भोटेकोशी जलप्रलय : शव उठाउनै सकस


हेलिकप्टरकै भरमा उद्धार र शव संकलन

हेलिकप्टरकै भरमा उद्धार र शव संकलन
29Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

 काठमाडौं/रसुवा/ नुवाकोट : उत्तरगया गाउँपालिका–५ नौबिसेका सुरक्षाकर्मीहरूले बाढीले बगाएर ल्याएको एउटा शवको अंग भेट्टाए।विधि पुर्‍याएर प्याकिङ गरियो, ट्याग झुन्ड्याइयो र आकाशतिर हेरेर बस्न थाले।‘हेलिकप्टर आउँदै छ’ भन्ने सूचनाका आधारमा टोली दुई घण्टाभन्दा बढी समय आकाश हेरेरै बसिरह्यो, तर न हेलिकप्टर आयो, न त शव उठ्न नै सक्यो।विपद्पछि रसुवामा जारी खोजी तथा उद्धार कार्यमा खटिएका सुरक्षा निकायबीच प्रभावकारी समन्वय नहुँदा फिल्डमा यस्तो भद्रगोल दृश्य दैनिकजसो दोहोरिने गरेको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोलीहरू फिल्डमा खटिए पनि माथिल्लो तह र उद्धार टोलीबीच सही र समयमै सूचना आदानप्रदान हुन नसकेको फिल्डमा खटिएका सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरू बताउँछन्।उत्तरगयाको खाल्टे र नौबिसे क्षेत्रमा अझै धेरै शवहरू पुरिएको अनुमान छ।कालिका इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर रमेश रायको नेतृत्वमा टोली उत्खननमा खटिए पनि उद्धारको पूर्वतयारी र सूचना संयन्त्र चुस्त नहुँदा खोज कार्य प्रभावित बनेको छ।स्थलगत रूपमा रसुवा पुगेका पत्रकार गणेश पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत आर्मीलाई अनुरोध भन्दै स्टाटस लेखे।उनले ‘बेत्रावती नजिक एउटा शव भेटिएको दुई घण्टा भयो।सेना, प्रहरी, सशस्त्र र हामी सञ्चारकर्मी हेलिकप्टर शव लिन आउँछ भनेर बगरमा बसेको दुई घण्टा भयो, कति बेला आउला’ भनेर उल्लेख गरेका छन्।

‘भेटिएको समयमै हेलिकप्टर आउने निश्चित समय भइदिए वा उद्धार उडानको सही रेस्पोन्स आएको भए शव कुर्नुपर्ने समय अन्य सम्भावित ठाउँमा खोजीका लागि दिन सकिन्थ्यो,’ फिल्डमा खटिएका एक उद्धारकर्मीले गुनासो गरे।उद्धार उडानको अनिश्चितताले गर्दा उद्धारकर्ताहरू दुई–तीन घण्टासम्म एउटै शव कुरेर बस्न बाध्य छन् भने अन्य प्रभावित क्षेत्रमा उत्खननमा ढिलाइ भइरहेको छ।

भोटेकोशी नदीमा जलप्रलय आएको आठ दिन भइरहेको छ, तर एक हप्तामा बाढीले बगाएका धेरैको लास उठ्न सकिरहेको छैन।बाढी प्रभावित रहेको रसुवा जिल्लाका अधिकांश स्थानमा सडक सुविधा नपुगेका कारण लास उठाउन समस्या भइरहेको छ।उत्तरगयाको खाल्टे र नौबिसे क्षेत्रमा अझै धेरै शवहरू पुरिएको अनुमान छ।हेलिकप्टरबाट शवको ट्र्याकिङ गर्नुपर्ने र फिल्डमा सहजीकरण गर्ने व्यक्ति नहुँदा शव संकलन चुनौतीपूर्ण बनेको हो।

कालिका इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर रमेश रायको नेतृत्वमा टोली उत्खननमा खटिए पनि उद्धारको पूर्वतयारी र सूचना संयन्त्र चुस्त नहुँदा खोज कार्य प्रभावित बनेको छ।रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको रसुवागढी, घट्टेखोला, टिमुरे, तातोपानी, लिङलिङ, स्याफ्रुबेंसी तथा उत्तरगया गाउँपालिकाको मैलुङ, सल्लेटार, खाल्टे, बेत्रावतीमा लासहरू असरल्ल नै छन्। रसुवामा उद्धारमा खटिएका युवा अभियन्ता प्रकाश पौडेल पनि सडक सञ्जाल नपुगेका कारण रसुवामा लास उठाउन समस्या भइरहेको पाइएको बताउँछन्।‘पूरै सडक नै ध्वस्त छ, जाने ठाउँ छैन, हेलिकप्टरबाहेक विकल्प नै छैन,’ उनले भने।

सडक सञ्जाल नपुगेका कारण लासको खोजी कार्य सहज रूपमा हुन सकिरहेको छैन।सडक सुविधा पुगेका जमिनमुनि पुरिएका मात्रै होइन, छरिएका लासहरू पनि उठ्न सकेका छैनन्।जसले गर्दा दुर्गन्धित हुन थालेका छन्।सरकारको तथ्यांकअनुसार नै हालसम्म १ हजार २ सय ५९ लास भेटिएका छन् भने ५ हजार ८३ भन्दा बढी हराइरहेका छन्।बिहीबार रातिसम्मको तथ्यांकअनुसार रसुवामा मात्रै २ हजार ५ सय ६४ सम्पर्कविहीन भएका छन्।जसमा नेपाली सेना २७, नेपाल प्रहरी २८, सशस्त्र प्रहरी १३, सरकारी कर्मचारी ७९, बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६ जना बेपत्ता छन्।प्रारम्भिक तथ्यांकअनुसार रसुवाका १ हजार २ सय ६६ जना सम्पर्कविहीन छन् भने अन्य जिल्लाका ८ सय ८२ जना पनि सम्पर्कमा आएका छैनन्। त्यस्तै, २ सय ४३ जना विदेशी पर्यटकसमेत बेपत्ता छन्।

१५ सयभन्दा बढी त घर नै भत्किएका छन्। त्यस्तै २८ वटा सरकारी कार्यालय, ११ वटा विद्यालय, १४ वटा बैंक तथा वित्तीय संस्था पनि भत्किएका छन्।घर तथा अन्य कार्यालयमा रहेका मानिस हराइरहेका छन्।

मौसमको प्रतिकूलता र सडक सञ्जाल विच्छेद भएका कारणले नेपाली सेनाको उद्धार र खोजीको टिम रातदिन खटिँदा पनि ठूलो प्रलय भएका कारण यो सम्भव भइरहेको छैन।सरकारको ध्यान विशेषतः जलविद्युत् आयोजनाको सुरुङभित्र केन्द्रित हुँदा बजार र बस्तीहरूका लास उठाउन विलम्ब भइरहेको छ।हेलिकप्टरबाट उद्धारमा गएकाहरू पनि अझै असरल्ल लासहरू देखिएको बताउने गर्छन्।रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी शव व्यवस्थापन गर्न धेरै गाह्रो भइरहेको स्वीकार गर्छन्।

प्रभावित क्षेत्रमा हेलिकप्टरबाहेकको विकल्प नरहेका कारणले पनि समस्या भएको उनको भनाइ छ।‘ट्र्याक गर्छौं, प्राप्त भएका लास जति त्रिशूली पठाउँछांै,’ उनले भने।रसुवामा ४१ किलोमिटर सडक ध्वस्त छ।रसुवाको बेत्रावतीदेखि रसुवागढीसम्मकै सडक पूरै भोटेकोशीले बगाइदिएको छ।

रसुवामात्रै होइन, नुवाकोटकै ढुंगेबजारभन्दा माथिल्लो क्षेत्रमा सडक सञ्जाल पूरै ध्वस्त छ।बल्लबल्ल ढुंगेबजारबाट त्रिशूली बजारसम्म तुइनबाट जोडिएको छ।तुप्चे, बेत्रावतीलगायतका क्षेत्रमा हेलिकप्टरको विकल्प छैन।हेलिकप्टरबाट मात्रै उद्धार र खोजी गर्न सकिने भएका कारणले धेरै ठाउँका लासहरू उठाउन समस्या भइरहेको छ।रसुवाबाट बगेर आएका लास र नुवाकोटमा बाढीले पुरिएका लास पनि अझै सबै उठ्न सकिरहेका छैनन्।रसुवाको तुलनामा नुवाकोट केही सहज भए पनि लास व्यवस्थापनमा त्यहाँ पनि समस्या छ।ठूलो संख्यामा सर्वसाधारण हराएका तुप्चे बजार र बेत्रावतीमा दुर्गन्धित भएपछि त्यहाँ बाँचेका धेरै त गाउँ नै छोडेर हिँडेका छन्।उनीहरू काठमाडौं आएर गुम्बामा बसेका छन्।

नुवाकोटको रेडक्रस सोसाइटीका मन्त्री उद्धव शर्मा रिजाल पनि लास नउठ्दा गाउँ, बस्तीहरू नै दुर्गन्धित भएको बताउँछन्।‘लास उठ्न नसक्दा जताततै दुर्गन्धित भएको छ, गनाएको छ,’ उनले भने।ठूलो मानवीय क्षति भएका कारण शव व्यवस्थापनमा ठूलो समस्या आएको उनी बताउँछन्।तीनतले घरसमेत पुरिएका कारण लास निकाल्न पनि ठूलो समस्या छ।लास समयमै नउठ्दा महामारीको खतरा बढ्ने देखिएको छ।

कुशको शव बनाएर अन्त्येष्टि

भोटेकोशी हुँदै चीनबाट रसुवागढी नाका भएर त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटमा बेपत्ता भएकाहरूको शव नभेटिएपछि शवबिनै अन्तिम संस्कार सुरु गरिएको छ।परम्पराअनुसार कुशको मानवाकृति बनाएर अन्तिम संस्कार सुरु गरिएको हो।

भोटेकोशी हुँदै त्रिशूली नदीमा बुधबार आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको लगातार खोजी गर्दासमेत वास्तविक अवस्था पत्ता नलागेपछि हिन्दु धर्मअनुसार कुशको आकृति बनाएर बेपत्ताका परिवारले अन्तिम संस्कार सुरु गरेको विदुर नगरपालिका–३ का वडाध्यक्ष बद्रीप्रसाद रिमालले बताए।उनले आफ्नो वडाका आठ जना उक्त प्रलयकारी बाढीमा परेर बेपत्ता भएकामा तीन जनाको कुशको मानवाकृति बनाएर अन्तिम संस्कार सुरु गरिएको बताए।

उनका अनुसार एक सातासम्म परिवारले जिउँदो वा शव फेला नपारेपछि हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गर्न थालेका हुन्।बेपत्ताका परिवारले आफ्ना बासस्थान नजिकैको घाटमा कुशको शव बनाएर अन्तिम संस्कार गरिरहेका छन्।

बाढीका कारण नुवाकोटमा बिहीबार बेलुकासम्म १ सय ८४ जनाको शव फेला पार्नुका साथै २ हजार ४ सय ८८ जना व्यक्ति अझै बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।३ हजार ३ सय ५ जनाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए।उनका अनुसार बाढी प्रभावित नुवाकोटको त्रिशूली, ढुंगे, देवीघाट, बेत्रावती, तारकेश्वर, शान्तिबजारलगायतका स्थानमा आठौं दिन पनि स्थलगत र हेलिकप्टरमार्फत खोज तथा उद्धार कार्य जारी छ।नुवाकोटका विभिन्न २४ वटा होल्डिङ सेन्टरहरूमा ३ हजार १ सय ८१ जना आश्रित रहेका छन्।

अधिकांशले आफ्ना हराएकाहरूको कुशको मानवाकृति बनाएर अन्त्येष्टि गर्न सुरु गरेका छन्।विदुर नपा–७ तुप्चे सोलेबजारकी सरस्वती भट्ट, छोरा केशव, बुहारी तथा नातिको कुशको मानवाकृति बनाएर छोरा राजकुमारले अन्तिम संस्कार सुरु गरेका हुन्।परिवारले एक साता बित्दासमेत शव फेला नपरेपछि हिन्दु परम्पराअनुसार कुशबाट बनाइएको प्रतीकात्मक शव राखेर अन्तिम संस्कार गरेका हुन्।बेपत्ता भएकाहरूका आफन्तले हराएकाहरूको शव फेला पर्ने आशा मेटिएको बताए।

लामो समयसम्म खोजी गर्दा पनि शव फेला नपरेपछि उहाँहरूको आत्माको शान्तिका लागि परम्पराअनुसार अन्तिम संस्कार गर्ने निर्णय गरेको आफन्तले बताए।रसुवाबाट बाढीमा बेपत्ता भएका विदुर नपा–५ पीपलटारका रमेश गजुरेलको पनि शव नभेटिएपछि परिवारजनले कुशको मानवाकृति बनाएर अन्तिम संस्कार गरेका हुन्। विदुर नपा–७ तुप्चेका लोकनाथ रिजाल, बिन्दा रिजाल, नवराज नेपालको पनि कुशको मानवाकृति बनाएर अन्तिम संस्कार गरिएको छ।सो वडाबाट १ सय ६ जनाको मृत्यु भएको स्थानीय युवा कृष्ण रिजालले जानकारी दिए।

  •  सडक सञ्जाल नपुगेका कारण लासको खोजी कार्य सहज रूपमा हुन सकिरहेको छैन। सडक सुविधा पुगेका जमिनमुनि पुरिएका मात्रै होइन, छरिएका लासहरू पनि उठ्न सकेका छैनन्। जसले गर्दा दुर्गन्धित हुन थालेका छन्।
  • सरकारको तथ्यांकअनुसार नै हालसम्म १ हजार २ सय ५९ लास भेटिएका छन् भने ५ हजार ८३ भन्दा बढी हराइरहेका छन्। रसुवामा मात्रै २ हजार ५ सय ६४ सम्पर्कविहीन भएका छन्।

उनका अनुसार हराएकामध्ये सोलेबजारकी ढकाल्नी आमाको शवमात्र फेला परेको हो।बाढीमा परेर बेपत्ता भएकाहरू रामहरि नेपाल, हीरानाथ नेपाल, हरि पौडेलको अन्तिम संस्कार सुरु गरिएको छ। स्थानीय युवा रिजालका अनुसार बेपत्ता भएकाका परिवारले घर नजिकैको घाटमा अन्तिम संस्कार गरेका हुन्।उनले सरकारको खोज तथा उद्धार प्रक्रियाप्रति समेत असन्तुष्टि व्यक्त गरेका छन्। आफ्ना आफन्तको अवस्था र खोजीबारे सरकारले पर्याप्त रूपमा सम्बोधन नगरेको बेपत्ता भएकाका परिवारजनको गुनासो छ।बाढीमा बेपत्ता भएका आफन्तको अवस्थाबारे परिवार अझै जवाफको पर्खाइमा छन्।

विदुर नपा–७ तुप्चे सोलेबाटै बासुदेव, गोमा, हिमालय, उमा र हिमानी पौडेल बेपत्ता भएकोमा उनीहरूको पनि कुशको मानवाकृति बनाएर अन्तिम संस्कार सुरु गरिएको छ।बासुदेव पौडेलका छोरा नीराजन पौडेलले आफ्ना परिवारका पाँच सदस्यको कुशको आकृति बनाएर अन्त्येष्टि सुरु गरेका हुन्।

नुवाकोटमा संकलित शव त्रिवि शिक्षण अस्पतालमा
नुवाकोटमा बिहीबार बेलुकासम्म बेपत्ता भएकाहरूमध्ये १ सय ८६ जनाको शव संकलन भइसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।जसमध्ये ३० वटा शव आफन्तको जिम्मा लगाइसकिएको प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए।

बाँकी रहेका शव पहिचानका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको हवारीले बताए।विदुरस्थित प्रहरी चेकपोस्टमा डिएनए संकलन केन्द्र सञ्चालन गरिएको नुवाकोट प्रहरीले जनाएको छ।

शववाहन तथा हेलिकप्टरमार्फत शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको हो।हराएकाहरूको संख्या धेरै रहेका कारण मृतकको संख्या बढ्ने सुरक्षा निकायले जनाएको छ।

यता, नुवाकोटको विदुर नगरपालिका–५ पीपलटारस्थित खेलकुद मैदानमा ७० वटा शव राखिएको छ।बाढीमा परेर रसुवाबाट संकलन गरेर ल्याइएका शव राखिएको प्रहरीले जनाएको छ। केही शवहरू शववाहनमार्फत काठमाडौं पठाइएको र अन्य शव लैजानका लागि शववाहनको खोजी भइरहेको प्रहरीले जनाएको छ।मानव बस्ती तथा विद्यालयको छेउमा खुला चौरमा शवहरू राखिँदा दुर्गन्ध बढेको स्थानीयवासीले बताए।

शवको व्यवस्थापनका लागि प्रहरीले सक्रियता अपनाइरहेको जनाएको छ।शववाहन खाली नहुँदा र समयमै नपाउँदा शवलाई काठमाडौं पठाउन ढिलाइ भएको जनाइएको छ।


 

Post a Comment

0 Comments