। पछिल्लो संविधानसभा चुनावमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट पराजित शेखर भने ४ वर्षअघि राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए।
जसपा नेता अनिरुद्धप्रसाद सिंह यादवका छोरा बोदे बर्साइन नगरपालिकाका मेयर आतेसकुमार सिंह यादवले पनि पुनः उम्मेदवारी दिएका छन्। गत चुनावमा संघीय समाजवादी फोरम नेपालबाट ३० वर्षीय यादव मेयरमा निर्वाचित भएपछि राजनीतिमा चिनिएका हुन्। आतेसका बुवा अनिरुद्ध तत्कालीन फोरमका केन्द्रीय सदस्य थिए। काका मृगेन्द्रकुमार सिंह यादव राजपा उपाध्यक्ष थिए।
पूर्वसभासद सदरुल मियाँ हकका छोरा हेमायुँ हकले खड्क नगरपालिकामा पुनः मेयरमा उम्मेदवारी दिएका छन्। पहिलो संविधानसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर सप्तरीको क्षेत्र नम्बर पाँचबाट निर्वाचित सदरुलको दोस्रो संविधानसभा अघि ०७० जेठ ६ गते हत्या भएको थियो।
काठमाडौं बस्दै आएकी राजविराज–६ की ममता झाले राजविराजको मेयरमा जनमत पार्टीबाट उम्मेदवारी दिएकी छिन्। पञ्चायतकालमा अञ्चलाधीश र मन्त्री भएका उनका बुवा जगदीश झाको राजदरबारमा विशेष सम्बन्ध थियो।
एमाले केन्द्रीय सदस्य दीपनारायण साहले बुहारी मिनाक्षी साहलाई सम्सी गाउँपालिका उपाध्यक्षमा टिकट दिलाएका छन्। सोही पालिकामा माओवादी केन्द्रबाट अध्यक्ष पदमा मनोनयन दर्ता गराएका इन्जिनियर शहवाज हैदर पार्टीका केन्द्रीय सदस्य रजि हैदर छोरा हुन्। रजि हैदरले पहिलोपटक छोरालाई राजनीतिमा उतारेका छन्।
जसपा केन्द्रीय सदस्य लक्ष्मी महतोले छोरा डा. दीपेन्द्र महतोलाई गौशाला नगरपालिकाको मेयर पदमा मनोनयन दर्ता गराएका छन्। गौशालामा माओवादी केन्द्रबाट जनकदुलारी साहले उपप्रमुखका रूपमा उम्मेदवारी दर्ता गराएकी हुन्। जनकदुलारी पार्टीका केन्द्रीय सदस्य एवं मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहकी भाइबुहारी हुन्। गृहणी रहेकी जनकदुलारीलाई मन्त्री साहले राजनितीकक्षेत्रमा इन्ट्री गराएका हुन्।
एमाले नेता दिनेशचन्द्र यादव बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। उनी राज्यमन्त्री पनि भए। एमाले केन्द्रीय सदस्य थिए। भूमि आयोग सदस्य हुँदा उनको निधन भयो। नरैनापुर क्षेत्रमा पूर्वमन्त्री यादवको दबदबा थियो। त्यही विरासत कायम राख्न उनकी पत्नी पद्मावती यादवलाई एमालेले नरैनापुर गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनाएको छ। उनले सोमबार पतिको फोटो बोकेर नै मनोनयन दर्ता गरिन्।
स्थानीय तह निर्वाचन २०७४ मा जानकी गाउँपालिका अध्यक्षमा एमालेबाट रामनिवास यादव निर्वाचित भए। कांग्रेसको पकड बलियो भएको सो क्षेत्रमा यादवकै प्रभावले ८६ मतले जितेका थिए। कार्यकाल नसकिँदै उनको निधन भयो। यादव पुत्र हिमांशु एमाले जिल्ला कमिटी सदस्य हुन्। नेपालगन्ज विमानस्थलनजिकै बन्डरल्यान्ड फनपार्कका सञ्चालक हिंमाशु यादवलाई एमालेले जानकी गाउँपालिका अध्यक्ष उम्मेदवार बनाएको छ। यादवले पनि मनोनयन दर्ता गर्दा होस् वा मत माग्न जाँदा बुवाको फोटो छुटाउँदैनन्। एमाले बाँकेका उपाध्यक्ष डिल्ली विसी हिमांशु यादवलाई राजनीतिक निरन्तरता र पद्मावतीलाई मन्त्री यादवको विरासत जोगाउन उम्मेदवार बनाएको बताउँछन्।
0 Comments