आर्थिक साझेदारीमा नयाँ अध्याय, ओझेलमा राष्ट्रिय मुद्दा




नयाँ दिल्ली/ काठमाडौं : विगतका अधिकांश सरकार प्रमुखले पहिलो विदेश भ्रमणका लागि भारत नै रोज्थे। प्रधानमन्त्री वालेन्द्र शाहले पनि छिमेकी मुलुक भारतबाटै औपचारिक भ्रमण सुरु गरे। प्रधानमन्त्रीले भारतबाट कूटनीतिक सन्तुलन कायम गर्ने संकेत दिएका छन्।
भ्रमणपछि जारी भएको २४ बुँदे संयुक्त विज्ञप्ति र ‘जोइन्ट भिजन डकुमेन्ट’ले विगतका तिक्तता र विवादित मुद्दाहरूलाई तत्कालका लागि थाती राख्दै आर्थिक, पूर्वाधार र प्रविधि साझेदारीलाई केन्द्रमा राखेर नयाँ कूटनीतिक यात्रा सुरु भएको देखिन्छ।
नयाँ दिल्लीको हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको डेढ घण्टा लामो एक्लाएक्लै वार्तापछि भएका सहमतिहरूले प्रधानमन्त्री शाहको व्यावहारिक कूटनीतिलाई प्राथमिकता दिएको देखिन्छ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाह कालापानी र सुस्ताको सीमा विवाद, प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) को प्रतिवेदन र नेपालले लामो समयदेखि माग गर्दै आएको महेन्द्रनगर हवाई रुटजस्ता विवादित विषयमा प्रवेश गर्नै चाहेनन्। विगतमा यिनै विवादित विषयमा अल्झिँदा द्विपक्षीय संवाद नै अवरुद्ध हुने स्थिति थियो। भिजन पेपरमा भने १९५० को सन्धि आपसी समझदारीमा पुनरावलोकन गर्न सकिने उल्लेख हुनु र सीमा समस्या समाधानका लागि परराष्ट्र सचिवहरूलाई निर्देशन दिनुले संवादको ढोका भने खुला राखेको आभासमात्र दिएको छ।
प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमण आपसी सहकार्यका नयाँ आधार तय गर्न सफल भए पनि नेपालका मुख्य राष्ट्रिय मुद्दाहरू भने ओझेलमै परेका छन्। भ्रमणका क्रममा उनले विवादास्पद विषयलाई थाती राख्दै भारतसँगको सहकार्य विस्तार गर्ने रणनीति अपनाएका छन्।
यस भ्रमणले नेपाल–भारत सम्बन्धमा सकारात्मक सन्देश दिनुका साथै आपसी सम्बन्धलाई नयाँ दिशामा अघि बढाउने अवसर सिर्जना गरेको छ। प्रधानमन्त्री शाहले पनि विवादित राष्ट्रिय मुद्दालाई उठाउनुभन्दा संवाद, सहकार्य र आर्थिक साझेदारीलाई नै मुख्य प्राथमिकता दिएका छन्।
भ्रमणले द्विपक्षीय सम्बन्धमा कूटनीतिक परिपक्वता र दीर्घकालीन सहकार्य विस्तारको सन्देश दिएको छ। सहकार्यका नयाँ क्षेत्र पहिचान गरिए पनि सीमा विवाद र ईपीजी प्रतिवेदनका विषयमा भने भ्रमण मौन देखिएको छ। द्विपक्षीय सम्बन्धमा बेलाबखत देखिने असमझदारी र अविश्वासका बीच भएको यो भ्रमणले सकारात्मक सन्देश प्रवाह गरेको कूटनीतिक मामिलाका विज्ञहरू बताउँछन्।
भ्रमणका क्रममा ८ वटा समझदारीपत्रमा हस्ताक्षर, ६ वटा आयोजनाको उद्घाटन तथा शिलान्यास र २४ बुँदे संयुक्त वक्तव्य जारी हुनुले दुई देशबीच सहकार्यका नयाँ क्षेत्र पहिचान गरेको छ। ऊर्जा, पूर्वाधार, स्वास्थ्य, सुरक्षा, प्रविधि, प्रशासनिक क्षमता अभिवृद्धि तथा परम्परागत चिकित्सालगायतका क्षेत्रमा भएका समझदारीले सम्बन्धलाई थप फराकिलो बनाउने आधार तयार पारेका छन्।
सन् २०१८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि संयुक्त वक्तव्य जारी हुन नसकेको अवस्थामा यसपटक त्यसले निरन्तरता पाउनुलाई पनि सकारात्मक पक्षका रूपमा हेरिएको छ। यसले दुई देशबीच उच्चस्तरीय संवाद र सहकार्यको वातावरण पुन: सहज बन्दै गएको संकेत गरेको छ।
चिसोपना ल्याउने विषय ओझेलमै
प्रधानमन्त्री शाहले भ्रमणका क्रममा विवादमा पर्ने वा द्विपक्षीय सम्बन्धमा थप चिसोपना ल्याउने विषयलाई प्राथमिकतामा राखेनन्। बरु, दीर्घकालीन प्रभाव पार्ने आर्थिक, विकास र पूर्वाधारका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रयास गरे। अयोध्या–जनकपुर रेल सेवा उद्घाटन, तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास, मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण हस्तान्तरण तथा सीमावर्ती पूर्वाधार विकासका काम यसका उदाहरण हुन्। भारतले नेपाललाई घोषणा गरेको २ खर्ब ४० अर्ब रुपैयाँबराबरको सहयोग पनि भ्रमणको महत्वपूर्ण उपलब्धि हो। यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण सहायता रहेको छ। त्यस्तै, नेपालमा ऊर्जा तथा पूर्वाधार विकासका आयोजना अघि बढाउन दुवै पक्षबीच सहकार्यका नयाँ सम्भावना पहिचान भएका छन्।
लामो समयदेखि नेपालको चासोमा रहेको भैरहवा–लखनऊ हवाई रुटलाई दुईतर्फी बनाउन प्राविधिक परामर्श गर्ने सहमति, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउन दुवै देशका संयन्त्रलाई निर्देशन र सीमा समस्या समाधानका लागि परराष्ट्र सचिवहरूलाई जिम्मेवारी दिनु भ्रमणका अन्य उपलब्धि हुन्। रक्सौल–काठमाडौं रेलमार्गको फिल्ड लोकेसन सर्भे सम्पन्न भएको तथा पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने प्रतिबद्धताले पनि कनेक्टिभिटी विस्तारको सम्भावना देखाएको छ।
नेपाल–भारत सम्बन्ध व्यापार र पारवहनमा मात्र सीमित छैन। खुला सीमा, सांस्कृतिक निकटता, रोजगारी, ऊर्जा र जनस्तरको सम्बन्धले यसलाई विशिष्ट बनाएको छ। त्यसैले दुई देशबीचको सम्बन्धमा आउने असमझदारी र अविश्वासको असर दुवैतर्फ पर्छ। पछिल्लो समय देखिएका केही असमझदारीका बीच प्रधानमन्त्री शाहको भ्रमण हुनु र उच्चस्तरीय संवादमार्फत सहकार्यका नयाँ आधार तयार हुनु सकारात्मक मानिएको छ।
ओझेलमा परेका एजेन्डा
भ्रमणले सम्बन्ध सुधारको सन्देश दिए पनि नेपालको महत्वपूर्ण राष्ट्रिय सरोकारका केही विषय भने ओझेलमा परेका छन्। विशेषगरी कालापानी र सुस्तालगायतका सीमा विवादमा ठोस प्रगति हुन सकेन। सन् २०१८ मै तयार भएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन बुझ्ने र कार्यान्वयन गर्ने विषय पनि भ्रमणका क्रममा उठेन। त्यस्तै, नेपालको प्राथमिकतामा रहेको काठमाडौं–महेन्द्रनगर हुँदै दिल्ली जोड्ने हवाई रुटबारे प्रधानमन्त्री तहमा ठोस सहमति जुट्न सकेन।
भैरहवा–लखनऊ हवाई रुटलाई दुईतर्फी बनाउन प्राविधिक परामर्श गर्ने सहमति भए पनि त्यसको कार्यान्वयन निश्चित भइसकेको छैन। यी विषय नेपालको राष्ट्रिय हित, आर्थिक लाभ र दुई देशबीचको आपसी विश्वाससँग प्रत्यक्ष जोडिएका छन्। त्यसैले भ्रमणमा विवाद नचर्काउने नीति अपनाउनु सकारात्मक भए पनि राष्ट्रिय सरोकारका मुद्दालाई सधैं थाती राख्नु उचित नहुने कूटनीतिक मामिलाका जानकारहरू बताउँछन्।
प्रधानमन्त्री शाहको भ्रमणले छिमेकीसँगको सम्बन्धलाई भावनात्मक र विवादकेन्द्रित राजनीतिबाट बाहिर निकालेर परिणाममुखी र विकासकेन्द्रित बनाउने प्रयास गरेको छ।
नेपाल भ्रमणको निम्तो
प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्। मोदीले निमन्त्रणा स्वीकार गरेका छन् र उनको भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिने संयुक्त विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री पद सम्हालेपछि शाहको यो पहिलो भारत भ्रमण हो। २०८२ भदौ २३ र २४ गतेको घटनापछि नेपालमा राजनीतिक परिवर्तन भएको थियो। फागुन २१ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत हासिल गरेपछि २०८२ चैत १३ गते शाह प्रधानमन्त्री बनेका हुन्। प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्ने प्रचलनअनुसार नै उनको यो राजकीय भ्रमण भएको हो। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र विदेशमन्त्री डा. एस. जयशंकरसँग शिष्टाचार भेट गरेका छन्। संयुक्त विज्ञप्तिमा नेपाल–भारत सम्बन्ध गहिरो विश्वास, मित्रता, पारस्परिक सम्मान र समझदारीमा आधारित रहेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
एक्लाएक्लै भेटवार्ता
नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र समकक्षी मोदीबीच उच्चस्तरीय भेटवार्ता भएको छ। सुरुमा दुई प्रधानमन्त्रीबीच केही समय एक्लाएक्लै (वान–टु–वान) र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो। दुवै चरणमा गरी करिब डेढ घण्टा लामो छलफल भएको थियो। वार्तामा नेपाली प्रतिनिधिमण्डलका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी थिए।
भारतका तर्फबाट विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय डा. पी.के. मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र अतिरिक्त सचिव मनु महावरलगायतको सहभागिता थियो।
नेपालको परम्परा तोडे, भारतमा निरन्तरता
प्रधानमन्त्री शाह भारत प्रस्थान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले अर्पण गर्ने सम्मान स्वरूपको ‘गार्ड अफ अनर’ लिएनन्। सरकार प्रमुख विदेश जाँदा र आउँदा ‘गार्ड अफ अनर’ लिने परम्परा उनले तोडेका हुन्। यद्यपि, भारतमा भने उनलाई भारतीय सेनाको एक टुकडीले भव्यताका साथ ‘गार्ड अफ अनर’ अर्पण गरेर सम्मान गरेको छ।
राजघाटमा बालेनको सन्देश
प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गरेका छन्। राजघाटमा माल्यार्पण गरेपछि उनले आगन्तुक पुस्तिकामा करुणा नै सर्वोच्च शक्ति र निस्वार्थ सेवा नै साँचो नेतृत्व भएको उल्लेख गरेका छन्।
भगवान् बुद्धको जन्मभूमिबाट आएको सन्दर्भ जोड्दै उनले गान्धीको विरासतमा त्यही अमर ज्योति देखेको लेखेका छन्। शाहले नेपाल र भारत साझा भूगोलले मात्र नभई आस्था, आत्मीयता र चिरस्थायी मित्रताको सनातन विरासतले बाँधिएको उल्लेख गर्दै गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ यो सम्बन्धलाई थप सुदृढ बनाउने नेपालको प्रतिबद्धता पुन: व्यक्त गरेका छन्।
मोदीलाई रातो मच्छिन्द्रनाथ, मुर्मूलाई चारुमती विहारको बुद्धमूर्ति
बालेनको भारत भ्रमणमा उपहार छनोट आफैंमा एउटा रोचक कूटनीतिक सन्देश थियो। नेपालका प्रधानमन्त्रीहरूले भारत भ्रमणका क्रममा परम्परागत रूपमा पशुपतिनाथ मन्दिरको प्रतिकृति उपहार दिने अभ्यास रहँदै आएको थियो। तर, यसपटक शाहले फरक बाटो रोजे।
हैदराबाद हाउसमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा सांस्कृतिक तथा धार्मिक महत्तका उपहार आदानप्रदान गरियो। भारतीय प्रधानमन्त्री मोदीलाई काठमाडौं उपत्यकाको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएको रातो मच्छिन्द्रनाथको मूर्ति तथा पशुपतिनाथ मन्दिरको रुद्राक्ष, शालिग्राम र चन्दन उपहार स्वरूप प्रदान गरियो। त्यस्तै, राष्ट्रपति द्रौपदी मुर्मूलाई काठमाडौंको चाबहिलस्थित चारुमती विहारसँग सम्बन्धित बुद्धमूर्ति उपहार दिइयो। जवाफमा मोदीले शाहलाई त्रिवेणीबाट ल्याइएको पवित्र गंगाजलको विशेष कलश उपहार दिए।
यी उपहारको ऐतिहासिक कथा पनि कम रोचक छैन। रातो मच्छिन्द्रनाथलाई काठमाडौँ उपत्यकाको वर्षा, सहकाल र जनजीवनसँग जोडेर हेरिन्छ। परम्परागत मान्यताअनुसार लिच्छवि राजा नरेन्द्रदेवले तत्कालीन कामरूप क्षेत्र (भारत) बाट रातो मच्छिन्द्रनाथलाई काठमाडौं ल्याएका थिए। लामो समयसम्म वर्षा नभएर उपत्यकामा अनिकाल परेको अवस्थामा देवताको आगमनपछि वर्षा भएको धार्मिक किंवदन्ती छ।
अर्कोतर्फ, चारुमती विहारको सम्बन्ध भारतका सम्राट अशोक र उनकी छोरी चारुमतीसँग जोडिन्छ। सम्राट अशोक काठमाडौं उपत्यका आउँदा छोरी चारुमती पनि सँगै आएकी थिइन्। पछि स्थानीय राजकुमार देवपालसँग विवाह गरेकी चारुमतीले चाबहिल क्षेत्रमा विहार स्थापना गरेको मानिन्छ। मोदीलाई दिइएको रातो मच्छिन्द्रनाथको मूर्तिले भारतबाट नेपालसम्म आइपुगेको सांस्कृतिक सम्बन्धको कथा बोकेको छ भने मुर्मूलाई दिइएको बुद्धमूर्तिले दुई देशबीचको प्राचीन बौद्ध सम्बन्धलाई स्मरण गराउँछ। यसका साथै मोदीले दिएको गंगाजल र शाहले दिएको पशुपतिनाथको प्रसादले दुई देशबीचको सांस्कृतिक निकटतालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ।
भ्रमणको दोस्रो दिन राष्ट्रपति भवनमा आयोजित औपचारिक स्वागत समारोहमा मोदी स्वयं शाहलाई स्वागत गर्न उपस्थित भए। गाडीबाट ओर्लनेबित्तिकै शाहले अघि सरेर मोदीलाई अँगालो मारे भने मोदीले पनि आफैंतिर तानेर आत्मीयता देखाए। उमेर, राजनीतिक अनुभव र नेतृत्व शैलीमा फरक देखिने दुई नेताबीच वर्षौँदेखिको मित्रताजस्तो सहज माहोल देखिन्थ्यो। सो अवसरमा शाह आफ्नो परिचित कालो चस्मा, कालो कोट, दौरा–सुरुवाल र भादगाउँले टोपीमा थिए भने मोदी कुर्ता–सुरुवालमा सजिएका थिए।
राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँगको भेट औपचारिकतामा मात्र सीमित रहेन। मुर्मूले नेपालको नयाँ सरकारलाई निर्वाचनमा प्राप्त जनादेशका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना दिइन्। उनले भोटेकोशी बाढीबाट भएको मानवीय क्षतिप्रति दु:ख व्यक्त गर्दै पुनर्निर्माणमा भारतले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाइन्। भेटमा प्रधानमन्त्री शाहले पनि आमासँगै भेटेजत्तिकै आत्मीयता देखाएका थिए।
उपहारमा रामायणको कथा पनि
भ्रमणको अर्को सांस्कृतिक पक्ष रामायणसँग सम्बन्धित उपहार पनि थियो। भगवान् रामको जन्मदेखि वनवास, रावणमाथिको विजय र अयोध्या फर्किएको प्रसंग समेटिएको उक्त कलाकृतिले नेपाल र भारतबीचको साझा रामायण परम्परालाई स्मरण गराएको छ।

‘हाम्रा खुसीहरू साझा छन्’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री वालेन्द्र शाहबीच भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुवै नेताले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँको विकास सहकार्य प्याकेज घोषणा गर्दै विपद्पछिको पुनर्निर्माण र दीर्घकालीन विकासमा साथ रहने बताए। मोदीले भने, ‘भारत र नेपालको सम्बन्ध केवल छिमेकीको मात्र होइन, बरु आत्मीयता र अटुट विश्वासको सम्बन्ध हो। हाम्रा खुसीहरू साझा छन्, हाम्रा चुनौतीहरू पनि साझा छन्। हामी एक–अर्काको प्रगतिमा साथी हौं र कठिन समयमा एक–अर्काको सहारा पनि हौं।’
प्रधानमन्त्री वालेन्द्र शाहले आपसी सम्मान, अटल विश्वास र सद्भावलाई नेपाल–भारत सम्बन्धको आधारशिला बताउँदै पछिल्ला समझदारी र परियोजनाहरूको लाभ किसान, युवा, विद्यार्थी र उद्यमीसम्म पुग्नुपर्नेमा जोड दिए।
उनले जलविद्युत्, रेल तथा हवाई कनेक्टिभिटी, लगानी र शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्दै साझा समृद्धितर्फ अघि बढ्नुपर्ने बताए। ‘आज हामीबीच भएका समझदारी र अघि बढाइएका परियोजनाहरूको प्रतिफल हाम्रा किसानहरूको खेतबारीमा समृद्धिका रूपमा, युवाहरूको हातमा रोजगारी र अवसरका रूपमा, विद्यार्थीहरूका सपनामा नयाँ क्षितिजका रूपमा र उद्यमीहरूका लागि नयाँ बजार, लगानी तथा व्यवसाय विस्तारका ठोस मार्गका रूपमा रूपान्तरित हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौं,’ उनले भने।
प्रधानमन्त्री शाहले भारतीय लगानीकर्तालाई नेपालमा स्वागत गर्दै नेपालमा स्थापना हुने आईआईटीमा भारतीय विद्यार्थीलाई समेत आकर्षित गर्ने वातावरण र सहरहरूबीच सीधा हवाईसम्पर्क विस्तारको आवश्यकता औंल्याए। शाहले भने, ‘नेपाल र भारतबीचको मित्रता हिमालय जत्तिकै अग्लो विश्वास, नदी जत्तिकै निरन्तर बगिरहने सहकार्य र हाम्रो साझा आकाशमुनि दुवै राष्ट्रको समृद्धि फस्टाउने किसिमको रहोस्।’
.jpg)
.jpg)



0 Comments