ठूला सभाभन्दा निर्वाचन क्षेत्र केन्द्रित घरदैलोमा नै व्यस्त शीर्ष नेता




काठमाडौं/झापा/(रुकुमपूर्व) : अब निर्वाचन आउन १० दिन मात्रै बाँकी छ। यो पटक ठूला–ठूला सभा सम्मेलन भएको कतै सुनिँदैन्, देखिँदैन। यो अवस्था राजनीतिक शीर्ष नेताहरू कहाँ के गर्दैछन् भन्ने चासो सर्वत्र छ। तथापी राजनीतिक दलदलका शीर्ष नेताहरू चुनावी दौडाहामा छन्।


नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी अभियानका क्रममा के गर्दै छन्। योपटक उनीहरू विशेष गरेर आफ्नै निर्वाचन क्षेत्र केन्द्रित छन्।

रास्वपाले सभापति लामिछाने र वरिष्ठ नेता शाहको उपस्थितिमा ठाउँठाउँमा सभा गरे पनि कांग्रेस, एमाले र नेकपाका शीर्ष नेताहरू निर्वाचन क्षेत्रमै सीमित भएका छन्। विगतमा निर्वाचनमा देशव्यापी सभा, सम्मेलनमा पुग्ने गरेका शीर्ष नेता घरदैलोमा छन्। पछिल्लो समयमा सभा सम्मेलनभन्दा पनि नेताहरू गृह क्षेत्रमा केन्द्रीत देखिएका छन्। घर घर, बस्ती बस्ती गएर शीर्ष नेताहरू भोट मागिरहेका छन्।
गगन थापा सर्लाही–४ केन्द्रित
तीन पटकको चुनावमा निरन्तर जितेको काठमाडौं छाडेर मधेस झरेका कांग्रेससभापति गगनकुमार थापा गत माघ १२ गतेदेखि आफ्नो निर्वाचन क्षेत्रमा छन्। छिटफुट अन्य जिल्ला गएका थापा अधिकांश समय सर्लाही क्षेत्र नम्बर ४ मा नै बितेको छ।
सभापति थापा सिंगो सचिवालय र हरेक विषयका विषय विज्ञहरू पनि उनकै साथमा छन्। उक्त टिमले सर्लाहीको हरेक अवस्था केलाइरहेका छन्। थापाको सचिवालयका एक सदस्यले भने, ‘सबै विषयका २, ३ जना साथीहरू साथमा छौं। सर्लाही–४ को आवश्यकता के हो ? यहाँको समस्या के हो ? र निकास कसरी दिन सकिन्छ भन्ने विषयमा चुनाव प्रचार–प्रसार सँगै हामी यता पनि आबद्ध छौं।’
मधेसमा कांग्रेसको माहोल खस्किँदै गएको भन्दै बीपी कोइराला, सुवर्णशमशेरको पालाको जस्तो मधेसमा कांग्रेसको माहोल फर्काउनका लागि उनी सर्लाही पुगेका हुन्। थापाकै पहलमा नेपाली कांग्रेसको प्रतिज्ञापत्र पनि मधेसको जनकपुरधामबाट सार्वजनिक भयो।
यो बीचमा मुस्किलले ३–४ पटक काठमाडौं आएर १,२ दिन बसेर पुनः सर्लाही नै फर्किएका उनी अहिले घरदैलोमा व्यस्त छन्। थापा पार्टीका अन्य उम्मेदवारहरू भएका क्षेत्रमा भने चुनावी प्रचार–प्रसारका लागि जान भ्याएका छैनन्। स्थानीय एक कांग्रेसका नेता पिताम्बर अधिकारी पार्टी सभापति भए तापनि हरेक जनताको घरघरै पुग्ने प्रयासमा सभापति थापा भएको बताउँछन्, ‘टोल–टोलमा सकेसम्म भेला भएर भेटघाट गरौं समय अभाव छ भन्ने हाम्रो कुरा हुन्छ। उहाँ हैन सकेसम्म सबै ठाउँमा पुगौं। जनताका समस्या सुनौं भन्नुहुन्छ। यो बेलामा समयनै कम छ अरू निर्वाचन क्षेत्रमा पुग्ने भन्ने त सोच्ने समयनै छैन।’
थापाले सर्लाही–४ मै जनताका गुनासा समस्या सुन्नकै लागि भनेर कार्यालय नै खोलेका छन्। उनी दिनभर घरदैलौमा अभ्यस्त रहे पनि साँझ कार्यालयमा पुगेर जनताका विषय सुन्ने गर्छन्।
थापाले आफूले निर्वाचन जितेपश्चात् सर्लाही–४ मै सांसद कार्यालय स्थापना गरी आफ्ना मतदातासँग सिधै सम्पर्कमा रहेर विकास निर्माणलगायतका काममा सक्रिय हुने प्रतिबद्धता गर्दै भन्दै आएका छन्, ‘मलाई यहाँका जनताले खोज्न अब कहीँ जानुपर्दैन, मेरो सम्पर्क कार्यालय यहीँ रहन्छ मैले पहाड बुझेँ, सहर बुझेँ र यसपटक मधेस बुझ्न उम्मेदवारीसहित यहाँ आएको हुँ। यहाँको शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा आफ्नो संयन्त्र, अनुभव र ज्ञानको अधिकतम सदुपयोग गरी समस्या सम्बोधनमा तल्लीन हुनेछु। तपाईंको नेता नभई बेटा (छोरा) बन्न सर्लाही आएको हुँ। तपाईंहरूले दिएको मतको सम्मान गर्दै विकास निर्माण लगायतका काममा समर्पित हुनेछु।’
आफ्नो निर्वाचन क्षेत्रमा भएका भेटघाट तथा छलफलका क्रममा प्राप्त राय, सुझाव र अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै सर्लाहीवासीको अनुरोधपछि सो ठाउँमा आएकाले माया पाउने विश्वास गरेका छन्। गगनलाई पूर्वकांग्रेस नेता अमरेशकुमार सिंहले रास्वपाबाट चुनौती दिइरहेका छन्। अघिल्लो निर्वाचनमा कांग्रेस नेतृत्वको र एमाले नेतृत्वको अलग–अलग गठबन्धनलाई पराजित गर्दै निर्वाचित भएका सिंह यसपटक रास्वपाबाट उम्मेदवार भएपछि चुनावी प्रतिस्पर्धा चर्को बनेको छ।
झापा–५ मा नै छन् ओली र बालेन
दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले नेकपा (एमाले)को ‘सूर्य’ चुनाव चिह्न अंकित झन्डा जलाएको भन्दै एमालेले विरोध जनाइरहेको अवस्थामा झापा निर्वाचन क्षेत्र नम्बर ५ मा आइतबार एउटा अनौठो दृश्य देखियो।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको मुख्य प्रतिस्पर्धीको रूपमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले एमालेका नेता तथा कार्यकर्ताहरूप्रति सद्भाव स्वरूप नमस्कार गर्दै गरेको त्यो दृश्य। जुन दृश्य सामाजिक सञ्जालमा एकाएक भाइरल बन्यो। आइतबार दिउँसो करिब २ बज्दै थियो।
बालेन दमक–५ स्थित बिन्दु सिटौला (लक्की) को घरमा राखिएको सचिवालयबाट आफैंले गाडी चलाएर घरदैलो गर्न निस्किएका थिए। सचिवालयबाट निस्किए लगत्तै बालेनसँग एमाले नेता तथा कार्यकर्तासँग दमक नगरपालिका–५ स्थित विपिनी स्कुलनजिकैको सडकमा जम्काभेट भयो। अध्यक्ष ओलीका लागि पैदल हिँडेर भोट माग्दै गरेका एमाले कार्यकर्ताहरूलाई बालेनले गाडीबाटै हात हलाउँदै आरामै हुनुहुन्छ भनेर प्रश्न सोधेका थिए। त्यति मात्र नभएर बालेन गाडीभित्रबाटै एमालेका वडाध्यक्ष किरण उप्रेती र युवा नेता प्रकाश बस्नेतसँग हात पनि मिलाए। गुडिरहेको गाडीबाटै बालेन दुई हात जोडिएर नमस्ते ! नमस्ते !! भन्दै आदरपूर्वक अभिवादनसमेत दर्शाएका थिए।
प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिएसँगै इपिसेन्टर बनेको झापा–५ मा चुनावी चहलपहल बढेको यो दृश्यले पनि प्रस्ट देखाउँछ। ओली र बालेन दुवै जना प्रधानमन्त्रीका दाबेदार हुन्। दुवै जना आफ्नो पक्षमा जित सुनिश्चितता लागि रणनीति बनाएर चुनावी मैदानमा उत्रिएको देखिन्छ। मनोनयन दर्तापछि ओली चौथोपटक झापा आएका हुन्। शनिबार झापा आएका ओली आफ्नो चुनावी क्षेत्रको कार्यक्रममै व्यस्त देखिएका छन्। बालेन पनि शनिबार झापा आएर घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको रास्वपाका सचिवालयले जनाएको छ।
आइतबार ओलीको वैवाहिक वर्षगाठ थियो। सोही अवसरमा ओली पत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ को दमकमा आयोजित एक समारोहका बीच लोकार्पण गरिएको थियो। शाक्यले लेखेकी पुस्तकमा जीवनका अनुभवहरू समेटिएको संग्र्रहको नवसंस्करण हो। सोही अवसरमा ओली र शाक्यबीचको वैवाहिक वर्षगाँठसमेत परेकाले पाणिनी प्रकाशनले उनीहरूलाई अभिनन्दनसमेत गरेको थियो। कार्यक्रममा शाक्यले आफ्नो वैवाहिक जीवनका विभिन्न रोचक र भावुक क्षणहरूसमेत सुनाएकी थिइन्।
त्यस्तै एमाले अध्यक्ष ओली आइतबार इसाई समाज दमकसँग अन्तरक्रिया गरेको निर्वाचन प्रचार–प्रसार उपसमितिका संयोजक सुदीप अधिकारीले जानकारी दिए। ओलीलाई इसाई समाजले ९ बुँदे मागसहित ध्यानाकर्षणसमेत गराएको छ। ओलीलाई समाजका अगुवाहरूले भेट गरी धर्मनिरपेक्ष मुलुकमा सबै धर्म र आस्थाहरूलाई समान व्यवहार गर्ने व्यवस्था मिलाई दिन आग्रहसहित सो मागपत्र बुझाएको हो।
बालेन पनि आइतबार दिनभर मतदातासँगको भेटघाटमा व्यस्त थिए। बालेन आइतबार बिहान दमक ४, ५ र ६ का वडाका विभिन्न स्थानहरूमा घरदैलो कार्यक्रममा व्यस्त देखिएका थिए। त्यसपछि बालेन आफ्नो चुनावी अभियान गौरादाहमा गरेका थिए। शनिबार झापा आएका बालेनले कमल गाउँपालिकाको पाडाजुंगी र मंगलबारे क्षेत्रमा घरदैलो गरेको उनको सचिवालयले जनाएको छ। बालेनको चुनावी रणनीति बेग्लैछ।
उनी घरदैलो कहाँ कसरी पुग्छ, स्वयम् आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई समेत थाहा हुँदैन। उनी हल्ला गरेर घरदैलोमा पुग्दैनन्। सुरक्षा थ्रेट र भिडभाडलाई लक्षित गरी उनी थाहै नदिई मतदाताको घर आँगनमा पुग्ने गरेको रास्वपाका कार्यकर्ताहरू बताउँछन्। बालेनसहित झापाका अन्य उम्मेदवारको चुनावी अभियानलाई सघाउन पार्टी अध्यक्ष रवि लामिछाने पनि झापा आउन लागेका छन्। अध्यक्ष लामिछाने फागुन १२ गते झापा आउन लागेका हुन्। मंगलबार बिहान ८ बजे काठमाडौंबाट भद्रपुर विमानस्थलमा अवतरण गरी उनले पार्टीको ३ नम्बर क्षेत्रीय सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। भद्रपुर विद्युत् प्राधिकरण अघिको खुला मैदानमा आयोजित चुनावी सभालाई उनले सम्बोधन गर्ने जनाइएको छ।
दाहालको अधिकांश समय रुकुमपूर्वमा नै
माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला देशव्यापी राजनीतिक बहसको केन्द्रमा भन्दा पनि आफ्नै निर्वाचन क्षेत्र रुकुमपूर्वमा केन्द्रित देखिएका छन्। केही दिन लामो चुनावी दौडधुपपछि उनी काठमाडौं फर्किए पनि, अभियानको अधिकांश समय उनले रुकुमपूर्वमै बिताए। दाहालले आफ्नो राजनीतिक र भावनात्मक सम्बन्ध गाँसिएको भूमिमा चुनावी माहोल बनाउन विशेष जोड दिएका छन्।
- कांग्रेस सभापति गगन थापा सिंगो सचिवालय र हरेक विषयका विषय विज्ञहरू पनि उनकै साथमा छन्। उत्ताm टिमले सर्लाहीको हरेक अवस्था केलाइरहेका छन्। मधेसमा कांग्रेसको माहोल खस्किँदै गएको भन्दै बीपी कोइराला, सुवर्णशमशेरको पालाको जस्तो मधेसमा कांग्रेसको माहोल फर्काउनका लागि सर्लाही पुगेको उनको भनाइ छ।
- प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिएसँगै इपिसेन्टर बनेको झापा–५ मा चुनावी चहलपहल बढेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन दुवै जना प्रधानमन्त्रीका दाबेदार हुन्। दुवै जना आफ्नो पक्षमा जित सुनिश्चितताका लागि रणनीति बनाएर चुनावी मैदानमा उत्रिएका छन्।
- माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला देशव्यापी राजनीतिक बहसको केन्द्रमा भन्दा पनि आफ्नै निर्वाचन क्षेत्र रुकुमपूर्वमा केन्द्रित देखिएका छन्। केही दिन लामो चुनावी दौडधुपपछि उनी काठमाडौं फर्किए पनि अभियानको अधिकांश समय उनले रुकुम पूर्वमै बिताए।
रुकुमलाई जनयुद्धको सुरुआत, संगठन विस्तार र वैचारिक विकासको आधारभूमि भन्दै आएका प्रचण्डले यसपटकको निर्वाचनलाई ‘ऐतिहासिक निरन्तरता’ का रूपमा प्रस्तुत गरेका छन्। गाउँ–गाउँ पुगेर कार्यकर्ता भेटघाट, जनसभा तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै उनले आफू अझै पनि संगठनको जरोसँग जोडिएको सन्देश दिन खोजेका छन्।
चुनबाङमा पुगेर उनले जनयुद्धकालीन महत्वपूर्ण राजनीतिक निर्णयहरूको स्मरण गरेका थिए। २०६२–६३ को परिवर्तनकारी मोडसँग जोडिएको यस स्थलबाट उनले ‘अब समाजवादी अभ्यासको नमुना यहीँबाट सुरु हुने’ दाबी दोहोर्याए।
त्यसैगरी पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेरा मा आयोजित कार्यक्रममा उनले रुकुमपूर्वलाई केवल राजनीतिक संघर्षको केन्द्र नभई सामाजिक–आर्थिक रूपान्तरणको प्रयोगशाला बनाउने प्रतिबद्धता जनाए। ‘क्रान्तिको भूमि अब समृद्धिको भूमि बन्नुपर्छ,’ भन्ने सन्देशलाई उनले प्राथमिकताका साथ उठाइरहेका छन्।
प्रचण्डको चुनावी एजेन्डामा स्थानीय विकासका विषय अग्रस्थानमा देखिन्छन्। सडक सञ्जाल विस्तार, शिक्षा र स्वास्थ्य सेवाको पहुँच, खानेपानी, कृषि आधुनिकीकरण तथा युवाका लागि रोजगारी सिर्जना उनका प्रमुख प्रतिबद्धता हुन्। दुर्गम बस्तीहरूमा पैदल पुगेर प्रत्यक्ष संवाद गर्दै उनले स्थानीय समस्यालाई नजिकबाट बुझ्ने प्रयास गरिरहेका छन्।
उनले भरतपुरजस्तै योजनाबद्ध शहरी विकासको अवधारणा अघि सार्दै ‘रुकुम हेर्न जाऔँ’ भन्ने वातावरण सिर्जना गर्ने लक्ष्य व्यक्त गरेका छन्। देशको राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण घडी भन्दै उनले आगामी निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा व्याख्या गरिरहेका छन्। तर समग्र रूपमा हेर्दा, यसपटक प्रचण्डको प्राथमिकता राष्ट्रिय दौडधुपभन्दा आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित देखिन्छ।
रवि पनि चितवनमै
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने घरदैलो कार्यक्रममा सक्रिय देखिएका छन्। बिहानैदेखि टोल–टोल पुग्दै उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
घरदैलो अभियानका क्रममा उनले नागरिकका समस्या, विकासका अपेक्षा र स्थानीय आवश्यकताबारे चासोपूर्वक सुन्ने गरेका छन्। रोजगार, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारका विषयमा जनताले राखेका गुनासालाई उनले आगामी सरकारले प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राप्रपा अध्यक्ष पनि झापा नै
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि गृह जिल्ला झापा नै पुगेका छन्। राप्रपाका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले लिङ्देन आइतबार झापा गएको जानकारी दिए। लिङ्देन केही दिन झापा नै रहने छन्। उम्मेदवारी दर्तापछि उनी ९ वटा निर्वाचन क्षेत्रमा पुगेका छन्। तराईका केही जिल्ला, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देहीपछि पुनः उनी झापा नै गएका छन्। लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन्। उनले २०७४ र २०७९ मा लगातार सो निर्वाचन क्षेत्रबाट जितिरहेका छन्।
उनले यी दुईवटै निर्वाचनमा कांग्रेसका तत्कालिन महामन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए। २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा भने सिटौलासँगै नै उनी पराजित भएका थिए। २०७४ सालमा राप्रपाबाट जित्ने लिंदन एक्लो सांसद थिए। २०७४ र २०७९ सालको निर्वाचनमा लिङ्देनलाई एमाले सहयोग गरेको थियो। योपटक भने एक्ला एक्लै लडिरहेका छन्। यो निर्वाचन क्षेत्रबाट एमालेले हरि राजवंशीलाई उम्मेदवार बनाएको छ। एक्लै निर्वाचनमा होमिएका लिंदेनलाई कांग्रेस, एमालेदेखि रास्वपासम्मको चुनौती छ।
यादव र डा.रावत पनि गृह क्षेत्रतिरै
जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टी अध्यक्ष सिके राउत पनि आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित छन्। उपेन्द्र यादवले सप्तरीको क्षेत्र नम्बर ३ वाट र सिके राउतले सप्तरी २ बाट उम्मेदवार बनेका छन्।
यादवलाई २०७९ सालको निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टी अध्यक्ष डा. राउतले पराजित गरेका थिए। बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि भएको उपनिर्वाचनमा लडेर उपेन्द्र यादव प्रतिनिधिसभा सदस्य भएका थिए। योपटक यादव र डा. राउत दुवैलाई चुनौती छ।




0 Comments