राजनीतिक प्रतिशोधको अखडा त्रिवि, जहिल्यै तालाबन्दी, जहिल्यै अस्तव्यस्त



 https://www.annapurnapost.com/story/484103/

राजनीतिक प्रतिशोधको अखडा त्रिवि, जहिल्यै तालाबन्दी, जहिल्यै अस्तव्यस्त

राजनीतिक प्रतिशोधको अखडा त्रिवि, जहिल्यै तालाबन्दी, जहिल्यै अस्तव्यस्त
26Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौं : सरकारले स्वच्छ छविका प्राडा.दीपक अर्याललाई असार २५ मा त्रिभुवन विश्वविद्यालय (त्रिविवि)को उपकुलपति नियुक्त गर्‍यो। त्यससँगै त्रिविविका समस्या समाधान हुने अपेक्षा थियो। तर, अर्यालले कार्यभार सम्हालेको १० दिनमै माओवादीनिकट अखिल क्रान्तिकारीले तालाबन्दी गर्‍यो। फेरि तालाबन्दी, धरपकड र धर्ना जुलुसका चक्र ब्युँतिए।

हुन त प्राडा. अर्याल चर्चित हास्यव्यंग्यकार एवं साहित्यकार भैरव अर्यालका जेठा छोरा हुन्। स्वच्छ छवि एवं विवादमा नपरेका व्यक्ति उपकुलपति बनेका हुन्। लामो प्राज्ञिक अनुभव, अनुसन्धानमा विशिष्ट योगदान र प्रशासनिक दक्षता उनका विशेषताका रूपमा लिइन्छ। तर, उनी उपकुलपति बने पनि माओवादीनिकट विद्यार्थी संगठनको तालाबन्दीका कारण कार्यकक्षमा जानै पाएका छैनन्। 

राजनीतिक प्रतिशोधको अखडा

त्रिभुवन विश्वविद्यालय, मुलुकको केन्द्रीय विश्वविद्यालय हो। यो नै लामो समयदेखि राजनीतिक दुश्चक्रमा पर्दा मुलुकको शिक्षा क्षेत्र अस्तव्यस्त छ। राजनीतिक हस्तक्षेप, दलगत प्रभावमात्र होइन, अनियमितता र भ्रष्टाचारले समेत थलिएको छ। तालाबन्दी र तोडफोड त यसका लागि नौला विषय भएनन्। विश्वविद्यालयका उपकुलपति, रेक्टर, रजिस्ट्रारलगायत नियुक्ति विगतदेखि नै राजनीतिक आस्थाका आधारमा हुँदै आएका छन्।

अझ रोचक पक्ष त के छ भने एउटा पार्टीनिकट उपकुलपतिलगायत पदाधिकारी नियुक्त हुँदा अर्को पार्टीनिकट विद्यार्थी संगठन त्यसको विरोधमा तालाबन्दी गर्न थालिहाल्छन्। राजनीतिक प्रतिशोध साँध्ने थलोको रूपमा त्रिविविको प्रयोग भइरहेको छ। विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ। गत वर्ष त दुई सय दिनभन्दा बढी तालाबन्दीका कारण त्रिविवि अस्तव्यस्त नै भयो।

पछिल्लो समय नियुक्त उपकुलपति प्राडा.अर्याल कार्यकक्षमा जान नपाएपछि त्रिवि परिसरबाटै नियमित काम गरिरहेको बताउँछन्। ‘म उपकुलपति भएको ११/१२ दिनदेखि धर्ना सुरु भएको हो, धर्ना सुरुवात भएपछि केही दिन कार्यकक्षमा नै गएँ, मित्रबद्ध नै कुराकानी भइरहेको थियो,’ उनले भने,‘एक्कासि माग पूरा नभएसम्म कार्यकक्षमा पस्न दिँदैनौं भन्नुभयो। त्यसपछि भने म कार्यकक्षमा गएको छैन। त्रिवि परिसरबाट भने नियमित काम गरिरहेको छु।’ 

सोमबारबाट त्रिविको वातावरण थप धुमिल भएको छ। धर्नामा रहेका अखिल(क्रान्तिकारी)का कार्यकर्ताद्वारा रजिस्ट्रार केदार रिजालमाथि हातपात गरे। उनीहरूले रजिस्ट्रार रिजालमाथि टेबल क्यालेन्डर र पानीको गिलास प्रहार गरेका थिए। अनेरास्ववियुसँग छलफल गरिरहेका बेला क्रान्तिकारीका विद्यार्थीले कार्यकक्षमा प्रवेश गरेर तोडफोड गर्नुका साथै रजिस्ट्रार रिजालमाथि हातपात गरेका थिए। 

नियुक्तिमा राजनीति 
तत्कालीन उपकुलपति प्राडा.केशरजंग बरालले २०८१ चैत १५ गते राजीनामा दिए। चैत ३१ मा राजीनामा स्वीकृत भयो। उपकुलपति प्राडा. बराल माओवादी केन्द्रनिकट थिए। प्राडा.बराललाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले ०८० फागुन १० मा उपकुलपति नियुक्त गरेका थिए। ओली प्रधानमन्त्री भएपछि काम गर्ने वातावरण नभएको भन्दै प्राडा.बरालले राजीनामा दिएका थिए। प्राडा. बराल उपकुलपति हुँदा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिविविमा तालाबन्दी गरेको थियो। प्राडा.बरालअघि एमालेनिकट प्राडा.धर्मकान्त बास्तोला उपकुलपति थिए।null

त्यो बेला कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, माओवादीनिकट अखिल क्रान्तिकारीले लगातार तालाबन्दी र धर्ना दिएका थिए। बास्कोटाअघि कांग्रेसनिकट डा.तीर्थराज खनियाँ उपकुलपति थिए। उनी त कांग्रेसको उम्मेदवार सिफारिस भएका थिए। उनी माथि त बौद्धिक चोरीको आरोप पनि थियो। डा.खनियाँ उपकुलपति भएपछि पनि इतर पार्टीका विद्यार्थी संगठनले तालाबन्दी, धर्ना गरेका थिए । खनियाँ अघिका नियुक्ति राजनीतिक रूपमा प्रभावित नै छन्। खनियाँ अघि हीराबहादुर महर्जन, नवीनजंग शाह, कमलकृष्ण जोशी, केदारभक्त माथेमालगायत उपकुलपति भएका थिए। उनीहरूको नियुक्तिमा कुनै न कुनै रूपमा राजनीति जोडिएको छ। 

इतर पार्टीबाट उपकुलपतिलगायतका पदाधिकारी नियुक्त हुँदा विद्यार्थी संगठन, प्राध्यापक संगठन जाग्छन्। आफूनिकट हुँदा सुत्छन् । यो क्रम विगतदेखि नै त्रिविमा देखिँदै आएको छ। यो प्रवृत्ति विद्यार्थी संगठनदेखि प्राध्यापक र कर्मचारीमा देखिएको छ। प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष डा.पदमप्रसाद खतिवडा लामो समयदेखि नै यो प्रवृत्ति त्रिविमा देखिएको बताउँछन्। उनका अनुसार जसले त्रिविको पठनपाठनलगायत शैक्षिक वातावरणमा नराम्रोसँग बिग्रिँदै आएको छ। डा.खतिवडा यो किसिमले विश्वविद्यालय अघि बढेमा दैनिक कामकारबाहीमा समेत चुनौती देखिएको बताउँछन् । सहप्रध्यापक डा.खतिवडा शान्तिपूर्ण आन्दोलन जायज भए पनि तोडफोड र हिंसा कानुनी रूपमा क्षम्य नहुने बताउँछन्। आफ्नो कुरा गर्न आन्दोलन गर्नु जायज हो तर तोडफोड र हिंसा भने क्षम्य हुने विषय होइन,’ उनले भने।

विद्यार्थी थाम्न नसक्ने त्रिविमा विद्यार्थीकै संकट 
त्रिभुवन विश्वविद्यालय मुलुकको सबैभन्दा पुरानो र उच्च शिक्षाको ठूलो हिस्सा बोकेको विश्वविद्यालय हो। हालसम्म पनि त्रिविले उच्च शिक्षाको महत्वपूर्ण हिस्सा बहन गरेको छ। २०८०/८१ मा १२ केन्द्रीय विश्वविद्यालय, चार प्रादेशिक विश्वविद्यालय र ६ वटाले विश्वविद्यालयसरहका चिकित्सा शिक्षा प्रदान गरेका छन्।

मुलुकमा उच्च अध्ययन गरिरहेका ६ लाख ३३ हजार ५३ विद्यार्थीमध्ये ४ लाख ९१ हजार २९९ अर्थात् कुल विद्यार्थीको ७७.६१ प्रतिशत विद्यार्थी त्रिभुवन विश्वविद्यालयअन्तर्गत अध्ययन गर्छन्। सातवटै प्रदेशमा फैलिएको यो विश्वविद्यालयले राष्ट्रका लागि आवश्यक शिक्षक जनशक्ति आपूर्ति, अध्ययन अध्यापनका अतिरिक्त अनुसन्धान, प्रकाशनलगायत कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। तर, पछिल्लो समय विद्यार्थी संख्यामा गिरावट आउनुका साथै शैक्षिक गुणस्तर पनि खस्किँदै गएको छ। 

आन्दोलन चाहिँ किन ? 

पछिल्लो समय अखिल क्रान्तिकारीले प्राडा.अर्याल उपकुलपति भएको १० दिनमै विभिन्न माग राखेर धर्ना र तालाबन्दी सुरु गर्‍यो। हालसम्म पनि तालाबन्दी र धर्ना जारी छ। आन्दोलनका जुनसुकै माग भए पनि उपकुलपति नियुक्तप्रति असन्तुष्टि पोखेको धेरैको विश्लेषण छ । हाल माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा छ। अखिल क्रान्तिकारी माओवादी केन्द्रको भातृसंस्था हो। अखिल क्रान्तिकारी त्रिविका पूर्वअध्यक्ष प्रदीप भट्टले टीयूमा भएको शुल्क शोषणविरुद्ध आन्दोलन थालिएको बताए। उनले भने, ‘केन्द्रीय विभागमा समायोजन भएका ४ वटा विभागका शुल्क घटाउन माग गर्दै हामीले आन्दोलन गरेका हौं।’

कतिपय जायज माग नै भए पनि राजनीतिक कारणले नै धर्ना र तालाबन्दी भएको देखिन्छ । तर, भट्ट यसलाई अस्वीकार गर्छन् । ‘विद्यार्थीहरूले तोडफोड गरेर भौतिक संरचनामा आक्रमण गरे, जहिले पनि जो उपकुलपति हुन्छ त्यसको प्रतिपक्ष दलका विद्यार्थी संगठनले आन्दोलन गर्छन् भन्ने भाष्य खडा भएको छ। राजनीतिक कारणले सृजना गरेर आन्दोलन गरेको भाष्य निर्माण गर्न खोजिँदै छ। यसलाई मजबुत गर्न रचिएको ग्रयान्ड डिजाइन हो,’ उनले भने।

स्वतन्त्र विद्यार्थी युनियन विश्वविद्यालय क्याम्पस त्रिवि कीर्तिपुरले पनि विभिन्न माग राखेर उपकुलपतिको ध्यानाकर्षण गराएको छ। तर, गाँठी कुरा भने आफूनिकट नियुक्त भएकै कारणले कहिले इतरका प्राध्यापक त कहिले विद्यार्थीले आन्दोलन गरिरहन्छन् । यो क्रम विश्वविद्यालय लामो समयदेखि चल्दै आएको छ। जसले विश्वविद्यालयको शैक्षिक वातावरण धमिलिएको छ। त्रिविको साख गिरेको छ। जसले नेपाली युवाहरू उच्च शिक्षाका लागि बिदेसिन बाध्य छन्। त्रिविअन्तर्गतका क्याम्पसमा हुने अति राजनीतिकरणले युवाहरूमा वितृष्णा पैदा भएको छ। 

वार्ताबाटै माग सम्बोधन गर्न त्रिवि तयार 
त्रिभुवन विद्याविश्वविद्यालयले वार्ताबाटै माग सम्बोधन गर्न तयार भएको बताएको छ। रजिस्ट्रार रिजालमाथि हातपात हुनुअघि असन्तुष्ट पक्षसँग वार्ता भइरहेको त्रिवि प्रशासनको भनाइ छ। उपकुलपति प्राडा.अर्यालले विद्यार्थीका जायज माग सम्बोधन गर्ने विषयमा आफू तयार रहेको बताए। उनले तोडफोडपछि भने सुरक्षाको पनि महसुस भएको बताए । यही घटनापछि त्रिवि प्रशासन सुरक्षाका लागि सरकारसँग आग्रह पनि गरेको छ। उनले शान्तिपूर्णरूपमा संवादमार्फत नै समस्या समाधान गरिने बताए।

कार्यकर्ता उत्पादन केन्द्र 
विशेष गरेर विश्वविद्यालयहरूमा जनशक्ति उत्पादन केन्द्रभन्दा पनि दलका लागि कार्यकर्ता उत्पादन केन्द्र बनेका छन्। सम्बन्धित क्षेत्रका विज्ञ पनि प्राज्ञिक संस्थालाई कार्यकर्ता उत्पादन केन्द्रबाट जनशक्ति उत्पादन केन्द्र बनाउनेतिर लाग्नुपर्ने बताउँछन्। कार्यकर्ता उत्पदान केन्द्र बनाउँदा नै राजनीति दुश्चक्रमा नेपाल फस्दै गएको हो। पूर्वशिक्षा सचिव किशोर थापा विश्वविद्यालयहरू पार्टीका उत्पादन गर्ने केन्द्र भइरहेको बताउँछन्। प्राध्यापक डाक्टरको उपाधि हासिल गरेकाहरू पनि विवेक बन्धक बनाएर दलको दास भइरहेको उनको भनाइ छ। 

कुलपति व्यवस्था परिमार्जन 
हाल विश्वविद्यालयहरूको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री हुने व्यवस्था छ। यो व्यवस्थाले पनि विश्वविद्यालयहरू राजनीतिक दुष्चक्रमा परिरहेको केही विज्ञहरूको भनाइ छ। शिक्षाविद् प्राडा.सुसन आचार्य प्रधानमन्त्री कुलपति भएसम्म विश्वविद्यालय राजनीतिक दुष्चक्रमा परिरहने बताउँछिन्।

स्वतन्त्र विद्यार्थी युनियन विश्वविद्यालय क्याम्पसका अध्यक्ष दीपकराज जोशीले पनि त्रिभुवन विश्वविद्यालय कुलपति प्रधानमन्त्री हँुदासम्म त्रिभुवन विश्वविद्यालयमा प्रत्यक्ष हस्तक्षेप भइरहने बताउँछन् । उनी भन्छन्,‘त्रिभुवन विश्वविद्यालय कुलपति प्रधानमन्त्री हँुदासम्म त्रिभुवन विश्वविद्यालयमा प्रत्यक्ष हस्तक्षेप गर्न खोज्छन्। आफ्नो नियन्त्रणमा राख्न खोज्छन्। जहिलेसम्म यो पदमा प्रधानमन्त्री राख्ने व्यवस्था हुन्छ। यो अवस्था दोहोरिरहन्छ।’

मेरिटोक्रेसी 
मेरिटोक्रेसीको विषय व्यापक रूपमा उठ्ने गरेको छ। तर, व्यवहारमा मेरिटोक्रेसी आउन सकेको छैन। नाराको विषय मात्रै बन्ने गरेको छ। मेरिटोक्रेसीको मर्म शब्दमा मात्र सीमित रहेको र व्यवहारमा यसले सकारात्मक प्रभाव पार्न नसकेको देखिन्छ ।

राजनीतिक दुश्चक्रबाट टाढा राख्ने दुई उपाय
त्रिभुवन विद्याविद्यालयलाई राजनीतिक दुश्चक्रबाट टाढा राख्ने दुईवटा उपाय रहेको विज्ञहरूको भनाई छ । शिक्षाविद् प्राडा. विद्यानाथ कोइरालाले राजनीतिक दुश्चक्रबाट विश्वविद्यालयलाई टाढा राख्न राजनीतिक हस्तक्षेप बन्द हुनुपर्ने सुझाव दिन्छन्। विद्यार्थी, शिक्षक, प्राध्यापक राजनीतिक दलबाट टाढा रहनुपर्ने उनको भनाइ छ। ‘शिक्षक पनि राजनीतिक दलका, प्राध्यापकहरू र विद्यार्थी पनि राजनीतिक दलका छन्। राजनीति दलले तिनलाई छोड्न चाहेनन्। उनीहरूले पनि राजनीति दललाई छोड्न चाहेनन्,’ उनले भने। राजनीति आबद्ध भएका प्राध्यापकले पढाउन समय नदिने र विद्यार्थीले पढ्न समय नदिने उनको भनाइ छ।

असन्तुष्ट विद्यार्थीका माग सम्बोधन गर्न विश्वविद्यालय गम्भीर छ। उनीहरूसँग वार्ता पनि भइरहेकै छ। त्यति मात्र होइन, विद्यार्थीका माग सम्बोधन गर्ने प्रयासमा थियौं। तर, एक्कासि असुरक्षित वातावरण सृजना भयो। सबैभन्दा पहिला सुरक्षित वातावरण हुनुपर्‍यो। त्यसपछि शान्तिपूर्ण रूपमा यो समस्या मिलाउँछौं। त्रिविमा शैक्षिक वातावरण बनाएर गुमेको साख फर्काउनुपर्ने मेरो काँधमा चुनौती छ। यसका लागि म प्रयत्नरत छु।
प्राडा. दीपक अर्याल, उपकुलपति 

यस्तो प्रवृत्ति लामो समयदेखि त्रिविमा चलिरहेको छ। जसले त्रिविको पठनपाठनलगायत शैक्षिक वातावरण नराम्रोसँग बिगिँ्रदै गएको छ। यो किसिमले विश्वविद्यालय अघि बढेमा दैनिक कामकारबाही गर्नै चुनौती छ। यसको व्यवस्थापनमा सरोकारवालाको ध्यान जानुपर्ने हो। तर, त्यसको अभाव देखियो। जसले गर्दा त्रिवि लथालिङ भइसकेको छ। यो विषयमा सबै गम्भीर हुनुपर्छ। अर्कोतिर आफ्नो कुरा राख्न आन्दोलन गर्नु जायज हो, तर तोडफोड र हिंसा भने क्षम्य हुन सक्दैन।
डा.पदमप्रसाद खतिवडा, अध्यक्ष प्रगतिशील प्राध्यापक संगठन

 विश्वविद्यालयहरू जनशक्ति उत्पादन केन्द्रभन्दा पनि दलका कार्यकर्ता उत्पादन केन्द्र बने। विश्वविद्यालयको उद्देश्य त यो होइन नि। जहाँ कार्यकर्ता उत्पादन हुन्छ ,त्यहाँ राजनीति हुने नै भयो। प्राज्ञिक संस्थालाई कार्यकर्ता उत्पादन केन्द्रबाट जनशक्ति उत्पादन गर्नेतर्फ प्राज्ञहरूले पनि सोच्नुपर्‍यो। सरकारमा बसेका नीति निर्माताले पनि सोच्नुपर्‍यो। देश र समाजका लागि दक्ष जनशक्ति उत्पादन गर्न टीयूलाई नितान्त प्राज्ञिक संस्थाको रूपमा राख्नुपर्‍यो। प्राडाको उपाधि भिरेर, विवेकलाई बन्धक बनाएर दलको दास हुनुभएन। 
किशोर थापा, पूर्वशिक्षा सचिव 

शिक्षक पनि राजनीतिक दलका, प्राध्यापक र विद्यार्थी पनि राजनीतिक दलका छन्। राजनीति दलले तिनलाई छोड्न चाहेनन्। उनीहरूले पनि राजनीति दललाई छोड्न चाहेनन्। यस स्थितिमा गाँठो फुकाउन राजनीतिक दलको बुद्धि फिर्नुपर्छ। अब शिक्षक, प्राध्यापक, विद्यार्थीलाई पछिपछि लगाएर राजनीति गर्नु हुँदैन। नोट र भोट होइन, विश्वसनीय शिक्षक र विद्यार्थी चाहिन्छन भनेर राजनीतिक दलको बुद्धि आयो भने अहिलेको गाँठो फुक्छ। दोस्रो सम्भावना बिजनेस दिने बाटो अवलम्वन गर्नुपर्छ ।
प्राडा.विद्यानाथ कोइराला, शिक्षाविद्

जबसम्म प्रधानमन्त्री कुलपति भइरहने प्रणाली हुन्छ तबसम्म विश्वविद्यालय राजनीतिको दुष्चक्रमा परिरहन्छ। कतिसम्म भने म टीयूको विषय समितिमा हँुदा कतिपय प्राध्यापकहरू प्रश्नपत्र बनाउन पनि नजान्ने र उत्तरपुस्तिका परीक्षण गर्न पनि नजान्ने पाएँ। कापी जाँच दोहोर्‍याएर गराउनुपरेको थियो। तिनीहरू अयोग्य व्यक्ति भने होइनन्, तर राजनीति शक्तिकै कारण लगनशीलता, दक्षता र कामप्रतिको नैतिकता नभएका देखिन्छन्। यस्तो दुर्दशा थियो। ती व्यक्तिहरू अहिले डेपुटी कन्टोलर, अनुगमनका सदस्य भएका छन्।
प्राडा. सुशन आचार्य, शिक्षाविद्

उपकुलपतिको नियुक्तिका लागि ०८० सालमा उपकुलपतिको छनोट तथा सिफारिससम्बन्धी निर्देशिका बन्यो। यसमा स्पष्ट रूपमा सोधपत्रसहित योग्यता क्रमका आधारमा नियुक्ति हुनेछ भन्ने उल्लेख छ। यसअघि सोहीअनुसार भयो पनि। तर, यसपटक उपकुलपति नियुक्तिमा छनोट नभई सिफारिस भइदियो। सिफारिस तन्त्रबाट उपकुलपति ल्याइए। विश्वविद्यालयलाई कुलपतिले आफ्नो नियन्त्रणबाट बाहिर जान दिएनन्। विभिन्न दलका भातृ संगठनहरूले अर्को दलको आउँदा तालाबन्दी लगाउने जस्ता प्रवृत्ति छन्। 
दीपकराज जोशी, अध्यक्ष, स्ववियु

उपकुलपति कार्यालयमा भएको आन्दोलन १९ औं दिनसम्म शान्तिपूर्ण रूपमा विद्यार्थीहरूले नयाँ उचाइमा सम्पन्न गर्ने भन्ने थियो। तर, एकाएक साउन २६ गते घटना भयो। प्रशासनले प्रहरी लगायो। रजिस्ट्रार कार्यालयभित्र छिर्न नदिएपछि झडप हुन गयो। विद्यार्थीहरूले तोडफोड गरेर भौतिक संरचनामा आक्रमण गरे । जहिले पनि जो उपकुलपति हुन्छ त्यसको प्रतिपक्ष दलका विद्यार्थी संगठनले आन्दोलन गर्छन् भन्ने भाष्य खडा भएको छ। राजनीतिक कारणले आन्दोलन गरेको भाष्य निर्माण गर्न खोजिँदै छ। 
प्रदीप भट्ट, पूर्वअध्यक्ष अखिल क्रान्तिकारी, त्रिवि

Post a Comment

0 Comments