जनतामा किन जोडिदैछन् दलहरु ?


डासम्मै अभियानमा दलहरू

वडासम्मै अभियानमा दलहरू
769Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौं : संयोग हो वा नियमित आकस्मिकता, पूर्वराजाको गतिविधि बढेसँगै राजनीतिक दलहरू जनतामा जोड्ने सबालमा सक्रिय हुन थालेका छन्। प्रमुख राजनीतिक दल कांग्रेस, एमाले, माओवादी केन्द्रमात्रै नभएर साना दल पनि जनतामा जाँदै छन्। उनीहरूले छुट्टाछुट्टै अभियान सञ्चालन गरिरहेका छन्। 

सरकारमा सँगै रहेका कांग्रेस, एमालेदेखि प्रतिपक्ष दल माओवादी केन्द्रसमेत कुनै न कुनै ढंगले तल्लो तहसम्म पुग्न थालेका छन्। केही दल अलि पहिलादेखि अभियानमा छन् भने कतिपय हालसालै यो निर्णयमा पुगेका छन्। यसलाई ‘मिसन ८४’ को तयारीका रूपमा पनि लिइएको छ। 

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले प्रतिगमनको प्रयासविरुद्ध वडा वडामा अभियान गरिरहेको बताए। उनले भने, ‘प्रतिगमनको प्रयास उचित होइन, आवश्यक होइन भनेर हामी जनतामाझ गएको हौं।’ 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान व्यवस्थालाई बलियो बनाउँदै सुधार गरेर लैजानुको विकल्प नभएकोमा पार्टीमा एकमत रहेको बताए। जनताका निराशा र असन्तुष्टि सम्बोधन गर्ने प्रमुख जिम्मेवारी राजनीतिक दलको भएको भन्दै उनले यसका लागि सबै दलबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे। 

लोकतन्त्रको प्रशिक्षणमा कांग्रेस 

सत्तारूढ प्रमुख दल कांग्रेसले असोजदेखि सयदिने सांगठनिक अभियान चलाएको थियो। बीचमा प्रदेश सम्मेलन सफलता साथ सम्पन्न ग¥यो। जिल्ला सम्मेलनहरू पनि अधिकांश जिल्लामा सकेको छ। अहिले क्षेत्रीय सम्मेलनमा जुटिरहेको छ। संघीय लोकतन्त्रको पक्षमा वकालत गर्ने रणनीतिमा कांग्रेस लागेको छ। 

पछिल्लो समय क्षेत्रीय सम्मेलनमा लोकतन्त्रका सबल पक्षबारे युवा पुस्तालाई प्रशिक्षित गर्ने काम कांग्रेसले गरिरहेको छ। उसले जिल्ला सकेर क्षेत्रीय सम्मेलन गर्नुअघि देशभरका क्षेत्रीय सभापतिहरूको दुई दिने प्रशिक्षण रुपन्देहीको भैरहवामा राखेको थियो। प्रशिक्षणमा संघीय र प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति र प्रशिक्षण शाखा प्रमुखसमेत गरी ३३० जना सहभागी भएका थिए।

१६५ संघीय निर्वाचन क्षेत्रमध्ये १३० निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापति र प्रशिक्षण शाखा प्रमुख गरी २६० जना र एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाका ७० वटा प्रदेशसभा निर्वाचन क्षेत्रबाट ७० जना क्षेत्रीय सभापति गरी ३३० जनालाई प्रशिक्षण कांग्रेसले दिएको पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख पार्टीका उपसभापति पूर्णबहादुर खड्काले बताए। 

उनले अहिले पार्टीको संलग्नतामा विगत केही महिनायता राजनीतिक र सांगठनिक अभियान चलाइरहेको बताए। अब आगामी दिनमा के गर्ने र कस्ता अभियान अघि बढाउने भन्नेबारे कार्यसम्पादन बैठकले तय गर्ने उल्लेख गरे। उपसभापति खड्काले भने, ‘प्रशिक्षण दिनुको मुख्य उद्देश्य पार्टीलाई संस्थागत र बलियो बनाउने विषयमा केन्द्रित रहने नै हो।’


पार्टीले विगत केही महिनायता राजनीतिक र सांगठनिक अभियान चलाइरहेको छ । अभियान चलाउनुको उद्देश्य लोकतन्त्रको रक्षा, पार्टीलाई संस्थागत र बलियो बनाउने विषयमा केन्द्रित रहनेनै हो। पूर्णबहादुर खड्का, उपसभापति, नेपाली कांग्रेस

भर्खरै विभिन्न क्षेत्रमा भएका क्षेत्रीय सम्मेलनमा सहभागी भएका कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रदेश, जिल्ला र क्षेत्रीय सम्मेलन गर्नुको मुख्य उद्देश्यनै कांग्रेस आफैंमा बलियो हुनुपर्ने बेला भएको र सबैबीच एकता र सद्भाव कायम राख्न सक्नुपर्ने भएको बताए। 

उनले भने, ‘कांग्रेसले आन्तरिक सुधार गर्नुपर्छ, एउटा कांग्रेसले अर्को कांग्रेसको अस्तित्व स्वीकार गर्न सकेमात्रै जनताले कांग्रेसलाई स्वीकार गर्ने छन्, पार्टीभित्रका समस्या समाधान गर्दै कांग्रेस एक बनाउने अभियानमा सबै लाग्नुपर्छ। हामी अहिले यही अभियानमा छौं।’ 

कांग्रेसका नेता रामहरी खतिवडाले कांग्रेसलाई सधैं जागरुक बनाइराख्न कुनै न कुनै माध्यमबाट जनतासँग जोडिनुनै एक मात्र उद्येश्य रहेको बताए। उनले भने, ‘१२ महिनानै कुनै न कुनै कार्यक्रमहरू राखेर कांग्रेसलाई क्रियाशील राखिनुनै कांग्रेसको उद्देश्य हो।’ उनले भने, ‘सात प्रदेशमा सम्मेलन सकेर ३ सय ३० निर्वाचन क्षेत्रमा अहिले क्षेत्रीय कार्यक्रमहरू भइरहेका छन्। अधिकांश जिल्ला सम्मेलन सबैतिर एकपटक गरिसकिएको छ। यो गर्नुको उद्देश्य कार्यकर्तासँग जोडिराख्नुनै हो।’

एमाले वडाकेन्द्रित आन्दोलन गर्दै

सरकारको नेतृत्व गरिरहेको एमाले संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि सडकमा उत्रिएको छ। उसले तीन महिने वडाकेन्द्रित अभियान थालेको छ। संघीय लोकतान्त्रिक गणतन्त्र रक्षा गर्दै प्रतिगामी गतिविधिहरू विरुद्ध जनचेतना अभिवृद्धि गर्न देशव्यापी अभियान सञ्चालन गरेको छ। 

तीन महिने वडाकेन्द्रित अभियानअन्तर्गत आइतबार (चैत ११ गते)देशभरका कुल ६ हजार ७ सय ४३ वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्दै छ। एमाले उपाध्यक्ष ज्ञवालीले यो अभियानको उद्देश्य गणतन्त्र र राजतन्त्रमा भएका उपलब्धिहरूको तुलनात्मक रूपमा तथ्य, तथ्यांकसहित जनतालाई जानकारी गराउनु रहेको बताए। 

राजतन्त्रमा देशको अवस्था कस्तो थियो, लोकतान्त्रिक गणतन्त्र आएपछि के भयो ? भन्ने कुरा गणितीय तथ्य, तथ्यांकसहित जनतालाई जानकारी होस् भनेर यो अभियान गरिएको हो । युवराज ज्ञवाली, उपाध्यक्ष, नेकपा एमाले

‘राजतन्त्रमा देशको अवस्था कस्तो थियो, लोकतान्त्रिक गणतन्त्र आएपछि के भयो ? भन्ने कुरा गणितीय तथ्य, तथ्यांकसहित जनतालाई जानकारी होस् भनेर यो अभियान गरिएको हो,’ उनले भने, ‘केही पनि भएन, केही भएन भनेर उल्टा कुरा मात्रै भइरहेको छ, पुगेको छैन। त्यो यथार्थ हो। समस्या छन्। त्यो पनि हो। यो सबै थाहा नै छ, समाधान गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको छ।’

उनले विगतको तुलनामा गर्दै भने, ‘२०६५ अघि सबै राजा थिए, २०५८ देखि २०६२ सम्म त ज्ञानेन्द्र आफैं राजा थिए। अधिकार आफैले लिएका थिए, त्यो बेलाको अवस्था कस्तो थियो ? विकास निर्माणदेखि शान्ति सुरक्षासम्मकै, त्यसयता आएर के भएको छ ? एक–एक तथ्यांक जानकारी दिनुप¥यो भनेर यो अभियान सञ्चालन गरिएको हो।’ 

उनले मुलुक पछाडि फर्काउने कुरा असम्भव भएको बताए। ‘पछाडि फर्कन नसकिने तर धेरै काम गरौं, अगाडि बढौं भन्ने कुरा उचित हो, राजनीतिक, वैचारिक रूपमा पनि मुलुकलाई पछाडि फर्काउन कुरा उचित होइन, सम्भव पनि छैन र गर्न पनि हुँदैन,’  उनले भने। 

एमालेले जनचेतना अभियानअन्तर्गत चैत १८ मा काठमाडौं उपत्यकालगायत प्रमुख सहरहरू धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा मोटरसाइकल ¥याली तथा अन्य जिल्लाहरूमा बृहत् प्रदर्शन तथा जागरण सभा गर्दै छ। त्यस्तै, चैत २४ देखि ३० गतेसम्म ती सहरमा जनप्रदर्शन र आमसभा गर्ने छ। एमालेले यो अभियानमार्फत नागरिक समाज, बुद्धिजीवी, युवा तथा विभिन्न पक्षलाई समेटेर लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा योगदान दिने बताएको छ। यसभन्दा अघि एमालेले ‘जरा’ अभियान सञ्चालन गरिरहेको थियो। जरा अभियानअन्तर्गत टोलटोलमा संगठन भन्दै वडाभित्रका प्रत्येक टोलमा कमिटी बनाउने काम एमाले गरिरहेको थियो। 

एमालेले झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्रा गरेको थियो। यो यात्रामा अध्यक्ष केपी शर्मा ओली पश्चिमको झुलाघाटदेखि पूर्वको चिवाभन्ज्याङसम्मै पुगेका थिए। त्यसभन्दा अघि (२०८० फागुन र चैतमा) एमालेले मिसन ग्रासरुट अभियान चलाएको थियो। पार्टीभित्रका कमिकजोरी, विकृति खोतल्ने अभियानका रूपमा मिसन ग्रासरुट सञ्चालन गरिएको थियो। एमाले २०७९ को निर्वाचनपछिदेखि नै अभियानमा छ। उसले जनसंगठनहरूको महाधिवेशनदेखि प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। 

माओवादी मधेसतिर

लामो समय सत्ता र गठबन्धनमा रुमलिएको माओवादी केन्द्र्र पनि जनतामाझ पुगेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं अभियानको नेतृत्व गरेर तराई मधेसमा दौडिरहेका छन्। प्रतिगामीहरूको गतिविधि बढेसँगै अभियान स्थगित गरेर संघीय राजधानी फर्किएका प्रचण्ड पुनः अभियानमा नै फर्किएका छन्। पछिल्लो स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले माओवादी केन्द्र थप हौसियाएको छ। 

प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष प्रचण्डको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। उनी विशेष गरी तराईका जिल्लाहरूमा दौडिरहेका देखिन्छन्। कहिले मर्निङ वाकमा एक हुल मान्छे सँगै हुन्छन्। कहिले जनताका घरघर पुगेर स्थानीय जनतासँग गफिँदै गरेका देखिन्छन्। 

१२ फागुनबाट सुरु गरेको ‘तराई मधेस जागरण अभियान’ मा यतिबेला माओवादी पार्टी लागेको छ। अहिले उक्त अभियान चितवनसम्म पुगेको पार्टीका महासचिव देव गुरुङले बताए। अब केही दिन बिश्राम गरेर फेरि सुरु गरिने पनि गुरुङले बताए। 

‘समाजवादी मोर्चाको यही महिनाको १५ गते काठमाडौंमा प्रदर्शन हुँदै छ। त्यसैको तयारीमा बिश्राम गरिएको हो’, यो अभियान केका लागि भन्ने प्रश्नमा गुरुङले भने, ‘पार्टीले यसअघि नै निर्णय गरेबमोजिम प्रतिगमनविरुद्ध जनतामा जागरण ल्याउने, जनताका गुनासा सुन्ने। संगठन सुदृढीकरणका लागि काम गर्ने यसको मुख्य ध्येय हो।’ 

अभियानको उद्देश्य प्रतिगमनविरुद्ध जनतामा जागरण ल्याउने, जनताका गुनासा सुन्ने। संगठन सुदृढीकरणका लागि काम गर्ने हो। देव गुरुङ, महासचिव, माओवादी केन्द्र  

गुरुङले भने, ‘जनताका माग र मुद्दा ठूला छैनन्। अति सामान्य बिषयमा उहाँहरूको सुनुवाइ गरिदिए मात्र पुग्छ। भ्रष्टाचार रोक्ने र रोजगार दिने खालका गतिविधि बढाउन सके मात्र पनि ठूलो न्याय हुने देखिन्छ। स्थानीयका ज्ञापनपत्र संश्लेषण गरी सरकारसमक्ष माग राख्छौं। सरकारलाई खबरदारी गर्ने हाम्रो भूमिका पनि हो।’

रोजगारी र सुशासन खोज्दै समाजवादी मोर्चा 

यही चैत १५ गते समाजवादी मोर्चाले गणतन्त्रका पक्षमा प्रदर्शन गर्ने घोषणा गरेको छ। समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महेन्द्र राय यादवले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी छन्। 

नेकपा (एकीकृत समाजवादी) का प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले चैत १५ गते जनप्रदर्शन र नेताहरूको सम्बोधनको विशाल कार्यक्रम रहेको बताए। उनका अनुसार प्रचण्ड, माधवकुमार नेपाल, नेत्रविक्रम चन्द, महेन्द्र राय यादव लगायतका नेताले त्यो जनप्रदर्शनलाई सम्बोधन गर्ने छन्। जनप्रदर्शनमा ठूलो भीड जम्मा गर्ने उनीहरूको दाबी छ। 

अर्यालले पार्टीसँग नजिकिन एकीकृत समाजवादीले रोजगारी र सुशासनका लागि भन्दै अभियान चलाइरहेको छ। उसले चैत १ गतेबाट अभियान सुरुवात गरेको हो। प्रचार विभाग उपप्रमुख आर्यालले सरकारले सुशासन दिन नसकेकाले निराशाको उपज नै राजतन्त्र पक्षहरू जुर्मुराएको बताए। 

उनका अनुसार यो बेरोजगारी र कुशासनविरुद्ध क्रान्तिकारी पहलकदमी हो र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरूबीच सहकार्य र एकताको अभियान हो। ‘सरकारले सुशासन दिन सकेन, निराश भएर जनता भडकिएर राजा पक्षमा देखिए, तर सुशासन विकासले रोजगारी सृजना गर्न सकेमा उनीहरू सबै गणतन्त्रको पक्षमा उभिन्छन्,’ उनले भने। 

साना पार्टी : आफू अनुकूल अभियान

संघीयता विरोधी पार्टीका रूपमा रहेको राष्ट्रिय जनमोर्चाले भने राजधानी केन्द्रित आन्दोलन गर्ने भएको छ। उसले गणतन्त्रको रक्षाका लागि भन्दै चैत २४ देखि ३० गतेसम्म आन्दोलन गर्ने घोषणा गरेको छ। 

मधेस केन्द्रित दल पनि आआफ्नै अभियानमा छन्। जनमत पार्टी र नागरिक उन्मक्ति पार्टी एकीकरणको संघारमा छ। दुवै पार्टी एकिकरणका लागि अन्तिम अवस्थामा पुगेका छन्। जनता समाजवादी पार्टी(जसपा नेपाल) र जसपाले पनि अभियान गरिरहेका छन्। 

उता राजेन्द्र लिङदेनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल मुलुकमा राजतन्त्र र हिन्दु राज्य ल्याउने भन्दै सडकमा छन्। पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुद्दा झेलिरहेको कारण रास्वपा मौन छ। 

यस कारण जनतासँग जोडिँदै छन् दलहरू बिग्रिएको छवि सपार्न

बिग्रिएको छवि सपार्न दलहरू जनतामा जाँदै छन्। पछिल्लो समयमा दल र उनका नेताप्रति जनतामा छवि बिग्रिरहेको छ। उनीहरूका क्रियाकलापले जनता आजित भएका छन्। फेरिइरहने सरकारहरूले सुशासन दिन नसक्दा दल र उनका नेताप्रति जनताको विश्वास नकारात्मक हुँदै गएको हो।

लोकतन्त्र नै उत्तम व्यवस्था हुँदाहुँदै पनि गणतन्त्रपछि मुलुकमा भएका उपलब्धि पनि छायामा परेका छन्। दलका नेताहरू जनताभन्दा माफिया, बिचौलिया, व्यापारीको निकट भएका कारण पनि उनीहरू जनताबाट टाढिएका हुन्। कतिपय त माफिया, बिचौलिया, व्यवसायी नै नेता बनेका छन्। संघीयतासँगै संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार बने। सिंहदरबार गाउँगाउँ पुग्यो। तर, नेताहरू जनताबाट टाढिए। उनीहरू शक्ति र सत्तामा रुमलिए। भ्रष्टाचार र अनियमिततामा लागे। जसले गर्दा जनतासँगको सम्बन्ध बिग्रियो। 

यता गणतन्त्रसँगै जनताका ठूलो अपेक्षा थिए। दल र नेताका क्रियाकलाप र विश्वमा भएका तीव्र विकास र समृद्धिले गर्दा पनि जनतामा असन्तुष्टि, निरासा छायो। पछिल्लो समय धेरै नेतामा भने जनताबाट टाढिएको आभास हुन थालेको छ। 

त्यो छवि सुधार्न पनि अब जनतामा जानु वाञ्छनीय देखेको हुन सक्छ। 

प्रतिगामी चहलपहल

पछिल्लो समय प्रतिगामीहरूको चहलपहल बढेको छ। गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं आउँदा स्वागत गर्ने नाम गरिएको प्रदर्शनले उनको पुनरागमन चाहनेलाई हौस्याएको छ। संसद्देखि सडकसम्मै उनका समर्थक कुर्लिरहेका छन्। २०६५ जेठ १५ गते औपचारिक रूपमा २४० वर्ष लामो राजतन्त्र अन्त्य भएको थियो।

गणतन्त्र स्थापना भएपनि अवस्था नफेरिएको, दल र नेताप्रति चरम निराशा, असन्तुष्टि बढेको भाष्य खडा गर्दै पुनः पूर्वराजा ज्ञानेन्द्र र उनका समर्थक सलबलाउन थालेका छन्। प्रजातन्त्र दिवसको पूर्वासन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले आफूलाई साथ दिन आह्वान गर्दै सक्रियता देखाउन थालेका हुन्। 

पूर्वराजा र उनका समर्थकका गतिविधिविरुद्ध पनि दलहरूले सदनदेखि सडकमा नै प्रतिवाद गरिरहेका छन्। त्यसैले उनीहरू राजतन्त्रका २४० वर्षमा के भएको थियो, गणतन्त्रको १७ वर्षमा के भयो भन्ने विषयमा जनतालाई सचेत गर्न लागिपरेका छन्। एमाले उपाध्यक्ष ज्ञवाली प्रतिगामी गतिविधिविरुद्ध प्रतिवाद गर्ने जागरण अभियान भएको बताए। 

साथमा मिसन ८४ 

अबको अढाई वर्षपछि अर्थात् २०८४ सालमा आमनिर्वाचन हुँदै छ। यो निर्वाचन तयारीका लागि राजनीतिक दलले अहिलेबाटै मिसन थालिसकेका छन्। कांग्रेसका महामन्त्री गगन थापा देशव्यापी दौहाडा गरिरहेका छन्। 

एमालेले मिसन ८४ भनेर अभियान थालेको धेरै भइसकेको छ। २०७९ निर्वाचन सकिए लगतैदेखि नै एमालेले मिसन ८४ थालेको हो। स्थानीय तहको उपनिर्वाचन र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट हौसिएको नेकपा माओवादी केन्द्र पनि मिसन ८४ भन्दै कस्सिएको छ। 

तराई मधेसमा चालेको अभियानमा नै अध्यक्ष प्रचण्ड मिसन ८४ जोडका तोडका साथ लिएर हिँडेका छन्। संविधान बने पछिका दुवै निर्वाचन (२०७४ र २०७९) मा माओवादी केन्द्र गठबन्धन बनाएर चुनाव लडेको थियो। २०७४ मा एमाले माओवादीको गठबन्धन बनेको थियो भने २०७९ मा कांग्रेस–माओवादीसहित गठबन्धन थियो। 

कांग्रेस, एमाले र माओवादी तीन वटै दल २०८४ मा एक्लाएक्लै चुनावमा जाने भनेर कस्सिएका छन्। प्रत्येकजसो राजनीतिक सम्बोधनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल २०८४ मा एक्ला एक्लै चुनाव लड्ने बताउँदै आएका छन्। यसका लागि पनि जनताको ढोका नै ढकढकक्याउनु आवश्यक छ। दलहरूका अभियान त्यसमा पनि केन्द्रित छन्।


 

Post a Comment

0 Comments