सहयोगमा जुटे दल, राहतसहित उद्धारमा सक्रिय !




सहयोगमा जुटे दल, राहतसहित उद्धारमा सक्रिय

सहयोगमा जुटे दल, राहतसहित उद्धारमा सक्रिय
जाजरकोट भूकम्पले भत्किएको घर। फाइल तस्बिर।
28Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौं : भूकम्पपीडितको उद्धार तथा राहतमा प्रमुख राजनीतिक दल सक्रिय रूपमा लागेका छन्। प्रमुख राजनीतिक दलदेखि साना दलहरूले उद्धार र राहतका घोषणा गरेका छन्। नेपाली कांग्रेसले भूकम्पबाट प्रभावितलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न, युद्धस्तरमा उद्धारको गर्न, घाइतेहरूको उपचार र राहतमा सक्रियता अपनाउन सरकारसँग माग गरेको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा ठूलो संख्यामा मानवीय क्षति भएको र सयौं घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। यो कठिन घडीमा पार्टीका सम्पूर्ण निकायलाई प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्निर्माणमा जुट्न सभापति देउवाले निर्देशन दिएका छन्। कांग्रेसले उद्धार, राहत तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा स्वदेश तथा विदेशमा भएका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवामा जुटन आह्वान गरेको छ।

यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घाइतेको उद्धार र उपचारमा खट्न पार्टी पंक्तिलाई आह्वान गरेका छन्। अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत पार्टी पंक्तिलाई आह्वान गरेका हुन्। ‘घाइतेहरूको उद्धार र उपचारमा परिचालित हुन् पार्टीका साथीहरूलाई आह्वान गर्दछु। उद्धार र राहतमा संलग्न स्वयंसेवक साथीहरूले त्यससँग सम्बन्धित आवश्यक सूचना र उद्धार राहतमा आवश्यक सामग्रीको व्यवस्थाका लागि सामाजिक सञ्जाललाई सदुपयोग गर्नुहोला। देशभरिका साथीहरूले राहत र घाइतेको उपचारमा कसरी सहयोग गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुहोला। विशेषगरी सुर्खेत, नेपालगञ्ज, काठमाडौंका पार्टीका कमिटीहरूले उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक ब्लड संकलनमा सहयोग गर्नुहोला। उद्धारमा भीडभाडभन्दा छरितो व्यवस्थापन गर्नुहोला’, ओलीले भनेका छन्। 

नेकपा एमालेले शनिबार दशैं, तिहार, छठ र नेपाल सम्वतका अवसरमा विभिन्न जिल्लामा राखिएको चियापान तथा शुभकामना कार्यक्रम स्थगित गरेको छ। एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले विभिन्न जिल्लामा पार्टीले राखेका शुभकामना आदानप्रदान तथा चियापानका सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिइएको जानकारी दिए। एमालेले उद्धार, राहत र पुनस्र्थापनाका लागि १ करोड रुपैयाँ दिने निर्णय पनि गरेको छ।

नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले प्रभावितको उद्धार तथा राहतमा आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेका छन्। उनले भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सरकार र स्थानीय जनप्रतिनिधि एवं सुरक्षाकर्मीले प्रभावित क्षेत्रका नागरिकको उद्धार र राहत कार्यमा आवश्यक भूमिका निभाउनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रिय हुँदा कुनै पनि सदस्यले पार्टीको नाम, झन्डा वा कुनै प्रकारको संकेत प्रयोग नगर्न निर्देशन दिएको छ। पार्टीले विज्ञप्ति जारी गर्दै भूकम्पले पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको राहत तथा उद्धारमा राज्यका सम्बन्धित संयन्त्रसँग आवश्यक समन्वय गर्दै सक्रिय रूपमा परिचालित हुन आह्वान गरेको छ।

पार्टीले भूकम्प प्रभावित क्षेत्रमा कुनै किसिमको कमीकमजोरी नहुने गरी पीडितको उद्धार तथा घाइतेको उपचार र राहतका लागि तत्काल राज्यका सबै संयन्त्र सक्रिय बनाई परिचालन गर्न सरकारसँग मागसमेत गरेको छ। महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालका अनुसार राहत तथा उद्धारका लागि सांसद सुमना श्रेष्ठलाई व्यवस्थापनको जिम्मवारी दिइएको छ। यस्तै सांसद डा. तोसीमा कार्की र डा. प्रभात अधिकारीले स्वास्थ्य उद्धार तथा विष्णुकुमार श्रेष्ठले राहत तथा उद्धार र केन्द्रीय सदस्य प्रतिभा रावललाई टिम व्यवस्थापन एवं अन्य समन्वय समितिको जिम्मेवारीसहित परिचालन गरिएको छ। 

राप्रपाले भूकम्पग्रस्त क्षेत्रमा उद्धार कार्यमा सहयोग पु¥याउन प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवकहरूको टोली खटाएको छ। अमेरिका भ्रमणमा रहेका अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिमै पार्टीको अभियानमा व्यस्त रहेका शाहीलाई सबै कार्यक्रम स्थगन गरेर प्रभावित क्षेत्रमा तत्काल पुग्न निर्देशन दिएपछि शाही टोलीसहित जाजरकोटतर्फ पुगेका हुन्। लिङ्देनले सबै भ्रातृसंगठन तथा छिमेकी जिल्लाका पार्टीका कार्यकर्तालाई पनि उद्धार तथा राहतमा सहभागी हुन अनुरोध गरेका छन्।

घाइतेहरूको उपचारका लागि सरकारले तोकेको डेडिकेटेड अस्पताल नेपालगन्जको भेरी अस्पतालमा राप्रपाका युवाहरूले आवश्यक सहयोग र सहजीकरण गरिरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। घाइतेको उपचारमा रगतको कमी हुन नदिन पार्टीका युवाहरू संगठित रूपमा परिचालित भइरहेको उनले बताए।

राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटा नेपालगञ्जमा खटिएका छन्। उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक मुकुन्दश्याम गिरी, केन्द्रीय सदस्य जनकसिंह ठकुरीको टोली त्रिपाल, खाद्यान्न, लत्ताकपडा र अन्य सामग्रीसहित सुर्खेतबाट जाजरकोटतर्फ प्रस्थान गरेको छ। 

यसैगरी विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि पार्टीका केन्द्रीय उत्पादनबाट २५ क्वीन्टल चामल र १ लाख रुपैयाँ रकम सहयोग गर्ने भएको छ। महासचिव नेत्रविक्रम चन्द विप्लवको अध्यक्षतामा शनिबार काठमाडौंमा उपलब्ध केन्द्रीय समितिको बैठकले यस्तो निर्णय छ।  

यसैगरी अनेरास्ववियुले भूकम्प प्रभावित क्षेत्रमा चिकित्सकसहितको टोली पठाएको छ। अनेरास्ववियुले केन्द्रीय सचिव डा. सुजन कडरियाको नेतृत्वमा चिकित्सकको टोली जाजरकोट र रूकुममा पठाएको हो। टोलीमा सञ्जीव धिताल, आईओएम स्ववियु सभापति डा.आनन्द सिंह र एनएमएसएमा आबद्ध चिकित्सकलाई त्यसतर्फ पठाइएको अनेरास्ववियुले जनाएको छ। अनेरास्ववियुले भूकम्प प्रभावितको उद्धार, राहत तथा पुनःस्थापन जुट्न मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ। अनेरास्ववियु केन्द्रीय पदाधिकारीको बैठकले भूकम्पपीडित क्षेत्र जाजरकोट र पश्चिमरुकुममा राहत तथा उद्धार कार्यमा सम्पूर्ण जुट्न निर्देशन दिएको हो। 

यसैगरी नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भूकम्प प्रभावितहरूका लागि  आर्थिक सहयोगको घोषणा गरेको छ। जाजरकोट, पश्चिम रूकुमलगायतका जिल्लाका प्रभावितहरूका लागि नेविसंघले आर्थिक सहयोगको घोषणा गरेको हो।   नेविसंघले तत्कालका लागि ७ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको हो। 


 

Post a Comment

0 Comments