तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भसहितको एमाले घोषणापत्र




काठमाडौं : गत भदौमा भएको आन्दोलनमा सबैभन्दा ठूलो क्षति बेहोरेको तत्कालीन सत्तारूढ दल नेकपा (एमाले)ले आगामी निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवा, महिला, आदिवासी जनजाति, दलित समूहको प्रतिधित्वि गर्ने प्रत्यक्षतर्फका १३ उम्मेदवारलाई राखेर डिजिटल घोषणापत्र सार्वजनिक गरेका छन्।


अध्यक्ष ओलीले घोषणापत्र सार्वजनिक कार्यक्रममा आगामी निर्वाचन पुस्तान्तरणको नभई देश बनाउने र भत्काउनेबीचको जनमत संग्रह भनेका छन्। उनले एमालेलाई विकास तथा निर्माणकर्ताका रूपमा ब्रान्डिङ गर्दै भन्छन्, ‘आगामी चुनाव राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष पनि हो।’ घोषणापत्रमा तथ्यांकसमेत प्रस्तुत गर्दै एमालेले आफूले सरकारको नेतृत्व गर्दा भएका सकारात्मक कामको तस्बिर प्रस्तुत गर्दै भनेको छ, ‘तथ्यले भन्छ एमाले विकासको संवाहक हो। एमालेले गर्छ।’

घोषणापत्रमा २०८२ भदौ २३ गते भएको ‘जेन–जी प्रदर्शन’ को चर्चा गरिएको छ। एमालेले उक्त प्रदर्शनमा घुसपैठ भएको र शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन केही तत्वहरूले भूमिका खेलेको उल्लेख गरेको छ। अहिले समाजमा भइरहेको ‘पाको पुस्ता’ र ‘युवा पुस्ता’ बीचको बहसलाई एमालेले देश बनाउने र भत्काउने शक्तिहरूबीचको द्वन्द्वका रूपमा व्याख्या गरेको छ। ‘देश चलाउन अनुभवी प्रौढ र ऊर्जावान युवा दुवै पुस्ताको सहकार्य आवश्यक रहेको र पुस्ताहरूलाई भिडाउने नभई साथ लिएर हिँड्ने नीति एमालेको रहेको छ,’ घोषणापत्रमा भनिएको छ।
घोषणापत्रमा तत्काल गर्ने काम भन्दै १० जीबीको निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउनेदेखि २० लाख विद्यार्थीलाई निब्र्याजी ऋण दिने उल्लेख गरेको छ। सबै किशोरीलाई सेनिटरी प्याड पनि निःशुल्क दिने प्रतिबद्धता जनाएको छ। सरकार बनेपछि तत्काल गर्ने ११ काममा १८ देखि २८ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गारउने प्रतिबद्धता जनाएको छ।
महत्वकांक्षी योजना नराखेको एमालेले ५ आधारभूत घोषणा, ११ तत्काल गर्ने काम र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेको छ। ‘निर्वाचनपछि बन्ने सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेर समयसीमा तोकी तत्काल गर्ने ११ काम अघि बढाउने छौं,’ अध्यक्ष ओलीले भने, ‘निराशा हटाउन समृद्धिको सपना देख्नु अपराध थिएन, होइन। जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामा सम्झौता
हुँदैन, गरिँदैन।’
घोषणापत्र सार्वजनिक गर्दै एमालेले अबको ५ वर्षको अर्थतन्त्रको आकार १ सय खर्ब बनाउने घोषणा पनि गरेको छ। उसले हरेक ७ देखि ९ प्रतिशतसम्म आर्थिक वृद्धि गर्ने उसले प्रतिबद्धता जनाएको छ। युवा र उद्यमीलाई १० हजार बराबरको डलर कार्ड उपलब्ध गराउने घोषणा गरेको छ। घोषणापत्रमा भनिएको छ, ‘सूचना प्रविधि क्षेत्रमा आईटी/टेक उत्पादनहरूको अनुसन्धान, उत्पादन, विकास तथा निर्यात प्रबद्र्धन गर्न र स्टार्टअप व्यवसायमार्फत अनलाइन अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाउन युवालाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैकं कार्य उपलब्ध गराउनेछौं।’
वैदेशिक रोजगारीमा गएका देशमा विप्रवेषण पठाइरहेका श्रमिकको सम्मान स्वरूप उनीहरूको बैंक खातामा वार्षिक ५ हजार थप गरिदिने घोषणा पनि एमालेले गरेको छ। उसले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकलाई योजनामा आधारित सामाजिक सुरक्षा प्रणालीमा निरन्तरता हुने प्रबन्ध गर्ने प्रतिबद्धता पनि एमालेले गरेको छ। एमाले विद्यार्थीलाई २० लाख निब्र्याजी ऋण तथा श्रमिकसहितको इन्टर्नसिप दिने पनि घोषणापत्रमा भनेको छ। ‘प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई २० लाखसम्म निब्र्याजी ऋण उपलब्ध गराउनेछौं,’ घोषणापत्रमा उल्लेख छ, ‘सरकारी सेवा, निजी क्षेत्रमा व्यवसाय र अध्यापन क्षेत्रमा न्यूनतम पारि श्रमिकसहितको इन्टर्नसिपको प्रबन्ध गर्नेछौं।’
एमालेले सबै विद्यालयका किशोरीलाई निःशुल्क प्याड घोषणा गरेको छ। उसले कक्षा १० सम्मका विद्यार्थीलाई खाजाको पनि व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ। ‘सबै विद्यालयका किशोरीहरूका लागि निःशुल्क प्याड सहजरूपमा उपलब्ध गराउनेछौं। १० कक्षासम्मका विद्यार्थीलाई दिवा खाजाको प्रबन्ध गर्नेछौं,’ घोषणापत्रमा उल्लेख छ। श्रमिकहरूको न्यूनतम पारिश्रमिक २५ हजार उपलब्ध गराउने पनि प्रतिबद्धता जनाएको छ। ‘श्रमिकहरूको सीप, कौशल र उत्पादकत्व बढाउँदै न्यूनतम मासिक पारि श्रमिक २५ हजार रुपैयाँ पुर्याउने छौं,’ पार्टीले भनेको छ, ‘नियमित वा आकस्मिक, औपचारिक वा अनौपचारिक, स्वरोजगारी वा ज्याला रोजगारीमा रहेका सबै श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्नेछौं।’
अपहेलित भएको गुनासो गर्दै आएका शिक्षकलाई एमालेले सम्झिएको छ। उसले शिक्षकको मर्यादाक्रम तोक्ने पनि घोषणा गरेको छ। घोषणापत्रमा लेखिएको छ, ‘सामुदायिक तथा निजीलगायतका सबै विद्यालयका सम्पूर्ण शिक्षकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्नेछौं।’
स्वास्थ्य स्वयंसेविकाको भत्ता २० हजार बनाउने घोषणा गरेको छ। एमालेले विश्व स्वास्थ्य संगठनले समेत सम्मान गरेका स्वास्थ्य स्वयंसेविकाहरूलाई थप प्रोत्साहित गर्न वार्षिक रूपमा प्रदान गरिँदै आएको भत्ता बढाएर २० हजार पुर्याउने प्रतिबद्धता जनाएको छ। एमाले सबै स्वयंसेविकाहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्ने पनि घोषणा गरेको छ।
२० लाखसम्म उद्यमी महिला निव्र्याजी ऋण महिला उद्यमशीलता विकास गर्न बैंक तथा वित्तीय संस्थामार्फत २० लाखसम्मको उद्यमी महिला निब्र्याजी ऋण सुविधा सहज ढंगले प्रदान गर्ने घोषणा गरेको छ। व्यवसाय र ऋणको निःशुल्क बिमा व्यवस्था गर्ने पनि एमालेको घोषणा पत्रमार्फत प्रतिबद्धता जनाइएको छ। गर्भवती महिलालाई सुत्केरी हुनुअघि र पछि स्वास्थ्य परीक्षण गर्न प्रदान गरिँदै आएको घरदेखि स्वास्थ्य संस्थासम्मको यातायात खर्च दोब्बर गर्न एमालेको प्रतिबद्धता छ।
घट्दो जनसंख्या वृद्धिदरको प्रवृत्ति रोक्न सुत्केरी हुने महिलालाई प्रतिजन्म २० हजार मातृशिशु पोषण भत्ता दिने पनि उसको घोषणा छ। ‘गर्भवती महिलाका लागि ५ लाखसम्मको जीवन बिमा निःशुल्क गर्नेछौं,’ घोषणापत्रमा छ।
एमालेले राज्यद्वारा गरिब परिवारको रूपमा पहिचान भएका घरपरिवारले बैंक तथा वित्तीय संस्थाबाट २०८२ साल भदौसम्म लिएको २५ हजारसम्मको ऋण मिनाहा गर्ने घोषणा गरेको एमालेले गरेको छ। यस्ता सबै परिवारलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्ने पनि एमालेको घोषणापत्रमा उल्लेख छ।
एमालेले सुरक्षाकर्मीलाई सम्मान गर्ने भएको छ। उसले राष्ट्रको सुरक्षा, सार्वभौमिकता र स्थायित्वका लागि जीवन अर्पण गर्ने बहालवाला तथा अवकाशप्राप्त सुरक्षाकर्मीहरूको सम्मान र कल्याण सुनिश्चित गर्ने घोषणा गरेको छ। ‘पेसागत मर्यादा, सेवा–सुविधा, सामाजिक सुरक्षा, स्वास्थ्योपचार तथा सीप विकाससँगै सम्मानजनक जीवनयापनको सुनिश्चितता गर्दै उनीहरूको हक र हित संरक्षण गर्नेछौं,’ एमाले घोषणापत्रमा उल्लेख छ।
एमालेले सार्वजनिक गरेको घोषणापत्रमा समृद्धिका २५ स्तम्भमार्फत आर्थिक रूपान्तरणदेखि परराष्ट्र नीतिसम्मका महत्वाकांक्षी लक्ष्य अघि सारेको छ। पार्टीले ५ वर्षभित्र अर्थतन्त्रको आकार १ सय खर्ब र १० वर्षमा २ सय खर्ब रुपैयाँ पुर्याउने घोषणा गर्दै वार्षिक ७ देखि ९ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको जनाएको छ। घोषणापत्रमा कृषिको उत्पादकत्व, विद्युत् उत्पादन, खनिज तथा औद्योगिक विस्तार र सूचना–पूर्वाधार विकासमा फड्को मारेर अर्थतन्त्र विस्तार गरिने उल्लेख छ। ‘प्रतिव्यक्ति आय ५ वर्षमा करिब ३ हजार अमेरिकी डलर पुर्याउनेछौं,’ घोषणापत्रमा भनिएको छ। समतामूलक द्रुत आर्थिक विकासमार्फत चरम गरिबी अन्त्य गर्ने प्रतिबद्धता पनि गरिएको छ।
रोजगारी सिर्जनालाई विकासको केन्द्रीय एजेन्डा बनाउने घोषणा गर्दै एमालेले वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। ‘उच्च आर्थिक वृद्धिबाट ४ लाख र सूचना प्रविधिसहित लक्षित कार्यक्रमबाट थप १ लाख रोजगारी सिर्जना गर्नेछौं,’ घोषणापत्रमा उल्लेख छ। वैदेशिक रोजगारीको बाध्यात्मक अवस्थाको अन्त्य गर्ने दाबी पनि गरिएको छ।
भूमिहीन, सुकुम्बासी र न्यून आय भएका नागरिकका लागि ‘सम्मानजनक र सहुलियत आवास’ उपलब्ध गराउने घोषणा गरिएको छ। साथै सबै उपमहानगरलाई वित्तीय, औद्योगिक, डिजिटल र यातायात केन्द्रका रूपमा विकास गर्दै ‘मेगा सिटी’ मा रूपान्तरण गर्ने लक्ष्य प्रस्तुत गरिएको छ। मध्यपहाडी लोकमार्ग, कोशी–गण्डकी–कर्णाली कोरिडोर र हुलाकी राजमार्ग आसपास कोरिडोर सिटी विकास गर्ने योजना पनि अघि सारिएको छ। पाँच वर्षभित्र सबै नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी तथा सरसफाइको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ। ‘आगामी दुई वर्षभित्र सबै घरधुरीमा आधारभूत खानेपानी पुर्याउनेछौं,’ भनिएको छ।
दैलेखको ग्यास र धौवादी फलाम खानीबाट व्यावसायिक उत्पादन सुरु गर्ने घोषणा गर्दै ‘इन्डस्ट्रियल इकोसिस्टम’ विकास गरिने उल्लेख छ। ‘तीन वर्षमा निर्यात दोब्बर र ५ वर्षमा तेब्बर बनाउनेछौं,’ घोषणापत्रमा उल्लेख छ। नेपाललाई ‘ल्यान्ड लक्ड आयातकर्ता’बाट ‘ल्यान्ड लिंक्ड निर्यातक’मा रूपान्तरण गर्ने लक्ष्य पनि राखिएको छ।
कृषिलाई ‘आधुनिक उद्यम व्यवसाय’ मा रूपान्तरण गर्ने नीति लिइएको छ। भूमि बैंक स्थापना, समर्थन मूल्य, बिमा र अग्रिम खरिद सम्झौतासहितको कृषि इकोसिस्टम विकास गरिने उल्लेख छ। समस्याग्रस्त सहकारी पीडितको रकम फिर्ता सुनिश्चित गर्न ‘बचत फिर्ता ग्यारेन्टी कोष’ स्थापना गर्ने घोषणा गरिएको छ। ‘ठगी र अपचलनमा शून्य सहनशीलता अपनाउनेछौं,’ भनिएको छ।
५ वर्षमा पर्यटक आगमन दोब्बर बनाउने लक्ष्यसहित नेपाललाई विशिष्ट पर्यटन गन्तव्यका रूपमा ब्रान्डिङ गर्ने योजना छ। थप ३ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य राखिएको छ। डबल लेन सडक, विद्युतीय रेलमार्ग र अन्तरदेशीय जलमार्ग पहुँच विस्तार गर्ने घोषणा पनि गरिएको छ। नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने, डिजिटल पूर्वाधार विस्तार गर्ने र कृत्रिम बुद्धिमत्तामा आधारित सुशासन प्रणाली लागू गर्ने घोषणा गरिएको छ। ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति आधुनिक प्रविधिमार्फत कार्यान्वयन गर्नेछौं,’ घोषणापत्रमा उल्लेख छ। जलविद्युत्, सौर्य र ग्रीन हाइड्रोजनमार्फत ऊर्जा उत्पादन दोब्बर बनाउँदै नेपाललाई दक्षिण एसियाको ‘स्वच्छ ऊर्जा निर्यातक हव’ बनाउने प्रतिबद्धता गरिएको छ।
परराष्ट्र नीतिमा सार्वभौम समानता र असंलग्नतामा आधारित सन्तुलित सम्बन्ध राख्ने नीति दोहोर्याइएको छ। ‘कुनै पनि राष्ट्रको स्वाधीनता र भौगोलिक अखण्डतामाथि हस्तक्षेप अस्वीकार्य हुन्छ,’ घोषणापत्रमा उल्लेख छ। गैरआवासीय नेपालीलाई ‘सद्भावदूत’ का रूपमा परिचालन गर्दै नीति निर्माण र लगानी प्रवर्द्धनमा सहभागिता बढाउने योजना अघि सारिएको छ। घोषणापत्रमा विकासका लागि ५ आधारभूत उपलब्धि र लक्ष्य सार्वजनिक गर्दै विगतको कार्यकालका उपलब्धि र आगामी प्रतिबद्धता प्रस्तुत गरेको छ। एमालेले ७.५ प्रतिशत आर्थिक वृद्धि दर हासिल गर्ने लक्ष्य दोहोर्याएको छ। ‘१० लाख नेपालीलाई गरिबीको रेखाबाट माथि उठाउनेछौं,’ घोषणामा उल्लेख छ। साथै मानव विकास सूचकांकमा ५ बिन्दुले सुधार गर्ने प्रतिबद्धता पनि गरिएको छ।
२०७२ सालको विनाशकारी भूकम्पपछि ८ लाख ५० हजार निजी आवास निर्माण गरिएको दाबी गर्दै बाँकी संरचना पुनर्निर्माणलाई प्राथमिकता दिइने जनाएको छ। ७ हजार ५ सय विद्यालय र १ हजार ५ सय स्वास्थ्य संस्थाको पुनर्निर्माण तथा सांस्कृतिक सम्पदाको जगेर्नालाई निरन्तरता दिने उल्लेख गरिएको छ। पार्टीले आफ्नो नेतृत्वको सरकार हुँदा प्रतिदिन औसत ५ किलोमिटर सडक कालोपत्रे गरिएको दाबी गरेको छ। दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन सञ्चालन, आधुनिक रेल र सुरुङमार्ग निर्माणको सुरुवातलाई उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।
घोषणापत्रमा लोडसेडिङ अन्त्य गरी ऊर्जा निर्यातको चरणमा प्रवेश गरेको उल्लेख छ। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, मेलम्ची खानेपानी आयोजना सञ्चालन तथा संघीय संरचनाको निर्माणलाई राष्ट्रिय गौरवका उपलब्धि भनिएको छ। विकास आयोजनाको अनुगमनका लागि ‘एक्सन रुम’ सञ्चालन तथा ६५ जिल्लामा स्वास्थ्य बीमाको पहुँच विस्तार गरिएको दाबी पनि गरिएको छ। घोषणापत्र सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष ओलीले स्वागत मन्तव्य दिएका थिए भने विज्ञ तथा अर्थशास्त्रीसहितको प्यानल छलफल कार्यक्रम गरिएको थियो।
आगामी चुनाव देश बनाउने र भत्काउनेबीचको जनमत संग्रह : ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेको निर्वाचन देश बनाउने र भत्काउनेबीचको जनमत संग्रह भएको बताएका छन्। काठमाडौंमा बिहीबार घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले भदौ २४ को अपराध छोप्न केही तत्वहरूले ‘नयाँ शक्ति’को मुखुन्डो लगाएको आरोप लगाए। ‘आज देश यस्तो दोबाटोमा उभिएको छ, जहाँ एकातिर रिस, आवेग र आक्रोश छ, अर्कातिर विवेक र जिम्मेवारी छ,’ ओलीले भने, ‘भत्काउने र बनाउने दुई सोचबीचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छ।’
अध्यक्ष ओलीले एमाले निर्माणको पक्षमा रहेको बताउँदै भने, ‘हामी निर्माणका पक्षमा छौं, उत्तेजनाको पक्षमा होइनौं। हामी स्वाधीनता र सार्वभौमसत्ताका रक्षक हौं, त्यसैले जस्तोसुकै आक्रमणको बेलामा पनि मौन बस्दैनौं। हामी भय र त्रासमा बाँचेका समाजलाई शान्ति र सुव्यवस्थातर्फ फर्काउन चाहन्छौं।’ उनले एमाले विचारहीन र दिशाहीन स्टन्टबाट टाढा रहेको पनि स्पष्ट पारे ।
उनले भने, ‘हामी विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौं। हाम्रो गन्तव्य स्पष्ट छ, समृद्ध नेपाल, सुखी नेपाली। हाम्रो संकल्प स्पष्ट छ, सुशासन, विकास, समृद्धि, समानता।’अध्यक्ष ओलीले युवाहरूमा पुस्तान्तर र अन्तरपुस्ता द्वन्द्वको भ्रम छर्ने काम पनि भइरहेको बताउ। ‘फेरि अर्को भ्रम हाम्रोसामू चर्चा गरिँदैछ– पुस्तान्तरण र अन्तरपुस्ता द्वन्द्व! म आज स्पष्ट शब्दमा भन्न चाहन्छु– यो देश पुस्ताहरूबीचको द्वन्द्वले बनेको होइन र द्वन्द्वले बन्दैन पनि।’ उनले देश बनाउनको लागि युवाको ऊर्जा, जोश, हिम्मत र सपनाका साथै अनुभवि पुस्ताको दृष्टि चाहिने पनि बताए। ‘देश बनाउनका लागि युवाको ऊर्जा चाहिन्छ– त्यो जोश, त्यो सपना, त्यो हिम्मत जसले जस्तोसुकै कठिन पहाड पनि चढ्न सक्छ।’ उनले भने, ‘तर सँगसँगै, अनुभवि पुस्ताको दृष्टि पनि चाहिन्छ। त्यो बुद्धि, त्यो संयम, त्यो मार्गदर्शन जसले युवा लड्खडाउँदा भरोसा दिन्छ।’
उनले भदौ २३, २४ को राजनीतिक हुण्डरी र विध्वंशपछि फेरि अनिश्चयको तुवाँलो अझ बाक्लो गरी फैलिएको औंल्याएको बताए। ‘आज हाम्रासामु अर्को जिम्मेवारी थपिएको छ। सिंहदरबार, अदालत, संसद् भवन, र अन्य जलाइएका संरचनाहरूको पुनर्निर्माण गर्नुछ। निजी र व्यावसायिक क्षेत्रको ढलेको मनोबल उठाउनु छ’, उनले भने, ‘शान्ति सुव्यवस्थाप्रति भरोसा फर्काउनु छ। यो काम भावनाले मात्र होइन, अनुशासन, योजना तर्जुमा र त्यसको कार्यान्वयनले हुन्छ। विगतका ट्रयाक रेकर्डले बोल्छ, यी काम एमालेले मात्र गर्न सक्छ।’
एमालेले सरकारको नेतृत्व गरेदेखिका विगतका अभिलेख पनि अध्यक्ष ओलीले प्रस्तुत गरेका थिए। ‘एमालेसँग विगतका कामका अभिलेखहरू छन्। आन्दोलनमा मात्र होइन, नीति, सुशासन, र विकास निर्माणमा पनि,’ उनले भने, ‘हाम्रो कार्यशैली पनि जनताले चिनेको छ। लक्ष्य तोक्ने, समयसीमा तोक्ने, काम सुरु गर्ने, काम पूरा गर्ने। कागजमा होइन, व्यवहारमा।’
ओलीले भदौ २३ र २४ गतेको राजनीतिक हुण्डरी र विध्वंशले संविधान र समग्रह व्यवस्थामा नै धावा बालेको बताए। उनले भने, ‘भदौ २३, २४ को राजनीतिक हुण्डरी र विध्वंश पछि फेरि अनिश्चयको तुवाँलो अझ बाक्लो गरी फैलियो र लामो संघर्षको उपलब्धि संविधान र समग्र व्यवस्थामाथि धावा बोलियो। स्वाधीनता र स्वाभिमानमाथि आक्रमण गरियो।’




0 Comments