केको नो नट अगेन ? म्याराथनमा मसँग दौड न : कांग्रेस प्रचण्डपथमा गइसक्यो

 


https://annapurnapost.com/news/why-not-again-dont-run-a-marathon-with-me-216033

देश निर्वाचनको संघारमा छ। एकातिर सत्तारुढ गठबन्धन छ, अर्कातिर एमाले नेतृत्वको गठबन्धन। परमादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएयता सत्ता गठबन्धन निरन्तर छ। चुनावमा एमालेलाई खुम्च्याउने उसको रणनीतिमा दर्बिलो भिडन्त गरिरहेछ एमाले पनि। यही सेरोफेरो अध्यक्ष ओलीसँग अन्नपूर्ण पोस्ट्का अखण्ड भण्डारी र सुरेन्द्र काफ्लेले गरेको कुराकानीको सम्पादित अंश आजको मूल मुद्दामा–

२० वटा ग्यारेन्टीसहितको घोषणापत्र हाइटेक र बडो तामझामसाथ ल्याउनुभयो। ती ग्यारेन्टी पूरा हुने ग्यारेन्टी के छ ?

यो नेकपा (एमाले) को वचन, प्रतिबद्धता, संकल्प, अठोट र प्रतिज्ञा हो। घोषणापत्रमा आगामी दिनमा एमालेले गर्ने कामलाई ग्यारेन्टीका रूपमा प्रस्तुत गरिएको छ। एमाले सरकारमा जाने भनेको जान र गएर आरामसाथ बस्न होइन। पैसा बटुल्न होइन। आफन्त, नातागोता, आफ्नो गुटको भलाइका लागि कर्म/कुकर्म गर्न होइन।

एमाले सरकारमा जाने भनेको राष्ट्रियता, लोकतन्त्र, जनजीवीका, सुरक्षा, देश विकास, उन्नति, सुशासन, सामाजिक न्याय र समानता अभिवृद्धि, निर्भयतापूर्वक सम्मानित जीवन बिताउनेजस्ता प्रश्नको समाधान दिन हो। जनतालाई समस्याबाट मुक्त गर्न, उन्नत, सहज, सुविधायुक्त, अधिकारसम्पन्न, अवसरसम्म पुग्ने सामथ्र्ययुक्त जीवन दिन एमाले सरकारमा जाने हो। त्यही प्रतिबद्धता त्यहाँ गरिएको छ। 

तर, ती पूरा हुने ग्यारेन्टी के ?

किन एमाले बढिरहेको छ, अरू पार्टी घटिरहेका छन् ? अरूले घोषणापत्रमा भनेका कुराको केही अर्थ छैन। किनभने, ती छाप्नका लागि छापिएका, चुनावमा केही गर्नै पर्ने भएकाले गरिएका हुन्। एमाले त्यस्तो होइन। एमाले त देश बनाउने अभिभारा काँधमा बोकेर देश बनाइसक्ने संकल्प गरेर अगाडि बढेको पार्टी हो। त्यसैले यसले जुन ग्यारेन्टी भन्छ, ग्यारेन्टी हो। राष्ट्र बैंकले कुनै नोटको भुक्तानी माग्न आएमा तुरुन्त उपलब्ध गराउने छ भनेर लेखेजत्तिकै ग्यारेन्टी हो। जसरी पैसा कागजको खोस्टो मात्र होइन, हाम्रो घोषणापत्र पनि त्यस्तै हो। त्यसका पछाडि जिम्माजमानी छ– एमाले। एमालेले कामबाट त्यसको भुक्तानी गर्छ। तपाईंले ५ वर्षपछि त प्रश्न गर्न सक्नुहुन्छ नि, ‘खोइ त ग्यारेन्टी ?’ भनेर। 

उसो भए ५ वर्षमा २० वटा विषयमा एमालेसँग जो–कोहीले भुक्तानी माग्न गए हुन्छ ?
हुन्छ। कृषि, उद्योग, सामाजिक सेवा, पर्यटन, व्यापार, व्यवसाय, सञ्चार, रोजगार, प्रविधि, स्वास्थ्य, शिक्षा– के छैन त्यसमा। सबै चिज समेटेर २० ग्यारेन्टी। यिनको भुक्तानी माग्न आए हुन्छ। 

२०७४ को घोषणापत्रमा ‘ग्यारेन्टी’ शब्द नलेखिएकाले केही कुरा पूरा नभएका हुन् ? जस्तो : रेल, पानीजहाज, घरघरमा ग्यासको पाइप आदि...पूरा भएको छ। जनकपुर जानुहोस्। मैले घर–घरमा रेल भनेको थिइनँ। सिस्नुपानीवालाले ‘घरघरमा रेल ल्याउँछु भन्थ्यौ खोइ त रेल’ भनेको मात्र हो। यति सारो पूर्वाग्रही भएर एमालेलाई हेर्नुपर्ने त होइन होला। अरूका अकर्मण्यतासँग सन्तुलन मिलाउन खोजेको हो भने यो अलि भएन। व्यंग्य भनेको कमजोरीमा प्रहार गर्ने हो। सही कुरालाई तोडमोड गरेर ब्यंग्य हुँदैन। 

तर, पूरा नभएको त हो नि !

जतिबेला देशमा नाकाबन्दी थियो। देश भोकभोकै पर्ने अवस्था थियो। काठमाडौं राजधानीमा हामीले सुनजस्तै तराजुले तौलिएर दाउरा बेच्नुपरेको थियो। तराजुले तौलिएर, राजधानीमा। दाउरा बाल्न चम्का बनाउन खोलाबाट ढुंगा खोजेर ल्याउनु परेको थियो। त्यस्तो हालतमा देश भएको बेला, न इन्धन, न आवा, न गमन– हो, त्यो समयमा हामीले भनेका थियौं, ‘ठूला सहरमा घर–घरमा ग्यास पाइप पुर्‍याइनेछ।’

त्यो भयो त ?

अब मरियो। अब केही छैन। बाँकी भविष्य अन्धकार छ। कुनै उपाय छैन, अब मर जनता हो भन्ने ? हामीले जनतामा आशावाद जगाउनुपथ्र्यो। सुदिन फर्किन्छ।

आज विभिन्न कारणले अँध्यारो र जाडो भए पनि उज्यालो, न्यानो, भर्भराउँदो दिन आउनेछ। लक्ष्मीप्रसाद देवकोटाले भनेजस्तो– 
सुनको दिन एक उदाउँछ रे
यस देश खुलिकन आउँछ रे 
निराशा छाउन नदिन फेरि सुखका दिन ल्याउँछु भनेर नेतृत्वले भन्नु पथ्र्यो नै। निराश कुरा गर्नुहुँदैन थियो। घरघरमा साना औंलाजत्रा पाइपको मात्र कुरा होइन, अमलेखगन्जमा त हामीले ठूलै पाइपबाट ध्वारर्र धारै झारेका छौं त पेट्रोलको। पाइपमा आउँदो रहेनछ यहाँ ? विभिन्न देशमा ग्यास पाइप चुला–चुलामा पुर्‍याएको छ। तर, हाम्रो देशमा हामीले भन्यौं। कोसिस पनि गर्‍यौं। 

के–के कोसिस गर्नुभयो ?

हामीले आफ्नै पेट्रोलियम पदार्थको अन्वेषण गर्‍यौं। दैलेखमा छ भन्ने पत्ता लगायौं। अब उत्खननको चरणतिर जाँदैछ। तर, अब हामी जैविक ऊर्जालाई प्राथमिकता दिनेछौं। हामीकहाँ पर्याप्त पानी छ। त्यसबाट बिजुली निकाल्न सकिन्छ। हामीकहाँ पानी छ। हामीले युरेनियम र आणविक पदार्थ खोज्नु परेको छैन ऊर्जाका लागि। हामीलाई कोइला, भुस आदि पनि चाहिन्न। अब हामी विद्युतीकरणतर्फ जान्छौं र सवारी साधनलाई पनि विद्युतीय बनाउँदै लान्छौं। उद्योगहरूलाई पनि विद्युत्बाट चलाउने गराउँदै जान्छौं। नवीकरण ऊर्जातर्फ जान्छौं। हावाबाट, घामबाट बिजुली निकाल्न सकिन्छ। त्यता जान्छौं अब। 

तर, तपाईंकै टिकाटिप्पणी किन हुन्छ ?

सुरुङमार्गभन्दा मलाई मजाकमा उडाए। रेलभन्दा उडाए। जनकपुरमा हामीले रेल ल्यायौं त। सम्भव रहेछ त। सम्भव छ– पूर्व–पश्चिम रेल, उत्तर–दक्षिण रेल। काठमाडौंको कनेक्सन दिल्लीसँग हुनसक्छ। बेजिङसँग हुन सक्छ। यी अनौठा कुरा गरेका छैनौं। हामीले पूर्व–पश्चिम रेलको सर्भे गरेका छौं। कतिपय ठाउँ रोक्का गरेका छौं। कतिपय ठाउँमा समस्या समाधान गर्नुपर्छ। हुलाकी राजमार्ग दुई वर्षमा बनाउन सकिन्छ भनेर कसले सोचेको थियो ? बनायौं त। मदन भण्डारी राजमार्ग तत्काल बनाउन सकिन्छ भनेर कसले सोचको थियो ? हामीले दुई–तीन वर्षमै बनायौं त। पहाडबाट पुष्पलाल राजमार्ग जान्छ भनेर कसले सोचेको थियो ? खोला–खोलाका किनारबाट करिडोर जान्छ भनेर कसले सोचेको थयो ?अन्तरीक्षमा स्याटलाइट पठाउनुपर्छ भन्ने सोचेको थिए होला त ? टनेल (सुरुङ) भन्दा मान्छे छक्क पर्थे। पहिला पहिला मैले टनेलको कुरा गर्दा गीतै बनाएका थिए।

२०७४ मा वाम गठबन्धनको नेता हुनुहुन्थ्यो। साझा घोषणापत्र थियो। जता गयो, उतै माहोल थियो। अहिले तपाईंलाई नै चेप्ट्याउन अर्कातिर गठबन्धन खडा छ। कस्तो फरक महसुस गरिरहनुभएको छ ?

त्यतिखेर एमालेले माओवादीलाई लिएर चुनावी तालमेल गरेको थियो। त्यो राष्ट्रियस्तरमा थियो। प्रचण्डले त्यसलाई तोड्नुभयो र जानुभयो। उहाँका ग्रहदशा ठीक थिएनन्। उहाँलाई साढे सातको दशा लागेको थियो। शनि टाउकोमाथि परेको थियो। उहाँमा एकखालको छटपटी थियो। उहाँले त्यसलाई गतिशीलता भन्दै हिँड्नुभयो। तर, त्यो दृष्टिविहीनता थियो। र, उहाँ अलग भएर जानुभयो। उहाँको मतिभ्रष्ट भयो। मतिभ्रष्ट भएपछि मान्छेले नराम्रो, गर्न नहुने र नचाहिने काम गर्छ। त्यही भएर उहाँ जोडेको पार्टी फुटाउने, आफ्नो बहुमत सरकार ढाल्नेतिर अर्कालाई जम्ल्याहाहात गर्दै पुग्नुभयो। कत्रो सान थियो प्रचण्डको ? लगभग दुईतिहाइमा पुर्‍याएको पार्टीको अध्यक्ष हुनुहुन्थ्यो। तर, उहाँ ठूलो बाढी हुनुहुन्थ्यो।

निमर्मताको बाढी। प्रचण्डले खहरेजस्तै एक समय एक वर्ष एक बाढी ढुंगा पल्टाएर हिँड्नुभयो। उहाँको पार्टी सुक्खा बगर हुन लागेको थियो। मैले बचाएँ। त्यो तथ्य उहाँले बुझ्नुभएन। मैले नाकमा अक्सिजनको पाइप राखेको आइसियूबाट निकालेर प्रचण्डको दललाई जीवनदान दिएको थिएँ। तर, मलाई नै पार्टी अध्यक्षमात्र होइन, सदस्यबाट समेत त्यो पनि सडकबाटै निकालिदिनुभयो। विनासकाले विपरीत बुद्धि। अब प्रचण्डको हैसियत के छ ? सुन्नु भएकै होला, आफैंले तेस्रो पार्टी हुन्छु भनेको। अब माओवादीको बिचौलियाको हैसियत रहँदैन। एमालेले बहुमतको सरकार बनाइहाल्छ। माओवादीको यो निर्वाचनमा अलिकति अस्तित्व रहन्छ। यसपटक माधव नेपालको पार्टी राष्ट्रिय पार्टी हुँदैन। अर्को पटक प्रचण्डको पार्टी पनि पार्टी रहँदैन। लेखेर राख्नुहोस्। 

तपाईंको मूल्यांकनमा कांग्रेस कत्रो हुन्छ ?

कांग्रेस दोस्रो पार्टी हुन्छ। एमालेपछि धेरै मार्जिनमा दोस्रो हुन्छ। यसपछि धेरै मार्जिनसहित माओवादी तेस्रो हुन्छ। चौथो पार्टी माओवादी वा जसपा हुन्छ। जसपा र माओवादी गोलाप्रथा गरे हुन्छ। पाँचौं पार्टी राप्रपा हुन्छ। यो पटक राप्रपा राष्ट्रिय पार्टी हुन्छ। किनभने, केही–केही स्थानमा एमालेसँग मिसिएको छ। जुनसुकै नदी गंगामा गएर मिसिन्छ तब पवित्र हुन्छ। 

अर्थात्, राप्रपासँगको गठबन्धनचाहिँ पवित्र ?

यो गठबन्धन जति देश र अग्रमनविरुद्ध छ, त्यति राप्रपा छैन। तीव्र गतिमा विकास गरेको वामपन्थी सरकार राप्रपाले ढालेको होइन। यो अपराध गठबन्धनले गरेको हो। सेटिङवाला पनि राप्रपा होइन। नाम राप्रपा भयो भनेर गलत हुने ? अनि, यिनीहरूले गरेको अपराधचाहिँ पवित्र हुन्छ ?

कांग्रेससँग चाहिँ तपाईंको दुःख मनाउ के हो ?
म कांग्रेसकाबारे धेरै भन्दिनँ। कांग्रेसका कार्यकर्ता नेताको लामो इतिहास छ। लामो योगदान छ। तर, अहिलेको कांग्रेस नेतृत्व त्यो कांग्रेस होइन। यो त प्रचण्डपथमा हिँडेको छ। प्रचण्डको गाइडेन्समा चलेको छ। यो कांग्रेसले के गर्‍यो ? एउटा पनि भन्न राम्रो र उल्लेख गर्न लायक काम देखाइदिनुहोस् त कांग्रेसले गरेको।

देश र राष्ट्रियताको पक्षमा कांग्रेसले के गर्‍यो ? इतिहासमा के गर्‍यो ? बरु २००७ मा प्रजातन्त्र आएपछि २००८ साल कम्युनिष्टमा पार्टीमा प्रतिबन्ध लगायो। २०१३ सालमा टंकप्रसाद आचार्य प्रधानमन्त्री भएपछि मात्रै प्रतिबन्ध खोलियो। केआई सिंहलाई नेपाली सेनाले होइन विदेशी बोलाएर थुनियो। रामप्रसाद राईहरूलाई लखेटियो। भीमदत्त पन्तलाई बाहिरका सेना बोलाएर गिरफ्तार गरियो। अनि, हत्या गरियो कोसी गण्डकी, टनकपुरतिर जान चाहन्न म। अहिलेको नेतृत्व त झन् एसपीपीतिर लाग्यो। कांग्रेसका कार्यकर्ताले कसरी मन थामेका होलान्, कसरी सहेर बसेका होलान् ! 

अहिले राजनीतिक दलप्रति वितृष्णाजस्तो देखिएको छ। स्वतन्त्र उम्मेदवारहरू स्थानीय तहमा फाट्टफुट्ट रूपमा केही विशेष स्थानीय तहमा जिते। अहिले पनि स्वतन्त्र उम्मेदवारको सक्रियता देखिन्छ। खासमा के भएर यस्तो परिस्थिति आइरहेको छ, जस्तो लाग्छ ?

यो कुनै परिस्थिति नै होइन। लोकतन्त्रविरोधी शक्तिहरूले शासन चलाएर आएकै देखिएको देश हो यो। सात सालमा लोकतन्त्र विरोधीहरूको एउटा मुुख्य गढ, एउटा किल्ला राणा शासन हटाइयो। त्यसपछि कम्युनिष्ट पार्टीमाथि दमन, प्रतिबन्ध, आदिको कारणले कम्युनिष्ट पार्टी अगाडि जान सकेका थिएनन्। कांग्रेसले एकल दुईतिहाइ ल्याएकोे डेढ वर्ष पनि चलाउन सकेन। त्यसपछि देश प्रतिगमनतिर गयो। फेरि निर्दलीय चल्यो। पछि ज्ञानेन्द्रले शासन लिँदा स्वागत गर्ने तमासा गरिएन ? अभिनन्दन गर्ने तमासा गरिएन ? प्रचण्डहरूले तमासा गरेनन् ? रोल्पा रुकुम लगेर ज्ञानेन्द्रलाई ? सेना जान नसक्ने, ज्ञानेन्द्र जानसक्ने ? यिनीहरूले त सीपले भ्याएसम्म पुष्पगुच्छा र मालासँगै महाराजकी जय भन्दै कति नारा लगाएका हुन् ? को थियो त त्यहाँ माओवादी बाहेक ? अरू पोलिटिकल पार्टीको उनीहरूले अस्तित्व नै स्वीकार गर्दैनथे। को थियो त्यहाँ ? जयगान चलेको होइन ?

स्वतन्त्रको प्रभाव बढेको ठान्नुहुन्न ?

आज विभिन्न ढंगले दल चाहिँदैन, बहुदलीय व्यवस्था ठीक छैन भन्ने एउटा वातावरण बनाउँदैछन्। घण्टी त घण्टाकर्णले पनि बजाएको थियो। राम्रा कुरा सुन्दिन। कसैको सम्मान गर्दिन। कसैको योगदानको कदर गर्दिन। अनास्थावाला। त्यसलाई भन्छन्, नास्तिक। अनास्थावाला, अविश्वासवाला, भ्रमवाला त्यस्ता कुरा गर्छु भनेर हिँड्थ्यो घण्टाकर्ण। कानमा घण्टी बजाएर, राम्रा कुरा सुन्दैन भनेर। यो सबै के हो भने बहुदलीय लोकतान्त्रिक प्रणालीकाविरुद्ध रचिएको एउटा व्युहरचना हो। यो स्वतःस्र्फूत केही होइन। एकाध मान्छेलाई मन लाग्छ स्वतन्त्र उठ्छ। कहीँ आफूलाई धक्का लाग्यो भने स्वतन्त्र उठ्छ। त्यो बेग्लै कुरा हो। यहाँ त स्वतन्त्र मात्रै होइन, स्वतन्त्रहरूको पार्टी भनेर एउटा पार्टी छ। अनि अरूहरू दासहरूको पार्टी हुन् ? पार्टी भनेपछि त स्वतन्त्र पार्टी भन्ने हुन्छ ? स्वतन्त्रले दलीय व्यवस्थाकै विरोध गर्दै, दलीय व्यवस्थाको प्रणालीमा सहभागी हुने, दलीय व्यवस्थाको विरोध गर्ने, दलीय व्यवस्था, दलीय लोकतान्त्रिक प्रणाली स्थापनाका लागि लडेका, बलिदान गरेका, त्याग तपस्या गरेका, दुःख गरेकाहरू निन्दा गर्ने, त्यो काम गर्दैन।

त्यसकारण जो स्वतन्त्र, स्वतन्त्र हुँ भन्छ। दलीय प्रणालीभित्र पसेर, दलीय प्रणालीमा सहभागी हुन्छ। दलीय प्रणालीको निन्दा र विरोध गर्छ। दलीय प्रणालीले प्राप्त गरेका उपलब्धिमा इन्जोइ गर्छ। त्यसमा योगदान गर्नेहरूलाई अपमान गर्नु आफ्नो कर्तव्य ठान्छ भने त्यो बुझ्नुपर्छ, त्यो कतैबाट सञ्चालित, योजनाबद्ध ढंगले परिचालित, लोकतन्त्रविरोधी कसैले आयोजना गरेको यो तमासा हो। चाहे डमरु बजाओस्। चाहे घण्टी बजाओस्। 

नो नट अगेन अभियानलाई कसरी लिनुभएको छ ?
नो नट अगेन भनेको नि राजा पायो भने त जिन्दगी भर राजा रहनुपर्छ त भन्छन् नि त ? नो नट अगेनवाला उसको छोरैले पाउनुपर्छ भन्छन्। यहाँ लोकतन्त्रमा चाहिँ कम्पिटिसन गर्दा नो नट अगेन भन्छन्। म्याराथनमा मसँग दौड न ? किन नो नट अगेन। सकेन भने त म पछाडि परिहाल्छु नि ! पार्टी खोल। चलाउन पार्टी। चुनाव लड। जित। ह्वाइ नो नट अगेन ? माओवादीलाई भन ठीक छ। कांग्रेसलाई भन नो नट अगेन। शेरबहादुरलाई भन। प्रचण्डलाई भन। माधवलाई भन। ह्वाइ अगेन ? सोध। तर, यो प्रश्न मलाई सुहाउँदैन। चीनतिरबाट बाटो खोलेकोमा नो नट अगेन ? गुमेको भूभाग समेटेर नक्सा छापेकोमा नो नट अगेन ? रेल ल्याएकोमा नो नट अगेन ? आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याएकोे हुनाले नो नट अगेन ? अथवा कोभिडको मुकाविला राम्ररी गरेर विकसित देशभन्दा कम क्षतिमा कोभिडबाट उन्मुक्ति पाएकोमा नो नट अगेन ? कार्य क्षमता देखाएकोमा, देशभक्ति देखाएकोमा, जनताप्रतिको प्रेम देखाएकोमा, उत्तरदायित्व देखाएकोमा, इतिहासमा नहटेको सडक बालबालिका, सडक मानव हटाएकोमा, जेष्ठ नागरिकहरूलाई हेरविचार गरेकोमा कि भन्नुुपर्‍यो ?

तपाईंको पालामा बनाइएको नक्सा बमोजिमको भूमि कहिले फिर्ता हुन्छ ?

त्यो समय लाग्छ। समय आउँछ। यो नक्सा मात्र छाप्नका लागि होइन। भूमि फिर्ता लिनका लागि हामीले गरेका हौं। त्यसकारण यो फिर्ता हछ।  

पार्टीभित्रकै कुरामा जाऔं। तपाईंले पार्टीभित्र काखापाखा गर्नुभयो भन्ने आरोप पनि छ। चुनावमा टिकट बाँड्दा पनि आफ्नो मान्छेलाई मात्र बाँड्नुभयो भन्ने आरोप छ। घनश्याम भुसालले त पार्टी नै छोड्नुभयो। भीम रावलले त बडो आपत्ति जनाएर पत्रकार सम्मेलन गर्नुभयो। खास के हो यो विषय ?

भीम रावलले पत्रकार सम्मेलन गरेको, पार्टीका निर्णयको, नीतिको, नेतृत्वको विरोध गरेको पहिलोपल्ट होइन। उहाँ त साप्ताहिक वा पाक्षिक पत्रकार सम्मेलन गरिरहनुहुन्छ। पार्टीको विरोध गरिरहनुहुन्छ। सधैं गर्नुहुन्छ। कामै त्यही हो। उहाँ उपप्रधानमन्त्री हुनुभएन कि ? मन्त्री हुनुभएन कि ? कति पल्ट मन्त्री हुनुभयो ? कतिपल्ट सांसद हुनुभयो ? तर, पार्टीको पक्षमा त बोल्नुहुन्न। घनश्याम भुसालले पार्टीको पक्षमा बोलेको तपाईंले कहिल्यै सुन्नु भएको छ ? को रहेछन् त उनी ? उम्मेदवार नै नपाउने बित्तिकै कहाँ साँठगाँठ ? कहाँ कनेक्सन ? तार कहाँ बेरिएको रहेछ ?मेरा लागि आफ्ना को ? मेरो श्रीमती ? मेरो छोरा, मेरो ज्वाइँ ? मामाको छोरो, माइजू कसले पाए ?

मालेले बहुमतले बहुमतको सरकार बनाउँछ भनिरहेको छ ? कति सिट ल्याउने आकलन गर्नुभएको छ ?
– मिसन १५०। १५० सिट हाम्रो गन्तव्य हो। 

अनि, रियालिटी ?
घट्यो भने १४० पुग्ला। 

भुत्तानी लिन कहिले आउने त ?
निर्वाचनमा एक्युरेट हुन्छ भन्न सकिँदैन किन भने यो मतचाहिँ जनताको हातमा हुन्छ। त्यसकारण एक दुई सिट त तल माथिको कुरा हो। मिसन १५० नै हो। 

अब पनि वाम गठबन्धनको सम्भावना कत्तिको छ ?
अब कहाँ वामपन्थी छन् र उनीहरू ? वामपन्थी तोडेर, फोडेर, वामपन्थी घर भत्काएर अनि कांग्रेसका पालिमा बास बस्न गएका होइनन् उनीहरू ? केका वामपन्थी। खापपन्थी हुन् यिनीहरू, हामपन्थी। 

एक दुई वाक्यमै भन्नुपर्दा एमालेलाई किन भोट दिने जनताले ?
एमाले बाहेक अरूलाई भोट दिने ठाउँ नै छैन जनताको।




Post a Comment

0 Comments