दलितको जनसंख्या ३८ लाख ९८ हजार ९९० ( १३.४%) :३२.६प्रतिशत दलित अझै निरक्षर, पहाडभन्दा तराईमा निरक्षर दर उच्च






३२.६ प्रतिशत दलित अझै निरक्षर, पहाडभन्दा तराईमा निरक्षर दर उच्च

३२.६ प्रतिशत दलित अझै निरक्षर, पहाडभन्दा तराईमा निरक्षर दर उच्च
137Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button


काठमाडौं : सरकारकै एक प्रतिवेदनअनुसार मधेसका एकतिहाइ दलित महिलाले विद्यालयमा पाइलो पनि टेकेका छैनन्। राष्ट्रिय जनगणना २०७८ को दलितसम्बन्धी तथ्यांकीय प्रतिवेदनअनुसार असमानता र भेदभावले थिचिएको दलित वर्गमा शिक्षाको अवस्था निकै नाजुक देखिएको छ। पहाडमा भन्दा तराईमा दलितको शैक्षिक र सामाजिक अवस्था निकै कमजोर छ। आइतबार सार्वजनिक प्रतिवेदनअनुसार तराईका ३१.६ प्रतिशत मधेसी दलित महिला कहिल्यै पनि विद्यालय नगएको पाइएको छ। ५५.९ प्रतिशत तराईका दलित महिला निरक्षर छन्। तराईमा विद्यालय नजाने दलितको संख्या उल्लेख्य छ। २३.४ प्रतिशत तराईका दलित पुरुष पनि विद्यालय बाहिर छन्। 

 यसलाई दलित र गैरदलित समूहमा तुलना गर्दा झनै सोचनीय असमानता रहेको छ। तराईमा गैरदलित जातजातिको ५ देखि २५ वर्षको कुल जनसंख्यामध्ये ७.१ प्रतिशत कहिल्यै विद्यालय नगएको प्रतिवेदनमा छ। जब कि दलिततर्फ कहिल्यै विद्यालय नजानेको संख्या १३.१ प्रतिशत छ। मुलुकमा ५ देखि २५ वर्षसम्मको कुल जनसंख्याको ८.१ प्रतिशत कहिल्यै पनि विद्यालय नगएको देखिएको छ। यस्तो जनसंख्याको अनुपात पुरुषतर्फ ६.७ प्रतिशत र महिलातर्फ ९.४ प्रतिशत छ। यसले छोरीहरू अझै पनि विद्यालय शिक्षाबाट सार्थक रूपले बाहिर रहेको देखिन्छ। 

मुलुकको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ। जसमा दलितको जनसंख्या ३८ लाख ९८ हजार ९९० छ। जुन कुल जनसंख्याको १३.४ प्रतिशत हो। पहाडी दलित ८.६ प्रतिशत र तराईमा दलित ४.८ प्रतिशत रहेका छन। कुल गैरदलित जातजातिको हिस्सा ८६.२ प्रतिशत छ। तथ्यांकीय प्रतिवेदनमा दलितका २२ जातजाति सूचीकृत भएका छन्। पहाडी दलिततर्फ विश्वकर्मा-कामी, परियार-दमाई, मिजार-सार्की, बादी र गाइनेसहित पाँचवटा जाति छन्।

null

विद्यालय नगएकामा पहाडी दलित महिलाभन्दा गैरदलित बढी 

 पहाडी दलिततर्फका ५ देखि २५ वर्षसम्मका कुल महिलामध्ये केवल ४.५ प्रतिशत मात्र कहिल्यै पनि विद्यालय नगएको देखिन्छ तर गैरदलित जातजातितर्फ पहाडी दलितको भन्दा ३.८ प्रतिशत विन्दुले बढी अर्थात् ८.३ प्रतिशत रहेको छ।

५६ प्रतिशत तराईका दलित महिला निरक्षर 

तराईका दलितको शैक्षिक स्थिति दयनीय देखिएको छ। अझै पनि ५५.९ प्रतिशत तराईका दलित महिला निरक्षर छन्। २९.९ प्रतिशत पहाडी दलित महिला निरक्षर पाइएका छन्। समग्रमा ३९ प्रतिशत दलित महिला निरक्षर छन्। समग्र दलिततर्फ निरक्षरतादर ३२.६ प्रतिशत छ। जसमा पुरुषको २५.८ र महिलाको ३८.७ प्रतिशत रहेको छ। तराईका दलित (महिला–पुरुष गरी) ४८.१ प्रतिशत निरक्षर छन् भने पहाडी दलित २४.२ प्रतिशित निरक्षर छन्। 

मुलुकमा पाँच वर्ष र सोभन्दा माथिको उमेर समूहमा कुल निरक्षर जनसंख्या करिब २४ प्रतिशत रहेको छ। २०७८ को जनगणनाअनुसार नेपालमा करिब ७६ प्रतिशत जनसंख्या साक्षर रहेको छ। सोही उमेर समूहका पुरुष जनसंख्यामध्ये १६.४ प्रतिशत निरक्षर छन् भने महिलातर्फ यो मान पुरुषको भन्दा १४.२ प्रतिशत उच्च रही ३०.६ प्रतिशत रहेको छ। साक्षरतामा पुरुष र महिलामा उल्लेख्य असमानता रहेकै कारणले निरक्षरतामा पनि त्यो विषमता जोडिएर आएको छ। 

अर्ध सहरी क्षेत्रमा धेरै दलित 

पछिल्लो तथ्यांकअनुसार अर्ध सहरी क्षेत्रमा धेरै दलितको बसोबास रहेको देखिएको छ। ४४.३ प्रतिशत दलित अर्धसहरी क्षेत्रमा बसोबास गर्छन्। ग्रामीण क्षेत्रमा ३८.५ प्रतिशत दलितको बसोबास छ। त्यस्तै सहरी क्षेत्रमा १७.२ प्रतिशत दलित बस्छन्। तर, पनि पहाडी दलितको बसोबास भने ग्रामीण क्षेत्रमा नै बढी छ। ५८.२ प्रतिशत पहाडी दलित ग्रामीण क्षेत्रमा बसोबास गर्छन्। जबकी २३ प्रतिशत अर्धसहरी क्षेत्रमा बसोबास गर्छन् भने १८.९ प्रतिशत सहरी क्षेत्रमा छन्। तराईका दलित भने अर्ध सहरी क्षेत्रमा नै बस्छन्। ८२.६ प्रतिशत तराईका दलित अर्धसहरी क्षेत्रमा बसोबास गर्छन। ग्रामिण क्षेत्रमा १४.१ प्रतिशत र सहरी क्षेत्रमा ३.३ प्रतिशत बसोबास गर्छन्। गैरदलित जातजाति २८.६ प्रतिशत सहरी क्षेत्रमा, ३९ प्रतिशत अर्धसहरी क्षेत्रमा र ३२.४ प्रतिशत ग्रामीण क्षेत्रमा बसोबास गर्छन्।

दलितमा छिटो विवाह null

मुलुकमा पुरुष तथा महिलाको विवाहको समग्र औसत उमेर १९.९ वर्ष रहेको छ। पुरुषहरूले पहिलो विवाह गर्दाको औसत उमेर महिलाको भन्दा ३.१ वर्षले बढी अर्थात् २१.६ वर्ष रहेको छ। पहिलो विवाह गर्दा महिलाहरूको औसत उमेर १८.५ वर्ष रहेको देखिएको छ। तर, समग्र दलित (पुरुष तथा महिला) मध्ये पहिलो विवाह गर्दाको औसत उमेर १८.७ वर्ष रहेको छ। जुन पुरुषका हकमा २०.२ वर्ष र महिलाका हकमा १७.५ वर्ष रहेको छ। 

यसले दलित जातजातिको विवाहको औसत उमेर राष्ट्रिय मानभन्दा न्यून देखाएको छ। गैरदलित जातजातितर्फ पहिलो विवाह गर्दाको समग्र औसत दलित जातजातिको भन्दा १.४ वर्ष बढी अर्थात् २०.१ वर्ष रहेको छ। गैरदलित जातजातिका पुरुषतर्फ पहिलोपटक विवाह हुँदाको औसत उमेर २१.८ वर्ष र महिलातर्फ १८.७ वर्ष रहेको छ जुन राष्ट्रिय मानभन्दा निश्चित अंकले उच्च रहेको छ।

जनगणनाअनुसार समग्रमा ८.० प्रतिशत एकल महिला छन्। गैरदलित जातजातितर्फ एकल महिलाको अंश १० वर्ष र सोभन्दा माथिको जनसंख्यामा ८.१ प्रतिशत रहेको छ। पहाडी दलित महिलाभित्र एकल महिलाको हिस्सा ८.६ प्रतिशत छ भने तराई दलित महिलाभित्र केवल ६.१ प्रतिशत मात्र एकल महिला रहेका छन्। समग्र दलिततर्फ १० वर्ष र सोभन्दा माथिको जनसंख्यामा ७.८ प्रतिशत एकल महिला रहेको देखिन्छ । एकल महिलाभित्र समावेश हुने चार प्रकारका महिलाहरूमा कुन उपवर्ग (विधवा, पारपाचुके, छुट्टिएको र ३५ वर्षभन्दा माथिको उमेरमा अविवाहित नै बसेको) को कति योगदान रहेको छ भन्ने सवालले निर्णायक भूमिका खेलेको हुन्छ। 

दलितको साक्षरता दर झन्डै ९ प्रतिशत कम 

मुलुकमा ५ वर्ष र सोभन्दा माथिको साक्षरतादर ७६.२ रहेको छ। गैरदलित जातजातिको समग्र साक्षरतादर ७७.६ प्रतिशत रहेको छ। दलित जातजातिको कुल साक्षरतादर औसत साक्षरतादर भन्दा ८.८ प्रतिशत विन्दुले न्यून अर्थात् ६७.४ प्रतिशत मात्र रहेको छ। यसलाई पनि पहाडी र तराई दलितमा खण्डीकरण गरेर हेर्दा थप असमानता देख्न सकिन्छ। तराई दलितको साक्षरतादर ५१.९ प्रतिशत छ भने पहाडी दलितको हकमा यो मान राष्ट्रिय औसतको नजिक ७५.७ प्रतिशत रहेको छ।

दलितमा बालविवाह उच्च 

नेपालमा २० देखि २४ वर्षसम्मका पुरुषले १८ वर्ष नपुग्दै विवाह गरेको संख्याका आधारमा हेर्दा पुरुषतर्फको बालविवाह ५ प्रतिशत मात्र छ। जब कि महिलातर्फ यो मान करिब २२ प्रतिशत रहेको छ। समग्र बालविवाह विद्यमानतादर १४.१ प्रतिशत रहेको छ भने समग्र दलित जातजातितर्फ बालविवाह करिब २३ प्रतिशत र गैरदलिततर्फ यो मान करिब १३ प्रतिशत मात्र छ। यसले समग्रतामा बालविवाह दलित जातजातिभित्र सार्थक अंकले उच्च रहेको देखाएको छ। दलित वा गैदलित दुवै जातजातिमा बालविवाह विद्यमानतादर पुरुषको तुलनामा महिलातर्फ उच्च रहेको छ। मुलुकमा ८ प्रतिशत दलित पुरुष बालविवाह भएको समूहमा पर्छन् भने ३४ प्रतिशत विवाहित महिला बालविवाह भएकोमा पर्दछन्। गैरदलित जातजातितर्फ बालविवाहमा पर्ने पुरुष ४.४ प्रतिशत मात्र छन् भने महिला करिब २० प्रतिशत रहेका छन्। प्रदेशहरू बिचमा तुलना गर्दा बालविवाहको सबैभन्दा उच्च (२०.१प्रतिशत) विद्यमानतादर कर्णालीमा र सबैभन्दा न्यून (८.४प्रतिशत) बागमतीमा रहेको छ। 

सबैभन्दा धेरै विश्वकर्मा 

दलिततर्फ कुल जनसंख्यामा सबैभन्दा धेरै १४ लाख ७० हजार १० (५ प्रतिशत) हिस्सा विश्वकर्माको रहेको छ। दोस्रोमा परियार-दमाई ५ लाख ५६ हजार ९३२ (१.९ प्रतिशत) र तेस्रोमा मिजार-सार्की ४ लाख ५२ हजार २२९ ( १.६ प्रतिशत) छन्। पहाडी दलितका बाँकी दुई जातिमध्ये बादीको संख्या ११ हजार ४७० रहेको छ भने गाइनेको संख्या ६,९७१ रहेको छ। 

तराईका दलितका १७ जात 

तराई दलित जातजाति समूहभित्र विभिन्न १७ वटा जातिहरू समावेश गरिएका छन्। जसमा शीर्ष सात स्थानमा रहेको जातिहरू क्रमशः चमार-हरिजन-राम ३ लाख ९३ हजार २५५ अर्थात् १.४ प्रतिशत छन्। मुसहर २ लाख ६४ हजार ९७४ अर्थात शून्य दशमलव ९ प्रतिशत, दुसाध-पासवान-पासी २ लाख ५० हजार ९७७ अर्थात शून्य दशमलव ९ प्रतिशत छन्। यस्तै, तत्मा-तत्वा को जनसंख्या १ लाख २६ हजार १८ छ। जुन, शून्य दशमलव ४ प्रतिशत हो। यस्तै, खत्वेको जनसंख्या १ लाख २४ हजार ६२ छ। जुन, शून्य दशमलव ४ प्रतिशत हो। यस्तै, धोबी १ लाख १ हजार ८९ अर्थात शून्य दशमलव ४ प्रतिशत, बाँतर-सरदार ६१ हजार ६८७ अर्थात् शून्य दशमलव २ प्रतिशत रहेका छन्। त्यस्तै, कोरी २० हजार ६७० (शून्य दशमलव शून्य सात प्रतिशत), डोम १९ हजार ९०१ (शून्य दशमलव शून्य ७ प्रतिशत), खटिक ९ हजार १५२ (शून्य दशमलव शून्य तीन प्रतिशत), सरवरिया ५ हजार ७९३ (शून्य दशमलव शून्य दुई प्रतिशत), धन्कार-धरिकार ४ हजार ९० (शून्य दशमलव शून्य एक प्रतिशत), हलखोर २ हजार ९२९ (शून्य दशमलव शून्य एक प्रतिशत), नटुवा २ हजार ८९६ (शून्य दशमलव शून्य एक प्रतिशत), ढाँडी २ हजार ३३९ (शून्य दशमलव शून्य एक प्रतिशत), चिडिमार १ हजार ६१५ (शून्य दशमलव शून्य एक प्रतिशत) छन्। तराईका दलितमध्ये सबैभन्दा न्यून जनसंख्या कलार जातिको रहेको छ, जुन ९३१ मात्र रहेको छ। 

२० वर्षको अन्तरालमा दलितको जनसंख्या बढ्दै 

दुई दशकको अन्तरालमा दलितको जनसंख्या बढदै गएको देखिएको छ। ०५८ को जनगणनामा पूर्ण गणना भएका २ करोड २७ लाख ३६ हजार ९३४ जना व्यक्तिहरूमध्ये ११.० प्रतिशत दलित जनसंख्या थियो। त्यस समयमा कुल जनसंख्यामध्ये पहाडी दलितको हिस्सा ७.१ प्रतिशत र तराई दलितको हिस्सा ३.९ प्रतिशत रहेको थियो। त्यसको १० वर्षपछि अर्थात् ०६८ को जनगणनामा मुलुकको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो। जसमा दलितको हिस्सा १२.५ प्रतिशत रहेको छ । जसमा पहाडी दलित ८.१ प्रतिशत र तराई दलित ४.४ प्रतिशत रहेको थियो। पछिल्लो जनगणना ०७८ मा पनि पहाडी गैरदलितको अनुपात घटेको (५८.१ प्रतिशत बाट ५६.१ प्रतिशत) नै देखिएको छ। तर, कुल संख्या भने करिब एक लाखले बढेको छ। २०६८ बाट २०७८ को अवधिमा दलितको कुल जनसांख्यिक अनुपात, पहाडी दलितको अनुपात र तराई दलितको अनुपात निश्चित प्रतिशत विन्दुले बढेको देखिएको छ। खासगरी कुल दलितको अनुपात करिब १ प्रतिशत विन्दुले बढेको देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिए।

दलितमा वृद्ध कति ? 

पहाडी दलितको कुल जनसंख्या २५ लाख ६ हजार ६१२ छ। जसमा ८.६ प्रतिशत वृद्ध उमेरका व्यक्ति छन्। तराईका दलितको कुल जनसंख्या १३ लाख ९२ हजार ३७८ छ। जसमा ७.७ प्रतिशत जनसंख्या ६० वर्ष र सोभन्दा माथिका रहेका छन्। दलितको तुलनामा गैरदलित जातजातितर्फ वृद्ध उमेरका व्यक्तिको संख्या र अनुपात उच्च रहेको देखिएको छ। वृद्ध उमेरका व्यक्तिको संख्याले जातजाति विशेषको औसत आयुलाई पनि प्रभावित गर्दछ। वृद्ध उमेरका व्यक्तिको अनुपात बढी हुनु भनेको औसत आयु उच्चतम मानतर्फ प्रवृत्त हुनु भएको राष्ट्रिय तथ्यांक कार्यालय (जनसंख्या शाखा)का निर्देशक राजन सिलवालले जानकारी दिए। उनका अनुसार तराई दलितको तुलनामा पहाडी दलिततर्फ वृद्ध उमेरका व्यक्तिको अनुपात करिब १ प्रतिशत बिन्दुले उच्च रहेको छ। 

दलितमा २.४ प्रतिशत अपांगता

समग्र दलित जनसंख्या अर्थात् ३८,९८,९९० मध्ये २.४ प्रतिशत अपांगता रहेको पाइएको छ। पहाडी र तराई दलितमा खण्डीकृत गरेर हेर्दा फरक तस्बिर देखिने राष्ट्रिय तथ्यांक कार्यालय (जनसंख्या शाखा)का निर्देशक विनोदशरण आचार्यले जानकारी दिए। तराईका दलितको कुल जनसंख्या १३,९२,३७८ मध्ये १.६ प्रतिशत जनसंख्यामा कुनै न कुनै प्रकारको अपांगता रहेको छ जुन राष्ट्रिय एवं गैरदलित जातजातिको औसतभन्दा ०.६ प्रतिशत विन्दुले कम रहेको देखिन्छ। पहाडी दलित जनसंख्या २५,०६,६१२ रहेकोमा तीमध्ये २.९ प्रतिशत जनसंख्यामा अपांगता रहेको देखिन्छ जुन राष्ट्रिय औसतभन्दा ०.७ प्रतिशत विन्दुले उच्च हो। 

गैरदलितभन्दा दलितको जन्मदर्ता बढी 

जनगणना २०७८ ले मुलुकका ७४ प्रतिशत पाँच वर्षसम्मका बालबालिकाको जन्मदर्ता भएको देखाएको छ। करिब एकचौथाइ अर्थात् २६ प्रतिशतले त्यो अधिकारको उपयोग गर्न नसकेको देखिएको छ। जन्मदर्ताको सवालमा गैरदलित जातजातिभन्दा दलित जातजाति अगाडि रहेको देखिएको छ। समग्र दलिततर्फ पाँच वर्षभन्दा मुनिका ७८.१ प्रतिशत बालबालिकाको जन्मदर्ता भएको देखिएको छ भने गैरदलित जातजातितर्फ यो मान ७३.२ प्रतिशत मात्र रहेको छ। यो निकै ठूलो अन्तर हो । पहाडी र तराई दलितबिच तुलना गर्दा तराई दलित (७३.९ प्रतिशत) भन्दा पहाडी दलित (८०.९ प्रतिशत) बालबालिकाको जन्मदर्ताको स्थिति ७.० प्रतिशत विन्दुले उच्च रहेको छ। प्रजनन दरमा पनि तराई दलितको उच्च छ। तराई दलितको प्रजनन दर ३.३ छ भने भने पहाडि दलितको १.९४ छ। 

१५.७ प्रतिशत दलित महिलाको नाममा घरजग्गाको स्वामित्व 

पछिल्लो तथ्यांकअनुसार १५.७ प्रतिशत दलित महिलाको नाममा घरजग्गाको स्वामित्व छ। यता २५.१ प्रतिशत गैरदलित महिलाको नाममा घरजग्गाको स्वामित्व छ। तराईमा १७.८ प्रतिशत, पहाडमा १४.२ प्रतिशत र हिमालमा ७.६ प्रतिशतमा दलित महिलाको नाममा जग्गाको स्वामित्व छ। 

महिला परिवारमूली

मुलुकमा ६६,६६,९३७ परिवारमध्ये ३१.५ प्रतिशत परिवारमा महिला परिवारमुखी छन्। पहाडी दलितको कुल ५,९२,४८७ परिवारमध्ये ४२.६ प्रतिशत परिवारमा महिलाले परिवारमुलीको जिम्मेवारी वहन गरेको पाइएको छ। यो मान राष्ट्रिय औसतभन्दा ११.१ प्रतिशत विन्दुले उच्च रहेको छ। महिला परिवारमुलीको अनुपात सबैभन्दा न्यून (३०.८०) तराई दलित जातजातिमा रहेको छ जुन समग्र दलितको भन्दा १३.२ प्रतिशतले र राष्ट्रिय अनुपातभन्दा ८.२ प्रतिशतले न्यून रहेको छ। गैरदलित जातजातिको कुल परिवारमध्ये ३०.८ प्रतिशत परिवारमा महिला परिवारमुली रहेका छन् जुन राष्ट्रिय औसतभन्दा ०.७ प्रतिशत विन्दुले न्यून देखिएको छ। 

पहाडी दलित परिवारमा महिला परिवारमुखी ४० प्रतिशतभन्दा बढी हुनुको कारण पुनः अध्ययनको विषय हुन सक्ने उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछने बताउँछन्। उनका अनुसार यसमा सशक्तीकरणको सवाल मात्र नभएर परिवारका पुरुष सदस्य रोजगारी, व्यवसाय, अध्ययन वा अन्य कुनै कारणले परिवारमा अनुपस्थित (स्वदेश वा विदेश) रहेको हुनसक्छ। 

बसाइँसराइमा दलित 

बसाइँसराइ गर्नेमा पहाडी दलितको संख्या बढी देखिएको छ। २९.६ प्रतिशत पहाडी दलितले बसाइँसराइ गरेका छन्। जबकी २१.४ प्रतिशत मात्रै मधेसी दलितको बसाइँसराइ छ। जुन मुलुकको कुल बसाइँसराइको ३२ प्रतिशत हो। जसमा गैरदलितको बसाइँसराइ ३२.९ प्रतिशत छ। बसाइँ सर्नका मुख्य कारणमा विवाह, आश्रित, काम-रोजगारी तथा अध्ययन तालिम हुन्। ४९.४ प्रतिशत दलितको विवाहको कारणले बसाइँसराइ भएको छ। १७.२ प्रतिशत आश्रित, ११.५ प्रतिशत काम-रोजगारी तथा ४.२ प्रतिशत अध्ययन-तालिमका लागि बसाइँसराइ गरेको देखिन्छ। तराईका दलितको त ८२.९ प्रतिशत विवाहकै कारण बसाइँसराइ भएको छ। 

 

Post a Comment

0 Comments