प्रधानमन्त्रीसँग विशेष अन्तर्वार्ता
कसैलाई काँधमा बोकेर ‘म्याजिक नम्बर’ दिलाउने गल्ती गरिन्नँ


पछिल्लोपल्ट प्रधानमन्त्री हुनुभएको ८ महिना बित्यो, यो अवधिलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
अत्यन्तै असहज परिस्थितिमा नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनेको थियो। त्यसबेला जुन परिस्थिति थियो, देश जता जाँदै थियो त्यो स्वीकार्य पनि हुँदैन, सह्य पनि हुँदैन भनेर नेकपा एमाले र नेपाली कांग्रेसले सरकार परिवर्तन गर्ने निर्णय गरे। त्यतिबेला सरकार परिवर्तन नगरेको भए देश अत्यन्तै अप्ठ्यारो अवस्थामा जाने थियो। राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, मानवअधिकारलगायत हरेक हिसाबले देश एउटा अवस्थाबाट गुज्रिइरहेको थियो।
देश भयंकर अप्ठ्यारोमा फस्ने टड्कारो सम्भावना देखेपछि सरकार परिवर्तनको कदम चालियो। राष्ट्रिय राजनीतिमा अस्थिरता, वैदेशिक सम्बन्धमा अस्पष्टता, सुशासन र विकाससम्बन्धी कुनै अवधारणा नभएको मुलुकको अवस्था थियो। निर्मित राष्ट्रिय दृष्टिकोण बोक्न नसक्ने र अन्य कुनै विकल्पसमेत खोज्न नसक्ने खालको अवस्था थियो। यस्तो अवस्थामा राष्ट्रलाई निश्चित प्रशासनिक, राजनीतिक, सामाजिक र आर्थिक दिशा दिनुपर्ने अवस्थालाई बोध गरेर सरकार परिवर्तन गर्ने निष्कर्षमा देशका प्रमुख दुई पार्टी पुगे। यो साधारण अवस्था होइन। साधारणतयाः प्रमुख राजनीतिक दलहरू प्रतिस्पर्धा गर्छन्। तर, जब देश अप्ठ्यारोमा छ भने प्रतिस्पर्धाको रट लगाएर हुँदैन। देशलाई अप्ठ्यारोबाट बचाउनु र प्राप्त उपलब्धिहरूको रक्षा गर्नु पनि ठूला दलको प्रमुख काम हुन जान्छ।


विकास निर्माणका काम अघि बढाउनु, जनतामा सुशासन र सुविधा उपलब्ध गराउनु प्रमुख कुरा हुन्। अनेक प्रकारका अन्तर्राष्ट्रिय परिवर्तन र सम्भावना देखिए, तिनलाई पनि हामीले मनन् गर्नुपर्ने अवस्था देखियो। त्यसो भएर सरकार परिवर्तन भयो र वर्तमान सरकार बन्यो। त्यस्तो परिस्थितिमा त्यसरी बनेको सरकारले स्वाभाविक रूपमा त्यही गम्भीरताका साथ काम गर्नु जरुरी छ। गरिरहेको छ।
के त्यस्तो आवश्यकता थियो र कांग्रेस—एमालेको गठबन्धन बन्यो ?
लिनुपर्ने ठाउँ कहीँ छैन। तिर्नुपर्ने सबै बाँकी छ। आउनुपर्ने स्रोत छैन। स्रोत सुनिश्चित गर्ने भन्दै काम जिम्मा लगाइएको छ। त्यसलाई दिने कुनै ठाउँ छैन। यस्तो अवस्थामा देशको अर्थतन्त्र लगातार ओरालो लागेको स्थिति छ भने त्यसलाई रोक्न अग्रसर हुनु जरुरी थियो र गम्भीर हुन पनि उत्तिकै जरुरी थियो। राजनीतिक हिसाबले अस्थिरता, अन्योल, स्टन्टबाजी, जनतालाई धोका, भ्रम, अन्योल दिनुभन्दा अघिल्लो सरकारसँग केही थिएन। एउटा भनाइ छ ‘जो केहो उसकै ठूलो स्वर’ भन्ने, त्यस्तो अवस्थाबाट राजनीतिलाई स्थिरतामा लानुपर्ने अवस्था आयो। त्यसैअनुसार हामीले काम गरेका छौं। कांग्रेस र एमालेको वर्तमान गठबन्धन सरकारले आठ महिनामा गइरहेको पहिरो रोक्ने, भत्किएका ठाउँहरूलाई सच्याउने, स्पष्ट सुशासन र विकासको बाटोमा देशलाई अगाडि बढाउने काम गरेको छ।
तर, विपक्षीहरू त सरकारले केही गर्न सकेन भन्छन् नि ?
यसबीचमा सरकारको आलोचना गर्ने कुनै ठाउँ भएन। त्यसले विपक्षीहरू अत्यन्तै हडबडाएका छन्। आलोचना गर्ने ठाउँ नभएपछि गालीगलौजमा उत्रिएका छन्। देशलाई प्रतिगमनतर्फ लैजाने चेष्टामा जसरी उनीहरूलागेका थिए त्यो यो सरकार बनेसँगै तुहिएको छ। त्यसो भएपछि विपक्षीहरू छटपटिएका छन् भने आक्रोश, चिन्ता र कुण्ठाहरूबाट समेत ग्रस्त भएका छन्। अहिले देश अगाडि बढ्दैछ। उपलब्धिका साथ देश अगाडि बढिरहेको छ। हामी निराश हैन, आशावादी छौं। देश अगाडि बढ्छ र बढाउन सकिन्छ। हामी समाधान दिन सक्छौं।
अघिल्लो सरकारका प्रधानमन्त्री (प्रचण्ड) यो सरकारले सुशासन कायम गर्न नसकेको र भ्रष्टाचारलाई प्रश्रय दिइरहेको भन्नुहुन्छ नि ?
उहाँकै शैलीमा मैले जान अलिक वाञ्छनीय हुँदैन। उहाँ अलिकति हडबडाउनु भएको छ, छटपटाउनु भएको छ।
कारण ?
प्रचण्डजी छट्पटिनुमा दुइटा कारण हुन सक्छन्। एउटा सत्ता बाहिर भएर, अर्को आफ्ना कामकारबाहीको छानबिन होला कि भन्ने त्रासमा। हामी विगतमुखीभन्दा आगामी दिनतिर केन्द्रित छौं। प्रतिशोधभन्दा विगतका कमजोरी सच्याएर देशलाई अगाडि लैजान चाहन्छौं। हामी कसैप्रति बदलाभाव राख्दैनौं। हामी विगत बिर्सनु हुँदैन तर माफी गर्न सकिन्छ भन्ने मान्यताबाट अघि बढ्न चाहन्छौं। बिर्सियो भने फेरि त्यही कुरा दोहोरिन्छ। मेरो एउटा मात्र आग्रह छ– प्रचण्डजीले जथाभावी बोल्दै नहिँडे हुने हो।
यसको मतलब सुशासन कायम गर्न र भ्रष्टाचार न्यूनीकरण गर्न तपाईं नेतृत्वको सरकारले राम्रो गरिररहेको छ भन्ने हो ?
वर्तमान सरकारले प्रभावकारी ढंगले काम गरेको छ। म सन्तुष्ट छु। अहिले शेरा दरबार काण्ड निस्किएको छ। दरबारमात्र खाएको होइन कि १ सय ६४ रोपनी जमिनसमेत खाएको भन्ने काण्ड आएको छ। त्यो जग्गा सरकारले फिर्ता ल्याउँछ तर कसरी त्यस्तो भयो भनेर सरकारले छानबिन त गर्छ। प्रचण्डजीलाई शेरा दरबार जग्गा काण्डमाथि छानबिन हुन्छ कि भनेर चिन्ता हुन सक्छ। जसको पृष्ठभूमिबारे, इतिहासका लुटपाटबारे म अहिले केही भन्न चाहन्न। आफूलाई भ्रष्टाचार विरोधी अभियानको नायक भनेर चित्रण गरेको नाटक र नाटकको मञ्चन चाहिँ रमाइलो लाग्ने तहसम्म त ठीकै छ तर अलिक रिस उठ्ने तहसम्म चाहिँ नगरेकै राम्रो हो। जनताले त्यस्तो मन पराउँदैनन्। त्यति नै होला उहाँहरूको छट्पटी।
प्रधानमन्त्रीज्यू, वर्तमान गठबन्धन बन्दा सातबुँदे सहमतिमा स्थिरताका लागि संविधान संशोधन गरिने भनिएको थियो, त्यसको प्रक्रिया कहाँ पुग्यो ? कुन विषय संशोधन गर्न खोजिएको थियो ?
हामी एमाले र कांग्रेसले महसुस गरेर संविधान संशोधन गर्नुपर्छ भनेका छौं। त्यसका निम्ति राजनीतिक दलहरूबीच गम्भीर छलफल, विचारहरूको आदान प्रदान, समस्या यहाँ छ भनेर बहस हुनुपर्छ। संविधान सबैले मान्नुपर्ने दस्तावेज हो, त्यसलाई फेरि समयानुकूल ढंगले परिमार्जन पनि गर्नुपर्छ, हेरफेर वा संशोधन गर्नुपर्छ। त्यसो भएर हामी त्यसमा राजनीतिक दलहरूसँग विस्तृत छलफल पछि गर्ने नै छौं। बुँदाबुँदामा छलफल गर्नेछौं। संविधान अपरिवर्तनीय आलेख होइन, यो कुनै धर्मशास्त्रपनि होइन। संविधान विधिशास्त्र हो, संशोधन गर्न मिल्छ।
स्थिरताका लागि संविधान संशोधन भनिएको थियो। संविधानमा के कमजोरी भएकाले अस्थिरता आएको छ भन्ने खालको कांग्रेस र एमालेबीच सुझबुझ बनेको थियो होला नि ?
अहिले त्यसमा गइहाल्ने बेला अलिकति भइसकेको छैन भन्ने पनि म ठान्छु। देशलाई स्थायित्व त चाहियो। अस्थिरता किन भइरहेको छ ? लोकतन्त्र भनेको एउटा मोटो फ्रेमवर्क हो। त्यसभित्र त्यसका संरचनागत पक्षहरूमा कहीं न कहीँ कमजोरी होलान्। त्यसको सञ्चालनमा कमी, कमजोरी होलान्। संरचनागत, त्यसका अवयव र परिचालन, यो तीनवटा कुरामा विचार गर्नुपर्छ। संरचनागत र सञ्चालनगत पक्षहरूमा ध्यान दिनैपर्ने हुन्छ। हामीले अहिले संकेत गरेको कुरा त्यो हो।
उसो भए संशोधन कहिलेसम्ममा हुन सक्छ ? कुनै टाइमलाइन ?
टाइमलाइन दुइटा कुराले निर्धारण गर्छन्। एउटा राजनीतिक दलहरूले यसलाई बुझ्नु पर्यो, छलफल गर्नुपर्यो। संवादले यसमा परिपक्वता सिर्जना गर्नुपर्यो। यो सर्वस्वीकार्य हुन्छ-हुँदैन बेग्लै कुरा हो। सर्वस्वीकार्यता दुनियाँमा खोज्नु बहुत राम्रो हो। यसको सर्वस्वीकार्यता त संविधानको दोस्रो संशोधनमा नै भइसकेको हो। त्यसयता हरेक समयमा सर्वस्वीकार्यता हुन्छ भन्ने छैन। अर्को यसमा दुईतिहाइ चाहिन्छ। त्यसकारण वैचारिक हिसाबले प्रणालीगत र संरचनागत प्रश्नहरूमा सुधारबाहेक राजनीतिक दलहरूको मनस्थिति बुझाइ, तत्परताजस्ता कुराहरूको पनि अर्थ हुन्छ। यी दुइटै कुरा जतिबेला परिपक्व हुन्छन्, टाइमलाइन त्यही हो।
सातबुँदे सहमतिकै अर्को बुँदामा अर्थतन्त्र चलायमान बनाउन कांग्रेस र एमालेबीच गठबन्धन गर्नुपर्यो भन्ने थियो। यो आठ महिनाको अवधिमा अर्थतन्त्र तुलनात्मक रूपमा कति चलायमान बन्यो ?
अवश्य नै चलायमान बन्यो। स्रोत छैन तर सुनिश्चित गर्ने प्रवृत्ति रोकिएको छ। उखुको पैसा तिरेको छैन। भ्याट फिर्ता गरेको छैन। डेरीको पैसा तिरेको छैन। निर्णय कार्यान्वयन भएको छैन। खर्च गराइमा बेथिति छ। परिणाम नहेरी सित्तैमा पाएजस्तो पैसा उडाइएको छ। यी समस्याहरूको हामीले समाधान दिनुपर्छ र साँच्चै नेपाललाई गरिबीबाट मुक्त गरेर अगाडि बढाउनुपर्छ भन्ने नै छैन। बैंकमा भएको पैसा चल्ने अवस्था छैन। बैंकले कर्जा दिने र सेवाग्राहीले कर्जा लिने अवस्था छैन। केका लागि कर्जा लिने, डुब्नेबाहेक अरू उपाय केही छैन। लगानी गरेर डुब्छमात्र भने किन लगानी गर्छ मान्छेले ? त्यस स्थितिबाट देशलाई अहिले लयमा ल्याइएको छ। भयानक घाटाको अवस्थाबाट सुधारिएको अवस्थामा देश गइरहेको छ। अहिले तिर्ने ठाउँमा अर्बौ तिरिएको छ। सुधारका निम्ति सरकार बनेको हो र सुधारका कामहरू भइरहेका छन्। आर्थिक नीतिहरूमा हेरफेर भएका छन्। बेथिति र अपचलन रोकिएका छन्। गैरजिम्मेवार ढंगले खेलवाडपूर्ण क्रियाकलापहरू बन्द भएका छन्।
दुई दलको सम्झौतामा विकास निर्माणलाई तीव्रता दिइने पनि भनिएको थियो। के अहिले सोचेजस्तो विकास निर्माणले गति लिइरहको छ ?
तपाईंले हेर्नुभयो भने राजस्व २४ प्रतिशत घाटामा थियो। राजस्व वृद्धि भएको अवस्था छ। विकास निर्माणका काम ठप्प थिए। अहिले राजमार्गहरू हेर्नुस् न, बनिरहेका छन्। नारायणगढ–बुटवल सडकगीत गाउने थलो बनेको थियो, त्यो गीत बन्द भएको छ। तपाईंहरू आफैं गएर निरीक्षण गर्न सक्नुहुन्छ। पोखरा–मुग्लिन खण्ड अर्को गीत गाउने बाटो बनेको थियो, त्यसमा अहिले जनता खुसी छन्। त्यस क्षेत्रको निर्माणकार्य अत्यन्तै गतिका साथ अघि बढिरहेको छ। अरू विकास निर्माण र ठेक्कापट्टाका कामहरू अगाडि बढिरहेका छन्। रोकिएका पूर्वाधार निर्माण अघि बढिरहेका छन्। किमाथांकासम्मको बाटो खुलेको छ। ओलाङचुङबाट तिब्बत जाने नाका खुलेको छ। जुन कामहरू नहुने स्थितिमा पुगेका थिए ती कामहरू भइरहेका छन् अहिले। सरकारमा आउनसाथ भयानक प्राकृतिक विपत्ति आयो त्यसलाई सहज रूपले सम्हाल्यौं। कृषि क्षेत्रको आधुनिकीकरणमा ध्यानदिन थालेका छौं। वैदेशिक लगानी भित्र्याउने सम्बन्धमा काम भइरहेका छन्। चीन भ्रमणका क्रममा धेरै आयोजनाहरूमा सम्झौता भएका छन्। तीमध्ये केही कार्यान्वयनको अवस्थामा छन्।
सरकारका ८ महिना
- त्यतिबेला सरकार परिवर्तन नगरेको भए देश अत्यन्तै अप्ठ्यारो अवस्थामा जाने थियो। राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, मानवअधिकारलगायत हरेक हिसाबले देश एउटा अवस्थाबाट गुज्रिरहेको थियो।
- जब देश अप्ठ्यारोमा छ भने प्रतिस्पर्धाको रट लगाएर हुँदैन। देशलाई अप्ठ्यारोबाट बचाउनु र प्राप्त उपलब्धिको रक्षा गर्नु पनि ठूला दलको प्रमुख काम हुन जान्छ।
- वर्तमान गठबन्धन सरकारले ८ महिनामा विगतदेखि गइरहेको पहिरो रोक्ने, भत्किएका ठाउँहरूलाई सच्याउने, स्पष्ट सुशासन र विकासको बाटोमा देशलाई अगाडि बढाउने काम गरेको छ।
विपक्षीको आक्रोश
- देशलाई प्रतिगमनतर्फ लैजाने चेष्टामा जसरी उनीहरू लागेका थिए त्यो यो सरकार बनेसँगै तुहिएको छ। त्यसो भएपछि विपक्षीहरू छटपटिएका छन् भने आक्रोश, चिन्ता र कुण्ठाहरूबाट समेत ग्रस्त भएका छन्।
- प्रचण्डजी छटपटिनुमा दुइटा कारण हुन सक्छन्। एउटा सत्ता बाहिर भएर, अर्को आफ्ना कामकारबाहीको छानबिन होला कि भन्ने त्रासमा।
- प्रचण्डजीलाई शेरा दरबार जग्गा काण्डमाथि छानबिन हुन्छ कि भनेर चिन्ता हुन सक्छ। जसको पृष्ठभूमिबारे, इतिहासका लुटपाटबारे म अहिले केही भन्न चाहन्नँ।
संविधान संशोधन
- संविधान अपरिवर्तनीय आलेख होइन, यो कुनै धर्मशास्त्र पनि होइन। संविधान विधिशास्त्र हो, संशोधन गर्न मिल्छ।
- संरचनागत र सञ्चालनगत पक्षहरूमा ध्यान दिनैपर्ने हुन्छ। हामीले अहिले संकेत गरेको कुरा त्यो हो।
- वैचारिक हिसाबले प्रणालीगत र संरचनागत प्रश्नहरूमा सुधारबाहेक राजनीतिक दलहरूको मनस्थिति बुझाइ, तत्परताजस्ता कुराहरूको अर्थ हुन्छ। यी दुइटै कुरा जतिबेला परिपक्व हुन्छन्, टाइमलाइन त्यही हो।
कहाँ छ अर्थतन्त्र ?
- अर्थतन्त्र अवश्य नै चलायमान बन्यो। स्रोत छैन तर सुनिश्चित गर्ने प्रवृत्ति रोकिएको छ।
- भयानक घाटाको अवस्थाबाट सुधारिएको अवस्थामा देश गइरहेको छ।
- आर्थिक नीतिहरूमा हेरफेर भएका छन्। बेथिति र अपचलन रोकिएका छन्। गैरजिम्मेवार ढंगले खेलवाडपूर्ण क्रियाकलापहरू बन्द भएका छन्।
- नारायणगढ–बुटवल सडक गीत गाउने थलो बनेको थियो, त्यो गीत बन्द भएको छ। जुन कामहरू नहुने स्थितिमा पुगेका थिए ती कामहरू भइरहेका छन् अहिले।
कूटनीति–भूराजनीति
- ठूला देशसँग तर्सनुपर्ने अवस्था होइन, हामीले ढुक्कले हाम्रा समस्याहरू छिमेकी मुलुकसँग राख्नुपर्छ। समस्याहरू मिलेर समधान गरौं भनेर छिमेकी मुलुकहरूसँग खुलेर भन्नुपर्छ।
- राष्ट्रिय हित र सम्बद्र्धनको हामी आफैं रक्षा गर्न सक्छौं। हामी हाम्रो देश आफैं बनाउनुपर्छ भन्नेमा स्पष्ट छौं।
- हामी विश्व शान्तिको पक्षमा छौं। युद्धमा कतै संलग्न हुँदैनौं।
जलवायु संकट
- प्रदूषण हुनेखाने धनी मुलुकहरूले नै गरेका छन्। हामीले गरेका छैनौं। तर मारमा भने हामी छौं।
- जलवायु परिवर्तन र त्यसले निम्त्याउने चुनौती बुझ्न हिमालदेखि समुन्द्रसम्मै जानुपर्छ।
पूर्वराजाको ‘स्वागत’
- उनीहरूका विचार, व्यवहार देख्दा यी कतैबाट सञ्चालिन, परिचालित, पेड (तिरेर ल्याइएका) खालका तŒवजस्ता देखिन्छन्।
- वस्तु नदेखिएको होला, म्याउँ गरेको आवाज चाहिँ आयो।
- यी असभ्य जमात हुन् जसले नेपालको मूल्य, मान्यता, संस्कृति केही मान्दैनन्।
- राजनीतिक, सामाजिक नागाहरू हुन यिनीहरू। अराजकता र मर्यादाहीनताको नेतृत्व गर्ने जमात हुन् यी।
- समय आउँछ। मेरो हतार गर्ने बानी छैन।
- कसैले भन्छन् पूर्वराजा नभन, श्री ५ महाराजाधिराज फलाना वीरविक्रम शाहदेव भन। रहँदै रहेछन् त राजा।
- हामी अधिनायकवाद, तानाशाह मान्दैनौ, लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौं।
- चुनावकै बाटोबाट राजा आए भइगयो नि।
- जनमत राजनीतिक दलहरूसँग छ, जनताभन्दा माथि हु आर यू ? तीन करोड जनताको इच्छा दुई–चार हजार मान्छेमा प्रकट हुन्छ ?
- हामी प्रतिगमनतिर देशलाई जान दिँदैनौं।
- जनताको सार्वभौमसत्ता व्यक्ति वा परिवारमा लगेर सुम्पिने कुरा किमार्थ स्वीकार्य हुँदैन।
- कुन चाहिँ महान् काम देशलाई गर्नुभयो, के चाहिँ महान् कोसेली बोकेर आउनुभयो र यत्रो स्वागत गर्न पर्यो ? उहाँ त्यहाँ चुनाव जितेर आउनुभयो कि विश्वकप जितेर आउनुभयो ? कि गोल्डेन बुट पो लगाएर आउनुभयो ?
- हामी संघर्षको मैदानमा हुर्किएका हौं। भेलहरूमै पौडिएर अनेक जंघारहरू तर्दै आएका हौं, हामीलाई केही छैन।
- भैंसी आफैं हेलिँदै गहिरो पानीतिर गयो भने धपाएर वा धकेलेर त्यहाँ हुलिदियो र भैंसी बग्यो भन्ने अपजस किन लिनु ?
गठबन्धन कति बलियो ?
- गठबन्धन टुट्छ कि भन्ने प्रश्न सोधे कसैले भने नयाँ प्रश्न सोध्नु, यो साहै्र पुरानो भयो भन्दिनुस् न !
- अबको १६ महिना म प्रधानमन्त्री हुन्छु, त्यसपछि चुनावसम्म शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ।
मिसन ८४
- अब विभिन्न प्रकारका गठबन्धन गरेर, विभिन्न प्रकारका तत्त्वहरूलाई काँधमा बोकेर ७० मै सकिनेलाई, ७४ मा सकिनेलाई अहिले म्याजिक नम्बर भयो मेरो र म यहाँ पुगेँ, म अनन्तकालसम्म सरकारमा रहने भएँ भन्ने ठाउँमा हामी पुर्याउँदैनौं।
सरकारले परराष्ट्र नीति र भू–राजनीतिक सम्बन्धलाई कसरी अघि बढाइरहेको छ ?
हामी भूराजनीतिका सम्बन्धमा स्पष्ट छौं। भूराजनीतिका नाममा कमजोरी गर्नु र आफ्ना कमजोरी लुकाउनु आवश्यक छैन। हाम्रा छिमेकमा दुई ठूलाठूला, विकसित, जनसंख्या पनि धेरै भएका देश छन्। ठूला देशसँग तर्सनुपर्ने अवस्था होइन, हामीले ढुक्कले हाम्रा समस्याहरू छिमेकी मुलुकसँग राख्नुपर्छ। समस्याहरू मिलेर समधान गरौं भनेर छिमेकी मुलुकहरूसँग खुलेर भन्नुपर्छ। हाम्रा कतिपय क्षेत्रीय समस्याहरू छन्। वातावरणीय समस्याहरू पनि छन्।
विश्वस्तरमै वातावरणीय समस्याहरू आइरहेका छन्। दिगोविकास लक्ष्यका कुराहरूहामीले राष्ट्रसंघ समक्ष राम्रै ढंगले राखेका छौं। हामी सबै मुलुकलाई सन्तुलन मिलाएर अघि बढ्छौं। अहिलेको सरकारसँग परराष्ट्र नीतिबारे कुनै अस्पष्टता छैन। सार्वभौमसत्ता, मुलुकको स्वाधीनता, आन्तरिक तथा बाह्य सम्बन्धकाबारे आफैं निर्णय गर्न नेपाल सक्षम छ। हामी आफ्ना निर्णय र कार्यान्वयन आफैं गर्न सक्छौं। राष्ट्रिय हित र सम्बद्र्धनको हामी आफैं रक्षा गर्न सक्छौं। हामी कहिल्यै पनि उपनिवेश भएनौं। तसर्थ हामी हाम्रो इतिहासप्रति गर्व गर्छौं। भविष्यमा पनि हामी न कसैको उपनिवेश हुन्छौं न त पराधीन नै। हामी विश्व शान्तिको पक्षमा छौं। युद्धमा कतै संलग्न हुँदैनौं। कुनै पनि सैन्य गठबन्धनमा जोडिदैनौं। हामी कुनै पनि मुलुकप्रति असन्तुलित व्यवहार गर्दैनौं। पञ्चशीलको सिद्धान्तका आधारमा परराष्ट्र नीति तर्जुमा गछौं। हामी हाम्रो देश आफैं बनाउनुपर्छ भन्नेमा स्पष्ट छौं।
जलवायु परिवर्तनले निम्त्याएका समस्यासँग जुध्न सरकारसँग कस्ता योजनाहरू छन् ?
हुनेबाट लिने नहुनेलाई दिने, हुनेले खर्च गर्नुपर्ने र नहुनेको हितका लागि खर्च गर्नुपर्ने। यो अन्तर्राष्ट्रिय उत्तरदायित्व र मानवीय कर्तव्यभित्र पर्छ। हुनेखाने देशहरूको उत्तरदायित्वभित्र यो पर्छ। यसको पालनाबाट कोही पछि हट्नु हुँदैन। प्रदूषण हुनेखाने धनी मुलुकहरूले नै गरेका छन्। हामीले गरेका छैनौं। तर मारमा भने हामी छौं। जहाँ ठूला उद्योग छन्, जसको उत्पादन गर्ने क्षमता छ उनैले बढी प्रदूषण गरेका छन्। हाम्रोमा न उद्योग छ न त प्रदूषण नै। हामीले दुईवटा दाउरा बालेर कसौडीमा केही पकाउँदा विश्व वातावरण बिग्रिएको होइन। ठूला देशका ठूला उद्योगहरूले प्रदूषण फैल्याएका हुन्।
यो चुनौतीको सामना नेपालले कसरी गर्छ ?
यही चुनौतीको सामना कसरी गर्न सकिन्छ भनेर सरकारले सगरमाथा संवाद नामको अन्तर्राष्ट्रिय कार्यक्रम गर्दैछ। त्यहाँ पनि यसबारे घनिभुत छलफल हुन्छ। विश्वको ध्यानाकर्षण गर्न हामीले यो कार्यक्रम राखेका हौं। जलवायु परिवर्तनको समस्याबाट कसैले हात झिक्ने होइन कि हात बढाउँदै जानुपर्छ। आठ हजार मिटर माथिका अधिकांश हिमाल नेपालमै छन्। ती हिमाल जलवायु परिवर्तनको चपेटामा परेका छन्। जलवायु परिवर्तन र त्यसले निम्त्याउने चुनौती बुझ्न हिमालदेखि समुन्द्रसम्मै जानुपर्छ। त्यसले मात्र वातावरणीय प्रश्नको समाधान दिन सक्छ। हामी त्यसकै पहलमा छौं।
प्रसंग बदलौं, प्रधानमन्त्रीविरुद्ध सडकमा तथानाम गाली बर्सिने, लोकतान्त्रिक प्रणालीमाथि धावा बोल्नेलगायत संविधानविरोधी क्रियाकलापहरू किन भइरहेका छन् ? यस विषयमा राज्यको बुझाइ के हो ?
जुन तत्वहरू सडकमा उफ्रिरहेका छन्, उनीहरूमा कुनै पनि अग्रगामी सोच र दृष्टिकोण छैन। उनीहरूसँग कुण्ठा छ, आक्रोश छ। उनीहरूका विचार, व्यवहार देख्दा यी कतैबाट सञ्चालित, परिचालित, पेड (तिरेर ल्याइएका) खालका तत्वजस्ता देखिन्छन्। यिनीहरूको फोटो बोकाइले पनि सडकमा आउनेहरूको हैसियत स्पष्ट पार्छ। उनीहरूले जुलुसमा जसको फोटो बोके के यो उहाँको निर्वाचन क्षेत्र हो, के उहाँ विश्वस्तरीय विचारक हो वा कुनै सिद्धान्तका प्रतिपादक हुनुहुन्छ कि ? के कारणले उहाँको फोटो बोकियो होला ? यस्ता गतिविधिले लुकेर भए पनि म्याउँ गरेको आवाज आएको सन्देश चाहिँ दिन्छ। वस्तु नदेखिएको होला, म्याउँ गरेको आवाज चाहिँ आयो। यी प्रतिगामी तŒव हुन्। यी असभ्य जमात हुन् जसले नेपालको मूल्य, मान्यता, संस्कृति केही मान्दैनन्। नेपालको सरकार मान्दैनन् उनीहरू। नेपालको संविधान मान्दैनन्। लोकतान्त्रिक प्रणाली मान्दैनन्। राजनीतिक, सामाजिक नागाहरू हुन् यिनीहरू। अराजकता र मर्यादाहीनताको नेतृत्व गर्ने जमात हुन् यी।
त्यसो भए के गर्ने त ? संविधान विरोधी र राज्य प्रणालीमाथि धावा बोल्नेहरूलाई यसै छाडिदिने त ?
हैन, त्यसको पनि समय आउँछ। मेरो हतार गर्ने बानी छैन। उनीहरूको गन्तव्य उनीहरूलाई नै थाहा छैन। हिँडेका छन्, उफ्रिएका छन्।
उनीहरू त ‘राजा चाहियो’ भन्छन् नि ?
राजा चाहियो भन्छन्, त्यो भनेको के हो ? कोही भन्छन् म त पूर्वराजा भन्दिनँ, राजै भन्छु। रहँदै रहेछन् त। अर्का जनाले भन्छन् पूर्वराजा नभन, श्री ५ महाराजाधिराज फलाना वीरविक्रम शाहदेव भन। रहँदै रहेछन् त राजा। राज्यमा हस्तक्षेप नगर्ने, केही नगर्ने राजा चाहिने भए छँदै छन् त। कि एउटा अधिनायकवादी तानशाह चाहियो ? हामीजस्तो खुलस्त हुनुपर्यो। हामी अधिनायकवाद, तानाशाह मान्दैनौं, लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौं। खुलस्त, अठोट हो यो। लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो। केही सुझाव छ भने, हामी स्वागत गर्छौं। उनीहरूले तानाशाह राजा बनाउन खोजेको कि सेरमोनियल ? चुनावकै बाटोबाट राजा आए भइगयो नि !
जनमत राजनीतिक दलहरूसँग छ, जनताभन्दा माथि हु आर यू ? तीन करोड जनताको इच्छा दुई–चार हजार मान्छेमा प्रकट हुन्छ ? जनइच्छा प्रकट हुने माध्यम त मतदान नै होला। आए भो नि त। हामी प्रतिगमनतिर देशलाई जान दिँदैनौं। व्यक्तिलाई वा परिवारलाई अधिनायकवाद हुन दिँदैनौं। जनताको सार्वभौमसत्ता व्यक्ति वा परिवारमा लगेर सुम्पिने कुरा किमार्थ स्वीकार्य हुँदैन। शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ। यो विश्वव्यापी मान्यता हो। यी एडभान्स्ड भनिएकाहरू के नाच नाच्दैछन्, कठपुतलीको हिसाबले थाहा नभएको हो कि अरू केही हो ? प्रश्न गम्भीर छ।
तर, पूर्वराजाको काठमाडौंमा भव्य स्वागत नै भयो। यो के हो ?
पूर्वराजालाई स्वागत गर्न गएको थियो कि मलाई गाली गर्न गएको थियो त्यो जुलुस ! उद्देश्य के थियो, मलाई गाली गर्ने कि पूर्वराजाको स्वागत गर्ने ? स्वतःस्र्फुत कुदेका छन् त जुलुसमा यी मान्छेहरू ? के सन्दर्भमा गरेको पूर्वराजाको स्वागत ? बडा अनौठो घटना, पूर्वराजा ज्ञानेन्द्र शाहजी कहिले भारततिर घुम्न गइरहनुहुन्छ। कहिले देशभित्रै मन्दिरतिर गइरहनुहुन्छ। कुन–कुन मन्दिर घुमेर आउनुभयो, पोखरा बागलुङ कता–कता गएर। केही मन्दिरहरू घुमेर आउनुभयो। कुनचाहिँ महान् काम देशलाई गर्नुभयो, के चाहिँ महान् कोसेली बोकेर आउनुभयो र यत्रो स्वागत गर्न पर्यो ? उहाँ त्यहाँ चुनाव जितेर आउनुभयो कि विश्वकप जितेर आउनु भयो ? कि गोल्डेन बुट पो लगाएर आउनु भयो कि ! के गर्नु भो ? मेडल थापेर आउनु भो विश्वकपबाट ? केका लागि यो विशेष स्वागत यसपल्ट ? यस्तो आतेजाते त उहाँ गरिरहनुहुन्छ। यसपल्ट किन यो तमासा देखाउनु पर्यो ?
चुप लागेर बसेको छ भनेर कमजोरी नठानियोस्। म फेरि दोहोर्याउन चाहान्छु, कमजोरी नठानियोस्। हामी संघर्षको मैदानमा हुर्किएका हौं। भेलहरूमै पौडिएर अनेक जंघारहरू तर्दै आएका हौं, हामीलाई केही छैन। प्रणाली र संविधानको रक्षा गर्नु, कानुनी राजको पृष्ठपोषण गर्नु, देशमा सुशासन र शान्ति सुरक्षा कायम गर्नु प्रधानमन्त्रीको हिसाबले मेरो कर्तव्य हो।
प्रधानमन्त्रीलाई तथानाम गाली गर्नेमाथि कानुन लाग्दैन ?
भैंसी आफैं हेलिँदै गहिरो पानीतिर गयो भने धपाएर वा धकेलेर त्यहाँ हुलिदियो र भैंसी बग्यो भन्ने अपजस किन लिनु ?
फेरि फरक प्रसंग, वर्तमान सत्ता गठबन्धनमा संकट आयो, कांग्रेस—एमाले गठबन्धनको नट–बल्टु खुकुलिन थाल्यो भन्ने प्रश्न र परिचर्चा गर्ने छन्। वास्तविकता के हो ?
त्यस्तो प्रश्न सोधे कसैले भने नयाँ प्रश्न सोध्नु, यो साहै्र पुरानो भयो भन्दिनुस् न। कति जवाफ दिनु ? जति जवाफ दियो त्यति सोध्न आउँछन्। कांग्रेस—एमाले गठबन्धन बन्नै नदिन कस्तो कोसिस थियो ? बनेपछि अहिल्यै जान्छ, भरै जान्छ भन्ने रटान लगाउँछन्। यो त भजन जस्तो भयो, हैन र ? जागेदेखि ननिँदाएसम्म सरकार ढल्छ भनेर केहीले मन्त्र जपिरहेका छन्। एकतारे बजाएका छन्। तर त्यो सम्भव छैन।
यसको मतलब एमाले—कांग्रेसको गठबन्धन बलियै छ ?
ढुक्क होस्– नेपाली कांग्रेस र हामी एक ढिक्का छौं। अबको १६ महिना म प्रधानमन्त्री हुन्छु, त्यसपछि चुनावसम्म शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ। एमाले र कांग्रेसको सहमतिको सरकार निरन्तर जान्छ।
अन्त्यमा, अलिकति मिसन ८४ को पनि कुरा गरौं, प्रधानमन्त्रीज्यू। कहाँ पुग्यो त्यो मिसन ?
मिसन ८४ हामीले यत्तिकै भनेका होइनौं। नेपालमा राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउन जरुरी छ। हामी त्यस काममा लागेकै छौं। मिसन ८४, यो नारा हामीले अहिलेको सरकार बनेपछि दिएको होइन, त्यसभन्दा अगाडि नै दिएका हौं। अस्वस्थ ढंगले हामी मिसन ८४ का लागि दौडिँदैनौं। परिस्थितिअनुसार दौडन्छौं। हाम्रो नीति स्पष्ट छ। अब विभिन्न प्रकारका गठबन्धन गरेर, विभिन्न प्रकारका तŒवहरूलाई काँधमा बोकेर ७० मै सकिनेलाई, ७४ मा सकिनेलाई अहिले म्याजिक नम्बर भयो मेरो र म यहाँ पुगें, म अनन्तकालसम्म सरकारमा रहने भएँ भन्ने ठाउँमा हामी पुर्याउँदैनौं। अब त्यस प्रकारका गल्ती नगर्ने भनेका छौं।
माधव नेपाल, वामदेव गौतम, भीम रावलहरूसहितको एमाले मिसन ८४ मा भाग लिन्छ कि अहिलेकै एमाले मात्र सहभागी हुन्छ ?
के–के प्रश्न सोध्नुहुन्छ ? सोधेकोे के हो ? किन सोधेको ? म नेकपा (एमाले) को मिसन ८४ को कुरा गर्दैछु, तपाईंहरू के सोध्दै हुनुहुन्छ। यो प्रश्नै मिलेन।
0 Comments