आधा युवा विदेशमा, किशोर–किशोरी पनि बाहिरिँदै



 https://annapurnapost.com/story/480155/

आधा युवा विदेशमा, किशोर–किशोरी पनि बाहिरिँदै

आधा युवा विदेशमा, किशोर–किशोरी पनि बाहिरिँदै
175Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button


काठमाडौं  : राष्ट्रिय जनगणनाले १० देखि १९ वर्षसम्म उमेर समूहलाई किशोर–किशोरी मानेको छ । १५ देखि २४ वर्ष उमेर समूहलाई युवाको मान्यता दिएको छ । तर, किशोर–किशोरीको जनसंख्या घट्दै गएको छ । युवाको भने बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको विस्तृत प्रतिवेदनले किशोर–किशोरी र युवाको जनसंख्याको तुलनात्मक अवस्था देखाएको छ । 

कुनै पनि देशका लागि किशोर–किशोरी र युवा वर्ग जनसांख्यिकीय, सामाजिक, आर्थिक र राजनीतिक विकासका लागि सबैभन्दा जिम्मेवार हिस्सा हो । देश विकास र समृद्धिका आधार हुन् । किशोर–किशोरी  र युवा भनेको उत्पादनशील जनशक्ति पनि हुन् । देशको भविष्यको आधार नै किशोर–किशोरी  र युवा  हुन् । राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनले किशोर–किशोरी तथा युवा वर्गको प्रजनन, मृत्युस्थिति, बसाइँसराइ, जनसंख्या संरचना, वैवाहिक अवस्था, साक्षरता, आर्थिक क्रियाकलाप र अपांगतासम्बन्धी विषयहरूको विस्तृत लेखाजोखा गरेको छ । 

२० प्रतिशत किशोर–किशोरी र १९.७ प्रतिशत युवा 

मुलुकको कुल जनसंख्याको २०.१ प्रतिशत किशोर–किशोरी छन् । यस्तै, १९.७ प्रतिशत युवा जनसंख्या छ । जबकी मुलुकको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ हो । राष्ट्रिय तथ्यांक कार्यालयको  तथ्यांकअनुसार किशोर–किशोरी (१०–१९ वर्ष) को जनसंख्या ५८ लाख ७६ हजार २६९ छ ।  युवा (१५–२४ वर्ष) को जनसंख्या ५७ लाख ४९ हजार ४६४ छ । मुलुकमा किशोर–किशोरी जनसंख्या २०१८ मा १८ लाख ७० हजार थियो, जुन २०६८ मा ६४ लाख १० हजार रहेको थियो। तर, ०७८ मा भने केही  घटेर ५८ लाख ८० हजारमा सीमित भएको छ ।

६० वर्षयता युवाको जनसंख्या निरन्तर वृद्धि 
युवाको जनसंख्या भने २०१८ सालमा १६ लाख थियो । निरन्तर वृद्धि भई ०७८ सालमा ५७ लाख ५० हजार पुगेको छ । विगतमा किशोर–किशोरीको जनसंख्या युवाको तुलनामा केही बढी थियो छ । तर, अघिल्लो दशकमा किशोर–किशोरीको जनसंख्यामा आएको गिरावटका कारण भविष्यमा युवाहरूको जनसंख्या पनि घट्दै जाने सम्भावना छ । 

किशोर–किशोरी जनसंख्याको वृद्धिदर ०१८ सालदेखि ०५८ सम्म २ प्रतिशतभन्दा माथि थियो । त्यसपछिको अवधिमा किशोर–किशोरी तथा युवा दुवै समूहको जनसंख्या वृद्धिदरमा कमी आएको देखिएको छ । ०६८ साल देखि ०७६ को अवधिमा किशोर–किशोरीको जनसंख्याले ऋणात्मक वृद्धिदरको सामना गर्नु परेको छ  । यसै अवधिमा युवा जनसंख्या वृद्धिदर ०.८ प्रतिशतका दरले बढेको छ ।

०६८ देखि ०७८ को अवधिमा मुलुकमा किशोर–किशोरीको जनसंख्या वृद्धिदर ऋणात्मक (–८.३  प्रतिशत) रहेको देखिएको छ । यसको विपरीत युवा वर्गको जनसंख्या वृद्धिदर भने ८.७ प्रतिशत रहेको छ । हिमाली तथा पहाडी क्षेत्रमा पछिल्लो एक दशकमा किशोर–किशोरीको जनसंख्या वृद्धिदर ऋणात्मक नै रहेको छ । यस्तो ऋणात्मक वृद्धिदर गण्डकी, कोशी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका साथसाथै ग्रामीण र अर्धसहरी क्षेत्रमा समेत देखिएको छ । अर्कोतिर पहाड, गण्डकी प्रदेश, बागमती प्रदेश र ग्रामीण क्षेत्रमा ०६८ देखि ०७८ को अवधिमा युवा जनसंख्याको वृद्धिदर ऋणात्मक रहेको देखिएको छ  ।

प्रत्येक तीन जनामा एक जना युवा पुरुष प्राथमिक पेसामा 
उमेरको बढोत्तरी सँगसँगै किशोर–किशोरी तथा युवाको श्रम सहभागितादरमा वृद्धि हुने गरेको छ । तथ्यांकले १० देखि १४ वर्षका २८.७ प्रतिशत किशोर–किशोरीहरू    श्रमशक्तिमा रहेको देखिएको छ । यो मान वृद्धि भएर २०–२४ वर्ष उमेर समूहमा ६७.३ प्रतिशत पुगेको अवस्था छ ।  श्रमशक्ति सहभागितादरलाई बैंकिङ आधारमा हेर्दा उस्तै प्रवृत्ति देखापरेको छ । 

किशोर–किशोरीको समग्र   श्रमशक्ति सहभागितादर ३५.८ प्रतिशत छ जुन पुरुषतर्फ ३५.९ प्रतिशत र महिलातर्फ ३५.७ प्रतिशत रहेको छ । युवामध्ये संयुक्त (पुरुष तथा महिला)    श्रमशक्ति सहभागितादर ५४.७ प्रतिशत छ जुन पुरुषतर्फ ५६.९ प्रतिशत र महिलातर्फ ५२.६ प्रतिशत रहेको देखिएको छ  । किशोर–किशोरीहरूले अपनाएको पेसालाई हेर्दा जनगणनाले उनीहरूको करिब आधा जनसंख्या प्राथमिक पेसामा छन् ।  र, त्यसपछिको हिस्सा क्रमश दक्ष कृषि कामदार, वन तथा मत्स्य क्षेत्रमा संलग्न रहेको देखिएको छ । त्यसैगरी युवा जनसंख्यामध्ये ४७ प्रतिशत कृषि, वन र मत्स्यपालन क्षेत्रका दक्ष कामदारका रूपमा क्रियाशील देखिएको छ  । प्रत्येक तीन जनामा एक जना युवा पुरुष प्राथमिक पेसामा क्रियाशील रहेको अवस्था छ ।

०७८ को जनगणनाले प्रत्येक ५ जनामध्ये ३ जना किशोर–किशोरीहरू कृषि, वन र मत्स्य क्षेत्रमा संलग्न रहेको देखिएको छ  । युवातर्फ यस क्षेत्रमा ५६.४ प्रतिशत श्रमशक्ति सक्रिय रहेको छ । काम गर्दाको हैसियत के थियो भन्ने प्रश्नमा बहुसंख्यक किशोर–किशोरीहरूले परिवारलाई सघाएको र बहुमत युवाहरूले आफ्नै काम गरेको देखिएको छ । काम गर्दाको संस्थागत क्षेत्र वर्गीकरण गर्दा किशोर–किशोरी तथा युवा दुवै समूहका लागि घरपरिवार क्षेत्र नै सबैभन्दा ठूलो रहेको छ भने त्यसलाई गैरवित्तीय क्षेत्रले पछ्याएको देखिएको छ  । करिब २५ प्रतिशत युवा रोजगारी, शिक्षा र तालिमभन्दा बाहिर रहेको देखिएको छ  भलै यो मानमा भौगोलिक क्षेत्र, प्रदेश, ग्रामीण सहरी र परिवारको सम्पन्नताको तहअनुसार भिन्नता रहेको छ ।

वैवाहिक स्थिति र प्रजनन
वैवाहिक स्थिति र प्रजनन अन्तरसम्बन्धित विषय हो । उमेर नपुग्दै हुने विवाह र किशोरीहरूको प्रजननलाई सम्बोधन गर्नका लागि विशेष ध्यान दिनु वाञ्छनीय देखिएको प्रतिवेदनमा छ । ०६८ देखि ०७८ को अवधिमा विवाह नभएका किशोर–किशोरी तथा युवाको अनुपात बढेको छ । महिला र पुरुष दुवैतर्फ विवाह भएका किशोर तथा युवावर्गको हिस्सा घटेको देखिएको छ  । विधुर र विधवाको र पारपाचुके वा छुट्टिएको अनुपात हेर्ने हो भने पुरुषको तुलनामा महिलाकै हिस्सा ठूलो देखिएको छ ।   । विश्लेषणले किशोर–किशोरी तथा युवा वर्गको वैवाहिक अवस्थाको वितरण उनीहरूको पृष्ठभूमिजन्य विशेषताअनुसार फरक–फरक रहेको देखाएको छ ।

किशोरी प्रजननदर घटेर ८९ बाट ४७ 
किशोरीहरूको प्रजननदर ०४८ को प्रतिहजार ८९ बाट घटेर ०७८ सालमा ४७ देखिएको छ । ‘२० देखि २४ वर्षसम्मका एकचौथाइ महिलाहरूसँग तुलना गर्दा  १५ देखि १९ वर्षसम्मका आधाभन्दा बढी महिलाहरूले कुनै बच्चा जन्माएको देखिँदैन,’ प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी १५ देखि १९ वर्षसम्मका किशोरीहरूले औसतमा ०.५१ जना बच्चालाई जन्म दिएको देखिएको छ  जब कि २० देखि २४ वर्ष उमेर समूहका महिलाहरूले औसतमा १.०६ जना बच्चा जन्माएको देखिएको प्रतिवेदनमा छ । यसले किशोरीहरूको प्रजननदर घटाउनका लागि सरकारले विशेष नीति तथा कार्यक्रमहरू लक्षित गर्नुपर्ने आवश्यकतालाई औंल्याएको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता एवं उपतथ्यांक अधिकारी ढुण्डिराज लामिछाने बताउँछन् । 

विवाहको औसत उमेर पुरुषको २५.५ र महिलाको २१.८ 

२०७८ को जनगणनाबाट पहिलोपटक विवाह गर्दाको औसत उमेर पुरुषहरूको हकमा २५.५ वर्ष र महिलाहरूको हकमा २१. ८ वर्ष रहेको देखिन्छ । यसले स्पष्ट रूपमा ३.७ वर्षको उमेर अन्तर रहेको देखाएको छ । ०६८ को २३.८ वर्षबाट पुरुषहरूको पहिलोपटक हुने गरेको विवाहको औसत उमेर २३.८ वर्ष थियो । यो बढेर २०७८ मा २५.५ वर्ष पुगेको छ । महिलाहरूको हकमा यो मान ०६८ को २०.६ वर्षबाट सुधार भई २१.८ वर्ष पुगेको छ । पहिलोपटक हुने विवाहको औसत उमेरमा पनि व्यक्तिहरूको पृष्ठभूमिसम्बन्धी विशेषताका कारणबाट विभिन्नता देखिएको छ ।

बालविवाह अझै 
विवाहको उमेर बढे पनि बालविवाहको गलत परम्परा विद्यमान रहेको प्रतिवेदनमा छ । समग्र किशोर–किशोरी तथा युवाहरूको उन्नत जीवनको लागि प्रतिकूल प्रभाव पर्ने गरी बालविवाहको गलत परम्परा अझै पनि विद्यमान रहेको देखिएकोे छ  । १८ वर्षको उमेर नपुग्दै हुने विवाहलाई बालविवाहका रूपमा लिइने गरेको छ ।

राष्ट्रिय जनगणना ०७८ ले २० देखि २४ वर्षसम्मका २१.९ प्रतिशत महिलाहरूको १८ वर्ष उमेर नपुग्दै विवाह भएको देखिएको छ भने अर्को ३ प्रतिशतको १५ वर्ष पनि नपुगी विवाह भएको देखिएको छ  । बालविवाह विशेषत तराई, मधेस प्रदेश र अर्धसहरी क्षेत्रमा भएको देखिएको छ । जातजातितर्फ तराई दलित र सम्पन्नताको सबैभन्दा तल्लो वर्ग (अति विपन्न) मा बालविवाह व्यापकता देखिएको छ ।

बसाइँसराइ
राष्ट्रिय जनगणना २०७८ अनुसार किशोर–किशोरीको कुल जनसंख्यामध्ये बसाइँसराइ नगर्ने (जो हाल बसोबास गरिरहेकै स्थानमा जन्मिएका थिए) ८३ प्रतिशत रहेको देखिएको छ भने १७ प्रतिशतले आन्तरिक र अन्तर्राष्ट्रिय बसाइँसराइ गरेको देखिएको छ । आन्तरिक बसाइँसराइ भएका किशोर–किशोरीको हिस्सा १५.५ प्रतिशत छ भने अन्तर्राष्ट्रिय बसाइँसराइ गर्ने ११ प्रतिशत रहेका छन् ।

त्यसैगरी युवा जनसंख्यामध्ये ७२.३ प्रतिशत बसाइँसराइ नगर्नेमा पर्छन् । करिब २६ प्रतिशत आन्तरिक बसाइँसराइ गर्नेमा पर्छन्  भने अन्तर्राष्ट्रिय बसाइँसराइ गर्नेमा करिब २ प्रतिशत छन्  । आन्तरिक बसाइँसराइतर्फ किशोर–किशोरी र युवा दुवै समूहतर्फ अर्को स्थानीय तहमा बसाइँसराइ गर्नेको तुलनामा अर्को जिल्लामा बसाइँसराइ गर्ने बढी देखिन्छन् । किशोर–किशोरीको तुलनामा आन्तरिक बसाइँसराइ गर्नेमा युवाहरूको जनसंख्या निकै नै बढी देखिएको छ ।

१६ प्रतिशत किशोर–किशोरी र १७.३ प्रतिशत युवा बसाइँसराइ 
पछिल्लो बसाइँसराइका सन्दर्भमा १६ प्रतिशत किशोर–किशोरीले यस्तो बसाइँसराइ गरेका छन् । आन्तरिक बसाइँसराइ भएका किशोर–किशोरीमध्ये ४९ प्रतिशतले जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्कोे स्थानीय तहमा बसाइँसराइ गरेका छन् भने ११.१ प्रतिशतले अन्तरजिल्ला बसाइँसराइ गरेको देखिएका छ  । कुल युवामध्ये एक चौथाइभन्दा बढी युवाले पछिल्लो बसाइँसराइ गरेको देखिएको छ  । युवा जनसंख्यामध्ये १७.३ प्रतिशतले एक जिल्लाबाट अर्को जिल्लामा बसाइँसराइ गरेका छन् भने ९.२ प्रतिशतले जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा बसाइँसराइ गरेका प्रतिवेदनमा छ  । 

हिमाल, पहाड र तराईमा पछिल्लो आन्तरिक बसाइँसराइ हेर्दा पहाडबाट सर्वाधिक (भौगोलिक क्षेत्रअनुसारको आन्तरिक बसाइँसराइको ५५.३ प्रतिशत) व्यक्तिहरू बाहिरिएको (विशेषत तराईमा) देखिएको छ  । प्रदेश तहमा बसाइसराइको दर हेर्दा गण्डकी प्रदेशबाट सर्वाधिक २०.८ प्रतिशत मानिसहरू अरू प्रदेशमा गएको देखिएको छ  । कोशी र मधेस प्रदेशबाट क्रमशः १९.४ र १८.० प्रतिशत व्यक्तिहरू अन्य प्रदेशमा बसाइँसराइ गरी गएको पाइएको छ  । आन्तरिक बसाइँसराइ गरी आउने जनसंख्या हेर्दा बागमती प्रदेशमा ५९.० प्रतिशत आन्तरिक बसाइँसराइ दर रहेको देखिएको छ  ।
४४.५ प्रतिशत युवा देश बाहिर 
ग्रामीण क्षेत्रबाट ग्रामीण क्षेत्रमै र सहरी क्षेत्रबाट सहरी क्षेत्रमै बसाइँसराइ हुने प्रवृत्ति अत्यधिक देखिएको छ  । मुलुकको कुल अनुपस्थित जनसंख्यामध्ये १७.३ प्रतिशत किशोर–किशोरी रहेका छन् भने ४४.५ प्रतिशत युवा छन् । २१ लाख ९० हजार ५ सय ९२ नेपाली अनुपस्थित अर्थात् देश बाहिर छन् । 

किशोर–किशोरी तथा युवाको कुल अनुपस्थित जनसंख्यामध्ये झन्डै दुईतिहाइ विदेशमा तलब, ज्याला वा रोजगारीको उद्देश्यले गएको देखिएको छ । किशोर–किशोरी तथा युवाको मुख्य गन्तव्य भारतपछि मध्यपूर्वका देशहरू, दक्षिणपूर्र्वी एसियाली देश मलेसिया, सिंगापुर, ब्रुनाइ, थाइल्यान्ड र प्रशान्त क्षेत्रका देशहरू रहेका छन् । 

किशोर–किशोरी र युवाको साक्षरतादर उच्च 
मुलुकमा किशोर–किशोरी र युवाको साक्षरतादर उच्च रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार किशोर–किशोरीको समग्र साक्षरतादर ९५.९ प्रतिशत छ । जसमध्ये पुरुषको ९६.३ प्रतिशत र महिलाको ९५.५ प्रतिशत रहेको छ । युवा (१५–२४ वर्ष जनसंख्यातर्फ )समग्र साक्षरतादर ९३.८ प्रतिशत छ जसमध्ये पुरुषको ९५.२ प्रतिशत र महिलाको ९२.५ प्रतिशत रहेको छ । यसले स्पष्टतः किशोर–किशोरी तथा युवा जनसंख्यामा पुरुष साक्षरताको दर नै माथि रहेको देखाएको छ । 

मधेसका तराई दलित समुदाय र धार्मिक समूह (इस्लामधर्मिक) का किशोरीहरू किशोरहरूको तुलनामा कम साक्षर रहेको देखिएको प्रतिवेदनमा छ  । त्यसैगरी तराई, मधेस प्रदेश, अर्धसहरी क्षेत्रका साथसाथै तराई जातजाति, तराई दलित, धार्मिक समूह र सम्पन्नताको सबैभन्दा तल्लो तह (अति विपन्न) परिवारका युवा महिलाहरू पुरुषको तुलनामा न्यून साक्षर रहेको देखिएको छ । प्रत्येक तीन जना किशोरीमध्ये एक जना र प्रत्येक पाँच जना  युवा महिलाबाट एक जनाले निम्न माध्यमिक (६–८ कक्षा ) तहको शिक्षा प्राप्त गरेको देखिएको छ । 

त्यस्तै तीन जनामध्ये एक जना किशोरी र तीन जनामध्ये दुई जना युवा महिलाले माध्यमिक शिक्षा पूरा गरेको देखिएको छ । विद्यालय जाने किशोर–किशोरी तथा युवा जनसंख्याालई विश्लेषण गर्दा पूर्व किशोरास्वथा (१०–१४वर्ष)  समूहको उच्चतम हिस्सा हाल विद्यालय गइरहेको देखिएको छ । प्राथमिक तह बाहेक अरु सबै तहमा  पुरुषको तुलनामा महिलाहरूकै हाल विद्यालय गइरहेका दर थोरैले बढी छ । 

हाल विद्यालय गइरहेको स्थितिलाई खुद अर्थात् निश्चित  उमेर समूहअनुसार विश्लेषण गर्दा तराईका अर्धसहरी क्षेत्रका  र अति विपन्न परिवारका किशोर–किशोरी तथा युवा दुवै समूहमा  न्यूनतम रहेको देखिएको छ । किशोेर–किशोरी र युवाले दश जोड दुई र सोभन्दा माथिको तहमा कुन विषय अध्ययन गर्दछन् भन्ने सवालमा प्रत्येक पाँचमध्ये दुई जना  युवाले व्यवस्थापन संकाय अध्ययन गरेको देखिएको छ । किशोर–किशोरीतर्फ तीन जनामध्ये एक जनाले व्यवस्थापन विषय अध्ययन गरेको पाइएको प्रतिवेदनमा छ । किशोर–किशोरी र युवाको आवश्यकता, चाहना र व्यवहार उमेर, लिंग, धर्म, संस्कृति, जाति र जातीयता, शारीरिक तथा मानसिक स्वास्थ्य, विकासको अवस्था जीवन परिस्थिति र सामाजिक आर्थिक अवस्थाका आधारमा फरक हुन सक्छ ।  हाल  किशोर–किशोरी र युवा असन्तुष्ट, निराशा छन् । ठूलो संख्यामा विदेशी रहेका छन् । 

किशोर–किशोरी र युवालाई शिक्षा प्रदान गर्नु, उनीहरूको प्राविधिक सीप अभिवृद्धि गर्नु सुरक्षित वातावरण सुनिश्चित गर्नु र रोजगारीको अवसर उपलब्ध गराउनु आर्थिक समृद्धि एवं समग्र कल्याण लागि महत्वपूर्ण विषय हो । उपतथ्यांक अधिकारी लामिछाने समाजको उत्पादशील  सदस्यका रूपमा उभ्याउनका लाग किशोर किशोरी र युवा वर्गको सशक्तीकरण प्रयासलाई सुदृढ गर्नु वाञ्छनीय रहेको बताउँछन् ।  युवा र किशोर–किशोरीलाई बालविवाह, उमेर नपुग्दै हुने विवाह र जबर्जस्ती विवाह गरिदिने जस्ता व्यक्तित्व विकासका नकारात्मक प्रभाव पर्ने अभ्यासबाट मुक्त  गर्न लागि पहल गरिनुपर्ने उनको  सुझाव छ । 

किशोर–किशोरी तथा युवा विदेशीनुका मुख्य कारण तलब, ज्याला र नोकरीका लागि भएको प्र्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा किशोर–किशोरी  तथा युवाका लागि रोजगारी सिर्जना, रोजगारीमा सन्तुष्टिको वातावरण र सीपमूलक शिक्षामा प्राथमिकताका साथ सम्बोधन हुनुपर्ने सुझाव पनि दिइएको छ ।  गरिबी न्यूनीकरण र असमानता न्यूनीकरणमा शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने भएको तथा युवा र किशोर–किशोरीका लागि प्राविधिक तथा व्यावसायीक तालिम र अन्य संशासनको प्रबन्ध पनि उतिकै आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ । 

हाल वर्तमान समयमा करिब एक चौथाइ युवा जनसंख्या शिक्षा, रोजगारी र तािलमको परिधिभन्दा बाहिर रहेको पाइएको छ । यो एक चौथाइ जनसंख्यामा पनि भौगोलिक क्षेत्र, प्रदेश, आर्थिक सामाजिक पृष्ठभूमि अनुसारका विषमता पनि छ । यसको उचित सम्बोधनका लागि तीनै तहका सरकारले शिक्षा र तालिममा पहुँच अभिवृद्धि गर्नका लागि औपचारिक र अनौपचािरक दुवै माध्यमबाष्ट प्राथमिकतामा राख्ने पर्ने प्रतिवेदनमा सुझाइएको छ ।

तराईमा किशोर–किशोरी र युवाको जनसंख्या आधा बढी

तराईमा किशोर–किशोरी र युवाको कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा रहेको छ । अधिकतम किशोर–किशोरी तथा युवाहरू मधेस र अर्धसहरी क्षेत्रमा बसोबास गर्ने गरेको प्रतिवेदनमा छ । प्रतिवेदनअनुसार एकचौथाइभन्दा बढी किशोर–किशोरी तथा युवा पहाडी जातजातिका र अर्काे एकचौथाइ किशोर–किशोरी र युवा मधेसका जनजातिका छन् । सम्पन्नताको विपन्न (अति विपन्न र विपन्नसमेत) वर्गमा पर्ने परिवारभित्र झन्डै ४० प्रतिशत किशोर–किशोरी तथा युवाहरूको हिस्सा रहेको देखिएको प्रतिवेदनमा छ ।  

प्रतिवेदन अनुसार किशोर–किशोरी तथा युवाको कुल जनसंख्यामध्ये १५–१९ वर्ष उमेर समूहको हिस्सा ३४.३ प्रतिशत रहेको छ । यो समूहको भन्दा १० देखि १४ र  २० देखि २४ वर्ष उमेर समूहहरूको अनुपात थोरै माथि रहेको छ । पुरुषहरूतर्फ १०–१४ वर्ष उमेर समूहको अनुपात १५ देखि १९ तथा २०देखि २४ वर्ष उमेर समूहको तुलनामा बढी छ । त्यस्तै, २० देखि २४ वर्ष उमेर समूहका महिलाको अनुपात १० देखि १४ तथा १५ देखि १९ उमेर समूहका महिलाको तुलनामा केही उच्च रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ  ।

हिमाली क्षेत्र, ग्रामीण क्षेत्र, मधेस प्रदेश, धार्मिक समुदाय र सम्पन्नताको तल्लो वर्गमा पर्ने समूहमा १०–१४ वर्षका किशोर–किशोरीको अनुपात सबैभन्दा धेरै रहेको छ । युवा जनसंख्यातर्फ थोरै बढी अनुपात बागमती प्रदेश, सहरी क्षेत्र, तराई जनजाति र अन्य जातजाति समूहमा रहेको देखिएको प्रतिवेदनमा छ  ।

समग्र जनसंख्याको तुलनामा किशोर–किशोरीतर्फको लैंगिक अनुपात अधिक रहेको छ, जसले महिलाको तुलनामा पुरुषको जनसंख्या धेरै रहेको देखाएको छ । यसको विपरीत युवातर्फ समग्र जनसंख्याको तुलनामा लैंगिक अनुपात न्यून रहेको छ । नेपालमा १०–१७ वर्षका किशोर–किशोरीमध्ये तीन चौथाइभन्दा बढी उनीहरूको अभिभावकसँगै बसोबास गरिरहेको देखिएको प्रतिवेदनमा छ  । बाँकी एक चौथाइमध्ये करिब १८ प्रतिशत एकजना मात्र अभिभावक (बाबु वा आमा) भएको घरपरिवारमा बस्ने गरेका छन् ।  १६.५ प्रतिशत आमासँग मात्र र १.४ प्रतिशत बाबुसँग मात्र बसोबास गरिरहेको पाइएको छ । ०७८ को जनगणनाको तथ्यांकअनुसार किशोर–किशोरीको कुल जनसंख्यामध्ये ०.७ प्रतिशत र युवाहरूको कुल जनसंख्यामध्ये १३ प्रतिशत संस्थागत घरपरिवारमा बसोबास गरिरहेको अवस्था छ । पुरुषतर्फका किशोर र युवा जनसंख्याको तुलनामा महिलातर्फका किशोरी र युवा जनसंख्या विपन्न हुने गुञ्जायस कम देखिएको छ । 

हिमाली तथा पहाडी क्षेत्र र कर्णाली एवं सुदूरपश्चिम प्रदेशका किशोर–किशोरी तथा युवा जो हिमाली र पहाडी जनजाति, तराई जनजाति र तराई दलित समुदायका छन् । उनीहरू विपन्न हुनसक्ने सम्भावना अधिकतम देखिएको छ । अविवाहित किशोर–किशोरीको तुलनामा पारपाचुके भएका र छुट्टिएका किशोर–किशोरी विपन्न वर्गमा पर्ने सम्भावना पनि उत्तिकै रहेको देखिएको छ  ।

Post a Comment

0 Comments