ललिता निवास प्रकरण : आफन्तलाई ठग्दै जग्गा पास गरेका थिए बिचौलिया र कर्मचारीले


आफन्तलाई ठग्दै जग्गा पास गरेका थिए बिचौलियाले

आफन्तलाई ठग्दै जग्गा पास गरेका थिए बिचौलियाले
376Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button


काठमाडौं : चर्चित ललिता निवास प्रकरणमा बिचौलियाले आफन्तलाई नै ‘ठगेर’ धमाधम जग्गा नामसारी गरेका थिए। आफूलाई जानकारी नै नदिई लालपुर्जामा सही गर्न लगाएको, त्यसबापत केही रकम दिएको तथा विभिन्न समस्या देखाउँदै सहयोग गर्न आग्रह गरेको बिचौलियाका आफन्तले बयान दिएका छन्। तीमध्ये केही रोचक बयान यस्ता छन् : 

साढुदाइले सहयोग गर्न भन्नुभयो 
– इन्द्रबहादुर थापा क्षेत्री 

म उद्योग मन्त्रालयअन्तर्गत राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लि.मा २०४० सालदेखि २०६५ सम्म कार्यरत थिएँ। राणा परिवारहरूसँग मेरो कुनै चिनजान छैन। मेरो साढुदाइ कलाधर देउजा मालपोत कार्यालयमा अधिकृत हुनुहुन्थ्यो। उहाँले बालुवाटारमा एउटा जग्गा छ तपाईंले आफ्नो नाममा राखी दिनुहोस् भनी अनुरोध गर्नु भएकाले मैले सहयोगसम्म गरेको हुँ।

आफ्नो नाममा लिएको एक दुई वर्ष पछाडि बिक्री गर्दा रु. १० लाख प्राप्त गरेको थिएँ। उक्त जग्गामध्ये एक कित्ता मैले पनि किनेको र पछि बिक्री गरिसकेको छु। 

दाइले जग्गा किनिदिएको छु, भन्नुभयो  
 निर्मलादेवी श्रेष्ठ
मेरो सहोदर दाजु युक्तप्रसाद श्रेष्ठ मालपोत कार्यालय चारखाल, डिल्लीबजारमा खरिदार पदमा कार्यरत हुनुहुन्थ्यो। बहिनी, मैले तिम्रो नाममा सानो टुक्रा जग्गा किनेको छु, सही गर भनेर भन्नुभयो। मैले पनि सही छाप गरिदिएको हुँ। कति आना कति रोपनी क्षेत्रफल कतिमा किनबेच भएको हो, केही पनि थाहा छैन।

पछि २०५३ सालमा मेरो विवाह भएर गुल्मी गएको केही वर्षपछि दाजु युक्तप्रसाद श्रेष्ठले बहिनी मलाई ऋण लाग्यो तिम्रो नाममा रहेको जग्गा बेच्नुपर्छ। नागरिकता लिई तुरुन्तै आउनू भनी बोलाएकोले म आएँ। दाजुसँग गएर जग्गा बिक्री गर्न सहीछाप गरिदिएकी हुँ। 

छोरीले जे भनिन्, त्यही गरें 
– सोदाकुमारी चापागाईं

राणा परिवारहरूसँग मेरो कुनै चिनजान छैन। मेरी छोरीले बोलाएर जग्गा किन्नुपर्ने भयो भनी कुनै कार्यालय जस्तो स्थानमा लगेर सही गर्न लगाइन्। मैले के हो भन्ने थाहा नै नपाई छोरीको भनाइमा लागेर छोरीले जे भनिन् त्यही गरें। केही समयपछि छोरीले नै आमा त्यो जग्गा बेच्नुपर्ने भयो भनिन्।

मैले मञ्जुरीनामा दिएँ। हाल मेरो नाममा कुनै पनि जग्गाजमिन छैन। छोरीको नाम भुवन भण्डारी हो, ज्वाईंको नाम गेहनाथ भण्डारी हो। ज्वाईं गृह मन्त्रालयमा काम गर्नुहुन्थ्यो।  

ससुराले नै विश्वास छैन, भन्नुभयो 
–  बैकुण्ठ शर्मा रेग्मी

मैले ललिता निवास क्याम्पभित्रको जग्गा खरिद गरेको छैन। मेरा ससुरा मुकुन्दप्रसाद आचार्य तत्कालीन मालपोत विभागको महानिर्देशक पदमा भएको बेला आफ्नो कार्यकक्षमा बोलाई केही कागजपत्रमा सही गर्न भन्नुभयो। मैले के कसो हो भनी सोध्दा ससुराको विश्वास छैन र ? भनेर प्रश्न गर्नुभयो।

तत्पश्चात् विश्वासमा परी उक्त कागजातमा सही गरेको थिएँ। लगभग २०–२५ वर्षपछि उक्त कागजपत्र जग्गासम्बन्धी कारोबारको सम्बन्धमा रहेछ भन्ने कुराको जानकारी पाएँ। मैले गरेको उक्त दस्तखत तथा निजको आफ्नो पदको दुरुपयोग गर्ने कार्य निजले गरेका हुन् यस सम्बन्धमा मलाई केही जानकारी छैन। 

जग्गा कसको थियो, थाहा भएन 
–  रामकल्याण अधिकारी 
बालुवाटारमा मैले जग्गा खरिद गरेको हुँ। करिब २५ वर्ष पुरानो मिति मलाई यकिन छैन। जमिन खरिद गर्दाका जग्गाधनी रुक्मशम्शेर राणा, शैलजा राणा, सुनीति राणाको नाम सम्झना छ। डिल्लीबजार चारखालमा काम गर्ने बिचौलियामार्फत जानकारी पाएर राजीनामा लिखतबाट जग्गा खरिद गरेको हुँ। यदि बकस नै रहेछ भने पनि जग्गाको मूल्य र सरकारी राजस्व तिरेर खरिद गरेको हुँ।

साक्षी बसेको कुरामा म मालपोतमा जग्गाको लिने दिने कार्यको कारोबारी भएकाले चिनेको लेखनदासले लिखतमा साक्षी राखिदिएको हुन सक्छ। खरिद गर्दाको लिखत र बिक्री गर्दाको लिखत साथै खारेज भएको पुर्जाको नक्कल मालपोत कार्यालय डिल्लीबजारबाट उतार गरी पेस गर्न सक्छु। यो जग्गा सरकारी थियो वा व्यक्तिको थियो मलाई जग्गा खरिद गर्दा जानकारी भएन। 

शोभाकान्तले तपाईंलाई हेरौंला भनेका थिए  
–  अर्जुनप्रसाद भण्डारी 
म समरजंग कम्पनीमा कार्यरत रहँदा गुठीको जग्गाको कुनै लगत भेटिएको थिएन। ललिता निवासको जग्गा गुठीको हो, होइन थाहा भएन। गुठी संस्थान तहसिल कार्यालयबाटै के–कस्तो सरकारी हो, तहाँको लगतबाटै हेरी गुठी वा सरकारी हो कारबाही गर्ने पत्र पठाइदिएको थिएँ। उक्त पत्रमा भएको दस्तखत मेरो हो।

तत्कालीन समयमा समरजंग कम्पनीबाट पत्राचार गरिएको सम्बन्धमा शोभाकान्त ढकालले चिठी लिएर आएका थिए। उक्त चिठीको (मालपोत) कार्यालयको जवाफ दिँदा कार्यालयमा कुनै रेकर्ड नदेखिएकोले त्यहींको स्रेस्ता हेरी आवश्यक कारबाही गर्नु हुन भन्ने व्यहोराको चिठी पठाइदिएको थिएँ। उक्त जग्गा म पनि खरिद गर्छु भनेर मैले कुरा राखे। हामी सबैले लिइसक्यौ, क्याबिनेटबाट निर्णय भएपछि तपाईंलाई पनि केही हेर्छौं भनी शोभाकान्तले भनेका थिए। पछि सम्पर्क भएन। 

पत्र लिने ल्याउने काम रामकुमार सुवेदीले गर्नुहुन्थ्यो 
–  प्रकाशनारायण भट्ट 

म २०४० सालमा सरकारी सेवामा प्रवेश गरें। २०६८ सालसम्म सेवामा रहँदा मालपोत कार्यालय डिल्लीबजारमा पनि कार्यरत थिएँ। तामेली मिसिल ४८४ हेर्ने मौका पाएँ, त्यस मिसिलमा टिप्पणी उठाउने काम मेरो हस्ताक्षरबाट भएको हो। यसमा मन्त्रिपरिषद्को निर्णयले विभिन्न व्यक्तिका नाममा दाखिल खारेज भएको हो। मैले पेस गरेको टिप्पणीमा के कुन कित्ता जग्गाहरू व्यक्ति विशेषलाई मोही र जग्गाधनीसमेत कायम भएको छ आजसम्म हेक्का छैन। कित्ताकाट तथा दाखिल खारेज पत्र फायल साथ हुनुपर्ने हो। तर आफ्नै काम हो भनी रामकुमार सुवेदीले पत्र ओहोरदोहोर गर्नुहुन्थ्यो।null

बालुवाटारस्थित ललिता निवास रहेको क्षेत्र। तस्बिर : अशोक दुलाल

मन्त्रालयबाट पत्र ल्याउने काम पनि रामकुमार सुवेदीले नै गर्नुहुन्थ्यो। जहाँसम्म मलाई लाग्छ कि कुनै कुनै व्यहोरा मिलेन भनी रामकुमार सुवेदीलाई भन्दा नेपाल सरकार, मन्त्रिपरिषद्बाट संशोधन भएको पत्र ल्याएको जस्तो लाग्छ। यस्मा कस्तो कस्को संलग्नता रहेको थियो भन्ने विषयमा रामकुमार सुवेदीले मोठदेखि नापी कार्यालय र मन्त्रालय ल्याउने काम गर्थे साथै कहिलेकाहीं व्यहोरा बुझ्न डा. शोभाकान्त ढकाल पनि आउने गर्नुहुन्थ्यो। 

राजकुलो र बाटोसमेत कित्ताकाट 
–  अमिन भरतचन्द्र अर्याल 

म नापी कार्यालय डिल्लीबजारमा २०६५ देखि २०६८ सालसम्म कार्यरत थिएँ। विशिष्ट व्यक्ति निवास विस्तारको लागि भवन निर्माण सम्भार डिभिजन कार्यालय अनामनगरले विस्तार गर्नुपर्ने क्षेत्रको क्षे.फ. र बाटोको चौडाइसमेत यकिन गरी पठाइएको उक्त पत्रमा भएको हस्ताक्षर मेरो हो। क्षेत्रफल जोड्ने प्राविधिक कार्य भएको हुँदा भूमिसुधार र मालपोतको पत्रमा उल्लेख भएको मोहीको विवरण हेरी मन्त्रिपरिषद्को निर्णय र मालपोत कार्यालयको आदेशबमोजिम निर्णय कार्यान्वयन गरी कित्ताकाट गरी पठाइएको हो।

कित्ताकाट गर्दा सार्वजनिक प्रकृतिको राजकुलो र बाटोसमेत कित्ताकाट भएको थियो। राजकुलो र बाटोसमेत कित्ताबाट गर्न मालपोत कार्यालयबाट कित्ताकाट गर्न लेखी पठाएको हुँदा मालपोत कार्यालयकै पत्र तथा आदेशका आधारमा कित्ताकाट गरिएको हो। 

प्रधानमन्त्रीको निर्देशनको आधारमा प्रस्ताव पेश
– सुरोजराज राजकर्णिकार, भवन निर्माण सम्भार डिभिजन कार्यालय प्रमुख 

भवन निर्माण सम्भार डिभिजन कार्यालयमा २०६५ सालदेखि २०७१ सालसम्म कार्यरत थिएँ। मन्त्रिपरिषद्को निर्णयबमोजिम विशिष्ट व्यक्तिहरूको सरकारी निवास भवन परिसर क्षेत्रको विस्तार सम्बन्धमा अनुसूची संशोधन गर्ने विषयमा सामान्य मानवीय त्रुटिले हुन गएको सोसम्बन्धी टिप्पणी महानिर्देशकज्यू समक्ष पेस गरिएको हो।

भूमिसुधार कार्यालय काठमाडौंको पत्रमा साबिक नगर २३ क्ष कि नं. ७६ हाल कि.नं. ३८, १२, २१ को मोही महलमा अनुसूची फेला नपरेको भनी उल्लेख भएको एवं सोही कित्ता सम्बन्धमा मालपोत कार्यालय काठमाडौंको च.नं. ९००९ मिति २०६६।१०।१० को पाना नं ६ दोस्रो हरफ सो कित्ताको मोही महलमा ड्राइभर भाइचा उल्लेख भएकोले समग्रमा अनुसूची तयार भएको हो। जग्गा सट्टापट्टा एवं मिलान सम्बन्धमा भूमिसुधार मन्त्रालयअन्तर्गतका निकायहरूबाट प्राप्त जग्गा सम्पत्ति विस्तृत विवरणसहित पटक–पटक भौतिक योजना मन्त्रालयबाट प्रधानमन्त्रीज्यूबाट भएको निर्देशनको आधारमा प्रस्ताव पेस गर्न टिप्पणी पेस भई अन्तिम निर्णय भएको व्यहोरा अनुरोध छ। 

हातहातै टिप्पणी सही गरेको हुँ 
–  महानिर्देशक अशोकनाथ उप्रेती

२०६६ देखि २०६९ साल वैशाखसम्म सहरी विकास तथा भवन निर्माण विभागमा महानिर्देशकको रूपमा कार्यरत थिएँ। मन्त्रिपरिषद्बाट विशिष्ट व्यक्तित्वहरूको सरकारी निवास भवन परिसर क्षेत्रको जग्गा विस्तार गर्ने सम्बन्धी निर्णय हुने सिलसिलामा मैले पेस गरेको टिप्पणीमा उल्लेखित हस्ताक्षर मेरो नै हो। उक्त टिप्पणी भवन निर्माण सम्भार डिभिजन कार्यालयले मालपोत कार्यालय तथा भूमिसुधार कार्यालयबाट प्राप्त विवरणको आधारमा अनुसूची तयार गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्न म कहाँ पेस भएको र मैले सोही दिन सचिवज्यू समक्ष पेस गरेको हुँ। 
भवन निर्माण सम्भार डिभिजनबाट तयार भएको टिप्पणी डिभिजन कार्यालयका डिभिजन प्रमुख सुरोज राजकर्णिकारले हातहातै विभागमा ल्याई प्रधानमन्त्रीज्यूबाट छिटो पेस गर्नू भन्ने निर्देशन सचिवज्यूमार्फत प्राप्त भएको हुँदा मैले 
हतारमा  टिप्पणीमा सही गरी डिभिजन प्रमुखले लिएर जानुभएको हो। 

रामकुमार सुवेदीले के गर्‍यो, थाहा छैन 
–  द्वारिकामान महर्जन

मेरो कित्ता नं. ३३, ३८, २७, २८ भूमिसुधारले मोहियानी हकको प्रमाणपत्र दिएको हो। बाँकी रामकुमार सुवेदी के गर्‍यो, थाहा छैन। पहिला समरजंगपछि मालपोत गएर बाली कुत बुझाएको हो। रामकुमार सुवेदीसँग जग्गा सम्बन्धमा चिनेको हुँ। निजले पटक पटक गरी २० लाख दिएको हो।

कुनै कित्ताको पुर्जाहरू देखेको छैन
–  रेना गुरुङ

ललिता निवास क्याम्पभित्रको जग्गाको कित्ताको बारेमा मलाई केही पनि थाहा छैन। मैले कुनै पनि कित्ताको पुर्जा देखेको छैन। यो जग्गा सरकारी हो भनेर मलाई थाहा भएन।

मेरो नाममा पुर्जा छ भन्ने कुरा हाल थाहा पाएँ। यी सबै काम रामकुमार सुवेदीले गरेको हो, उसले भनेको ठाउँमा गएर भनेको ठाउँमा सही गरेको छु। जग्गाको पैसा भनेर रामकुमार सुवेदीले पटकपटक गरेर २०/२५ लाख रुपैयाँ दिएको हो। 

रामकुमार र मीनबहादुरले जहाँ भन्यो त्यही सही गरें
  देवनारायण महर्जन

अहिले ललिता निवासमा मेरो नामको जग्गा छैन। पहिले के कति जग्गा थियो, कति कित्ता थियो थाहा भएन। लालपुर्जा पनि देखिनँ। बाबुराजा महर्जनमार्फत चिनेका रामकुमार सुवेदीले बोलाएर कहिले डिल्लीबजार मालपोतमा, कहिले मीनबहादुरकोमा गएर सही गरेको थिएँ। के कति जग्गा हो ? मेरो नाममा कति आएको हो ?

मैले जग्गाको लालपुर्जा देखेको छैन। पटकपटक गरेर २० लाख जति पैसा मलाई रामकुमार सुवेदीले दिएको हो। जहाँ भन्यो त्यही मैले सही गरें, मलाई थाहा थिएन।

सबै कारोबार श्रीमान्ले गर्नु भएको हो
–  माधवी सुवेदी

ललिता निवास क्याम्पभित्रका जग्गाको सम्पूर्ण कारोबार मेरो श्रीमान् रामकुमार सुवेदीले गर्नु भएको हो। म मालपोतसम्म गई सही गरेको हुँ। के कति जग्गा छ, कतिमा किनेको हो ? अथवा कसरी प्राप्त भयो थाहा छैन। राणा र किसानबाट मालपोत कार्यालय डिल्लीबजारबाट पास गरी लिएको जग्गाको

कारोबार मेरो श्रीमान् रामकुमार सुवेदीले गर्नु भएको हो। मलाई केही थाहा छैन। 

रामकुमार सुवेदीले भनेअनुसार मोही कायम गराई दिएको हो
–  सञ्जयकुमार महर्जन

हामी किसानहरू ललिता निवासको जग्गामा जोतपोत गरिरहेका थियौं। रामकुमार सुवेदीले कानुनीबमोजिम मोही गरिदिन्छु, तपाईंहरू आफ्नो जग्गामा जोतेर खाइराख्नु, मैले सबै कुरा मिलाएर तपाईंहरूको हातमा मोहीको हक कायम गराइदिन्छु भनेर आश्वासन दिलाउनु भएको थियो। रामकुमार सुवेदीले नै श्री पशुपति टिकिन्छा गुठीको नाममा परेको जग्गा मोही कायम हुन्छ भनी मोही कायम गराइदिएको हो। 

ल्याप्चे लगाएबापत १२ लाख दिए 
–  कान्छा महर्जन

हामीले ललिता निवासको जग्गामा बाली गरेर मात्र बसेका थियौं। रामकुमार सुवेदीले मसँग सम्पर्क गर्नुभयो। मलाई प्रलोभन पार्ने कुरा गरी मालपोत कार्यालय डिल्लीबजारलगायतका ठाउँमा लगेर कागजमा ल्याप्चे सहीछाप गर्न लगाएको थाहा छ। अन्य केही थाहा छैन। अघि–पछि गरी १२ लाख जति पैसा दिएको जस्तो लाग्छ। 
 

 

Post a Comment

0 Comments