किन जहिल्यै अस्थिरता चाहन्छन् प्रचण्ड ?


किन जहिल्यै अस्थिरता चाहन्छन् प्रचण्ड

किन जहिल्यै अस्थिरता चाहन्छन् प्रचण्ड
1.2kShares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौं : मुलुक नयाँ वर्ष आगमनको खुसियालीमा थियो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन पुगे। फ्याट्टै भविष्यवाणी गरिदिए– सरकार परिवर्तन हुँदै छ। राजनीतिमा एकाएक फेरि सरकार परिवर्तनको बहस सुरु भयो। त्यति मात्र होइन, सत्तारूढ कांग्रेसका नेताहरू पनि चलमलाउन थाले। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगै डा. शेखर कोइरालाले वर्तमान सरकारप्रतिको असन्तुष्टि सार्वजनिक रूपमै पोख्न थाले। 

तर, कांग्रेस सभापति शेरबहादुर देउवाले बजार हल्लालाई खारेज गरिदिए। सरकारका कमीकमजोरी भए सडकमा नभई आफूलाई भन्न कांग्रेसका नेतालाई सुझाए। पदाधिकारी, पूर्वपदाधिकारी, केही मन्त्री र प्रमुख सचेतकलाई बोलाएर देउवाले भने, ‘सरकारका कमीकमजोरी मलाई सुनाउनुस्, म प्रधानमन्त्रीलाई सुनाउँछु। कांग्रेसको बैठकमा हल्लाको भरमा सरकार बन्ने भत्किने नहुने बताए। 

बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले प्रचण्ड प्रतिपक्षमा भएकाले सरकार ढल्दै छ भन्नु स्वभाविक भएको बताए। ‘प्रचण्ड प्रतिपक्षमा हुनुहुन्छ, उहाँले यो सरकार ढलिहालोस् छ भन्नु स्वाभाविक हो,’ उनले भने, ‘उहाँले भनेको कुरामा हाम्रो टिप्पणी छैन। तर, उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र भत्किने हुँदैन्।’ तर प्रचण्ड निरन्तर सत्ता ढल्ने र नयाँ बन्ने भन्दै भाषण गर्दै हिँडेका छन् प्रचण्डमा छटपटी बेला यस्तो पनि थियो– प्रचण्डका दुवै हातमा लडडु। अर्थात् संसद्का दुई ठूला दल कांग्रेस र एमाले हेरेको हेर्यै‍।

प्रचण्ड सत्तामा बसेको बस्यै। कहिले कसको काँध त कहिले कसको काँध फेरेर प्रचण्डको सत्तामा हालिमुहाली। त्यसैकारण उनमा उन्माद थियो। घोषणा पनि गरी दिए– हामीसँग म्याजिक नम्बर छ। ०८४ सम्मै हाम्रै नेतृत्वको सरकार। तर, जब कांग्रेस र एमाले मिलेर झन्डै दुईतिहाइको सरकार बन्यो, प्रचण्ड एकैपटक सत्ताविहिन बने, अनि उनमा छटपटी सुरु भयो। 

सत्ता ढाल्न कहिले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेर फकाउने कोशिस गर्छन त,  कहिले वामगठबन्धनको सरकार बनाउनुपर्ने भन्दै एमाले नेतृत्वसँग कुराकानी गर्न आफ्ना प्रतिनिधि पठाइरहेका छन । अर्थात्, सरकार बनेदेखि नै स्थिर सरकार ढाल्ने र अस्थिरता ब्युँताउने खेलमा सक्रिय छन्, प्रचण्ड। 

त्यसैकारण प्रचण्डले फेरि सत्ता परिवर्तन हुने भन्दै कार्ड फ्याँकेको एमाले नेताहरू बताउँछन्। जबकी ०८४ सम्म सरकारमा नजाने बताइरहेका प्रचण्ड एकाएक चलमलाउन थालेका छन्। प्रचण्डमा सत्ताको भोक जाग्नुमा मुख्य पक्ष हो– अस्थिर प्रवृत्ति। विगतदेखि नै स्वार्थका लागि प्रचण्डले अन्य पार्टी उपयोग गर्दै आएका छन्। 

यो प्रचण्डको पहिलोपटक भने होइन, २०६४ मा सरकारमा आएसँगैदेखि उनको सत्ताप्रति आशक्ति प्रकट हँुदै आएको छ। हुन त प्रचण्डकै नेतृत्वमा नेपालमा १० वर्ष लामो संशस्त्र सघर्ष भयो। जसलाई माओवादीहरू ‘जनयुद्ध’ को नाम दिने गर्छन्। मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन भूमिका पनि खेले। तर १०÷१० वर्ष सशस्त्र सघर्षको नेतृत्व गरेका प्रचण्ड सरकारबाहिर बस्ने बित्तिकै छटपटाउन थाल्छन्। २०६४ को पहिलो संविधानसभामा ठूलो शक्तिका रूपमा प्रचण्ड उदाएका थिए। 

पहिलो संविधानसभाबाट अन्तर्राष्ट्रिय जगतलाई पनि चकित बनाउँदै सबैभन्दा ठूलो पार्टी बनेर उदाए र सरकारको नेतृत्व गरे । तर, उनलाई सरकारले मात्रै पुगेन, सत्ता नै कब्जा गर्ने रणनीति स्वरूप तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई चलाए, कटुवाललाई बर्खास्त गरे। दोस्रो वरियाताक्रममा रहेका कुलबहादुर खड्कालाई प्रधानसेनापति बनाए। कुटवाललाई हटाउनुको उद्देश्य सत्ता कब्जा गर्ने थियो तर उनको यो कदमलाई तत्कालीन राष्ट्रपति डा. रामबरण यादवले उल्टाइदिए। आफ्नो निर्णय राष्ट्रपतिले उल्टाइदिएपछि प्रचण्ड सत्ताबाट बाहिन बाध्य भए। 

अस्थिरता १ मुलुकको पहिलो राष्ट्रपति बनाउने विषयमा नै प्रचण्डले राजनीतिक सहमति तोडे। कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने भद्र सहमतिबाट पछि हटे। प्रचण्डले पहिलो धोका गिरिजाप्रसाद कोइरालालाई दिए। 

पार्टीभित्र उनको भूमिकाप्रति असहमति जनाउँदै बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’, सीपी गजुरेल, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतले प्रचण्डको पार्टीबाट अलग भए। यो कुरा अहिले पनि प्रचण्डले स्वीकार गर्ने गरेका छन्। त्यो बेला प्रचण्डले गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको उम्मेदवार बनाए। तर, कांग्रेसले अघि सरेका डा. रामवरण यादव नेपालको पहिलो राष्ट्रपति बने। प्रचण्डले अघि सारेका सिंह पराजित भए। 

गिरिजाप्रसाद कोइरालालाई धोका दिएको परिणाम प्रचण्ड सत्ताबाट पनि बाहिरिनुप¥यो। उनले माधवकुमार नेपाललाई पनि राष्ट्रपति बनाउने भनेर अलमल्याएका थिए। गिरिजाप्रसाद कोइरालाको निधनपछि आफू मात्रै शान्ति सम्झौताको हस्ताक्षरकर्ता भएको भन्दै आएका छन्। कटवाल प्रकरणपछि उनलाई सरकार फिर्ता हुन केही समय कुर्नु नै प¥यो। 

कटवाल प्रकरणमा सरकारबाट प्रचण्ड बाहिरिएपछि एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री भए। तर, उनलाई सरकारबाट हटाउनका लागि माओवादीले काठमाडौंमा पूरै घेरा हालेको थियो। प्रचण्डले एमालेभित्रै खेलेर नेपाललाई हटाएर तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन सहयोग गरे। तर, त्यो सरकार पनि धेरै दिन टिकेन। पुन: माओवादीकै डा. बाबुराम भट्टराई प्रधानमन्त्री बने। संविधान जारी गर्न नसकेको भन्दै उनले पहिलो संविधान सभा भंग गरे। त्यस चुनावी सरकारको रूपमा प्रधान न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार बन्यो। पहिलो संविधानसभामा पहिलो शक्ति बनेको माओवादी दोस्रो संविधान सभामा तेस्रो हुन पुग्यो। 

त्यो सरकारले दोस्रो संविधान सभाको निर्वाचन गरेर कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालालाई हस्तान्तरण ग¥यो। कांग्रेस र एमालेको संयुक्त सरकार सरकार बन्यो। माओवादी प्रतिपक्षमा बस्यो। दोस्रो संविधानसभामा तेस्रो भएसँगै कसैसँग गठबन्धन नगरिकन अघि बढ्नै नसक्ने अवस्थामा पुग्यो। अर्थात् माओवादीको आत्मबल नै कमजोर भयो। २०७२ असोज ३ मा संविधान जारी भएपछि सरकार हस्तान्तरण गर्न कांग्रेसले अस्वीकार गरेपछि एमाले र माओवादीको गठबन्धन बन्यो। 

एमालेका नेता केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बने। भारतीय नाकाबन्दीकाबीच निकै लोकप्रिय बनेका ओलीले सहमति नमानेको भन्दै प्रचण्ड कांग्रेससँग सहमति गर्न पुगे र दोस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा पुगे। उनले सहमतिमा नै देउवालाई सरकार हस्तान्तरण त गरे। तर, आफ्नो पार्टी सरकारमा नै रहेको भन्दै एमालेसँग चुनावी गठबन्धन गर्न पुगे। 

अस्थिरता : छापामार शैलीमा वाम गठबन्धन

२०७४ साल असोज अगाडिसम्म देउवा दाहालसँगै सत्ता सहयात्रामा थिए। संविधान बनेपछि प्रधानमन्त्री भएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ढालेर ‘आलोपालो’ प्रधानमन्त्री बन्दै सत्ता सहयात्रा गरेका देउवा–दाहालबीचमा एकाएक सहकार्य टुट्यो। त्यतिमात्र होइन सरकारमा सहभागी भइरहेका बेला दाहालले एमालेसँग छापामार शैलीमा वाम गठबन्धन गरे। 

उनले दोस्रो पटक कांग्रेसलाई धोका दिए। त्यसभन्दा अघि उनले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने भद्र सहमति तोडेका थिए। त्यसपछि त सबैभन्दा बढी देउवा दाहालसँग रिसाए।संविधान जारी भएपछि २०७४ मंसिरमा पहिलो पटक आमनिर्वाचन सम्पन्न भयो। वाम गठबन्धनले झन्डै दुईतिहाइ बहुमत ल्यायो। वाम गठबन्धनको लक्ष्य पार्टी एकीकरणसम्मको थियो। तर, कांग्रेस सभापति देउवाले पार्टी एकीकरण अगावै गठबन्धन तोड्न दाहाललाई पाँचै वर्ष प्रधानमन्त्री बनाउने अफर गरे। प्रचण्ड पनि सुरुमा कांग्रेससँग संवादमा थिए। उनले एमाले अध्यक्ष ओलीसँग पनि बार्गेनिङ गरिरहे देउवाको प्रस्ताव देखाएर। तर, प्रचण्डले देउवाको अफर देखाउँदै एमालेसँग बार्गेनिङ गरे। अन्तत: देउवालाई धोका दिएर एमालेसँग पार्टी एकता नै गरे। ओली दुईतिहाइको प्रधानमन्त्री भए। ओलीसँगको पार्टी एकता सहज भएन। 

नयाँ अभ्याससहति ओली र प्रचण्ड दुई अध्यक्ष भएर बनेको नेकपा लामो समय जान नसक्नुमा प्रचण्डको महत्वकांक्षा र अस्थिरत प्रवृत्ति एक महत्वपूर्ण कारक हो। ओलीसँग पार्टी एकता गरेका प्रचण्डले एमाले कब्जा गर्ने रणनीति अख्तियार गरे। उनले एमालेभित्रका प्रतिपक्ष रहेका माधवकुमार नेपाल, वामदेव गौतमलाई उपयोग गरेर एकीकृत पार्टीको अध्यक्ष वा प्रधानमन्त्री हुने जोडबल लगाउन थाले। 

लिम्पियाधुरासहित नक्सा जारी भएपछि भारतको बलमा पार्टी र सरकारको नेतृत्व हत्याउने प्रयास गरे। भारतले होइन मैले नै राजीनामा मागेकोसम्म भन्न भ्याए। नेपाल र गौतमलाई उपयोग गरेर ओलीमाथि लगातार दबाब बढाउन थालेपछि २०७७ पुस ५ मा संसद विघटनको अवस्था सिर्जना भयो। 

२०७७ फागुन २३ मा नेकपा नै सर्वोच्च अदालतले भंग गरिदियो। त्यसपछि एमाले र माओवादी पुन फरक फरक पार्टी भए। त्यसपछि ओलीलाई सत्ताच्युत गराउन र एमालेलाई फुटाउन जोडबलसहित प्रचण्ड लागे। प्रचण्डको उक्सावटमा एमालेको नेपाल समूह नै सरकारको विपक्षमा लागेपछि २०७८ जेठ ७ को मध्यरातमा ओलीले पुन: दोस्रो पटक संसद विघटन गरे। यो विघटनलाई २०७८ असार २८ मा सर्वोच्चले संविधानविपरीत भनेर देउवालाई परमादेशबाट प्रधानमन्त्री नियुक्त ग¥यो। २०७८ भदौ २ मा एमाले फुटाएर माधवकुमार नेपाल नेकपा एकीकृत समाजवादी बनाए। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतको गठबन्धनबाट २०७९ पुस १० सम्मै देउवा प्रधानमन्त्री भए। 

अस्थिरता : देउवा हेरेको हेरै

​​​​​​​२०७९ मा कांग्रेस माओवादी केन्द्रसहित गठबन्धनबाट चुनावमा सहभागी भए। कांग्रेसले ८९ र माओवादीले ३२ सिट ल्यायो। त्यसपछि सरकारको नेतृत्वको लागि देउवा र प्रचण्डबीच रस्साकस्सी चलिरहेको थियो। सरकार गठनको अन्तिम दिनको पनि अन्तिम समयमा एक्कासी ‘प्रचण्ड’ बालकोट पुगे। बालकोट बार्दलीबाट प्रचण्ड प्रधानमन्त्री बनेर निस्किए। देउवा हेरेको हेरै भए। 

कांग्रेस माओवादीबीचको ओलीलाई सत्ताच्यूत गर्ने बेलादेखि सहमति तोडेर ओलीकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री बने। राष्ट्रपति र सभामुख एमालेलाई दिने सहमति भयो। एमाले–माओवादी केन्द्र, रास्वपा र राप्रपासहितको गठबन्धन बन्यो। एमालेबाट सभामुख देवराज घिमिरे भए। तर, यो गठबन्धन पनि बनेकै दिनदेखि प्रचण्डका चलखेल सुरुवात भए। 

अस्थिरता : एमालेलाई धोक

राष्ट्रपति एमालेलाई दिने सहमतिलाई प्रचण्डले तोडे। देउवालाई धोका दिएर बालकोटको बार्दली पुगी पुस १० मा प्रधानमन्त्री त दाहाल भए तर एमालेसँग त्यो बालकोट बर्दलीको सहमति दुई महिना पनि टिक्न सकेन। प्रचण्ड आफू प्रधानमन्त्री भइहाले, तर एमालेबाट राष्ट्रपति बनाउने भनेर गरेको सहमतिविपरीत उनले कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन गरेर राष्ट्रपति बनाए। २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरियो र प्रचण्डले पुन: काग्रेससँग सहकार्य गरे। २०७९ चैत ६ गते कांग्रेसको समर्थनमा प्रचण्ड निरन्तर प्रधानमन्त्री भए। 

कांग्रेससँग सहकार्यको एक वर्ष पनि नपुग्दै पुन: प्रचण्डले कांग्रेस–माओवादीबीच गठबन्धन भत्काए। कांग्रेसलाई छोडेर एमालेसहित गठबन्धन बनाए। २०८० फागुन २१ मा रातारात कांग्रेससहित गठबन्धन भत्किएर एमाले माओवादीको नयाँ गठबन्धन बन्यो। एमाले माओवादी गठबन्धन बनाउनका लागि एमाले महासचिव शंकर पोखरेल र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको ठूलो योगदान छ। देउवालाई प्रचण्ड फेरि अर्को पटक चक्का दिए। फागुन २१ मा दाहालबाट धोका खाएपछि कांग्रेस नेता रमेश लेखक प्रतिनिधि सभामा नै धोका खानेहरू एक ठाउँ आए भने तपाईंको के होला ......भन्दै चेतावनी पनि दिएका थिए। परिणाम स्वरूप सबैलाई चक्मा दिइरहेका प्रचण्डविरुद्ध कांग्रेस एमालेले सातबुँदे सत्तासहमति गरे। साना दलको बार्गेनिङबाट वाक्क भएका कांग्रेस एमाले २०८१ असार १७ गते मध्यरातमा स्थिरता र संविधान संशोधनका लागि भन्दै ओली र देउवा सहमतिको सरकार बनाउने सहमति भयो । जादुयी नम्बर रहेका र उथलपुथल गरिदिन्छु भनिररहेका प्रचण्डमाथि बज्रपात भयो। डेढ वर्षको सत्तारोहणपछि २०८१ असार ३० बाट उनको बर्हिगमन भयो। 

उथलपुथल गर्न खेलमा माहिर प्रचण्ड अझै केही गर्न सकिन्छ कि भनेर यताउता गरिरहेका छन्। भारतलाई समेत गुहारिरहेको देखिन्छ। २०८४ सालको निर्वाचनमा बहुमत ल्याएर सरकारमा जाने भन्दै जनतासँग गएका प्रचण्ड पुन : सत्तामा आँखा लगाउन थालेका छन्। 

कांग्रेसको इतरसमूहसँग नजिकिएर सभापति देउवामाथि दबाब सिर्जना गराउने काम उनी तल्लिन छन्। गणितको हिसाबमा कमजोर भएका कारणले देउवाको कांग्रेसको चाहना नहुँदासम्म सरकार यता उता हुने सम्भावना छैन्। तर, प्रचण्ड पछिल्लो समय सरकार ढाल्न सक्दो प्रयासरत छन्। देउवाले उनको प्रस्ताव तत्कालका लागि खारेज गरिदिएका छन्। 

प्रचण्डले आफ्नो अस्थिर प्रवृत्तिलाई ‘गतिशीलता’ भनेर भन्ने गरेका छन्। तर, २०७४ मा कांग्रेससहितको सरकारमा हुँदाहँुदै वामगठबन्धन बनाउनु, करिब दुईतिहाइको पार्टी (नेकपा)लाई बचाउन नसक्नु, २०७९ मा कांग्रेस पाँच दलीय गठबन्धन बनाएर चुनावमा जानु, जनादेशविरुद्ध बालकोट गएर सत्तारोहण गर्नु। 

त्यसको दुई महिनामा नै बालकोटलाई धोका दिएर कांग्रेसतिर लहसिनु, पुन : एक वर्षपछि कांग्रेसलाई लात हानेर एमालेसँग टाँसिनु नै प्रचण्डको ‘गतिशीलता’ हो। कहिले कांग्रेस, कहिले एमालेलाई उपयोग गरेर सत्तारोहण गर्नु प्रचण्ड प्रवृत्ति नै भएको छ। 

प्रचण्डको यो ‘गतिशीलता’ लाई ठूला पार्टी कांग्रेस र एमाले पनि चिन्न नसक्नु नेपाली राजनीतिको अवसरवादको द्योगत हो। अहिले पुन : कांग्रेसभित्र आन्तरिक द्वन्द्व सिर्जना गराएर प्रचण्डले सत्तारोहरणको सपना देखिरहेको पछिल्ला गतिनिधिले देखिन्छ।

‘प्रतिपक्षले भन्दैमा सरकार भत्किँदैन’ 

काठमाडौ : माओवादी केन्द्रसहित प्रतिपक्ष दलले भनेको आधारमा सरकार बन्ने र भत्किने नहुने सत्तासीन कांग्रेसले दाबी गरेको छ। बिहीबार बूढानीलकण्ठमा करिब तीन घण्टासम्म चलेको कांग्रेस पदाधिकारी छलफलमा पार्टी  सभापति शेरबहादुर देउवाले एमाले र नेपाली कांग्रेसबीच गत वर्ष असार १७ गते भएको सातबुँदे सहमतिमा पार्टी प्रतिबद्ध रहेको र अहिलेकै सरकारलाई निरन्तरता दिने पक्षमा आफू रहेको स्पष्ट पारेका छन्।

पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको ‘पफर्मेन्स’लाई लिएर प्रश्न उठाइरहेको सन्दर्भमा बोलेका थिए।  उनले बैठकमा घिमिरेले ‘सरकारका विषयमा कांग्रेसबाट विभिन्न किसिमका धारणा आइरहेको छ, त्यो धारणा के हो, पार्टी कुन लाइनमा 

हो ?’ घिमिरेलाई जवाफ दिँदै पार्टी सभापति देउवाले बैठकमा दिएको जवाफ उल्लेख गर्दै घिमिरेले भने, ‘सभापतिजीले हामी ओली नेतृत्वको सरकारको विपक्षमा छैन। तर सरकारले केही कुरा सुधार गर्नुपर्छ, सच्याउनुपर्छ। हामी एमालेसँग भएको सातबुँदे समझदारीप्रति प्रतिबद्ध छौं, यही सरकारलाई सहयोग गर्ने हो। सरकारको पक्षमा बोल्नुहोस्, कमीकमजोरी छन् भने मलाई सुनाउनुहोस्, म प्रधानमन्त्रीजीलाई सुनाउँछु।’

देउवाले प्रतिपक्षले सरकारको विरोध गर्नु र ढलोस् भन्नु उसको धर्म भएकोले देउवाले पूर्वसहमतिअनुसार ओली सरकारलाई नै निरन्तरता दिने बताए।

प्रमुख सचेतक घिमिरेले वैशाख १२ गतेदेखि संघीय संसद् अधिवेशन आह्वान भएको अवस्थामा वैशाख १७ गतेदेखि केन्द्रीय समिति बैठक सञ्चालन गर्न गाह्रो पर्ने कुरा पनि राखेका थिए। यसमा सभापति देउवाले पुनर्विचार गर्ने बताएका थिए।

 ‘यो सरकार ढलिहालोस् भन्ने उहाँहरूको चाहना हो। प्रतिपक्ष दलले सरकारको विरोध गर्नु उहाँहरूको धर्म हो।’ उनले भने, ‘उहाँहरूले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र भत्किने हुँदैन।’ 

बैठकमा एमाले र कांग्रेसबीचको गठबन्धनमा समन्वय र तालमेल गरेर अगाडि सुझाव प्राप्त भएको बताए। सरकारले जनतामा डेलिभरी राम्रो दिनुपर्ने र गठबन्धन दलबीच समन्वय र सन्तुलन कायम राखेर अगाडि बढ्नेबारे छलफल भएको उनको भनाइ छ। ‘सरकारले डेलिभरी दिन सक्नुपर्छ, तालमेल राम्रो मिल्नुपर्छ भन्ने कुरा उठेको छ। त्यो सम्बन्धमा नेतृत्व तहले कुराकानी गरिरहेको छ। सुधार आवश्यक भएको ठाउँमा थप समन्वय गर्नुपर्छ भन्ने कुरा आएको छ।’ महतले भने, ‘गठबन्धनको सरकार हुँदा एउटै दलले भनेको सबै नहुने भएकाले समन्वय गरेर अगाडि बढ्नुपर्छ।’ 

सरकारको पर्फमेन्स अझै बढाउनुपर्ने सुझाव आएको उनले बताए। उनले शिक्षक आन्दोलन र आगामी केन्द्रीय समिति बैठकका विषयमा पनि छलफल भएको जानकारी दिए। ‘शिक्षक आन्दोलन र आगामी केन्द्रीय समिति बैठकलगायतमा पनि कुराकानी ग¥र्यौं। भ्रातृ संस्थालाई अधिवेशन हुन सक्ने आधार छ कि छैन भनेर प्रतिवेदन पनि मागेका छौं। प्रतिवेदनका आधारमा केन्द्रीय समितिका लागि प्रस्ताव तयार हुन्छ।’

सरकारका कामका विषयलाई लिएर कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य शेखर कोइरालालगायतले निरन्तर आलोचना गर्न थालेपछि बुधबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका थिए। बैठकमा संयन्त्रका संयोजक एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र कांग्रेस महामन्त्री गगन थापा उपस्थित भएनन्। कांग्रेसकै पदाधिकारी नै संयन्त्रको बैठकमा उपस्थिति नहुने र कांग्रेसका नेताहरूबाटै सरकारमा गएका मन्त्रीको आलोचना गर्न थालेपछि सभापति देउवाले तत्काल बैठक बोलाएको स्रोतको भनाइ छ। बैठकमा सरकारका काम कारबाहीका विषयमा ब्रिफिङ लिन मन्त्रीहरूलाई पनि बोलाइएको थियो।

संयन्त्रको बैठकमा प्रधानमन्त्री‍ ओलीले केही नियुक्ति, सरुवा– बढुवाका विषयलाई लिएर अनावश्यक प्रचार भएको भन्दै सत्तारूढ नेताहरूसँग असन्तोष जनाएका थिए।

यता परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पनि इलाममा आफू भाइरल हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति नेपाली कांग्रेस पार्टीभित्र बढेको बताएकी थिइन्। उनले भनिन्, ‘आफूले मिडियामा कभरेज पाउनकै लागि कतिपय नेता एवं पार्टीकै विरुद्धमा पनि बोल्ने गरेको देखिन्छ। यसले कुनै व्यक्ति मिडियामा भाइरल त होला। तर त्यसले पार्टीलाई कति क्षति पुग्छ भन्ने कुराको पनि हिसाब गर्नुपर्ने हो।’  

कांग्रेसको छलफलमा गभर्नर नियुक्तिको विषय, शिक्षकहरूको आन्दोलन, अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूलगायत विषयमा पनि केन्द्रित रहेर छलफल भएको थियो।

अहिलेको अवस्थामा अर्थतन्त्र बुझेको राम्रो मानिसलाई गभर्नर बनाउन सकिएन भने दीर्घकालीन रूपमा अप्ठेरो पर्छ, त्यसैले विषय विज्ञ र बुझेका मानिसलाई गभर्नर बनाउनुपर्छ भन्ने कुरा पनि बैठकमा सभापति देउवाले राखेका थिए।


 

Post a Comment

0 Comments