ओली चाहन्थे राष्ट्रपति, बने एमाले उपाध्यक्ष

ओली चाहन्थे राष्ट्रपति, बने एमाले उपाध्यक्ष 

केन्द्रीय सदस्यदेखि सल्लाहकार परिषद् विस्तार

 सुरेन्द्र काफ्ले 

 काठमाडौं : एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत भएका छन्। सुवास नेम्बाङको निधनपछि रिक्त पदमा बराललाई मनोनीत गरिएको थियो। पार्टीको बिहीबार बसेको सचिवालय बैठकले पुराना नेता बराललाई उपाध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरेको हो। पार्टीलाई चलायमान बनाउने भन्दै बैठकले केन्द्रीय सदस्यदेखि सल्लाहकार परिषद्मा समेत सदस्यहरू मनोनीत गरेको छ। उपाध्यक्ष मनोनीत भएका बराल यसअघि बागमती प्रदेश इन्चार्जको जिम्मेवारीमा थिए। आफू ०२९ सालदेखि नै पार्टीमा क्रियाशील रहेको बरालले बताए। मोरङको सुन्दर हरंैचास्थित काजिलाल माध्यमिक विद्यालय दुलारीको प्रारम्भिक कमिटीमा आबद्ध भई उनको राजनीतिक जीवनको सुरुवात भएको थियो। ०३१ सालमा महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरको स्ववियुको सदस्य निर्वाचित भएका थिए। केही समय शिक्षक राजनीतिमा संलग्न पनि भए। ०४४ सालमा नेकपा (माले) को मोरङ जिल्ला कमिटी सचिव भएका बराल ०४६ मा तत्कालीन कोशी अञ्चलको इञ्चार्ज थिए। २०५० सालमा मदन भण्डारी स्मृति प्रतिष्ठान बनाए। त्यसको अध्यक्ष भए। ०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ–६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। ०४९ सालदेखि लगातार पार्टी केन्द्रीय कमिटीमा रहँदै आएका छन्। ०७९ सालको निर्वाचनपछि राष्ट्रपतिमा पनि उनको नाम चर्चामा थियो। सधैं जसो एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहँदै आएका बराल केन्द्रीय कमिटी सदस्य, पोलिटब्युरो, स्थायी कमिटी हुँदै उपाध्यक्ष मनोनीत भएका हुन्। न्यौपाने र श्रेष्ठ स्थायी समितिमा एमालेले पार्टी संगठनलाई चलायमान बनाउने भन्दै नेताहरूको जिम्मेवारी बाँडफाँट पनि गरेको छ। बैठकले स्थायी कमिटी सदस्यमा दुई जनालाई मनोनीत गरेको छ। एकीकृत समाजवादीबाट पार्टीमा फर्किएका मुकुन्द न्यौपाने र पूर्वमन्त्री लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गरिएको पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिए। न्यौपाने पनि एमालेका पुराना नेता हुन्। एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा माधवकुमार नेपाल र झलनाथ खनालपछि तेस्रो वरियाताक्रममा थिए। तर, लामो समय एकीकृत समाजवादीमा उनी रहन सकेनन् र पुनः एमालेमै फर्के। श्रेष्ठ पनि सिराहाका पुराना नेता हुन्। दोस्रो संविधानका सभाको निर्वाचनमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिताउन श्रेष्ठलाई प्राविधिक रूपमा हराइएको चर्चा पनि चल्ने गरेको छ। सातै प्रदेशका इञ्चार्जमा फेरबदल एमालेले सातवटै प्रदेशका इञ्चार्ज पनि फेरबदल गरेको छ। महासचिव पोखरेलका अनुसार शेरधन राईलाई कोशी प्रदेशको इञ्चार्ज बनाइएको छ। त्यस्तै लीलानाथ श्रेष्ठलाई मधेस प्रदेश इञ्चार्ज बनाइएको छ भने डा. राजन भट्टराईलाई बागमती प्रदेश इञ्चार्ज बनाइएको छ। गण्डकी प्रदेशको इञ्चार्जमा किरण गुरुङ, लुम्बिनीको इञ्चार्ज पद्माकुमारी अर्याल बनेका छन् । त्यस्तै गोरखबहादुर बोगटी कर्णाली र लेखराज भट्ट सुदूरपश्चिम प्रदेश पार्टी इञ्चार्ज बनाइएका छन्। अर्याल र भट्ट यसअघि लुम्बिनी र सुप इन्चार्ज थिए। १७ जना केन्द्रीय सदस्य थप \एमालेले १७ केन्द्रीय सदस्य थप गरेको छ। सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्रनारायण देव (सप्तरी) र रामपृत राम (सिरहा) केन्द्रीय सदस्यमा थपिएका छन्। उनीहरू विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्। कर्माचार्य एकीकृत समाजवादीबाट, कुशवाहा र रामपृत आम जनता पार्टीबाट तथा जितेन्द्रदेव कांग्रेसबाट एमालेमा प्रवेश गरेका हुन्। यस्तै, कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेशकुमार बर्तौला (मकवानपुर), सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) लाई केन्द्रीय सदस्य मनोनीत गरिएको महासचिव पोखरेलले जानकारी दिए। आयोगमा पनि थप यसैगरी पार्टीको निर्वाचन आयोगमा अमनसिंह तामाङ (सिन्धुपाल्चोक), झवी पोखरेल (कपिलवस्तु), नर्मदा भण्डारी (गुल्मी), रत्ना गुरुङ (काठमाडौं) र कमला केसी (कैलाली) मनोनीत भएका छन्। अनुशासन आयोगको सदस्यमा मायानाथ अधिकारी मनोनीत भएका छन्। केन्द्रीय सल्लाहकारमा पनि मनोनीत पार्टी केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा कुलानन्द गिरी (रोल्पा), महेन्द्र थापा (स्याङ्जा), पीएल श्रेष्ठ (तनहुँ), शिवचन्द्र कुशहवा (बारा), रामप्रित पासवान (सप्तरी), एकवाल मियाँ (कपिलवस्तु), डा. गोपाल खनाल (नवलपुर), खालित हुसेन हक (सुनसरी) मनोनीत भएका छन्। उनीहरू पार्टी प्रवेश प्रक्रियाबाट सल्लाहकार परिषद्मा मनोनीत भएका हुन्। पुराना नेताहरूबाट हरि रिजाल (प्युठान), प्रेमबहादुर सिंह (कालीकोट), कृष्णप्रसाद दाहाल (मकवानपुर), बिनु ढकाल (मोरङ), सानु श्रेष्ठ (बागमती) सिर्जना शर्मा (गण्डकी), प्रदीप भण्डारी (कोसी), अर्जुनबहादुर थापा (सुदूरपश्चिम), श्याम ढकाल (बर्दिया), नारायण मरासिनी (स्याङ्जा), धनेन्द्र घिमिरे (पाल्पा), नन्दलाल रोकाया (बाँके), जनक पौडेल (बागलुङ), मेघनाथ सुवेदी (पर्वत), नारायण मलासी (डोटी) सल्लाहकार परिषद्मा मनोनीत भएका छन्। यस्तै, सुवासचन्द्र ठकुरी (मकवानपुर), शान्तकुमार ओली (रोल्पा), विना ज्ञवाली (बर्दिया), हरि पोखरेल (खोटाङ), कवीन्द्र शेखर रिमाल (काठमाडौं), सर्वध्वज सावा लिम्बु (सुनसरी), गणेशसिंह धामी (दार्चुला), नन्दकेशर ढकाल (रुपन्देही), लक्ष्मीप्रसाद जोशी (डडेलधुरा), रामहरि सुवेदी (काभ्रे) र सरस्वती पाटी (भक्तपुर) लाई सल्लाहकार परिषद् सदस्यमा मनोनीत गरिएको महासचिव पोखरेलले जानकारी दिए।
 

Post a Comment

0 Comments