सांगठनिक संरचनामा व्यापक फेरबदलको तयारी : काँटछाँटतिर एमाले


सांगठनिक संरचनामा व्यापक फेरबदलको तयारी

काँटछाँटतिर एमाले

काँटछाँटतिर एमाले
4.7kShares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौं : एमालेले पार्टी कमिटी चुस्त बनाउने लक्ष्यसहित सांगठनिक संरचनामा व्यापक फेरबदलको तयारी गरेको छ । नयाँ विधान संशोधन प्रस्तावअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको संख्या घटाउने, सचिवालय खारेज गर्ने, वरिष्ठ उपाध्यक्ष पद हटाउनेजस्ता निर्णयमा एमाले अग्रसर भएको छ ।  

उपाध्यक्ष विष्णुप्रसाद पौडेलले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा अध्यक्षसहित १५ पदाधिकारीको व्यवस्था गरिएको छ । हालको विधानमा १९ जना पदाधिकारी छन् । प्रस्तावअनुसार अब अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३ र सचिव ७ हुनेछन् । यसैगरी, ३ सय ०१ सदस्यीय केन्द्रीय कमिटीलाई २ सय ५१ मा सीमित गरिनेछ ।

निवर्तमान अध्यक्ष स्वतः वरिष्ठ नेता हुने प्रावधान पनि हटाइएको छ । पार्टीले अनिर्वाचित व्यक्तिलाई कार्यकारी तहमा राख्नु लोकतान्त्रिक मूल्यविरुद्ध भएको निष्कर्ष निकालेको छ ।

सचिवालय खारेज, पोलिटब्युरो र स्थायी कमिटी सीमित
नयाँ विधान प्रस्तावमा केन्द्रीय सचिवालयको व्यवस्था खारेज गरिएको छ । पदाधिकारी नै सचिवालयका सदस्य रहने व्यवस्था अब हटाइनेछ । पार्टीको अनुभवका आधारमा धेरै संगठनात्मक तह बनाएर अन्तरपार्टी लोकतन्त्र कमजोर भएको भन्दै सचिवालयको आवश्यकता नरहेको ठहर गरिएको नेताहरूले बताए । 

अब केन्द्रीय तहमा स्थायी कमिटी र पोलिटब्युरो मात्रै रहनेछ । स्थायी कमिटीमा अध्यक्षसहित १५ जना पदाधिकारी रहनेछन्, हाल यो संख्या ४५ छ । पोलिटब्युरो सदस्य संख्या पनि घटाइनेछ । प्रस्तावअनुसार केन्द्रीय कमिटीबाट एकतिहाइ सदस्य पोलिटब्युरोमा चयन गरिनेछ ।

महासचिवको नेतृत्वमा केन्द्रीय कार्यालय सञ्चालन गरिने भए पनि पृथक् कार्यालय कमिटी गठन नगर्ने भनिएको छ । यसले सुस्पष्ट कार्यविभाजन र नतिजामूलक कार्यसम्पादनमा सहयोग पु¥याउने एमालेले ठानेको छ । ‘धेरै संठगनात्मक संरचना  हुँदा छरितो र गुणस्तरीय कार्यसम्पादन हुन सक्दैन,’ प्रस्तावित विधानमा भनिएको छ, केन्द्रीय तहमा विद्यमान केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी, केन्द्रीय सचिवालय र केन्द्रीय कार्यालयको अभ्यासबाट हामीलाई यस्तै अनुभव प्राप्त  भएको छ ।’

बहुपदीय प्रणालीमा अध्यक्ष कार्यकारी
पार्टीले अध्यक्षलाई कार्यकारी प्रमुखको हैसियतमा राखेर अन्य सबै पदाधिकारी र समिति अध्यक्षप्रति जवाफदेही रहने बहुपदीय प्रणाली कायम राखेको छ । विधानमा भनिएको छ, ‘हामीले अवलम्बन गरेको बहुपदीय प्रणाली अध्यक्ष कार्यकारी प्रमुख हुने, विचार, नीति र संगठनात्मक कामको नेतृत्व गर्ने व्यवस्था हो ।’

तर, पार्टीभित्र कतिपय भ्रमपूर्ण बुझाइहरू छन् जसले फरकफरक पदाधिकारीलाई मुख्य नेता ठान्ने प्रवृत्ति जन्माएको उल्लेख गरिएको छ । यस्तो बुझाइले द्वैध नेतृत्व र शक्ति सन्तुलनमा समस्या उत्पन्न गर्ने खतरा देखिएको छ । 

उमेर हद र कार्यकाल सीमा हटाइयो
पार्टीको संशोधित विधानमा ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाइएको छ । यो प्रस्ताव पार्टीभित्र व्यापक बहसको विषय बनेको थियो । वरिष्ठ उपाध्यक्षको पद पनि खारेज गरिने प्रस्ताव छ । हाल यस पदमा ईश्वर पोखरेल छन् । यसलाई हटाएर पहिलो वरीयताको उपाध्यक्ष राख्ने नयाँ संरचना प्रस्ताव गरिएको हो ।

दुई प्रकारका सदस्यता र समावेशी संरचना

विधानमा अब पार्टी सदस्यता दुई प्रकारको हुनेछ : सामान्य सदस्य र संगठित सदस्य । संगठित सदस्यता ती नागरिकलाई दिइनेछ जो पार्टीको नीति, नेतृत्व र संगठन निर्माणमा प्रत्यक्ष संलग्न छन् ।

प्रदेश तथा जिल्ला कमिटीमा कम्तीमा एक महिला रहने गरी दुई उपसचिवको व्यवस्था गरिएको छ । पार्टीलाई वडादेखि टोल तहसम्म विस्तार गर्ने लक्ष्यसहित सम्पर्क समिति संरचना थप सुदृढ गरिनेछ । काठमाडौं उपत्यकामा मतदाता नामावलीमा नाम रहेको व्यक्ति कुनै सम्पर्क कमिटी वा मञ्चको पदाधिकारी बन्न नपाउने प्रावधान पनि प्रस्तावमा उल्लेख छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ बाट ‘राष्ट्रिय गन्तव्य’ सम्म
नयाँ विधानको प्रस्तावनामा पनि भाषिक र भावनात्मक संशोधन गरिएको छ । अब ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा’ भन्ने सन्दर्भलाई ‘राष्ट्रिय गन्तव्य’ मा रूपान्तरण गरिएको छ ।

त्यस्तै, ‘समाजवाद स्थापना गर्न प्रतिबद्ध छ’ भन्ने उद्देश्यलाई ‘नेपाली विशेषतासहितको समाजवादको स्थापना गर्न प्रतिबद्ध’ भन्ने वाक्यांशद्वारा प्रतिस्थापन गरिएको छ ।

एमालेले आफूलाई ‘जनआधारित कार्यकर्ताको पार्टी’ भनेर परिभाषित गर्ने विधानमा पनि स्पष्ट उल्लेख गरिएको छ । यसले नीति निर्माणमा सचेत र संगठित कार्यकर्ताको निर्णायक भूमिका सुनिश्चित गर्ने बताइएको छ ।

सदस्यता संख्या साढे ६ लाख नाघ्यो
एमालेको सदस्य संख्या साढे ६ लाख नाघेको छ । महासचिव शंकर पोखरेलले २८ प्रतिशत सदस्य संख्या वृद्धि भएको संगठनात्मक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

पोलिटब्युरो सदस्य विशाल भट्टराईका अनुसार हालसम्म ६ लाख ५० हजार सदस्य पुगिसकेका छन् । विगत वर्षको तुलनामा यो उल्लेखनीय वृद्धि हो । प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले यो विवरण प्रारम्भिक भएको र आउने क्रम जारी  रहेको जानकारी दिए । हालसम्म ७ सय ५३ पालिकामध्ये ६ सय ५३ मा अधिवेशन सम्पन्न भइसकेको छ । सुदूरपश्चिम प्रदेशमा सबै पालिकाको अधिवेशन सकिएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र मधेस प्रदेशका केही पालिकामा अधिवेशन हुन बाँकी छ ।

ओलीको भनाइ, ‘झुटको खेतीविरुद्ध एकढिक्का बनौं’

अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै पार्टीविरुद्ध झुट र अफवाह फैलाउने प्रयास भइरहेको बताएका छन् । ‘हाम्रो पार्टी वैचारिक र नीतिगत रूपमा एकढिक्का छ । विरोधीहरूले विचार र काममा प्रतिस्पर्धा गर्न नसकेर गोयबल्स शैलीमा झुट फैलाइरहेका छन्,’ अध्यक्ष ओलीले भने । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ता सम्बन्धमा पनि प्रस्ट पारे । ‘मैले विद्याजीलाई भेटेँ, राष्ट्रपति पदको गरिमा र गणतन्त्रबारे छलफल गर्यौं,’ उनले भने ।

भण्डारी राजनीतिमा सक्रिय हुने विषयमा पार्टीभित्र मतभिन्नता देखिएको छ । कोही उनलाई पार्टीमा स्वागतयोग्य भन्छन् भने कोहीले सेनाको परमाधिपति भइसकेको व्यक्ति राजनीतिमा आउनु उचित नहुने ठान्छन् ।

4.7kShares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

 

Post a Comment

0 Comments