अख्तियारद्वारा पुनरावेदनमा छलाङ


अख्तियारद्वारा पुनरावेदनमा छलाङ

अख्तियारद्वारा पुनरावेदनमा छलाङ
सुन्नुहोस्
86Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि नागरिकको चासो र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियतासँगै आयोगमा उजुरीको संख्या पनि बढेको छ। आर्थिक वर्ष २०७९/८० मा साढे २७ हजार उजुरी परेको अख्तियारको तथ्यांकले देखाएको छ। 

उक्त तथ्यांकअनुसार बिभिन्न माध्यमबाट २० हजार ३ सय ६८ उजुरी आयोगमा परेका छन्। यसमा अघिल्लो आर्थिक वर्ष २०७८/७९ बाट जिम्मेवारी सरेर आएका ७ हजार १ सय ६२ थपिँदा २७ हजार ५ सय ३० उजुरीको संख्या पुगेको अख्तियारका प्रवक्ता एवं सहसचिव भोला दाहालले जनाकारी दिए। अख्तियारमा गत अर्थिक वर्ष २४ हजार ३ सय ३१ उजुरी परेका थिए। ती उजुरीमध्ये १८ हजार २ सय ४५ उजुरी फछ्र्योट भएका छन्। जुन कुल उजुरी संख्याको करिब ६६.२७ हुने दाहालले बताए। 

अख्यितारले यो वर्ष विस्तृत अनुसन्धानलाई पनि प्राथमिकतामा राखेको छ। १ हजार ७३ उजुरीको अख्तियारले विस्तृत अनुसन्धान गरेको छ। जबकी गतवर्ष ८ सय २३ को मात्रै विस्तृत अनुसन्धान गरेको थियो। आर्थिक वर्ष २०७९/८० मा १ सय ६२ मुद्दा विशेष अदालतमा दायर भएको सार्वजनिक तथ्यांकले देखाउँछ। 

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा आयोगबाट विशेष अदालतमा कुल १ सय ३१ वटा मुद्दा दर्ता भएका थिए। अघिल्लो वर्षभन्दा यो वर्ष मुद्दा दर्ता पनि बढेको छ। योपटक सबैभन्दा बढी गैरकानुनी लाभ हानीमा मुद्दा दर्ता भएका छन्। विगतका वर्षमा घुसमा बढी मुद्दा दर्ता हुने गरेका थिए। सर्वोच्च अदालतले अख्तियारले नै पैसा दिएर गरिने स्टिङ अपरेसनमा रोक लगाएपछि घुसमा मुद्दा घटेका हुन्। गैरकानुनी लाभ हानीमा ६४ मुद्दा दर्ता भएका छन् जसका प्रतिवादी ४ सय ४२ छन्। घुसमा भने ३२ मुद्दा दर्ता भएका छन्। घुसका प्रतिवादी ४६ छन्। यस्तै सार्वजनिक सम्पत्तिको हानीनोक्सानीमा २७ मुद्दा र १ सय ५० प्रतिवादी छन्। 

null

यस्तै गैरकानुनी सम्पत्ति आर्जनमा १३ मुद्दा र २९ प्रतिवादी छन्। नक्कली शैक्षिक प्रमाणपत्रमा ८ प्रतिवादीविरुद्ध ८ मुद्दा दर्ता गरिएको छ। यस्तै राजस्व हिनामिनामा ७ मुद्दा दायर भएका छन्। जसका प्रतिवादी ४६ छन्। विविधमा ११ मुद्दा, ३९ प्रतिवादी छन् भने दायर भएका १ सय ६२ वटा मुद्दामा प्रतिवादीको संख्या ७ सय ६० रहेको छ। जसमध्ये विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी १, अन्य राष्ट्रसेवक कर्मचारी ३ सय ५५, बिचौलिया/मतियारलगायत अन्य १ सय ७८ जना छन् भने निर्वाचित/मनोनीत पदाधिकारीहरू जम्मा २ सय २६ जना छन्। 

यी प्रतिवादीहरूबाट १ अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४ सय ३७ मात्र बिगो माग दाबी गरिएको प्रवक्ता दाहालले बताए। उनका अनुसार आयोगका जम्मा ७८ वटा बैठकबाट १ हजार २ सय ४६ वटा निर्णय भएका छन्।

आर्थिक वर्ष २०७९/८० मा ३७ वटा रंगेहात कारबाही गरिएको आयोगले जनाएको छ। रंगेहात कारबाहीमा परेका व्यक्तिमध्ये कुल राष्ट्रसेवक कर्मचारी ४० जना छन्। त्यसैगरी, ६ जना बिचौलिया/मतियार र ८ जना निर्वाचित/मनोनीत पदाधिकारी यो कारबाहीमा परेका छन्।

इतिहासकै धेरै पुनरावेदन 

यो आर्थिक वर्षमा इतिहासकै धेरै मुद्दामा अख्तियार पुनरावेदन गएको छ। ठूल्ठूला काण्डमा नै विशेष अदालतले सफाइ दिएको छ। २०७९/८० मा विशेषबाट ३४१ वटा फैसला प्राप्त भएकोमा आंशिक ठहर र सफाइ पाएका मुद्दामध्ये २ सय ३७ वटा मुद्दामा आयोगले पुनरावेदन गरेको प्रवक्ता दाहालले बताए। 

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा आयोगले ५७ वटा मुद्दामा पुनरावेदन गरेको थियो। सिक्टा सिँचाइ आयोजना, भृकुटीमण्डप जग्गा भाडा प्रकरण, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिविरुद्ध लगायतका मुद्दामा विशेषको फैसलाविरुद्ध अख्तियार पुनरावेदन गएको छ। अख्तियारले नेपालको संविधानको व्यवस्थाबमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा कानुनबमोजिम अनुसन्धान गर्ने वा गराउने र दोषी देखिएमा अख्तियारप्राप्त अदालतमा आरोपपत्र दायर गर्ने कार्य गर्दै आएको छ।


 

Post a Comment

0 Comments