संसद युवाको जिम्मा । पहिलो अधिवेशन कहिले ?


युवाको जबर्जस्त उपस्थिति, बदलियो संसद्को अनुहार

युवाको जबर्जस्त उपस्थिति, बदलियो संसद्को अनुहार
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौं : कालोटोपी र कालै कोटसहित जब रास्वपा नेता बालेन शाह शपथ ग्रहण समारोहमा पुगे, धेरैका नजर उनीतिर तेर्सिए। किरात धर्ममा शुभ मानिने ‘सिलाम साक्मा’ लगाएका बालेन आकर्षणको केन्द्रमा थिए। रास्वपाका सागर ढकाल जब नयाँ संसद् भवनको ढोकामा पुगे, शिर निहुराएर ढोकामै ढोगे। यो दृश्य पनि कम रोचक थिएन। त्यसपछि अरू केही सांसद पनि ढोकामा ढोग्दै शपथग्रहण समारोहमा प्रवेश गरे।

नवनिर्वाचित संसद् प्रतिनिधित्वका दृष्टिकोणले मात्रै भव्य र सुन्दर छैन, विभिन्न जातजाति, समुदायका भेषभूषा र शपथमा प्रयोग गरिएका भाषाका कारण पनि इन्द्रेणी जस्तै सुन्दर देखिन्थ्यो। रास्वपा सांसद आशिका तामाङ परम्परागत तामाङ पहिरनमा सजिएकी थिइन्। रास्वपाकै सांसद रहबर अन्सारी विद्यार्थी पोसाक लगाएर शपथमा सहभागी भएका थिए। शपथ ग्रहण समारोहमा कोही नेवारी पोसाकमा थिए, कोही मधेसमा लगाइने पोसाकमा सजिएका थिए भने कोही हिमाली क्षेत्रका भेषभूषामा देखिन्थे।

लाग्थ्यो, सबै जातजाति, क्षेत्र, समुदाय, लिंग र भूगोल एकै ठाउँ उभिएको छ र संसद् साझा थलो बनेको छ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभाको अर्को सुन्दर पक्ष भनेको १ सय २ जना सांसद ४० वर्षमुनिका छन्। राजनीतिमा पुस्तान्तरण र हस्तान्तरणको माग भइरहेका बेला विधि र नीति बनाउने थलोमा युवाको जबर्जस्त उपस्थितिले संसद्प्रति जनताको आशा र भरोसा पनि उस्तै छ।

यो पटकको प्रतिनिधिसभामा अधिकांश नयाँ अनुहारको प्रवेश भएको छ। भावी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) देखि धेरैजसो नयाँ युवाहरू सांसद बन्नेछन्। बिहीबार निर्वाचित सांसदहरूको शपथ ग्रहण भएको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले २ सय ७४ जनालाई शपथ गराएका छन्। ६४ जनाले मातृभाषामा शपथ लिएका छन्। 

केही सांसदहरू परम्परागत पहिरनमा आएका थिए। प्रतिनिधिसभामा सीमित मात्रामा मात्रै पुराना अनुहार छन्। २५ वर्षदेखि ७८ वर्षसम्मको उपस्थिति छ। ७० वर्ष र सोभन्दा माथिका ९ जना मात्रै छन्। ५० वर्षसम्मको वर्चस्व सांसदमा छ। ३५ प्रतिशत महिला प्रतिनिधिसभामा आएका छन्। २ सय ७५ सदस्यीय प्रतिनिधिमा ९६ जना महिला छन्। ६८ जना जनजाति, ४५ जना मधेसी र १७ दलित सांसद प्रतिनिधिसभामा पुगेका छन्।

रास्वपाबाट निर्वाचित अधिकांश नयाँ अनुहार छन्। रास्वपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय २५ र समानुपातिकमा ५७ गरी १ सय ८२ सिट जितेको छ। २०७९ सालको निर्वाचनमा २० सिट जितेको रास्वपाले यो निर्वाचनमा झन्डै दुईतिहाइ १ सय ८२ सिट ल्याएर छलाङ नै मारेको छ। रास्वपाले यो निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको छ। यो पटक संसद् नै रास्वपामय भएको छ।

भावी प्रधानमन्त्री रास्वपाका वरिष्ठ नेता बालेन शाह नै पहिलोपटक संसद्मा आएका हुन्। २०७९ सालको स्थानीय तहको निर्वाचनबाट शाह काठमाडौं महानगरपालिकाको मेयर भएका थिए। यो निर्वाचनमा झापा–५ बाट पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको विरासतलाई भत्काएर बालेन निर्वाचित भएका हुन्। २५ वर्षीया प्रशान्त उप्रेतीसहित अधिकांश प्रत्यक्षमा निर्वाचित भएका छन्। रास्वपाबाट समानुपातिकमा निर्वाचित ५७ जनामा सबै नै नयाँ अनुहार छन्।

रास्वपाबाट सभापति रवि लामिछानेसहित अघिल्लो पटकका कतिपय सांसद पनि यो प्रतिनिधिसभामा छन्। प्रत्यक्षमा १ सय २५ सिट जितेको रास्वपाबाट १४–१५ जना मात्रै पुराना अनुहार छन्। सभापति लामिछाने तेस्रोपटक निर्वाचित भएका हुन्। लामिछाने २०७९ मंसिर ४ मा भएको निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका थिए। दोहोरो नागरिकता प्रकरणमा उनको सांसद पद गएपछि पुनः २०८० वैशाख १० मा भएको उपनिर्वाचनबाट पनि उनी निर्वाचित भए। 

पार्टी उपसभापति डिपी अर्याल र स्वर्णिम वाग्ले पनि संसद्मा पुनः पुगेका छन्। अर्याल योभन्दा अघि समानुपातिकबाट निर्वाचित भएका थिए भने वाग्ले तनहुँ–१ बाट उपनिर्वाचनमा निर्वाचित भएका थिए। कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि भएको उपनिर्वाचनमा रास्वपा उपसभापति वाग्ले विजयी भएका थिए। रास्वपा उपसभापति अर्याल काठमाडौं–९ बाट यो पटक प्रत्यक्षबाट निर्वाचित भएका छन्। वाग्ले भने पुरानै निर्वाचन क्षेत्र तनहुँ–१ बाट जितेर सांसद बनेका छन्।

रास्वपामा प्रवक्ता मनिष झा अघिल्लो निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेका थिए, यसपटक धनुषा–३ बाट निर्वाचित भएका छन्। सोबिता गौतम पुनः निर्वाचित भएकी छन्। चितवन–३ बाट निर्वाचित गौतम २०७९ को निर्वाचनमा काठमाडौं–२ बाट जितेर प्रतिनिधिसभा सदस्य भएकी थिइन्। त्यस्तै इन्दिरा राना मगर पनि पुनः सांसद बनेकी छन्। उनी २०७९ सालमा समानुपातिकबाट सांसद बनेर उपसभामुख भएकी थिइन्। योपटक राना मगरले निवर्तमान सभामुख देवराज घिमिरेलाई नै हराएर प्रतिनिधिसभामा आएकी छन्। 

त्यस्तै तोसिमा कार्की पनि ललितपुर–३ बाट पुनः निर्वाचित भएकी छन्। त्यस्तै काठमाडौं–६ बाट शिशिर खनाल, काठमाडौं–७ बाट गणेश पराजुली र काठमाडौं–९ बाट विराजभक्त श्रेष्ठ पुनः निर्वाचित भए। यिनै निर्वाचन क्षेत्रबाट उनीहरू अघिल्लो निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित भएका थिए। त्यस्तै चितवन–१ बाट हरि ढकाल पुनः निर्वाचित भएका छन्। निशा डाँगी पनि पुनः निर्वाचित भएकी छन्। अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित डाँगी योपटक झापा–१ बाट निर्वाचित भएकी हुन्।

सुनसरी–३ बाट निर्वाचित अशोककुमार चौधरी पनि दोस्रोपटक सांसद बनेका छन्। उनी अघिल्लो निर्वाचनमा समानुपातिकबाट सांसद बनेका थिए। सर्लाही–४ बाट निर्वाचित अमरेशकुमार सिंह पटक–पटक निर्वाचित भएका सांसद हुन्। उनी कहिले कांग्रेस त कहिले स्वतन्त्र भएर निर्वाचित भएका छन्। प्रदेशसभाबाट केही प्रतिनिधिसभामा उक्लिएका छन्। बारा–४ बाट रहबर अन्सारी, काठमाडौं–२ बाट सुनील केसी र डडेलधुराबाट ताराप्रसाद जोशी निर्वाचित भएका छन्। अन्सारी र केसीले राजीनामा दिएर प्रतिनिधिसभामा लडेका हुन्। 

अन्सारीले तत्कालीन माओवादी केन्द्र र केसीले राप्रपा छोडेर रास्वपामा प्रवेश गरी चुनाव लडेका थिए। भूमिका श्रेष्ठको प्रतिनिधित्व पनि संसद्मा छ। उनी तेस्रो लिंगी हुन्। महिला–पुरुषबाहेक अन्य लिंगबाट सांसद हुने दोस्रो व्यक्ति हुन् भूमिका श्रेष्ठ। (२०६४ सालको संविधानसभामा सुनील पन्त सांसद भएका थिए)। भूमिका श्रेष्ठ रास्वपाको समानुपातिक तर्फबाट सांसद बनेकी हुन्।

कांग्रेसबाट संसद् भवन छिर्ने सांसदहरू
कांग्रेसका पनि अधिकांश नयाँ छन्। ३८ सिट जितेको कांग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकमा २० सिट छ। समानुपातिकतर्फ तीन जनाबाहेक सबै अनुहार नयाँ छन्। जसमध्ये १७ जना संसदीय राजनीतिका लागि नौलो अनुहारहरू हुन्। १५ जना महिला र ५ जना पुरुषमध्ये अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र चन्द्रकिशोर यादव मात्रै संसदीय अभ्यासमा भएका नेता हुन्। समानुपातिकबाट कालीबहादुर सहकारी, गीताकुमारी सेन्दाङ, रेनुका काउचा, गंगालक्ष्मी अवाल र गीता गुरुङ नयाँ अनुहार हुन्। 

त्यस्तै रुक्मिणीदेवी कोइराला, सीता थपलिया, रीना उप्रेती र सुशीला ढकाल आचार्य पहिलोपटक संसद्मा छिरेका छन्। मदनकृष्ण श्रेष्ठ, प्रमिलाकुमारी गच्छदार, हरिनादेवी कामी, पवित्रा विक, मनमाया विश्वकर्मा तथा निनुकुमारी कर्ण र रेखाकुमारी यादव पनि नयाँ अनुहार हुन्। कांग्रेसबाट मुस्लिम कोटामा शाहजान खातुन पनि पहिलोपटक संसद् प्रवेश गर्दै छिन्।

प्रत्यक्षतर्फ कांग्रेसका १ सय ६५ मध्ये १८ जना उम्मेदवारले मात्रै विजय हासिल गरेका थिए, जसमा पनि अधिकांश नयाँ नै छन्। जसअनुसार रौतहट–२ मा मो. फिरदोश आलम, सुर्खेत–१ मा विष्णुबहादुर खड्का, कपिलवस्तु–३ मा अभिषेक प्रताप साह, जाजरकोट–१ मा खड्कबहादुर बुढा, पाल्पा–१ मा सन्दीप राना र पाँचथर–१ मा नरेन्द्रकुमार केरुङ छन्।

यस्तै बाजुरा–१ बाट जनकराज गिरी, डोटी–१ मा भरतबहादुर खड्का, सोलुखुम्बु–१ मा प्रकाश सिंह कार्की र दैलेख–१ मा बासना थापा निर्वाचित भएका छन्। तेह्रथुम–१ मा सन्तोष सुब्बा, अछाम–१ मा भरतकुमार स्वाँर तथा रसुवा–१ मा मोहन आचार्य संसद् छिर्दै छन्। हुम्ला–१ बाट जयपति रोकाया, मुगु–१ बाट खड्ग शाही, मुस्ताङ–१ बाट योगेश गौचन थकाली, मनाङ–१ बाट टेकबहादुर गुरुङ र इलाम–१ बाट निश्कल राई संसद् प्रवेश गर्दै छन्। गौचन र गुरुङ अघिल्लो प्रतिनिधिसभामा पनि थिए।

एमालेमा नयाँ–पुरानाको छासमिस
एमालेबाट यो निर्वाचनमा जम्मा २५ सिट जितेको छ, जसमा प्रत्यक्षबाट मात्रै ९ सिट छ भने समानुपातिकबाट १६ सिट जितेको छ। एमालेबाट प्रत्यक्षतर्फ लक्ष्मीप्रसाद पोखरेल, गणेशसिंह ठगुन्ना, जगतबहादुर बोगटी, राजेन्द्र राई, सुहाङ नेम्बाङ र इस्तियाक राई दोहोरिएका हुन्। दैलेख–२ बाट निर्वाचित पोखरेल, दार्चुलाबाट ठगुन्ना, अछाम–२ बाट बोगटी तथा धनकुटाबाट राई दोहोरिएर सांसद बनेका हुन्।

नेम्बाङ इलाम–२ र इस्तियाक राई बाँके–२ बाट निर्वाचित भएका छन्। ताप्लेजुङका क्षितिज थेबे, संखुवासभाका अर्जुनबहादुर कार्की र बझाङका ऐनबहादुर महर पहिलो पटक संसद्मा आएका हुन्।

एमालेमा समानुपातिकबाट निर्वाचित भएका रामबहादुर थापा ‘बादल’ र पद्मा अर्याल भने दोहोरिएका हुन्। थापा पटक–पटक सांसद र मन्त्रीसमेत भइसकेका छन्। माओवादीबाट एमाले बनेका थापा अवसर धेरै पाउनेमध्येका हुन्। एमाले पहिलो महिला जिल्ला अध्यक्ष हुँदै राजनीतिमा उदाएकी अर्याल पनि योभन्दा अघि सांसद र मन्त्री भइसकेकी छन्। एमालेका पूर्वउपाध्यक्ष गुरु बराल पनि दोस्रो पटक संसद्मा आएका छन्। एमालेले नीति घतानी जस्ता नव युवालाई पनि समेटेको छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)
नेपाली कम्युनिस्ट पार्टीमा प्रत्यक्षतर्फ जित्ने अधिकांश पुराना नै छन्। यो प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ८ र समानुपातिक ९ गरी १७ सिट जितेको छ। नेकपाबाट संयोजक पुष्पकमल दाहाल, वर्षमान पुन, मातृकाप्रसाद यादव, महेन्द्रबहादुर शाही र धनबहादुर बुढा पटक–पटक सांसद र मन्त्रीसमेत भइसकेका छन्। गोपाल शर्मा र युवराज दुलाल पनि प्रदेशसभाबाट उक्लिएर प्रतिनिधिसभामा आएका हुन्। नेकपाबाट प्रत्यक्षतर्फ जित्ने रमेशकुमार मल्ल मात्रै पहिलोपटक संसद् छिरेका हुन्। तर नेकपामा पनि समानुपातिकमा अधिकांश नयाँ अनुहार नै छन्।

अन्य दल र स्वतन्त्र
श्रम संस्कृति पार्टीका ७ जना सांसद छन्, जसमा ३ जना प्रत्यक्ष निर्वाचित र ४ जना समानुपातिक छन्। उनीहरू सबै नयाँ हुन्। धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर संसदीय राजनीतिमा आएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित ७ जना नै नयाँ छन्। यस पार्टीले २५ वर्षीया धनुषाकी रुवीकुमारी यादवलाई सांसद बनाएको छ।

राप्रपाबाट प्रत्यक्ष एक र समानुपातिक ४ गरी ५ जना सांसद छन्। संसदीय दलका नेता बनेका ज्ञानेन्द्रबहादुर शाही दोस्रोपटक सांसद बनेका छन्। स्वतन्त्रबाट जितेका महावीर पुन पनि प्रतिनिधिसभामा पहिलोपटक छिर्दै छन्।
बालेन शाह र सिलाम साक्मा

भावी प्रधानमन्त्री एवं रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ‘सिलाम साक्मा’ लगाएर आफ्नै गाडी चलाएर शपथ ग्रहण गर्न सिंहदरबारको नवनिर्मित भवनको सभाहल पुगेका थिए। किरात संस्कृतिमा सिलाम साक्मालाई शुभ संकेतका रूपमा लिइन्छ। लिम्बू भाषामा ‘सि’ को अर्थ मृत्यु, ‘लाम’ को अर्थ बाटो र ‘साक्मा’ को अर्थ छेक्नु हो। त्यसैले सिलाम साक्माको अर्थ ‘मृत्युको बाटो छेक्ने’ हुन्छ।

कसैले ढोगेर प्रवेश गरे भने कोही स्कुल पोसाकमा पुगे। रास्वपा सांसद रहबर अन्सारी स्कुल पोसाकमा शपथ ग्रहण समारोहमा पुगेका थिए। उनले सम्पूर्ण अभिभावकहरूलाई सम्मान गर्नका लागि भन्दै स्कुल ड्रेसमा शपथ लिएको बताए। २ जनाले संस्कृत भाषासहित ६४ जनाले मातृभाषामा शपथ लिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

आदिवासी जनजातिको प्रतिनिधित्व घट्यो
पछिल्लो प्रतिनिधिसभा निर्वाचन २०८२ ले आदिवासी जनजाति समुदायको प्रतिनिधित्व ऐतिहासिक रूपमा घटाएको छ। करिब ३५ प्रतिशत जनसंख्या ओगटेको यस समुदायबाट प्रतिनिधिसभामा केवल २४.७२ प्रतिशत (६८ जना) मात्र निर्वाचित भएका छन्। गणतन्त्र स्थापनापछिका निर्वाचन हेर्दा प्रतिनिधित्व क्रमशः घट्दो क्रममा देखिएको छ। 

पहिलो संविधानसभा निर्वाचन २०६४ मा ३६ प्रतिशत रहेको प्रतिनिधित्व, दोस्रो संविधानसभा निर्वाचन २०७० मा ३२ प्रतिशतमा झ¥यो। त्यसपछि प्रतिनिधिसभा निर्वाचन २०७४ मा ३३.४५ प्रतिशत र प्रतिनिधिसभा निर्वाचन २०७९ मा ३०.५ प्रतिशत थियो। प्रतिनिधित्व अहिले २४ प्रतिशतमा सीमित भएको आदिवासी जनजाति आयोगले जनाएको छ। 

निरन्तर प्रतिनिधित्व घट्दै गएकोमा आदिवासी जनजाति आयोगले गम्भीर चिन्ता व्यक्त गरेको छ। आयोगका अनुसार गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनमा आदिवासी जनजाति समुदायको उल्लेखनीय सहभागिता थियो। सबैभन्दा बढी सहिद पनि यही समुदायबाट भएका थिए। यस्तो पृष्ठभूमिमा आन्दोलनपछि सम्पन्न निर्वाचनमा प्रतिनिधित्व झनै घट्नु विडम्बनापूर्ण रहेको आयोगका अध्यक्ष रामबहादुर थापा बताउँछन्। देशमा करिब दुईतिहाइ बहुमतसहित सरकार गठनको तयारी भइरहेका बेला आयोगले सरकार निर्माणमा अग्रसर राजनीतिक दलहरूलाई संवैधानिक मर्मअनुसार समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरेको छ। 

कार्यपालिकामा आदिवासी जनजाति समुदायको सम्मानजनक सहभागिता गराउनुपर्नेमा आयोगले जोड दिएको छ।


 

Post a Comment

0 Comments