बालबालिका घट्दै, बुढ्यौली समूह बढ्दै


बालबालिका घट्दै, बुढ्यौली समूह बढ्दै

बालबालिका घट्दै, बुढ्यौली समूह बढ्दै
537Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौं : २०६८ सालमा मुलुकमा ६० वा सोभन्दा बढी उमेर समूहको जनसंख्या ८ दशमलव १ प्रतिशत थियो। तर, ०७८ मा यो समूहको जनसंख्या १० दशमलव २ प्रतिशत पुग्यो।

०७८ को राष्ट्रिय जनगणनाले मुलुकमा बुढ्यौली सूचकांक बढ्दै गएको देखाएको छ। वि.सं. २१११ सम्ममा देश बुढ्यौली समाजमा रूपान्तरण हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदन अनुसार मुलुकमा बालबालिकाको जन्मदर भने घट्दै गएको छ। तथ्यांकअनुसार ०४८ देखि बुढ्यौली उमेर समूह लगभग तीनगुणाले बढेको छ। यसले मुलुकको जनसंख्या युवा बहुल अवस्थाबाट वृद्धावस्थामा परिवर्तन हुँदै गएको देखाएको छ। 

युवाबाट वृद्धावस्थामा परिवर्तन हुँदै 

मुलुकमा जन्मदर र मृत्युदर घटिरहेको छ। त्यसैकारण जनसंख्या संक्रमणकालतर्फ तीव्र गतिले प्रवेश गरिरहेको छ। अर्थात्, जनसंख्या पिरामिडले युवा बहुल अवस्थाबाट वृद्धावस्थामा परिवर्तन हुँदै गएको देखाएको छ। मृत्युदर र जन्मदरमा आएको कमी र समुद्रपारतर्फको प्रवासनका कारण जनसंख्यामा यस्तो अवस्था आएको राष्ट्रिय तथ्यांक कार्यालय उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिए।

जन्मदर घट्दै गएका कारण बालबालिकाको संख्यामा पनि कमी आएको छ। काम गर्ने उमेर समूहको जनसंख्या पनि घट्दै गएको छ। जसले आश्रित जनसंख्याको अनुपातलाई अझै वृद्धि गरेको छ। २०६८ र २०७८ को जनगणना अवधिको बीचमा पहाडी क्षेत्रको बुढ्यौली जनसंख्या उल्लेखनीय वृद्धि भएको छ। २०६८ सालमा पहाडमा बुढ्यौली जनसंख्या २५.७ प्रतिशत थियो तर १० वर्षको अन्तर अर्थात् २०७८ मा ४३.६ प्रतिशत पुगेको छ। हिमाल र तराई क्षेत्रमा पनि यसरी नै बुढ्यौली जनसंख्या वृद्धि भएको छ। ०४८ यता बुढ्यौली जनसंख्यामा करिब तीनगुणाले वृद्धि भएको देखिन्छ जसले जनसख्या पिरामिडको शीर्ष भागलाई फराकिलो पार्दै लगेको प्रतिवेदनमा 
उल्लेख छ। 

बालबालिकाको जनसंख्या घट्दो 
तथ्यांक कार्यालयको प्रतिवेदनअनुसार २०४८ सालको जनगणनामा १४ वर्षसम्मका बालबालिकाको जनसंख्या ४२.४ प्रतिशत थियो। हाल त्यो घटेर २७.८ प्रतिशत पुगेको छ। १५ वर्षदेखि ५९ वर्षसम्म उमेरको जनसंख्या ५१.८ प्रतिशत थियो। ०७८ को जनगणना अनुसार यो संख्या ६२ प्रतिशत पुगेको छ। ३० वर्ष अघि ६० वर्ष माथिका जनसंख्या ५.८ प्रतिशत रहेकोमा २०७८ मा दोब्बरले बढेर १०.२ प्रतिशत पुगेको छ। 

बागमतीमा धेरै वृद्ध 
बागमती प्रदेशमा बुढ्यौली (६० वर्ष र सोभन्दा माथि) को संख्या सर्वाधिक छ। सहरी क्षेत्रले विशेषत युवा पिँढीका जनसंख्यालाई बसाइँसराइका लागि आकर्षित गर्दछ, जसले गर्दा ग्रामीण क्षेत्रको तुलनामा बुढ्यौली जनसंख्या सहरमा कम अनुपातमा रहेको देखिएको छ। बुढ्यौली सूचांक २०६८ देखि २०७८ मा करिब १३ प्रतिशत विन्दुले ग्रामीण र सहरी क्षेत्र दुवैतर्फ वृद्धि भएको देखिएको छ। ६० वर्ष वा सोभन्दा माथिको उमेर समूहमा पर्ने समग्र बुढ्यौली सूचांक २०६८ मा २३.३ थियो। २०७८ को जनगणनामा ३६.७ पुगेको देखिएको छ। 

गण्डकी प्रदेशका जिल्लाले उच्चतम बुढ्यौली सूचांक प्राप्त गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ। गण्डकी प्रदेशको पनि मनाङ जिल्लाको सूचांक २०६८ मा ५२.८ थियो भने २०७८ मा ९०.३ पुगेको छ। जाजरकोटमा २०६८ मा ११.४ थियो भने २०७८ मा १८.७ छ। जाजरकोटले सबैभन्दा कम सूचांक प्राप्त गरेको छ। जुम्ला र बाजुरामा २०६८ मा बुढ्यौली सूचांक क्रमशः १३.३ र १७.२ रहेकोमा २०७८ मा क्रमशः २१.४ र २५.१ पुगेको देखिन्छ। जसले कर्णाली र सुदूरपश्चिमको प्रादेशिक प्रवृतिलाई नै पछ्याएको अवस्था छ। 

पूर्वका झापा र मोरङले पनि वृद्धिउन्मुख बुढ्यौली सूचांक प्रस्तुत गरेका छन्। मोरङमा यो मान २०६८ मा २६.२ थियो भने २०७८ मा ४१.९ पुगेको छ। २०६८ मा झापाको २९.७१ थियो, भने ०७८ मा ४५.२३ पुगेको छ। काठमाडौंमा बुढ्यौली सूचांक २०६८ मा २५.४ र २०७८ मा ४३.३ छ। ललितपुरको २०६८ मा ३२.५ र २०७८ मा ६२.८ पाइएको छ। सहरी क्षेत्रमा मध्यम गतीले यो प्रवृतिमा वृद्धि भएको देखिएको छ। तराईका जिल्लामा पनि मध्यम गतिकै वृद्धिको प्रवृत्ति रहेको प्रतिवेदनमा छ।। 

विश्वव्यापी अवस्था : सन् २०५० मा १ अर्ब ३० करोड 
विश्वका मानिसहरूको औसत आयुमा सन् १९९० को ६४.२ वर्षबाट सन् २०१९ मा ७२.६ वर्ष पुगेर उल्लेखनीय वृद्धि भएको छ। सन् २०५० मा ७७.१ वर्षसम्म पुग्ने पूर्वानुमान गरिएको छ। यस अवधिमा सामान्यभन्दा अत्यधिक प्रगति भएको देखिएको भए तापनि असमानताहरू अझै पनि कायम छन्। यस्ता असमानताहरू अल्पविकसित देशहरूमा बढी देखिएका छन्। यस्तो अवस्था उच्च मृत्युदर र स्वास्थ्य चुनौती भएका देशहरूमा देखिएको छ। सन् २०५० सम्म विश्वभरि प्रत्येक छ जनामा एक जना बुढ्यौली जनसंख्या अर्थात् ६५ वर्ष र सोभन्दा माथिका हुने अनुमान गरिएको छ। विश्वमा २५ वर्षपछि १ अर्ब ३० करोड मानिस बुढ्यौली हुनेछन्। 

उत्तर अफ्रिका, पश्चिमी एसिया र ल्याटिन अमेरिकामा बुढ्यौली जनसंख्याको वृद्धिको गति तीव्र भइरहेको छ। अबको सय वर्षसम्म बाँच्ने व्यक्तिहरूको सख्या तीनगुणाले बढ्ने अनुमान गरिएको छ।

आश्रित अनुपात ६१.४ प्रतिशत 
प्रतिवेदनअनुसार राष्ट्रियस्तरमा ६० वर्ष र सोभन्दा माथिको जनसंख्याको समग्र आश्रित अनुपात ६१.४ प्रतिशत छ। प्रदेशगत रूपमा मधेस प्रदेशमा सबैभन्दा धेरै ७३.४ प्रतिशत आश्रीत जनसंख्या छ। त्यसपछि कर्णालीमा ६९.७, सुदुरपश्चिममा ६७.९ छ। उमेर समूहको समग्र आश्रित अनुपात सबैभन्दा कम (४८.८) वागमति प्रदेशमा छ। तीव्रतर गतिमा वृद्धि भइरहेको बुढ्यौली जनसंख्या हुँदाहँुदै पनि बागमति प्रदेशका अधिकांश जिल्लामा आर्थिक काम गर्न सक्षम जनसंख्या अधिक छ।

गण्डकी, कोशी र लुम्बिनी प्रदेशको मध्यम स्थानमा छ। कोशीमा बुढ्यौली जनसंख्याको आश्रित अनुपात ५९.२ छ। जुन राष्ट्रिय औसत निकट देखिएको छ। बुढ्यौली जनसंख्याको समग्र आश्रित अनुपात उच्चतम अछाम जिल्लाको ९१.० छ। जसलाई डोटी (८४.७), बझाङ (८४.४), कालीकोट (८१.४)ले पछ्याएको छ। सबैभन्दा कम आश्रित अनुपात भएका चार जिल्लामा मनाङको ३९.८, काठमाडौंको ३९.३, ललितपुरको ४१.७८ र भक्तपुरको ४१.८३ छ। 

पुरुषभन्दा महिलाको आयु बढी  
मुलुकमा पुरुषभन्दा महिलाको बाँच्न सक्ने उमेर (आयु)बढी देखिएको छ। महिलाहरूको बाँच्नसक्ने दर ८४.७ प्रतिशत छ भने पुरुषहरूको ७५.१ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ। हिमाली प्रदेशका मानिसहरूको अधिकतम बाँच्न सक्ने दर राष्ट्रिय औसतभन्दा अलिकति माथि अर्थात् ८०.६ प्रतिशत छ। जसमा पुरुषहरूको मान ७७ प्रतिशत र महिलाहरूको मान ८४.३ प्रतिशत रहेको देखिन्छ। तीनवटै भौगोलिक क्षेत्रलाई तुलना गर्दा पहाडमा ६० वर्षभन्दा बढी बाँच्न सक्ने दर ८१.२ प्रतिशत छ। जसमा महिलाको ८६.४९ प्रतिशत र पुरुषको ७५.९ प्रतिशत रहेको छ। तराईमा यो दर सबैभन्दा न्यून अर्थात् ७९.० प्रतिशत छ। जसमा महिलाको ८३.५० र पुरुषको ७४.४ प्रतिशत छ। 

प्रदेशस्तरमा हेर्दा बागमतीमा बढी बाँच्ने दर सर्वाधिक (८२.६प्रतिशत) छ। जसले काठमाडौं जिल्लाको ऑकडालाई पनि समेटेको छ, जहाँ सुधारका संकेतहरू देखिएको प्रतिवेदनमा उल्लेख छ। यस्तो दर न्यून रहेको प्रदेश लुम्बिनी ७६.८ प्रतिशत हो। जिल्लास्तरमा हेर्दा बढी बाँच्ने दर अधिकतम ८९.१ प्रतिशत मुस्ताङ जिल्लामा छ भने त्यसपछिका दुईवटा जिल्ला क्रमशः हुम्ला ८६.१ प्रतिशत र काठमाडौं ८४.९प्रतिशत देखिएको छ। यो मान कम हुने तीनवटा जिल्लाहरूमा क्रमशः कपिलवस्तु ७४.८ प्रतिशत, बाँके ७४.४ प्रतिशत र पाँचथर ७३.१ प्रतिशत छन्।

२०७८ को जनगणनाअनुसार शेष जीवनप्रत्याशा सबैभन्दा कम जुम्लामा १६.३ वर्ष छ। ओखलढुंगामा सबैभन्दा बढी २३.८ वर्ष रहेको देखिन्छ। यसले स्पष्टत ७.५ वर्षको अन्तर विद्यमान रहेको देखाएको छ। ओखलढुंगा, रामेछाप, गोरखा, दार्चुला, रसुवा, खोटाङ धादिङलगायतका केही जिल्लाहरूको अधिकतम शेष जीवनप्रत्याशा देखिएको छ। यी सबै जिल्लाहरूको शेष जीवनप्रत्याशा २१ बर्ष भन्दा बढी छ। त्यस्तै पाँचथर, मोरङ, बाँके, भक्तपुर, रुपन्देही,सुनसरी, काठमाडौं र जुम्ला जस्ता जिल्लाको न्यूनतम शेष जीवन प्रत्याशा रहेको दखिएको छ। यी जिल्लाको शेष जीवनप्रत्याशा १७.६ वर्षभन्दा कम छ। 

अर्कोतिर, विगतमा नेपालमा संयुक्त परिवारको संस्कृति थियो। धेरैजसो वृद्ध व्यक्तिहरू परिवारसँगै बस्थे। तर, पछिल्लो समयमा जन्मदरमा आएको कमी र विदेश प्रवासनको कारणले वृद्ध व्यक्ति एक्लै वा केवल पति/पत्नी मात्रै बस्ने वृद्ध व्यक्तिको संख्या बढ्दै गएको छ। वृद्ध महिलाहरू आर्थिक आवश्यकताहरूका कारण आआफ्नो रोजगारीमा नै रहेको देखिएको छ। त्यस्तो रोजगारी भने कृषि क्षेत्रमा संलग्न रहेको देखाएको छ। हाल वृद्धहरूमा धेरै जसो महिला निरक्षर छन्। राष्ट्रियस्रतमा हेर्ने हो भने ५२.२ प्रतिशत पुरुष निरक्षर छन् भने ८४.९ प्रतिशत निरक्षर छन्। पुरुषको तुलनामा महिलाको निरक्षरतादर निकै नै माथि देखाएको छ। यो दर ६० वर्ष वा सोभन्दा माथिको हो। 

५१ प्रतिशत वृद्ध आर्थिक क्रियाकलापमा सक्रिय 
लगभग ५१ प्रतिशत वृद्ध जनसंख्या अझै पनि आर्थिक रूपमा सक्रिय रहेको तथ्यांकले देखाएको छ। ती मध्ये अधिकांश कृषि क्षेत्रमा संलग्न छन्। वृद्ध व्यक्तिहरूको श्रम मुख्यत : पूर्वाधारको न्यून पहुँच भएका ग्रामीण क्षेत्र र विपन्न वर्गहरूका माझ उपयोग भएको पाइएको छ। यो समूह न त पराम्परागत रोजगारीको क्षेत्रमा न नेतृत्वकारी भूमिका नै छ। बरु उनीहरूले स्वरोजगार हुनुलाई प्राथमिकतामा राख्ने गरेका छन्। अवकाश पश्चात्को सेवासुविधाको अभाव र सामाजिक सुरक्षाका अवसरहरूको अभावका कारण यो समूहको ठूलो हिस्सा प्राय आफनो जीविका चलाउन काम गर्नै पर्ने बाध्यतामा छ। 

वृद्धमध्ये ६.९ प्रतिशत अपांगता 
२०७८ सालको जनगणनाअनुसार कुल वृद्ध जनसंख्यामध्ये ६.९ प्रतिशत अपाङ्गता भएका व्यक्तिको संख्या छ। जसमा सबैभन्दा बढि शारीरिक अपांगता देखिएको छ। प्रदेशगत अपांगताको विद्यमानातादरमा भिन्नता देखिएको छ। कर्णाली प्रदेशमा सबैभन्दा उच्च अपांगता विद्यमानतादर भेटिएको छ। देशमा आधाभन्दा बढि वृद्धहरूको मृत्यु नसर्ने रोगहरूका कारण भएको पाइएको छ। सर्ने रोगहरू युवावस्थाका समूहमा बढि भएको पाइएको छ। दुर्घटना, हिंसा र आत्महत्या युवावस्थामा बढी हुनु सामान्य जस्तो नै छ। विशेष गरी उमेर बढ्दै जाँदा प्राकृतिक प्रकोपहरूले वृद्ध व्यक्तिहरूको जनसंख्यालाई ठूलो प्रभाव पारेको देखिन्छ। 

मुलुकको जनसंख्या बुढ्यौली उन्मुख हुँदै गएको छ। जसले आश्रित जनसंख्याका लागि अतिरिक्त भार सिर्जना गर्ने देखिएको छ। यसले स्वभावतः आवास व्यवस्था, स्वास्थ्य हेरचाह, सामाजिक सुरक्षा र आर्थिक भरणपोषणमा विशेष चुनौती सिर्जना गर्नेछ। महिलाहरूको जीवनप्रत्याशा पुरुषको तुलनामा बढी भएको कारणले एकल महिलाको जनसंख्याको अनुपात पनि निरन्तर बढिरहेको छ। प्रदेश, भौगोलिक क्षेत्र र जिल्लास्तरमा बुढ्यौलीको दरमा उल्लेखनीय रूपमा भिन्नता हरेकाले क्षेत्र केन्द्रित वृद्ध लक्षित नीतिको आवश्यकता दर्शाएको लामिछाने बताउँछन्। 

एकीकृत रणनीति आवश्यक 
मुलुकले बुढ्यौली उन्मुख जनसंख्या व्यवस्थापनका लागि एकीकृत रणनीति विकास गर्न पर्ने देखिएको छ। भविष्यका आपतकालीन (भैपरी आउने) अवस्थाहरूका लागि दिगो आर्थिक र सामाजिक सहयोग प्रणाली तयार गर्नुपर्ने देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सामाजिक सुरक्षा विस्तार गर्दै वित्तीय कठिनाइलाई कम गर्न निवृत्तभरण योजनालाई सुदृढ गर्ने सुझाएको छ। 

स्वास्थ्यसेवा सुदृढीकरण गर्दै ग्रामीण र अर्धसहरी क्षेत्रमा बुढ्यौलीलक्षित स्वास्थ्यसेवामा सुधार गर्ने गर्नु देखिएको छ। आर्थिक अवसरको विस्तार गर्दै वृद्ध जनसंख्याका लागि गैरशारीरिक श्रमबाट आर्थिक उपार्जन हुने विकल्पहरूको सिर्जना गर्ने पर्ने देखिन्छ। आवास र पूर्वाधार सुधार अन्र्तगत वृद्धवृद्धाका लागि सुरक्षित र सुविधायुक्त आवासीय बन्दोबस्त र आधारभूत सेवाहरूमा पहुँच सुनिश्चित गर्ने अवस्था सिर्जना हुँदै छ। ज्येष्ठ नागरिक सहयोग प्रणाली स्थापना गर्न आवश्यक देखिएको छ। ज्येष्ठ नागरिकहरूले अनुभूत गर्नसक्ने एक्लोपन समस्यालाई सम्बोधन गर्न समुदायको संलग्नता बढाउने अभियान सञ्चालन गर्नु पर्ने सुझाव पनि राष्ट्रिय तथ्यांक कार्यालयले सुझाएको छ। 

अवकाशको उमेर ६३ बनाउनुपर्छ 

डा.योगेन्द्रबहादुर गुरुङ
पूर्वप्रमुख, त्रिभुवन विश्वविद्यालय जनसंख्या केन्द्रीय विभाग
 
पहिले मेडिकल साइन्सको विकास नहुँदा धेरै बालबालिका जन्मिन्थे, मर्थे। आर्थिक, सामाजिक, शिक्षा र स्वास्थ्यको विकाससँगै प्रजननदर घट्यो। मृत्युदर घटेपछि औसत आयु बढ्ने नै भयो। मृत्युदर घटेकोले मान्छे धेरै बाँच्न थाले। जसले बुढ्यौली बढ्न थाल्यो। पहिला चाँडै मृत्यु हुन्थ्यो तर अहिले चाडो मृत्यु हुन छोड्यो। 

औसत आयु नै ७१ वर्ष पुगेको छ। ७ प्रतिशत मानिस ६६ वर्ष माथिका छन्। यो ठूलो होइन भर्खरै प्रवेश मात्र गरेका छौं। यो क्रमशः बढ्दै जान्छ। जति पनि विकसित देश छन्, उनीहरूले बाहिरबाट मान्छे लानु पर्नाको मुख्य कारण नै यही हो। 

बुढ्यौली समूह बढ्दैमा चिन्ता लिने बेला भएको छैन। बुढ्यौली बढ्यो भन्नुको कारण मान्छे धेरै बाच्न थालेको न हो। यो त राम्रो कुरा हो। आर्थिक विकासमा धेरै माथि उठेका देशमा मात्रै हाम्रो जस्तो अवस्था भएको विश्वमा उदाहरण छन। तर, हामी अलि फरक अवस्थामा छौं। उनीहरू भने आर्थिकरुपमा सम्पन्न भएपछि यो अवस्थामा पुगे। तर, हाम्रोमा आर्थिक उन्नति नभइकन यो अवस्था देखा पर्न थाल्यो। हाल हामीसँग दुईतिहाइ काम गर्न सक्ने मानिस छन्। यो जनसंख्या पूर्णरुपमा सदुपयोग गर्न सकेका छैनौं। उनीहरूबाट आम्दानी लिन सकेका छैनौं। 

आर्थिक विकासमा उनीहरूलाई परिचालन गर्न सकेका छैनौं। उत्पादनमा लगाउन सकेका छैनौं। हामीले सोच्नुपर्ने विषय चाहिँ यो हो। रेमिट्यान्स त यही वर्गबाट नै आएको त हो, तर उत्पादनशील जनसंख्या बाहिर गएको छ। त्यही वर्गबाट रेमिटयान्स भित्रिएको छ। त्यसले देश चलिरहेको छ। तर, यो जनशक्ति देश निर्माणमा लगाउन पाएको भए देशको स्वरुप नै अर्कै हुन्थ्यो। विश्वका विकसित देशले त्यो अवसरलाई सदुपयोग गरेर नै आज यो अवस्थामा पुगेका हुन्। तर हामीले यो जनशक्तिलाई सदुपयोग गर्न सकेका छैनौं। यो चाहिँ हाम्रो विडम्बना हो। जनसांख्यिक संक्रमण स्वाभाविक हो। प्रजननदर कम भएपछि बच्चा नै कम जन्मिन्छन्। त्यसलै तलको (बालबालिका) जनसंख्या खुम्चिदै गएको हो। माथिचाहिँ बढ्दै गएको हो। 

null

१४ प्रतिशत भयो भने बुढ्यौलीको देश हुन्छ। त्यो अहिले ७ प्रतिशत मात्रै छ। १४ प्रतिशत हुन अझै २०÷३० वर्ष लाग्छ। अहिलेदेखि नै यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय सोचनीय छ। यो विषयमा सरकारले त्यहीअनुसारको योजना नीति बनाउनु आवश्यक छ। आयु बढेपछि ७०/७५ वर्षसम्म मान्छे सक्रिय नै हुन्छन्। उनीहरूले काम गर्न सक्छन्। उनीहरू उत्पादशील छन्। राज्यले उनीहरूलाई उत्पादनमा सदुपयोग गर्ने नीति बनाउनुपर्छ। सरकारको विचित्र कस्तो छ भने ५८ वर्षमा अवकाश दिन्छ। अहिले त यो उमेर त तन्नेरी उमेर नै हो। अब ६० वर्ष बनाउने होला यो पनि कम हो। अहिले मानिसको आयु वृद्धि भएको कारणले ६३ वर्षसम्म बनाउनुपर्छ भन्ने हामीले सुझावै दिएका छैनौं।

५ वर्ष बढी काम लगाउन सक्यो भने पनि धेरै राम्रो हुन्छ। काम गर्न योग्य भएसम्म उनीहरूलाई काम लगाउनु त राज्यको दायित्व नै हो। बूढाबूढीले पनि काम गर्न सक्ने प्रविधिको पनि विकास गर्नुपर्छ। विश्वविद्यालयमा त ७० वर्षसम्म नै काम लगाउन सकिन्छ। विकसित देशमा ७० वर्षसम्म प्राध्यापकले काम गरिरहेकै छन्। यस्तो खालको योजना ल्याउन सकिन्छ। तर बुढ्यौली भयो भन्दै भत्ता मात्रै बाँड्न थालियो भने चाहिँ आर्थिक भार थपिँदै थपिँदै जान्छ। त्यसले त आर्थिक रूपमा देशलाई कंगाल मात्रै बनाउँछ। यसलाई अवसरको रुपमा हामीले सदुपयोग गर्न सक्नुपर्छ। विकसित देशको अवस्था पनि यही त हो नि ! 


 

Post a Comment

0 Comments