विवाहको स्वरूप फेरिँदै, अविवाहितको संख्या बढ्दै


काठमाडौं : २०१८ सालमा विवाह नगर्ने पुरुषको संख्या २८ प्रतिशत थियो । तर, ०७८ मा ३८ प्रतिशत पुगेको छ । राष्ट्रिय जनगणनाको हालै सार्वजनिक गरिएको तथ्यांकअनुसार ६ दशकमा विवाह नगरी एक्लै बस्ने पुरुषको संख्या १० प्रतिशतले बढेको छ ।


यस्तै महिलाको संख्या पनि निकै बढेको तथ्यांकले देखाएको छ । जसअनुसार ०१८ सालमा विवाह नगरी एक्लै बस्ने महिलाको संख्या १५ प्रतिशत थियो । ०७८ मा २८ प्रतिशत पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको जनगणनाको प्रतिवेदनले मुलुकमा विवाह नगरी एकल जीवन बिताउनेको संख्या बढ्दै गएको छ । प्रतिवेदनअनुसार ०१८ मा अविवाहित पुरुष २८.४९ प्रतिशत थिए । ०२८ मा ३१.९३ प्रतिशत थिए । त्यस्तै २०३८ मा विवाह नगर्ने पुरुषको संख्या ३५.१२ र २०४८ मा ३५.६५ प्रतिशत थियो । ०५८ मा विवाह नगर्ने पुरुषको संख्या बढेर ३९.२३ पुग्यो । ०६८ मा ४०.५६ थियो ।


२०७८ मा ३८.२० प्रतिशत पुरुष विवाह नगरी एकल जीवन बिताइरहेको प्रतिवेदनले जनाएको छ । यस्तै ०१८ मा विवाह नगर्ने महिलाको संख्या १५.१२ थियो । २०२८ मा १९.३५,२०३८ मा २३.३, २०४८ मा २५.७१ र ०५८ मा ३०.२६ महिला विवाह नगरी एकल जीवन बिताएको भेटिएका थिए । ०६८ मा ३१.१३ र २०७८ मा विवाह नगर्ने महिलाको संख्या २८.४ प्रतिशत पुगेको छ ।


सहरी क्षेत्रमा अविवाहित बढी
ग्रामीण र अर्धसहरी क्षेत्रकोमा भन्दा सहरी क्षेत्रमा अविवाहित पुरुष तथा महिलाको अनुपात बढी देखिएको छ । ग्रामीण र अर्धसहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्याको वैवाहिक अवस्थामा त्यस्तो उल्लेखनीय भिन्नता देखिँदैन । राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछाने उच्च शिक्षामा अध्ययनमा महिलाको संख्या उल्लेख्य वृद्धि लगायतका कारणले अविवाहितको संख्या बढ्दै गएको देखिएको बताए ।
उनी भन्छन्, ‘उच्च शिक्षा अध्ययनमा महिलाहरूको संख्या उल्लेखनीय वृद्धि हुनु, रोजगारीमा संलग्न हुनु र केही गर्नुपर्छ भन्ने भावना तथा चेतनाको विकास, आत्मनिर्भरता बढ्दै जानुले पनि अविवाहित बढ्दै गएको देखिएको छ ।’
विवाहको उमेरमा परिवर्तन
पछिल्लो समय पुरुष तथा महिलाले परिपक्व उमेरमा विवाह गर्ने गरेको देखिएको छ । यस्तो परिवर्तन हँुदैहुँदा पनि बालविवाहको अवस्था, प्रजनन र पहिलो विवाहको उमेरमा समस्या भने विद्यमान नै छ । ०१८ सालमा १०० महिलामा लगभग १४ जना एकल (पतिको मृत्युका कारण) महिला थिए ।
०७८ मा त्यो संख्या घटेर ७ मा झरेको छ । जसले सानै उमेरमा एकल हुने पहिलेको चलन क्रमश बुढ्यौली उमेरतिर सरेको देखाएको छ । यस्तो गिरावटले पछिल्ला गणनाहरूमा कहिल्यै विवाह नगरेका पुरुष तथा महिलाको जनसंख्यामा तीव्र वृद्धि हुँदाहुँदै पनि प्रौढ उमेरसम्मको विवाहित जनसंख्याको अनुपातमा भएको वृद्धिलाई सामञ्जस्यताका साथ प्रस्तुत गरेको छ ।
प्रत्येक जनगणनामा विधुर (पत्नीको मृत्यु) को जनसंख्या विधवाको भन्दा उल्लेखनीय रूपले न्यून रहेको देखिएको छ । यसले विधुरहरूलाई पुनर्विवाह गर्नमा उपलब्ध सहजता, पुरुष र महिलाको जीवनप्रत्याशामा बढ्दो अन्तर र प्रौढावस्थामा पुरुष तथा महिलाको उमेरनिर्दिष्ट मृत्युदर जिम्मेवार रहेको अनुमान गरिएको छ ।
सम्बन्ध विच्छेद दोब्बर
सम्वन्ध विच्छेद भएका र छुट्टिएका महिलाहरूको संख्या ०१८ को ०.३४ प्रतिशतबाट २०७८ मा ०.६५ प्रतिशत पुगेको छ । अर्थात्, लगभग दोब्बर भएको छ । पुरुषहरूको लागि सो अवधिमा यो दर करिब उस्तै ( २०१८ र २०७८ मा ०.४ प्रतिशत) नै रहेको छ । उमेरअनुसार हेर्ने हो भने १०० पुरुषहरूमा करिब ९५ जनाले ४० वर्षको उमेरमा विवाह गरिसकेका हुन्छन् र ५५ वर्षको उमेरसम्म उनीहरूको वैवाहिक स्थिति अपरिवर्तित रहेको देखिएको छ । त्यस्तै, १०० महिलाहरूमा ९४ जना ३५ वर्षको उमेरभन्दा पहिले नै विवाह गर्छन् र ४५ वर्षको उमेरसम्ममा उनीहरूको वैवाहिक स्थिति परिवर्तन हुन थालेको देखिएको छ ।
यसले जनाउँछ कि ३५ वर्षपछि नेपाली पुरुष र महिलाहरूका लागि विवाह लगभग निश्चित छ । ५५ वर्षको उमेरपछि पुरुषहरूको ‘विवाहित’ भित्र गणना हुने अनुपात घट्न थालेको देखिएको छ । ‘महिलाहरूको हकमा यस्तो अनुपातको ओरालो यात्रा ५० वर्षपछि सुरु हुन थाल्छ उमेरको वृद्धि सँगसँगै एकल महिला र पारपाचुके/छुट्टिएका कारणले व्यक्तिहरूको वैवाहिक स्थिति परिवर्तन हुने कुरालाई सहजै बुझन् सकिन्छ ।’ प्रतिवेदनमा भनिएको छ ।
५० वर्षको उमेरपछि विवाहित’ मा गणना हुने व्यक्तिको अनुपात घट्ने दर महिलाहरूका लागि पुरुषहरूको तुलनामा तीव्र हुने देखिएको छ । यसले जीवनसाथीको मृत्यु वा सम्बन्धविच्छेद र छुट्टिएको कारण महिलाहरू नै बढी विवाह बन्धनबाट अलग हुने जोखिममा पर्ने अवस्था देखाइएको छ ।
विवाहको उमेर वृद्धि
विवाह गर्ने उमेरमा परिवर्तन भइरहेको छ । ३५ वर्षभन्दा कम उमेरका कहिल्यै विवाह नगरेका पुरुष र महिलाहरूको अनुपातमा क्रमशः वृद्धि भएको छ । २०१८ मा २०–२४ वर्षका ५ प्रतिशत महिला र २६ प्रतिशत पुरुषहरू कहिल्यै विवाह नगरेका थिए । ०७८ मा यो अनुपात क्रमशः ३८ र ६९ प्रतिशत पुगेको छ । सामान्यतयाः महिला र पुरुष दुवैका लागि ५० वर्षसम्म अविवाहित रहने सम्भावना ४५ वर्षपछि लगभग (२० भन्दा कम) समाप्त हुने
देखिएको छ ।
कहिल्यै विवाह नगरेका पुरुष र महिलाहरूको अनुपात सहरी, अर्धसहरी र ग्रामीण क्षेत्रसम्म नै घटेको छ भने यसको विपरीत, विवाहित र एकल (महिला–पुरुष) दुवैको अनुपात पनि त्यस्तै क्रममा घटेको छ । प्रदेशस्तरमा तुलना गर्दा, उमेर संरचनाअनुसार तुलना गर्दा बागमती प्रदेशमा विवाहित पुरुष तथा महिलाको अनुपात सबैभन्दा कम छ भने अविवाहित जनसंख्या सबैभन्दा बढी (पुरुषहरूतर्फ) यहीं रहेको देखिएको छ ।
जातजातिअनुसार कहिल्यै विवाह नगरेका र विवाह गरेका पुरुष तथा महिलाको अनुपातको आधारमा विवाहको व्यापकता तराई दलित, पहाडी दलित र तराई जनजातिहरूमा टड्कारो देखिएको छ । अझ महिलाहरूको सन्दर्भमा तराई जातजातिका समुदायमा यो विशेष देखिएको छ ।
साक्षरताको स्तर र माध्यमिक तह वा सोभन्दा माथिको शिक्षाले विवाहित व्यक्तिहरूको अनुपातसँग विपरीत सम्बन्ध रहेको देखिएको छ भने अविवाहित व्यक्तिहरू खासगरी महिलाको हकमा शिक्षाले सोझो र सकारात्मक सम्बन्ध रहेको देखाएको छ । आधारभूत तहको शिक्षा प्राप्त गरेका २४ प्रतिशत अविवाहित महिलाहरूको अनुपात माध्यमिक तहमा पुग्दा ३० प्रतिशतसम्म बढेको देखिएको छ। सोही शैक्षिक तहलाई आधार मानेर हेर्दा विवाहितको अनुपात ७० प्रतिशतबाट घटेर ६४ प्रतिशतमा सीमित भएको छ । विवाहित र अविवाहितको उमेरनिर्दिष्ट अनुपात निरक्षर जनसंख्याको तुलनामा साक्षर महिला तथा पुरुष दुवैको हकमा तीव्र रूपमा घट्ने र बिस्तारै बढ्न थाल्ने देखिएको छ ।
उच्च शिक्षा प्राप्त महिला धेरै अविवाहित
रोचक तथ्य यो छ कि उच्च शिक्षाप्राप्त महिलाहरू धेरैपछि मात्रै विवाह गर्ने गरेका छन । जसले विवाहको व्यापकतालाई शिक्षित महिलाहरूले भिन्न प्रकारले ग्रहण गरेको र अन्य कतिपय कारणले प्रभावित रहेको दर्शाउँछन् । उपप्रमुख तथ्यांक अधिकारी लामिछानेले काम र पढाइका कारण विदेशमा जाने महिलाको संख्या दुईतिहाइले वृद्धि लगायतका कारणले यो अवस्था देखिएको बताउँछन् ।
अपांगता भएका विवाहितहरूको अनुपात घट्दो
अपांगता भएका पुरुष तथा महिलाहरूमा अविवाहित, विधवा/विधुर र सम्बन्धविच्छेद छुट्टी भिन्न हुने अनुपात बढ्ने दरमा छ । विवाहितहरूको अनुपात घट्दो दरमा रहेको छ ।
जनगणनाको तथ्यांकअनुसार कुनै पनि प्रकारको अपांगता भएका ४३ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष अविवाहित छन् । कुनै पनि अपांगता नभएका १० वर्ष र सोभन्दा माथिका व्यक्तिहरूमा यो अनुपात क्रमशः २८ (महिला) र ३८ (पुरुष) प्रतिशत मात्र छ । विवाहको उच्चतम उमेर समूह ४५ वर्ष र सोभन्दा माथि पनि अपांगता भएका व्यक्तिहरूको विवाह दर पुरुषहरूका सन्दर्भमा ८४ प्रतिशत र महिलाहरूका सन्दर्भमा ७५ प्रतिशतभन्दा बढी भएको देखिँदैन । अपांगता भएका पुरुष तथा महिला दुवैका हकमा ६० वर्ष र सोभन्दा माथि पनि अविवाहित व्यक्तिहरूको अनुपात उच्च रहेको छ ।
सम्पन्नताअनुसार पनि विवाहित दर घट्दो
परिवारहरूको सम्पन्नताको तहअनुसार सबै जातजातिमा विवाहितको घट्दो र अविवाहितको बढ्दो अनुपात देखिएको छ । अति विपन्न वर्गमा विवाह नगरेका पुरुष र महिलाको अनुपात क्रमशः ३५ र २५ प्रतिशत रहेको छ । यसले सम्पन्नता र वैवाहिक अवस्थाका विचमा सकारात्मक सम्बन्ध रहेको देखाएको प्रतिवेदनमा छ।
अति सम्पन्न वर्गमा ४३ प्रतिशत पुरुष र ३४ प्रतिशत महिला अविवाहित नै रहेको देखिएको छ । अर्कोतिर अति सम्पन्न वर्गका ५५ प्रतिशत पुरुष र ६० प्रतिशत महिलाहरू विवाहित रहँदा अति विपन्न वर्गका ६२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलाहरूको विवाह भएको देखिन्छ । तर, सम्पन्नताको स्तरअनुसार विधवा/विधुर तथा सम्बन्धविच्छेद वा छुट्टिएर बसेका व्यक्तिहरूको अनुपातमा निचोड निकाल्न सकिने खालको ठोस भिन्नता रहेको नदेखिएको पनि प्रतिवेदनमा छ ।
२००९/११ देखि नेपालमा वैवाहिक स्थितिको तथ्यांक संकलन
नेपालले २००९/११ को जनगणनादेखि निश्चित वर्ष माथिको उमेरका जनसंख्याको वैवाहिक स्थितिका बारेमा तथ्यांक संकलन गर्दै आएको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी लामिछानेले बताए । उनका अुनसार मुलुकी देवानी संहिता, २०७४ का अनुसार यदि कुनै पुरुष र महिलाले एकअर्कालाई कुनै औपचारिक समारोह तथा कार्यक्रम वा अन्य कुनै अन्य माध्यमबाट एक अर्कालाई पति र पत्नीको रूपमा स्वीकार्छन् भने त्यसलाई विवाहको रूपमा स्वीकार गरेको छ । उक्त संहिताका अनुसार विवाह, विवाह गर्ने दुवै पक्षको स्व निर्णय र सहमतिमा हुनु पर्ने र दुवैको उमेर बीस वर्ष पुरा भएको हुनुपर्ने र दुवै व्यक्ति हाडनाताभित्रका नातेदार हुनुहुँदैन भनी किटान गरेको छ ।
संयुक्त राष्ट्रसंघ (२०२०) से जनगणना गर्ने प्रयोजनका लागि कम्तीमा पाँच प्रकारका वैवाहिक स्थितिजन्य प्रकारको सिफारिस गरेको पनि उनले जानकारी दिए । एकल वा कहिल्यै विवाह नगरेको, विवाह भएको, विवाह भएको तर छुट्टिएको, विधुर वा विधवा तर पुनः विवाह नगरेको, र पारपाचुके भएको तर पुनः विवाह नगरेको । यी पाँच किसिमका विवाहलाई नेपालमा २००९/११ को जनगणनादेखि २०७८ सम्म अविच्छिन्न रूपमा संकलन गरिएको उनले बताए । कहिल्यै विवाह नगरेको र विधुर वा विधवा भएकाको तथ्यांक सबै जनगणनामा करिब उस्तै रहेको देखिएको छ । २०५८ र २०६८ को जनगणनामा थप शब्दावलीहरू जस्तै एकल विवाह, बहुविवाह र पुनः विवाहसमेत समावेश गरी हालै विवाह भएको जनसंख्याको आकार निर्धारण गर्ने उद्देश्य राखिएको थियो ।
बालविवाह कायमै
मुलुकमा २० देखि २४ वर्ष उमेर समूहका २० जनामध्ये ५ प्रतिशत पुरुष र २२ प्रतिशत महिला १८ वर्षभन्दा अघि नै विवाहित छन् । यो अनुपात २०७८ को जनगणनाअनुसार ५५ वर्ष वा सोभन्दा माथिल्लो उमेर समूहमा पुग्दा पुरुषतर्फ २३ प्रतिशत र महिलातर्फ ५४ प्रतिशतले बढेको छ । १५ र १८ वर्षभन्दा कम उमेरमा विवाह हुने घटनाहरू अझै पनि विद्यमान छन् । १० वर्ष र सोभन्दा माथिको उमेर समूहमा प्रत्येक १० जनामध्ये १ पुरुष र ३ महिलाको १८ वर्षभन्दा अघि नै विवाह भइसकेको अवस्था छ ।
पछिल्लो ६० वर्षमा पुरुष तथा महिलाको पहिलो विवाह गर्नुअघिको सरदर उमेर हरेक दशकमा एक वर्षको दरले वृद्धि भएको छ । २०१८ मा क्रमश १९.५ वर्ष (पुरुष) र १५.४ वर्ष (महिला) रहेको यो औसत २०७८ मा पुरुषका लागि २५.५ वर्ष र महिलाका लागि २१.८ वर्ष पुगेको छ । पुरुष र महिलाको पहिलो विवाह गर्नुअघिको सरदर उमेरको भिन्नता ३.५ देखि ४ वर्षको बीचमा स्थिर रहँदै आएको छ जसले महिलाहरूको कलिलो उमेरमै विवाह गर्ने प्रवृत्ति पछिल्लो १० वर्षमा स्थिर नै रहेको संकेत गरेको छ । युवा उमेरको प्रारम्भिक चरणमा हुने विवाहको प्रवृत्ति विशेषतः कर्णाली र मधेस प्रदेशमा देखिएको छ ।
कर्णाली प्रदेशमा पुरुषको औसतमा २२.६ वर्षमा र महिलाको औसतमा २०.५ वर्षमा विवाह हुने गरेको देखिएको छ । मधेस प्रदेशमा महिलाको औसत २०.५ वर्षमा विवाह हुने गरेको छ जुन प्रदेशहरूमध्ये सबैभन्दा न्यून रहेको छ । बागमती प्रदेशमा पुरुषको २६.९ वर्ष र महिलाको २३.७ वर्षमा विवाह हुने गरेको छ ।
गाउँपालिकाको तुलनामा नगरपालिकाका पुरुष तथा महिलाले एक वर्ष ढिला विवाह गर्ने प्रवृत्ति देखिएको छ । त्यसैगरी पहाडी क्षेत्रका पुरुष तथा महिलाले तराई र हिमालका तिनका समकक्षीले भन्दा तुलनात्मक रूपले ढिलो विवाह गर्ने गरेको देखिएको छ ।
भारत, बंगलादेश, अफगानिस्तान जस्ता दक्षिण एसियाली देश र केही हदसम्म म्यान्मारसँग तुलना गर्ने हो भने कलिलो उमेरमा विवाह हुने ढाँचा उस्तै/उस्तै देखिएको छ । यी देशहरूमा पुरुषतर्फको पहिलो विवाह २६ वर्षसम्ममा र महिलाहरूको पहिलो विवाह २२ वर्षभित्रमा हुने गरेको देखिएको छ ।
जिल्लागत रूपमा पुरुषका हकमा काठमाडौं (२८.२ वर्ष) र महिलाका हकमा ललितपुर (२५.१ वर्ष) विवाहको औसत उमेर अधिकतम भएको जिल्ला हुन् भने सबैभन्दा कम उमेरमा विवाह गर्ने जिल्लाहरूमा सल्यान (महिलाका लागि २० वर्ष) र मुगु (पुरुषका लागि २२ वर्ष) पर्दछन् । २० वर्षभन्दा कम औसत उमेर ६० ओटा स्थानीय तहमा रहेको देखिएको छ ।
पहिलो विवाह २२ वर्षभन्दा कम हुने पुरुषहरू सबैभन्दा कम भएका जिल्लाहरू मधेस र कर्णाली प्रदेशमा पर्छन्, जबकि सबैभन्दा बढी भएका जिल्लाहरू बागमती र गण्डकी प्रदेशमा छन् । महिलाहरूको प्रारम्भिक उमेरमा विवाह गर्ने दर (२१ वर्षभन्दा कम) तराईका दलित, पहाडी दलित, धार्मिक तथा भाषिक समुदायहरू र तराईका जातजातिमा विद्यमान देखिएको छ ।
अठार वर्षमुनिका कुनै बालक बालिका वा प्रौढ र बालक बालिकाको बीचमा कुनै पनि औपचारिक विवाह वा अनौपचारिक सम्बन्ध भयो भने त्यसलाई बालविवाहका रूपमा बुझिन्छ । बालविवाहको विद्यमानता अनुमान गर्दा २०–२४ वर्ष उमेर समूहका व्यक्तिहरूको १५ वर्ष वा १८ वर्षभन्दा पहिले विवाह गर्ने अनुपातद्वारा मापन गरिन्छ, जुन एसडीजी सूचक ५.३.१ को लक्ष्य ५.३ (बाल विवाह, प्रारम्भिक विवाह, तथा जबरजस्ती विवाहको उन्मूलन अन्तर्गत पर्दछ ।
नेपालमा पछिल्लो जनगणना २०७८ अनुसार प्रति १०० जनसंख्यामा क्रमशः ३ महिला र १ पुरुषको १५ वर्षभन्दा अगाडि तथा २२ महिला र ५ पुरुषको १८ वर्षभन्दा अगाडि विवाह हुने गरेको देखिएको छ । बालविवाहको घटना तराई क्षेत्रमा पहाड तथा हिमालको तुलनामा धेरै देखिन्छ । ग्रामीण तथा अर्धसहरी क्षेत्रमा यो समस्या सहरी क्षेत्रको तुलनामा बढी छ। साथै, मधेस तथा कर्णाली प्रदेशमा अन्य प्रदेशहरूभन्दा बालविवाहको घटना उच्च रहेको छ ।
अविवाहित दर बढ्नुका कारण
१. उच्च शिक्षा अध्ययनमा महिलाहरूको संख्या उल्लेख्य वृद्धि
२. रोजगारीमा संलग्न हुनु,
३. केही गर्नुपर्छ भन्ने भावना तथा चेतनाको विकास हुनु, आत्मनिर्भर
४. आन्तरिक बसाइँसराइ
५. काम र पढाइ विदेशमा जाने महिलाको संख्या दुईतिहाइले वृद्धि
६. महिलाको कामको कम मूल्यांकन अर्थात् कम ज्याला
७. महिला र पुरूषबीचको विभेद
८. विवाह गरिने उमेर बढ्दै गएको
९. स्वास्थ्य र शिक्षा महँगो । खर्च धान्न कठिन
१०. विवाह नगर्ने पुरुष र महिलामा बाझोपन बढेको
0 Comments