पार्टीहरूमा पुरानै शक्ति, पुरानै शैली



पार्टीहरूमा पुरानै शक्ति,  पुरानै शैली

पार्टीहरूमा पुरानै शक्ति,  पुरानै शैली
15Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौं  : जेन–जी आन्दोलनको प्रमुख माग थियो– सुशासन र विकास । त्यसका लागि दलको नेतृत्व र कार्यशैलीमा परिवर्तन । तर, आन्दोलनको सफलतापछि पनि ठूला दलमा न पुस्तान्तरणको सम्भावना देखिएको छ । न त, रूपान्तरण हुने लक्षण नै । जेन–जी आन्दोलनपछि पार्टीको सक्रिय नेतृत्व त्यागेका कांग्रेस सभापति शेरबहादुर देउवा पुनः सक्रिय राजनीतिमा फर्किसकेका छन् । 

त्यति मात्र होइन, फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने घोषणा पनि गरिसकेका छन् । विघटित प्रतिनिधिसभाको अर्को ठूलो दल एमाले अध्यक्ष केपी ओली महाधिवेशनमा फेरि पार्टी अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् । तीन दशक बढी पार्टी नेतृत्वमा एकछत्र राज गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि साना दलसंग एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीको अध्यक्ष छन् । 

उनले पनि नेतृत्व नछोड्ने अडान लिइसकेका छन् । त्यसैकारण प्रमुख राजनीतिक दलमा पुस्तान्तरण र रूपान्तरणको विषय गौण बन्दै गएको छ । उनीहरूले न पुस्तान्तरण गर्ने नै देखिएको छ न रूपान्तरण नै । पुरानै सोच, दृष्टिकोट र रणनीतिकका साथ पार्टीहरू अगाडि बढेका छन् । नेतृत्व पनि पुरानैको हातमा छ । null

कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी उही तालमा छन् । यति मात्रै होइन मधेस केन्द्रित नागरिक उन्मक्ति पार्टी, जनमत पार्टी त विभाजित नै भए । जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीमा पनि रूपान्तरण र पुस्तान्तरणको पहलसमेत भएको छैन । 

गत भदौ २२ मा तत्कालीन सत्ताको नेतृत्व गरिरहेकै बेला एमालेले धुमधामका साथ विधान महाधिवेशन गर्‍यो । त्यसको भोलिपल्ट नै भएको जेन–जी आन्दोलन र जसको रापतापमा दुईतिहाइ बहुमतको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्थ भयो । नेताहरू भागाभागको स्थिति आयो । चार दिन त नेताहरू नेपाली सेनाको नजरबन्दमा रहे । २०८४ मा कार्यकाल सकिने प्रतिनिधिसभा दुई वर्षअघि नै विघटन भयो । त्यसपछि दलहरूमा पुस्तान्तरण र रूपान्तरण विषय जोडदारका साथ उठ्यो ।

कांग्रेस सभापति शेरबहादुर देउवा र आरजू देउवामाथि निर्घात कुटपिट भयो । उपचारका लागि सिंगापुर जाने भन्दै देउवाले पार्टीको नेतृत्व पूर्णबहादुर खड्कालाई सुम्पिए । 

देउवाको कदमपछि झन् पुस्तान्तरण र रूपान्तरणको विषयले थप मलजल पायो । तर, विस्तारै अवस्था सहज बन्दै गयो । पार्टीको कार्यवाहकको अधिकार खडकालाई दिएका देउवा पुनः सक्रिय भएका छन् । राजनीतिक विश्लेषक श्याम श्रेष्ठ राजनीतिक नेतृत्व अझै नसुध्रिएको बताउँछन् । उनी भन्छन्, दलको नेतृत्व सुध्रिएको छैन । अझै पनि सत्तामा पार्टीमा आफ्नै पकड बनाउने सुरसारमा छन् ।’ राजनीतिक दलमा अझै पनि राजतन्त्रको चरित्र देखिएको उनको टिप्पणी छ । 

‘सबभन्दा माथिका नेताको हुकुम चल्ने तर पार्टीका अन्य नेताहरूको केही नचल्ने टाइपको स्थिति छ,’ श्रेष्ठ भन्छन्, ‘हुकुमीतन्त्रको कारणले नै यस्तो भएको हो ।’ आर्यघाटमा नपुगुञ्जेल कुर्सी छाड्ने हैन भन्ने मनोभाव नेताहरूमा रहेको उनको विश्लेषण छ । कार्यकर्ताले विद्रोह गरेर अघि नगएसम्म पुरानैको हालीमुहाली रहिरहने श्रेष्ठको भनाइ छ । ‘कार्यकर्ताले या त बिद्रोह गर्नुपर्‍यो या चर्को स्वरले बोल्नुपर्‍यो यदि त्यसो नगर्ने हो भने फेरि यिनै व्यक्तिहरू सत्ता र शक्तिमा रमाउँछन्,’ उनी भन्छन्, ‘पुराना नेताले चुनाव जित्ने अवस्था छैन । जनताको ध्यान नयाँमा गएको देखिन्छ ।

काठमाडौंका मेयरले जितेको अवस्था हामी हेर्न सक्छौं । जनता परिवर्तन चाहन्छन् । नेताहरू यथास्थिति लाद्न चाहान्छन् । नेपालमा जनता, सबै पक्ष मिडिया, नागरिक समाज लगायतका क्षेत्रहरू परिवर्तन चाहने नेतृत्व भने परिवर्तित हुन नचाहने जर्जर अवस्था देखिन्छ । यसको लागि जनतामा विद्रोह नै हुनुपर्छ ।’

संविधानविद् नीलाम्बर आचार्य भने पार्टीमा रूपान्तरण र पुस्तान्तरण भइरहेको बताउँछन्। उनी भन्छन्, ‘परिवर्तन भइरहेको छ । परिवर्तन हुन्छ । हाम्रा पूर्वप्रधानमन्त्रीहरू कति जिउँदै छन् हेर्नु त ! कहाँ एउटै मान्छेले चलाएको छ त ? रूपान्तरण पनि भएकै छ । पुस्तान्तरण पनि भएकै छ ।’ संविधानविद् आचार्य राजनीतिक अस्थीरता मुख्य समस्याको जड भएको बताउँछन् । उनले प्रश्न गरे ‘एउटै पुस्ताले उसको पुरा कार्यकाल चलाएको छ ? 

उनले मुलुकमा ३/४ वटा पार्टी बलियो रूपमा देखिएको बताए। ती भएन भनेर नयाँ पार्टी सय बढी खोलिसके तर काम खोइ हुन सकेको ? पार्टी खोल्नु अर्कोले गरेन भनेर कमजोरी निकाल्नु एकदमै फरक कुरा हो,’ उनले भने । राजनीतिक बिश्लेषक शंकर तिवारी राजनीतिक दलमा २१ औं शताब्दी सुहाउँदो लोकतान्त्रिक चरित्र नभएको निश्कर्ष सुनाउँछन् । उनी भन्छन्, ‘म राजनीतिशास्त्रको विद्यार्थी भएका हिसाबले नेपालका राजनीतिक दलहरूको विधान लोकतान्त्रिक छैन । २१ औं शताब्दी सुहाउँदो लोकतान्त्रिक छैन भन्ने मेरो निष्कर्ष हो ।’

तिवारी लोकतान्त्रिक राजनीतिक दलको लोकतान्त्रिक प्यारामिटर कार्यकालको हदम्याद राखेर नहुने पनि उनको भनाइ छ।  ‘राजनीतिक दल जनताका सम्पत्ति हुन्,’ उनी भन्छन्, ‘पार्टीका कार्यकर्ता मात्र सम्पत्ति हैन । त्यही भएर तिनका शर्तमा राजनीतिक दलका नेताले पद छाड्नुपर्छ । पहिलो दल आमनिर्वाचनमा पहिलो भएन भने छाड्नुपर्छ ।’ उनी भन्छन्, ‘प्रधानमन्त्री पनि उही व्यक्ति छ, पार्टीको सभापति पनि उही छ । तर, पनि उसको एजेन्डाले देशलाई सही नेतृत्व गर्न सकेन भने पनि छोड्नुपर्छ । र राष्ट्रिय एजेन्डा लिड गर्न नसके पनि छोड्नुपर्छ ।’ पार्टी कब्जा गरेर लामो समय टिकिरहने मनोवृत्ति त्याग्नुपर्ने उनको भनाइ छ । 

जेन–जी आन्दोलनको संकेत 
सुशासन र भ्रष्टाचार विरोधमा भएको जेन–जी आन्दोलनले पुराना पार्टीमा पुस्तान्तरण र रूपान्तरण हुनुपर्ने स्पष्ट सन्देश दिएको थियो । कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्व परिवर्तनको विषय जेन–जी आन्दोलनले जोडदार उठाएको थियो ।

सुरुवातमा जेन–जीका आगुवाहरूले पुराना दलकै विकल्पमा जानुपर्ने आवाज पनि उठाएका थिए । लोकतन्त्रका दलको विकल्प हुन नसकिने बुझेर नेतृत्वको परिवर्तनको विषयले प्राथमिकता पायो । आन्दोलनको रापतापको बेला केहीले नेतृत्वबाट बिदा लिएर पुस्तान्तरण र रूपान्तरणको संकेत पनि गरे । 

ठूला दल, पाका नेताको एउटै ताल 
कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्र (नेपाली कम्युनिस्ट पार्टी) मात्रै होइन, रास्वपा र राप्रपालगायतका दलको ताल पनि एउटै छ । उनीहरूको नेतृत्व, नीति र कार्यशैलीमा परिवर्तन भएको महसुस जनताले गरेका छैनन् । पुरानै तरिकाले चलिरहेका छन् । नेताहरूका भाषणमा मात्रै रूपान्तरण र पुस्तान्तरणको विषय उठिरहेको छ । पार्टीमा एमाले अध्यक्ष ओलीको नेतृत्व तत्काल रोक्ने अवस्था छैन ।

उनले त २३ र २४ गते घटनालाई आन्दोलन नै मानेका छैनन् । जेन–जी आन्दोलनलाई प्रतिक्रान्ति भन्दै आएका छन । पार्टीमा दह्रो पकड जमाएर बसेका ओलीको विकल्प खोज्ने नेताहरू सिमित छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरू ओलीको विकल्पको खोजी गरिरहेका छन् ।

प्रचण्डले माओवादी केन्द्रको केन्द्रीय समिति नै भंग गरे । आफू संयोजक बने । सबै पदाधिकारीको पद खोसे । मंसिरमा विशेष महाधिवेशन गर्ने घोषणा गरे । त्यसपछि पार्टी एकता अभियानमा लागे । पार्टीको नाम नै परिवर्तन गरे। अहिले प्रचण्ड नेपाली कम्युनिस्ट पार्टीको संयोजक छन् । रास्वपामा नेतृत्व परिवर्तनको आवाज उठाउनेहरू किनारा लागिरहेका छन् । यद्यपि, पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जेलमा छन । तर, जेलमा रहे पनि पद छोड्न चाहदैनन् । 

सुशासन प्रमुख सबाल 
मुलुकको मुख्य समस्या हो– कुशासन । कुशासन र भ्रष्टाचारकै कारण जनतामा सरकार र पुराना पार्टीप्रति असन्तुष्टि, आक्रोश र निराशा छाएको हो । यही विषय जेन–जी आन्दोलनको मुख्य आधार बन्यो । जेन–जीले भ्रष्टाचार नियन्त्रण र सुशासनको सवाल उठाएर आन्दोलन गरे । उनीहरूको आन्दोलनको ऐजेण्डा नै भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रमुख सबाल थियो । सामाजिक सञ्जाल बन्दले छटपटाएका नवयुवाहरूको आन्दोलनबाट कांग्रेस र एमालेको दुईतिहाइको सरकार नै उलटपुलट भयो । तै पनि मुलुकमा भ्रष्टाचार संस्थागत छ । सेवा प्रवाह लथालिंग छ । 

दलहरू : तल कराउने, माथि दबाउने 
दलहरूमा तल मात्रै विरोधका स्वर सुनिन्छन् । तर, विरोध गर्नेहरूका स्वर माथिबाट दबाउने परिपाटी छ । विरोध गर्नेलाई सत्ता शक्तिको प्रभाव र दबाबमा किनारा पार्ने गरिएको छ । 
वितृष्णाले गुट–उपगुट फुट 
पछिल्लो समय दलहरूभित्र पनि व्यापक असन्तुष्टि छ, निरासा छ, वितृष्णा छ । जसले गर्दा दलहरूमा गुट–उपगुट सिर्जना भएका छन् । कतिपय पार्टी फुटको अवस्थामा पनि पुगेका छन् । कांग्रेसमा देखिएका तीन समूह (गुट) छन् । संस्थापन, शेखर कोइराला र गगन थापा । उपगुट त कति छन् कति । एमालेमा संस्थापन र ईश्वर पोखरेल समूह बनेको छ । पोखरेल समूहको संरक्षकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी देखिएकी छिन् । 

तत्कालीन माओवादी केन्द्रमा नेतृत्वको विरोध गरेकै कारण उपमहासचिव जनार्दन शर्मा, सुदन किराती र राम कार्की पार्टीमा अट्न सकेनन् । नयाँ पार्टी बनाएका छन् । जसलाई रास्वपा छोडेका सन्तोष परियारले पनि साथ दिएका छन् । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले जेन–जी आन्दोलन लगत्तै रास्वपा पार्टी छोडिन् । अन्य नेताले पनि रास्वपा छोडेका छन् । तत्कालीन एकीकृत समाजवादीबाट महासचिव घनश्याम भुसाल नै निस्किए ।

हुन त प्रचण्ड एकीकृत समाजवादीसहित दर्जन साना दललाई समेटेर नेपाली कम्युनिस्ट पार्टी पनि बनाएका छन् । राप्रपामा महामन्त्री धवलशमशेर राणाको छुट्टै गुट छ । अध्यक्ष राजेन्द्र लिङ्गदेन र महामन्त्री राणाको ठूलो टकराव छ । डा. सिके राउतले नेतृत्व गरेको जनमत पार्टी पनि विभाजित भएको छ । टीकापुर घटनाबाट उब्जिएर बनेको पार्टी नागरिक उन्मुक्ति पनि फुटेको छ । संरक्षक रेशम चौधरीले छुट्टै पार्टी बनाएका छन् । 

हाम्रा पूर्वप्रधानमन्त्रीहरू कतिजना जिउँदै छन्, हेर्नुत ! कहाँ एउटै मान्छेले चलाएको छ त ? रूपान्तरण पनि भएकै छ । पुस्तान्तरण पनि भएकै छ । एउटै पुस्ताले उसको पूरा कार्यकाल चलाएको छ ? नेपालमा ३,४ वटा पार्टी बलियो रूपमा देखिएका छन् । ती भएनन् भनेर सय बढी नयाँ पार्टी खुलिसके । तर, खोइ काम हुन सकेको ? पार्टी खोल्नु र अर्कोले गरेन भनेर कमजोरी निकाल्नु एकदमै फरक कुरा हो । 
नीलाम्बर आचार्य, संविधानविद् 

राजनीतिक नेतृत्व सुध्रिएको छैन । उनीहरू अझै पनि सत्ता र पार्टीमा आफ्नै पकड बनाइराख्ने सुरसारमा छन् । पार्टीहरूमा अझै पनि राजतन्त्रकै हुकुमीशैली चलिरहेको देखिन्छ । सबैभन्दा माथिका नेताको हुकुम चल्ने पार्टीका नेताहरूको केही नचल्ने टाइपको स्थिति छ । आर्यघाटमा नपुगुञ्जेल कुर्सी छोड्नु हुँदैन भन्ने मनोभाव छ । कार्यकर्ताले या त बिद्रोह गर्नुपर्‍यो या चर्को स्वरले बोल्नुपर्‍यो । 
श्याम श्रेष्ठ, राजनीति विश्लेषक

राजनैतिक दल जनताका सम्पत्ति हुन् । जनताको शर्तअनुसार काम गर्न नसके राजनैतिक दलका नेताले पद छाड्नुपर्छ । 
पहिलो दल आमनिर्वाचनमा पहिलो भएन भने नेतृत्वले छोड्नुपर्छ । प्रधानमन्त्री पनि उही व्यक्ति, पार्टी सभापति पनि उही व्यक्ति । तर, पनि उसको एजेन्डाले देशलाई सही नेतृत्व गर्न सकेन भने पनि छोड्नुपर्छ । र राष्ट्रिय एजेन्डा लिड गर्न नसके पनि छोड्नुपर्छ । 
शंकर तिवारी, राजनीति विश्लेषक
 

जति गरे पनि कार्यशैली उही 
अझै पनि दलहरूको कार्यशैलीमा परिवर्तन आएकै छैन । उनीहरू पुरानै ढर्राबाट चलिरहेका छन् । कार्यशैली परिवर्तन भएको न कार्यकर्ता न जनताले महसुस गरेका छन् । हुन महाधिवेशनमा एमाले २० प्रतिशत ४० वर्षभन्दा कमका युवालाई प्रतिनिधि बनाएको छ । यसलाई भने पछिल्लो घटनाक्रमको एउटा उपलब्धि मान्न सकिन्छ। तर, यतिले मात्रै नेतृत्वले छुट पाउने अवस्था छैन । 

महाधिवेशनः पुरानैलाई थप्ने पर्व 
जेन–जी आन्दोलनपछि कांग्रेस र एमालेले पार्टीका महाधिवेशन गर्दैछन् । एमाले महाधिवेशन मंसिर २७ देखि २९ सम्म हुँदैछ । जेन–जी आन्दोलनपछि सबैभन्दा पहिला महाधिवेशनको घोषणा गरेका पुष्पकमल दाहाल भने एकता सन्देशसभा भन्दै देश दौडाहामा छन् । उनले महाधिवेशन घोषणा गरेको पनि बिर्सिसकेका होलान । कांग्रेसले पुस अन्तिममा महाधिवेशन गर्ने घोषणा गरेको छ । 

यी महाधिवेशन केवल पुरानैलाई थप्ने पर्वका रूपमा हुने निश्चित जस्तै छन् । केही यताउता होलान, अधिकांश पुरानै अनुहार नेतृत्वमा आउने निश्चित छ । कांग्रेसमा नेतृत्व दाबी गरिरहेका संस्थापनका पूर्णबहादुर खड्का हुन वा इतर पक्षका डा. शेखर कोइराला वा गगन थापा । उनीहरू आउँदैमा पुस्तान्तरण र रूपान्तरणको महसुस होला त ? 

एमालेमा पुस्तान्तरण र हस्तान्तरण मुद्दा उठाएर फरक मत राखेको ईश्वर पोखरेल पक्षमा पनि व्यवहारमा उही ताल देखिएको छ । ७० वर्षको उमेर हदका पक्षमा रहेको बताउँदै गर्दा उनी आफैं उक्त उमेर समूहका हुन् । अर्को प्रतिस्पर्धा स्वच्छ हुनुपर्नेमा नेताहरू एकअर्कामा आरोप पत्यारोपमा उत्रेका देखिन्छन् । राजनीतिक विश्लेषक आचार्य एमालेको अध्यक्षमा केपी ओली पुनः आउने कुरामा टाउको दुखाउन जरुरी नरहेको बताउँछन् ।
‘ओली एमालेको अध्यक्षमा उठ्न लाग्नुभएको छ, अनावश्यक टाउको अरूको दुखेको छ । यो दलिय स्वतन्त्रताको कुरा हो । दलले जसको नेतृत्व स्विकार्छ उही व्यक्ति भइराख्छ, उनले भने, ‘अनि अर्कोतिर नयाँले गर्छु भनेर कहाँ हुन्छ ? खोइ त रास्वपा आउन पाएको छैन ३,४ महिनामै पार्टीका अध्यक्ष गृहमन्त्री हुनुभयो त्यो पनि रूपान्तरण हो नि ।’ 

एमाले नेता कृष्ण दाहाल ईश्वर पोखरेलको नेतृत्वमा आएमा पुस्तान्तरण नभए पनि हस्तान्तरण भने हुने बताउँछन् । ‘पुस्तान्तरण त अहिले सम्भव छैन्, पोखरेल आएमा हस्तान्तरण भने हुन्छ, नत्र त्यो पनि हुँदैन।’

 null

एकछत्र शक्ति
ठूला राजनीतिक दलमा एकछत्र शक्ति सीमित नेताको हातमा छ । ०४६ सालको परिवर्तनपछि पार्टी सत्तामा एकल बर्चश्व रहँदै आएको छ । सबैभन्दा ठूलो दल कांग्रेसमा लामो समयदेखि तीनै नेताहरूको हालमुहाली छ । ०४६ सालको परिवर्तनपछिका नेताहरू हालसम्म छन् ।

पार्टी विधानअनुसार पुनः तेस्रो कार्यकाल नेतृत्व लिन नमिल्ने भएपछि देउवाले आगामी महाधिवेशनमा उम्मेदवार बन्न पाउने छैनन् । यद्यपि, एक पटक पुन डडेल्धुराबाट निर्वाचन लड्ने बताइरहेका छन् । २०४८, २०५१,२०५६,२०६४,२०७०,२०७४ र २०७९ को निर्वाचन गरी देउवा ७ पटक निर्वाचित भइसकेका छन् । २०४८ सालमा गृहमन्त्री बनेका देउवा ५ पटक प्रधानमन्त्री पनि बनेका छन् ।

नेपाली कांग्रेस प्रजातान्त्रिक हुँदै नेपाली कांग्रेसको नेतृत्वमा विगत अढाई दशकदेखि देउवा छन् । एमाले अध्यक्ष ओली २०४८ को निर्वाचनदेखि नै जनप्रतिनिधि बनेका हुन् । २०६४ मा मात्रै उनी पराजित भएका थिए । झापाबाट ६ पटक निर्वाचित भइसकेका छन् । ०५१ सालमा ओली गृहमन्त्री थिए । पूर्वपरराष्ट्रमन्त्री ओली ४ पटक प्रधानमन्त्री भइसकेका छन् । पटक–पटक प्रधानमन्त्री भए पनि उनीहरूको जम्मा कार्यकालचाहिँ ५/६ वर्षभन्दा बढी छैन् । 

विगत एक दशकदेखि केपी ओली पार्टीको नेतृत्वमा छन् । २०७१ सालको नवौ महाधिवशेनबाट नेतृत्वमा आएका ओली २०७५ मा नेकप हुँदै २०७८ सालको १० औं महाधिवेशनमा पनि नेतृत्वमा रहिरहे । अब ११ औं महाधिवेशनमा नेतृत्वमा आएमा उनको तेस्रो कार्यकाल पार्टीमा नेतृत्व हुनेछ । उता नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड त ३६ वर्षदेखि एकछत्र पार्टीको नेतृत्व गरिरहेका छन् । उनको विरुद्ध अगाडि आउने आफैं किनारा लागिरहेका छन् । ०६४ सालको पहिलो संविधानसभा संसदीय राजनीतिमा आएका प्रचण्ड पनि २०७०, २०७४ र २०७९ गरी ४ पटक सांसद भइसकेका छन् । 

२०६५ मा गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री बनेका प्रचण्ड तीन पटक प्रधानमन्त्री भइसकेका छन् । नयाँ दलको रूपमा उदाएको रास्वपाको अवस्था उस्तै छ । ठगीको मुद्दा लागेर जेलमा रहँदा पनि सभापति रवि लामिछानेले नैतिकताको आधारमा पार्टीको नेतृत्व छोड्न मानेका छैनन् । मधेस केन्द्रित जसपा नेपालमा स्थापनाकालदेखि उपेन्द्र यादवको नेतृत्व रहँदै आएको छ । लोसपा पनि महन्थ ठाकुरकै नेतृत्वमा लामो समयदेखि चलिरहेको छ । 


 

Post a Comment

0 Comments