१. वर्षको सुरुमै उपनिर्वाचन
०८० सालको प्रारम्भमै तीन क्षेत्रमा उपनिर्वाचन भयो। वैशाख १० गते बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन भयो। तनहुँ–१ बाट निर्वाचित कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति, बारा–२ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि ती क्षेत्र रिक्त भएका थिए।
चितवन–२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको नेपाली नागरिकता सर्वोच्च अदालतले खारेज गरेको थियो। त्यसैकारण उनी सांसदबाट पदमुक्त भएका थिए। चितवन–२ मा भएको उपनिर्वाचनबाट रास्वपा सभापति लामिछाने पुनः विजयी भए। तनहुँ–१ मा रास्वपाका डा. स्वर्णिम वाग्ले र बारा–२ बाट जसपा अध्यक्ष उपेन्द्र यादवले उपचुनाव जितेका थिए। उपचुनावबाट रास्वपालाई एक सिट थप उपलब्ध भयो।
२.मिटरब्याजपीडित आन्दोलित
मिटरव्याज पीडित खुट्टै हिँडेर राजधानी आए। फागुनमा सशक्त आन्दोलन गरे। सरकारसँगको सहमतिपछि आन्दोलन स्थगित गरेको १७ महिनामै उनीहरूले फेरि आन्दोलन गरेका थिए। उनीहरूका माग सम्बोधन गर्न नयाँ आयोग गठन गरेपछि उनीहरूले आन्दोलन स्थगित गरेका थिए।
उनीहरू २० दिनभन्दा लामो समय हिँडेरै काठमाडौँ आएका थिए। ०७९ भदौमा काठमाडौं केन्द्रित आन्दोलन गरेका उनीहरूसँग सरकारले वार्ता गरेर २०७९ असोज १ गते ५ बुँदे सहमति गरेको थियो। सहमति अनुसार सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षता ‘अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग २०७९’ गठन गरेको थियो। आयोगले देशभरबाट मिटर ब्याजविरुद्ध उजुरी आह्वान गरेको थियो। तर उक्त आयोगले सबै समस्या समाधान गर्न नसकेको भन्दै पीडितहरूले अर्को आन्दोलन गरेका थिए।
३. भुटानी शरणार्थी मुद्दामा भीआईपी जेल
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको भन्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजालसहित ३० जनाविरुद्ध प्रहरीले मुद्दा दायर गर्यो। जेठ १० गते दायर उक्त मुद्दा विचाराधिन छ।
४. रेशमलाई जन्मकैद सदर
सर्वोच्च अदालतले टीकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दीपायलको फैसला सदर गर्यो। सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला जेठ २ गते गरेको थियो।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपित रेशम चौधरी जन्मकैदको सजाय काटेका थिए। उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले जन्मकैदको सजाय सुनाएको थियो।चौधरीविरुद्ध उच्च अदालतको फैसला मिलेकै देखिएकाले जन्मकैदको फैसला सदर हुने ठहर गरेको थियो।
५. कामीरिता २८औं पटक सगरमाथामा
पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा २०८० सालमा नयाँ कीर्तिमान कायम गरेका थिए। उनले जेठ ९ गते सगरमाथाको चुचुरोमा पुगेसँगै २८औं पटक सगरमाथाको सफल आरोहण गरी सर्वाधिक सगरमाथा आरोहण गर्ने आरोही बने।
यसअघि जारी सिजनमा गत मे १७ मा उनले २७ औंपटक सगरमाथा आरोहण गरेर कीर्तिमानी कायम गरेका थिए। अर्थात् मे २२ मा पासाङ दावा शेर्पाले पनि २७ औंपटक सगरमाथाको आरोहण गरेर कामीरिताको कीर्तिमानीमा बराबरी बनाएका थिए।
कामीरिताले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औंपटक सगरमाथाको आरोहण गरेका थिए। खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरैपटक सगरमाथा आरोहणसँगै आठपटक चोयु, तीन पटक मनास्लु, एकपटक ल्होत्से, केटु आरोहण एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन्।
सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ।
७. कृत्रिम खुट्टाले हरिले चुमे सगरमाथा
कृत्रिम खुट्टाको सहायताले पूर्वगोर्खा सैनिक हरि बुढामगर सर्वोच्च शिखर सगरमाथाको चुचुरो टेकेका थिए। बुढामगरले जेठ ५ गते दिउँसो ३ बजे सगरमाथा शिखरलाई चुमेका थिए।
हरिले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा खुट्टा गुमाएका थिए। सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाएका उनले सगरमाथा चुचुरोमा नेपाली झन्डा फहराएर पर्केका थिए। हरिले यो आरोहणसँगै सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडामाथिबाट दुवै अंग विच्छेदन) व्यक्तिको विश्व रेकर्डसमेत बनाएका थिए। रोल्पा थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले पाँच वर्षको प्रयासपछि सगरमाथाको सफल आरोहण गरेका हुन्। उनको देशभित्र मात्रै होइन, विदेशमा समेत चर्चा भइरहेको छ।
८.रेशमले आममाफी पाए, राजनीतिमा फर्कन पाएनन्
गणतन्त्र दिवसको अवसरमा टीकापुर घटनाका मुख्य दोषी रेशम चौधरीले आममाफी पाए। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिएका थिए।
राष्ट्रपतिले टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी दिएका थिए। त्यसपछि रेशमले सक्रिय राजनीति गर्न खोजे। तर, निर्वाचन आयोगले उनलाई पार्टीको अध्यक्ष बन्न रोक लगायो।
९. श्रमदानबाट धरानमा पानी
धरानका मेयर हर्क साम्पाङले ९९ दिनको श्रमदान अभियानबाट धरानमा पानी ल्याउन सफल भए। चुनावको बेला हर्क साम्पाङले गरेको बाचा पूरा गरेका थिए। चुनाव जितेपछि हर्क साम्पाङ पानीका मुहान खोज्दै हिँडेका थिए। जनतालाई पानीको तिर्खा मेटाउन आफैं ढुंगा बोक्न थाले। पानीका पाइप काँधमा बोके। उनको अभियानमा जनता पनि जोडिए। स्वदेशमा हुनेले श्रमदान गरे, विदेशमा हुनेले आर्थिक सहयोग गरे। उपमहानगरपालिकाको एक रुपैयाँ पनि खर्च नगरी झन्डै ४ करोडको लगानीमा धरानमा कोकाहा खोलाको पानी झर्यो।
धरानका मेयर साम्पाङको पहलमा चलेको ९९ दिनको श्रमदानबाट धरानमा जेठ २८ गते पानी ल्याइएको थियो। करिब ४० किलोमिटरको दूरीबाट ४ करोड ५० लाख लागतमा धरानमा खानेपानी ल्याएका हुन्। कोकाहा खोलाबाट ल्याएको पानीले धरानवासीले भोग्दै आएको समस्यालाई केही हदसम्म भए पनि राहत मिलेको छ।
१०. नागरिकता ऐन पारित
राजनीतिक खिचातानी र आरोप प्रत्यारोपपछि संसदबाट ०८० सालमा नागरिकता ऐन २०६३ को संशोधन विधेयक पारित भयो। अघिल्ला राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न रोकेको विधेयकलाई रामचन्द्र पौडेल राष्ट्रपति भए लगत्तै प्रमाणीकरण गरे।
२२ साउन २०७५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता ऐन संशोधन विधेयक शेरबहादुर देउवा नेतृत्वको सरकारले २१ असारमा फिर्ता लिएर नयाँ नागरिकता विधेयक दर्ता गरेको थियो। जसलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको थियो।
११. किसानले गोलभेंडा सडकमै फाले
यो वर्ष किसानका लागि त्यति फलदायी भएन। गोलभेंडाको उचित भाउ नपाएपछि किसानले असार ३ गते काठमाडौंकै सडकमा २५ हजार किलोग्राम गोलभेंडा फालेका थिए। कालीमाटी तरकारी तथा फलफूल बजारमा लगानी अनुसारको भाउ नपाएपछि किसानले गोलभेंडा फालेका हुन्। तरकारी बजारले नेपालीभन्दा भारतीय गोलभेंडालाई प्राथमिकतामा राखेको उनीहरूको आरोप थियो।
तरकारी बजारको दैनिक मूल्यसूचीअनुसार असार ३ मा भारतीय ठूलो गोलभेंडा प्रतिकेजी ४० देखि ५० रुपैयाँमा कारोबार भएको थियो भने सानो गोलभेंडा प्रतिकेजी ६ देखि १० रुपैयाँमा कारोबार भएको थियो। गोलभेंडा लगेर कालीमाटी बजार पुगेका किसानले प्रतिकिलो चार रुपैयाँमा पनि बिक्री नभएपछि सडकमा फालेका हुन्। विरोधस्वरूप तरकारी बजारकै अगाडि गोलभेंडा फालेको उनीहरूको भनाइ थियो।
यसअघि चितवनका किसानले पनि सडकमै तरकारी फालेका थिए। भारतबाट आयातीत तरकारीका कारण आफ्नो उत्पादनले मूल्य नपाएको उनीहरूको भनाइ थियो।
१२. कोशीमा कांग्रेसको विद्रोह
तत्कालीन गठबन्धनमा कोशीको मुख्यमन्त्री माओवादीको भागमा थियो। तर, कांग्रेसको शेखर कोइराला पक्षका केदार कार्कीले एमालेसँग मिलेर विद्रोह गरे। एमालेको समर्थनमा मुख्यमन्त्री बने। तत्कालीन कांग्रेससहितको माओवादी गठबन्धनमा यो घटनाले निकै तरंग ल्यायो। असोज २७ मा कांग्रेस नेता केदार एमालेका ३९ र आफ्नो दलका ८ सांसदको समर्थन जुटाएर मुख्यमन्त्रीमा चयन भएका थिए।
तर, केन्द्रमा नयाँ गठबन्धन बनेपछि एमालेले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमालेका हिक्मत कार्की मुख्यमन्त्रीको दाउमा छन। मुख्यमन्त्री कार्की अल्पमतमा परेको भन्दै एमाले र माओवादीले कार्कीको नेतृत्वमा वैकल्पिक सरकार गठनको प्रयास थालेको हुन।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको कार्की सरकार अल्पमतमा परेकाले अर्को सरकार गठनको सहजताका लागि राजनीतिक दाबी पेस गरेको छ। ०७९ को निर्वाचनपछि प्रदेश सरकार गठन भएको करिब १५ महिनायता कोशीमा सत्ता फेरबदल मात्रै दोहोरिरहेको छ। पछिल्लो सरकार गठन भएको करिब ६ महिनापछि कोशीमा पुनः सरकार अदलबदलको चक्र सुरु भएको हो।
१३. भारतले १० हजार मेगावाट किन्ने गर्यो सहमति
०८० साल विद्युत् विकासको क्षेत्रमा भने निकै फलदायी रह्यो। छिमेकी भारतले अबको १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्नेमा सहमतिपत्रमा हस्ताक्षर गर्यो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तापछि उक्त सम्झौतामा हस्ताक्षर भएको थियो।
दुवै प्रधानमन्त्रीको उपस्थितिमा फुकोट कर्णाली र तल्लो अरूण निर्माणका लागि एमओयू भएको छ भने गोरखपुर–भैरहवा ४०० केभी प्रसारण लाइनको शुभारम्भ पनि भएको छ। उक्त सम्झौतामा यो आयोजनाबााट नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउँछ। बाँकी बिजुली नेपाल सरकारलाई रोयल्टी तिरेर सतलजले भारतीय बजारमा पुर्याउने उल्लेख छ। ६६९ मेगावाट क्षमताको तल्लो अरूण जलविद्युत् परियोजना निर्माणका लागि लगानी बोर्ड नेपालले ९२ अर्ब ६८ करोड रुपैयाँ बराबर लगानी स्वीकृत गरिसकेको छ।
१४. सर्वोच्चले कोशीमा पनि आदेश दियो।
सर्वोच्च अदालतले कोशी प्रदेश सरकारबारे महत्वपूर्ण फैसला सुनायो। त्यसै फैसलाका आधारमा कोशी सरकारको मुख्य मन्त्रीमा एमालेका नेता हिक्मत कार्की मुख्य मन्त्रीमा फर्किए। सर्वोच्च अदालतले नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका उद्घव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गरेपछि कार्कीले पुनः मुख्यमन्त्रीको पद पाएका हुन्। तर, कार्कीले बहुमत पाउन नसकेपछि पद गयो। एमालेसँग मिलेर विद्रोह गरेका कांग्रेस नेता केदार कार्की मुख्यमन्त्री बने।
१५. संविधानसभा अध्यक्ष नेम्बाङको निधन
नेपाली राजनीतिका एक हस्ती संविधानसभा अध्यक्ष सुवास नेम्बाङको निधन भयो। प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्बाङको भदौ २६ गते हृदयघातबाट निधन भएको थियो। इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्बाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए। उनी इलाम २ बाट २०५६ सालदेखि संसदीय चुनावमा निरन्तर विजयी हुँदै आएका थिए। २०४८ सालदेखि २०५२ सालसम्म उनी राष्ट्रिय सभाका सांसद बनेका थिए।
२०६३ सालमा पहिलोपटक सभामुख बनेका नेम्बाङ अन्तरिम संसद्मा समेत सभामुख बनेका थिए। पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्बाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो। उनको निधनपछि रिक्त पदमा आगामी वैशाख १० गते उपनिर्वाचन हुंदैछ। एमालेले नेम्बाङका छोरा सुहाङलाई उपनिर्वाचनमा उम्मेदवार बनाएको छ।
१६. अमेरिकाबाट प्रधानमन्त्री सिधै चीन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण अचम्मको भयो। अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर दाहाल त्यहीबाट सिधै चीन भ्रमणमा गए। उनले चीनमा उच्चस्तरीय राजनीतिक भेटवार्ता, केही ‘सैद्धान्तिक’ समझदारी र छोङछिङ, तिब्बत, छेन्दुको ‘रिफ्रेसमेन्ट’ घुमफिरपछि स्वदेश फर्के। दाहालले चीनका राष्ट्रपति चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग भेट गरेका थिए।
१७.प्रधानमन्त्रीको अमेरिका भ्रमण
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका भ्रमणमा पुगे। अमेरिकामा प्रधानमन्त्री दाहालले अमेरिकी राष्ट्रपति, राष्ट्र संघका महासचिवलगायत विभिन्न देशका उच्च पदस्थ व्यक्तिसँग जलवायु परिवर्तन, दिगो विकासका लक्ष्यहरू, नेपालको शान्ति प्रक्रिया, शान्ति सेना, नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहकार्यलाई थप सुदृढ गर्ने लगायत विविध विषयमा छलफल गरेका थिए।
संयुक्त राष्ट्रसंघको महासभामा अति कम विकसित देशका पक्षमा प्रधानमन्त्रीले सम्बोधन गरेका थिए। शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन अन्तर्राष्ट्रिय समुदायको सहयोगका लागि पनि उनले अनुरोध गरेका थिए।
१८. शिक्षक आन्दोलन
सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित भए। उनीहरू विद्यालय नै बन्द गर्दै असोजमा राजधानी केन्द्रित बनेर आन्दोलित भएका थिए।
देशभरका शिक्षक काठमाडौंको नयाँबानेश्वर–माइतीघर क्षेत्रमा आएर आन्दोलनमा उत्रिएका थिए। सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित भएका हुन्। उनीहरू विद्यालय नै बन्द गर्दै राजधानी केन्द्रित बनेर आन्दोलित भएका थिए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यथोचित मागहरू सम्बोधन गर्न तयार रहेको भन्दै वार्तामा बोलाए पनि उनीहरू त्यसलाई बहिस्कार गरी सडकमा थिए। शिक्षक १८ बुँदे माग लिएर सडकमा ओर्लिएका थिए। तर सरकारसंगको सम्झौतापछि उनीहरूले आन्दोलन फिर्ता लिएका थिए।
१९. दु्रतबस भयो सञ्चालन
सूर्यविनायक–रत्नपार्क रुटमा द्रुतबस सेवा सञ्चालन गरियो। मंसिर १० गते बिहान ८ः३० बजेदेखि तीन–तीन मिनेटको फरकमा सूर्यविनायक–रत्नपार्कका लागि बस छुट्ने व्यवस्था मिलाइएको थियो। यसअघि उक्त रुटको दुवैतर्फ गरी २५ बस सञ्चालन गरिएको थियो।
उक्त सेवा तीन–तीन मिनेटको फरकमा सूर्यविनायकबाट रत्नपार्क बस प्रस्थान हुने भएको थियो। अन्य सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढ घन्टा लाग्ने गरेकामा द्रुत बसलाई ४५ मिनेट लाग्ने भनिएको थियो। माइतीघर, कोटेश्वर, जडीबुटीलगायत ट्राफिक जाम बढी हुने चोकमा पनि द्रुतसेवाका बस रोकिन नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्ने भनिएको थियो। तर दु्रतवस सेवा भने प्रभावकारी भएन। हाल अलपत्र जस्तै छ।
२०. बझाङमा गयो भूकम्प
असोज १६ गते बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गयो। भूकम्पले थलारा गाउँपालिका–९ को सिरेटा, फकाली, खानी, अफ्ला, चित्रु, मालुमेला, चैनपुर, छविसपाथिभेरा लगायतका ठाउँमा दर्जनभन्दा बढी घर भत्किए। सिरेटामा मात्रै ४० वटा घर पूर्णरूपमा क्षति भए। भूकम्पका कारण अन्य ठाउँहरूमा समेत घरहरू भत्किएका थिए।
भूकम्प गएपछि स्थानीय सडक, खुला चौरमा आएका केहि दिन बसेका थिए।
२१. झलनाथ प्रतिष्ठानलाई १८ करोडको भ्रष्टाचार
सर्पदंश उपचार केन्द्र स्थापनार्थ राज्यको ढुकुटीबाट रकम खर्च हुने गरी पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालका नाममा खोलिएको प्रतिष्ठानको बजेट हिनामिना अभियोगमा मधेस प्रदेशका तत्कालीन मन्त्री र सचिवसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भयो। सर्लाहीको लालबन्दी–१ मा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्प पालन गर्न खरिद गरेको झन्डै १० बिघा जमिन चरन क्षेत्र बनेको छ।
नेपाल सरकार र मधेस प्रदेशको बजेटले आर्थिक दायित्व बेहोर्ने गरी केन्द्र स्थापनार्थ झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (हाल राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्) का लागि विनियोजित १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ रकम हिनामिना गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री, सचिव तथा प्रतिष्ठानका ४ पदाधिकारीविरुद्ध मुद्दा दायर गरेको हो।
२२. गुटेरेसको गरे नेपाल भ्रमण
संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले कात्तिक १२ गते चारदिने नेपालको भ्रमण गरे। महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भेटेरै नेपाल भ्रमणको निम्तो दिएका थिए। महासचिव गुटेरेसको नेपाल भ्रमणका महत्वपूर्ण एजेन्डाहरूमा विश्व शान्ति र नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन र हिमालयले भोगिराखेको समस्या तथा विश्व शान्तिको प्रतीक गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण, दिगो विकासका लक्ष्य थिए।
महासचिव गुटेरेस ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकन गरेका थिए। महासचिव गुटेरेस जलवायु परिवर्तनको असरलाई बुझ्न सोलुखुम्बुको स्याङ्बोचेसम्म पुगे। त्यसपछि उनी पोखरा र त्यसपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका थिए।
२३. संक्रमणकालीन न्यायमा किचलो
संक्रमणकालीन न्यायलाई टुंगो लगाउन बनेको विधेयक संसदीय समितिबाट पारित हुन अन्तिम समयमा रोकियो। तत्कालीन कानुनमन्त्री धनराज गुरुङले आलटाल गरेपछि विधेयक पारित हुन सकेन। त्यही निहुमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सत्तागठबन्धन त्यागे। एमालेसँग गठबन्धन बनाए।
सरकार र द्वन्द्वरत पक्ष तत्कालीन माओवादीबीच शान्ति सम्झौता भएको १७ वर्ष पुग्दा पनि न्याय टुंगोमा पुग्न सकेको छैन। १० वर्षको द्वन्द्वका क्रममा माओवादीबाट क्रुरतापूर्वक हत्या गरिएका, बेपत्ता बनाइएकाहरू यतिखेर न्यायको पर्खाइमा रहेका छन्।
२४.रिगलको आममाफी, भयो बदर
सर्वोच्च अदालतले बाँकेका रिगल ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णय बदर गर्यो। सर्वोच्च अदालतका तत्कालीन कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले आममाफीको निर्णय बदर गर्ने आदेश दियो। रिगल ढकाललाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये निजबाट असूलउपर हुन बाँकी देखिएको ११ वर्ष ११ महिना र पाँच दिन कैद निजलाई कारागारमा राखी कानुनबमोजिम कारबाही गर्न अदालतले भनेको थियो।
संविधान दिवसको अवसरमा सरकारले कैद मिनाहा गर्ने निर्णय गरेको थियो। त्यसका आधारमा राष्ट्रपतिले कैद मिनाहा गरेसँगै रिगल जेलबाट छुटेका थिए।
नेपालगन्ज उपमहानगरपालिका–८ का २९ वर्षीय चेतन मानन्धरमाथि २०७२ असार २८ मा धम्बोजी चोकमा रिगलको निर्देशनमा दिनदहाडै खुँडा प्रहार गरिएको थियो। त्यसपछि रिगल एकाएक फरार भएका थिए। घटनाको दुई महिनापछि भदौमा उनले अदालतमा आत्मसमर्पण गरेका थिए।
२५. नेपाल पुग्यो २०–२० विश्वकपमा
क्रिकेटमा नेपालले फड्को मार्यो। एक दशकपछि टीट्वेन्टी विश्वकप क्रिकेटमा छनोट भयो। कात्तिक १७ मा घरेलु मैदानमा भएको आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोट खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टीट्वेन्टी विश्वकपमा छनोट भएको हो। मूलपानी मैदानमा १ सय ३५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा दुई विकेटको क्षतिमा जित निकालेको हो। हाल नेपाल विश्वकपको तयारीमा छ।
२६. जाजरकोटमा भूकम्प
गत वर्ष सबैभन्दा दुखद घटना भूकम्पका कारण पनि निम्तियो। जाजरकोटमा गएको भूकम्पले १२ जिल्लामा २६ हजार ५ सउ २८ निजी घर पूर्णरूपमा क्षतिग्रस्त भएका थिए। अरू ३५ हजार ३ सय ९५ घरमा आंशिक क्षति भएको हो। १ सय ५३ जनाको ज्यान जाने गरी १७ कात्तिकको मध्यराति गएको भूकम्पबाट भएको भौतिक क्षतिको तथ्यांक अस्वभाविक रह्यो।
जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु रहेको ६.४ म्याग्निच्युडको भूकम्पले निम्त्याएको भौतिक क्षति छिमेकी जिल्ला पश्चिमरुकुममा सबैभन्दा बढी रह्यो। गृह मन्त्रालयको तथ्यांकअनुसार पश्चिम रुकुममा मात्र १६ हजार ५ सय ७० घर पूर्णक्षतिग्रस्त बनेका र ९ हजार ९ सय ६१ घरमा आंशिक क्षति पुगेको थियो।
२७. इजरायलमा १० नेपालीको मृत्यु
इजरायलमा हमासको आक्रमणमा परेर त्यहाँ गएका १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। हमासको आक्रमणमा परेर १० नेपाली छात्रको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको थियो।
‘अर्न एन्ड लर्न प्रोग्राम’ अन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायलमा थिए। उनीहरूमध्ये कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका थिए।
२८.परराष्ट्रमन्त्री पुगेरै इजरायलबाट गरे उद्धार
अघिल्लो गठबन्धनको सरकारले गरेको एक उल्लेखनीय काम भनेको इजरायलमा अलपत्र परेका नेपाली विद्यार्थीको उद्धार थियो। इजरायलबाट स्वदेश फर्कने चाहने २ सय ५० जना विद्यार्थी विभिन्न स्थानबाट उद्धार गरी सरकारले नेपाल ल्याएको थियो।
प्यालेस्टाइन विद्रोही हमासको आक्रमणमा परी इजरायलमा फसेका नेपालीहरूलाई स्वदेश ल्याउन नेपाल सरकारले नेपाल एयरलाइन्सको चार्टर्ड विमान पठाएको थियो। उद्धारका लागि सोही विमानबाट तत्कालीन परराष्ट्रमन्त्री एनपी साउद द्वन्द्वग्रस्त क्षेत्रमा गएका थिए।
२९. बिपिन अझै बेपत्ता
इजरायलमा अर्न एन्ड लर्न कार्यक्रममा गएका विपिन जोशी अझै बेपत्ता छन्। हमास समूहको नियन्त्रणमा रहेको आशंका गरिएको छ। राजदूत कान्ता रिजालका अनुसार अहिलेसम्म जोशीको स्थिति अज्ञात छ।
इजरायलको किबुजस्थित कृषि फार्ममा रहेका १७ जनाको समूहमध्ये बंकरमा सुरुमै हमासको आक्रमणमा परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन यत्तिका समयसम्म बेपत्ता छन्। जोशी सँगै रहेका उनका साथीहरूले उनलाई थाई नागरिकहरूसँगै हमास समूहले कब्जामा लिएको बताएका छन्। नेपाली दूतावासले जोशीको अवस्था अझै अज्ञात रहेको जनाएको छ। हमास समूहले दुइटा ग्रिनेड फालेकोमा एउटा जोशीले समाएर बाहिर फालेका थिए। अर्को भने पड्केको थियो।
३०. रुसी सेनामा फसे नेपाली
इजरायल सँगै रुसी सेनामा भर्ती भएका सयौं नेपाली युवाले आफू फसेको भन्दै उद्धारका लागि आग्रह गरे। रुस–युक्रेन युद्धका क्रममा कम्तीमा ९६ नेपाली सम्पर्कविहीन रहेको नेपाल सरकार सँग तथ्यांक छ।
परराष्ट्र मन्त्रालयस्थित कन्सुलर विभागमा उपस्थित भएर परिवारले दिएको विवरणअनुसार ९७ जना सम्पर्कविहीन छन्। त्यसैगरी सरकारले संकलन गरेको तथ्यांकअनुसार १३ जना नेपाली घाइते अवस्थामा उतै छन् भने ८८ जनाले उद्धारका लागि परिवारमार्फत गुहार मागेका छन्। युक्रेनी सेनाको नियन्त्रणमा सात जना छन्। त्यस्तै अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गर्दै परिवारले क्षतिपूर्तिका लागि सरकारलाई निवेदन दिएका छन्। मृतकका परिवारलाई क्षतिपूर्तिका विषयमा रुससँग सामान्य समझदारी भए पनि जीवित युवाको उद्धारको पहलले कुनै आकार लिएको छैन।
रुसी सेनामा भर्ती भइसकेपछि फर्किन इच्छुक नेपालीलाई रुसले फिर्ता पठाएको छैन। रुसी सेनामा भर्ती भएका नेपालीहरूका अनुसार कम्तीमा दुई हजार नेपाली भर्ती भएका छन्। तीमध्ये धेरैजसो बेपत्ता भइसकेका छन्।
३१. खाँण छुटे
नक्कली भुटानी शणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण ३० लाख धरौटीमा छुटे। उच्च अदालत पाटनले खाँणलाई धरौटीमा छोड्न आदेश दिएको थियो। न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले खाँणलाई धरौटीमा छोड्न आदेश दिएको हो।
यसअघि न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाख रुपैयाँ धरौटी लिएर मुद्दाको पुर्पक्ष गर्न राय दिएका थिए। सोही रायलाई सदर गर्दै न्यायाधीश कोइरालाको एकल इजलासले धरौटीमा छोड्ने आदेश दिएको हो।
मंसिर १५ गते उच्च अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र पाण्डेको संयुक्त इजलासमा खाँणलाई थुनामै राख्ने कि धरौटीमा छाड्ने विषयमा राय बाझिएको थियो। उक्त विवादको टुंगो तेस्रो न्यायाधीशसमक्ष पेस गरी सुनुवाइ गर्ने निर्णय भएको थियो।
काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँणसहित १६ जनालाई पुर्पक्षका लागि कारागार चलाउने आदेश दिएपछि उनीहरूले जिल्लाको आदेशविरुद्ध २०८० साउन १६ गते उच्च अदालतमा पुनरावेदन दिएका थिए।
३२. राष्ट्रियसभाको निर्वाचन
राष्ट्रिय सभाका एकतिहाइ सदस्यका लागि माघ ११ गते निर्वाचन भयो। तत्कालीन कांग्रेस–माओवादी सत्ता गठबन्धनले १८ सिट जित्यो। त्यस बेलाको प्रमुख प्रतिपक्षी एमाले एक सिटमा मात्रै विजयी भयो। निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा एमालेले बाजी मारेको थियो।
राष्ट्रियसभामा १९ सिटका लागि मतदान भएको थियो। जसमा कांग्रेस १० सिटमा विजयी भयो। माओवादी केन्द्र ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जित्यो। त्यस्तै जनता समाजवादी पार्टीले एक सिट जित्यो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जित्यो।
३३. कांग्रेसको महासमिति, गठबन्धनमा हल्लचल्ली
कांग्रेसले फागुनमा महासमिति बैठक गर्यो। त्यही बैठकका निर्णयका कारण तत्कालीन माओवादी समेतको गठबन्धनमा तरंग ल्यायो। आगामी निर्वाचनमा गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्ताव र १० वर्षे सशस्त्र युद्धको अवमूल्यन गरी ल्याइएको उपसभापति पूर्णबहादुर खड्काको राजनीतिक प्रतिवेदनले गठबन्धनमा धक्का दियो। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस महासमिति बैठकका निर्णयप्रति तीव्र असन्तुष्टि जनाए।
३४. माओवादी विधान सम्मेलन
सत्तासीन नेकपा माओवादी केन्द्रको विधान सम्मेलन फागुनमा सम्पन्न भयो। तीन दिनसम्म चलेको सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता थियो। सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैर भौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय संगठनका पदाधिकारीको सहभागिता थियो।
पार्टीलाई व्यवस्थित रूपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको थियो। पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो।
प्रस्तावित विधानमा माघ २६ र २७ गते भएको पार्टीको स्थायी समिति बैठकमा छलफल भएको थियो।
३५. प्राधिकरणले व्यापारीको काट्यो बिजुली
विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम सहितको महशुल नतिरेका उद्योगहरूको विद्युत् काट्यो। प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी विद्युत् बक्यौता भएका ग्राहकहरूको विद्युत् लाइन काटेको थियो। बक्यौता नतिर्ने उद्योगको लाइन प्राधिकरणले पुस ६ गतेदेखि काट्न थालेको थियो।
पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ उद्योगको लाइन काटेको थियो। लाइन काटिएका १४ उद्योगसँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् प्रयोग गरी महसुल नतिरेपछि २३ उद्योगको लाइन काटेको थियो। प्राधिकरणले बक्यौता नतिर्ने ६१ उद्योगको बिजुली काट्ने बताएको थियो। तर उद्योगी, व्यापारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गुहारेपछि प्राधिकरण आफ्नो निर्णयबाट पछि हट्यो।
३६. सन्दीप लामिछानेलाई कैद
चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले ८ वर्ष कैद सजाय तोक्यो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीविरुद्ध सजाय निर्धारण गरेको हो। बलात्कार कसुरमा लामिछानेलाई पुस २५ मा ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन पनि अदालतले फैसला गरेको थियो।
यसअघि गत पुस १३ गते न्यायाधीश ढकालको इजालासले लामिछानेलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो। पेसी तोकिएअनुसार ८ वर्ष कैद सजाय र जरिवानाको फैसला भएको हो। लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर थियो। लामिछाने जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत गएका छन। उच्चमा उनको मुद्दा विचाराधीन छ।
३७. जयशंकरको भ्रमण
भारतीय विदेशमन्त्री एस जयशंकर गत पुस १९ गते काठमाडौं आए। नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी भए। प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणमा भएको समझदारीअनुसार नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भयो। उक्त सम्झौतासँगै १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यातको बाटो खुल्यो। नेपाल–भारत द्विपक्षीय सम्बन्धका सम्पूर्ण विषयमा समीक्षा गर्न सन् १९८७ मा संयुक्त आयोग गठन गरिएको थियो।
बैठकमा सहभागी हुन भारतबाट विदेश सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क सहसचिव अनुराग श्रीवास्तवलगायतका अधिकारी पनि मन्त्री जयशंकर सँगै आएका थिए।
३८. जनयुद्ध दिवसको सार्वजनिक बिदा बदर
‘जनयुद्ध दिवस’को अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय सर्वोच्च अदालतले बदर गरिदियो। ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले पुस १३ गते ‘जनयुद्ध दिवस’मा बिदा दिने सरकारी निर्णय बदर गरेको थियो। तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र युद्ध सुरु भएको दिन ०५२ साल फागुन १ गतेको सम्झनामा सरकारले गत वर्षदेखि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
३९. सीताको माइतीबाट अयोध्यामा सगुन
भारतको अयोध्यामा भगवान् रामको नवनीर्मित मन्दिर प्राणप्रतिष्ठाका लागि जनकपुरधामबाट ११ सयवटा भार (कोसेली, सगुन) पठाइएको थियो। २२ जनवरी तारेखमा प्राण प्रतिष्ठाको अवसर पारेर राम मन्दिरका लागि जनकपुरधामबाट भारयात्रा गर्दै ११ सय पोका कोसेली पठाइएको थियो।
भारत यात्रा जनकपुरधामबाट अयोध्याका लागि कोसेलीमा चाँदीले बनाइएको तिर–धनुष, चाँदीकै खराउ र अन्य आभूषण पनि पठाइएको थियो। अयोध्या भगवान् रामको जन्मभूमि हो। जहाँ रामको १ सय ६१ फिट अग्लो मन्दिर निर्माण भएको थियो।अयोध्या पुगेर जनकपुरबाट लगिएका पाहुर माइतीपक्षले अयोध्यास्थित राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरेका थिए। पाहुरमा विभिन्न प्रकारका कपडा, आभूषण, भाडावर्तनका साथै विभिन्न मिठाई तथा पकवानहरू थिए। यसका साथै भगवान् रामका लागि चाँदीको धनुष वाण, माता सीताको चरण पादुकालगायतका गरगहनासमेत पाहुरमा राखिएको थियो।
४०. बम्जन थुनामा
जिल्ला अदालत सर्लाहीले अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन पुस २६ गते आदेश दियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो। २०७५ भदौ ३० गते रौटहटकी एक किशोरीले आफूमाथि बम्जनले बलात्कार गरेको दाबी सार्वजनिक गरेकी थिइन्। केही महिनापछि पीडित भनिएकी किशोरीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा उजुरी दिएकी थिइन्। त्यही आधारमा २०७६ सालमा पक्राउ पुर्जी लिएर प्रहरीले उनको खोजी थालेको थियो।
पीडित युवती बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा आनीका रुपमा बसेकी थिइन्। त्यहीँ २० साउन २०७३ मा आफूलाई बम्जनले बलात्कारको प्रयास गरेको उनले बताएकी थिइन्।
४१. प्रचण्डको भारत भ्रमण
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १७ जेठदेखि २० जेठसम्म भारत भ्रमण गरे। भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा उनी चार दिने भ्रमणका क्रममा भारत गएका थिए। त्यहाँ उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गरे।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गरे। दुवै देशका व्यापारीसँग अन्तरक्रिया गरे। प्रधानमन्त्रीले भारतको मध्य प्रदेशको उज्जैन र इन्दोरको भ्रमण गरेका थिए। नेपालको प्रधानमन्त्रीका रुपमा प्रचण्डले चौथो पटक भारत भारत भ्रमण गरेका थिए।
४२. घुम्नैपर्ने सूचीमा पर्यो काठमाडौं
विश्व पर्यटकका लागि घुम्नै पर्ने गन्तव्यको पहिलो स्थानमा काठमाडौं पर्यो। ट्रिप एड्भाइजरले ‘उत्कृष्ट प्राकृतिक गन्तव्य’ को पहिलो नम्बरमा काठमाडौंलाई घोषणा गरेको थियो। ट्रिप एड्भाइजर विश्वको सबैभन्दा ठूलो ट्राभल गाइडेन्स प्लेटफर्म हो। जहाँ १ अर्बभन्दा बढी समीक्षक र ८० लाखभन्दा बढी व्यवसायीहरूको सुझाव संकलन हुन्छ। ट्रिप एड्भाइजरको साइट प्रयोग गरी विश्वका पर्यटकले कहाँ जाने, कहाँ बस्ने, के गर्ने, कहाँ खाने भनेर पत्ता लगाउने गर्छन्। यसले विश्वका पर्यटकलाई घुम्न जान मार्गदर्शनको काम पनि गर्छ।
एड्भाइजरले सन् २०२४ का लागि सात वर्गमा उत्कृष्ट गन्तव्य घोषणा गरेको हो। जसमा खाना गन्तव्य, उत्कृष्ट गन्तव्य, प्राकृतिक गन्तव्य, ट्रेन्डिङ गन्तव्य, संस्कृतिक गन्तव्य, हनिमुन गन्तव्य र दिगो गन्तव्य छन्। उत्कृष्ट गन्तव्यमा पनि नेपाल २४ नम्बरमा परेको छ। न्युयोर्क टाइम्सको २०२४ मा घुम्नै पर्ने सूचीमा नेपालको मुस्ताङ पनि परेको छ।
अन्तर्राष्ट्रिय जगतबाट नै सन् २०२४ मा घुम्नै पर्ने सूचीमा नेपालका गन्तव्य सूचीकृत हुनु पर्यटन क्षेत्रका लागि सुखद र महत्वपूर्ण हो।
४३. गायक वैद्यको मृत्यु
गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भयो। लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको माग ५ गते काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको थियो। उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायतका गीतहरू लोकप्रिय छन्। उनका नेपाल भाषाका गीत पनि लोकप्रिय छन्।
वनस्पतीशास्त्रमा एमएससी गरेका वैद्यले ३३ वर्षसम्म सरकारी सेवामा बिताएका थिए। उनी २०६१ सालमा सहसचिव पदबाट सेवा निवृत्त भएका थिए। उनले बेल्जियमको गेन्टको स्टेट युनिभर्सिटीबाट पनि फुड एन्ड न्युट्रेसनमा स्नातकोत्तर गरेका थिए।
४४.भ्रष्टाचार सूचकांकमा नेपाल १०८ औं नम्बरमा
ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपालले १०८औं स्थानमा पर्यो। नेपालले भ्रष्टाचार सूचकांकमा गत वर्षको भन्दा एक अंक सुधार गरेको थियो। गत वर्ष अर्थात् सन् २०२२ मा नेपाल ३४ अंकसहित ११०औं स्थानमा थियो।
त्यस्तै, सन् २०२१ मा ३३ अंकसहित ११७औं स्थानमा थियो। ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वका १८० मुलुकको भ्रष्टाचारको अवस्था विश्लेषण गरेकामा कम भ्रष्टाचार हुने मुलुकमा ९० अंकसहित डेनमार्क पहिलो स्थानमा परेको थियो। त्यस्तै, कम भ्रष्टाचार हुने मुलुकमा फिनल्यान्ड दोस्रो, न्यूजिल्यान्ड तेस्रो, नर्वे चौथो र सिंगापुर पाँचौं स्थानमा परे। त्यसपछि क्रमशः स्वीडेन, स्विट्जरल्यान्ड, नेदरल्यान्ड, जर्मनी र लग्जेम्बर्ग परे।
४५. सीआईबीले गर्यो अनुसन्धान
सीआईबीले ललिता निवास प्रकरणको फाइल खोल्यो, अनुसन्धान गर्यो र मुद्दा दायर गर्यो। उसले भदौ ५ गते चार पूर्वमन्त्रीसहित २ सय ३८ विरुद्ध मुद्दा सिफारिस गरेको थियो।
उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, पूर्वराज्यमन्त्री सञ्जयकुमार साह, पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरी अधिकारी, नारायणगोपाल मलेगो, युवराज भुसालसहित सहसचिव, उपसचिव, शाखा अधिकृत, सुब्बा र खरिदारसम्मका व्यक्तिलाई प्रतिवादी बनाउन राय दिइएको थियो। राय अनुसार नै सरकारी वकिलको कार्यालयले मुद्दा पनि दर्ता गरिसकेको छ।
४६.पौडेल बन्धु पक्राउ
नेपाल टेलिकमका प्रबन्ध निर्देशक (हाल निलम्बित) सुनील पौडेल र सुरक्षित मुद्रण केन्द्र (सेक्युरिटी प्रेस)का कार्यकारी निर्देशक (हाल निलम्बित) विकल पौडेल पक्राउ परे। अख्तियारले माघ १० गते उनीहरूलाई पक्राउ गरेको थियो।
अख्तियारले अनुसन्धान गरिरहेका उनीहरूले नेपाल राष्ट्र बैंकको स्वीकृति बेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको पाइएको छ। नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताका पदमा नियुक्ति लिएको पनि भेटिएको छ। मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलले अमेरिकाको स्थायी आवासीय अनुमतिसमेत लिएको देखिएको छ। यसअघि नै गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले पौडेल दाजुभाइविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ।
४७. एमालेको संकल्प यात्रा
एमालेले सुदूरपश्चिमको झुलाघाटदेखि सुदूरपूर्वको चिवाभञ्ज्याङसम्म लामो ‘समृद्धिका लागि संकल्प यात्रा’ गर्यो। मंसिर १४ देखि पुस १ गतेसम्म मध्यपहाडको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको १८ दिने लामो यात्रामा अध्यक्ष केपी शर्मा ओली आफै सहभागी थिए।
मध्यपहाडी राजमार्ग र यस आसपासको जनताका भलाकुसारी गर्नुका साथै स्थानीयबाट प्राप्त भएका ४६ विषयका ७ सय ५१ माग संकलन गरिएको थियो। यी मागसहितको ध्यानाकर्षणपत्र एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका थिए।
४८. ललिता निवास : ठूलालाई उन्मुक्ति
विशेष अदालतले फागुन ३ गते बहुचर्चित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वसचिवद्वय छविराज पन्त, अख्तियारका तत्कालीन प्रमुख दीप बस्न्यातसहित मालपोत, भूमिसुधार र नापीका कर्मचारीलाई दोषी ठहर गर्यो। अभियोग लागेका तत्कालीन उपप्रधानमन्त्री एवं भूमिसुधारमन्त्री विजयकुमार गच्छदारसहित तीन जना मन्त्रीले सफाइ पाए। विशेष अदालतले मन्त्रिपरिषद्को निर्णयमा मन्त्रीको एकल भूमिका नहुने तर्क दिँदै सफाइ दिएको हो।
सफाइ पाउनेमा पूर्वमन्त्रीद्वय डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशी छन्। भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव दिनेशहरि अधिकारीले पनि सफाइ पाए। अख्तियारले ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा तत्कालीन उपप्रधानमन्त्रीसहित मन्त्री, ६ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारीहरू र अन्य व्यक्तिहरूसमेत गरी १ सय ७५ जना विपक्षी बनाएको थियो।
४९. रेडक्रसका दुवै समिति अबैध
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटिजहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)को नेपालस्थित कार्यालयले नेपाल रेडक्रसका दुवै कार्यसमितिलाई मान्यता दिन अस्वीकार गर्यो। नेपाल रेडक्रसको कार्यसमिति विवादमा देखिएका कानुनी अस्पष्टता नटुंगिएसम्म आईएफआरसीले मानवीय सहायतासम्बन्धी परियोजना आफैं सञ्चालन गर्न थालेको छ।
नेपाल रेडक्रसमा प्राध्यापक सुदर्शनप्रसाद नेपाल र डा. नेत्रप्रसाद तिमिल्सिनाको नेतृत्वमा अलग–अलग कार्यसमिति छन्। दुवैले आफू आधिकारिक भएको दाबी गरिरहेका छन्। तर, आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। रेडक्रस केन्द्रीय कार्यालय हातामै रहेको आईएफआरसीको कार्यालयका प्रमुख अजमत उल्लाले इमेल पठाएर दुवै समितिलाई मान्यता नदिने बताएपछि दुवै समिति अबैध भए।
५०. मेलम्चीमा भ्रष्टाचार
अख्तियारले मेलम्ची खानेपानी आयोजनामा ६ अर्ब ४१ करोडभन्दा बढी बिगो कायम दाबी गर्दै ४ सचिवसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्यो। गत फागुन ६ गते दायर गरिएको मुद्दामा खानेपानी मन्त्रालयका तत्कालीन ४ सचिवसहित परामर्शदाता, निर्माण कम्पनीलाई प्रतिवादी बनाइएको छ। पूर्वसचिव भीमप्रसाद उपाध्याय, डा. सञ्जय शर्मा, गजेन्द्रकुमार ठाकुर भ्रष्टाचारमा संलग्न रहेको पाइएको छ।
५१. स्थानीय तहका कर्मचारीको आन्दोलन
स्थानीय तहका कर्मचारीले १४ दिनसम्म आन्दोलन गरे। असोज १४ गतेदेखि २७ गतेसम्म निरन्तर उनीहरू काठमाडौंको माइतीघर, बानेश्वरमा प्रदर्शन गरेका थिए। लामो आन्दोलनपछि कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको थियो। उनीहरूबीच प्रमुख प्रशासकीय अधिकृत संघीय निजामति सेवा ऐन लागू भएको पाँच वर्ष निजामती कर्मचारी र त्यसपछि स्थानीय सेवाको हुन पाउने सहमति भएको थियो ।
तहगत सरुवा प्रणाली, ट्रेड युनियन अधिकार, प्रदेशले निर्माण गर्ने कानुनमा स्थानीय कर्मचारीको साटो प्रदेशको निजामती कर्मचारी, पाँच वर्षमा बढुवा हुने व्यवस्था गर्ने सहमति भएको थियो। यो सम्झौता कार्यान्वयन गर्ने ऐन भने अझै संसद्मा छ।
५२. सहकारीपीडित आन्दोलनमा
२०८० सालभरजसो सहकारी पीडितको आन्दोलन भयो। सहकारी सञ्चालकबाट ठगिएपछि उनीहरू आन्दोलनमा आएका हुन्। सरकारले पटक–पटक सहकारी पीडितसँग सम्झौता गर्दै आन्दोलन रोक्दै आएको छ। २०८० मा नै दुई पटक पीडितसँग सम्झौता भयो। साउन १८ मा सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति भयो र आन्दोलन स्थगित भयो। तर, सहमति कार्यान्वयन भएको भन्दै पुन पीडितहरू आन्दोलन आए। नयाँ सरकार बनेपछि पनि सहकारी पीडितसँग हालै सम्झौता भएको छ।
५३.भजन शिरोमणि विलिन
०८० सालमा वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भयो। फागुन १४ गते ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको बाटोमै निधन भएको थियो। भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए।
१९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतका अग्रणी व्यक्तित्व हुन्। उनी स्वरसम्राट नारायणगोपालका समेत समकालीन गायक थिए। आचार्यका मुटु जलिरहेछ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, जति चोट दिन्छौं, हजार आँखा हेर्ने, माया मेरी साँझ बिहानलगायत गीत लोकप्रिय छन्। आफ्नो जीवनकालमा आचार्यले झन्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन्। उनले दर्जनौंको संख्यामा भजन पनि गाएका छन्।
५४. सत्तारुढ गठबन्धनमा उलटफेर
फागुन २१ गते सत्तारुढ गठबन्धनमा हेरफेर भयो। कांग्रेस माओवादीसहितको गठबन्धन भत्कियो। एमाले माओवादीसहित नयाँ गठबन्धन बन्यो। प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’कै निरन्तरता भयो। एक वर्ष नपुग्दै नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धन सरकार ढलेको थियो। नयाँ गठबन्धनमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी छन्।
५५. प्रचण्डलाई तेस्रोपटक विश्वासको मत
फागुन ३० मा पुष्पकमल दाहाल नेतृत्वमा बनेको पाँच दलीय नयाँ गठबन्धन सरकारले विश्वासको मत प्राप्त गर्यो। विश्वासको मतको पक्षमा १ सय ५७ र विपक्षमा १ सय १० मत खसेको थियो।
मतदानमा २ सय ६८ सांसद् सहभागी थिए। एकजनाले ’मत दिन्न’ भन्ने पक्षमा आफ्नो मत जाहेर गरेका थिए। पहिलोपटक २०७९ सालको २६ पुसमा प्रचण्डले त्यसबेला प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाबाट विश्वासको मत प्राप्त गरेका थिए। दोस्रोपटक २०७९ वर्षको ६ चैतमा संसद्मा २ सय६२ सांसद सहभागी मतदानमा १ सय ७२ प्रतिनिधिसभा सदस्यले उनलाई विश्वासको मत दिएका थिए।
५६.नागरिक उन्मुक्तिमा किचलो
टीकापुर काण्डबाट उदाएको नागरिक उन्मुक्ति पार्टीमा पछिल्लो समयमा व्यापक किचलो भइरहेको छ। संस्थापक रेशम चौधरी र पार्टी अध्यक्ष एवं चौधरीकी पत्नी रञ्जिता श्रेष्ठबीचको झगडाले पार्टी नै धराप परेको छ। विवादका कारण दुई पक्षबीचमा हातहालाहालको स्थीति पनि भएको छ। संस्थापक चौधरी कांग्रेससँग गठबन्धनको पक्षमा छन् भने अध्यक्ष श्रेष्ठ सत्ता गठबन्धनसँग नजिक छन्।
५७. फेरिए प्रदेश प्रमुख
नयाँ सत्तारुढ गठबन्धन बनेसँगै तीन प्रदेश प्रमुख पनि फेरिए। फागुन २८ गते नयाँ प्रदेश प्रमुखका रूपमा मधेस प्रदेश प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रदेश प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेश प्रमुखमा नजिर मियाँ नियुक्त भए। मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी पदमुक्त भए। नयाँ प्रदेश प्रमुख सबै एमाले निकट हुन् भने हटाइएका तीनै जना कांग्रेस निकट हुन्।
५८. राष्ट्रियसभाले पायो नयाँ अध्यक्ष
संसद्को माथिल्लो सदन राष्ट्रिय सभाले नयाँ अध्यक्ष पायो। एमालेका गणेशप्रसाद तिम्लिसिनाको समयावधि गएपछि रिक्त रहेको राष्ट्रियसभा अध्यक्षमा माओवादीका नारायण दाहाल निर्वाचित भए। उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन्। फागुन २९ गते भएको निर्वाचनमा दाहालले ३९ मत ल्याएका थिए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत ल्याए।
५९. पूर्वउपराष्ट्रपतिका छोरा पक्राउ
पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा एवं सत्तारूढ माओवादी केन्द्रको विद्यार्थी संगठनका महासचिव दिपेश पुन पक्राउ परे। चैत २ गते नेपाल प्रहरीको प्रधान कार्यालयबाट खटिएको टोलीले पुनलाई पक्राउ गरेको थियो। पुनमाथि सुन तस्करी र सहकारी ठगी प्रकरणमा छानबिन भइरहेको छ। सुन तस्करीमा मुछिएपछि उनी फरार थिए। साढे ६० किलो सुन तस्करीमा पक्राउ परेका दावा छिरिङसँग पुनको सम्बन्ध देखिएको थियो। हाल उनी थुनामा छन्।
६०. दुर्गा प्रसाईंको आन्दोलन
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका समर्थकले मंसिर ७ गते काठमाडौंबाट गणतन्त्र र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरे। प्रसाईंले सञ्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानमार्फत ‘बृहत् नागरिक मुक्ति आन्दोलन’ का नाममा मंसिर ७ गते काठमाडौको बल्खुमा शक्ति प्रदर्शन गरिएको थियो। यो आन्दोलनलाई निरन्तरता दिएर राजतन्त्र ल्याउने उदघोष पनि थियो। तर, त्यो आन्दोलन केही दिनमा सामसुम भयो। यो आन्दोलनको प्रतिकार एमालेको युवा संघले तीनकुने मंसिर ७ मा नै प्रदर्शन गरेको थियो।
६१. कांग्रेस सांसद सुनिल शर्मा पक्राउ
कांग्रेस सत्तागठबन्धनमा रहेको बेला उसकै सांसद एवं मेडिकल व्यवसायी डा. सुनिल शर्मा पक्राउ परे।
साउन २५ गते तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाशशरण महतलाई नै सुनकाण्डमा संलग्न रहेको आरोप लगाएकापछि डा. शर्मालाई पक्राउ गरिएको थियो। सीआईबीले पक्राउ पर्नुको कारण डा. शर्माले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सकीय अभ्यास गरेको बताएको थियो।
६२. सीआईबी प्रमुख नै कारबाहीमा
सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यमाथि कारबाही भयो। सुन तस्करीको छानबिनका क्रममा लापरबाही गरेको ठहर गर्दै सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कारबाही सिफारिस गरेको थियो।
आयोगको सिफारिसपछि बज्राचार्यलाई सीआईबीबाट हटाइएको छ। सीआईबीको प्रमुखमा एआईजी श्यामलाल ज्ञवालीलाई बनाइएको छ।
६३. एनसेलको सेयर बिक्री प्रकरण
२०८० सालमा एनसेलले सेयर बिक्री गरेको विषय पनि चर्चामा रह्यो। अजियाटाले कर छल्नकै लागि एक डलरमा खोलेको स्पेक्ट्रलाइट कम्पनीलाई एनसेलको खर्बौंको सेयर कौडीको भाउमा बिक्री गर्यो। अजियाटाले १ खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरेको सेयर ६ अर्ब ६५ करोडमा बिक्री गरेको थियो।
मलेसियाको अजियाटा समूहले आफ्नो नाममा रहेको ८० प्रतिशत सेयर बिक्री गरेको हो। यो विषयमा छानविन समिति बन्यो। त्यसले प्रतिवेदन पनि दियो तर अहिले त्यो त्यसै सेलाएको छ।
६४.सुनकाण्डमा महरा पक्राउ
चर्चित सुनकाण्डमा संलग्न भएको भन्दै पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परे। चैत ५ गते महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको थियो। सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।
यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो। उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।
६५. जनार्दन शर्माले राखे पार्टीमा फरक मत
नेताहरूको जिम्मेवारी बाँडफाँटमा ‘परिवारवाद’ हावी भएको भन्दै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीमा चार फरक मत राखे। फागुनको दोस्रो साता भएको स्थायी कमिटी बैठकले पार्टी विधानविपरीत नेताहरूको जिम्मेवार तोकेको भन्दै शर्माले लिखित रूपमै फरक मत राखेका थिए। यो फरक मतले माओवादी केन्द्रमा हंगामा नै भएको थियो।
६६. साहित्यकार प्रशु प्रधानको निधन
साहित्यकार परशु प्रधानको ८० वर्षको उमेरमा चैत ६ गते निधन भयो। काठमाडौंको बानेश्वरस्थित निवासमा साहित्यकार प्रधानको निधन भएको थियो। २ सालमा भोजपुरमा जन्मिएका प्रधानले १६ वर्षकै उमेरमा लेखन सुरू गरेका थिए। नेपाली साहित्य र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका प्रधानले कविता र कथा लेखेका छन्। उनको पहिलो कृति जीवन पथ कवितासंग्रह २०१६ सालमा प्रकाशन भएको थिए। पहिलो कथाकृति सबै बिर्सिएका अनुहारहरू २०२५ मा प्रकाशित थियो। अहिलेसम्म उनका १३ वटा कथासंग्रह प्रकाशित छन्।
६७.गृहमन्त्रीको राजीनामा माग गर्दै संसद्मा गतिरोध
नेपाली कांग्रेसले सहकारी काण्डमा मुछिएका गृहमन्त्री रवि लामिछाने सम्बन्धमा संसदीय छानबिन समितिको माग गर्दै संसद्मा विरोध गरिरहेको छ। लामिछाने गृहमन्त्री भएसँगै कांग्रेस संसदीय समितिको अडानसहित विरोधमा उत्रिएको हो। कांग्रेस गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्नमा अवरोध गरिरहेको छ। अबरोधका लामिछानेले संसद्मा बोल्न पाइरहेका छैनन्।
६८. राष्ट्रियसभा उपाध्यक्षमा घिमिरे
राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छिन्। चैत २८ गते भएको मतदानमा एमाले उम्मेदवार घिमिरेको पक्षमा ३९ मत र कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी पुडासैनीले १६ मत पाएकी थिइन्। नयाँ गठबन्धनसँगै राष्ट्रियसभा उपाध्यक्ष एमालेको भागमा परेको थिए। माओवादीकी उर्मिला अर्यालले राजीनामा दिएर घिमिरेलाई उपाध्यक्ष बनाइएको हो।
६९.गण्डकीमा नयाँ मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता खगराज अधिकारी नियुक्त भए। चैत २५ गते नेकपा एमाले, माओवादी केन्द्र र मनाङ १ (१)बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिएर निर्वाचित राजीव गुरुङ(दीपक मनाङे)को समर्थनमा अधिकारी मुख्यमन्त्री भएका हुन्। अल्पमतमा परेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे(कांग्रेस)ले चैत २१ गते राजीनामा दिएका थिए।
७०. कर्णालीको मुख्यमन्त्रीमा कँडेल
नयाँ गठबन्धन परिवर्तनसँगै कर्णालीको मुख्यमन्त्री पनि परिवर्तन भए। माओवादी केन्द्रका राजकुमार शर्माले राजीनामा दिएपछि चैत २७ मा एमालेका यमलाल कँडेल मुख्यमन्त्री नियुक्त भए।
शर्माले राजीनामा दिन केही समय अटेर पनि गरेका थिए। एमाले स्थायी कमिटी सदस्य कँडेल २०७४ सालदेखि निरन्तर प्रदेश सभामा छन्। अघिल्लोपटक बहुमत ल्याउँदा(४० मा २० सिट) पनि कँडेल मुख्यमन्त्री हुन पाएका थिएनन्। उनी चौथो प्रयासमा मुख्यमन्त्री बन्न सफल भएका हुन्।
७१. डढेलो निभाउन गएका तीन सैनिकको मृत्यु
डोल्पा दुनैको ठूलीभेरी नगरपालिका–४ तिप्लामष्टाको भवानी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा ३ सैनिकको मृत्यु भयो। चैत २६ र २७ गते उनीहरूको मृत्यु भएको हो।
चैत २६ मा जुम्लाको तातोपानी गाउँपालिका–४ स्थायी घर भइ देविदत्त गुल्म दुनैमा कार्यरत २८ वर्षीय हेमन्त रावतको मृत्यु भएको थियो भने चैत २७ गते देविदत्त गुल्ममा कार्यरत काभ्रेका ३८ वर्षीय जम्दार केशवबहादुर दर्जा मगर र हुम्लाका २३ वर्षीय आशिष बुढाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
७२. वाइडबडीमा डेढ अर्बको भ्रष्टचार
चैत २२ गते दुइटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्यो। तत्कालीन पर्यटनमन्त्री एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, पूर्वपर्यटन सचिव शंकरप्रसाद अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाइएको छ। वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबी छ।
७३. प्रधानमन्त्री पत्नीको निधन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको असार २७ गते निधन भयो। पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन्।
७४. एमडीएमएसमा ९२ करोडको भ्रष्टाचार
एमडीएमएस खरीदमा भ्रष्टाचार गरेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष सहित १९ जना र दुई कम्पनीविरुद्ध मुद्दा दर्ता भयो। अख्तियारले प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनाललगायत एमडीएमएस खरिदमा संलग्न भएको भन्दै मुद्दा हालेको थियो। एमडीएमएस खरिदमा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ ३२ पैसा हिनामिना भएको पाइएको छ।
७५. मधेसका पूर्वमन्त्रीले कुटे कर्मचारी
मधेस प्रदेशका निवर्तमान शिक्षामन्त्री एवं जनमत पार्टीका नेता महेशप्रसाद यादवले राजविराजस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख प्रवीणप्रताप अधिकारीलाई कुटे। चैत १८ गते पूर्वाधार विकास कार्यालयमै दुईवटा योजनाको चिठी आफूले पठाएको व्यक्तिलाई नदिएको भन्दै यादवले अधिकारीलाई हातपात गरेका थिए।
७६.मिटरब्याजविरुद्ध कानुन
मिटरब्याज पीडितले नयाँ कानुन पाए। लामो समयदेखि कठोर आन्दोलन गर्दै आएका मिटरब्याज पीडितहरूले सडक संघर्षबाटै कानुन ल्याउन सफल भए। २०८० असार ३१ गते सदनबाट यो कानुन पारित भएको थियो। त्योभन्दा अघि अध्यादेशबाट पनि यो कानुन ल्याइएको थियो। कानुन बने पनि त्यो कार्यान्वयनमा आउनेमा आशंका छ।
७७.लोसपामा फाटो
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) मा महन्थ ठाकुर र राजेन्द्र महतोबीचको फाटो आयो। वरिष्ठ नेता नेता रहेका महतो अध्यक्ष ठाकुरको गतिविधिमा असहमत भई फागुन १४ मा पार्टी छोडेर हिँडेका छन्। लोसपाबाट अलग भएर महतोले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान सुरु गरेका छन्।
७८. इलाम र बझाङमा उपनिर्वाचन
इलाम र बझाङमा उपनिर्वाचन हुँदै छ। एमालेका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको २०८० भदौ २६ मा निधन भएपछि इलाममा उपनिर्वाचन हुन लागेको हो भने प्रदेशसभा सदस्य बझाङ १ (क)बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको २०८० असार ५ गते सवारी दुर्घटनामा परी निधन भएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो।
इलाममा कांग्रेसका डम्बर खड्का, एमालेका तर्फबाट सुवासपुत्र सुहाङ नेम्वाङ, रास्वपाका उम्मेदवार मिलन लिम्बूलगायत २० जनाको उम्मेदवारी परेको छ भने बझाङबाट कांग्रेसका तर्फबाट अभिषेकबहादुर सिंहले एमालेबाट दमनबहादुर भण्डारीलगायत १२ जनाको उम्मेदवारी परेको छ।
७९. बाँसबारी छालाजुत्ताको फिर्ता
चौधरी ग्रुपले हडपेको बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्यायो। भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारको २०८० चैत ९ को निर्णयले नेपाल सरकारको नाममा कायम गरिएको हो। ४२ वर्षअघि तत्कालीन ‘च्याम्पियन फुटवेयर लिमिटेड’ हुँदै व्यक्तिको नाममा उक्त जग्गा लगिएको थियो।
८०.बूढीगण्डकीको बन्यो मोडोलिटी
सरकारको ५१ प्रतिशत सेयर स्वामित्व हुने गरी १ हजार २ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाको लगानीको मोडालिटी तयार पार्यो। बूढीगण्डकी जलविद्युत् आयोजनाको लगानीको मोडालिटीको फाइल अन्तिम स्वीकृतिका लागि अर्थ मन्त्रालयमा छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत गठित समितिले तयार पारेको प्रस्तावलाई मन्त्रालयले पारित गर्दै अन्तिम स्वीकृतिका लागि अर्थ पठाएको हो।
अर्थसँगै मन्त्रिपरिषद्बाट पारितपछि उक्त मोडालिटी लागू भई आयोजना निर्माण अघि बढ्ने छ। सरकारले २०७९ असार २१ गते कम्पनी स्थापना गरिसकेको छ। ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना स्वदेशी लगानीमा बनेपछि बूढीगण्डकी पनि स्वदेशी लगानीमा बनाउन सरकार अघि बढेको हो।
0 Comments