गाउँमा पुगे सरकार, जनता लागे सहर


गाउँमा पुगे सरकार, जनता लागे सहर

गाउँमा पुगे सरकार, जनता लागे सहर
87Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button


काठमाडौं : राजनीतिक परिवर्तनसँगै मुलुकको पुनर्संरचना गरिएको छ। नेपालमा संघीय गणतान्त्रिक प्रणालीको प्रादुर्भाव भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भएसँगै नेपालको आन्तरिक बसाइँसराइको परिदृश्यमा पनि ठूलो परिवर्तन आएको छ। 

केन्द्रीकृत एकात्मक प्रणालीबाट मुलुक संघीय प्रणालीमा गएसँगै गाउँगाउँमा जनताको आकर्षण बढ्नुपर्नेमा त्यसको उल्टो धेरै मान्छेले आफ्नो थाकथलो छोडेका छन्। १० वर्षे द्वन्द्व, शान्ति प्रक्रिया र राजनीतिक प्रणालीको पुनर्संरचानापछि ठूलो जनसंख्या काठमाडौं उपत्यका र अन्य सहरहरूमा स्थायी रूपले नै बसाइँ सरेको देखिन्छ। राज्य पुनर्संरचना अघि नेपालमा करिब ४ हजार गाउँविकास समिति थिए। राज्य पुनर्संरचनासँगै गाउँविकास समितिहरू ७५३ गाउँपालिका/नगरपालिकामा रूपान्तरण भए। राज्यको पुनर्संरचनासँगै सुरक्षा र अवसरको खोजी गर्दै मानिस पछिल्लो समय थातथलो छोडेर सहरी क्षेत्रमा आएको देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्यांक अधिकारी ढुण्डिराज लामिछाने बताउँछन्।

उनका अनुसार शिक्षा, स्वास्थ्यदेखि यातायात, सडक, सूचनाप्रविधि लगायतका सहज वातावरण खोज्दै ठूला सहरमा बसाइँसराइ गरेका छन्। काठमाडौं उपत्यकामा मात्रै मूलथलो छोडेर आउनेको संख्या ६०.३ प्रतिशत छ। गाउँपालिका, नगरपालिकाका केन्द्र, प्रदेश राजधानी, संघीय राजधानी, ठूला सहरमा पनि मानिसहरू बसाइँसराइ गर्न थालेको देखिन्छ। तर जनसंख्या विषयकी उपप्रध्यापक भगवती सेढाईं राजनीतिक परिवर्तनले विकास र समृद्धिको लहर आएर मानिसहरू गाउँगाउँमा पुग्नुपर्नेमा उल्टो छोडेर हिँडेको बताउँछिन्। केन्द्रीकृत शासन प्रणाली र केन्द्रीकृत विकास प्रणालीलाई गाउँगाउँ पुर्‍याउनुपर्छ भनेर संघीय प्रणाली विकास भएको हो। ‘जुन सोचबाट यो प्रणाली ल्याइएको थियो, त्यो अनुसार विकास हुन सकेन’, उनी भन्छिन्, ‘गाउँगाउँमा सरकार पुगे पनि त्यो सरकारले जनतालाई न विकास दिन सक्यो, न रोजगारी नै। फलस्वरूप मानिस केन्द्र, सहरतिरै आकर्षित भए। अझ अन्तर्राष्ट्रिय बसाइँसराइसमेत मौलायो।’ माओवादी द्वन्द्वको कारण असुरक्षा महसुस गरी ठूलो संख्याले गाउँबस्ती छोडेको उनको विश्लेषण छ। 

२०७२ सालको विनाशकारी भूकम्पको कारणले पनि धेरै नागरिकले मूलथलो छोड्न बाध्य भए। २०७२ वैशाख १२ मा आएको भूकम्पले नेपालीको ठूलो धनजनको क्षति भएको थियो। करिब ९ हजारको ज्यान नै गएको थियो। ३ लाख घर पूर्णक्षति, करिब ३ लाख आंशिक क्षति भएका थिए भने ३५ लाख नागरिक घरबारविहीन भएका थिए। भूकम्पपश्चात् लगातार आएको परकम्पको त्रास र पहाडी क्षेत्रको बसोबासको स्थितिको अनिश्चितताले उपत्यका र नजिकको सहरी क्षेत्रमा बसाइँसराइको प्रवृत्ति बढेको देखिन्छ। हिमाल तथा पहडाका ३४ जिल्लामा त जनसंख्या वृद्धिदर नै ऋणात्मक छ। बढ्दो अन्तर्राष्ट्रिय प्रवासनले बसाइँसराइ गर्ने प्रवृत्ति बढेको देखिएको छ। 

अवसरका लागि काठमाडौं आउने र त्यसपछि काम र अध्ययनका लागि विदेश जाने प्रवृत्ति पछिल्लो समय अध्यधिक रूपमा बढेको छ। यसले जनसंख्याको संरचनामा नै अभूतपूर्व रूपमा परिवर्तन देखिन थालेको लामिछाने बताउँछन्। आन्तरिक बसाइँसराइको बढ्दो प्रवृत्तिले देशको जनसांखिक, सामाजिक, सांस्कृतिक र आर्थिक परिदृश्यमा नै परिवर्तन ल्याएको छ। सहरी क्षेत्रमा जनघनत्व वृद्धि भएको छ। उच्च श्रमशक्ति सहभागिता सहरमा देखिएको छ। ग्रामीण क्षेत्रको जनसंख्या सुक्दै गएको छ। यसले गर्दा परिवारको औसत आधार सानो भएको छ। जनसंख्या वृद्धिदर नै ०.९२ छ। महिलाको भूमिकामा परिवर्तन ल्याएको छ। वृद्धवृद्धाको संख्या बढ्दै गएको छ। जसले गर्दा सरकार र समुदायको सामाजिक दायित्वमा परिवर्तन ल्याएको छ। 

हिमाल र पहाडी ग्रामीण क्षेत्रमा जनसंख्या पातलिँदै 
पछिल्लो समय हिमाली र पहाडी ग्रामीण क्षेत्रमा जनसंख्या पातलिँदै गएको छ। पहाडी क्षेत्रमा काठमाडौं उपत्यका, चितवन, पोखरा लगायतका मुख्य सहर बाहेकका अन्यमा जनसंख्यामा तीब्र कमी आएको छ। हिमाल र पहाडमा नै जनसंख्या पातलिँदै गएपछि तराईमा बसाइँ सर्ने प्रवृत्तिमा समेत पछिल्लो समय कमी आएको छ। पहाडी, हिमाली क्षेत्रमा यातायातको पहुँच पुगे पनि नजिक अर्धसहरी क्षेत्रमा बसाइँ सर्ने प्रवृत्ति बढ्दो गतिमा छ। तराईबाट पनि काठमाडौं, पोखरा, चितवन लगायतका क्षेत्रमा बसाइँसराइ बढिरहेको छ।

स्थायी रूपमा बसाइँसराइ गर्नेको संख्या २० प्रतिशत 
२०७८ सालको जनगणनाको तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको २० प्रतिशत स्थायी रूपमा नै मुल थलो छोडेका छन्। जबकी यो २०१८ मा मात्रै ४.७ प्रतिशत थियो। १८ वटा जिल्लाले आफ्ना जिल्लामा जन्मिएका २० प्रतिशत जनसंख्या गुमाएको देखिन्छ। कुनै पनि जिल्लाबाट बाहिर बसाइँसराइ नगरेको भन्ने स्थीति नरहेको पनि तथ्यांक कार्यालयका प्रवक्ता लामिछाने बताउँछन्।

पर्सा, रौतहट, नवलपरासी(पूर्व), भक्तपुर, नवलपरासी पश्चिम, ललितपुर, कञ्चनपुर, काठमाडौं, कैलाली, रुपन्देही, बाँके र कपिलवस्तुबाट १० प्रतिशतभन्दा कम अन्य जिल्लामा बसाइँसराइ गरी गएको देखिएको छ। २०७८ को जनगणनाअनुसार काठमाडौंमा ५७.२ प्रतिशत बसाइँसराइ गरी आएका छन्। भक्तपुरमा ५०.२ प्रति र ललितपुरमा ४६.२ प्रतिशत छन्। यो स्थायी आन्तरिक बसाइँसराइको सबैभन्दा उच्च दर हो। काठमाडौं, भक्तपुर र ललितपुरबाहेक सुनसरी, मोरङ, रुपन्देही, बाँके, दाङ, कैलाली, कञ्चनपुरलगायत १६ खुद बसाइँसारइ दर धनात्मक छ। बाँकी ५८ जिल्लाको खुद आन्तरिक बसाइँसराइ दर ऋणात्मक छ। अर्थात बसाइँ सरी आउनेभन्दा जाने धेरै छन्।

एकबाट अर्को प्रदेशमा बसाइँसराइ गर्नेको संख्या २१ लाख ४२ हजार ३६३ 
२०७८ मा कुल २१ लाख ४२ हजार ३६३ जनाले एक प्रदेशबाट अर्को प्रदेशमा बसाइँसराइ गरेको देखिएको छ। यसमा महिलाको संख्या ११ लाख ५४ हजार ९०९ छ। पुरुष ९ लाख ८७ हजार ४५४ छन्। बागमती प्रदेशमा बसाइँसराइ गरी आउनेको संख्या सबैभन्दा बढी छ। ११ लाख ५० हजार ६२६ जना स्थायी रूपमा नै बसोबास गर्ने गरी बागमती प्रदेशमा आएका छन्।

बागमती प्रदेशमा बसाइँसराइ गर्ने संख्या थपिएको तथा गण्डकी र कोशी प्रदेशको खुद बसाइँसराइ ऋणात्मक छ। गण्डकीमा खुद ३ लाख ४३ हजार ५० बराबर ऋणात्मक र कोशीमा ३ लाख १८ हजार ७९६ जना बराबर ऋणात्मक छ। कुल बसाइँसराइ गर्ने व्यक्तिहरूको प्रथम छनौट बागमती प्रदेश रहेको देखिएको छ। यो प्रदेशमा ५७.३ प्रतिशत पुरुष र ५०.६ प्रतिशत महिला अन्यत्रबाट सरेर आएका छन्। बागमतिमा बसाइँसराइ गर्नेमा पुरुष धेरै देखिए पनि अन्य ६ प्रदेशमा भने महिलाको संख्या बढी छ।

उमेरगत रूपमा ‘यू सेप्ड’ 
उमेरगत रूपमा ग्रामीण क्षेत्रबाट सहर बसाइँसराइको धार दर्शाउने चित्र ‘यू सेप्ड’ देखिन्छ। १० देखि १४ वर्षबाट संख्या वृद्धि भएर २० देखि २९ वर्ष उच्च देखिएको छ। त्यसपछिको प्रौढ उमेर समूहमा ओरालो लागेको देखिएको छ।

भक्तपुरमा सबैभन्दा धेरै बसाइँसराइ
सबैभन्दा बढी बसाइँसराइ गरी आएको जिल्लामा भक्तपुर पर्छ। १९ प्रतिशत भक्तपुर आएर बसेका छन्। ललितपुरमा १४.५ प्रतिशत र काठमाडौंमा १४ प्रतिशत बसाइँसराइ गरिआएका छन्। ताप्लेजुङमा र खोटाङबाट धेरै मानिसको बसाइँसराइ भएको छ १७.४ प्रतिशतले ताप्लेजुङर १७.१ प्रतिशतले खोटाङ छोडेका छन्। तर, मनाङ र मुस्ताङ भने सबैभन्दा कम बसाइँसराइ भएको जिल्लामा पर्छन्। थोरै जनसंख्या भएकाले जिल्लाबाट बाहिर जाने र भित्रिने दर दृष्टिकोणले सबैभन्दा थोरै बसाइँसराइ भएको जिल्लामा मनाङ र मुस्ताङ रहेको तथ्यांक कार्यालयले जनाएको छ। 

बसाइँसराइका मुख्य कारण अरूमा आश्रित
२०७८ सालको जनगणनाअनुसार २५.९ प्रतिशत अरूको आश्रित भएर बसाइँसराइ गरेका छन्। चार वर्षमुनिका र ७५ वर्षभन्दा माथि व्यक्ति आश्रित भएर परिवारसँग बसाइँसराइ गरेको तथ्यांकमा देखिन्छ। २४.९ प्रतिशत विवाहको कारण गर्दा बसाइँसराइ गरेका छन्। २० देखि २४ वर्षका महिला विवाहका कारणले बसाइँ सरेको देखिन्छ। १९.२ प्रतिशत काम अवसरको खोजी बसाइँ सरेर गएको तथ्यांक देखिएको छ। ३५ देखि ३९ वर्ष उमेर समूहका अधितम कामको कारणले बसाइँसरेको देखिएको छ। १४.१ प्रतिशत अध्ययन तालिमका कारण आन्तरिक बसाइँ सरेका छन्। तराईमा बसाइँ सरेकामध्ये ३१.३ प्रतिशत विवाह र २६.७ प्रतिशत आश्रित भएर गएको देखिन्छ।

बागमती र गण्डकीमा कामको अवसरको लागि बसाइँ सरेको तथ्यांकमा देखिएको छ। कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा विवाहकै कारणले धेरै बसाइँसराइ भएको देखिएको छ। कम आम्दानी भएका वा विपन्न समूहले विवाह र आश्रित हुनु (क्रमशः५५.९प्रतिशत र १७.३ प्रतिशत) प्रमुख कारण रहेको बताएको राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनमा उल्लेख छ। आय समूह बढेअनुसार क्रमश : अध्ययन तालिमा र कामको अवसर (क्रमशः २०.२ र २२.९प्रतिशत) प्रमुख कारण बताइएको छ। 

५० वर्षको आन्तरिक बसाइँसराइको अवस्था 
५० वर्षको अवधिमा आन्तरिक बसाइँसराइ तुला गर्दा प्रवृत्तिमा अन्तर आएको देखिएको छ। २०२८ को जनगणनाले तराईमा सर्ने दर ७१ प्रतिशत र पहाडमा सर्नेको दर २६.५ प्रतिशत थियो। २०७८ मा तराई सर्ने दरमा घटेको देखिन्छ भने पहाड विशेष त काठमाडौ, पोखरासहित स्थानमा सर्नेदर बढेको छ। २०७८ मा आएर तराई सर्नेदर ४१.५ प्रतिशत र पहाड सर्नेदर ५६.२ प्रतिशत हुन आएको छ। बसाइँसराइको प्रवृतिको यो अन्तर राज्यको विकास योजनासँग सम्बन्धित देखिन आएको तथ्यांक कार्यालयको प्रतिवेदनमा उल्लेख छ।

  • नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
  • हिमाल तथा पहाडका ३४ जिल्लामा त जनसंख्या वृद्धिदर नै ऋणात्मक
  • आन्तरिक बसाइँसराइ गर्नेमा अत्यधिक ३७.६ प्रतिशत महिला, पुरुषको दर २०.६ प्रतिशत मात्रै  
  • आफ्नो जन्मथलो छोडी नेपालभित्रै बसाई सर्नेको अनुपात २९.२ प्रतिशत   
  • ८२ लाख ३९ हजार ५८९  बसाइँ सरेर अर्को स्थानमा गए   
  • महिलाको पछिल्लो बसाइँसराइ दर ३८.२ प्रतिशत छ भने पुरुषको १९.९ प्रतिशत 
  • ३२ प्रतिशतले पहाड छोडेको, तराईबाट २८.९ र हिमालबाट १३.८  प्रतिशत बसाइँ सरेका 
  • २०२८ सालमा तराईमा बसाईसराई जानेको संख्या ४ लाख १० हजार ६४ थियो भने २०७८ मा आइपुग्दा यो संख्या २० लाख ८४ हजार ५०५ पुगेको
  • हिमाली क्षेत्रमा बसाइँ सरी जानेको सख्या २०२८ सालमा ९ हजार ६९८ थियो भने २०७८ मा ७५ हजार ५४२ देखिएको  
  • पहाडी  क्षेत्रमा २०२८  सालमा ६ प्रतिशतले बसाइँसराइ  गरेका थिए  भने २०७८ सालमा आइपुग्दा ३० प्रतिशत पुगेको
  • बसाइँसराइ दर नगरपालिकामा ३५.५ प्रतिशत र गाउँपालिकामा १७.१ प्रतिशत 
  • प्रदेशगत रूपमा सबैभन्दा बढी बागमतीमा ४३.५ प्रतिशत
  • गण्डकी प्रदेशमा ३३.१ प्रतिशत
  • कर्णालीमा १४.५ प्रतिशत
  • कुल जनसंख्याको २० प्रतिशतले स्थायी रूपमा नै मुल थलो छोडेका
  • २०७८ को जनगणनाअनुसार काठमाडौंमा ५७.२ प्रतिशत, भक्तपुरमा ५०.२ प्रतिशत र ललितपुरमा ४६.२ प्रतिशत बसाइसराइ गरी आएका एकबाट अर्को प्रदेशमा बसाइँसराइ गर्नेको संख्या २१ लाख ४२ हजार ३६३ 
  • जसमा महिलाको संख्या ११ लाख ५४ हजार ९०९  छ  भने पुरुष ९ लाख ८७ हजार ४५४   
  • सबैभन्दा बढी बसाइँसराइ गरी आएको जिल्लामा  भक्तपुर पर्छ जहाँ १९ प्रतिशत  आएर बसेका छन् ।  

बसाइँसराइको लैगिक अनुपात 
आन्तरिक बसाइँसराइको गर्ने जनसंख्याको लैगिक अनुपात २०३८ सालमा ७२.२ थियो। २०६८ मा ४२.३ र यसपछि २०७८ मा ४९.९ देखिएको छ। २०३८ सालमा १०० जना महिलामा ७२ जना पुरुष बसाइँसराइ गर्थे भने २०६८ मा घटेर ४२ भयो। २०७८ मा पुन ः करिब ५० जना देखिएको छ।

२०३८ मा भन्दा २०६८ मा बढी बसाइँसराइ गर्नेमा महिला पर्दथे भने २०६८ मा पुरुषको अनुपात बढ्दै गएको देखिएको छ। विवाहबाहेक महिला पनि काम र अध्ययनका लागि घर छोड्ने प्रवृत्ति २०६८मा देखिएको थियो। तर, २०७८ मा आएर त्यो प्रवृत्तिमा केही कमी आएको देखिएको छ। नेपालको संविधानले मौलिक हकअन्तर्गत नागरिकलाई आफ्नो आर्थिक, सामाजिक र व्यक्तिगत क्षमता विकास र सुख–सुविधा उपभोगका लागि कुनै निश्चित स्थानमा निर्वाध रूपमा रहने, बसाइँ सर्ने, काम गर्ने अधिकार दिएको छ। जसले गर्दा पछिल्लो ६ दशकमा जिल्ला, क्षेत्र, प्रदेशबाट बसाइँसराइ गर्ने प्रवृत्ति बढेको छ। परिणामतः सकारात्मक एवं नकारात्मक असर देखिएको तथ्यांक कार्यालयले जनाएको छ।

तथ्यांक कार्यालय प्रवक्ता लामिछाने बसाइँसराइको प्रवृत्तिको विषयमा नीति निर्माण तथा कार्यक्रम तर्जुमाका लागि गहन तथा थप अध्ययनहरू आवश्यक रहेका बताउँछन्। बसाइँसराइ प्रवृत्तिमा आर्थिक क्षमताको असर देखिएकोले सबैभन्दा विपन्न र पछाडि परेका समुदाय थप पछाडि पर्ने जोखिम छ। यसर्थ, ‘लिभ नो वान बिहाइन्ड’ भनिएको एजेन्डालाई ध्यानमा राखी पछाडि परेका र गाउँमा छोडिएका सीमान्तकृत समुदायलक्षित स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाजन्य अवसरको विस्तार आवश्यक उनले बताए। 
जनसंख्याको उमेर संरचनामा आएको परिवर्तनले जनसांख्यिक लाभको अवसर खोलिदिएको छ। समावेशी बसाइँसराइको नीति अवलम्बन गर्नु आन्तरिक बसाइँसराइ व्यवस्थापनको प्रथम चरण हुनुपर्ने तथ्यांक कार्यालयको भनाइ छ। 

आन्तरिक बसाइँसराइ (जिल्लाहरूबाट जाने र जिल्लाहरूमा आउने) गर्ने समूहलाई व्यवस्थापन स्थानीय, प्रदेश तथा संघीय सरकारको प्रयास आवश्यक रहेको उनले बताए। यसमा निजी क्षेत्र, राष्ट्रिय अन्तर्राष्ट्रिय नागरिक समाज, रोजगारी प्रदायक प्रतिष्ठान समेतको सहभागितामा नीति निर्माण आवश्यक रहेको उनको भनाइ छ।

राज्यको पुनर्संरचनापछि गाउँपालिका, नगरपालिका घोषणा भए। जसले गर्दा मानिसहरूको बसाइँसराइ बढेको देखिन्छ। गणतन्त्र आइसकेपछि मानिसका पहुँचमा वृद्धि भयो। सामाजिक समावेशी नीतिले गर्दा मानिसहरू चलायमान भए। राजनीतिक निर्णय, नीतिले मानिसहरूलाई चलायमान बनायो। राजनीतिक दलहरूका अवसर, नीति, निर्णय, गतिविधिमा नागरिकलाई सहभागिता गराउँदै गएपछि उनीहरू सहरकेन्द्रित भए। जसका कारण राज्य पुनर्संरचना र गणतन्त्र आएपछि आन्तरिक बसाइँसराइ बढेको देखिन्छ। 
ढुण्डीराज लामिछाने - प्रवक्ता एवं उपप्रमुख तथ्यांक अधिकारी राष्ट्रिय तथ्यांक कार्यालय 

राजनीतिक पुनर्संरचना र संघीय गणान्त्रिक प्रणालीको प्रदुर्भावपछि बसाइँसराइको अवस्थाका विषयमा मैले सम्बन्ध केलाउने प्रयास गरे। तर मैले यसको सकात्मक प्रभाव देखिनँ। जसले गर्दा सहरी क्षेत्रमा मानिस आकर्षित भए। गाउँहरू रित्तिए। केन्द्रीकृत शासनप्रणाली र केन्द्रीकृत विकास प्रणालीलाई गाउँगाउँ पुर्‍याउनुपर्छ भनेर संघीय प्रणालीका विकास भएको हो। जुन सोचबाट यो प्रणाली ल्याएको थियो, त्यो अनुसार जनतामा रोजगारी विकास हुन सकेन।
भगवती सेढाईं- उपप्राध्यापक (जनसंख्याविद्),पद्मकन्या क्याम्पस नेपाल

आन्तरिक बसाइँसराइमा महिला धेरै 

पछिल्लो राष्ट्रिय जनगणनाको तथ्यांक हेर्दा पुरुषभन्दा झन्डै दोब्बर महिलाले जन्मथलो छोडेका छन्। आन्तरिक बसाइँसराइ गर्नेमा अत्यधिक ३७.६ प्रतिशत महिला छन् भने पुरुषको दर २०.६ प्रतिशत मात्रै छ। पछिल्लो राष्ट्रिय जनगणना अनुसार नेपालभित्र आफ्नो जन्मथलो छोडी बसाइँ सर्नेको अनुपात २९.२ प्रतिशत छ। २०७८ को जनगणना अनुसार ८२ लाख ३९ हजार ५८९ बसाइँ सरेर अर्को स्थानमा गएका छन्। 

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ। महिलाको पछिल्लो बसाइँसराइ दर ३८.२ प्रतिशत छ भने पुरुषको १९.९ प्रतिशत छ। पदम कन्या क्याम्पसकी जनसंख्या विषयकी उपप्राध्यापक भगवती सेढाईं महिलाको बसाइँसराइ बढी देखिनुको प्रमुख कारण विवाह रहेको बताउँछिन्। ‘हाम्रो सामाजिक संरचना नै विवाहपछि महिलाले पुरुषको घर जानुपर्ने भन्ने छ। जसले गर्दा धेरै महिलाले बसाइँसराइ गरेको देखिएको हो। विवाह बाहेकका कारणको तुलना गर्ने हो भने महिलाको बसाइँसराइ धेरै देखिँदैन’, उनले भनिन्। 

  • सबैभन्दा बढी जन्मस्थान छोड्ने जनसंख्या पहाडमा देखिएको छ। ३२ प्रतिशतले पहाड छोडेको देखिएको छ। तराईबाट २८.९ र हिमालबाट १३.८ प्रतिशत बसाइँ सरेका छन्। तराईमा बसाइँ सर्नेको संख्या सबैभन्दा धेरै छ। २०२८ सालमा तराईमा बसाइँसराइ जानेको संख्या ४ लाख १० हजार ६४ थियो। २०७८ मा आइपुग्दा यो संख्या २० लाख ८४ हजार ५०५ पुगेको छ।null

हिमाली क्षेत्रमा बसाइँ सरी जानेको सख्या २०२८ सालमा ९ हजार ६९८ थियो भने २०७८ मा ७५ हजार ५४२ देखिएको छ। तर, हिमाली क्षेत्रबाट अन्यत्र सरी जाने संख्या अत्यधिक छ। हिमाली क्षेत्रमा खुद बसाइँसराइ ५,४३,९६६ ले ऋणात्मक छ। हिमाली क्षेत्रमा बसाइँ सरी आउनेभन्दा त्यो क्षेत्र छोडेर जानेको संख्या अत्यधिक छ। उता पहाडी क्षेत्रमा २०२८ सालमा ६ प्रतिशतले बसाइँसराइ गरेका थिए भने २०७८ सालमा आइपुग्दा ३० प्रतिशत देखिएको छ। पहाडी क्षेत्रका काठमाडौं , पोखरा र चितवनमा बसाइँसराइ बढी छ। 

बसाइँसराइ दर नगरपालिकामा ३५.५ प्रतिशत र गाउँपालिकामा १७.१ प्रतिशत छ। प्रदेशगत रूपमा सबैभन्दा बढि वागमतिमा ४३.५, गण्डकी प्रदेशमा ३३.१ र कर्णालीमा १४.५ प्रतिशत छ। बसाइँसराइले पहाड र हिमालका कतिपय गाउबस्ती खाली नै हुन थालेका छन्।

 

Post a Comment

0 Comments