बिरासत जोगाउने दबाबमा ओली, युवा तान्दै बालेन




गौरीगन्ज (झापा) : चुनावको मुख्य इपिसेन्टर हो, झापा–५। जहाँको परिणामले राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलै कम्पन ल्याउनेछ। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यो क्षेत्रमा आमुनेसामुने छन्। एमाले र रास्वपाको प्रतिष्ठाको लडाइँमात्र नभई जहाँबाट एक जना भावी प्रधानमन्त्रीका उम्मेदवारको पनि टुंगो लाग्नेछ। त्यसैकारण मुलुककै सर्वाधिक चासोको क्षेत्र बनेको छ, झापा–५।

मतदानको दिन नजिकिँदै जाँदा उम्मेदवार चुनावी प्रचारको अन्तिम दौडमा छन्। देशैभरको चासो छ, झापा–५ मा के हुन्छ ? निर्वाचन क्षेत्रमा समेत यो प्रश्न छ– अब यहाँ के हुन्छ ? चुनाव यति प्रतिस्पर्धात्मक छ, भन्न सक्ने अवस्था छैन। चार पटक प्रधानमन्त्री भइसकेका र २०४८ सालदेखि नै यो निर्वाचन क्षेत्रमा पकड जमाइरहेका ओलीको बिरासत कायम रहला वा नयाँ अनुहारका रूपमा मैदानमा उत्रेका बालेनको उदय होला ? अन्नपूर्ण पोस्ट् टोलीले झापा–५ का चारवटै पालिका पुगेर स्थलगत चुनावी रिपोर्टिङ गर्दा हरेक नागरिकलाई निर्वाचनले छपक्कै छोएको पायो।

प्रचारमा व्यस्त पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली घरदैलोमा व्यस्त रहेको अवस्थामा भेटिए। निर्वाचन क्षेत्रमा डेरा नै जमाएर बसेका ओली एक–एक मतदातालाई भेटिरहेका छन्। विगतका निर्वाचनमा दुईचारवटा सभा र भेटघाट गरेर देशव्यापी चुनावी प्रचारमा निस्किने ओली यसपटक आफ्नो निर्वाचन क्षेत्रका गाउँगाउँ, बस्तीबस्ती र टोलटोल पुगेर भोट मागिरहेका छन्। माघ ६ गते मनोनयन दर्ता गरेयता ओली पाँचपटक झापा आएका छन्। उनले आफ्नो निर्वाचन क्षेत्र छाडेका छैनन्। बिहानदेखि बेलुकीसम्मै कार्यतालिका बनाएर ओली आफैं भोट माग्दै हिँडेको सम्भवत: यो पहिलोपटक भएको स्थानीय बताउँछन्। ओली यसपटक सहित ८ औं पटक यो निर्वाचन क्षेत्रबाट चुनाव लडिरहेका छन्। उनी आफ्नो बिरासत जोगाउने कसरतमा छन्।
ओलीको फेरिएको प्रचार शैली
विगतमा २/४ वटा सभा, भेटघाट गरेर जाने ओली यसपटक आफू बोल्नेभन्दा पनि जनताका गुनासा, समस्या सुनिरहेका छन्। हरेक भेटघाटमा जनताले प्रश्न गर्छन्। ओली सुन्छन्, दिनैपर्ने उत्तर छ भने दिन्छन् नत्र टाउको हल्लाएर भोट माग्दै हिँड्छन्। मतदातासँग फोटो र सेल्फी खिचाउँछन्।कमल गाउँपालिका अन्तर्गतको सानो केरखामा भोट माग्न पुगेका ओलीलाई स्थानीयले त्यहाँ केरखा पुल, तटबन्ध सुकुम्बासीलगायत समस्याको विषयमा प्रश्न राखे तर ओलीले सुनेमात्रै। धेरै बोल्ने र भाषण गर्ने शैली पनि चुनाव प्रचारका क्रममा बदलिएको देखिएको छ। यसरी ओली भोट माग्न जाँदा जनताका प्रश्नको पनि सामना गरिरहेका छन्। जनताले पनि यही मौका भन्दै ओलीसँग फोटो खिचाउन व्यस्त देखिएका छन्।
बालेन आउँदै जाँदै
रास्वपाका उम्मेदवार बालेनमा पनि दबाब नै देखिन्छन्। उनी पनि आउँदै जाँदै गरिरहेका छन्। बालेन भने घरदैलो गरी काठमाडौं फर्किरहेछन्। उनले प्रचारप्रसारका लागि कार्यकर्ता परिचालन गरेका छन्। उनीहरू केमा भोट हाल्ने भन्दै प्रश्न
गर्छन् ? र उत्तर पनि आफैं दिन्छन, यसपटक त नयाँलाई दिनुपर्छ, पुरानाको धेरै हेरियो भन्दै मतदाताहरूलाई कन्भिन्स गर्छन्। चिया पसल, अटो चालकदेखि होटेल व्यवसायीलगायतलाई बालेनले परिचालन गरेका छन्।
बालेनले चोकचोकमा त्यसरी खटाएका कार्यकर्ता भेटिन्छन्। बालेनको अनुपस्थितिमा यसरी नयाँ शैलीबाट प्रचार गरिरहेको देखिन्छ। बालेन चुनावी प्रचारमा निस्किँदा पार्टीका कार्यकर्ताले पनि थाहा पाउँदैनन्। उनी सचिवालयबाट आफैं गाडी चलाएर फुत्त जान्छन्, मतदाता भेट्छन् अनि आउँछन्। उनको चुनावी प्रचार आक्रमण देखिएको छ भने ओलीको रक्षात्मक देखिएको मतदाताहरू बताउँछन्।
कांग्रेसको प्रचार
सीमावर्ती क्षेत्रमा नेपाली कांग्रेसले घरदैलो गरेको हामीले भेटाएका थियौं। सीमावर्ती गौरीगन्ज–५ को फत्तेपुरमा कांग्रेस उम्मेदवार मन्धरा चिमरिया (पौडेल) प्रचारप्रसारमा व्यस्त भेटिएकी थिइन्। ओली र बालेनका कारण छायांमा परे पनि कांग्रेसको प्रचार अभियान तीव्र रूपमा भइरहेको छ। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङ पनि प्रचारप्रसारमा व्यस्त छन्। उनी ओली र बालेनलाई रोक्दै विजयको झन्डा फहराउने दाबी गर्छन्।
पूर्वाधारको छैन कमी
सहरी क्षेत्र गुलजार छ। विकास र पूर्वाधार प्रशस्त छन्। दमक नगरपालिका–५ का स्थानीय मीन ढुंगाना यो क्षेत्रमा विकास भरिपूर्ण रहेको बताउँछन्। ‘सुविधा सम्पन्न छ, हाम्रो क्षेत्र। ५०/१०० मिटरमा पुल छन्। बाटोघाटा पिचैपिच छन्,’ उनी भन्छन्। दमक नगरपालिका, गौराहद नगरपालिकाको विकास र गौरीगन्ज तथा कमल गाउँपालिकामा देखिएका समस्याहरूका विषयमा जनताका आफ्नै गुनासा छन्। जनताको गुनासो : भोट माग्न आउँछन् पछि फर्किंदैनन। यो निर्वाचन क्षेत्रको दक्षिण सीमावर्ती क्षेत्र गौरीगन्ज गाउँपालिका–५ फत्तेपुरकी राजकुमारी राजवंशीले नेताहरू भोट माग्न मात्रै आउने गरेको गुनासो गरेकी छन्। उनी आफ्नै लवजमा गुनासो गर्दै भन्छिन्, ‘भोट माग्न मात्र आउँछ, त्यसपछि फर्केर आउँदैनन्।’ भोट माग्न आउँदा दिएका वाचा पूरा नभएकाले नेताहरूप्रतिको विश्वास नै हटेको गुनासो उनको छ। ‘नयाँ हुन् वा पुराना सबै उस्तै हुन जस्तो लाग्छ, जितिसकेपछि जनतालाई सम्झिँदैनन्,’ उनले भनिन्। तर, भोट हाल्ने नागरिकको अधिकार भएको बुझेकी राजकुमारी फागुन २१ पर्खिरहेकी छन्। ‘भोट हाल्ने त हाम्रो अधिकार हो, हाल्छौं नि,’ उनी भन्छिन्।
सीमावर्ती क्षेत्रमा सडक र सञ्चालन कहिले ?
उत्तरी क्षेत्रमा विकास र पूर्वाधार प्रशस्त छ। उत्तर र पश्चिम क्षेत्र हराभरा छ। रहर लाग्दा सडक छन्। हुलाकी राजमार्ग होस् वा पूर्व–पश्चिम राजमार्ग मात्र होइन, भित्री सडक पनि पिच भइरहेका छन्। अन्य पूर्वाधारमा पनि सम्पन्न देखिन्छ। तर, दक्षिण र पूर्वी क्षेत्र पिछडिएको छ। दक्षिण सीमावर्ती क्षेत्रमा टेलिफोन र सडकको समस्या छ। कतिपय स्थानमा पुलसमेत छैनन्। सीमावर्ती क्षेत्रका भारतीय टेलिफोनको प्रयोग गर्नुपर्ने बाध्यता छ। गौरीगन्ज बजारबाट दक्षिण सीमा फत्तेपुरसम्म जाने बाटो कच्ची छ।
गौरीगन्ज–५ फत्तेपुरका दुर्गाप्रसाद सिंह गौरीगन्जबाट सीमा क्षेत्रसम्म सडक र टेलिफोन त्यहाँको मूल मुद्दा रहेको बताउँछन्। ‘यहाँ टेलिफोनको टावर आवश्यक छ, कोही बिरामी परेर एम्बुलेन्स बोलाउनुपर्यो भने फोन लाग्दैन, गौरीगन्जबाट फत्तेपुरसम्म आउने बाटो कच्ची छ, उनले भने।केरखा र सानो केरखाबीचको केरखा खोलाको पुलको ठूलो समस्या रहेको पनि त्यहाँका स्थानीय बताउँछन्। विद्यालय आउन, जान र बजार गर्न बाँस पुलको सहारा लिनुपर्ने अवस्था छ। स्थानीय डिल्लीराम सुवेदी केरखाको पुल र तटबन्ध यहाँ समस्या रहेको बताउँछन्। ओली घरदैलोमा पुग्दा पनि स्थानीयले यो विषयमा ध्यान दिन माग गरे र विगतमा त्यसमा ध्यान नदिएकामा ओलीप्रति गुनासो गरे।
‘जसले मदिरा बन्द गर्छ, उसैलाई भोट’
सीमावर्ती गाउँमा खुलमखुला मदिरा बेचबिखनले स्थानीय महिला र बालबालिका बढी तनाव देखिएका छन्। भारतमा खुलमखुला मदिरा बिक्री वितरणमा प्रतिबन्ध भएकाले भारतीयहरू पनि मदिरा सेवन गर्न बेलुका भएपछि नेपालमा नै आउँछन्। जसले सीमावर्ती गाउँमा पारिवारिक कलह, झगडा हुने गरेको छ। नेपाल भारतको सीमावर्ती गाउँ फत्तेपुरका महिलाको एउटै आवाज छ : जसले मदिरा पसल बन्द गराउँछ उसैलाई भोट दिन्छौं।
गौरीगन्ज–५ फत्तेपुरको त्यो सीमावर्ती एउटा टोलमा मात्रै १३ वटा मदिरा पसल छन्। ‘छोराहरू बिग्रिन्छ, दारु खाएर बुढीसँग झगडा गर्छ, भात खाँदाखाँदै केटाकेटीलाई रक्सी ल्याउन लगाउँछ,पानी ल्याउन टाढा छ तर रक्सी ल्याउन टाढा छैन,’ सन्तलियादेवी गनगाई गुनासो गर्छिन्, ‘जसले रक्सी बन्द गर्छ उसैलाई यहाँका महिलाले भोट दिन्छन्।’
अनिर्णीत आदिवासी
धिमाल, राजवंशी, झाँगड, सन्थाललगायत आदिवासी यो क्षेत्रमा छन्। झापड, सन्थालको अवस्था दयनीय छन्। निर्वाचन आउनै लाग्दा उनीहरूमा मतदाता शिक्षाको पनि उत्तिकै अभाव देखिएको छ। गौरादह–७ की सिर्जना हेमरम भन्छिन्, ‘हामीलाई को उम्मेदवार उठेको छ, थाहा छैन, अन्तिममा गाउँ सल्लाह हुन्छ, त्यहीअनुसार गर्छौं।’ मजदुरी गरेर गुजारा गर्ने हेमरमलाई आफ्नै बच्चालाई पनि ट्युसन पढ्न पाऊन् भन्ने इच्छा छ, आर्थिक अवस्था कमजोर भएर पढाउन नपाएको बताउँदै भन्छिन्, ‘यो बच्चालाई ट्युसन पढाउने व्यवस्था नेताले गरिदिए हुन्थ्यो।’
दलहरू चुनावी प्रचारको अन्तिम दौडमा छन्। विगतको तुलनामा दबाबमा रहे पनि एमाले पक्षधर जित्नेमा ढुक्क देखिएका छन्। संगठनको बल र पछिल्लो समयमा ओलीले घरघर पुगेर जनतासँगको सम्बन्ध गाढा बनाइरहेको उनीहरूको दाबी छ। एमाले क्षेत्र नम्बर ५ निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहाल ओलीले जित्नेमा आफूहरू ढुक्क रहेको बताउँछन्। उनले एमालेको जितको मूल आधार संगठन भएको बताए। विपक्षीहरू सामाजिक सञ्जालको दुरुपयोग र भ्रम छर्ने काममा व्यस्त रहेको पनि उनको आरोप छ। ‘हामी जित्नेमा ढुक्क छौं, संगठन नै हाम्रो जित्ने मूलधार हो,’ उनले भने। जनताबाट राम्रो रेन्पन्स पाएको पनि उनले दाबी गरे। यो क्षेत्रका लागि ओलीले गरेको योगदान र कामहरू, राष्ट्रियताको संरक्षण र संवद्र्धनमा लिएका अडानहरू, पछिल्लो जेन–जी आन्दोलनपछि देश र राष्ट्रको पक्षमा अभिव्यक्त गरेका विचारहरूलाई एमालेले जितको आधार बनाएको छ। लामो समयदेखिको क्षेत्र नम्बर–५ को लिगेसी पनि एमालेले आधार मानेको छ।
२०४८, २०५१, २०५६, २०७०, २०७४, २०७९ मा गरी ६ पटक ओली यही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा भने ओली पराजित भएका थिए। गत भदौ २३ र २४ गतेको घटनामा भएको विध्वंसको विषयमा कडा रूपमा प्रस्तुत हुनुलाई एमालेजनहरू जितको आधार मान्छन्। एमाले नेता दाहाल देश बनाउनेलाई कि जलाउनेलाई भोट दिने भन्ने फैसला गर्ने बेला भएको पनि बताए।
बालेनको पनि विश्वास
युवावर्गमा बालेनको प्रभाव राम्रो छ। देशभर नै लहर आएको भन्दै उनीहरू उत्साहित पनि त्यतिकै छन्। काठमाडौं महानगरको मेयर भएपछिको क्रेज र शीर्ष नेताप्रतिको प्रहारले पनि झापा—५ मा उनको लहर देखिएको छ। बालेन शाह पक्षधर परिवर्तनका लागि भोट बदल्नुपर्ने नारा दिइरहेका छन्। उनीहरू पनि आफू सजिल्यै जित्ने दाबी गर्छन्। बालेनका पक्षमा लागेका दमक स्वतन्त्र स्थायी तीनपाङ्ग्रे चालक संघका अध्यक्ष भीमप्रसाद संग्रौला यसपटक जनताले भोट बदल्नेमा कुनै शंका नरहेको बताउँछन्।जनताका समस्यामा पुराना दलले वास्ता नरहेकाले अब जनता नयाँका पक्षमा लाग्नेमा आफूहरू ढुक्क रहेको बताए। ओलीको घरघर पुग्न थालेपछि उम्मेदवारी दर्ता गर्न आउँदाभन्दा बालेन पनि दबाबमा छन्। बालेन शाह आउँदै जाँदै गरिरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का क्षेत्रीय सभापति भेषराज भट्टराई जनतामा आफूप्रतिको उत्साह नै जित्ने आधार रहेको बताउँछन्। ‘जनतामा पार्टीप्रति देखिएको उत्साह नै हाम्रो जितको आधार हो,’ उनले भने, ‘बालेनजी जित्ने आधार बनाएर नै झापा आउनुभएको हो।’ झापा–५ मा रास्वपाको संगठन भने बलियो छैन।
यो निर्वाचन क्षेत्रमा ओली र बालेन मात्रै छैनन्। तर, पनि उनीहरू दुई हेबीवेट उम्मेदवारका कारण ओझेलमा परेका छन्। जनजाति समूहका युवामा हर्क साम्पाङको लहर पनि कम देखिएको छैन। हर्क साम्पाङको श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङ, नेपाली कम्युनिस्ट पार्टीबाट रञ्जित तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीप्रसाद संग्रौलालगायत २४ जना चुनावी मैदानमा छन्। यो क्षेत्रमा जनजाति समुदायमा हर्क साम्पाङको पार्टीको त्यत्तिकै प्रभाव छ। ओली र बालेन दुवै लागि हर्क साम्पाङको श्रम संस्कृति पार्टी तामाङ चुनौतीका रूपमा देखिएका छन्।
सुकुम्बासी र तीनपाङ्ग्रे फ्याक्टर
यो निर्वाचनमा क्षेत्रमा सुकुम्बासी र तीनपाङ्ग्रे सवारीसाधनाको समस्याले निर्वाचनमा प्रभाव पर्ने देखिएको छ। कमल गाउँपालिका–३ सानो केरखाका डिल्लीराम सुवेदी भूमि समस्या क्षेत्र नम्बर ५ ठूलै समस्या रहेको बताउँछन्। विगतमा जग्गा पाएकाहरूको पनि समस्या नै छन्। ‘लालपुर्जा छ, जग्गा छ तर कित्ता नम्बर नै मिल्दैन’ २०५२ सालमा नै जग्गा धनी लालपुर्जा पाएका सुवेदीको गुनासो छ। दमक नगरपालिका क्षेत्रमा मात्रै साढे ६ हजार भूमिहीन सुकुम्बासी छन्।
त्यस्तै, गौरादह नगरपालिका, कमल गाउँपालिका र गौरीगन्ज गाउँपालिकामा त्यतिकै छन्। हार/जितमा सुकुम्बासी फ्याक्टर पनि त्यत्तिकै छ।बालेन शाहले काठमाडौंमा सुकुम्बासी हटाउन गरेको अभियानबाट पनि झापाका सुकुम्बासी आशंकित छन्। फुटपाथमा मजदुरी गरेका जीवन गुजारा गरेकाहरू पनि काठमाडौंको फुटपाथ हटाउने कार्यले त्रसित देखिएका छन्। दमकको फुटपाथमा चिया पसल चलाइरहेकी मेनुका लावतीले बालेनले जितेमा गरिखाने पार्टी बन्द हुने आंशका गर्छिन्।
विगतको निर्वाचन अवस्था
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष ओली छैटौंपटक यस क्षेत्रबाट निर्वाचित भएका थिए। उनले ५२ हजार ३१९ मत ल्याउँदा उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २७ हजार ७४३ मत ल्याएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ५९ मत ल्याएर तेस्रो दल भएका थिए। त्यसबेला ओली राप्रपासँग चुनावी तालमेल गरेका थिए।
२०७९ सालको निर्वाचनमा यस क्षेत्रमा १ लाख ५४ हजार २ सय ८९ मतदाता रहेका थिए। यसपटक मतदाता संख्या बढेर १ लाख ६३ हजार ३ सय ७९ पुगेको छ। अघिल्लो पटकको निर्वाचनभन्दा यसपटक ९ हजार ९० जना नयाँ मतदाता थपिएका छन्। झापा–५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाका १–८ र गौरीगन्ज गाउँपालिकाका ३–६ वडा समेटिएका छन्।
भ्यु टावर र औद्योगिक पार्क पनि चुनावी मुद्दा
सरकारले एक अर्ब ६४ करोड खर्चिएर निर्माण गरेको दमक नगरपालिका–३ दापगाछीस्थित भ्यु टावर (व्यापारिक कम्प्लेक्स) पुन: सञ्चालनको पर्खाइमा छ। यो भ्यु टावरलाई यहाँका उम्मेदवारहरूले आफ्नो चुनावी एजेन्डा बनाई प्रतिबद्धता पत्रमा समेत लेखेको पाइएको छ।
एमाले अध्यक्ष ओलीले बिजनेस टावरलाई सुसञ्चालन गरी यस क्षेत्रको व्यापार र पर्यटन प्रवर्धन गर्ने घोषणापत्रमा उल्लेख गरेका छन्। त्यस्तै, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले पनि भ्यु टावर उच्चतम नागरिक उपयोगिता हुने गरी सञ्चालनमा ल्याउने वाचापत्रमा उल्लेख गरेका छन्। गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा अराजक समूहले आगजनी र तोडफोड गर्दा भ्यु टावरमा अन्दाजी २६ करोड रुपैयाँबराबरको क्षति भएको सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिए। आमजनताका लागि खुला गरिएको भ्यु टावर सञ्चालनमा आएको करिब दुई महिनामा नै तोडफोड गरिएको थियो। विगत ६ महिनादेखि भ्यु टावर बन्द अवस्थामा छ। जसले गर्दा करिब दुई दर्जन कर्मचारी कामविहीन हुन पुगेका छन्।
भ्यु टावर बन्द हुँदा अहिले सर्वसाधारण गेटबाहिरबाटै फोटो खिची फर्किनु परेको बाध्यता छ। २०८१ मंसिर २१ गते पूर्वप्रधानमन्त्री ओलीले उद्घाटन गरेको भ्यु टावर गत १ साउनदेखि मात्र सञ्चालनमा आएको थियो। व्यापारिक कम्प्लेक्सको अवधारणामा निर्मित टावर सर्वसाधारणलाई दृश्यावलोकनका लागि खुला गरिएपछि सार्वजनिक बिदाका दिन एक हजारसम्म मानिसले अवलोकन गर्न आएको त्यहाँका सुरक्षाका गार्ड सप्तरी सुरुंगाका शोभाकान्त चौधरीले बताए। एक सय टिकट दर तोकिएको भ्यु टावरले एक महिनामा पार्किङ र अवलोकन शुल्क गरी सात लाखसम्म कमाउन थालिसकेको थियो। २२ देखि २४ जनाले रोजगारी पनि पाएका थिए।
भ्यु टावरभित्र पनि आगो लगाइएको थियो, त्यहाँ आगो लाग्दा अटोमेटिक पानी झर्ने प्रणाली रहेकाले भित्र चाहिँ आगो लाग्न पाएन। तर, सिसाहरू सबै फुटाएकाले त्यसैले दुर्घटनाको जोखिम बढाएको छ। ९० लाख बजेट आएकाले सरसफाइ र मर्मत सम्भारका लागि टेन्डर आह्वान भई स्वीकृति भइसकेको बताउँदै आयोजना प्रमुख सिंहले भने, ‘चुनावीपछि भ्यु टावरको पुनर्निर्माणको काम सुचारु हुन्छ।’
झापाको कमल, दमक र गौरादह क्षेत्रमा प्रस्तावित चीन–नेपाल मैत्री औद्योगिक पार्क निर्माण कार्य अझै सुचारु हुन सकेको छैन। पाँच वर्षअघि शिलान्यास भएर भौतिक प्रगति शून्य अवस्थामा रहेको चीन–नेपाल मैत्री औद्योगिक पार्क निर्माण प्रक्रिया अघि बढाउन यहाँका उम्मेदवारहरूले चुनावी प्रतिबद्धता पत्रमा समेत उल्लेख गरेका छन्। तत्कालीन प्रधानमन्त्री ओलीले २०७७ फागुन १६ गते यो पार्कको शिलान्यास गरेका थिए।
औद्योगिक पार्क निर्माण समितिका अध्यक्ष गोविन्द थापाले केही समयअघि सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै औद्योगिक पार्क निर्माणमा भएको ढिलाइ नेपालको कारणले नभई ‘वैदेशिक अवरोध’का कारण भएको दाबी गरेका थिए।




0 Comments