विदेश मोहले छात्रवृत्ति छोड्दै विद्यार्थी


नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले छात्रवृत्तिको लागि विद्यार्थी नभएको भन्दा पछि तोकिएको मापदण्ड नपुगेको कारण यो समस्या देखिएको बताए।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार फेसबुक स्टाटसमा लेखे, ‘शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका कारण अन्डर ग्र्याजुएट एमबीबीएस १ जना, पोस्ट ग्र्याजुएट इन्जिनियरिङमा ७ जना, एग्रिकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आईटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसनमा १ जनाको सिट अझै खाली रहेको सूचना पाएको छु।
खाली रहेका सिटमा छात्रवृत्तिको लागि छिटोभन्दा छिटो (एकदुई दिनभित्रै) आवेदन दिनुहोला।’ उनले स्टाटसमा आवेदन पठाउने ठेगानासमेत राखिदिएका छन्। विगतमा छात्रवृत्तिमा अध्ययन गर्नेको मारामार हुने गरेको थियो। कोटा पाउनका लागि अत्यधिक प्रतिस्पर्धा हुने गरेको थियो। तर पछिल्लो समय यसरी छात्रवृत्तिको लागि पनि विद्यार्थी अभाव हुन थालेको छ।
किन निख्रिए विद्यार्थी ?

पछिल्लो समय १२ कक्षा सक्नेबित्तिकै विदेश जानेको लहर चलेको छ। नेपालमा भविष्य छैन भनेर विद्यार्थी धमाधाम विदेश जाने प्रवृत्ति बढेको हो। जसले गर्दा नेपालका विश्वविद्यालय, कलेजले विद्यार्थी आकर्षण गर्न नै सकेनन्। छात्रवृत्तिमा समेत पढ्ने विद्यार्थी पाइन छाडेका छन्। प्रमाणपत्र तहमा वा सो सरह (कक्षा १२) पास गरेर १७ प्रतिशत विद्यार्थी बिदेसिएको पछिल्लो जनगणनाको तथ्यांकले देखाएको छ। महिला सबैभन्दा बढी २४.० प्रतिशत प्रमाणपत्र तह उत्तीर्ण गरेर विदेश गएको देखिन्छ। प्रमाणपत्र तह उत्तीर्ण गरेर विदेश जाने पुरुष १५.६ प्रतिशत छन्। स्नातक वा सो सरह पढेका ११.३ प्रतिशत र स्नातकोत्तर वा सो सरह सकेका ३.९ प्रतिशत महिला विदेश गएका छन्। पुरुषतर्फ भने स्नातक गरेका ४.१ प्रतिशत र स्नातकोत्तर गरेका १.५ प्रतिशत छन्।
पूर्वशिक्षा सचिव किशोर थापा कक्षा १२ सक्नेबित्तिकै विदेश जाने लहर चलेको कारण विद्यार्थीको अभाव भएको बताउँछन्। ‘१२ कक्षा सक्नेबित्तिकै स्नातक पढ्न जाने लहर चल्यो, जसले यहाँ विद्यार्थीको अभाव हुने थाल्यो,’ उनले भने। नेपालका कलेज, विश्वविद्यालयले विद्यार्थी आकर्षण गर्न नसकेको उनको भनाइ छ। ‘छात्रवृत्ति दिँदा पनि विद्यार्थी नआउने भए,’ उनले भने, ‘नेपालमा पढ्दा छात्रवृत्तिको लागि प्रतिस्पर्धा हुन्थ्यो, हामीले पनि त्यही प्रतिस्पर्धा गरेका हौं, पहिलो नेपालमा नै पढ्नुपर्ने बाध्यता थियो।’
२०३१ सालका एसएलसी बोर्डफस्टसमेत रहेका थापाले विदेशमा आकर्षण भएपछि नेपालका कलेज र विश्वविद्यालयको छात्रवृत्तिमा पनि आकर्षण हुन नसकेको बताए। उनले भने, ‘यहाँभन्दा विदेशमा आकर्षण भएकाले यहाँका कलेज र विश्वविद्यालयको छात्रवृत्तिले उनीहरूलाई आकर्षण गरेनन्।’ भारतको ओडिसा राज्यस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)लाई उदाहरणको रूपमा लिन सकिने उनले बताए। ‘त्यो कलेजमा आईटी पढ्न जाने विद्यार्थीको संख्या नै हजार बढी छ। यहाँ आईटीमा कहाँ विद्यार्थी हुने भए र ? भारतका राम्राराम्रा कलेजमा कति होलान् त नेपाली विद्यार्थी’, उनले भने।
समग्र नेपाली समाजमा नै नेपालप्रति निराशाजनक भाष्य निर्माण भइरहेको परिणाम पनि शैक्षिक क्षेत्रमा परेको उनको ठहर छ। ‘यहाँ बस्न ठीक छैन, यहाँ केही हुँदैन, कुनै भविष्य छैन भन्ने भाष्य निर्माण भयो। यो भाष्य नेपाली समाजमा स्थापित भयो’, उनले भने, ‘सबैभन्दा डरलाग्दो कुरा नै देशमा केही हुँदैन, यहाँ भविष्य नै छैन भन्ने भाष्य छ।’ राजनीतिक दलका नेताले पनि लामो समयदेखि यस्तै भाषण गरेर बिताएको उनको भनाइ छ। ‘राजनीतिक दलले पनि लामो समयदेखि त्यही भाषण गरे। सबै खत्तम, सबै बिग्रियो, सबै चोर सबै डाका भन्ने, म मात्र ठीक भन्ने मनोविज्ञानमा उनीहरूसमेत रमाए’, उनले भने, ‘हाम्रा बालबच्चालाई यो देश त खत्तम रहेछ, यहाँ बस्न नै हुने रहनेछ भन्ने भयो। दिनरात यही सुनेपछि उनीहरूलाई पनि हाम्रो भविष्य यहाँ छैन भन्ने लाग्न थाल्यो र १२ सक्नेबित्तिकै बिदेसिन थाले।’ थापाको भनाइमा बाहिर जानको लागि पढाइ एउटा बहानामात्रै हो। ‘पढाइ त एक बहानामात्रै, उनीहरूले देश छोड्न खोजेको हो,’ उनले भने। उनले देश बनाउने हो भने यो भाष्य परिवर्तन गर्नुपर्ने बताए। नेपाल जोगाउने हो भने नेपालको विषयमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने उनको भनाइ छ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा छात्रवृत्तिमा नै विद्यार्थी हुन छोड्न अत्यन्त संवेदनशील र गम्भीर रहेको बताउँछन्। उनले यो विषयमा गम्भीर रूपमा अध्ययन हुनुपर्ने बताए। ‘यो गम्भीर समस्या हो, कोठामा बसेर यसको विषयमा भन्न सकिन्न, यसको अध्ययन नै गर्नुपर्छ’, उनले भने। विश्वविद्यालय अनुदान आयोगलगायतले यस विषयमा अध्ययन गर्नुपर्ने उनको सुझाव छ। ‘यति धेरै विद्यार्थी भारतलगायतका देशमा पढ्न किन गएका छन्, यहाँ महँगो भएर हो कि सन्तोषजनक पढाइ नभएको हो, कि समयमा कोर्ष नसकिएर पो हो कि, जागिर पाउन गाह्रो भएर पनि हुन सक्छ,’ उनले भने, ‘यो विषय हामीले अभिभावक र विद्यार्थीबाट बुझ्न सकिन्छ। यसको लागि अध्ययन नै गर्नुपर्छ। किन विद्यार्थी आमाले पकाएको खानाभन्दा बाहिर खाना रुचि राख्छन् वा आमाले पकाएको खाना किन मन पराएनन्, त्यो बुझ्ने कोसिस हामीले गरेका छैनौं।’
नेपालमा बन्द हडतालको समस्या पनि त्यस्तै छ। विश्वविद्यालयलगायतका सरकारी क्याम्पसमा प्रायजसो तालाबन्दी, हडताल नै हुने गरेका छन्। चार वर्षमा सकिने पढाइ पाँच वर्षमा पनि सकिँदैन। निजी कलेजहरू पनि धमाधम बन्द भइरहेको अवस्था छ।
प्रधानमन्त्रीकै पार्टीको नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले छात्रवृत्तिको लागि विद्यार्थी नभएको भन्दा पछि तोकिएको मापदण्ड नपुगेको कारण यो समस्या देखिएको बताए। ‘छात्रवृत्तिको लागि मापदण्ड नै नपुगेर स्कलरसिपको लागि विद्यार्थी नभएका हुन्, अनिवार्य कक्षा ७ देखि सरकारी विद्यालयमा पढेको हुनु पर्ने मापदण्ड छ। निजी विद्यालयमा पढेकाले छात्रवृत्ति नै पाउँदैनन्,’ उनले भने, ‘सबैलाई दिने हो भने यो समस्या आउँदैनथियो।’ उनले पछिल्लो समयमा नेपाली विद्यार्थी बिदेसिएको कुरा स्वीकार गर्दै शिक्षा नीतिमा परिमार्जन नगरेमा विद्यार्थी बाहिर जाने प्रवृत्ति नरोकिने बताए। ‘पाठ्यक्रम परिमार्जन गर्नुपर्छ। नत्र यहाँ भविष्य छैन, नीतिगत त्रुटि नसच्याए बाहिर जाने प्रवृत्ति रोकिँदैन’, उनले भने।
सरकारले चीनमा छात्रवृत्तिमा अध्ययन गर्न छनोट गरेका ७१ विद्यार्थीमध्ये २० विद्यार्थीले आवश्यक कागजात चीन सरकारको अनलाइन पोर्टलमा पेस नगरेकाले कोटा खारेज हुने जोखिममा छ। यसैले सक्दो छिटो बुझाएमात्रै उनीहरूले अध्ययन गर्न पाउनेछन्। छात्रवृत्ति पाएर पनि जान चाहेनन्। छनोट भएका विद्यार्थी पनि अध्ययन गर्न इच्छुक नहुनुमा प्रश्न उठेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चीन सरकारद्वारा सन् २०२५/२६ का लागि नेपाल सरकारलाई प्राप्त हुन आएका स्नातक तह, स्नातकोत्तर तह र विद्यावारिधि तहको छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक नेपालीलाई ७१ वटा कोटाका लागि दरखास्त खुलायो। उक्त तहअनुसार छात्रवृत्तिमा अध्ययन गर्न इच्छुकलाई आवश्यक योग्यता प्राप्त व्यक्तिहरूलाई २०८१ साल पुस महिनाको ८ गतेदेखि २०८१ साल पुस २८ गतेसम्ममा गुगल लिंकमार्फत दरखास्त आह्वान गरिएको थियो।
स्नातकोत्तर तहमा अध्ययन गर्न कुल सिट संख्या २७, विद्यावारिधि तहमा ४० जना र एमबीबीएस स्नातकमा (मेडिकलको ३ जना र कम्प्युटर इन्जिनियरिङ एआईको १) ४ जना गरेर कुल ७१ जनाको कोटाका लागि छात्रवृत्तिमा आवेदन खुलाइएको थियो। यी सबै खुलाएकोमा आवेदन पर्याप्त पुगेर मन्त्रालयको छात्रवृत्ति शाखाले उत्कृष्ट प्राप्तांकको आधारमा छनोट गरेर पराराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई उक्त संख्याको विद्यार्थीको सूची पठाएको शाखाका सेमान्त कोइरालाले जानकारी दिए।
‘तर स्वीकृत गरेर पठाएको विद्यार्थीले नै चीन सरकारको वेभसाइडमा गएर आवश्यक डकुमेन्ट भर्नुपर्छ। यसरी कागजात तोकिएको अन्तिम मितिसम्म समिट गर्ने क्रममा विभिन्न विषयका २० जना विद्यार्थीले कागजात समिट गरेका छैनन्,’
उनी भन्छन्, यसैले तोकेका सबै कोटा पूरा हुन सकेनन्। ७१ जनामध्ये ५१ जनाले मात्रे पर्याप्त कागजात भरेका छन्। यसर्थ बाँकी विद्यार्थीले पनि जतिसक्दो छटो पूरा गर्नु पर्नेछ।’ यसअघिसम्म छात्रवृत्तिका लागि तहमात्रै मागिएकोमा यसपटक विषयगत आधारमा मागेको थियो।
अधिकांशहरूले आधा अध्ययन यही सकिएको तर उता गएर पढ्न सोही तहमा नेपालमै दुई सेमेस्टर सकिएको र बाँकी उता गर्न जान नमिल्ने खालको शैक्षिक तालिकाका कारण पनि धेरै विद्यार्थी जान नखोजेको बुझिएका छात्रवृत्ति शाखा प्रमुख तथा उपसचिव कोइरालाले जनाए।
उच्च शिक्षामा नेपालमा ६ लाख विद्यार्थी भर्ना
बिदेसिएकाबाहेक नेपालमा अध्ययन गरेर स्नातक तहमा मात्रै वार्षिक करिब ३ लाख ९३ हजार विद्यार्थी उत्पादन भएका छन्। यो गत ३ वर्षको तथ्यांकलाई आधार मान्दा देखिएको औसत तथ्यांक हो। शिक्षा मन्त्रालयको पछिल्लो वर्ष (शैक्षिक सूचना २०८०) मा उल्लेख भएअनुसार स्नातक, स्नातकोत्तर पीएचडी, पीजीडी र एमफिलमा कुल ६ लाख ९ हजार ४ सय ४८ जना विद्यार्थी भर्ना भएका थिए। यसअघिको वर्ष ४ लाख ६० र अघिल्लो वर्ष २ लाख ४७ हजार विद्यार्थिले उच्च शिक्षा अध्ययन गर्न भर्ना भएका थिए। यसअनुसार नेपालमा पनि अध्ययन गर्ने विद्यार्थीको संख्या बर्सेनि बढ्दो छ। २०८० सालमा स्नातक उत्तीर्ण गर्ने विद्यार्थी ५ लाख ४३ हजार, स्नातकोत्तर भर्ना हुने विद्यार्थी ६२ हजार, पीएचडी २ हजार ५६, पीजीडीमा २ सय १ र एमफिल गर्ने १ हजार ४ सय हाराहारीमा छन्।
यसअघिको वर्षमा स्नातक भर्ना हुनेमा ४ लाख १० हजार थिए। यस्तै स्नातकोत्तर उत्तीर्ण गर्नेमा ४७ हजार, पीएचडी गर्ने ६ सय ५८, पीजीडीमा २ सय ८२ र एमफिल गर्ने १ हजार ७ सय विद्यार्थीले भर्ना भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यसरी उच्च शिक्षामा नेपालमा अध्ययन गर्ने विद्यार्थीको संख्या पनि नबढेको भने होइन। तर विदेश अध्ययन गर्नेको संख्या पनि झन् ठूलो मात्रामा बढ्दो छ।
१२ कक्षापछि बाहिरिने विद्यार्थी ह्वात्तै बढे
बर्सेनि ७० देशमा वैदेशिक अध्ययनमा लाखौं बाहिरिन्छन्। मुलुकमा उच्च शिक्षाका विकल्प हुँदाहुँदै पनि पछिल्लो समय युवाहरू कमाइको मोहले वैदेशिक अध्ययनमा जाने प्रवृत्ति बढ्दा यहाँका कलेजहरूमा विद्यार्थीकै कमी हुन थालेको गुनासो बढ्न थालेको छ। यता एक दशककैे तथ्यांकलाई केलाउँदा बर्सेनि १२ कक्षा अध्ययनपछि उच्च शिक्षा प्राप्त गर्ने उद्देश्यले बाहिरिने विद्यार्थी लाखौंको संख्यामा बढेका छन्। बर्सेनि ७० देखि १ सय ११ देशमा वैदेशिक अध्ययनमा लाखौं बाहिरिने गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैदेशिक अध्ययनका लागि दिएको अनुमतिपत्र एनओसी (नो अब्जेक्सन सर्टिफिकेट)को तथ्यांकमा उल्लेख छ।
वि.सं २०८१ फागुन २ गतेसम्ममा करिब ५५ हजार हाराहारीको संख्यामा विद्यार्थीहरू अध्ययनका क्रममा बाहिरिएको मन्त्रालयका वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव रमेशप्रसाद घिमिरेले जानकारी दिए। यसैगरी, २०८० सालमा मात्रै १२ कक्षा उत्तीर्ण गरेका १ लाख १४ हजार २२ जना विद्यार्थी बाहिरिएका छन्। यसरी विदेशी रहँदा नेपालबाट युवासँगै अर्बौं वैदेशिक मुद्रासमेत अध्ययनको नाममा बाहिरिएको छ। यसरी उच्च शिक्षा अध्ययनका लागि युवा बाहिरिँदा १० वर्षमा ३ खर्ब ९० अर्ब ३३ करोड रुपैयाँसमेत बिदेसिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। यसले युवा जनशक्तिसँगै पुँजीसमेत पलायन भएको देखिन्छ। नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीबाट खर्बौं विदेशी मुद्रा बाहिरिएको छ।
वैदेशिक अध्ययनमा जाने विद्यार्थीको संख्या आर्थिक वर्ष २०७०/७१ मा २८ हजार थियो तर अहिले बर्सेनि लाख नाघिसकेको छ। पछिल्लो आव २०७८/७९ मा १ लाख २ हजार ५ सय ४ जना र २०७९/८० मा १ लाख १० हजार २ सय १७ विद्यार्थी उच्च शिक्षा हासिल गर्ने भन्दै बिदेसिएको शिक्षा मन्त्रालयको तथ्यांकले देखाउँछ।
यी विद्यार्थीको रोजाइ प्रायः युरोपियन मुलुक रहेको छ। जहाँ गएर अध्ययनपछि नेपाल फर्कने सम्भावना झिनो देखिन्छ। मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा बाहिरएिका कुल विद्यार्थीमध्ये सबैभन्दा बढी अस्ट्रेलियामा ३०.८प्रतिशत, जापानमा १९.७ प्रतिशत, क्यानडामा १९.५ प्रतिशत, बेलायतमा ९.६ प्रतिशत र अमेरिकामा ३.६ प्रतिशत रहेको छ।
समग्रमा पछिल्लो समय एनओसी लिएर अध्ययनमा बढी जाने मुलुकमा पहिलोमा अस्ट्रेलिया, क्यानडा, जापान रहेको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव रमेशप्रसाद घिमिरे बताउँछन्। ‘यद्यपि कुनै वर्ष केही मुलुकले विद्यार्थीलाई बढी खुलाउँछ यसअनुसार पनि जाने प्रवृत्ति छ। अहिले जापानमा बढी अध्ययनमा गएको छन्’, उनले अन्नपूर्णसँग भने।
सबैभन्दा धेरै जापान
गत वर्ष २०८० सालको तथ्यांकलाई विश्लेषण गर्दा सबैभन्दा बढी जापानमा ३४ हजार ५८ जना, क्यानडामा २१ हजार ३ सय ९, अस्ट्रेलियामा १८ हजार ७ सय ७९, बेलायत (यूके) मा १२ हजार २ सय ८२ जना, अमेरिकामा ८ हजार २ सय ५०, कोरियामा ४ हजार ८ सय ८७, भारतमा २ हजार ३ सय ७२ जना, दुबई (यूएई) मा २ हजार ३ सय १३, फ्रान्समा १ हजार ४ सय ४ र फिनल्यान्डमा १ हजार २ सय हाराहारीमा विद्यार्थीहरू बाहिरिएका छन्। यसबाहेकका मुलुकमा हजारभन्दा कम विद्यार्थी गएका छन्।
यसरी विद्यार्थी बाहिरिनुको पछाडि शिक्षामात्रै नभई समग्र सामाजिक– आर्थिक कारणले पनि भएको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव रमेशप्रसाद घिमिरे बताउँछन्। उनका अनुसार विदेशमा पढेपछि भोलि बजारमा जागिरको भ्यालु बढी हुने र अहिले पनि पढ्दै पैसा कमाउने सहज प्रणाली भएकाले पनि विदेश अध्ययनको मोह बढेको देखिन्छ।
वैदेशिक अध्ययनका नाममा विद्यार्थी बाहिरिनु भनेको देशको प्रतिभा र विदेशी मुद्राको पलायनमात्र नभएर अन्ततः यो जनसांख्यिक र पुँजी पलायनसमेत हो। युवा विद्यार्थी देशका ऊर्जा र उत्पादनका स्रोत हुन्। विदेशमा विद्यार्थीले कलेज वा विश्वविद्यालय तहको शिक्षा उत्तीर्ण गरेपछि योग्यताअनुसार रोजगारी पाउने, पारि श्रमिक उच्च हुने, छोटो समयमै गुणस्तरीय जीवन सुनिश्चित हुने र शिक्षापछिको व्यावसायिक जीवनमा बढी सफलता हासिल हुने सम्भावनाले बाहिरिएका विद्यार्थीको स्थायी बसोबासको रोजाइ विदेश नै हुने गरेको छ।
फलस्वरूप नेपाली विद्यार्थीको वैदेशिक अध्ययन ‘वैदेशिक बसाइँसराइ’मा परिणत भइरहेको छ। यसैक्रममा शिक्षाविद् प्रा.डा. विनय कुसियत पढाइसँगै जागिरको सुनिश्चितता भएकाले नै आकर्षित हुने गरेको बताउँछन्। पढाइमा गरेको लगानीको प्रतिफल खोजेको देखिन्छ। त्यो सम्भावना नदेखेर आज युवासँगै उनीहरूका प्रतिभासमेत बाहिरिएको उनले औंल्याए। ‘नेपालमा नै टिकाउने हो भने गुणस्तरीय शिक्षा मात्रै छ भनेर हुदैन। पढेर कमाइ खान सक्ने वातावरण हुनुपर्यो। यसो भए विद्यार्थी पलायन कम हुन सक्छन्। धमाधम विश्वविद्यालय मात्रै खोलेर हँुदैन’, उनले भने।
यो गम्भीर समस्या हो। कोठामा बसेर यसको विषयमा भन्न सकिन्न, यसको अध्ययन नै गर्नुपर्छ। किन यसरी पढ्नको लागि बिदेसिएका हुन् ? यो विषय हामीले अभिभावक र विद्यार्थीबाट बुझ्न सकिन्छ। यति धेरै विद्यार्थी भारतलगायतका देशमा पढ्न किन गएका छन्, यहाँ महँगो भएर हो कि सन्तोषजनक पढाइ नभएको हो। कि समयमा कोर्ष नसकिएर पो हो कि, जागिर पाउन गाह्रो भएर पनि हुन सक्छ।
केदारभक्त माथेमा, पूर्वउपकुलपति, त्रिभुवन विश्वविद्यालय
हाम्रा बालबच्चालाई यो देश त खत्तम रहेछ, यहाँ बस्न नै हुने रहनेछ भन्ने भयो। दिनरात यही सुनेपछि उनीहरूलाई पनि हाम्रो भविष्य यहाँ छैन भन्ने लाग्न थाल्यो र १२ सक्ने बित्तिकै बिदेसिन थाले। छात्रवृत्ति दिँदा पनि विद्यार्थी नआउने भए। देश बनाउने हो भने यो भाष्य
परिवर्तन गर्नुपर्छ।
किशोर थापा, पूर्व शिक्षासचिव
विमानस्थलमा बिदेसिनेको लर्काे। ि फाइल तस्बिर
0 Comments