कोशीको बीचमा ‘श्रीलंका टापु’ : चुनाव नपुगेको गाउँ




श्रीलंका टापु (सुनसरी) : सप्तकोशी नदी र त्यसको पश्चिमको भंगालोमा बीचमा रहेको टापु हो ‘श्रीलंका टापु’। सप्तकोशी नदीको बीचमा पर्ने ‘ श्रीलंका टापु’ सुनसरीको निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत बराहक्षेत्र नगरपालिका–६ र ९ मा पर्छ। केही भूभागमा भने उदयपुरको बेलका नगरपालिका–२ र ३ पनि छ।

‘श्रीलंका टापु’ विकासको दृष्टिले अझै पनि राज्यको पहुँचबाहिर रहेको छ। यो टापुमा पुग्नै सकस छ। देशकै सुगम जिल्ला हो– सुनसरी। तर, सुनसरीको बराह क्षेत्रका ६ र ९ नम्बर वडा जान कि त डुंगाको जोखिमपूर्ण यात्रा गर्नुपर्छ या त उदयपुर जिल्लाको रामपुरसम्म गाडीमा गएर झन्डै २ घण्टा पैदल यात्रा गरेर जानुपर्छ। सप्तकोशी पूर्वी तटबन्ध प्रकाशपुरबाट कोशीको मुख्य भँगालो तरी ३ किलोमिटर जति बालुवै बालुवाको बगर पार गरेपछि मात्रै यो टापु आउँछन्।

सप्तकोशी नदीको बीचमा यो बस्ती प्रशासनिक रूपमा सुनसरीमा परे पनि सुविधा, सेवा र पूर्वाधारका हिसाबले दशकौं पछाडि परेको यहाँका बासिन्दाको गुनासो छ।
मतदान केन्द्र टाढा, नागरिक अधिकारमै अवरोध
यो टापुमा १० हजारभन्दा बढी जनसंख्या छ। ५ हजारको हाराहारीमा घरधुरी छन्। तर, सुनसरीतिर मात्रै ६ हजार बढीको जनसंख्या छ। २ हजारभन्दा बढी मतदाता छन्। धेरै नाम पनि मतदाता नामावलीमा छैन पनि। तर, गाउँमै मतदान केन्द्रको व्यवस्था नभएका कारण यहाँका मतदाताले प्रत्येक निर्वाचनमा भोट दिन जाँदा निकै कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। मतदानका लागि जानलाई पहिले सप्तकोशी नदी डुंगाबाट तर्नुपर्छ, त्यसपछि चक्रघट्टी र प्रकाशपुर पुग्न झन्डै ४ घन्टा हिँड्नुपर्छ। वर्षायाम वा पानी बढेको समयमा यो यात्रा झन् जोखिमपूर्ण रहेको स्थानीय सन्तोष चन्द्रवंशीले बताउँछन्। उनी मतदान गर्न जान ४ घन्टा भन्दा बढी समय लाग्ने बताउँछन्।
बुढाबूढी र महिलाले त मतदान गर्न जानै नसक्ने र भोट हाल्न पनि संघर्ष गर्नु परेको छ,’ सन्तोषले भने, ‘हामी नागरिक हौं कि होइनौं जस्तो लाग्छ।’ मतदान केन्द्र टाढा भएकै कारण टापुका पुरुष मतदाता केही संख्यामा मतदान गर्न पुगे पनि धेरैजसो महिला, ज्येष्ठ नागरिक र अशक्त भएका मतदाता मतदानबाट वञ्चित हुने गरेका छन्। स्थानीयका अनुसार चुनावका बेला मतदान प्रतिशत कम देखिनुको मुख्य कारण नै मतदान केन्द्र नहुनु हो।
टापुका मतदाताले चुनावका बेलामात्रै नेता आउने र जितेपछि कहिल्यै नफर्किने गरेको गुनासो उनीहरूको छ। स्थानीय विष्णु चन्द्रवंशी भन्छन्, ‘भोट माग्न सबै आउँछन्, जितेपछि कोही आउँदैन। बाटो छैन, पुल छैन, अस्पताल छैन, तर भाषण धेरै हुन्छ। हामीलाई सम्झिने चुनावको बेलामात्रै हो।’
आधामात्रै जान्छन् भोट हाल्न
मतदान गर्ने स्थल धेरै टाढा भएकाले आधा पनि भोट हाल्न जाँदैनन्। ६० वर्ष हाराहारीकी बसन्तादेवी चन्द्रवंशी आफू त भोट दिन जाननसक्ने बताउँछन्। ‘म हिँड्न सक्दिनँ, कसरी भोट दिन जाने ? ’ उनले भन्छिन्। स्थानीय विष्णु चन्द्रवंशी पनि प्रत्येक घरबाट १÷२ जनामात्रै भोट दिने जाने गरेको बताउँछन्। ‘मतदान केन्द्र यति टाढा छ, बिहानै गए पनि भोट हालेर आउँदा राति हुन्छ। मोटरसाइकलमा जाऔं भने पनि चलाउन पाइँदैन, सबैको मोटरसाइकल पनि हुँदैन,’ उनी भन्छन्, घरमा ताला लगाएर, बालबच्चा, वस्तुभाउ छोडेर सबै जना त भोट हाल्नै जान सकिँदैन,’ उनी भन्छन्, ‘योपटक भोट नै दिन नजानेकी भन्ने बारेमा पनि हाम्रो सल्लाह भइरहेको छ।’ एक दिन अगाडि नै गएर मात्रै भोट हाल्न सक्ने अवस्था श्रीलंका टापुवासीको रहेको उनले बताए। 
बाह्रक्षेत्र नगरपालिका–९ श्रीलंका टापुका ६० वर्षका धनपति चन्द्रवंशी भोट दिन जान साह्रै नै समस्या रहेको दुखेसो पोख्छन्। दिनभर लाग्छ, गाडीको व्यवस्था छैन, डुंगाबाट जानुपर्छ, अनि बालुवामा हिँड्नुपर्छ, उनले भने, भोट दिनजान एक दिन पूरै लाग्छ। उनले गाउँमा दुई÷दुईवटा विद्यालय भए पनि मतदान स्थल भने धेरै टाढा राखिदिएको बताए। गाउँमा विद्यालयमा मतदान स्थल राख्न पटक–पटक माग गरे पनि सुनुवाइ नभएको उनको आक्रोश छ।
उनी भन्छन्, मेरा घरमा १० वटा भोट छ। तर, हामी आधा पनि जान सक्दैनौं। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा श्रीलंका टापुका मतदाताले यसपटक भने आफ्नो समस्या समाधान गर्ने उम्मेदवारलाई मात्र मत दिने बताएका छन्। टापुमै मतदान केन्द्र, सप्तकोशीमा पुल, सडक निर्माण, स्वास्थ्य सेवा विस्तार, बाढी नियन्त्रण र जंगली जनावरबाट सुरक्षा व्यवस्था गर्न सके मात्रै आफूहरूले विश्वास गर्ने उनीहरूको भनाइ छ।
स्थानीय महिलाहरूको एउटै स्वर छन्, लोग्नेहरू जान्छ, हामी त भोट दिनजान सक्दैनौं। केटाकेटी, बाख्रा, गाईवस्तु छोडेर कसरी जानु ? जसको घरमा दुई जना छ, एक जान मात्र जान्छन्।
उनीहरूले स्थानीय विद्यालयमा मतदान स्थल भएको भएमात्रै भोट दिन सक्ने अवस्थामा रहेको बताए। उनीहरू भन्छन्, यहाँको स्कुलमा आउँछ त दिन्छौं नत्र जान सक्दैनौं। भोट खसाउन टाढो भयो। चुनाव नजिकिँदा नेताहरू गाउँ पुग्न थालेको पनि उनीहरू बताउँछन्। जिल्ला निर्वाचन कार्यालय सुनसरीका जिल्ला निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले श्रीलंका टापुमा मतदान स्थल राख्ने विषयमा पटक–पटक माग आएको जानकारी दिएका छन्। उनले यो विषयमा जिल्ला सुरक्षा समितिको बैठकमा समेत छलफल भएको थियो र जिल्ला निर्वाचन कार्यालय सुनसरीले मतदान स्थल स्थापना गर्न आवश्यक गृहकार्य पनि गरेको बताए।
सुरक्षा व्यवस्थापन, जनशक्ति परिचालन तथा भौगोलिक अवस्थाका कारण आवश्यक तयारी पूरा हुन नसक्दा यसपटक श्रीलंका टापुमा मतदान केन्द्र राख्न सम्भव नभएको निर्वाचन अधिकृत पौडेलले बताए। उनले आगामी निर्वाचनलाई लक्षित गर्दै आवश्यक सुरक्षा प्रबन्ध, जनशक्ति व्यवस्थापन र पूर्वाधार तयारी पूरा गरी श्रीलंका टापुमा नै मतदान स्थल स्थापना गर्ने योजना रहेको प्रतिबद्धत जनाएका छन्। उनले श्रीलंका टापुका मतदातालाई मतदान गर्ने संवैधानिक अधिकारबाट बञ्चित हुन नदिने गरी आयोग प्रतिबद्ध रहेको समेत उनले प्रतिबद्धता जनाएका छन्।
कोशीको उच्च जोखिम
सप्तकोशी नदीको बीचमा रहेको यो बस्ती वर्षायाममा सधैं बाढीको उच्च जोखिममा हुन्छ। बर्सेनि आउने बाढीले घर, खेत र अन्नबाली बगाउने गरे पनि राज्यबाट पर्याप्त राहत, पुनर्वास वा दीर्घकालीन संरक्षणको व्यवस्थान पाएको स्थानीयको गुनासो छ।
टापुमा कोशी पस्दा तीन दिन भोकै बसेको गुनासो पनि स्थानीयहरू गर्छन्। टापुकी रीता चन्द्रवंशी भन्छिन्, ‘बाढी आउँदा सबै बगाउँछ, पछि कसैले सोध्न पनि आउँदैन। हामी आफैंले जोगिनुपर्छ, राज्यले हेरेको जस्तो लाग्दैन।’
वन्यजन्तुको आतंक
टापु क्षेत्रमा जंगली जनावरको समस्या पनि उत्तिकै ठूलो छ। हात्ती र बँदेल गाउँ पसेर किसानले लगाएको अन्नबाली नष्ट गर्ने गरेका छन्। यसले गर्दा किसानको आयआर्जनमा समेत समस्या हुने गरेको छ। टापुका अर्का स्थानीयका धनपति चन्द्रवंशी भन्छन्, ‘राति हात्ती आउँछ, बँदेल आउँछ, बाली जोगाउन सकिँदैन। खेती गरेर खानै गाह्रो छ, क्षतिपूर्ति पनि पाइँदैन।’ जंगली जनावरको कारणलाई ज्यानसमेत जोखिम हुने गरेको स्थानीयको गुनासो छ।
विस्थापित
२०२२ सालमा सप्तकोशीमा कोशीब्यारेज निर्माण भएयता श्रीलंका टापु र आसपासका हजारौं बासिन्दा बाढीका कारण बारम्बार विस्थापित हुँदै आएका छन्। कोशीमा आउने बाढीले घर, खेत तथा खेतीयोग्य जमिन बगाउँदा धेरै परिवार बसाइँ सर्न बाध्य भएको स्थानीयको गुनासो छ। स्थानीय धनपति चन्द्रवंशी कोशी घरजग्गा कटान तीनपटक सरिरहेको गुनासो गर्छन्।
तीनपटक उठान भएर यहाँ आइपुग्यौं, यहाँबाट उठान कहिले हुने हो ठेगान छैन ? कोशी मेरो खेतकै छेउमा छ,’ उनले भने, ‘५ बिघा नम्बरी जग्गा नदीमा बगिरहेछ।’ उनले आफूहरूलाई कोशीले सुकुम्बासी बनाएको बताउँछन्। अहिले बसेको स्थानबाट २ सय मिटर मात्रै कोशी रहेको उनले बताए।
‘दुई मिटरनजिक नदी आइसकेको छ। कहिले यही घर भएको ठाउँमा आउने हो र फेरि कहाँ सर्नुपर्ने हो, भोट लिने बेला आउँछ। यही तटबन्ध गरिदिन्छु भन्छ, गर्दैन, उनी दुखेसो गर्छन्। ६० वर्ष नाघिसकेका धनपति चन्द्रवंशी १० वर्षको उमेरदेखि श्रीलंका टापुमा आएर बस्दै आएका छन्। बुवाले १० वर्षको हुँदा मलाई यहाँ ल्याउनुभएको हो, यहाँ बस्दा बस्दै नातिनातिनी नै भइसके, उनले भने।
- श्रीलंका टापुका मतदाताले मतदान गर्न डुंगा र बालुवामाथि पैदल यात्रा गरेर ४ घन्टा खर्च गर्नुपर्छ। महिला, ज्येष्ठ नागरिक र अशक्त धेरै मतदाता कष्टकर यात्राका कारण भोट हाल्न सक्दैनन्।
- स्थानीयका अनुसार नेता केवल चुनावका बेला गाउँ आउँछन् र जितेपछि कहिल्यै फर्कँदैनन्। दीर्घकालीन समस्या समाधानका लागि कहिल्यै ध्यान दिइएको छैन।
- मतदाताहरू यसपटक टापुमा मतदान केन्द्र, पुल, सडक निर्माण र स्वास्थ्य सेवाको प्रतिबद्धता दिने उम्मेदवारलाई मात्र भोट दिने तयारीमा छन्।
- सप्तकोशी नदी बाढीको उच्च जोखिममा छ र वर्षायाममा मतदान यात्रा अझ जोखिमपूर्ण हुन्छ। केही दिनअघि मात्र मतदाता मतदानका लागि गाउँ बाहिर जान सक्छन्।
- मतदान केन्द्र अभाव, स्वास्थ्य सेवा र आधारभूत पूर्वाधारको कमीले टापुवासी निरन्तर असन्तुष्ट छन्। उनीहरूले चुनावी वाचा मात्रै होइन, दीर्घकालीन समाधान चाहन्छन्।
नेपाल–भारत सरकारबीच द्विपक्षीय सम्झौता गरी कोशीब्यारेज निर्माण गरिएको थियो। सो सम्झौतामा कोशीको बाढीका कारण विस्थापित भएका नागरिकलाई भारत सरकारले क्षतिपूर्ति दिने उल्लेख भए पनि प्रभावित परिवारले हालसम्म कुनै प्रकारको क्षतिपूर्ति नपाएको बताएका छन्।
श्रीलंका टापुका स्थानीयका अनुसार बाढीले पटक–पटक जमिन कटान गरेपछि धेरै परिवार भूमिहीन बनेका छन् भने कतिपयको बसोबास गर्ने ठाउँसमेत परिवर्तन गर्नुपरेको छ। तर, राज्यको तर्फबाट दीर्घकालीन संरक्षण, पुनर्वास वा राहतको उचित व्यवस्थान भएको स्थानीयको आरोप छ।
स्थानीय पवन चन्द्रवंशीका अनुसार सप्तकोशीको पूर्वतर्फ तटबन्ध निर्माण गरिए पनि पश्चिमतर्फ तटबन्ध नबनाइँदा श्रीलंका टापु सबैभन्दा बढी बाढीको जोखिममा परेको छ।
उनले भने, ‘पूर्वतिर तटबन्ध बनाइयो, तर पश्चिमतिर बनाइएन। त्यसैले कोशीले हाम्रो जमिन र घर बगायो। धेरै खेत नदीमा मिलिसक्यो, हामीलाई कसैले क्षतिपूर्ति दिएको छैन।’ स्थानीयका अनुसार तटबन्ध असन्तुलित रूपमा निर्माण हुँदा नदीको बहाव पश्चिमतर्फ बढी केन्द्रित भएको र त्यसको सीधा असर श्रीलंका टापुका बासिन्दाले भोग्नुपरेको छ। बर्सेनि आउने बाढीले खेतीयोग्य जमिन कटान गर्ने, बाली नष्ट गर्ने र घर जोखिममा पार्ने समस्या अझै कायम रहेको छ। स्थानीय रोशी चन्द्रवंशी तटबन्ध नहुँदा अब कुन दिन उठिवास हुने त्यो ठेगान नरहेको बताउँछन्।
सप्तकोशीबाट विस्थापित परिवारहरूले कोशी सम्झौताअनुसार क्षतिपूर्ति दिन, सुरक्षित तटबन्ध निर्माण गर्न, बाढी नियन्त्रण तथा स्थायी बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। उनले भूमि नै गुम्ने अवस्था आएको बताए।
चुनावमा मात्रै सम्झिने नेता
स्थानीयहरू राजनीतिक दल र जनप्रतिनिधिप्रति आक्रोशित छन्। चुनावका बेलामात्र नेता आउने र जितेपछि नफर्किने उनीहरूको आरोप छ।। स्थानीय धनपति भन्छन्, भोट लिन्छ, जान्छन्, फेरि फर्केर आउँदैन, उनी भन्छन्।
केही दिनदेखि यहाँका स्थानीयलाई प्रभावित पार्न केही दलका नेता त्यहाँ डेरा जमाएर नै बसेका छन्। उनीहरूप्रति इंगित गर्दै धनपतिले भने, हेर्नु न अहिले चुनाव आयो यही आएर बसेका छन्, अरू बेला मुख पनि देखाउँदैन। भेट्न गयो भने भेट पनि दिँदैनन्। कोशी नदीले १ हजार बिघाभन्दा बढी जग्गाकटान गरिसकेको श्रीलंका टापुवासीहरू बताउँछन्।
स्वास्थ्य सेवा अभावः ‘सुत्केरी अकालमै ज्यान जान्छ’
श्रीलंका टापुका महिलाले अझ सकसपूर्ण जीवन बिताइरहेका छन्। बर्खाको समयमा सुत्केरीको बेला अस्पताल पुर्याउन नसक्दा महिलाको ज्यान नै जोखिम पर्ने गरेको छ। स्थानीय फूलकुमारी चन्द्रवंशी भन्छिन्, ‘बर्खामा सबैतिर पानी हुन्छ, कोही बिमारी भयो, सुत्केरीलाई गाह्रो पर्यो भने उपचार गर्न जानै सकिँदैन, वारपार नै गर्न सकिँदैन मान्छे मरेर जान्छ।’ दुवैतिर कोशी नदी भएकाले बर्खामा एम्बुलेन्समा पनि आउन नसक्ने बेवस्ता उनले सुनाइन्। अस्पताल जान नसक्ने भएकाले अधिकांश घरमा नै सुत्केरी हुने गरेका छन्। जसले गर्दा सुत्केरी हुँदा ठूलो जोखिम हुने अवस्था छ।
स्थानीय रीता चन्द्रवंशी पनि सुत्केरी हुने महिला र बिरामीका लागि साह्रै गाह्रो रहेको गुनासो गर्छिन्। भन्छिन्, बर्खामा उता पनि पानी हुन्छ, यता पनि हुन्छ, बाटो नै, उपचारका लागि जान पनि सकिँदैन। कोशीमा बाँध बाधिदिएको भए राम्रो हुन्थ्यो। अनि के–के पनि हुनसक्छ। एम्बुलेन्स ल्यादिन्छु भन्छन् तर नानी जन्मिने बेला हामी महिलालाई धेरै गाह्रो छ, यहाँ अस्पताल छैन, विराटनगर, इनरुवा लानुपर्छ कि उदयपुर जानुपर्छ, उनी भन्छिन्। महिला, बालबालिकाहरू सबैभन्दा समस्यामा रहेको पनि उनीहरूको गुनासो छ।
ऐलानीमा बसोबास, नम्बरी जग्गा नदीमा
त्यहाँको जग्गा सबै ऐलानी हो। स्थानीयवासीको नम्बरी जग्गाचाहिँ कोशीमा छन्। कोशीले धार परिवर्तन गरेको हुँदा जग्गाधनीहरू सुकुम्बासी भएका छन्। स्थानीय धनपति चन्द्रवंशी आफूले कोशी नदी बगिरहेको जग्गाको मालपोत तिरिरहेको र ऐलानी जग्गामा बसिरहेको बेवस्ता सुनाए। हाम्रो जग्गाको मालपोत हामीले तिरिरहेका छौं तर त्यो जग्गामा कोशी बगिरहेको छ। हामी भने सर्दैसर्दै कोशीको बगरमा ऐलानीमा बसिरहेका छौं, उनले भने।
सप्तरी, सिरहा, उदयपुर, सुनसरी, मोरङसँगै पूर्वीपहाडका खोटाङ, ओखलढुंगालगायत स्थानबाट आएका मनिसको आश्रयस्थल बनेको छ, श्रीलंकाटापु, कोशी तटबन्ध निर्माणका बेला भारतबाट आएका बंगाली नागरिकको संख्या पनि टापुमा उल्लेख्य छ। जो यही घरजम गरेर नेपाली नागरिक भइसकेका छन्। श्रीलंका टापुमा सबैभन्दा चन्द्रवंशी छन्। त्यस्तै उराव, थारु, यादव, कविरत, मुसहर, कोइरी, खत्वे, सार्की, राई, लिम्बू, बाहुन, क्षेत्रीलगायतको पनि यो टापुमा बसोबास छ। गाउँपालिका, नगरपालिका नहुँदा त्यहाँ स्थानीय बासिन्दा छुट्टै गाविसको समेत माग गरेका थिए। पछि छुट्टै वडा हुनुपर्ने माग गरे। न विगतमा गाविस बन्यो न पछि छुट्टै वडा नै।
अहिले मतदान केन्द्रसमेत पाएको छैन यो टापुले। दुर्लभ गिद्ध, डल्फिन, लोपोन्मुख अर्ना (जंगली भैंसी) का लागि पनि यो राम्रो आश्रय स्थल हो। त्यसैगरी २० किसिमका विभिन्न वन्यजन्तु यस क्षेत्रमा पाइन्छन्, हरिण, नीलगाई, बँदेल, अजिंगर आदि। विश्वमा अन्यत्र नपाइने स्वाम प्यास्ट्रिज नामक चरा कोशी टप्पुमा देख्न पाइन्छ।
विश्वमै दुर्लभ चराचुरुंगीसमेत कोशी टप्पुमा पाइन्छन्। यहाँ करिब ५ सय प्रजातिका चराचुरुंगी पाइन्छ। यस्तो मुलुकै हीरा जस्तो भूभाग राज्यको बेवास्ताले ओझेलमा छ । यो निर्वाचन क्षेत्रबाट पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित नेता चुनावी मैदानमा छन्। नेपाली कांग्रेसबाट कार्की, एमालेबाट जगदीश कुसियतर राष्ट्रिय स्वतन्त्र पार्टीका दीपककुमार साह उम्मेदवार बनेका छन्। २०७९ सालको निर्वाचनमा कार्कीले झिनो मतान्तरले एमालेका कुसियतलाई पराजित गरेका थिए। सुनसरी–४ मा यसपटक नेपाली कम्युनिस्ट पार्टीका महफुज अन्सारी र जनता समाजवादी पार्टीबाट सबिता यादव पनि उम्मेदवार बनेका छन्।
चुलोमा पानी, भोकै बस्नुपर्ने बाध्यता
बर्खामा चुलासम्मै पानी आउने गरेका कारण कति दिन त भोकै बस्नुपर्ने बाध्यता श्रीलंका टापुवासीको छ। चुलोमा पानी हुन्छ, खानापकाउन गाह्रो हुन्छ, चुलो नै बल्दैन, भुजा खाएर बस्नुपर्छ, स्थानीय फूलकुमारी चन्द्रवंशी भन्छिन्। गाउँमा एउटा स्वास्थ्यचौकी र दुईवटा विद्यालय मात्र रहेको छ। स्वास्थ्यचौकीमा सामान्य उपचारबाहेक अन्य सेवा उपलब्ध छैन। एम्बुलेन्स नहुँदा बिरामीलाई डुंगा तरेर अन्यत्र लैजानुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ।
एक स्थानीय महिलाले दुखेसो पोख्दै भनिन्, ‘गर्भवती हुँदा अस्पताल पुग्न धेरै गाह्रो हुन्छ। राति बिरामी भयो भने झन् डर लाग्छ। एम्बुलेन्स छैन, बाटो छैन, जोखिम मात्रै छ।’
टापुमा मोटरबाटोसमेत राम्रोसँग बनेको छैन। कोशीको बालुवामाथि गाडी चलाउनुपर्ने अवस्था रहेको स्थानीय बताउँछन्। त्यहाँ सार्वजनिक यातायातको व्यवस्था पनि छैन। पैदल यात्रा नै त्यहाँको दैनिकी हो। बाटो नहुँदा किसानले उत्पादन गरेको धान, गहुँ र तरकारी बजारसम्म पुर्याउन कठिन हुने गरेको छ। किसानका उत्पादन बेच्न नसक्दा धेरै किसान घाटामा पर्ने गरेका छन्। गोलभेंडा, गहुँ र मकै खेती प्रशस्त हुन्छ।
सप्तकोशीमा पुल नबन्दा यहाँका बासिन्दाले सामान्य प्रशासनिक कामका लागि पनि उदयपुरको रामपुर हुँदै चतराको पुल तरेर प्रकाशपुर र चक्रघट्टीसम्म पुग्नुपर्छ। सुनसरीकै बासिन्दा भए पनि काम गर्न अर्को जिल्ला घुम्नुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ। स्थानीय अरुण चन्द्रवंशी भन्छन्, ‘हामी सुनसरीका हौं, तर काम गर्न उदयपुर हुँदै जानुपर्छ। पुलभए धेरै सजिलो हुन्थ्यो, तर हाम्रो कुरा कसैले सुन्दैन।’




0 Comments