......एउटै माला नेपाली











...यो देश हाम्रो हो

...यो देश हाम्रो हो
सांकेतिक तस्बिर।
सुन्नुहोस्
27Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button


सबै जातिले देशमा अपनत्व महसुस गर्ने वातावरण बनाइनुपर्छ। सबै जातिको उत्तिकै उन्नतिबिना देशको समृद्धि पनि सम्भव हुँदैन।

नेपाल देश भन्नु नेपाली जनता हुन्। नेपाली जनता पनि एकैथरी छैनन्। नेपालीमा विविधता छ। त्यही विविधता नै नेपाली पहिचान हो। भौगोलिक र सांस्कृतिक मात्रै नभई जातजाति र भाषा अनि धर्मका आधारमा हामी नेपाली थरीथरी छौं। र, सिंगो देशको भूमिमा एकताबद्ध भई बाँचेका छौं। जति पनि नेपाली जाति, समुदाय छन्, ती सबैको पहिचान भने अझै राम्ररी मुखरित भएको छैन। राज्यको मूलप्रवाहमा ती समेटिएका छैनन्। राष्ट्रिय जनगणना २०७८ ले नेपालमा १ सय ४२ जाति यकिन गरेको तथ्यांक सार्वजनिक भइसकेको छ। १ सय २४ मातृभाषा नेपालमा बोलिने तथ्य पनि यकिन भएको छ। यिनै जाति र भाषाको समष्टि नै नेपाली पहिचान हो। 

विकसित देशहरूले विविधताको महत्त्व बुझिसकेका छन्। एकैखाले जाति, भाषा र धर्म भएका ठाउँभन्दा विविधतामा समृद्धि सम्भव हुने निष्कर्ष निकालेरै तिनलाई विभिन्न देशबाट नागरिक आमन्त्रण पनि गर्छन्। तर हामी आफैंमा सम्पन्न छौं। हामीले भने त्यसको जाति, भाषा र संस्कृतिको विविधताको वैभवताको महत्त्व बुझ्न सकेका छैनौं। इतिहासमा विविधतालाई विपत्तिका रूपमा लिइएको थियो, त्यसैले राज्यबाटै नियोजित रूपमा थुप्रै भाषा, संस्कृति अतिक्रमणमा परे र बिलाए पनि। अब त्यस्तो धङधङ्गी बाँकी हुनु हुँदैन। जसरी कुन एउटै फूलहरूको मात्रै बगैंचा सुन्दर हुँदैन, थरीथरी र रंगीबिरंगी फूलहरूले बगैंचा सुन्दर बनाउँछन्, त्यस्तै समाज र देशको सौन्दर्य पनि त्यहाँका थरीथरी जातजाति र भाषाभाषीको बसोबास हो। विविधतामा सौन्दर्यमात्रै हुँदैन, सिर्जनशीलताका लागि ऊर्जा पनि हुन्छ।

नेपालले देखेको समृद्धिको आधार देशभित्रका जाति र समुदाय अनि तिनका संस्कृतिलाई बनाइनु पर्छ। भाषा र संस्कृतिको संरक्षणमा जुन लगानी राज्यले गर्नुपर्ने हो त्यो यथोचित रूपमा भएको छैन। सीमान्तीकृत जाति अझै भुइँ तहमै छन्, जसलाई माथि उकास्न जरुरी छ। राज्यका अंग र निकायमा आरक्षणको जुन व्यवस्था गरिएको छ, त्यो अति सीमान्तीकृत वर्गको पहुँचमा पुग्नै सकेको छैन।

मूलप्रवाहीकरणका लागि सशक्तीकरणका जुन योजना र कार्यक्रम ल्याइनुपथ्र्याे त्यो आवश्यक मात्रामा ल्याइएको छैन। सबै जातिले देशमा अपनत्व महसुस गर्ने वातावरण बनाइनुपर्छ। सबै जातिको उत्तिकै उन्नतिबिना देशको समृद्धि पनि सम्भव हुँदैन।  

हाम्रो राष्ट्रिय गानले भन्छ– 
सयौं थुँगा फूलका हामी, 
एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, 
मेची–महाकाली

आहा ! कति मोहक छ हाम्रो देश। तर, त्यो प्रभा छर्ने कुन–कुन फूल कहाँ उमंगसाथ फक्रिएका छन्, राजनीतिक बाछिटाले हानेर कुन–कुन कहाँ कक्रिएका छन्, ठोस लेखाजोखा छैन। तीमध्ये अल्पसंख्यामा रहेर अधिकांशतः आवाजविहीन बनेका सय जाति र तिनका पहिचानका सबाल आजको विशेष संस्करणका सामग्री हुन्।   

राष्ट्र चम्काउने ती सुन्दर फूलका थुंगालाई अखबारका समग्र पानामा उनेका छौं हामीले। यो हो– अल्पसंख्यक र सीमान्तकृत सय जातिको इतिवृत्तान्त। राष्ट्रिय जनगणना, २०७८ को जातिसम्बन्धी भर्खरै प्रकाशित तथ्यांकलाई यसको मूल आधार मानेका छौं। ती जातिका नाम र जनसंख्या जनगणनाकै स्रेस्ताका हुन्। यसमा हरेक जातिबाट एक प्रतिनिधि पात्र लिइएको छ। उनले जानेको–बुझेको तत्जातिको बेलिविस्तार अभिव्यक्त गराइएको छ। 

जाति, भाषा र संस्कृति समृद्धिका द्योतक मात्र होइनन्, आपसमा परिपूरक हुन्छन्। नेपालको संविधानले जाति, धर्म र संस्कृतिबीच सुसम्बन्धको मर्म बोकेको छ। समावेशिता र भेदभावहीनतामा जोड दिएको छ। तर, व्यवहारतः त्यो अवस्था आइसकेको छैन। हामीले यस अंकमा कुना–काप्चामा पारिएका त्यस्ता जातिको वास्तविकता देशवासीसामु पस्कन चाहेका छौं, ता कि राजनीतिक र नीति–निर्माण तहमा यसको ज्वलन्त तस्बिर पुग्न सकोस्।   
देश सुन्दर फूलबारी हो। हामी यसलाई अझ सुन्दर बनाउने अभियानमा छौं। र, जोडसाथ भन्छौं– हरेक फूलले समान गोडमेल/स्याहार पाउनुपर्छ। सबैलाई उही मालामा उन्न सक्नुपर्छ र देशको गलामा पहिर्‍याउनुपर्छ। र पो देश वास्तविक देश बन्छ ! 


Post a Comment

0 Comments