भूकम्प इतिहासका ८०० वर्ष


 https://annapurnapost.com/story/445998/
https://annapurnapost.com/story/445996/

भूकम्प इतिहासका ८०० वर्ष

इतिहास

भूकम्प इतिहासका ८०० वर्ष
332Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button


१२८० सालदेखि हाल ५० ठूला भूकम्प गएको विवरण छ। साना भूकम्प र परकम्प भने हजारौं गइरहेका छन्।

नेपालमा ठूलो भूकम्पको चक्र सय वर्षमा हुने देखिन्छ। प्रत्येक सय वर्षको हाराहारीमा ठूला भूकम्प जानुले यो पुष्टि भइरहेको छ। यस अर्थमा भूकम्पका दृष्टिकोणले नेपाल असाध्यै जोखिममा छ। नेपालको भौगोलिक संरचना कारण बारम्बार भूकम्प गइरहने विज्ञहरूको तर्क छ। धेरै ठूला भूकम्पले नेपालमा जनधनको पनि ठूलै क्षति भइरहेका तथ्य छन्। नेपालमा पहिलो पटक भूकम्प कहिले गयो भन्ने यकिन तथ्य प्रमाण पाइँदैन।

नेपालमा गोपालवंश, महिषपालवंश, किराँतवंश, लिच्छविवंश, मल्लवंश र शाहवंशले लामो समय शासन गरेको देखिन्छ। यसबीच अन्य केही समय सोमवंश र ठकुरीवंशको शासन नेपालमा चलेको थियो। नेपालको प्रामाणिक इतिहास लिच्छविकालदेखि मात्रै छ। शिलालेखहरूमा भने वि.सं. ५२२ पछि पाइएका अभिलेखमा नेपाल शब्दको उल्लेख छ। जतिबेला नेपालमा लिच्छविकालीन शासन थियो। भूकम्पको इतिहास भने नेपालमा आठ सय वर्षअघिदेखिको मात्र भेटिएको छ। पछिल्लो आठ सय वर्षको अन्तरालमा भूकम्प गएको पाइन्छ। मल्लकालपछिका भूकम्पको तथ्यमात्रै इतिहासकारले भेटाएका छन्। भूकम्प सम्बन्धमा ब्रह्मशमशेर जंगबहादुर राणाले लेखेको ‘नेपालको महाभूकम्प’ सबैभन्दा चर्चित छ। यसमा रहेका कतिपय तथ्य पनि गलत रहेको इतिहासकार महेशराज पन्तको भनाइ छ। उनका अनुसार गोपाल राजवंशावली, मण्डल वंशावली, भाषा वंशावलीसहित पुराना हस्तलिखित पात्राहरूमा भूकम्पसम्बन्धी विवरणहरू उल्लेख गरिएको पाइन्छ।

भूगर्भविद्द्वय जीआर चित्रकार र माधवराज पाण्डेले अंग्रेजी भाषामा लेखेको ‘इतिहासमा चढेका, नेपालमा गएका भैंचाला’ भन्ने लेखमा नेपालमा गएका भूकम्पको बारेमा उल्लेख गरेका छन्। लिच्छविकालका २५० अभिलेखमा भूकम्पबारे कहीँ उल्लेख छैन तर पनि त्यो बेला पनि भूकम्प गएको हुन सक्ने ऐतिहासिक तथ्यहरूले स्पष्ट देखाउँछ। लिच्छविकालका मानगृह, कैलाशकुटलगायतका अधिकांश मठमन्दिर ढुंगा बनाउनुले भूकम्प जोखिमलाई स्पष्ट पार्छ। इतिहासकार दिनेशराज पन्त ऐतिहासिक तथ्य भेटिएको सबैभन्दा पुरानो भूकम्प भनेको विक्रम सम्बत् १२८० लाई मान्छन्। जुन त्यस वर्षको पौष शुक्ल प्रतिपदाका दिन गएको भनिन्छ। त्यसबेला चार महिनासम्म जमिन हल्लिरहेको वंशावलीमा उल्लेख छ। भूकम्पका कारण १५ दिनदेखि एक महिनासम्म देश छाडेर बाहिर जानु परेको विवरण पनि ऐतिहासिक दस्तावेजमा पाइन्छ। १२८० सालदेखि हाल ५० ठूला भूकम्प गएको विवरण छ। साना भूकम्प र परकम्प भने हजारौं गइरहेका छन्।

वि.सं. १३१२ मा ठूलो भूकम्प गएको इतिहासमा भेटिन्छ। यो भूकम्पबाट तत्कालीन राजा अभय मल्लको मृत्यु भएको थियो। जतिबेला थुप्रै देवालय र घरहरू भत्किए। देशको कुल जनसंख्याको तीन भागको एक भाग सर्वसाधारणको पनि मृत्यु भएको विवरण विभिन्न लेख र पुस्तकमा उल्लेख छ। १३१६ सालमा राजा जयदेवको पालामा पनि भूकम्प गएको थियो। त्यो बेलाको भूकम्पले पनि धेरै भवन भत्काइएको थिए भने भूकम्पका कारण मुलुकमा महामारी र त्यसपछि अनिकाल परेको थियो। १४०१ सालमा गएको भूकम्पलाई ठूलो भूकम्प भनी विभिन्न पुस्तकमा लेखिएको छ। उक्त भूकम्प दसैंको फूलपातीका दिन गएको तथ्य भेटिन्छ। त्यसको भोलिपल्ट महाअष्टमीका दिन राजा अरि मल्लको मृत्यु भएको देखिन्छ। त्यसबेला भक्तपुर शासनको केन्द्र थियो। तर अरि मल्लको मृत्यु भने देउपाटन (पशुपति क्षेत्र)मा भएको उल्लेख छ। त्यसबेला राजाहरूको राज्याभिषेक देउपाटनमा गर्ने चलन थियो। मृत्यु हुन लागेकाहरूलाई पशुपति क्षेत्र लाने चलनअनुसार अरि मल्ललाई पनि त्यसबेला देउपाटन लगिएको हुन सक्छ। भूकम्पका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो।

विसं १४६४ मा गएको भूकम्पले मत्स्येन्द्रनाथको मन्दिरका साथै अन्य थुप्रै मठमन्दिर भत्किए। भूकम्पका कारण रातो मच्छिन्द्रनाथको मन्दिरलगायत दर्जनौं मन्दिर ढले। जमिनमा ठूलठूला धाँजा फाटे, जसले गर्दा पानीका मुहानसमेत सुक्ने तर नयाँ स्थानमा आउने भए। यो भूकम्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किए भन्ने इतिहास भए पनि कति मानिस मरे उल्लेख छैन। वि.सं १७३८ को भूकम्पले धेरै घर मन्दिर भत्किए। विसं १८२४ असार १ गते एकै दिनमा २१ पटक भूकम्पको धक्का महसुस गरियो। यसले के कति धनजनको क्षति पुर्‍यायो भन्ने यकिन अभिलेख छैन। विसं १८६६ को भूकम्पले पशुपतिनाथको देवललाई केही गरेन तर अन्य थुप्रै मन्दिर भत्काइदियो।

वि.सं. १३१२ मा ठूलो भूकम्प गएको थियो। यो भूकम्पबाट तत्कालीन राजा अभय मल्लको मृत्यु भएको थियो। कुल जनसंख्याको तीन भागको एक भाग सर्वसाधारणको पनि मृत्यु भएको थियो।

वि.सं. १८८० सालमा यमपञ्चकका दिन एकै स्थानमा बसेका सातवटा ग्रह छुट्टिएको पाइन्छ। त्यही भएर उक्त दिन भूकम्प गएको भन्ने बुझाइ रहेको छ। जानकारका भनाइमा एकैदिनमा १७ पटक भूकम्प गएको थियो। त्यो विपत्तिले पनि निकै क्षति पुर्‍यायो जसको क्षति पनि यकिन भएको पाइँदैन। त्यसपछिका नेपालमा गएका भूकम्पहरूको भने तथ्यांक स्पष्ट पाइन्छ।

१८९० भदौ १२ गते सोमबार बेलुका करिब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको तथ्य छ। त्यही दिन राति ११ बजे परकम्पको धक्का महसुस भयो। जसकारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरूले र टुँडिखेलको खुला चौरमा सर्वसाधारण रात कटाए भन्ने पाइन्छ। जसले भक्तपुर, ठिमी, साँखु, बनेपालाई धेरै प्रभाव पारेको अभिलेखमा छ। सोही भूकम्पका कारण काठमाडौंमा रहेका दुईवटा धरहरामध्ये एउटा पूरै ढल्यो। अर्काे धरहरा आधामात्रै भत्कियो। सो भूकम्प गएको एक महिना नबित्दै असोज १० गते राति अर्काे भूकम्प गएको पाइन्छ। जसले भत्किन बाँकी संरचनालाई तहसनहस पार्‍यो। त्यसको एक वर्षपछि अर्थात् १८९१ असार र असोज महिनामा फेरि दुईवटा ठूला भूकम्प गए। पानी परिरहेका बेला यी भूकम्प गएकाले बागमतीमा ठूलो बाढी आएको थियो।

प्राप्त तथ्यांक हेर्दा १९९० माघ २ को भूकम्प ८.३ रेक्टर स्केलको थियो। त्यसमा ८ हजार ५ सय ३२ जनाको ज्यान गएको थियो भने १८ हजार ७ सय १३ जना घाइते भएका थिए। त्यसबेला उपत्यकामा १२ हजार ३ सय ९६ घर, पहाडमा ६४ हजार ७ सय ४२ घर र तराईमा ३ हजार ७ सय ५४ घर पूर्ण क्षति भएका थिए। उपत्यकामा २५ हजार ६ सय ५८ घर, पहाडमा ७३ हजार २ सय ५३ घर र तराईमा ५ हजार ६ सय १० घर आंशिक क्षति भएको विवरण छ। जुन भूकम्पलाई इतिहासको सबैभन्दा ठूलो विनाशकारी भूकम्प मानिन्छ। यही दिन पारेर नेपालमा भूकम्प सुरक्षा दिवस पनि मनाइँदै आइएको छ।

२०३७ साउन १४ गते आएको भूकम्प ६.५ रेक्टर स्केलको थियो। बझाङ केन्द्रबिन्दु भएको यो भूकम्पले १ सय ७८ जनाको ज्यान लियो भने ४० हजारभन्दा बढी घरमा क्षति तुल्यायो। २०४५ भदौ ५ गतेको ६.९ रेक्टर स्केलको भूकम्प उदयपुर केन्द्रबिन्दु भएर गएको थियो। त्यो भूकम्पमा पूर्वी नेपालमा ७ सय २१ जनाको मृत्यु भएको थियो भने ६ हजार २ सय १३ जना घाइते भए। त्यसबेला १४ हजार ९ सय ६४ घर पूर्ण क्षति, ३३ हजार ९ सय ५९ घर चिराचिरा परेर प्रयोग गर्न नमिल्ने र २४ हजार ४ सय ९६ घर आंशिक क्षति भएका थिए।

२०६८ असोज १ गते पूर्वी नेपाललाई केन्द्रबिन्दु बनाएको भूकम्पले ठूलै क्षति गरेको थियो। त्यसको मापन ६.८ रेक्टर स्केलको गरिएको थियो। ताप्लेजुङ र भारतको सिक्किम केन्द्रबिन्दु भएको यो भूकम्पका कारण नेपालमा ६ जनाको मृत्यु हुनुका साथै साढे ६ हजार घर पूर्ण क्षति भएका थिए। १२ हजारभन्दा बढी घरमा आंशिक क्षति तुल्यायो भने डेढ हजारभन्दा बढी सार्वजनिक भवन पनि क्षतिग्रस्त भए। २०७२ वैशाख १२ गते ११ः५६ बजे गएको भूकम्प ७.६ रेक्टर स्केलको थियो। गोरखाको बारपाक केन्द्रबिन्दु भएको यो भूकम्पका कारण ८ हजार ९ सय ७० जनाको मृत्यु हुनाका साथै २२ हजार ३ सय २ जना घाइते भएका थिए।

२०७२ वैशाख १३ गते दोलखा केन्द्रबिन्दु भएर ६.९ रेक्टर स्केल र वैशाख २९ गते दोलखा केन्द्रबिन्दु भएर ६.८ रेक्टर स्केलको भूकम्प गएको थियो। यस भूकम्पमा ८ लाख ६६ हजार २ सय ७ निजी घर पूर्ण क्षति भएका र ४७ हजार ८ सय २७ घर आंशिक क्षति भएका थिए। २०८० असोज १६ गते बझाङ केन्द्रबिन्दु बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पका कारण एक जनाको ज्यान गएको थियो। १ सय ३५ घर क्षतिग्रस्त भएका थिए। २०६५ मंसिर ३१ गते हुम्ला केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केल, २०७७ भदौ ३१ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केल, २०७९ साउन १५ गते खोटाङ केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केल र सोही वर्षको कात्तिक २३ गते डोटी केन्द्रबिन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो।

२०८० कात्तिक १७ गते राति ११ः४७ का ६.४ रेक्टरको भूकम्प गयो। यो सबैभन्दा पछिल्लो भूकम्प हो। जाजरकोटमा १ सय १ र रुकुममा ५२ गरी १ सय ५३ जनाको मृत्युको मृत्यु भयो। मृत्यु हुनेमा ९७ महिला र ५६ पुरुष छन्। यसबाट जाजरकोट र पश्चिम रुकुमका ठूलो धनजनको क्षति भएको छ। नेपालमा गएका भूकम्पमध्ये ऐतिहासिक तथ्य भेटिएको सबैभन्दा पुरानोे १२८० सालमा गएको भूकम्प हो। यसले सय वर्ष भूकम्पीय चक्र हुने पुष्टि गर्छ। पृथ्वीको दोहनका गरेका कारण भूकम्प गइरहेको बताइन्छ। झन्डै आठ सय वर्ष नेपालको इतिहासमा कुल ५० ठूला भूकम्प गएको देखिन्छ।
विभिन्न पुस्तक र लेखमा आधारित।

- एजेन्सीको सहयोगमा

विश्वका शक्तिशाली भूकम्पहरू


भूकम्प पृथ्वीमा हुने सबैभन्दा शक्तिशाली र विनाशकारी प्राकृतिक घटनाहरूमध्येमा पर्छ। यस ग्रहमा विगतमा आएका ठूलठूला भूकम्पका कारण ठूलो विनाश निम्तिएको छ।


इतिहासमा पृथ्वीले भोगेका शक्तिशाली भूकम्पहरूले प्रभावित क्षेत्रहरूमा स्थायी प्रभाव छोडेको छ। यी भूकम्पीय घटनाहरू परिमाणमा भिन्न हुन सक्छन्। तर तिनले पारेका मानवीय र भौतिक क्षतिलगायतका विनाशकारी प्रभाव हजारौं वर्षसम्म पनि परिपूर्ति गर्न असम्भव हुन्छ। विश्वमा सबैभन्दा बढी रेक्टर स्केलका पाँच भूकम्प र सबैभन्दा बढी मानवीय क्षति पुर्‍याएका पाँच ठूला भूकम्पहरूका विषयमा यहाँ जानकारी गराइएको छ। 

भल्दिभिया भूकम्प 

यस भूकम्पलाई ग्रेट चिली भूकम्पको नामले  चिनिन्छ। यो विश्वमा रेकर्ड गरिएको हालसम्मकै सबैभन्दा शक्तिशाली भूकम्प हो। सन् १९६०, मे २२ तारिखका दिन स्थानीय समयअनुसार दिउँसो ३ः१५ मा ९.५ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्प करिब १० मिनेटसम्म रहेको थियो।

भूकम्पपछि आएको २५ मिटरसम्मको उचाइसहितको छालले विशाल सुनामी निम्त्याएको थियो। सुनामीले चिलीको तटलाई गम्भीर रूपमा असर पुर्‍यायो। उक्त भूकम्पको धक्का जापान र फिलिपिन्सम्म महसुस गरिएको थियो। भूकम्पमा मृत्यु हुनेको संख्या निश्चित नभए पनि कुल मृतकको संख्या एक हजारदेखि ६ हजारबीचको हुन सक्ने अनुमान गरिएको छ। करिब तीन हजार जना घाइते भएका थिए। 

ग्रेट अलास्का भूकम्प (१९६४) –९.२

सन् १९६४ मा गएको यस भूकम्पलाई गुड फ्राइडे भूकम्प पनि भनिन्छ। भूकम्प अलास्काको प्रिन्स विलियम साउन्ड क्षेत्रमा सन् १९६४ को मार्च २७ शुक्रबारका दिन स्थानीय समयअनुसार साँझ ५ः३६ मा गएको थियो। करिब ४.५ मिनेटसम्म चलेको उक्त भूकम्प अमेरिकी इतिहासमा रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्प हो। ९.२ म्याग्निच्युडको भूकम्पले करिब ८.२ मिटरको सुनामी ल्यायो, जसले चेनेगा गाउँलाई नै ध्वस्त पार्‍यो। भूकम्पमा परी कुल १ सय ३९ जनाको मृत्यु भएको विश्वास गरिएको छ।

सुमात्रा भूकम्प 

सन् २००४ मा आएको सुमात्रा भूकम्पलाई हिन्द महासागर भूकम्प पनि भनिन्छ। इन्डोनेसियाको पश्चिमी तटमा केन्द्रबिन्दु  रहेको उक्त भूकम्प २६ डिसेम्बरका दिन गएको थियो। यसको परिणामस्वरूप ३० मिटर अग्लो छालहरूसहितको सुनामी आएको थियो। ९.१ म्याग्निच्युडको उक्त भूकम्पमा परेर करिब २५ हजारले ज्यान गुमाए। यसले सम्पूर्ण ग्रहलाई करिब एक सेन्टिमिटर जति कम्पन गराएको थियो।

भूकम्पबाट निस्किएको ऊर्जा हिरोसिमा एटोमिक बमको तुलनामा १५०० गुणा बढी रहेको बताइन्छ। यसपछि आएको सुनामीलाई हिन्द महासागर सुनामी, दक्षिण एसियाली सुनामी, इन्डोनेसियाली सुनामी, क्रिसमस सुनामी नामले चिनिन्छ। 

तोहोकु भूकम्प (२०११)–९.१

जापानको तटीय क्षेत्रमा सन् २०११ को मार्च ११ मा करिब ९.१ म्याग्निच्युडको विशाल भूकम्प आयो। भूकम्पले ४०.५ मिटर उचाइसम्मका छालहरूसहित ठूलो सुनामी ल्याएको थियो। मानव इतिहासमा यो सबैभन्दा घातक भूकम्पमध्येको एक मानिएको छ। सुनामीले उत्तर–पूर्वी जापानमा व्यापक र गम्भीर संरचनात्मक क्षति पुर्‍यायो। भूकम्पले विमानस्थल, सडक र रेलमार्ग ध्वस्त बनायो। करिब १ लाख २७ हजार २ सय ९० भवन पूर्ण रूपमा भत्किए, २ लाख ७२ हजार ७ सय ८८ भवन आधा भत्किए र ७ लाख ४७ हजार ९ सय ८९ भवनहरू आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

सुनामीले थुप्रै आणविक दुर्घटनाहरू पनि निम्त्याए। मुख्यतया फुकुसिमा दाइची आणविक पावर प्लान्ट परिसरमा ठूला दुर्घटनाहरू भए। भूकम्प र सुनामीका कारण १५ हजार ८ सय ९४ जनाको मृत्यु भयो भने ६ हजार १ सय ५२ जना घाइते भए। त्यसैगरी २ हजार ५ सय ६२ व्यक्ति बेपत्ता भएका थिए। 

कामचट भूकम्प 

रुसको सुदूरपूर्वमा पर्ने कामचटका प्रायद्वीपको तटमा सन् १९५२ को नोभेम्बर ४ मा ९ रेक्टर स्केलको भूकम्प गयो। यसका कारण करिब १५ मिटर उचाइसम्मका छालहरूसहितको ठूलो विनाशकारी सुनामी आयो। यसले कामचटका प्रायद्वीप र कुरिल टापुहरूमा व्यापक क्षति पुर्‍यायो। भूकम्पका कारण करिब १० देखि १५ हजार मानिसको मृत्यु भयो। सुनामीका छालहरू पेरु, चिली र न्युजिल्यान्डसम्म पुगेका थिए। त्यसैगरी भूकम्पको प्रभावस्वरूप अलास्का, अलेउटियम टापुहरू र क्यालिफोर्नियामा करिब १.४ मिटरसम्म सुनामी छालहरू देखा परेका थिए।

मानवीय क्षतिका हिसाबले शक्तिशाली पाँच भूकम्पहरू

शान्सी भूकम्प 

मिङ राजवंशको समयमा सन् १५५६, जनवरी २३ का दिन बिहान सबेरै चीनको शान्सी प्रान्तमा गएको भूकम्प इतिहासमा सबैभन्दा घातक भूकम्प मानिन्छ। यस भूकम्पमा परी ८ लाख ३० हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ। सन् २०१० मा हाइटीमा आएको दोस्रो सबैभन्दा घातक भूकम्पमा ज्यान गुमाउनेको संख्याको दोब्बरभन्दा बढी संख्यामा यस भूकम्पमा मानिसले ज्यान गुमाए।

चीनको ९७ भन्दा बढी काउन्टी प्रभावित भएका छन्। केही काउन्टीहरूमा त्यहाँको जनसंख्याको ६० प्रतिशतसम्मको मृत्यु भएको अनुमान गरिएको छ। त्यतिबेला त्यहाँका मानिस ठूला चट्टानहरूमा बनाइएका कृत्रिम गुफाभित्र बसोबास गर्थे। तिनै गुफाहरूभित्र सुतिरहेको अवस्थामा गएको भूकम्पका कारण गुफा भत्किएर ठूलो जनधनको क्षति भएको थियो। चीनको इतिहासमै सबैभन्दा घातक प्राकृतिक प्रकोपमा यो गनिन्छ।  उक्त भूकम्प ८ रेक्टर स्केलको थियो।

हाइटी भूकम्प

सन् २०१० मा हाइटीको पोर्ट–ओ–प्रिन्समा गएको भूकम्प मानव इतिहासको एक डरलाग्दो विनाशमा पर्छ। ७ म्याग्निच्युटको उक्त भूकम्प जनवरी १२ तारिखमा स्थानीय समयअनुसार ४ बजेर ५३ मिनेटमा गएको थियो। यसको १२ दिनपछिसम्म पनि ४.५ र त्योभन्दा बढीका कम्तीमा ५२ वटा पराकम्पहरू गएका रेकर्ड गरिएको थियो। करिब ३० लाख मानिस यो भूकम्पबाट प्रभावित भएको अनुमान छ। भूकम्पमा ज्यान गुमाउनेको संख्या करिव ३ लाख १६ हजार रहेको थियो। 

एन्टिओक भूकम्प

११५ ईस्वीको डिसेम्बर १३ तारिखमा टर्कीको एन्टाक्केमा गएको भूकम्प एन्टिओक भूकम्पले चर्चित छ। त्यतिबेला ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पले एन्टिओक र वरपरका क्षेत्रहरूमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। यसले सिजरिया मारिटिमामा बन्दरगाहलाई नराम्ररी क्षति पुर्‍याएको थियो।

भूकम्पमा रोमन सम्राट् ट्राजन पनि परेका थिए। भूकम्पमा परी अनुमानित २ लाख ६० हजार मानिसले ज्यान गुमाएका थिए। एन्टिओक, डाफ्ने र अपामियाका सहरहरू लगभग पूर्ण रूपमा नष्ट भएका थिए। भूकम्पका बेला आफैं उखेलिएका रुखहरू हावामा उडेर धेरैलाई गम्भीर चोट पटक लाग्नुका साथै कैयौंको मृत्यु पनि भएको थियो।  भूकम्पपछि धेरै दिनसम्म आएको पराकम्पका कारणले पनि बाँचेकामध्येका धेरैले ज्यान गुमाएका थिए। त्यसैगरी भग्नावशेषमा फसेका धेरै मानिसको भोकका कारण मृत्यु भएको थियो।   

एन्टाक्या भूकम्प  

५२५ ईस्वीको अन्तमा टर्कीमा आएको ७ म्याग्निच्युडको भूकम्पले एन्टिओक सहरलाई पूर्ण रूपमा ध्वस्त पार्‍यो। यसका पराकम्प भूकम्प गएको १८ महिनासम्म पनि गएको थियो। भूकम्पमा परी करिब २ लाख ५० हजारको मृत्यु भएको अनुमान छ। यसले बाइजान्टिन साम्राज्यको क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। भूकम्पपछि लागेको आगो र ठूलो आधीबेहरीले पनि धेरै विनाश निम्त्याएको थियो। 

ताङ्शान भूकम्प

सन् १९७६ मा चीनको ताङ्शान क्षेत्रमा गएको ७.६ म्याग्निच्युटको भूकम्पलाई पनि विनाशकारी भूकम्पको रूपमा लिइन्छ। भूकम्पका कारण ताङ्शानका ८५ प्रतिशत भवनहरू ध्वस्त भएका थिए। अधिकांश राजमार्ग, रेल्वे र पुलहरू भत्किएका थिए। भूकम्पमा परी २ लाख ४२ हजार ७ सय ६९ को मृत्यु भएको थियो। त्यसैगरी १ लाख ६४ हजार ८ हजार ५१ जना गम्भीर घाइते भएका थिए। 

Post a Comment

0 Comments