टहरामा पाटन क्याम्पस, अर्बौको सम्पत्तिको छैन अत्तोपत्तो



त्रिवि अतिक्रमण-शृंखला ३

टहरामा पाटन क्याम्पस, अर्बौको सम्पत्तिको छैन अत्तोपत्तो

टहरामा पाटन क्याम्पस, अर्बौको सम्पत्तिको छैन अत्तोपत्तो
696Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button


काठमाडौं : त्रिभुवन विश्वविद्यालयअन्तर्गत ६२ वटा आंगिक क्याम्पस छन्। जसमा उपत्यकामा मात्रै २२ वटा छन्। तर, ती क्याम्पसहरूको सम्पत्ति तथा जग्गाजमिनको व्यापक दुरुपयोग भएको पाइएको छ। पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको त्रिभुवन विश्वविद्यालय जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले उपत्यकाका आंगिक क्याम्पसको अचल सम्पत्ति र जग्गाजमिन खोजबिन गरेको छ। त्रिविअन्तर्गतका उपत्यकामा रहेका सबै क्याम्पसहरूको स्वामित्व, भोगाधिकार भोगचलनमा १ हजार २ सय ५३ रोपनी १३ आना २ पैसा १ दाम जग्गा र भवन संरचना रहेको देखिएको छ। 

समितिका पदाधिकारीले काठमाडौंका २२ वटा क्याम्पसमध्ये विश्वविद्यालय क्याम्पस, ललितकला क्याम्पस, जनप्रशासन क्याम्पस, आयुर्वेद क्याम्पसबाहेक १८ वटा क्याम्पसमा स्थलगत गरेर अचल सम्पत्ति र जग्गाजमिन विवरण संकलन गरेका थिए। जसमा धेरै क्याम्पसको अचल सम्पत्ति र जग्गाजमिन अपचलन भएको देखिएको छ। ‘हामीले यसमध्ये ललितपुरको पाटन संयुक्त क्याम्पस, पाटनढोकाको जग्गाजमिन र अचल सम्पत्ति दुरुपयोग उल्लेख गरेका छौं,’ प्रतिवेदनमा भनिएको छ, ‘करिब ३० रोपनी जग्गा आफ्नो नाम ल्याउने काम नै भएको छैन्। जगदम्बाकुमारीदेवी राणाले पाटन क्याम्पसलाई दान दिएको जग्गा नै गायब भएको पाइएको छ।’ जगदम्बादेवी मेजर जनरल मदनशमशेर जबराकी पत्नी हुन्। उनलाई रानी जगदम्बा भनेर पनि चिनिन्छ। उनकै नाममा जगदम्बा श्री पुरस्कार पनि स्थापना भएको छ। उनका श्रीमान् मदन शमशेरको नाममा मदन पुरस्कारको स्थापना भएको थियो। जगदम्बा श्री र मदन पुरस्कार नेपालका महत्त्वपूर्ण र ख्यातिप्राप्त पुरस्कार हुन्।

रानीले दिएको १ रोपनी ६ आना गायब 

रानी जगदम्बाले दान दिएको ललितपुरको महत्त्वपूर्ण स्थापनामा रहेको १ रोपनी ६ आना जग्गा नै भेटन नसकिएको प्रतिवेदनमा छ। पाटन क्याम्पसले रानी जगदम्बाले दान दिएको ललितपुर विशालबजार मल्टिप्लेक्स प्रालिलाई कि.नं. ११४, ११५, ११६, ११७, ११८, २७१ र २७८ गरी ७ कित्ताको १० रोपनी ९ आना २ पैसा जग्गा २०५७ चैत्र १३ गते सम्झौता गरी लिजमा दिएको देखिएको छ। तर लिजमा दिइएको जग्गाको जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपिबाट १०–९–२ र १–६–२ रोपनी जग्गा रहेको देखिन्छ। तर करोडौं मूल्य पर्ने १ रोपनी ६ आना २ पैसा जग्गा लापत्ता छ। 

‘पुल्चोकस्थित रानी जगदम्बाबाट प्राप्त गरिएको भनिएको जग्गाको जग्गाधनी प्रमाण पुर्जामा जग्गाको क्षेत्रफल १० रोपनी ९ आना २ पैसा पनि जनिएको देखिन्छ। तर क्याम्पसले समितिलाई लेखेको पत्रमा १ रोपनी ६ आना २ पैसा जग्गाको क्षेत्रफल क्याम्पसको कुल क्षेत्रफलमा नजोडिएको उल्लेख कहीँ कतै गरेको देखिँदैन,’ प्रतिवेदनमा भनिएको छ, ‘सम्झौतापत्रमा पनि १० रोपनी ९ आना २ पैसामात्र उल्लेख भएको हुँदा पुर्जामा उल्लेखित क्याम्पसको नाममा रहेको १ रोपनी ६ आना २ पैसा जग्गा कहाँ कसले कसरी उपभोग गरेको छ ? सोसमेत खोजबिन गरी क्षेत्रफल यकिन गर्नुपर्ने देखिन्छ।’ रानी जगदम्बाबाट प्राप्त गरेको जग्गाका विषयमा २०५६ सालसम्म १४ रोपनी ८ आना क्षेत्रफल रहेकोमा हाल १० रोपनी ९ आना २ मात्र रहेको र बाँकी जग्गा भूमाफियाहरूको कब्जामा गएको भन्दै उजुरी परेको छ।

२९ रोपनी जग्गाको लालपुर्जा लिन किन विलम्ब ? 

२०२६ सालमा अधिग्रहण भएको २९ रोपनी ४ आना १ दाम जग्गाको अहिलेसम्म पनि पाटन क्याम्पस प्रशासनले जग्गा धनी प्रमाण पुर्जा लिएको छैन। त्रिभुवन विश्वविद्यालय, शिक्षा मन्त्रालय तथा क्याम्पस प्रशासनको गम्भीर हेलचेक्र्याइँले उक्त जग्गा स्वामित्वमा आउन नसकेको हो। क्याम्पस प्रमुख डा. रघुवीर विष्ट जग्गा विषयको टुंगो मन्त्रालय र त्रिविले नै गर्नुपर्ने बताउँछन्। 

२०२६ साल असार २ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम पाटन कलेजको लागि ललितपुर पाटनढोका क्षेत्रको हाल ललितपुर महानगर वडा नं १५ (घ), वडा नं १ (क) र वडा नं ३ ज मा रहेको ३३ कित्ताहरूको क्षेत्रफल ४७ रोपनी ६ आना २ पैसा २ दाम जग्गा अधिग्रहण भएको थियो। हाल यो जग्गा पाटन कलेजकै रूपान्तरित भएकाले पाटन क्याम्पसले भोगचलन गर्दै आएको देखिएको छ। तत्कालीन श्री ५ को सरकारबाट २०२६ सालमा अधिग्रहण भई यस क्याम्पसले भोगचलन गरी आएको जग्गा क्षेत्रफल ४७ रोपनी ६ आना २ पैसा २ दाममध्ये विभिन्न कित्ताहरू भित्रको क्षेत्रफल २९ रोपनी ४ आना १ दाम र जग्गाको हालसम्म जग्गाधनी प्रमाण पुर्जा लिन बाँकी नै रहेको छ। 

क्याम्पसको नाममा रहेको फिल्डबुकमा जनिएका यो जग्गाको जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउन २०५७ जेठ १३ मा मालपोत कार्यालय ललितपुरमा पत्राचार भएको देखिएको प्रतिवेदनमा उल्लेख छ। तर हालसम्म त्यसको कारबाही टुंगो मालपोत कार्यालयबाट नलागेको समितिको ठहर छ। जग्गाधनी दर्ता प्रमाण पुर्जा लिने काममा लाग्न समितिले निर्देशन दिएको छ। क्याम्पसको नाममा अधिग्रहण भएको समयमा नापजाँच भई कायम रहेको साविकको क्षेत्रफल अनुरूप हाल भए नभएको यकिन गरी जग्गाको क्षेत्रफल र से्रस्ता पुर्जा अध्यावधिक गर्नुपर्ने देखिएको प्रतिवेदनमा छ।

तः ननी मंकाखललाई क्याम्पसले किन दियो बाटो ? 

स्थानीय संस्था तः ननी मंकाखललाई पाटन क्याम्पसले बाटोका लागि जग्गा दिएको विषय पनि विवादमा परेको छ। ललितपुर महानगरपालिका वडा नम्बर ११ को कित्ता ३६ को १३ आना १ पैसा १ दाम जग्गा सार्वजनिक जग्गामा अवस्थित तःननी मंकाःखलको स्वामित्वमा रहेको जग्गाको पश्चिमपट्टि सिमानामा पाटन संयुक्त क्याम्पसले प्रयोग गर्दै आइरहेको मूलबाटो र गेट नजिकबाट बाटोको लागि पटकपटक क्याम्पसलाई अनुरोध गरेको देखिएको छ। संस्थालाई अन्यतर्फ उचित विकल्पको मोटरबाटो छैन। स्थानीय दबाब र अनुरोधमा त्रिवि कार्यकारी परिषद्को २०७६ वैशाख ५ मा क्याम्पस र संस्थाबीच एकआपसमा समान क्षेत्रफल जग्गा आदानप्रदान गरी प्लट मिलान गर्ने सम्बन्धमा क्याम्पसले आफ्नो क्याम्पसलाई अहित नहुने गरी आवश्यक निर्णय गर्न क्याम्पस कार्यसमितिलाई जिम्मेवारी दिइएको पाइएको छ।

२०७६ भदौ २० गते ललितपुर महानगरपालिका—११ का तत्कालीन वडाध्यक्ष इन्द्रमान महर्जनसहित तत्कालीन क्याम्पस प्रमुख योगेन्द्रप्रसाद शाह, तःननी मंकाखलका प्रतिनिधिहरूसहितको संयुक्त बैठकबाट क्याम्पसलाई अहित नहुने तथा क्याम्पसको प्रस्ताव अनुरूप नै प्लट मिलान गर्न सहमति गरेका थिए। 

सहमतिबमोजिम सिमाना र अन्य प्रक्रिया अगाडि बढाउने निर्णय भएको देखिएको छ। क्याम्पसले समितिलाई २०८१ कात्तिक २३ मा पठाएको पत्रबमोजिम दुवैतर्फ ९७२.१६ वर्गफिट जग्गा आदान प्रदान भएको र सो स्थानमा बाटो निर्माण भएको उल्लेख छ। क्याम्पसको जग्गा यसरी कुनै संस्थालाई मोटरबाटोको रुपमा भनेर दिन नमिल्ने बताउँछन्। विज्ञान भवनतर्फको मूलगेटको पाटनढोकातिरको मोहडा फर्केको एक हजार वर्ग फिटबराबरको बहुमूल्य जग्गा विश्वविद्यालयलाई गुमराह राखी सित्तैमा तःननी मंकाखललाई दिने गरी प्लट मिलान गरिएको तर मंकाखलले क्याम्पसलाई दिनुपर्ने जग्गा नदिएको गुनासो र उजुरी पनि छ।

लबिम मललाई साढे १० रोपनी जग्गा, सस्तोमा लिज

पुल्चोकस्थित ललितपुर विशालबजार मल्टिप्लेक्स कम्पनी (लबिम)ले पाटन क्याम्पसको साढे १० रोपनी जग्गा सस्तोमा लिजमा लिएर उपयोग गरिरहेको छ। सस्तोमा लिजमा लिएको व्यापारिक प्रतिष्ठान लबिम मलले भने करोडौं कमाइरहेको छ। लबिम मलभित्र सिनेमा हलदेखि विभिन्न थरी पसलहरू छन्। 
२०५७ चैत्रमा पाटन संयुक्त क्याम्पस र विशाल बजार कम्पनीबीच पुल्चोकको १० रोपनी ९ आना २ पैसा जग्गा विशालबजार कम्प्लेक्स निर्माण गरी बहालमा लिनेदिने गरी सम्झौता भएको थियो। निर्माण अवधि बाहेक ३० वर्षको लिज अवधि कायम गरिएको थियो। 

३० वर्षको अवधिलाई त्रिवि घरजग्गा लिज वा बहालमा दिनेसम्बन्धी कार्य व्यवस्थापन प्रणाली, २०५६ बमोजिम २ वर्ष निर्माण अवधिसहितको सम्झौता भएको देखिएको छ। निर्माण अवधिभर २ वर्ष प्रतिमहिना ५० हजारका दरले २ वर्षको १२ लाख र ३० वर्षको कुल भाडा अवधिको कुल रकम १४ करोड ५९ लाख ८३ हजार १ सय २७ रुपैयाँलाई १० खण्डमा विभाजन गरी द्वितीय पक्ष (लबिम)ले प्रथम पक्ष (क्याम्पस)लाई रकम भुक्तानी गर्ने सम्झौता भएको देखिएको छ। २०७२ चैत १० गते पुनः पाटन क्याम्पस र ललितपुर विशाल बजार मल्टिकम्प्लेक्स कम्पनी प्रालिबीच सोही जग्गा २ + २३ वर्ष (निर्माणाधीन अवधि) थप गरी पहिलेको २०५७ को सम्झौतामा सारभूत परिवर्तन नहुने गरी सम्पूर्ण अधिकार र दायित्व हस्तान्तरण गर्ने गरी सम्झौता भएको देखिएको छ। 

दोस्रो पटकको सम्झौताको पहिलो वर्ष र पहिलो सम्झौताको पन्ध्रौं वर्षको तुलना गरी विश्लेषण गर्दा वार्षिक किस्ता रकम क्रमशः ३८ लाख ७ हजार १ सय ९७ समेतको ४३ लाख ७२ हजार ५ सय १६ रुपैया हुनुपर्ने देखिएको प्रतिवेदनमा छ। तर यस आधारमा हेर्दा दोस्रो सम्झौताको पहिलो वर्षदेखि नै वार्षिक ५ लाख ६५ हजार ३ सय २० रुपैयाँ फरक परेको देखिन आएको समितिको ठहर छ। त्रिताल खोजबिन समितिले यस विषयमा सम्बन्धित निकायबाट थप छानबिन गर्नुपर्ने देखिएको निष्कर्ष निकालेको छ। खोजबिन समितिले लबिम मलको भाडाको विषयमा उचित छानबिन गर्न सिफारिस 
गरेको छ। 

‘लबिम मलले सर्वोच्च अदालतबाट रिट फिर्ता लिएपछि २०८१ असोज मसान्तसम्मको भाडा रकम अग्रिम भाडा भनि बुझाएको तर सम्झौताको बुँदा नं. १५.६ को बुझाई वा व्याख्यामा भने समान धारणा बन्न सकेको अवस्था छैन भन्नेसमेत जानकारी प्राप्त हुन आएको,’ प्रतिवेदनमा उल्लेख छ।

शान फर्निचरले तिरेन भाडा 

पाटन क्याम्पसको जग्गामा एउटा फर्निचर उद्योगले विगत २२ वर्षदेखि रजाइँ गर्दै आएको छ। क्याम्पसको समाजशास्त्र भवनको पहिलो तल्लामा २०६० असोज ९ देखि शान फर्निचर बनेपा– १० को कार्यालय छ। तर लामो समयदेखि शानले भाडा तिरेको छैन। २०६० सालमा नै शानका सञ्चालक रोशन श्रेष्ठसँग व्यावसायिक प्रयोजनको सम्झौता भएको थियो। पहिलो वर्ष १ लाख ७५ हजार ५ सय २ भुक्तानी हुने र वार्षिक ५ प्रतिशतले वृद्धि हुने गरी गरेको सम्झौता भएको थियो। पुनः २०७१/०७/१६ मा अर्को सम्झौता भएको देखिएको छ। त्यो सम्झौता पनि २०८० असोज ९ मा समाप्त भएको क्याम्पस प्रशासनले जनाएको छ। यो फर्निचर उद्योगले लामो समयदेखि भाडा नबुझाएको सम्बन्धमा क्याम्पसले कानुनी कारबाही अघि बढाएको छ। क्याम्पस प्रमुख डा. विष्टले सार्वजनिक सूचना नै निकालेर कारबाही प्रक्रिया अघि बढाएको बताए। क्याम्पसले सम्झौता अवधि सकिएलगत्तै २०८० असोज ११ मा सार्वजनिक सूचना प्रकाशन गरी क्याम्पसलाई बुझाउनुपर्ने बाँकी भाडा रकम बुझाउन र भवन /कवल सात दिनभित्र खाली गरी क्याम्पसलाई हस्तान्तरण गर्न सूचना प्रकाशित गरेको थियो। तर फर्निचर सञ्चालकले सूचनाको बेवास्ता गरी हालसम्म पनि सम्पर्कका नआएको क्याम्पस प्रशासनले जनाएको छ।

क्याम्पस प्रमुख डा. विष्टका अनुसार गत कात्तिक १२ गते पुनः सूचना प्रकाशित भएको मितिले सात दिनभित्र बक्यौता भाडा रकम बुझाई भवन/कवल क्याम्पसलाई हस्तान्तरण गर्न अन्तिम पटक सूचना प्रकाशित गरिएको छ। अब नआएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए।

अझै केही जग्गा मोहीको नाममा 

पाटन क्याम्पसको केही जग्गा अझै मोहीको नाममा रहेको देखिएको छ। पाटन क्याम्पसबाट त्रिताल समितिलाई उपलब्ध गराएको क्याम्पसको नाममा प्राप्त जग्गाधनी दर्ता प्रमाण पुर्जामध्ये केहीमा अझै मोहीको नामनामेसी उल्लेख भइरहेको देखिएको छ। २०२६ सालमा नै अधिग्रहण भइसकेको र सोही समयदेखि एकलौटी भोगचलनमा रहेको हुँदा अभिलेख हेरी मोही लगत कट्टा गर्न पनि समितिले निर्देशन दिएको छ।

२०११ भदौ १७ गते पाटन क्याम्पस इन्टर कलेजको नाममा स्थापना भएको थियो। २०१९ मा पाटन डिग्री कलेजमा रूपान्तरण भएको थियो। २०३० साउन १० मा पाटन संयुक्त क्याम्पसको नाममा पुनः नामकरण भएको थियो। २०२६ सालमा क्याम्पसको लागि ४७ रोपनी ६ आना २ पैसा २ दाम जग्गा अधिग्रहण भएको थियो। रानी जगदम्बाबाट क्याम्पसलाई १२ रोपनी जग्गादान दिइएको थियो। पाटन संयुक्त क्याम्पसले ५८ रोपनी ६ आना २ पैसा भोगचलन गर्दै आएको देखिएको प्रतिवेदनमा छ।

त्रिताल समितिको प्रतिवेदनमा औंल्याएका विषयमा छलफल अघि बढाएको क्याम्पस प्रमुख डा. विष्टले बताए। उनले सरकार र त्रिविले नीति विषयको टुंगो लगाउने निकाय भएको र आफू कार्यान्वयन गर्ने निकाय भएको स्पष्ट पनि पारे। केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले २०८१ जेठ १७ गते खोजबिन समिति बनाएको थियो। बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणको समितिको नेतृत्व गरेका पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समिति बनेको थियो। विश्वविद्यालयको विभिन्न स्थानमा रहेको जग्गामध्ये प्रारम्भिक चरणमा काठमाडौं उपत्यकाभित्रको जग्गाको अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवनलगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्ने कार्यदेश पाएको थियो।

समितिका सदस्यमा पूर्वसहसचिव महेन्द्रकुमार थापा, पूर्वसहसचिव जानकीवल्लभ अधिकारी र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. प्रेमसागर चापागाईं सदस्य थिए। समितिले २०८१ जेठ ३१ बाट काम थालेको थियो। तर, संयोजक त्रिताल बिरामी परेका कारण २०८१ असोज २ मा बाँकी कामका लागि समिति सदस्य थापालाई संयोजक तोकिएको थियो। त्यो समितिले २०८१ मंसिर १४ मा केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई प्रतिवेदन बुझाइएको थियो। २०८२ असोज २६ मा यो प्रतिवेदन सार्वजनिक भएको हो।

क्याम्पस भवन जीर्ण, टहरामा पठनपाठन
पाटन क्याम्पसका भवनहरू जीर्ण अवस्थामा पुगेका छन्। लबिम मल भने राम्रो अवस्थामा व्यापारिक प्रयोजनका लागि सञ्चालनमा छ। यता क्याम्पसको भवनमा भने रातो स्टिकर टाँसिएको छ। २०११ सालको पहिलो ऐतिहासिक भवन जीर्ण अवस्थामा छ। संरक्षण गर्न नसकिने अवस्थामा छ। अध्ययन अध्यापनका लागि ६ वटा भवनहरू रहेकोमा १० वटा टहराहरू मात्र प्रयोगमा रहेको जानकारी हुन आएको प्रतिवेदनमा छ। थप सात वटा भवनका लागि २०८०/०८१ को बजेट (रातो किताबमा परेको) तर, बजेट निकासा नभएको प्रतिवेदनमा छ। 

पुराना भवनहरूको मर्मतसम्भार गर्ने तथा नयाँ भवन निर्माण गरी पठनपाठन कार्य सम्पादन गर्ने तथा क्याम्पसको पश्चिमतर्फको अगाडिको जग्गा संरक्षण कार्य अघि बढाउनुपर्ने देखिएको पनि प्रतिवेदनले सुझाएको छ। क्याम्पसको जग्गाजमिन भवनको संरक्षण, उपयोग र व्यवस्थापनसम्बन्धी दीर्घकालीन योजना तर्जुमा गरेको नदेखिँदा त्रिविसँग सम्बन्धित कानुनको अनुसरण गर्दै गुरुयोजना तर्जुमा गर्न आवश्यक देखिएको समितिको सुझाव छ।

 

Post a Comment

0 Comments