काठमाडौं ः पशुपतिनाथको नाममा काठमाडौं उपत्यकामा मात्र १८ हजार रोपनी जग्गा छ । आनाकै लाखौं पर्ने उपत्यकाभित्रको यति धेरै जग्गाको आयस्ता गणना गर्ने हो भने पशुपतिनाथले यसबाट मात्रै अरबौं कमाउन सक्छ । तर यति जग्गावापत उसको वार्षिक आम्दानी ७४ लाख मात्रै छ। समय सापेक्ष आम्दानीमा समायोजन नभएको दसकौं भइसकेको छ । जग्गा जमिन अथाह भए पनि त्यसबाट आउने भाडा÷भूबहाल अत्यन्त न्यून छ । जग्गा बहुमुल्य भएको अवस्थामा अन्नबाली नै कुत लिने र त्यो पनि एकदमै न्यून लिने चलन अहिले पनि पशुपतिमा विद्यमान छ । पशुपति क्षेत्र विकास कोषका तीन वटा कार्यलयले वार्षिक ७४ लाख १७ हजार ९५३ रुपैयाँ मात्रै कुत पाउने गरेको कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए । संस्कृति मन्त्रालयले थापाको संयोजकत्वमा एक वर्षअघि गठन गरेको श्रीपशुपतिनाथको गुठी जग्गा छानविन तथा संरक्षण समितिले पशुपतिनाथको नाममा १८ हजार आठ सय ८२ रोपनी जग्गा रहेको प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा उक्त जग्गावापत करिब ७४ लाखमात्र आम्दानी हुने देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पशुपतिको १ हजार १ सय २६ रोपनी जग्गा उपभोग छ । यसले पनि केही वर्षअघि मात्र तत्कालीन संस्कृतिमन्त्री आनन्दप्रसाद पोखरेलको पहलमा बढाएर वार्षिक १ करोड रुपैयाँ भाडा कोषलाई बुझाउन थालेको हो । यो पनि समय सापेक्ष छैन । हयात रिजेन्सी होटलले १७ रोपनी जग्गा ओगटेको छ । मासिक करोड हाराहारी कमाउने उसले कोषलाई भने वार्षिक केवल ३४ हजार भाडा तिर्छ । तिलगंगा आँखा अस्पतालले विगत ३ वर्षयता ५ रोपनी वापत वार्षिक २ लाख रुपैयाँ कोषलाई दिँदै आएको छ । त्यसभन्दा पहिले उसले निशुल्क रुपमा पशुपतिको जग्गा प्रयोग गर्दै आएको थियो । वनकाली धर्मशालाले १० रोपनी र प्राणनाथ क्याफे करिब ४ रोपनी जग्गा उपयोग गरिरहेछन् । उनीहरुले पनि कोषलाई न्यून भाडा तिर्दै आएका छन् । पुशपति भण्डार तहविल, पशुपति आमकोट कचहरी, जयबागेश्वरी भण्डार मातहतमा ४ हजार ४ सय १३ रोपनी जग्गा छ । जसमा २ सय ३१ रोपनी १० आना जग्गा गायब छ, जसको कुनै लगत नै पशुपतिसँग छैन । तीनै कार्यालय अन्र्तगतको ४ हजार २८१ रोपनी १३ आनाको लगत छ । लगत भएको जग्गा वापत न्यून कुत उठ्ने गरेको छ । पशुपतिले धान, सरुवा चामल, मार्सी फलुवा चामल, तेल लगायतको भूवहाल÷भाडा लिने गरिएको छ । पशुपति भण्डार तहविलले १ हजार ८ सय ६३ मुरी ८ पाथी ५ माना ३ मुठी धान कुत वापत पाउँछ । यसका अलावा १२ हजार ७ सय ९३ रुपैयाँ नगद बुझ्छ । दुवै गरेर वार्षिक ३७ लाख ३९ हजार ६ सय ६२ रुपैयाँ धान वापतको आम्दानी हुने गरेको छ । पुशपतिले सरुवा चामल ५ मुरी १६ पाथी ६ माना ५ मुठी र नगद ५० गरी २७ हजार ५ सय ७१ रुपैयाँ कुत वर्षेनी पाउँछ । उसले मार्सी फलुवा चामल ६४ मुरी ७ पाथी ६ माना ८ मुठी र नगद ३ सय ३३ गरी ५ लाख ३६ हजार २ सय ५० कुत बुझ्छ । यसैगरी तेल वापत २ मुरी १६ पाथी ७ माना ८ मुठी र ७५ रुपैयाँ कुत आउँछ । आधा धान ३० मुरी २ माना ४ मुठी गरी ३० हजार ३ रुपैयाँ, ठेकको १ लाख ३ हजार ८ सय ६४ रुपैयाँ आम्दानी पनि आम्दानी देखिन्छ । पशुपति अमाल तहविलले ६ सय ५९ मुरी ६ पाथी २ माना ७ मुठी गरी १३ लाख १८ हजार ६ सय ४२ धान कुत पाउँछ भने ४ लाख ९१ हजार ७४ नगद पाउने गरेको तथ्यांक छ । जयबागेश्वरी भण्डारले भूवहाल÷ भाडाको ११ लाख ७० हजार ८ सय १२ रुपैयाँ कुत वापत प्राप्त गर्दै आएको छ । कुत वापत ५ सय ८५ मुरी ८ पाथी १ माना पाउँदै आएको छ । जयवागेश्वरीले ३ हजार ७ सय ७१ रुपैयाँमा चित्त बुझाउनु परेको छ । कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि कोष सञ्चालक परिषद्को बैठकमा प्रस्तुत गरिने जानकारी दिए । परिषद्को अध्यक्ष संस्कृति मन्त्री हुने व्यवस्था छ । ‘प्रतिवेदन माथि व्यापक छलफल हुनेछ, बैठकले निकालेको निचोड र निर्देशन अनुसार काम अगाडि बढाउने छौं’, उप्रेतीले भने । कोषका सदस्य सचिव डा. प्रदीप ढकालका अनुसार आगामी आर्थिक वर्षभित्रै कुतबाली वापत आउने आम्दानीको पुनरावलोकन गरिनेछ । उनले भने, ‘उपभोग र प्रयोगका आधारमा भाडा र भूबहाल सच्याइने छ, व्यावसायिक हो वा अन्य प्रयोजनको लागि हो सोही अनुसार नै मापदण्ड बनाई नयाँ ढंगबाट असुलउपर गरिने छ ।’ उनका अनुसार पशुपति क्षेत्र विकास कोष ऐन २०६८ ले कोषको अधिनमा रहेका जग्गा, सम्पत्ति लगायत जायजेथामा आवश्यक परिमार्जन गर्न पाउने साथै कर निर्धारण गर्न पाउने अधिकार दिएको छ ।
0 Comments