१३ मातृभाषा थपिए, १ लाख बढीले बोल्ने २१ भाषा


काठमाडौं : विविधता र एकताले सम्पन्न देश। जहाँ बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त विशेषता छन्। विविधताबीच एकता, सद्भाव र सहिष्णुता जहाँका सम्पत्ति हुन्। मुलुकमा हाल १४२ जातजाति छन्। १२४ भाषाभाषी छन्। १० वटा धर्म मानिन्छन्। राष्ट्रिय तथ्यांक कार्यालयले हालै भाषाबारे २०७८ को जनगणनाको विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ। जसले देशको भाषिक संरचनालाई छर्लङ्ग पार्न जनगणना २०७८ मा तीनवटा विषय उठान गरेको छ। जनगणना अनुसार भाषाले देश धनी देखिएको छ। तिनमा मातृभाषा, दोस्रो भाषा र पुर्खाहरूको भाषा भनेर वर्गीकरण गरिएको छ। पहिलो पटक पुर्खाहरूको भाषाको विषयमा जनगणना गरिएको हो। १२४ वटा मातृभाषा, ११७ वटा दोस्रो भाषा र १२४ वटा नै पुर्खाको भाषा पहिचान गरिएका छन्।


राष्ट्रिय जनगणना २०७८ मा पहिचान गरिएका १२४ वटा मातृभाषामध्ये १११ वटा राष्ट्रिय जनगणना २०६८ कै निरन्तरतास्वरूप समावेश छन्। १३ वटा नयाँ मातृभाषा थपिएका छन्।

थपिए १३, घटे १२


०६८ को जनगणना भन्दा ०७८ को जनगणनामा १३ वटा नयाँ मातृभाषा समावेश भएका छन्। बोल्नेको संख्या कम हुँदै गएपछि १२ वटा विदेशी भाषा सूचीबाट हटाइएका छन्। तिनलाई अन्य भाषाको सूचीमा राखिएको छ। थपिएका नयाँ मातृभाषाहरूमा भोटे, लोवा, चुम/नुब्री, वारागुङवा, नार–फु, रानाथारू, कर्मारोङ, मुगाली, तिछुरोङ पोइके, साद्री, डोने, मुण्डा/मुडियारी र केवरत छन्। ०६८ सालको जनगणनामा भेटिएका १२३ मध्येका १२ वटा विदेशी भाषाहरूको बोल्ने वक्ता न्यून संख्यामा भएकाले तिनीहरूलाई अन्य मातृभाषाअन्तर्गत राखिएकोले कुल मातृभाषा संख्या १२४ कायम हुन गएको छ।
मातृभाषाको संख्या बढ्दै
२००९ देखि २०११ सम्मका जनगणनामा मातृभाषाको संख्यामा उतारचढाव देखिन्छ। २००९/११ को जनगणनामा नेपालमा ४४ मातृभाषा थिए। २०१८, २०२८,२०३८ र २०४८ सम्म मातृभाषाको संख्या घटेको देखिन्छ। २०१८ मा ३६, २०२८ मा १७, २०३८ मा १८, २०४८ मा ३१ वटा मातृभाषा सूचीकृत थिए। ०५८ को जनगणनामा मातृभाषाको संख्या ह्वातै बढेको देखिन्छ। २०५८ मा ९२ मातृभाषा सूचीकृत थिए। २०६८ मा १२३ पुग्यो। पछिल्लो जनगणना २०७८ मा यो संख्या १२४ पुगेको छ।
४ भाषा परिवार
मुलुकमा बोलिने भाषाहरू मुख्य रूपमा चार प्रमुख भाषा परिवारअन्तर्गत पर्छन्। इन्डो–युरोपेली, सिनो–तिब्बती, अस्ट्रो–एसियाटिक, र द्रविड भाषा परिवार छन् । साथै, एक अलग भाषा कुसुन्डा छ। इन्डो– पाकिस्तानी सांकेतिक भाषा परिवारअन्तर्गत पर्ने सांकेतिक भाषा पनि मुलुकमा प्रचलनमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
सिनो–तिब्बती र इन्डो युरोपेली ९९.७ प्रतिशत
मुलुकम मुख्य रूपमा सिनो–तिब्बती र इन्डो–युरोपेली भाषा परिवारका भाषाहरू बोलिन्छन्। जसले कुल जनसख््याको ९९.७ प्रतिशत ओगटेको प्रतिवेदनमा उल्लेख छ । इन्डो युरोपेली भाषा बोल्ने ८३.१ प्रतिशत (अर्थात् २ करोड ४२ लाख २७ हजार ४११ जना) छन। यो भाषा परिवारमा नेपाली, मैथली, भोजपुरी, थारु, बज्जिका लगायतका ४५ भाषा पर्छन्। सिनो तिब्बती बोल्ने १६.६ प्रतिशत (अर्थात्, ४८ लाख ३७ हजार ८०८ जना)।
यो परिवारमा किराँती (राई, लिम्बु लगायत), मगर, गुरुङ, तामाङ थकालीलगायत ७३ भाषा बोलिन्छन्। त्यस्तै अस्ट्रो–एसियाटिक ०.२ प्रतिशत छन। अर्थात्यो भाषा परिवारमा ५५ हजार ९१६ जना पर्छन। यो परिवारमा मुण्डा, सन्थाली, खरिया गरी ३ भाषा पर्छन्।
द्रविड भाषा बोल्ने जनसंख्या ३८ हजार ८७३ छ। उरावले बोल्ने भाषा उराउ (कुडुुख) भाषा द्रविड भाषा परिवारमा पर्छ।
कुसुण्डालगायत अन्य भाषा परिवारको जनसंख्या ३ हजार ७९९ छ। इन्डो– पाकिस्तानी सांकेतिक भाषा परिवारअन्तर्गत पर्ने सांकेतिक भाषा बोल्ने पनि नेपालमा छन्। जसमा कुसुन्डा भाषा बोल्ने मात्रै २३ जना छन्। सांकेतिक भाषा परिवारमा १ हजार ७८४ जना छन्। भाषा परिवारको विषयमा अनविज्ञता जाहेर गर्नेको जनसंख्या ४ हजार २०१ छ। मुलुकको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ।
मातृभाषामा नेपाली भाषाकै वर्चश्व
मातृभाषाका रूपमा बोलिने भाषाहरूमा नेपाली सबैभन्दा ठूलो भाषा हो। नेपालीको जनसांख्यिक अनुपात कुल जनसंख्याको आधाभन्दा कम (४४.९ प्रतिशत) मात्र छ। अन्य भाषा परिवारका भाषाहरूको हिस्सा तुलनात्मक रूपमा ठुलो छैन। मैथली मातृभाषा भएको जनसंख्या ११ प्रतिशत छ। त्यस्तै भोजपुरी ६.२ प्रतिशत, थारु ५.९ प्रतिशत, तामाङ ४.९ प्रतिशत, बज्जिका ३.९ प्रतिशत, अबधी र नेवारी ३/३ प्रतिशत छन्। मगर ढुट २.८ प्रतिशत,डोटेली १.७ प्रतिशत र उर्दु भाषी १.४ प्रतिशत छन। यस्तै, लिम्बु (याक्थुङ) १.२ प्रतिशत र गुरुङ १.१ प्रतिशत छन् । अन्य एक प्रतिशतभन्दा कम बोलिने भाषा छन्। जनगणनामा भाषा र उपभाषाका अन्योलहरू समाधान गर्न कुनै प्रश्न समावेश नगरिएकाले यो जनगणनामा यी अन्योलहरू यथावत् रहेको प्रतिवेदनमा उल्लेख छ।
१ लाख वक्ता भएका भाषा २१ वटा
कम्तीमा १ लाख वक्ता भएका भाषा मुलुकमा २१ वटा छन्। यी भाषाले कुल जनसंख्याको ९५ प्रतिशत अंश ओगटेका छन्। नेपाली, मैथली, भोजपुरी, थारु, तामाङ, बज्जिका, अबधि, नेपाल भाषा (नेवारी), मगर ढुट, डोटेली, उर्दु, याक्थुङ (लिम्बु), गुरुङ, मगही, बैतडेली, राई, अछामी एक प्रतिशतभन्दा बढीले बोल्ने गरेका छन्। यस्तै, बान्तवा, राजवंशी, शेर्पा, खसको जनसंख्या १ लाखभन्दा बढी छ।
यसको विपरीत, बोल्ने व्यक्तिहरूको संख्याका आधारमा सूचीको तल्लो खण्डमा रहेका भाषाको संख्या १०३ वटा छन्। जसले कुल जनसंख्याको करिब ५ प्रतिशत हिस्सा ओगटेका छन्। त्यसैले, मातृभाषाहरूको संख्यामा विविधता भए पनि तिनको जनसांख्यिक हिस्सा असमान रूपमा वितरीत देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछाने बताउँछन्।
सबैभन्दा थोरै जनसंख्याले बोल्ने भाषा कुसुन्डा
सबैभन्दा थोरैले बोल्ने भाषा कुसुन्डा हो। २०७८ को जनगणना अनुसार जम्मा २३ जनाले मात्रै कुसुन्डा भाषा बोल्न सक्छन्। बनकरीया भाषा बोल्ने ८६ र साम भाषा १०६ जनाले बोल्छन्। हरियान्वी ११४, सधनी १२२, खरिया १३२, माल्पाण्डे १६१, सुरेल १७४, बेल्हारे १७७, फाङदुवाली २४७, सिन्धी २९१, कोचे ३३२ र कुर्माली ३९७, तिछुरोङ पोइके ४१०, ल्होमी ४१३ र नारफु ४२८ जनाले बोल्छन्। धेरै भाषा लोपोन्मुख अवस्थामा छन्। दोस्रो भाषाका रूपमा नेपाली नै उच्च मातृभाषाका साथसाथै दोस्रो भाषाका रूपमा नेपाली भाषाको वितरण उच्च छ। ४६.२ प्रतिशतले नेपाली भाषालाई दोस्रो भाषाको रूपमा प्रयोग गर्ने गरेका छन्। जबकी ०.९ प्रतिशतले मात्रै मैथलीलाई दोस्रो भाषाको रूपमा बोल्छन्। दोस्रो भाषाको रूपमा हिन्दुलाई प्रयोग गर्नेको संख्या ०.८ प्रतिशत छ। भोजपुरी ०.५, अंग्रेजी ०.४,थारु र बज्जिका ०.३/०.३, उर्दु र तामाङ ०.२/०.२ प्रतिशतले दोस्रो भाषाको रूपमा प्रयोग गर्छन्।
मातृभाषाका रूपमा नेपाली भाषा बोल्नेहरूको घनत्व विशेष गरी गण्डकी प्रदेशको पश्चिमी भाग (लुम्बिनी प्रदेशसँग जोडिएको क्षेत्र) र कर्णाली प्रदेशका सबै जिल्लाहरूमा अधिकतम देखिएको छ। मातृभाषा संरक्षणदर अनुमान गर्दा कुनै जातीय समूहको जनसंख्या र तिनीहरूले बोल्ने मातृभाषाबीचको सम्बन्धद्वारा गणना गरिन्छ। मातृभाषा संरक्षणदर केही मातृभाषा बोल्ने जातीय समूहहरूमा कमजोर देखिएको छ।
पुर्खाको भाषाको उल्लेख
पुर्खाको भाषा जातीय समूहहरूमा बढी देखिएको छ। यसको सम्भावित कारण भनेको जनसंख्याले आफ्नो पुर्खाको भाषाप्रति सम्मान र आत्मीयता राखे तापनि प्रत्यक्ष रूपमा ती भाषा व्यवहारमा नरहेको हुनसक्छ।
मधेस प्रदेशका सबै जिल्लाहरूमा द्विभाषिकताको दर उच्च देखिएको छ। जहाँ मैथिली, भोजपुरी र बज्जिका प्रमुख भाषाहरू हुन्। यी भाषाहरू बोल्ने बहुसंख्यक व्यक्तिहरू अन्य मातृभाषा बाहेकका वक्ताहरूसँग सञ्चार गर्न नेपाली भाषा प्रयोग गर्छन्। द्विभाषिकताको उच्च दर गण्डकी प्रदेशको मनाङ जिल्लामा पनि पाइएको छ। यसबाहेक, लुम्बिनी प्रदेशका पश्चिमी तराईका जिल्लाहरूमा द्विभाषिकताको दर उच्च रहेको पाइन्छ जुन प्रवृत्ति अझै पश्चिमतर्फका अर्थात् सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा अधिकतम रहेको छ। २०६८ को जनगणनाअनुसार द्विभाषिक कुल जनसंख्यामध्ये ७९.५ प्रतिशतले नेपाली भाषालाई दोस्रो भाषाका रूपमा बोल्दथे। यो हिस्सा २०७८ मा बढेर ८९ प्रतिशत पुगेको छ। त्यसैले, २०७८ मा नेपाली भाषालाई दोस्रो भाषाका रूपमा बोल्ने दर ९.५ प्रतिशतले विन्दुले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।
मुलुकमा दोस्रो भाषाका रूपमा नेपाली भाषाको प्रयोग विगत तीनवटा जनगणनामा क्रमशः वृद्धि हुँदै आएको छ। २०५८ को जनगणनामा दोस्रो भाषाका रूपमा नेपाली बोल्ने दर २५.२ प्रतिशत थियो। २०६८ मा ३२.८ प्रतिशत र २०७८ मा ४६.२ प्रतिशत पुगेको छ। दोस्रो भाषाका रूपमा नेपाली बोल्नेहरूको संख्या सबैभन्दा बढी मधेस प्रदेशमा देखिएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा छ। ९० प्रतिशतभन्दा बढी नेपाली भाषा बोल्ने
नेपाली भाषीको संख्यामा वृद्धि भएको छ। मातृभाषा र दोस्रो भाषाको हिसाव गर्दा ९० प्रतिशतभन्दा माथिले नेपाली भाषा बोल्ने गरेको छ। ४८.१ प्रतिशत जनसंख्याको दोस्रो भाषा नै छैन। दोस्रोमा मैथेली भाषा छन्। जुन २ प्रतिशतको हाराहारीमा छ। नेपाली भाषा अधिकांश सबैले बोल्ने गरेको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता लामिछाने बताउँछन्। उनका अनुसार धेरै जनसंख्याले नेपाली भाषालाई कि मातृभाषाका रूपमा कि त दोस्रो भाषाका रूपमा बोल्ने गर्छन्। मातृभाषा र दोस्रो भाषाका रूपमा बोलिने नेपाली भाषालाई समग्रतामा हेर्ने हो भने मधेस प्रदेशबाहेक (जहाँ यसको अंश ७६.५ प्रतिशत छ) सबै प्रदेशमा यसको हिस्सा ९० प्रतिशतभन्दा माथि छ। जनगणनाको तथ्यांकअनुसार जहाँ मातृभाषाको रूपमा नेपाली कम बोलिन्छ त्यहाँ दोस्रो भाषाको रूपमा यसको प्रयोग अधिकतम रहेको छ।
पुर्खाको भाषा पनि १२४
पुर्खाको भाषा प्रयोगसम्बन्धी प्रश्न पहिलोपटक २०७८ को जनगणनामा समावेश गरिएको थियो। पहिलो पटक जनगणनामा पुर्खाको भाषाको विषयमा प्रश्न गरिएको थियो। यो प्रश्न भाषाको प्रवीणता मापन गर्नका लागि नभएर व्यक्तिहरूको पूर्वजले बोल्ने भाषाको पहिचान लक्षित गरिएको बताइएको छ । जनगणनामा पुर्खाको भाषा १२४ वटा पहिचान भएको छ। ३४.७६ प्रतिशतको पुर्खाको भाषा नेपाली रहेको छ। त्यस्तै १०.१५ प्रतिशतको मैथली,६.०६ प्रतिशतको भोजपुरी, ६.०५ प्रतिशतको थारु, ५.५ प्रतिशतको तामाङ, ४.२८ प्रतिशतको मगरढुट, ४.०५ प्रतिशतको नेवारी, ३.९३ प्रतिशतको बज्जिका, ३.१३ प्रतिशतको अबधि र १.९५ प्रतिशतको उर्दु पुर्खाको भाषा रहेको जनगणनाको तथ्यांकले देखाएको छ।
मातृभाषा र पुर्खाको भाषाका बिचमा बलियो सहसम्बन्ध देखिएको छ। धेरैजसो अवस्थामा पुर्खाको भाषाको दरभन्दा मातृभाषाका रूपमा उत्तरदाताहरूले उल्लेख गरेका भाषाहरूको दर उच्च पाइएको उपप्रमुख तथ्यांक अधिकारी लामिछाने बताए।
९३ भाषी जनजाति
प्रतिवेदनअनुसार नेपालमा ९३ भाषी जनजाति छन। जसमा साइनो तिब्बतियन भाषा परिवारका ७२, इन्डो इरोपियन भाषा परिवारका १६, अस्ट्रो एसियाटिक भाषा परिवारका ३ र द्रबिड भाषा परिवार १ रहेका छन्। कसुन्डा यीभन्दा फरक भाषा परिवारमा पर्छ। अन्तरदेशीय भाषा पनि नेपालमा बोलिने गरेको छ। इन्डोे आर्यन परिवार अन्तर्गतका अबधि, बज्जीका, बंगाली, भोजपुरी, हिन्दी, नेपाली, मैथली लगायतका अन्तरदेशीय भाषा पनि नेपालमा बोलिने गरेको छ। त्यस्तै साइनो तिब्बतीयन भाषा परिवार अन्तर्गतका मेचे, तामाङ, मगर, लेप्चा, थामी, याक्थुङ, सुनुवार पनि अन्तरदेशीय भाषा हुन्। त्यस्तै अस्ट्रो एसियटिक अन्तर्गतको सन्थाली र द्रबिडियन अन्तर्गतको उराउ भाषा अन्तदेशीय भाषा हुन्। जुन नेपालमा लगायतका देशमा बोलिन्छ।
८० भन्दा बढी जातजातिले नेपाली, मैथली, भोजपुरी हिन्दी, अवधि, थारु, तामाङ, नेपालभाषा, बजिका, मगर ढुट, मगही भाषा कसै न कसैले बोलेको पाइन्छ। त्यसैले नेपाल भाषा भाषिमा धनी र विविधतायुक्त रहेको छ।
कोशीमा भाषिक विविधता सूचकांक उच्च
२०७८ मा भाषिक विविधता सूचकांक सबैभन्दा उच्च कोशी प्रदेशमा देखिएको छ। त्यसपछि क्रमशः सुदूरपश्चिम र मधेस प्रदेशमा देखिएको छ। यसको अर्थ यी क्षेत्रहरूमा एउटै मातृभाषा बोल्ने दर तुलनात्मक रूपमा कम छ। भाषिक विविधता सूचकांकले प्रत्येक स्थानमा बोलिने विभिन्न भाषाहरूको संख्या तथा तिनका वक्ताहरूको जनसंख्या दर्शाउने गरेको छ। कोशी प्रदेशमा राई किराँती समूहका भाषाहरूको ठूलो संख्या छ। जसको कारण त्यहाँ भाषिक विविधतादर सबैभन्दा उच्च छ। यसको विपरीत, कर्णाली प्रदेशमा भाषिक विविधतादर सबैभन्दा कम छ। यसको अर्थ त्यहाँ एउटै मात्र मातृभाषा बोल्ने व्यक्तिहरूको अनुपात उच्च छ। कर्णाली प्रदेशमा तुलनात्मक रूपमा कम भाषाहरू (जम्मा ४८) मात्र मातृभाषाका रूपमा बोलिन्छन्। त्यहाँको अधिकतम जनसंख्याले नेपालीलाई मातृभाषाका रूपमा प्रयोग गरेको पाइएको छ। सोलुखुम्बु, सुनसरी, मनाङ, मोरङ कञ्चनपुर, खोटाङ, मोरङ , संखुवासभामा भाषाको धेरै नै विविधता देखिन्छ।
मधेस प्रदेशमा द्विभाषिकतादर सबैभन्दा उच्च
मधेस प्रदेशमा द्विभाषिकतादर सबैभन्दा उच्च (५६.प्रतिशत) उल्लेख गरिएको छ। मधेसपछि सुदूरपश्चिम प्रदेश (५१.९ प्रतिशत) रहेको छ। मधेस प्रदेशमा द्विभाषिकता तथा बहुभाषिकताको दर उच्च हुनुका कारण मैथिली, भोजपुरी र बज्जिका बोल्ने ठूलो जनसंख्याले नेपालीलाई दोस्रो भाषाका रूपमा प्रयोग गर्नु हो। सबैभन्दा कम द्विभाषिकतादर कर्णाली प्रदेशमा रहेको छ।
३५९ स्थानीय तहमा नेपाली भाषा बोल्ने आधाभन्दा बढी
कुल ७५३ स्थानीय तहमध्ये ३५९ स्थानीय तहमा नेपाली भाषा आधाभन्दा बढी जनसंख्याले बोल्ने गरेको पाइएको छ। ७० वटा स्थानीय तहमा यो अधिकतम जनसंख्याले बोल्ने गरेका छन्। ३२४ स्थानीय तहमा ३४ वटा भाषाहरू सबैभन्दा ठूलो हिस्साका रूपमा रहेका छन्। तर, ती सबैमा नेपाली भाषा बोल्ने जनसंख्याको हिस्सा ५० प्रतिशतभन्दा न्यून नै रहेको छ। देशका ११ वटा स्थानीय तहमा कुनै एक भाषा संख्यात्मक दृष्टिले सबैभन्दा ठूलो भाषाको रूपमा देखिएका छन्। ती ११ भाषामा चाम्लिङ, खालिङ, वाम्बुले राना थारु, याम्फु/याम्फे, नार–फु, मनाङे, बरागुनवा र मगर काइके पर्छन्।
साक्षरमा नेवार भाषी सबैभन्दा बढी
नेवारी भाषी ८५ प्रतिशतभन्दा बढि साक्षर रहेका छन्। त्यसपछि नेपाली र मगर ढुट भाषीहरू साक्षर रहेको पाइएको छ। भाषाको विविधता वा धेरै भाषा बोल्ने समाजको विकास अर्थात् सामाजिक तथा आर्थिक हिसावले सक्षम र शिक्षित देखिएको छ। यो तथ्यांकले नेपालको भाषागत अवस्था विश्लेषण गर्नका लागि उपयोगी तथ्यांकीय आधार प्रदान गरेको तथ्यांक कार्यालयका प्रवक्ता लामिछानेले बताए। राष्ट्रिय, प्रादेशिक र स्थानीय तहस्तरमा भाषासम्बन्धी नीति बनाउनका लागि महत्वपूर्ण मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको लामिछानेले बताए। सरकारका विभिन्न तहमा (संघ, प्रदेश, स्थानीय तह) कामकाजको रूपमा भाषाको प्रयोग, संरक्षण र भाषाहरूको आधुनिकीकरणसम्बन्धी नीतिहरूको तर्जुमा सुझाव राष्ट्रिय तथ्यांक कार्यालयले प्रतिवेदन मार्फत दिएको छ। त्यस्तै मातृभाषाको पहिचान, अभिलेखीकरण र प्रवर्धनसम्बन्धी नीति निर्माण गर्न पर्ने पनि उसको सुझाव छ। स्थानीयस्तरमा ठूलो अनुपातमा प्रतिनिधित्व नभएका र सीमित स्थानहरूमा मात्र व्यवहारमा रहेका भाषाहरूको संरक्षण, पुनर्जीवन र सिकाइसम्बन्धी कार्यनीति कार्यान्वयन गर्न उसले सुझाएको छ।
0 Comments