राजनीतिक महत्त्वकांक्षाले रन्थनिएका प्रसाईं
सशस्त्र द्वन्द्व हुँदै शान्ति प्रक्रियापछि पनि उनी माओवादीमै रहे। माओवादीबाट ‘लिनसक्ने’ सबै राजनीतिक फाइदा उठाए। माओवादी हुँदासम्म उनी प्रचण्डको वरिपरि नै रहे। प्रचण्डलाई ‘बा’ भनेर सम्बोधन गर्थे।
काठमाडौं : दुर्गा प्रसाईं, पेसाले मेडिकल व्यवसायी। तर, चर्चामा आउन अनेक ‘हत्कण्डा’ गरिरहन्छन्। झापाको साविक शनिश्चरे ७ का बासिन्दा प्रसाईं भक्तपुरको मध्यपुरथिमि नगरपालिका ६ निकोशेराका बासिन्दा हुन्।
बिएण्डसी मेडिकल कलेज बिर्तामोड झापाका सञ्चालक हुन। राजनीतिक महत्वकांक्षाले उनलाई कांग्रेस, माओवादी, एमाले हुँदै ‘राजावादी’ सम्म बनायो। राजनीतिक महत्वकांक्षाले अनेक हत्कण्डा अपनाउन थाले, अनि थुनामा पुगे।
झापाको सामान्य परिवारमा जन्मिएका प्रसाईं सुरुमा कांग्रेससँग नजिक थिए। जुन बेला मुलुकमा माओवादीको जगजगी भयो, उनी माओवादीमा लागे । उनको ससुराली खलक गिरीहरूको झापामा अथाह सम्पत्ति थियो। त्यो सम्पत्ति हडप्न त्यस बेला उनी माओवादी बनेको ‘आरोप’ लागेको थियो।
संकटकालमा उनलाई नेपाली सेनाले पक्राउ गर्यो। माओवादीको नाममा हिरासतसम्म पुगे। सशस्त्र द्वन्द्व हुँदै शान्ति प्रक्रियापछि पनि उनी माओवादीमै रहे। माओवादीबाट ‘लिनसक्ने’ सबै राजनीतिक फाइदा उठाए। माओवादी हुँदासम्म उनी प्रचण्डको वरिपरि नै रहे। प्रचण्डलाई ‘बा’ भनेर सम्बोधन गर्थे।
०७४ को निर्वाचन लगत्तै प्रसाईंले भक्तपुरस्थित आफ्नो निवासमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक बैठक गराए। ओली र प्रचण्डले उनको निवासमा ‘मार्सी चामलको भात खाँदै’ गरेको तस्बिर व्यापक चर्चामा आयो। त्यसपछि प्रसाईंलाई ‘मार्सी चामल’ भनेर पनि चिन्न थालियो।
प्रसाईंको निवासमा ओली र प्रचण्डको भेटपछि एमाले र माओवादीबीच गठबन्धन भयो। ०७४ को चुनावमा गठबन्धन गरेर चुनावमा गए। झन्डै दुईतिहाइ पनि आयो। २०७५ जेठ ३ मा एमाले र माओवादी मिलेर नेकपा बन्यो। तर, त्यो धेरै टिकेन। ०७७ फागुन २३ मा सर्वोच्च अदालतको फैसलाले पार्टी भंग भयो। भंग भएपछि प्रसाईं एमालेमै बसे। प्रचण्डको सत्तोसराप गर्न थाले। एमालेको महाधिवेशनको सनिकट औपचारिक रूपमा २०७८ कात्तिक ७ मा प्रसाईं एमालेमा प्रवेश गरेका थिए।
०७८ मंसिरमा चितवनमा भएको १०औं महाधिवेशनबाट एमाले अध्यक्ष ओलीले उनलाई केन्द्रीय सदस्य बनाए। प्रसाईं एकाएक केन्द्रीय सदस्य बनेकोमा एमालेमा तीव्र आलोचना भयो। उद्योग, वाणिज्य तथा आपूर्ति विभागको उपप्रमुखको जिम्मेवारी पनि प्रसाईंलाई दिइयो। माओवादीका ५ लाख नेता कार्यकर्ता एमालेमा भित्र्याउने भन्दै अभियान नै चलाए। केही माओवादी कार्यकर्तालाई एमालेमा छिराए पनि। प्रसाईंले ओलीलाई ‘हजुरबा’ भनेर सम्बोधन गर्थे।
ओलीसँग उनले सहज पहुँच स्थापित गरे। ओलीलाई भेट्न अन्य नेताले घन्टौ कुर्नुपथ्र्यो। तर, प्रसाईं बिना रोकटोक ओलीको सयनकक्षमै पहुँच राख्थे। ओली भेट्न जतिबेला पनि उनले सजिल्यै सक्थे। उनी प्रिय बने। यति निकट सम्बन्ध भएका कारण नै प्रसाईंलाई आफू सजिल्यै एमालेमा उम्मेदवार हुन पाउँछु भन्ने विश्वास थियो। तर, ०७९ को निर्वाचनमा एमालेबाट टिकट नपाएपछि रन्थनिए।
बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिएको कारण उनी बिच्किएका थिए। डा. गोबिन्द केसीको आन्दोलनका कारणले बिएण्डसी मेडिकल कलेजले लामो समय सम्बन्धन पाएन। हालै सर्वोच्च अदालत सम्बन्धन दिनु भनी फैसला गरेको छ। मेडिकल कलेजको सम्बन्धनको नजिकिएका प्रसाईं नेताहरूसँग उठबसका कारण राजनीतिक महत्वकांक्षा चुलियो। कांग्रेस माओवादी हुँदै एमालेसँग निकट भए। झापा क्षेत्र नम्बर ३ मा उनको नाम चर्चामा ल्याइएको थियो तर एमालेले त्यो सिट राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई छोडेपछि उनी टिकटबाट बञ्चित भए ।
मतदाता लोभ्याउने यो क्षेत्रमा उनले विभिन्न स्वास्थ्य शिविरहरू पनि सञ्चालन गरेका थिए। सांसद हुने ठूलो आंकाक्षा बोकेका प्रसाईं टिकट नपाएपछि एमालेसँग बिच्किए। त्यसपछि एमालेमा सुरुवातमा उनको महेश बस्नेतसँग टकराव देखियो। बस्नेतलाई बदनाम गर्न लागि परे। एमाले र एमालेका नेताप्रति नै जाइलाग्न थालेपछि मात्रै उनलाई पार्टीले निष्कासन गर्यो। एमालेले ०७९ फागुन १३ गते निष्कासन गर्यो। प्रसाईंले फागुन ७ मा एमाले परित्याग गरेको घोषणा गरेका थिए। त्यसपछि एमाले अध्यक्ष ओलीको व्यापक आलोचनामा उत्रिए।
०७९ फागुन १ मा झापाबाट पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई मञ्चमा राखेर नयाँ अभियानको सुरुवात गरे। एमाले छोडेसँगै राजातन्त्रको वकालत गर्न थाले। व्यवस्थाकै विरोधमा उत्रिए। एमालेबाट बिच्किएपछि प्रसाईं राजावादी भए। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउनका लागि महाअभियानको नाम दिए। २०८० मंसिर ७ मा काठमाडौैंमा लाखौं मान्छे उतारेर व्यवस्था नै परिवर्तन गर्ने भन्दै आन्दोलन घोषणा गरे। उत्तः प्रदर्शनमा झडप पनि भयो। यो आन्दोलन केहीपछि सुस्तायो। पूर्वराजाले पनि उनलाई खासै स्पेस दिएनन्। उनी सामाजिक सञ्जालबाट जे पनि बोल्न थाले। झापामा अस्पताल खोलेर स्वास्थ्य सेवामा राम्रै गरेको भए पनि महत्वकांक्षाले युट्ययुब, रिल्स र छोटा भिडियो बनाएर भाइरल हुन आपत्तिजनक अभिव्यक्ति दिन थाले।
एमालेसँग निकट रहँदै गर्दा नै बैंकको ऋण तथा ब्याज तिर्नुपर्दैन भन्दै मोसो अभियान सुरु गरेका थिए। सामान्य परिवारबाट अकुत सम्पत्ति कमाएका प्रसाईंले विगत एमाले र माओवादीको साथ फाइदा उठाउँदै यहाँसम्मको अराजकता सिर्जना गर्न सफल भए। उनले समुदायलाई विभाजन गर्ने, नेपाली महिला माथि असंवेदनशील टिप्पणी गर्दै आएका छन्।
विगतदेखि हालसम्म हेर्दा चर्चा आउन र राजनीतिक महत्वकांक्षाका कारण के मात्र गरेनन्। को कोसँग सम्बन्ध बनाएनन् ? संयुक्त अरब इमिरेट्स (यूएई) का राजकुमार जुमा अल मोक्तुमले प्रसाईंलाई सुनको लौरो उपहार दिएका थिए। राजकुमार मोक्तुमलाई प्रसाईंले झापा नै लिएर गएका थिए। राजकुमारलाई प्रसाईले झापामा दुई दिन घुमाएका थिए। प्रसाईंको जीवनमा वैदेशिक रोजगारीदेखि भैसिपालनसम्मका धेरै उतारचढाव छन्। पछिल्लोपटक प्रधानमन्त्री ओलीविरुद्ध ‘फेक डकुमेन्ट बनाएर अफवाह’ फैलाएको भन्दै प्रहरीले साइबर कानुनअनुसार प्रसाईंलाई पक्राउ गरेको छ।
0 Comments