चिडियाखानामा वनमन्त्री


चिडियाखानाभित्रै मन्त्रीक्वार्टर, विज्ञ भन्छन्–मन्त्री बस्न मिल्दैन

चिडियाखानाभित्रै मन्त्रीक्वार्टर, विज्ञ भन्छन्–मन्त्री बस्न मिल्दैन
220Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौं : नेपाली बृहत् शब्दकोशमा चिडियाखानाको अर्थ लेखिएको छ– ‘सार्वजनिक प्रदर्शनका निम्ति चरा चुरुंगीलगायतका जंगली पशु र अनौठा शारीरिक बनावट भएका घरेलु जनावरसमेत संग्रह गरिने ठाउँलाई चिडियाघर वा पन्छीखाना भनिन्छ।’ तर, चिडियाखानाभित्रको क्वार्टरमा मन्त्री पनि बस्छन्भन्दा अनौठो लाग्ला। 

वनमन्त्री माधवप्रसाद चौलागार्इं चिडियाखानाभित्रै कर्मचारीका लागि बस्ने क्वार्टरमा बस्छन्। जबकि, पशुपन्छी चिडियाखानामा ओसारपसार गर्दा वा प्राविधिक र विशेषज्ञको आवश्यक्ता परे बस्न बनाइएको हो, उक्त क्वार्टर। 

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा चौलागार्इं मंसिर २६ गते मन्त्री बनेका थिए। ललितपुरको भैंसेपाटीस्थित मन्त्रीहरूको सरकारी निवास जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको थियो। जेन–जी आन्दोलनको जगमा बनेको मन्त्रिपरिषद्का केही सदस्यले त सरकारी निवासको प्रयोग नगर्ने ‘स्टन्ट’ पनि गर्दै आएका छन्। 

घर हुने मन्त्रीहरू घरमा नै बसिरहेका छन्। घर नभएका मन्त्रीहरू विभिन्न सरकारी निवासको प्रयोग गरिरहेका छन्। वनमन्त्री चौलागाईं भने जावलाखेलस्थित चिडियाखानाभित्रको कर्मचारी क्वार्टरमा बस्दै आएका छन्।
सदर चिडियाखानाका प्रमुख सत्यनारायण साहले मन्त्री चौलागाईं चिडियाखानामा बस्दै आएको जानकारी दिए। मन्त्रीका लागि नभई चिडियाखानाका कार्यालय प्रमुख बस्नका लागि उक्त ‘क्वार्टर’ बनाइएको उनले जानकारी दिए । ‘खासमा यो कार्यालय प्रमुखको बस्ने ठाउँ हो,’ साहले भने, ‘क्वार्टर खाली थियो, त्यही भएर उहाँ (मन्त्री)बस्नुभएको हो।’ 

आफूभन्दा पहिलाका कार्यालय प्रमुख राजकुमार गुरुङले यो क्वाटर बनाएको उनले जानकारी दिए। ‘राजकुमार गुरुङजीको सरुवा भएपछि म आएँ,’ साहले भने, ‘मेरो घर भएकाले म बसिन, खाली थियो, अनि मन्त्री बस्नुभएको हो।’ उनका अनुसार वन मन्त्रालयका सचिव, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा. नरेश सुवेदीसहितको निर्देशनमा चिडियाखानामा मन्त्रीको बस्ने व्यवस्था गरिएको हो । कोषका विवादित अध्यक्ष ऐनबहादुर शाही र सदस्य सचिव सुवेदीले आफ्नो पद सुरक्षित राख्न पनि वनमन्त्री चौलागाईंका लागि त्यहाँ बस्ने व्यवस्था गरिदिएको कोषकै कर्मचारीहरू बताउँछन्। विगतका अभ्यास र कानुनी रूपमा मन्त्री चौलागार्इं नै कोषको अध्यक्ष हुनुपर्ने हो।

तर, पूर्वमन्त्री शाही नै हाल पनि अध्यक्ष छन्। उनी अध्यक्ष हुन छोडेर चिडियाखानामा आ श्रय लिन पो पुगेका हुन कि ? भन्ने प्रश्न पनि त्यतिकै छ । सानो संस्थामा अध्यक्ष पाउनका लागि हानथाप नै हुन्छ। तर, वनमन्त्री चौलागाईं किन त्यही ठूलो संस्थाको अध्यक्ष बन्न छोडेर आफ्नो अधिकार प्रयोग गर्नबाट पछि हटिरहेका छन् भन्ने प्रश्न उठेको छ। जेन–जी आन्दोलनको बलमा बनेका मन्त्री नै जुन सरकारविरुद्ध जेन–जीले आन्दोलन गरे, त्यही सरकारका मन्त्रीलाई कोषको अध्यक्ष स्वीकार गरेर किन चुप बसेका छन् ? यो भित्र ठूलो स्वार्थले काम गरेको त छैन ? भन्ने कोषका वैज्ञानिकदेखि कर्मचारीको आशंका छ। वनमन्त्री चौलागाई भने कोष स्वायत्त संस्था भएको बताउँदै आफ्नो क्षेत्राधिकारमा नरहेको बताउँछन्। विभागीय मन्त्रालय भए पनि कोषको कुनै पनि कामकारबाहीमा आफूले केही गर्ने ठाउँ नै नरहेको उनको भनाइ छ। 

हाल वनमन्त्री चौलागाई बस्दै आएको भवन चिडियाखानामा रातविरात जनावर ल्याउँदा कर्मचारी र प्राविधिक बस्नको लागि ‘गेस्ट हाउस’ बनाइएको कर्मचारीहरू नै बताउँछन् । तर, मन्त्रीको आउजाउले त्यहाँ रहेका वन्यजन्तु,पशुपन्छीमा पनि असर पार्ने गरेको पनि बताइएको छ।

सदर चिडियाखाना नेपालको एक मात्र चिडियाखाना हो। यो ललितपुर जिल्लाको जावलाखेलमा अवस्थित छ। सदर चिडियाखानाको सञ्चालन तथा व्यवस्थापन प्रकृति संरक्षण कोषले गर्दै आइरहेको छ। कोष पछिल्लो समयमा विवाद रहँदै आएको छ। कोष अध्यक्ष शाही र सदस्यसचिव सुवेदी नै गैरकानुनी भएको कानुनविद्हरू नै बताउँदै आएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयदेखि सर्वोच्च अदालतसम्म शाही र सुेवदीको नियुक्तिविरुद्ध निवेदन परेको छ । आगामी माघ १८ गते सर्वोच्च अदालतमा पेसी छ। रिट निवेदन दायर गर्नेदेखि अध्यक्ष शाही, सदस्यसचिव सुवेदीलाई अदालतले बोलाएको छ। कोषको संरक्षक प्रधानमन्त्री रहने व्यवस्था छ तर कोषको यो बेतिथिको विषय प्रधानमन्त्री एवं कोषकी संरक्षक कार्कीले मौनता साधेकी छन्। माघ ४ गते निर्वाचन आचारसंहिता लगे पनि त्योभन्दा अघि प्रधानमन्त्रीबाट यो समस्या निराकरण गर्न गह्रो थिएन। उनी मूकदर्शक भएर बसिन्। स्वयम् संरक्षक प्रधानमन्त्री कार्कीको मौनताले पछिल्लो समयमा कोषमा थप बेतिथि मौलाउँदै गएको छ। जथाभावी कर्मचारी भर्नादेखि व्यापक सरुवा गरिएको छ। null

मनपरी कर्मचारी भर्नादेखि सरुवा गर्नेदेखि सदस्य सचिवको कामकारबाहीमा असहमति राख्नेहरूलाई स्पष्टीकरणसम्म सोधिएको छ। यो विषयमा कोषको उच्च व्यवस्थापन टिमले विरोध जनाएको छ। व्यवस्थापकीय बैठक नै बसेर सदस्य सचिवले गरेको एकलौटी कामकारबाहीमा असहमति जाहेर गरिएको छ। जसले गर्दा कोषमा ठूलो हलचल छ। कोषका उच्च पदस्थ कर्मचारी, वैज्ञानिकहरू नै अध्यक्ष शाही र सदस्य सचिवको नियुक्तिदेखि उनीहरूको काम कारबाहीलाई स्वीकार गरिरहेका छैनन्। चिडियाखानालाई ३० अघि मुख्य तीन उद्देश्यले कोषलाई जिम्मा लगाइरहेको थियो। 

मनोरञ्जन दिने, अनुसन्धान गर्ने र शिक्षा दिनको लागि कोषको सुम्पिएको हो। तर, कोषमा हुने नियुक्तीदेखि हरेका क्रियाकलापले चिडियाखानालाई अनावश्यक समस्या थपिएको आवास पनि सम्बन्धित क्षेत्रका विज्ञहरू बताउँछन्। 

११५ प्रजातिका १३०० भन्दा बढी वन्यजन्तु
चिडियाखानाको स्थापना करिब १ सय वर्षअघि भएको हो। १९८९ साल वैशाख २७ गते तत्कालिन प्रधानमन्त्री जुद्धशमशेर जबराले चिडियाखानाको स्थापना गरेका हुन्। जुद्धशमशेर सौखिन र शिकारी थिए। उनले निजी सोख पूरा गर्ने उद्देश्यका साथ सदर चिडियाखानाको स्थापना गरेका थिए। स्थापनाकालमा सदर चिडियाखानाको व्यवस्थापन सैनिक अधिकृतद्वारा हुने गरेको थियो। २००७ को राजनीतिक परिवर्तनपछि सदर चिडियाखानाको स्वामित्व नेपाल सरकारमा आयो र यसलाई २०११ सालदेखि सर्वसाधरणका निमित्त खुला गरियो।

विभिन्न कालखण्डमा यसको व्यवस्थापन विभिन्न निकायद्वारा हुँदै आएको थियो। २००७ सालदेखि २०१९ सम्म शिक्षा मन्त्रालयअन्तर्गत र २०१९ देखि २०३० सम्म कृषि मन्त्रालय, २०३० पश्चात् वन तथा भू–संरक्षण मन्त्रालय र यसै मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा सदर चिडियाखानाको व्यवस्थापन हुँदै आएको थियो। २०५२ को पुस १४ गतेका दिन तत्कालीन श्री ५ महाराजाधिराज वीरेन्द्रवीर विक्रम शाहको स्वर्ण शुभजन्मोत्सवको अवसरमा सदर चिडियाखानाको व्यवस्थापनको जिम्मा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम ६० वर्षका लागि राष्ट्रिय प्रकृति संरक्षण (तत्कालीन श्री ५ महेन्द्र प्रकृति संरक्षण कोष) लाई प्रदान गर्ने निर्णय भएको थियो।

सदर चिडियाखानामा वर्षमा सरदर १० लाख दर्शक अवलोकनका लागि आउने गरेका छन्। वर्षमा ३ सय ६५ दिन नै खुला रहने यस चिडियाखाना ऐतिहासिक महत्व बोकेको एक सांस्कृतिक स्थल पनि हो। रातो मछिन्द्रनाथको भोटो जात्रा जस्तो राष्ट्रिय सांस्कृतिक पर्वको दिनमा यहाँ आउने दर्शकहरूको संख्या २० हजारभन्दा बढी पुग्ने गरेको चिडियाखानाको प्रतिवेदनमा छ । यहाँ स्थानीय समुदायहरूले परम्परागत रूपमा कुल पूजा गर्ने मन्दिर पनि छ। 

१७औं शताब्दीमा राजा सिद्धिनरसिंह मल्लको शासनकालमा निर्माण गरिएको ऐतिहासिक पोखरी पनि रहेको छ। यसै पोखरीको वरिपरिको हराभरा क्षेत्रमा बनाइएको चिडियाखानामा जुद्धशमशेर राणाले आफ्नी आमा र भाउजूप्रति सम्मान दर्साउनका लागि उनीहरूको शालिक स्थापना गरेका थिए। साथसाथै सदर चिडियाखानामा सोखका लागि जुवा खेल्ने छुट्टै जुवाघरको निर्माण गरेका थिए। चिडियाखानाका कार्यालय प्रमुख साहले जावलाखेलस्थित सदर चिडियाखाना सन्ध्याकालीन रूपमा सञ्चालन गराएको बताए। उनका अनुसार अन्य समय बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ने चिडियाखाना पछिल्लो एक वर्षदेखि दुई घन्टा बढाइएर ७ बजेसम्म पुर्‍याइएको छ। उनले कोसेली घर पनि सञ्चालनमा ल्याएको बताए। उनले पछिल्लो पर्यटनको संख्या पनि बढेको बताए। 

चिडियाखाना प्रशासनका अुनसार हाल १ सय १५ प्रजातिका १ हजार ३ सयभन्दा बढी वन्यजन्तुहरू छन्। सदर चिडियाखानामा वन्यजन्तुहरूको रेखदेख एवं उचारका लागि क्युरेटर, पशु चिकित्सक र जु किपरसहितको टिम २४ सै घण्टा खटिएको हुन्छ। यहाँ वन्यजन्तुको छुट्टै ल्याबसहितको अस्पताल सञ्चालनमा छ। यहाँ वन्यजन्तुहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखी वन्यजन्तुहरूका लागि नियमित इनरिचमेन्टका कार्यक्रमहरू सञ्चालन गरिँदै आएको छ। मन्त्री बसेको भवनमा नै वन्युजन्तु उपचारको लगायतका काम पनि हुने गरेका थिए। मन्त्री बस्दा त्यो पनि प्रभावित भएको छ। 

मन्त्री चौलागाईं भन्छन्, ‘ठाउँ नपाएर बसेको हुँ’
वनमन्त्री चौलागाईं भने आफूलाई बस्ने ठाउँ नभएर चिडियाखानामा बस्नु परेको तर्क गर्छन्। ‘चिडियाखानामा बाध्यताले बसेको हुँ, मन्त्रीक्वार्टर (भैंसेपाटी) सबै जलेको छ,’ उनले भने, ‘पुरानो मन्त्रीक्वार्टर रहेको हरिहर भवन अरूले नै अकुपाई गरिसकेका रहेछन्। सचिवजीले नै त्यहाँ व्यवस्थापन गरिदिनुभएको हो।’ संक्रमणकालीन व्यवस्थापन (ट्रान्जिसन म्यानेजमेन्ट) को लागि आफू चिडियाखानामा बसिररहेको उनले बताए। null

चिडियाखानामा २/३ कोठामा मात्रै आफूले जेनतेन दैनिकी निर्वाह गरिरहेको उनले बताए। ‘न गाडी नै छ, न बस्ने ठाउँ नै। मन्त्री भएर के गर्नु ? जसोतसो काम चलाइरहेको छु,’ उनले भने। मन्त्रीको आवास व्यवस्थापन गर्ने निकायलाई यसबारे पटक–पटक आग्रह गरे पनि ‘समय लाग्ने जवाफ’ पाएको उनले बताए। मन्त्रीक्वार्टर खोज्दाखोज्दै आफ्नो कार्यकाल नै सकिने जस्तो अवस्था देखिएको मन्त्री चौलागाईंले बताए। 

https://www.annapurnapost.com/story/493210/


 

Post a Comment

0 Comments