रोनाल्डो, ध्रुबे, मकुना र गोविन्देले फैलाएको आतंक कथा


पुर्खाको बाटो,आहारा र पोथीको खोजी गर्दै पस्छन् जंगली हात्ती गाउँबस्ती

आहारा र पोथीको खोजी गर्दै पस्छन् जंगली हात्ती गाउँबस्ती
330Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

चितवन : हाल मकुना, रोनाल्डो सौराहा लगायतका जंगली हात्ती चितवन राष्ट्रिय निकुञ्जको पूर्वक्षेत्रमा छन्। गत वर्षसम्म सौराहा लगायतका क्षेत्रमा रहेको गोविन्दे योपटक माडीतिर गएको निकुञ्जले जनाएको छ। गोबिन्दे माडीतिर रहे पनि यो वर्ष अहिलेसम्म सक्रिय नदेखिएको निकुञ्ज प्रशासनले जनाएको छ। धु्रवे हात्ती निकुञ्जको पश्चिम क्षेत्रमा छ। सक्रिय हुने बेलामा धेरै जसो हात्ती गाउँबस्ती पस्ने गरेका छन्। उनीहरूले पर्खाल भत्काउने, बालीनाली नष्ट गर्नेदेखि मानिसलाई समेत आक्रमण गरी यो बेला उपद्रो नै मच्चाउँछन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्त विशेष त चार जंगली हात्ती निकुञ्ज र त्यसको आसपासको क्षेत्रमा भेटिने गरेको बताउँछन्। उनका अनुसार मुख्यतः प्रजननको समयमा जंगली मत्ता हात्तीहरू ज्यादा आक्रामक र हिंस्रक हुने गरेका छन्।  यी जंगली हात्तीको त्रास हुँदाहुँदै पनि घरपालुवा हात्तीले र हात्ती प्रजनन् केन्द्र खोरसोरमा रहेका हात्तीसँग संसर्ग गरी बच्चा उत्पादन पनि गर्दै आएका छन्। २०४४ सालमा स्थापना भएको प्रजनन् केन्द्रमा अधिकांश हात्ती जंगली भाले हात्तीको संसर्गबाट जन्मिएका हुन्। हालसम्म ६ दर्जनभन्दा बढी छावा जन्मिसकेका छन्।

समस्या मात्रै होइन गहना पनि 

यी जंगली हात्ती गाउँबस्तीमा आउनु समस्या मात्र होइन, निकुञ्ज क्षेत्रको गहना पनि भएको स्वयं व्यवसायी बताउँछन् । क्षेत्रीय होटल संघ सौराहा चितवनका महासचिव गुणराज थपलिया  जंगली हात्ती गाउँबस्ती आउनु चुनौती र अवसर दुवै भएको बताउँछन्। ‘विगतमा जंगली हात्ती हेर्न साह्रै गाह्रोे हुन्थ्यो, अहिले सौराहा क्षेत्रमा नै जंगली हात्ती हेर्न पाइन्छ। यो त हाम्रो लागि अवसर नै हो’, उनले भने, ‘तर व्यवस्थापन नहुँदा भने डरलाग्दो अवस्था छ।’ गाईभैंसी जस्तो गरी घरघरमा हात्ती पालेको कारणले समस्या भएको उनको भनाइ छ। मानिसले हात्तीलाई डिस्टर्भ गरेको हो कि हात्तीले मानिसलाई भन्ने विषय पनि गम्भीर रहेको उनको भनाइ छ। 

खोरसोरमा रोनाल्डोको रजगज  

null

यो सबैभन्दा पुरानो र जेठो हात्ती हो। यसका लामा–लामा दारा छन्। पुच्छर भने काटिएको छ। भाले हात्तीहरू एक आपसमा भिँड्दा उसको पुच्छर चुडिएको हो। गाउँबस्ती आउने सबैभन्दा ठूलो हात्ती पनि रोनाल्डो नै हो।  २०६० सालदेखि नै यो सक्रिय छ। पछिल्लो समय रोनाल्डो हात्ती प्रजनन केन्द्रमा नै प्रायः जसो देखा पर्छ। हात्ती प्रजनन केन्द्रमा रोनाल्डोको नै रजगज छ। प्रजनन केन्द्रका पोथी हात्तीसँग संसर्ग गर्न कहिलेकाहीँ त्यहाँ एक-दुई दिनसम्म पनि बस्ने गरेको छ। 

उसले  प्रजनन केन्द्रमा अरू जंगली हात्तीलाई ढिम्किन पनि दिँदैन। हात्तीमा सबैभन्दा ठूलो र बलियोले नै पोथी हात्तीसँग संसर्ग गर्ने गरेका छन्। त्यसैले रोनाल्डो भएको बेला कुनै जंगली हात्ती प्रजनन केन्द्रमा आउँदैनन् पनि। २०६० को दशकदेखि नै प्रजनन केन्द्रमा रोनाल्डो कै राज छ। रोनाल्डोभन्दा पहिले रोमियोको राज थियो। रोमियोको करेन्ट लागेर मृत्यु भएदेखि  रोनाल्डो राज चलेको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगर रोनाल्डो खोरसोरमा घुमिरहने गरेको बताउँछन्। 

पछिल्लो समय रोनाल्डोलाई ‘जेन्टल’ हात्तीको रूपमा लिने गरिएको छ। अहिले रोनाल्डो शान्त नै छ।  हात्ती प्रजनन केन्द्रमा जाने बाह्य र आन्तरिक पर्यटकले रोनाल्डोको नजिकै गएर फोटो र सेल्फी पनि खिच्ने गरेका छन्। तर, उसको विगत भने त्यति सुखद छैन। युवाकालमा उसको आक्रमणबाट डेढ दर्जन मानिस मारिएका थिए ।   

पोथी हात्ती खोज्दै मध्यरातमा गोठ–गोठमा मकुना

null

दाह्रा नभएको भाले हात्ती हो मकुना। यसले मान्छे देख्नेबित्तिकै आक्रमण गरिहाल्छ। यो युवा हात्ती हो। युवा भएकाले पोथी हात्ती खोजीखोजी हिँड्छ। पछिल्लो समय सौराह लगायतका क्षेत्रमा सबैभन्दा बढी आंतक फैलाउने काम मकुनाले नै गरिरहेको छ। प्रत्येक रात सौैराह क्षेत्रमा प्रवेश गरेर मकुनाले त्रास फैलाइरहेको छ। पोथी हात्ती भएको क्षेत्रमा प्रत्येक रात जसो मकुना आउने गरेको छ। 

अन्य भाले हात्ती पोथी हात्तीमा आकर्षित भए पनि मकुना बजार र बस्तीमा बढी हिँड्डुल गर्छ। गत वर्ष मंसिरमा चितवन राष्ट्रिय निकुञ्जमा पहिलोपल्ट यो देखा परेको थियो। भाले हात्तीको दाह्रा हुन्छ। तर, मकुना भाले भए पनि दाह्रा छैन। दाह्रा नभएको भाले हात्तीलाई मकुना भनिन्छ। सन् २०२२ को मार्च २४ मा झापा बाहुनडाँगीबाट पश्चिम लाग्ने क्रममा समूहबाट यो छुटेको संरक्षणकर्मीको भनाइ छ। त्यसबेला योसहित पाँचवटा भाले हात्तीको सूमह पश्चिम लागेको थियो। 

प्रत्येक रात सौराहामा भागदौड हुने गरेको छ। मकुनाले होटल भिस्टा चितवनको पर्खाल नै भत्काइदिएको छ। धेरै किसानको तोरी, आलु लगायतको बालीनाली नष्ट गरिदिएको छ। हालै चितवनमा भएको हात्ती महोत्सवमा पनि मकुनाको प्रवेशले महोत्सव नै प्रभावित भएको थियो। अहिलेसम्म मानवीय क्षति नगरे पनि पछिल्लो समयमा सबैभन्दा ठूलो आंतक भने मकुनाकै छ। 

केही समय शान्त गोविन्दे

null

यसले मान्छे देख्नेबित्तिकै आक्रमण गर्छ। यो युवा हात्ती हो। पोथी खोजीखोजी हिँड्छ। यो रानोल्डो र धु्रवेभन्दा सानो छ। तर, मकुनाभन्दा ठूलो छ। केही समयअघि सक्रिय भएर गोविन्देले हात्ती प्रजनन केन्द्रमा कार्यरत माउतेलाई नै आक्रमण गरेर मारेको थियो। गत असोजमा आक्रमणमा परी सर्लाही हरिपुर नगरपालिका–६ का माउते जग्दु सिंह थारुको मृत्यु भएको थियो। 

गत वर्ष मात्रै गोबिन्देले इजरायलबाट आएका पर्यटकलाई आक्रमण गरेको थियो। गोबिन्देको आक्रमणबाट ती पर्यटकको मृत्यु भएको थियो। माउतेलाई मारेपछि भने गोबिन्दे शान्त देखिएको छ। 

ध्रुवे पछिल्लो समय ‘इनएक्टिभ’     

null

एकदशकभन्दा अघि ध्रुवे हात्तीको ठूलो आंतक थियो। २०६६ सालदेखि २०६९ सालसम्म चार वर्षको अबधिमा मात्रै धु्रवे हात्तीले १६ जनाको ज्यान लिएको थियो भने ५० भन्दा बढी घर भत्काएको थियो। पटक–पटक नियन्त्रण गर्ने प्रयास पनि नभएको होइन। तर, निकुञ्ज प्रशासनले उनलाई नियन्त्रण गर्न सकेन। धेरै मानिस मारेपछि पागल घोषित गरी धु्रवे हात्तीलाई मार्ने निर्णय पनि गरिएको थियो। ध्रुवेलाई मार्न नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जका ९३ जना जवान खटिए तर उनीहरूले ध्रुवे फेला पार्न सकेनन्, यो लापत्ता भयो।  धु्रवे हात्ती मार्ने प्रयासमा १६ लाख खर्च भएको थियो। 

सन् २०१८ मा फेरि देखियो र तीर्थमनकालीस्थित चितवन राष्ट्रिय निकुञ्जको सैनिक चौकीमा घुसेर पोथी हात्तीलाई भगाएर लग्यो र पारस गज नामको भाले हात्तीलाई आक्रमण गरी घाइते बनाएको थियो। सन् २०२१ को अप्रिलमा गैंडा गणना गरिरहेको सर्वेक्षण टोलीलाई ध्रुवेले आक्रमण गरेको थियो।  सर्वेक्षण टोलीका पाँच जना व्यक्ति घाइते भएका थिए।  धु्रवेको आक्रमणबाट कुनै गम्भीर मानवीय क्षति भएन तर सर्वेक्षण अवरुद्ध भएको थियो। त्यही वर्ष धु्रवे एउटा पोथी हात्तीसँग फेला परेको थियो। 

पछिल्लो समय यो हात्ती पश्चिम चितवनमा सक्रिय छ। विगतको क्षेत्र विध्वंस गरेको सुनिएको छैन। निकुञ्जका प्रमुख संरक्षण अधिकृत पन्त पनि धु्रवे हात्ती पछिल्लो समय ‘इनएक्टिभ’ रहेको बताउँछन्।  

जंगली जनावारको सस्ती कहिलेदेखि ? 

सरकारले २०५२ सालदेखि उनीहरूलाई जुटपानी नजिकैको जंगल क्षेत्रमा स्थानान्तरण गर्ने प्रक्रिया सुरु गरेको थियो। २०६० सालमा उनीहरूको स्थानान्तरण प्रक्रिया सकियो। पदमपुरको स्थानान्तरणसँगै जंगली हात्ती अन्य बस्तीमा बस्न थालेका हुन्। २०६० सालपछि हात्तीलगायतका जंगली जनावारका त्रासदी फैलिएको हो। पदमपुरको गाउँबस्तीमा जंगली जनावारले दुःख दिन थालेको रत्ननगर नगरपालिका–७ का वडा सदस्य सूर्यबहादुर तामाङ बताउँछन्। हुन त चितवनमा नै बस्ती विस्तार भएको धेरै भएको छैन। राजा महेन्द्रका पालामा महेन्द्र राजमार्गले चितवनलार्ई छिचोलेर गएपछि यो ठाउँको विकास तीव्र रूपमा बढेको हो। भारतीय राजनीतिको प्रभाव कम गर्न राजा महेन्द्रले पहाडवासी जनतालाई निःशुल्क जग्गा वितरण गरेपछि चितवनको जनसंख्या बढ्न गएको हो। 

आहाराको खोजी गर्दै पनि पस्छन् हात्ती गाउँबस्ती 

हात्ती शाहकारी जनावार हो। जंगली हात्ती बिहान र साँझपख चर्ने गर्छन्। दिउँसो घाम लाग्ने समयमा प्रायः शीतल छायामा बसी खेलेर समय बिताउँछन्। यिनीहरूले विभिन्न प्रकारका रूखका हाँगा, बोक्रा, घाँस, बाँस, केरा र लहारा खाने गर्छन्। वयस्क हात्तीलाई दैनिक १५० किलोग्राम घाँस र ८० देखि १०० लिटर पिउने पानीको आवश्यकता पर्छ। आहारा र पानीको खोजी गर्दै पनि जंगली हात्ती गाउँ बस्ती आउने गरेका छन्। 

हात्ती व्यवस्थापनको समस्या  

जंगली हात्ती गाउँबस्ती आउनुलाई व्यवसायीले अवसरका रूपमा हेरे पनि त्यसको व्यवस्थापनमा चुनौती रहेको उनीहरू स्वीर्काछन्। यसले मानव र वन्यजन्तु बीचको द्वन्द्व थप पेचिलो बन्दै गएको छ। बालीनाली र घर, गोठ क्षति गर्ने विषय त छँदै छ, मानिसको ज्यान नै लिने भएकाले निकुञ्ज आसपासको क्षेत्रका बासिन्दा सधैं नै त्राहिमान हुनुपर्छ। त्यसमा पनि धेरै क्षतिको चुनौती जंगली हात्तीकै छ। 

सौराहाको युनिक वाईल्ड रिसोर्टका सञ्चालकसमेत रहेका थपलिया मानवीय र भौतिक क्षति नहोस् भनेर निकुञ्ज र स्थानीय व्यवसायी लागिरहेको बताउँछन्। चितवन राष्ट्रिय आसपासका क्षेत्रका व्यवसायीले हात्ती पाल्न थालेपछि निकुञ्जले नै एकीकृत बासस्थान बनाउन प्रस्ताव गरेको थियो तर त्यति बेला उनीहरूले मानेनन् तर पछिल्लो समयमा जंगली भाले हात्तीले अत्यधिक दुःख दिन थालेपछि उनीहरू पनि एकीकृतमा नै राख्नुपर्नेमा सहमत भए। तर, निकुञ्जले भने वास्ता नगरेको व्यवसायी र स्थानीयको गुनासो छ।  होटल संघ सौराहका महासचिव थपलिया घरपालुवा हात्तीका लागि एकै ठाउँ बासस्थान बनाउने विषयमा बहस भइरहेको र निश्कर्षमा नपुगिएको बताउँछन्। ‘घरपालुवा हात्तीलाई सुरक्षित स्थानमा राख्नुपर्छ, गाईभैंसी पालेजस्तो घरघरमा पाल्ने होइन। एकै ठाउँमा  बासस्थान बनाउनुपर्छ भन्ने विषय बहसमा छ,’ उनले भने, ‘तर निश्कर्षमा भने पुगिएको छैन।’  

स्थानीय होटल भिस्टा चितवनका सञ्चालक रमेश सिलवाल दिनहुँजसो जंगली हात्ती आएर सताउने गरेको गुनासो गर्छन्। दिनहुँ जसो रात परेपछि आउँछ,  हाम्रो होटलको पर्खाल पनि भत्काइदिएको छ। तरकारी बालीनाली पनि नष्ट गरिदिएको छ’, व्यवसायी सिलवाल भन्छन्, ‘रातमा आउने भएकाले जे पनि गर्न सक्छ। त्यसले गर्दा होटलमा सुत्न पनि समस्या भएको छ। पर्यटकलाई केही गरिदियो भने के होला ? समयमा नै सम्बन्धित निकायले ध्यान दिनुपर्‍यो।’ रत्ननगर नगरपालिका–७ का वडा सदस्य सूर्यबहादुर तामाङ निकुञ्ज आसपासको क्षेत्रमा वन्यजन्तुको जोखिम बढेको बताउँछन्। मानव र वन्यजन्तुको द्वन्द्व बढ्दै जाँदा जोखिम पनि बढेको उनको भनाइ छ। उनले जंगली हात्ती, गैंडा र जंगली बँदेललगायत जंगली जनवारले गाउँमा आएर मानिसलाई हानिनोक्सानी पुर्‍याउने गरिरहेको बताउँछन्। उनी निकुञ्ज प्रशासन सक्रिय नहुँदा पनि निकुञ्ज आसपासका जनताले दुःख पाइरहेको गुनासो गर्छन्। ‘निकुञ्ज जति सक्रिय हुनुपर्ने भएन, जसले गर्दा जनताले दुःख पाएका छौं’, उनले भने। राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत पन्त सबै हात्तीलाई एकीकृत गर्ने विषयमा नीतिगत व्यवस्था नै गर्नुपर्ने बताउँछन्। ‘अहिले घरपालुवा हात्तीहरू छरिएर बसेका छन्। सबै एकीकृत गर्न सकिन्छ तर त्यो गर्न त्यति सजिलो छैन’, उनले भने, ‘त्यसको लागि नीतिगत व्यवस्था नै गर्नुपर्छ।’  एकीकृत गरेर राख्न पनि जग्गा उपलब्ध हुन नसकेको उनले जानकारी दिए। ‘सौराहामा जग्गा यति महँगो छ, किन्ने र हात्तीसार बनाउन सकिने अवस्था नै छैन, सार्वजनिक जग्गा उपलब्ध गराउन पनि नीतिगत व्यवस्था नै चाहिन्छ’, उनले भने। घरपालुवा हात्तीको व्यवस्थापन सावर्जनिक, निजी साझेदारी(पीपीपी)को मोडलबाट गर्नुपर्ने उनको धारणा छ। जंगली हात्तीले दिने दुःख यसबाट पनि पूर्णरूपमा अन्त्य भने नहुने उनले बताए।  

तर, वडा सदस्य तामाङ भने विभिन्न घरपालुवा हात्तीलाई छुट्टै एकीकृत सेञ्चुरी बनाएर राख्ने हो भने तत्काल नै बस्तीमा जंगली हात्ती आउने काम रोकिने दाबी गर्छन्। अन्न पानी  खान आउने ठूलो समस्या नभएको उनको तर्क छ। ‘एकीकृत बासस्थान बनाएर जंगल छेउ अग्लो स्थानमा राख्ने हो भने तत्काल नै जंगली हात्ती आउन रोकिन्छ। अन्नबाली खान आउने ठूलो समस्या होइन’, उनले भने। उनी स्थानीय सरकार एकीकृत बासस्थान बनाउनका लागि निकुञ्जलाई सहयोग गर्न तयार रहेको बताउँछन्। वडासदस्य तामाङ प्रत्येक वर्ष हात्तीको आक्रमणबाट मानवीय क्षति भइरहेको हुँदा निकुञ्ज प्रशासन जिम्मेवार हुनुपर्ने धारणा राख्छन्। ‘व्यवसायी तयार छन् तर निकुञ्ज सक्रिय भएन’, उनले भने। 

जंगली हात्ती देखेपछि पर्यटक रमाउँछन्। संख्या बढेसँगै जोखिम पनि उत्तिकै रहेको हुनाले सरकारीसँगै निजी हात्तीको व्यवस्थापनका लागि सरकारले प्राथमिकता दिनुपर्ने संरक्षणकर्मी बासु ढुंगाना बताउँछन्। पोथी हात्ती खोज्दै बस्ती पस्ने गरेका निजी हात्तीलाई पनि सरकारी हात्तीलाई जस्तै वन क्षेत्रमा राख्ने व्यवस्था गर्नुपर्ने उनले बताए। 

‘पहिला जंगली हात्ती पर्यटकलाई देखाउन पाएका थिएनांै। जंगली हात्ती देखेपछि पर्यटक खुसी हुन्छन्। पर्यटनको हिसाबमा सकारात्मक छ। तर, त्यसबाट सिर्जना हुनसक्ने दुष्परिणामको वा यसले कुनै दुर्घटना गराउँछ कि भन्ने चिन्ता पनि छ’, उनले भने, ‘निजी हात्तीको सुरक्षा, खानपन र चरिचरणलाई ध्यानमा राखेर पाल्नुपर्छ। सरकारी हात्तीलाई जस्तै निजी हात्तीको व्यवस्थापनका लागी सरकार र सम्बन्धित पक्षले खुला बहस गर्नुपर्छ। मानव वन्यजन्तु द्वन्द्व नबढाउने गरी व्यवस्थापन गर्न जरुरी भइसकेको छ।’

मानवीय क्षति कम भए पनि सतर्क रहनु जरुरी 

पछिल्लो समय हात्ती नियन्त्रण गर्ने संयन्त्र तयार गरेको कारण पनि मानवीय क्षति कम भएको निकुञ्ज प्रशासनको दाबी छ। प्रमुख संरक्षण अधिकृत पन्त निकुञ्जको एक किलोमिटर क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनुपर्ने बताउँछन्। हात्तीलाई जिस्काउन नहुने तर्क पनि उनको छ। हात्तीलाई जिस्काउँदा हात्तीले झनै क्षति गर्ने गर्छ। गाउँघर, खेतबारीमा हात्ती देखा पर्‍यो भने स्थानीयवासीले हात्तीलाई तर्साएर लखेट्ने गरेका छन्। हात्ती तर्साउन राँको बाल्ने, सिठ्ठी बजाउने, पटाका पड्काउने जस्ता कार्य गरिन्छ। यस्ता कार्यले हात्ती झन् उत्तेजित भई आक्रामक हुन्छ। हात्तीले मान्छे मार्ने, घाइते बनाउने घटना यस्तै क्रियाकलापले बढेको छ ।

‘मानवीय क्षति त भएको छैन तर सचेत रहनुपर्छ’, प्रमुख संरक्षण अधिकृत पन्त  भन्छन्, ‘गाउँबस्ती आयो भनेर ढुंगामुडा गर्दा पनि हात्ती जाइलाग्ने गर्छ, अर्कोतिर एक्टिभ भएको बेला पनि हात्तीले जे पनि गर्न सक्छ।’ संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको वासस्थानमा भएको क्षयीकरण एवं संकुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छाडी गाउँबस्ती पस्ने गरेको निकुञ्जको भनाइ छ । यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि बसोवास गर्ने समुदायहरूको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हँुदै आएको छ।

कति छन् हात्ती ? 

नेपालमा दुई खालका हात्ती छन्। घरपालुवा र जंगली। घरपालुवामा पनि सरकारी स्वामित्व र बाहिरका।  सरकारी र निजीस्तरमा २००  भन्दा बढी घरपालुवा हात्ती छन्। प्रत्येक जसो होटल व्यवसायीले गोठगोठमा हात्ती पालेका छन्। सबै जसो घरपालुवा हात्ती पोथी नै छन्। भाले हात्ती उशृंखल र उदण्ड हुने तर पोथी हात्ती सोझा हुने स्थानीय बताउँछन्।  

भाले हात्ती पाल्न गाह्रो हुने भएकाले नै व्यवसायीले पोथी हात्ती पाल्ने गरेका छन्। देशभर सरकारी स्वाभित्वमा ११० वटा हात्ती छन् भने निकुञ्ज तथा आरक्ष क्षेत्रभित्र रहेका होटलहरूमा ७० भन्दा बढी हात्ती छन्। योबाहेक निकुञ्ज-आरक्षण क्षेत्र बाहिर रहेका होटलमा पनि घर पालुवा हात्ती छन्।   

नेपालमा जंगली हात्ती कति छन् ? 

नेपालमा कुल २२७ देखि २५० जंगली हात्ती छन्। नेपालमा २२७ जंगली हात्तीको रेकर्ड गरिएको हात्तीविज्ञ एवं बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामले जानकारी दिए। उनका अनुसार भारतको पश्चिम बंगाल लगायतका क्षेत्रबाट १०० देखि १५० जंगली हात्ती नेपालमा आउने गरेका छन्। झापाको बाहुनडाँगी क्षेत्रमा बर्सेनि भारतबाट जंगली हात्ती आएर उपद्रो मच्चाउने गरेका छन्। जंगली हात्ती पूर्वी तराईमा आउने र केही महिना त्यहीँ बसेर भारत फर्किने गरेका छन्। भारतको कतरनियाबाट बर्दिया राष्ट्रिय निकुञ्जमा, पिलिभित दुधुवाबाट शुल्काफाँटा राष्ट्रिय निकुञ्जमा र नन्दौर वन्यजन्तु आरक्षबाट शुल्काफाँटाबाट भारतीय हात्ती आउने गरेका छन्। नेपालमा करिब ४०० जंगली हात्तीका लागि बासस्थान उपलब्ध रहेको हात्ती विज्ञ डा. राम बताउँछन्।  

पुर्खाको बाटो हेर्न हात्ती गाउँ छिर्छन् : डा. अशोककुमार राम, हात्तीविज्ञ 

हात्ती भिमकाय जनावर हो। यसलाई खानेकुरा धेरै चाहिन्छ। दैनिक १५० देखि २०० केजी आहारा चाहिन्छ। यो जनावर परिवारमा बस्छ। यसलाई पनि समाज चाहिन्छ। हजुरआमाको निर्देशनमा हात्तीको परिवार चल्छ। धेरै आहार चाहिने भएका कारणले लामो दूरी तय गर्छ। यसलाई भू–परिधिस्तरको जनावार पनि भनिन्छ। यसको कुनै निश्चित दूरी हुँदैन। झापाबाट निस्केको हात्ती चितवन आइपुग्छ। शुक्लाफाँटाबाट निस्किएर कपिलवस्तुसम्म आइपुग्छ। हात्ती गाउँबस्तीमा आउनु पनि विभिन्न कारण छन्। यो पुर्खाले हिँडेको बाटो हिँड्छ। हात्ती हिँड्ने बाटोमा बस्ती बस्यो। खेत, बारी बन्यो। धान, गहुँलगायत बालीनाली लगाएको हुन्छ। हात्ती त्यही बाटो आउँछ। बालीनाली नष्ट गर्‍यो भनेर ढुंगा, मुडा, गोली हानिन्छ। अनि मानव र हात्तीबीच द्वन्द्व हुन्छ। ८ देखि २० वर्षका उरन्ठेउला, ठेउके टिनएजर हात्ती समयभन्दा पहिले नै प्रजनन गर्न खोज्छन्। तर, हात्तीमा एउटाले मात्रै प्राकृतिक रूप छनौट(नेचुरल सेलेक्सन) गरेर प्रजनन गर्ने गर्छन्। हात्तीमा एउटा समूहमा एउटाले मात्रै वंश विस्तार गर्छ।  प्रजनन गर्न जाने ती टिनएजरहरू खेदिन्छन्, समूहबाट निकालिन्छन्। ती हुन्, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका रोनाल्डो, धु्रवे, गोबिन्दे र मकुना। यिनीहरू पनि कहीँबाट निकालिएर यहाँ आइपुगेका हुन्। रौतहट यमगज र बर्दिया दारे पनि हुन्। नेपालमा यस्ता ३७ हात्ती छन्। जो अनुशासहीन, उशृंखल भएपछि आफ्नो ग्रुपबाट लखेटिए। यिनीहरू विध्वस मच्चाउँछन्।  
यसपछि आएर उनीहरूले अर्को ग्रुप बनाए। रोनाल्डोले पनि चितवनको प्रजनन केन्द्रमा अर्को ग्रुप बनाएको छ। यसरी लखेटिएका जंगली हात्ती बढि रिक्समा पनि हुन्छन्। यिनीहरूको बढी मृत्यु पनि हुन्छ। अत ः वंश विस्तार गर्न, पुर्र्खाको बाटो हेर्न र बाहिरको दुनियाँ र दुःखकष्ट  महसुस गर्न जंगलबाट हात्ती बाहिर गाउँबस्तीमा आएका हुन्। 


 

Post a Comment

0 Comments