जसपामा भाँडभैलो : माग मुद्दा संम्बोधनतिर, पार्टी विग्रहतिर

जसपामा एकले अर्कालाई निष्काशन
सुरेन्द्र काफ्ले । काठमाडौं
आफ्ना माग सम्बोधन भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)मा विग्रह उत्पन्न भएको छ । यो पार्टी लगभग विभाजनकै अवस्थामा पुगेको छ । एकले अर्को पक्षलाई पार्टीबाट निस्काशन गरेका छन् । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले पार्टीकै प्रथम अध्यक्ष महन्थ ठाकुरसहित चार वरिष्ठ नेतालाई निस्काशन गरेको छ । अध्यक्ष ठाकुर, संसदीय दलका नेता राजेन्द्र महतो, वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरिएको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए ।
अर्का नेता इस्तियाक राईका अनुसार कार्यकारिणी समितिको बहुमत सदस्यको बैठकले उनीहरुलाई पार्टीको विधानविपरित गतिविधि गरेको आरोपमा निस्कासन गरेको हो । यो निर्णयको जानकारी जानकारी निर्वाचन आयोगलाई दिइएको छ । कारबाहीमा पर्ने नेतालाई केपी शर्मा ओली नेतृत्वको सरकारलाई सहयोग गरेको आरोप लगाइएको छ ।
यादवले आयोगलाई पठाएको पत्रमा पार्टी विधान, नीति र निर्णयको विपरित कार्य गरिरहेको सन्दर्भमा पटक–पटक स्पष्टीकरण सोध्दा पनि कुनै जवाफ नदिएको जनाइएको छ । त्यसैले राजनीतिक दलसम्बन्धी ऐनबमोजिम अनुशासनसम्बन्धि कारवाही भई ४ जनालाई पार्टीको सदस्यसमेत नरहने गरी निस्कासन गरिएको जानकारी गराइएको छ । पत्रमा राजनीतिक दलसम्बन्धी ऐनबमोजिम दलको दर्ताबाट नाम हटाई अध्यावधिक गर्न अनुरोध गरिएको छ ।
ठाकुर र महतो पक्षले पनि अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्काशन गरेको छ । अर्का अध्यक्ष यादवले चार नेतालाई निष्कासन गरिएको पत्र आयोगमा पठाएलगत्तै ठाकुरले यादवको नाम हटाउन आयोगलाई पत्र पठाएका छन् । ठाकुरले आयोगलाई पठाएको पत्रमा यादवलाई पार्टीको विधानको दफा ५० को १ बमोजिम अनुशासन कारवाही भई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको उल्लेख छ । पत्रमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ को १, २ र ३ बमोजिम दलको दर्ता किताबबाट यादवको नाम हटाई अद्यावधिक गर्न अनुरोधसमेत गरिएको छ ।
पत्रमा यादवले पार्टीको विधान, नीति र निर्णयविपरीत कार्य गरेको र पटक–पटक स्पष्टीकरण सोध्दा पनि कुनै जवाफ नदिएको उल्लेख छ । राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेतालाई निस्कासित गर्नु दुर्भाग्य र दुखद मात्र नभइ हास्यस्पद भन्दै आफनो पक्षले यादवलाई पार्टीबाट निस्काशन गरेको जनाइएको छ । ठाकुर पक्षका नेता प्रमोद शाहले यादवलाई पार्टीबाट निस्काशन गरिएको बताए । ‘हामी त पार्टी फुटोस भन्ने पक्षमा थिएनौ तर उहाँले सुरुवात गर्नुभयो’, साहले भने, ‘त्यही भएर उहाँलाई पार्टीबाट निस्कासित गरेका छौं ।’ मधेसका माग सम्बोधन हुने बेला यादव पक्षले व्यवधान सिर्जना गर्न पार्टीका राष्टिय अध्यक्ष ठाकुरलाई नै निस्कासनको प्रपञ्च रचेको उनको आरोप छ ।
‘हामी १३ वर्षदेखि यहि माग र मुद्दाका लागि लडिरहेका थियौं । आज ती माग सम्बोधन हुदै छन् । जेलबाट साथीहरु छुटदै छन् । मुद्दा फिर्ता हुदै छन्’, उनले भने, ‘नागरिकता नपाएकाहरुले पाउने अवस्था आएको छ । तर उपेन्द्रजी यसलाई स्वागत गर्नुपर्नेमा व्यवधान गरिरहनुभएको छ । यो दुर्भाग्य हो ।’
यादवले आफू पटक पटक मन्त्री हुँदा पूरा गर्न नसकेका माग, मुद्दा अहिले सम्बोधन भइरहेको उनको भनाइ छ । ‘मधेशका माग र मुद्दालाई आफूले सत्ताको भरयागं मात्रै बनाउने, अहिले पुरा हुन लाग्दा पार्टी फुटाउने’, उनले भने, ‘उहाँको नियत यसले स्पष्ट गर्छ ।’
यसअघि दुवै पक्षले दुई÷दुईपटक स्पष्टिकरण सोधासोध गरेका थिए । तर, दुवै पक्षले एकअर्कालाई जवाफ दिएनन् । पहिलो पटक जेठ ११ गते तीनदिने स्पष्टिकरण सोधिएका थियो भने दोस्रो पटक जेठ १५ मा २४ स्पष्टिकरण सोधासोध गरेका थिए ।
राष्टिय जनता पाटी राजपा र समाजवादी पार्टीबीच एक वर्षअघि अकस्मात एकता भएर जसपा बनेको थियो । लुम्बिनी प्रदेशमा जसपाका चार सांसदलाई कारबाही प्रकरणबाट जसपाको विवाद सतहमा आएको थियो । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेललाई सहयोग गरेको निहुमा यादव पक्षले चार प्रदेश सांसदलाई पदमुक्त गराएको थियो । तर, उनीहरुलाई सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको छ । त्यसपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बेला ठाकुर र महतो पक्ष तटस्थ बसेको थियो । यादव पक्षले विपक्षमा मतदान गरेको थियो । त्यसपछि ठाकुर र महतो ओलीको पक्षमा खुलेका छन् भने भट्टराई र यादव विपक्षी गठबन्धनमा ।


 http://annapurnapost.com/news/180730

Post a Comment

0 Comments