https://annapurnapost.com/story/483152/
६५ वर्ष भूमिगत मोहनविक्रम अब खुला राजनीतिमा
९० वर्षमा खुला राजनीतिमा


काठमाडौं : लामो समयदेखि भूमिगत र अर्धभूमिगत रहेका नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह खुला राजनीतिमा आएका छन् । साउन ९ र १० गते बसेको केन्द्रीय समितिको बैठकले पार्टी महामन्त्री सिंहलाई सार्वजनिक गर्ने निर्णय गरेको हो ।

महामन्त्री सिंह पञ्चायतकालमा पूरै भूमिगत अवस्था थिए । सिंहविरुद्ध वारेन्ट जारी गरिएको थियो । बहुदलीय अवस्था आएपछि सिंहविरुद्ध वारेन्ट थिएन तर नेकपा मसालले आफ्नो संगठनलाई भूमिगत राख्ने निर्णय ग¥यो । बहुदलमा केन्द्रीय वा जिल्ला स्तरमा प्रवक्ताहरूलाई खुला राख्ने र महामन्त्री सिंहलाई अर्धभूमिगत राख्ने नीति अपनाइएको थियो । अर्धभूमिगतको अवस्थामा कुनै स्पष्ट व्याख्या थिएन ।


विभिन्न समयमा परिस्थिति वा आवश्यकताअनुसार त्यसबारे बेग्ला–बेग्लै निर्णयहरू हँुदै आएका थिए । पहिले फोटो खिच्न पनि नदिने, टिभी, रेडियोमा गएर अन्तर्वार्ता पनि नदिने नीति अपनाइएको थियो । पछि यो नीतिमा खुला र खुकुलो पार्दै जाने नीति अपनाइएको थियो । पछिल्लो समयमा बाह्य र सार्वजनिक कार्यक्रममा नजाने तर आन्तरिक कार्यक्रमहरूमा सामेल हुन सक्ने नीति अख्तियार गरियो । अर्धभूमिगत अवस्थामा पनि बेग्ला–बेग्लै समयमा बेग्लाबेग्लै निर्णयहरू हुँदै आएका छन् । गणतन्त्र आएपछि पनि उनी अर्धभूमिगत अवस्थामा नै रहे ।

अब देशमा बढिरहेको प्रतिगमन र साम्राज्यवादका कारणले देशको राष्ट्रिय र सार्वभौमिकतामा खतरा बढ्दै गएकाले जनताबीच गएर खुला रूपमा विचार लैजानुपर्ने भएकाले आफू सार्वजनिक हुनु परेको प्रेस विज्ञप्तिमार्फत उनले जनाएका छन् । मसालको केन्द्रीय समिति बैठकले पार्टीको संगठनात्मक प्रणाली पहिले जस्तै भूमिगत रहने निर्णय गरेको छ । महामन्त्री सिंहद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको संगठनात्मक प्रणाली पहिले जस्तो नै भूमिगत रहनेछ र पार्टीका प्रवक्ताहरू खुला राख्ने पहिलेको नीति कायम रहनेछ ।’
२००६ साल वैशाख १० मा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको २०१४ सालमा केन्द्रीय सदस्यमा निर्वाचित भएका सिंह निरन्तर कम्युनिस्ट राजनीतिमा क्रियाशील छन् । प्युठानका सिंह २०१४ साल जेठ १५ देखि २५ सम्म काठमाडौंमा भएको नेकपाको दोस्रो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । नेकपाको दोस्रो महाधिवेशनले केशरजंग रायमाझीलाई महासचिवमा निर्वाचित गरेको थियो ।
२०१७ पुस १ मा तत्कालीन राजा महेन्द्रले कु गरेर शासनसत्ता आफ्नो हातमा लिए । राजाको कदमको विषयमा त्यो बेला कम्युनिस्ट पार्टीको दुई धार भयो । महासचिव रायमाझीले राजाको कदमलाई स्वागत गरे । पुष्पलाल, मोहनविक्रम सिंह, तुलसीलाल अमात्य र मनमोहन अधिकारीले राजा महेन्द्रको कदमको विपक्षमा थिए । पञ्चायती शासन आएपछि २०१९ वैशाख ४ देखि १५ सम्म भारतको बनारसमा नेकपाको तेस्रो महाधिवेशन भयो । त्यो महाधिवेशनमा तुल्सीलाल अमात्य महासचिव भए भने सिंह पोलिटब्युरो सदस्यमा निर्वाचित भए । त्यो बेला पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी पनि पोलिटब्युरो सदस्यमा नै निर्वाचित भएका थिए । तेस्रो महाधिवेशनसँगै नेकपाभित्र विवाद र अन्तरसंघर्ष चुलिँदै गयो । रायमाझीकोे समूह छुट्टै रह्यो । उनी राजावादी नै भए ।
कम्युनिस्ट आन्दोलन छरिएर रहेको र कम्युनिस्ट पार्टी विभाजित रहेको अवस्थामा यसलाई संयोजन गर्नका लागि २०२८ मंसिर २० मा नेता सिंहसहित मनमोहन अधिकारी र शम्भुराज श्रेष्ठ लगायतका नेताहरू समेटर ‘केन्द्रीय न्युक्लियस’ गठन गरियो र एकताका लागि कोसिस थालियो तर एकताका लागि न्युक्लियसले पुष्पलालसँग पनि वार्ता र छलफल गरेर सहमति गर्न सकेन ।
उता २०२८ सालमा झापामा सीपी मैनालीको नेतृत्वमा छुट्टै समूह बन्यो । झापा विद्रोह भनेर इतिहासमा अंकित छ । २०३१ भदौ ३० देखि असोज ७ सम्म भारतको वारानासीमा मोहनविक्रम सिंहको अगुवाईमा चौथो महाधिवेशन भयो । एउटा समूह मोहनविक्रम सिंह र अर्को समूह सीपी मैनालीको नेतृत्वमा रह्यो ।
0 Comments