अधकल्चा अनुसन्धान



अधकल्चा अनुसन्धान

अधकल्चा अनुसन्धान
सुन्नुहोस्
40Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button


‘सरकार पुरानो सिनो कोट्याएर बसेको छ, भ्रष्टाचार नियन्त्रणमा एक थोपा पनि काम गरेकै छैन।’

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरण टुंगोमा नपुग्दै ललिता निवास जग्गा अतिक्रमणमा सरकारले अनुसन्धान अघि बढायो। यी प्रकरणले चर्चा पाइरहेका बेला भन्सार पास भएको एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागले समात्यो। तीन ठूला प्रकरणले एकैपटक तरंग मच्चायो। तर, तीनवटै प्रकरण अधकल्चा छन्। 

यी प्रकरणका मुख्य नेतृत्वकर्तालाई अनुसन्धानको दायरामा ल्याइएको छैन। सरकारले पुरानो सिनो कोट्याउने काम मात्रै गरेको पूर्वसचिव भरत थापाको टिप्पणी छ। ‘सरकार पुरानो सिनो कोट्याएर बसेको छ, भ्रष्टाचार नियन्त्रणमा एक थोपा पनि काम गरेकै छैन,’ ट्रान्सपरेन्सी इन्टरनेसनलका पूर्वअध्यक्षसमेत रहेका थापाले भने, ‘ललिता निवास पुरानै सिनो हो, सुन तस्करी चलिरहेकै छन्, पुरानो गर्नु हुँदैन भन्ने होइन तर नयाँ काम गरेर देखाउनु पर्‍यो, प्रचारबाजीमा मात्रै सरकार लागेको छ।’

पूर्वप्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल ठकुरी भ्रष्टाचारको अनुसन्धानमा सरकार डराए जस्तो देखिएको बताउँछन्। ‘सरकार डराएको, हच्किएको देखिन्छ,’ उनले भने, ‘राजनीति नै शक्ति केन्द्रले चलाएका कारण यस्ता मुद्दा बीचैमा टुंगिने बरालिने गरेका छन्। गलत शक्ति केन्द्रले राजनीति चलाइरहेको छ, यसले गर्दा अनुसन्धानहरू पनि बीचमै हराउँछन्।’

शरणार्थी प्रकरण : बीचैमा बरालियो

सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा पूर्वउपप्रधानमन्त्री, मन्त्री, बहालवाला सचिवसम्म मुछिए। पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी, कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाल सचिव टेकनारायण पाण्डे पक्राउ परे। भुटानी नेता टेकनारायण रिजाल पनि तानिए।

यो प्रकरणका कारण सरकारप्रति आशा पनि नजागेको होइन। तर, सत्तारुढ दलका प्रमुख नेताकै परिवार मुछिएपछि अनुसन्धान बरालियो। यो प्रकरण टुंगोमा नपुग्दै ललिता निवास प्रकरण र सुन तस्करी प्रकरणले बजार तात्यो। 

ललिता निवास : निर्णयकर्तालाई उन्मुक्ति

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणको फाइल खोल्यो। यो प्रकरणमा संलग्न रहेको भन्दै सीआईबीले केही व्यापारी र कर्मचारी पक्राउ गर्‍यो। 

निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलगायत केही पूर्वकर्मचारी पक्राउ  परे। वहालवाला सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेर ‘स्टन्टबाजी’ मात्रै गरेको आरोप सरकारमाथि लाग्यो। तर, निर्णयकर्तालाई छुने आँट सरकारमा देखिएन। 
यो प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराई मुछिएका छन्। ललिता निवासको जग्गा व्यक्तिकै हो भनेर तीनजना पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी, अनुपकुमार शर्मा र मीनबहादुर रायमाझीको इजलासले फैसला गरेको थियो। 

अख्तियार पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, मुख्य सचिव लीलामणि पौडेलसमेत यो प्रकरणमा जोडिएका छन्। ललिता निवासको जग्गा व्यक्तिकै हो भन्ने उच्च राजनीतिक, प्रशासनिक, न्यायिक नेतृत्वमा माथि अनुसन्धान गर्नेतिर सरकारले ध्यान पुगेको छैन। यो प्रकरणमा न्यायाधीश कुमार रेग्मी र एमाले उपाध्यक्ष विष्णु पौडेलका पुत्र नवीन पौडेलविरुद्ध पनि मुद्दा परेको छैन।

सुन प्रकरण : धातु समातियो, मान्छे कहिले ?
सुनसँग सम्बन्धित चर्चित दुई काण्डमध्ये भर्खरै बाहिरिएको घटना हो, त्रिभुवन विमानस्थल भन्सारबाट १ सय किलो सुन बाहिरिनु। कडा सुरक्षालाई छिचोेलेर बाहिर निस्किएको सुन सिनामंगलबाट बरामद भयो। प्रहरी र भन्सारका कर्मचारीले हैन, राजस्व अनुसन्धान विभागले समात्यो।

यत्रो सुरक्षा व्यवस्थाकाबीच सुन कसरी विमानस्थल र भन्सारबाट बाहिरियो भन्ने प्रश्न उब्जेको छ। यो प्रकरणमा तल्ला तहका कर्मचारीलाई कारबाही गरेको नाटक गरेर सरकार चोखो हुन नसक्ने सम्बन्धित क्षेत्रका जानकार बताउँछन्। 

यसको जिम्मेवारी गृहमन्त्री र अर्थमन्त्रीले लिनुपर्नेमा उनीहरूले अहिलेसम्म त्यसको जिम्मेवारी लिएका छैनन्। यो प्रकरणमा हालसम्म १८ जना पक्राउ 
परेका छन्। पक्राउ परेका व्यक्तिहरू पनि सत्तापक्षकै नेतासँग जोडिएको तस्बिरहरू सार्वजनिक भइरहेका छन्। 

https://annapurnapost.com/story/439331/

 

Post a Comment

0 Comments