प्रश्न : के हो ‘ओली फोबिया ?’, उत्तर : ...कुछ तो जरुर है !

 


प्रश्न : के हो ‘ओली फोबिया ?’, उत्तर : ...कुछ तो जरुर है !

375Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

एमालेले झुलाघाट–चिवाभन्ज्याङ ‘संकल्प यात्रा’ पूरा गरेको छ। तपाईं पनि १९ दिन त्यो यात्रामा रहनुभयो। यो किन थियो ?  

हाम्रो यात्रा मध्यपहाडको हो। मध्यपहाड केन्द्रित, मध्यपहाडका विषय केन्द्रित र मध्यपहाडका समस्या केन्द्रित। त्यहाँ सम्भावना के छन् ? ती सम्भावनालाई सहज पूर्ति हुन नदिन के–के व्यवधान छन् ? तिनको समाधान कसरी गर्न सकिन्छ ? भन्नेमा केन्द्रित हो। यसको प्रभावबारे, हामीले भनेका थियौं– सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय।

संकल्प यात्रामा मध्यपहाड कस्तो पाइयो ? 

मध्यपहाड भेगमा आत्मनिर्भर अर्थतन्त्र छ। एक खालको स्वतन्त्र अर्थतन्त्रको नमुना छ त्यो भेग। जहाँ प्रशस्तै खाद्यान्न उब्जिन्छ। तर, दुर्भाग्य, त्यहाँ पछिल्लो समय विश्रृंखलता आएको छ। विकासका सबैखाले पूर्वाधार पुग्ने तर जनताले त्यसको सदुपयोग गर्न छोडेर पलायन हुने क्रम बढेको छ। यस्ता कुराको गहन अध्ययन, विश्लेषण, परिवर्तित प्रवृत्ति पहिचान एवम् प्रभावमाथि चिन्तन आवश्यक छ भन्ने अनुभूत भएको छ। 

मध्यपहाडको सघन समस्या के रहेछ ? 
त्यहाँको सबैभन्दा सघन समस्या राजनीति नै हो। अलिकति राजनीति सङ्लिएकोे बेला विकासको पूर्वाधार पुगेको देखिन्छ। बाटो, बिजुली, विद्यालय, खानेपानी, अस्पताल, सञ्चार ती सबै कुरा राजनीति सङ्लिएको बेला पुगेका हुन्। जब राजनीतिमा कचपच भयो, यसले बाटो बिरायो, तब तिनको सदुपयोग हुन सकेन। अब हाम्रो जिम्मेवारी भनेको त्यसलाई सदुपयोग गर्ने परिस्थिति निर्माण गर्नु हो। 

मध्यपहाडका जनताको मनोभावना कस्तो पाउनुभयो?
मध्यपहाडका जनता प्रणालीसँग असन्तुष्ट छन् भन्ने होइन। काठमाडौंमा बसेका, जीविकाका लागि लेख्नेहरूले नुनको सोझो चिताई लेखेका, गरेका प्रचारहरूभन्दा जनताका कुरा फरक छन्। सहरमा प्रणालीमाथि जुन अनास्था छ, त्यो ग्रामीण क्षेत्रमा देखिँदैन। एउटा हावाको पछि कुद्ने प्रवृत्ति त्यहाँ फिटिक्कै छैन।

लोकतन्त्र र गणतन्त्रप्रतिको आस्था कस्तो छ ? 
लोकतान्त्रिक गणतन्त्रप्रतिको आस्था बलियो छ। अझ बलियो बनाउन सकिन्छ। पहिचानको नाममा केही ठाउँमा सामाजिक सद्भाव भड्काउने षड्यन्त्रको व्यापार गर्न खोजिएको छ। तर, त्यो त्यहाँ बिकिरहेको देखिँदैन। त्यो प्रवृत्ति, सोच, विचार र व्यापार चलेको देखिँदैन। 

मध्यपहाडमा युवा पलायनको विषय उठाउनुभयो, तिनलाई देशमै रोक्न के गर्न सकिन्छ ? 
विकास, भएका पूर्वाधार, सुविधा र प्रविधिको सदुपयोग नहुँदा र गर्न नसिकाउँदा युवाको पलायन भएको हो। राज्यसँग संयन्त्र र बजेट छ। सदुपयोग गर्न उसले सिकाउनु पर्‍यो। तालिम दिनु पर्‍यो। सुरुवाती पुँजी दिनु पर्‍यो। तर, त्यसो भएन।

विगत हेर्‍यो भने अहिले सरकारमा हुनेहरूबाटै पलायनको प्रवृत्ति सुरु भयो। हिंसाको बेला गाउँ बस्ने अवस्था भएन। उनीहरू सदरमुकाम झरे। सदरमुकाममा पनि टिक्न सक्ने अवस्था भएन। काठमाडौैं आए। काठमाडौंमा पनि उनीहरूलाई लखेटियो। अनि, विदेश पलायन हुनुपर्ने अवस्था आयो। आमरूपमा श्रमका लागि बाहिर जाने प्रवृत्ति यसरी सुरुवात भयो। छिटपुट फरक कुरा हो। अब विशेष योजना र सहयोगसाथ तिनलाई देशमा रोक्न सरकार समर्थ हुनुपर्छ। 

तर, युवा पुस्ता देशको राजनीतिक, आर्थिक अवस्थाप्रति पूरा निराश छ। आशा जगाउने उपाय के छन् ? 

वास्तवमा हाम्रो देशमा विकास भएको छैन। विकासका सम्भावना बाँकी छन्। अरूले देश बनाइसके, बाटो बनाइसके, हवाईमैदान बनाइसके। त्यहाँ सम्भावना के छ ? गर्न चाह्यो भने यहाँ त सम्भावनै सम्भावना छ। 

पछिल्ला एक वर्षमा एमालेले मिसन ग्रासरुटदेखि संकल्प यात्रासम्म गरेर खासमा के राजनीतिक सन्देश दिएको छ ? 
हामी नेपाली जनतालाई सचेत बनाउन चाहान्छौ। बिना सचेतना देश बनाउन सकिँदैन। हाम्रो देश अत्यन्तै हेपिएको छ। सानासाना कुरामा हस्तक्षेपमा परेको छ। यहाँका राजनीतिज्ञहरू त्यो हस्तेक्षपको क्रियाकलापलाई बोकेर हिँड्ने भरिया हुन्, त्यस्ता बनेका छन्। 

उदाहरण ? 
नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस आयोजना गर्‍यो। हामीलाई बोलायो। प्रतिपक्षलाई विरोध, निन्दा, भत्र्सना गरेर महामन्त्रीले स्वागत सुरुवात गर्नुभयो। बीपी बाबुले भनेकोजस्तो एक हल गोरु, गाईको कुरा गर्न छोडेर तपार्र्र्र्र्र्र्ईंहरू पानीजहाज, रेल, राजमार्ग, एयरपोर्ट, अग्लाअग्ला घरका कुरा गर्ने ? त्यस्तामा समय खर्च गर्ने ? भन्नुभयो।

स्वागत गर्न उभिएको मान्छेले आफू सरकारमा बसेर प्रतिपक्षमााथि विकास निर्माणका काम किन गर्‍यौं भनेर आलोचना गर्न अठ्यारो नमान्ने। अर्थात्, विकासका कुरा गर्दा बिझाउने, गिज्याउने प्रवृत्ति अझै छ। त्यही भएर जनतालाई सचेतना दिन एमालेले यस्ता अभियान चलाएको हो।

null

अलि पहिला तपाईंले ‘पहिचानको व्यापार’ को प्रसंग झिक्नुभयो। के भन्न खोज्नु भएको ? 
त्यो व्यापार कसैले चलाइरहेको छ। यो घृणाको व्यापार हो। त्यो व्यापार माओवादीले सुरुवात गरेको हो। अहिले माओवादी ‘मै व्यापारी हुँ’ भन्न सक्दैन। आफैं खालमा बस्दैन, तर च्याखे थाप्छ।

प्रधानमन्त्रीको नेतृत्वमा बसेको बैठकले निर्णय गर्छ, भोट हाल्छ। बाहिर निस्केपछि पुनर्विचार गर्नुपर्छ भन्छ। मौका हेरेर कछुवाझैं। जसरी कछुवाले अनुकूल रूप परिस्थिति देख्यो भने टाउको निकाल्छ। प्रतिकूल पायो भने भित्र हाल्छ। कोशीका मुख्यमन्त्रीको क्रियाकलापले कांग्रेसको प्रवृत्ति त्यही देखियो। कसलाई रिझाउन हो, कोशी प्रदेश भन्न नसकेको ? प्रदेशको नामै लिन नसक्नेले कसरी मुख्यमन्त्री चलाउँछन् ?

मुख्यमन्त्री त एमालेले बनाएको हो नि ? 
हो, मुख्यमन्त्री राम्रो गर्न बनाएको हो। नराम्रो गर्न बनाएको होइन। साम्प्रदायिक सद्भाव भाँड्न बनाएको हो र ? 

कोशीमा मुख्यमन्त्री बनाएकामा गल्ती गरेको जस्तो लाग्छ ? 
लाग्दैन। गल्ती होइन यो। खास परिस्थिति र अवस्थामा बनायौं। बनिसकेपछि उहाँले बेइमान गर्नुभयो। बनाउनु गल्ती होइन, बेइमान गर्नु गल्ती हो। कसैको बहुमत छैन। हामीलाई रोक्न धेरै थरी लागेका थिए। आफैं बन्नुभन्दा ठीकै ढंगले काम गर्छु भनेर आउनेलाई हामीले समर्थन गर्‍यौं। तर, उहाँले विश्वासको मतसँगै बेइमानी सुरु गर्नुभयो। 

संघमा जे भयो, कोशी प्रदेशमा पनि त्यस्तै भयो। बनाउने एमाले, चलाउने अर्कै ? एमालेको विश्लेषण नपुगेको हो ? वा, जानी–जानी यसो गरिएको ? 

यो ठूलो कुरो होइन। हामीले केही लाभ पनि लिएका छौं। नेपाली कांग्रेसले पहिले–पहिलेजस्तै मौकामा बेइमानी गर्ने कुरा देखायो। शेरबहादुर देउवाजीको प्रधानमन्त्री बन्ने अवस्था, परिस्थिति केही थिएन। प्रचण्डजीहरू नै त होलान् नि त उहाँलाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान गराउने। डेढ वर्ष विराजमान भइसकेपछि चुनावपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउँछु भनेकै हो। त्यसमा सर्लक्क बेइमानी गर्‍यो कांग्रेसले।

देउवाजी हामीसँग कुरा गर्न पनि तयार हुनु भएन। उहाँले सबैलाई अल्मयाउने, यताउता गर्ने, ५ बजाइदिने र प्रधानमन्त्री बन्ने सोच्नुभयो। उहाँको सरकारले विश्वासको मत प्राप्त गर्न सक्दैन थियो। देश उपधारा ५ मा जान्थ्यो। त्यो कटुताले ५ बाट कसैले सरकार बनाउन सक्दैनथियो। देश सीधै मध्यावधिमा जान्थ्यो। मध्यावधिमा जान नदिने हाम्रो प्रयास रह्यो। त्यसका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाइएको हो। तर, बेइमान भन्ने शब्द नराम्रो हुन्छ, नभनौं। उहाँले इमान धान्न सक्नुभएन। 

वर्तमान गठबन्धन कत्तिको गठिलो देख्नु भएको छ ? 

हामी मिसन ८४ मा छौं। ०८४ मा बहुमत ल्याउने, सरकार बनाउने उद्देश्यमा छौं। बीचका खेलमा हामीले प्रचण्डलाई विश्वास गरेर प्रधानमन्त्री दिइहेर्‍यौं। बेइमानी भोग्यौं। शेरबहादुरजीलाई संयुक्त सरकार बनाऔं भनिहेर्‍यौं, उहाँले आफ्नो अल्पमतको सरकार बनाउन खोज्नुभयो। त्यो पनि देखिसक्यौं। यता ८ सिट भएको शेखर कोइरालाजीको समूहलाई ४० सिट भएको हामीले समर्थन दिएर हेर्‍यौं। कांग्रेस धोकेबाज पार्टी हो। सुशील कोइरालाजीले समेत धोका दिनुभएकै हो। शेखरजी, केदारजी, प्रचण्डजी, शेरबहादुरजीहरूका इमान देख्यौं। इमानको कारबार गर्न सक्ने हैसियतमा कोही पनि स्वतन्त्र छैन यहाँ।

जो पीडकहरू हुनुहुन्थ्यो, राज्य पक्षको पीडक, टाउकाको मोल तोक्ने पीडक, दमन गर्ने राज्य पक्षका पीडक। १७ हजार होइन पाँच हजार मारेका हौं भन्नेहरू। जसले बम हान्नुहुन्थ्यो। उहाँहरू नै अहिले सत्तामा बसिरहनुभएको छ। उहाँहरू पीडित होइन, पीडकहरू हो। पीडकहरूले दिने फैसला कस्तो हुन्छ ?

प्रधानमन्त्री प्रचण्डसँग लामो समय सहकार्य हुन नसक्नुको कारण के थियो ? 
यो सरकार बन्न हुने नै होइन। यो मैले बनाएको होइन। मैले त प्रधानमन्त्री प्रचण्डलाई बनाएको हो। जहाँ हामी पनि थियौं। देशलाई सही बाटोमा लैजान उहाँले मान्नु भएन। सुशासन र विकासको बाटोमा लैजान हामीले चाहेका थियौं। त्यसलाई उहाँले स्वीकार्नु भएन।

अनुचितका, सट्याकसुटुक–सट्याकसुटुकका सम्बन्ध सल्बलाउँदै गएर उहाँ हिँड्नुभयो। उहाँलाई प्रधानमन्त्रीको सिन्दूर एमालेले लाइदिएको थियो, विश्वासको मतको पोते लिएर अर्कै आइपुग्यो। 

आखिर गठबन्धनै हो, उता र यतामा के फरक भयो ?  
यो बन्न नहुने गठबन्धन हो। यो राष्ट्रिय चिन्तन, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय दृष्टिकोण र राष्ट्रिय अडान केही पनि नभएका खोक्राहरूको गठबन्धन हो। हामीसँग संविधान छ। त्यसको दुरुपयोग भएको छ। आफैं–आफैं चुनाव लगेका छैनन्, गठजोड गरेर लडेका छन्।

राम्राका लागि होइन, एमालेका विरुद्ध गठजोड हो। त्यसो भए यो एक वर्ष एमालेलाई देखाउन भए पनि राम्रो गरेको भए हुन्थ्यो नि ! तर, भयो के ? उधुम तस्करी भयो। ३५ क्विन्टल सुन तस्करी रे, पहिला कहिल्यै सुन्नुभएको थियो ? समातिएको मान्छे ‘१४ केजी पक्राउ पर्‍यो, १ सय ३८ केजी त हामीले पहिल्यै निकास गरिसक्यौं’ भन्छ। सुनसहित समातिएको मान्छे छ, राजस्व अनुसन्धान लगेर सानो कागज गरेर छाडिन्छ। अनुसन्धान गर्नु पर्दैनथियो ? 

तपाईंले पनि पशुपतिमा पित्तलको जलहरी राख्न लगाउनुभयो रे नि ? 
त्यतिबेला पशुपतिमा पित्तल चढायो भनेर कुर्लिए। यी माओवादी मित्र किन कराउँदै छन् भनेर म विचार गर्दैथिएँ, पछि ३५ क्विन्टल त त्यसैबीचमा भ्याइदिएछन्। चील आयो, चील आयो, चील आयो भन्यो, यता कुखुरो चाहिँ कर्‍याककुरुक पार्नु रहेछ।

तपाईं एकातिर ‘यो सरकारले देश बर्बाद पार्‍यो’ भन्नुहुन्छ, अर्कातिर फेर्ने दौडमा छैन भन्नुहुन्छ। यो विरोधाभाष भएन ? 

हामीसँग ८० सिट छ, १ सय ३८ सिट चाहिन्छ। हामीले भनेर हुने होइन। विभिन्न शक्ति यसमा लागेका हुन्छन्। देशभित्रका मात्र हुने हो भने हामी ठेगान लगाउन सक्छौं।

यहाँ त अन्य शक्तिहरू छन्। एक चिजमात्रै प्रयोग हुँदैन। त्यस स्थितिमा सरकार बनाउँछु–बनाउँछु, खेल्छु–खेल्छु भनेर केही हुनेवाला छैन। अहिलेको परिस्थिति अत्यन्तै नाजुक छ। देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, वैदेशिक, वातावरणीय कुनै कुरामा पनि सन्तुष्टि जनाउने ठाउँ छैन। हामीले भनेका छौं, यो सरकार एक मिनेट रहन लायक छैन। तर, फेर्नुपर्छ, फेर्नुपर्छ भनेर मात्र हुन्छ ? १ सय ३८ सिट चाहिन्छ। 

  • यहाँका राजनीतिज्ञहरू त्यो हस्तक्षेपको क्रियाकलापलाई बोकेर हिँड्ने भरिया हुन्, त्यस्ता बनेका छन्। 
  •     प्रचण्डलाई प्रधानमन्त्री बनाइएको हो। तर, बेइमान भन्ने शब्द नराम्रो हुन्छ, नभनौं। उहाँले इमान धान्न सक्नुभएन।
  •     शेखरजी, केदारजी, प्रचण्डजी, शेरबहादुरजीहरूका इमान देख्यौं। इमानको कारबार गर्न सक्ने हैसियतमा कोही पनि स्वतन्त्र छैन यहाँ।
  •     सत्ताामा फर्किने मेरो वैयक्तिक रुचि छैन। किनभने, फेरि म टिक्ने खेल, उनीहरूले हटाउने खेल चल्ला।
  •     मलाई थाहा थियो नि– उत्तारतिरबाट बाटो खोल्दा म खुस्काइन्छु भन्ने।
  •     त्यतिखेर राजनीतिक नेताहरूको हुतिहारा पाराले ज्ञानेन्द्र राजा भएका हुन्।
  •     यस्तो त सरकार छ, मन्त्री झन् हुलमा गएर पस्छन्। त्यो भड्काउन खोजेको होइन? अटेर गरेको होइन ?

जम्मा ३२ सिटको दलका नेता पाँचै वर्ष प्रधानमन्त्री हुन्छु भन्न थाल्नुभएको छ, यो शक्तिको स्रोत के होला ? 

उहाँ ‘कम्फर्टेबल’ हुनुहुन्छ। सुरुमा उहाँलाई नदिनै खोजिएको थियो। बाह्य शक्तिले पनि उहाँलाई बनाएको होइन। हामीले नै अलिकति ‘नेसनल ट्र्याक’ मा लैजाऔं भनेर लगेका थियौं, उहाँले त्यसमा हिँड्न मान्नु भएन। लगत्तै हामीलाई सरकारबाट बाहिर निकाल्नुपर्ने, यो देशलाई विकासको बाटोमा जान नदिनुपर्ने शक्ति हाबी भयो। त्यसो भयो भने कुहेको अन्डा पनि बिक्ने भयो, ओइलाएका भन्टा पनि बिक्ने भए। त्यसैका लागि उहाँ ‘कम्फर्टेबल’ हुँदै जानुभयो।

 null

फेरि सत्तामा आउनेमा तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ ?

सत्तामा फर्किने मेरो वैयक्तिक रुचि छैन। किनभने, फेरि म टिक्ने खेल, उनीहरूले हटाउने खेल चल्ला। उनीहरूका यहाँ खटाइएका आन्तरिक प्रतिनिधिहरू सक्रिय भइरहलान्। तिनीहरूसँग मैले पन्जा लडाउने खेल चलिरहला। मभन्दा पछि पनि यो देश बचाउनुपर्छ। म केमा विश्वास गर्छु भने– नेपालीका रगतमा पानी बगेको छैन। यहाँ देशभक्तहरू छन्। यो देश किल्ला बनाएर अंग्रेजसँग खुकुरीले तोपसँग लडेर बचाएको हो। 

नेपालको प्रधानमन्त्री पद किन यति कमजोर, राख्दा राखिने, हटाउँदा हटाइने ? 
यो राजनीतिक दरिद्रताका कारणले हो। जनता पर्याप्त सचेत नभएर हो।

प्रसंग बदलौं, २०८४ को चुनावमा एमाले एक्लै लड्छ ?
हामी एक्लै लड्छौं। 

माओवादी सहकार्य गरौं भनेर आयो भने ?
हामी चुनाव एक्लै लड्छौं। 

कसैले कम्युनिस्ट शक्ति एक हुनुपर्छ भन्यो भने ?
कसैले भनेका आदेश मान्ने हामी अरू पार्टीजस्ता होइनौं, अर्काले चलाएका। एमाले अरूबाट सञ्चालित होइन। 

वाम एकताको सम्भावना ? 
वाम एकता काफी भएको छ। र, त एमाले सबैभन्दा लोकप्रिय पार्टी बनेको छ। कि साइनबोर्डका वामपन्थी भन्न खोज्नु भएको तपाईंले? माओवादी ? यो कसरी वामपन्थी ? कांग्रेसका पछि लुकेर हिँड्ने, अनि वामपन्थी भन्ने ? वामपन्थीको दुई तिहाइको सरकार ढाल्ने, वामपन्थी हुने ? वैदेशिक शक्तिका लागि कम्फरटेबल हुने, देशभक्त र वामपन्थी भन्ने ? 

null

यी सबै हुनुमा ‘ओली फोबिया’ प्रमुख हो भन्छन् नि ? विदेशी शक्तिदेखि स्वदेशी दलका शीर्ष नेतासम्म ओलीसँग डराउँछन् रे। प्रचण्ड भाग्नुदेखि देउवाले संयुक्त सरकार बनाउन पन्छिनु वा चुनावमा एमालेविरुद्ध सिंगो शक्तिले गठबन्धन गर्नुमा उही ‘ओली फोबिया’ कारक छ भनिन्छ। आखिर ओलीमा के छ त्यस्तो?

यो ‘फोबिया’का सम्बन्धमा तपाईंहरू आफैं विश्लेषण गर्नुहोस्। म केही भन्दिनँ। तर, कुछ तो जरुर है। किन केही छ भने यसमा देशभक्तिको पाटो होला। देश हितविपरीत जान नमान्ने मेरो अडानका कारण होला। अर्को कुरा म लोभमुक्त मान्छे हुँ। म देशको मात्र लाभहानि हेर्छु। आफ्नो लाभ–भानि हेर्दिनँ। मलाई थाहा थियो नि– उत्तरतिरबाट बाटो खोल्दा म खुस्काइन्छु भन्ने। ट्रान्सपोर्ट–ट्रान्जिट एग्रिमेन्ट गरेपछि हटाइने कुरा निश्चितै थियो। पछिल्लोपल्ट गुमेको भूभाग सामेल गरेर नक्सा बनाएँ। हाम्रो भूभाग छोड मित्र भनेर पत्राचार गर्नेजस्ता इतिहासका तथ्य सामुन्ने ल्याउन थालेपछि मलाई रहन दिँदैनन् भन्ने अनुमान नगरेको होइन। मेरो भनाइ एउटै छ– मित्रले मित्रवत् व्यवहार गर्नुपर्छ। हामी हाम्रा छिमेकी मित्रहरूविरुद्ध कहीँ कतै नराम्रो चिताउँदैनौं। न्यायोचित राम्रो त हाम्रो पनि चिताइदिनु पर्‍यो नि। 

पछिल्लो समय राजा ब्युँताउनेदेखि धर्मसम्मका कुरा गर्ने शक्ति सल्बलाएका छन्, एमालेले कसरी लिएको छ ? 
उद्देश्य आपराधिक छ, कुरा धर्मका। दान–पुण्यका कुरा हुन् यी ? काटमार, रक्तपातका कुरा केका धर्मका ? अनि, फलाना धर्मावलम्बीको राज्य बनाउनुपर्छ, अरूको होइन भन्नुपर्छ भन्नेजस्ता कुरा २१औं शताब्दीमा शोभनीय हुन्न। सबैको देश हो। धर्म आफ्नो हो। जहाँसम्म राजतन्त्रको विषय छ, चर्चा गर्न लायककै कुरा छैन। वीरेन्द्रको वंश विनाश हुँदै राजतन्त्र सकिएको हो। राजाको वंशै विनाश भयो भने तन्त्र कसरी रह्यो ? राजाको जेठो छोरा, विवाहित चाहिने परम्परा थियो। वीरेन्द्रका जेठा दाजु रवीन्द्र बिहे नगरेको भनेर ‘हाउस एरेस्ट’ जस्तै रहे सधैं। कसले खोज्यो ? जेठो छोरोको भन्दा वीरेन्द्र भनियो।

माओवादीले त चाहेको के हो भने जे भयो भयो, सिध्यो। पीडितलाई पेलपाल गर्दिने। त्यस्तै, गर्ने योजना हो माओवादीको। हामीले पीडित केन्द्रित बनाएर संक्रमणकालीन न्याय टुंग्याऔं भन्दै आएका छौं। पीडितलाई अझै पीडा थप्ने होइन।

अनि, त्यस्तो राजतन्त्रमा खोजेर ल्याएको पात्र राजा ? दीपेन्द्र पनि सिध्याउने, नीराजन पनि सिध्याउने, अनि अर्को खोजेर राजा बनाउने ? त्यतिखेर राजनीतिक नेताहरूको हुतिहारा पाराले ज्ञानेन्द्र राजा भएका हुन्। हुनु हुने कुरा नै होइन। तर, त्यो पनि राम्रै गरेको भए हुने। म मेरो दाजुजस्तो होइन भनेको छ, धम्क्याएको छ। प्रतिगमन गरेको छ। लोकतन्त्र सिध्याउन माओवादीसँग साँठगाँठ गरेको होइन ? माओवादीले देशभरि अभिनन्दन गरेको होइन ? रोल्पा, रुकुम कोही जान नसक्ने, ज्ञानेन्द्र शाह जाँदा को हो त्यो स्वागत गर्ने ? माओवादी होइन ? 

अर्को प्रसंग, विदेश जाने युवामाथि प्रहरीले गोली चलायो। तपाईं सहभागी भएकै कार्यक्रममा प्रधानमन्त्रीले त्यसलाई प्रहरीद्वारा गरिएको हत्या भन्नुभयो। यो घटनालाई कसरी लिनुभएको छ ?

पहिलो त परीक्षाको विवाद आउनै नहुने। अनावश्यक कुरालाई विवादको विषय बनाएर युवाहरूलाई परीक्षा दिन वञ्चित किन गराउनु ? युवाहरूलाई आन्दोलन गर्न लगाउने, एकथरीले समर्थन गर्ने। यहाँ विभिन्न प्रकारका खेलहरू चलिरहेका छन्। युवाहरूले परीक्षा किन दिन नपाउने ? सरकार सहयोगी हुनुपर्नेमा गोली हान्न लगाउने ? अर्को कुरा, यो काण्डको सुरुवात गर्ने मन्त्री को हो ? मन्त्रीले जिम्मा लिनु पर्दैन ? परीक्षा दिन नपाउने विवाद किन खडा गर्‍यो ? मन्त्री जिम्मेवार छन् कि छैनन् ? मन्त्रीको मातहतमा मन्त्रालय छ कि छैन ? उनले भनेअनुसार चलेको छ कि छैन ? अनि मन्त्री हट्न पर्दैन ? राजीनामा दिन पर्दैन ? 

घटनामा मन्त्रीको भूमिका छ भन्न खोज्नु भएको हो ? 

हो नि, अर्को मन्त्री फेरि, हातमा सेट (प्रहरी वाकीटकी) छ। कहाँ जुलुस हुँदैछ थाहा हुँदैन ? अनि सेट लिएरै कसरी जुलुसमा पसेको ? पपुलर मन्त्री वा सरकार भएको भए एउटा कुरा। यस्तो त सरकार छ, मन्त्री झन् हुलमा गएर पस्छन्। त्यो भड्काउन खोजेको होइन ? अटेर गरेको होइन ? 

बालकुमारी घटनाको निष्पक्ष छानबिन हुन्छ भन्नेमा तपाईं ढुक्क हुनुहुन्छ ?
कसरी ढुक्क हुन सकिन्छ ? मन्त्रीहरूले न राजीनामा दिएका छन्, न जिम्मेवारी महसुस गरेका छन्। श्रममन्त्रीले तत्काल राजीनामा दिनुपर्ने होइन ? मन्त्री पदमै रहने अनि निष्पक्ष छानबिनको आशा गर्ने ? छानबिन सानबिन केही हुँदैन। हामीले भनेको हो पहिले मन्त्री निकालौं, छानबिनको वातावरण बनाऔं। पदमा रहँदा मन्त्रीले समितिलाई धम्क्याउन सक्छ। मन्त्रीभन्दा माथिको मान्छे त जाँदैन त्यहाँ छानबिन गर्न। मन्त्री त कायम छ। यो सरकारले निष्पक्ष छानबिन गर्छ भन्नेमा विश्वास भएन।

राजीनामा क–कसले दिनुपर्छ भन्नुभएको ? 
यहाँ त प्रधानमन्त्री के, गृहमन्त्री के, पछाडिबाट टिकाउने नेपाली कांग्रेस के ? नेपाली कांग्रेसका सभापति के ? सबै बालकुमारी घटनामा सामेल छन्। कसैले मन्त्रीको राजीनामा मागेर गराएको छैन त ? के अरू मन्त्री बन्न लायक छैन यो देशमा ? यत्रो वितण्डा गर्दा पनि तिनै मन्त्री अपरिहार्य हुने ? तिनै बसिरहने ? बन्दुकले मारिदिने ? बन्दुकको कुन्दाले यसरी हानेको रहेछ। एकचोटीकै करङ मुटु कच्याककुच्चुक भएको छ। तत्काल मृत्यु भएको छ। कस्तो निरंकुश राज छ यहाँ ? कस्तो निर्मम राज छ ? 

बालकुमारी घटना योजनाबद्ध भएको भन्ने यहाँको बुझाइ हो ?

यस परिस्थितिलाई हुँडालेर एमालेले एउटा वितण्डाको स्थिति सिर्जना गरिदियोस् भन्ने पनि छन्। हामी यसको विरुद्धमा छौं। यस्ता खालका काण्डहरू बिल्कुल गलत हुन्। यो आपराधिक क्रियाकलाप हो सरकार देश र जनताको हितको पक्षमा हुनुपर्‍यो। जीउज्यानको रक्षा गर्नु सरकारको कर्तव्य हो। नमारी नहुने के आइपर्‍यो ? मन्त्रीको गाडी झन्डा फरफराउँदै किन पठाउनुपर्‍यो ? इरिटेट गर्न हो ? 

थोरै प्रसँग बदलौं, संक्रमणकालीन न्यायको कुरा के भइरहेको छ ? तपाईंहरू तीन जना नेता दिनहुँ बालुवाटारमा बसिरहनुभएको छ। भइरहेको छ चाहिँ के ? 

हामीले के भनिरहेका छौं भने पीडकहरू नै न्यायाधीश छन्। सरकारमा बस्नेहरू न्यायाधीशसरह नै हुन्। जो पीडकहरू हुनुहुन्थ्यो, राज्य पक्षको पीडक, टाउकाको मोल तोक्ने पीडक, दमन गर्ने राज्य पक्षका पीडक। १७ हजार होइन पाँच हजार मारेका हौं भन्नेहरू। जसले बम हान्नुहुन्थ्यो। उहाँहरू नै अहिले सत्तामा बसिरहनुभएको छ। उहाँहरू पीडित होइन, पीडकहरू हो। पीडकहरूले दिने फैसला कस्तो हुन्छ ? शान्ति प्रक्रिया साँच्चै टुंग्याउने हो भने पीडकहरू शासनमा हुनु भएन। त्यो निष्पक्ष हुँदैन। एमाले संक्रमणकालीन न्याय टुंग्याउन चाहन्छ। तर प्रधानमन्त्री स्वयम् त्यसको बाधक बनिरहनुभएको छ।

संक्रमणकालीन न्याय टुंग्याउने विषयमा माओवादीले चाहेको के, तपाईंहरू चाहेको के ? केमा कुरा नमिलिरहेको हो ?

माओवादीले त चाहेको के हो भने जे भयो भयो, सिध्यो। पीडितलाई पेलपाल गर्दिने। त्यस्तै, गर्ने योजना हो माओवादीको। हामीले पीडित केन्द्रित बनाएर संक्रमणकालीन न्याय टुंग्याऔं भन्दै आएका छौं। पीडितलाई अझै पीडा थप्ने होइन। पीडितले न्याय पाउनुपर्छ। दण्डहीनताको अन्त्य हुनुपर्छ। मानव अधिकारका गम्भीर उल्लंघनमा मेलमिलाप गर्दाखेरी सत्य पहिले स्थापित हुनुपर्‍यो। सत्य स्थापित भएपछि मेलमिलाप आफैं हुन्छ।

यसको मतलव संक्रमणकालीन न्याय टुंगिने अवस्था न्यून हुँदै गएको हो ?
त्यो प्रधानमन्त्रीमा भर पर्छ। एमाले त स्पष्ट छ। हामी टुंग्याउन चाहन्छौं। तर प्रचण्डजीहरू पीडा कायम राखेर टुंग्याउन खोज्नुहुन्छ। हामीले पीडाको अन्त्य गरेर टुंग्याउन खोज्छौं।

त्यसो हो भने संक्रमणकालीन न्याय अल्झिइरहने नै भयो ? 
अल्झाइरहनु हुँदैन। पीडित केन्द्रित, पीडितलाई न्याय दिएर शान्ति प्रक्रिया टुंग्याउनपर्छ।

null

ठूल्ठूला काण्डहरू धेरै आए, सेलाए। जस्तैः सुन काण्ड, शरणार्थी काण्ड, ललिता निवास काण्ड आदि। किन यस्तो भइरहेको छ ?
सुन काण्डको छानबिनका लागि आयोग बनाउने कुरा भयो। तीन जनाको आयोग बनाउने कुरा थियो। एउटा मान्छे निष्पक्ष तरिकाले काम गर्लाजस्तो पर्‍यो। दुई जनामात्र आफ्नो मान्छे परेर भएन। उहाँहरूले चार जनाको बनाउनुभयो। अनि आयोगले इन्साफ गर्छ भन्ने कुरै छोड्दिनुस् न।

अर्को, भुटानी शरणार्थीहरू नेपाल आए। तिनीहरूको समस्या समाधान गर्नुपर्छ। त्यसका लागि मैले जर्जबुससँग कुरा गरिनँ कि कोन्डालिसा राइससँग कुरा गरिन कि कहाँ कुरा गरिनँ ? सबै एग्रिमेन्ट गरेर लैजाने कुरा भयो। यो २००६ को कुरा हो। अन्डरस्ट्यान्डिङ बनेपछि २००८ बाट हामीले पठाउन सुरु गर्‍यौं। पहिले अमेरिकाले ६० हजार लिने र बाँकी लिन मेरिकाले नै पहल गरिदिने हामीबीच सहमति भएको थियो।

केही काण्डको सुई त तपाईंतिर पनि घुमेको थियो भन्छन् नि ? 
मैले त शरणार्थी मात्र पठाएको हुँ। कसैले गैरशरणार्थी पठाएको छ भने जवाफदेही ऊ हो। ऊ जान्दछ त्यो कुरा। अनि केपी ओलीतिर सोझियो भन्याछन्, वाइडबडीको कुरा गरेका छन्। वाइडबडी त मैले गरेकै होइन नि। अन्तिम किस्ता तिर्न बाँकी थियो। त्यो नतिरेर भयो त ? पहिल्यै सहमति भएको किस्ता न तिरेको हो। बढाएर किस्ता तिरेर कमिसन खाएको छैन। 

गिरीबन्धु टी–स्टेटको कुरा ?
उहाँहरूले एकपल्ट ५१ बिघा दिनुभयो। एकपटक १९ बिघा दिनुभयो। कमिसन खाएर दिनुभयो। अख्तियारले यसै दिन मिल्दैन, कानुन बनाएरमात्र दिन मिल्छ भन्यो। दिने नदिने आफ्नो ठाउँमा छ तर कानुन त बनाउनु पर्‍यो। मैले कानुन बनाइदिएँ, नियमावली बनाइदिएँ। अनि कसैले खान नपाओस् भनेर विधि बनाइदिएँ। अनि त्यो रोकियो। 

अन्त्यमा, राष्ट्रियसभा निर्वाचनका लागि एमालेको तयारी के छ ?
हाम्रो भोट अलिक कम छ। अरूले साथ दिए हामी केही जित्छौं। साथ दिएन भने जित्दैनौं। 

- अखण्ड भण्डारी/कमलदेव भट्टराई/शम्भु कट्टेल/सुरेन्द्र काफ्ले 

Post a Comment

0 Comments