युवाको काँध नेपाल



काठमाडौं : रास्वपा संसदीय दलका नेता बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्रीको कार्यभार सम्हालेसँगै मुलुकको राजनीतिक इतिहासमा पहिलोपटक एकसाथ विभिन्न रेकर्डहरू स्थापित भएका छन्। झन्डै दुईतिहाइ बहुमतसाथ सत्तारोहण गर्न पुगेका बालेन मधेसी मूलबाट देशको पहिलो प्रधानमन्त्री बनेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै बालेन्द्रले मुलुक हाँक्ने अभिभारा लिएका छन्। नयाँ संविधान जारी भएपछि पहिलोपटक धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्त भएका बालेनले शुक्रबार एक विशेष समारोहबीच शपथ लिए। तीन वर्षअघि उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं संसदीय दलका नेताका रूपमा बालेनको शपथग्रहण कार्यक्रम ऐतिहासिक रह्यो। उनी विश्वकै बहालवाला प्रधानमन्त्रीहरूमध्ये सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका छन्।

३६ वर्षीय बालेन्द्रले मुलुकको सर्वोच्च कार्यकारी निकाय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै रक्षा मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत कार्यभार सम्हालेका छन्। सत्तारूढ रास्वपाका सांसद एवं शुभेच्छुकहरूले खचाखच भरिएको शपथग्रहण कार्यक्रममा उपस्थित पूर्वप्रधानमन्त्रीहरू किंकर्तव्यविमूढ देखिन्थे। समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागी थिए।पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए। बालेन्द्रसँग झन्डै ५० हजार मतान्तरले पराजित ओली पिता गुमाएको शोकमा छन्। यस्तै, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उपचारका सिलसिलामा विदेशमा रहेकाले उपस्थित हुन सकेनन्। नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहणमा विशिष्ट व्यक्तित्व एवं विभिन्न वैदेशिक कूटनीतिक नियोगका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो। शपथग्रहणलगत्तै दर्शकदीर्घाबाट बालेन्द्रको पक्षमा तालीको गडगडाहट गुञ्जिएको थियो।

null

शपथग्रहण र सरकारी निवासका दुर्लभ दृश्य
रामनवमीको दिन राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा शपथग्रहणअघि केही दुर्लभ दृश्यहरू देखिए। मञ्चमा राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए।

मध्याह्न १२ बजेर २२ मिनेट जाँदा सात जना ब्राह्मणहरूले सातवटा शंख फुकेर शंखनाद गरे। शंखध्वनिले शीतल निवास गुञ्जायमान भयो। लगत्तै १०८ बटुकद्वारा स्वस्ति–शान्ति वाचन गरियो। त्यसपछि ‘ओम् माने पेमे हुँ’ को स्वरका साथ १०८ बौद्ध भिक्षुहरूले अष्टमंगल पाठ गरे। प्रधानमन्त्रीको शपथग्रहणअघि यसरी शंखनाद, स्वस्ति वाचन र अष्टमंगल पाठ गरिएको सम्भवतः यो पहिलोपटक हो। यी सबै कार्यक्रम पूर्वनिर्धारित 
थिए, जसको संरचना प्रधानमन्त्री बालेन्द्र स्वयंले तयार पारेका थिए।

मध्याह्न १२ बजेर ३४ मिनेटको शुभ साइतमा शपथग्रहण हुने कार्यक्रम थियो। १२ः२७ मा पाठ सकिएपछि सहयोगीहरूले राष्ट्रपति र बालेन्द्र बसेको सोफा अगाडि माइकको व्यवस्था गरे। १२ः३३ मा सुरु भएको शपथग्रहण प्रक्रिया ठीक एक मिनेटमा सम्पन्न भयो। शपथलगत्तै उनले पूर्वप्रधानन्यायाधीश तथा अन्तरिम मन्त्रिपरिषद्की अध्यक्ष सुशीला कार्कीप्रति कृतज्ञता व्यक्त गरे। कार्कीले नवनियुक्त प्रधानमन्त्रीलाई अंकमाल गरी बधाई दिइन्।

कालो पोसाक र कालो चस्मामा सजिएका बालेन्द्र निकै फुर्तिला देखिन्थे। उनले आमा,   श्रीमती सविना काफ्ले र छोरीसँग पारिवारिक तस्बिर खिचाए। शपथपछि गृहमन्त्री सुधन गुरुङलगायत केही मन्त्रीहरूले प्रधानमन्त्री कार्कीलाई शिर निहुराएर ढोगेका थिए। त्यसपछि १५ सदस्यीय मन्त्रिपरिषद्का सदस्यहरूसँग फोटो सेसन भयो। लगत्तै उनलाई कूटनीतिक नियोगका प्रमुख, कर्मचारी र सर्वसाधारणले बधाई दिए। साँझपख सरकारी निवास बालुवाटार पुगेर उनले पूजाआजामा सहभागिता जनाए। स्रोतका अनुसार बालुवाटारमा प्रधानमन्त्रीले प्रयोग गर्ने कुर्सीलगायत सामग्री फेरिएका छन् भने वास्तुविद्को परामर्शमा कार्यकक्षको वास्तुसमेत मिलाइएको छ।

स्ट्रक्चरल इन्जिनियरलाई देश बदल्ने अवसर
र्‍यापरका रूपमा चर्चित बालेन पेसाले इन्जिनियर हुन्। शपथग्रहणको अघिल्लो साँझसमेत उनले ‘जय महाकाली’ नामक गीत सार्वजनिक गरेका थिए। सानैदेखि संगीतमा रुचि राख्ने बालेन्द्रका गीतहरू आवाजविहीनहरूको आवाजमा केन्द्रित छन्। उनका शब्दहरू केवल मनोरञ्जन मात्र नभई समाजलाई सोच्न बाध्य पार्ने खालका हुन्छन्। उनले आफ्ना गीतहरूमा उठाएका सुशासन र अधिकारका मुद्दाहरूलाई अब सरकारको नेतृत्वमा बसेर कसरी न्याय गर्छन् भन्ने चासोको विषय बनेको छ।null

राजनीतिक पृष्ठभूमि नभए पनि उनीसँग काठमाडौं महानगरपालिकाको प्रमुखका रूपमा नेतृत्व गरेको अनुभव छ। उनले सिभिल इन्जिनियरिङमा स्नातक र स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। उनको १५ सदस्यीय मन्त्रिपरिषद्मा युवाहरूको बाहुल्यता छ।

यस्तो छ सचिवालय
बालेन्द्रले आफ्नो सचिवालय टोली पनि घोषणा गरेका छन्। प्रमुख सल्लाहकारमा उनका पुराना रणनीतिक सल्लाहकार कुमार बेन नियुक्त भएका छन्। राजनीतिक सल्लाहकारमा पूर्वसांसद असिम शाह नियुक्त भएका छन्, जसले बालेन्द्र र रवि लामिछानेबीचको संवादमा भूमिका खेलेका थिए। मुख्य स्वकीय सचिवमा सुवास शर्मा र प्रशासन प्रमुखमा सुदीप ढकाल रहेका छन्। सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्र र निजी सचिवालयको जिम्मेवारी सहसचिव प्रदीप परियारले पाएका छन्। व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) मा डीएसपी दिपेश बस्याल खटिएका छन्।

राजनीतिमा ‘प्याराडाइम सिफ्ट’
२०७२ सालको भूकम्पपछि पुनर्निर्माणमा संलग्न बालेन्द्र २०७९ को स्थानीय निर्वाचनपछि देशव्यापी चर्चामा आए। स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौंको मेयर जितेपछि उनको कार्यशैलीले गर्दा ‘टाइम म्यागाजिन’ले उनलाई विश्वका १०० उदीयमान नेताको सूचीमा राख्यो।

गत भदौको ‘जेन–जी’ आन्दोलनले उनलाई सक्रिय राजनीतिमा होमिन प्रेरित गर्‍यो। पुस १३ गते रास्वपा प्रवेश गरेका उनलाई रवि लामिछानेले भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरे। २०८२ माघ ४ मा मेयर पदबाट राजीनामा दिएर उनी केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न झापा–५ पुगे। डिजिटल प्लेटफर्म र ‘डिस्कर्ड’ जस्ता माध्यमको भरपुर प्रयोग गर्दै रास्वपाले प्रत्यक्षतर्फ ७५ प्रतिशतभन्दा बढी सिटमा जित हासिल गर्‍यो।

एकल सरकार, समावेशी अनुहार
चैत १३ गते मुलुकको राजनीतिमा नयाँ मोड आयो। रास्वपाको झन्डै दुईतिहाइ बहुमतको एकल सरकार बनेको छ। १५ सदस्यीय मन्त्रिपरिषद्मा १३ जना नयाँ अनुहार छन्। १० जना मन्त्री ४० वर्षमुनिका छन् भने सबैभन्दा पाको उमेरका डा. स्वर्णिम वाग्ले ५१ वर्षका छन्। मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागिता छ भने वादी, मधेसी, दलित र सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

पहिलो मन्त्रिपरिषद् बैठक : कार्की आयोगको प्रतिवेदन कार्यान्वयन र सुशासनका १०० बुँदा पारित

नयाँ सरकारले २३ र २४ भदौमा भएको घटनाका सम्बन्धमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। 

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदनमा उल्लेख भएअनुसार सुरक्षा निकायको हकमा थप अध्ययनका लागि एक समिति गठन गर्ने र  प्रतिवेदनका बाँकी बुँदाहरूलाई तत्कालै कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय गरेको हो।
बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारीसमेत सुम्पिएको छ। 

यसैगरी, मन्त्रिपरिषद्ले सबै मन्त्रालयसँग सम्बन्धित सुशासन र शासकीय सुधारका विषयमा एकमुष्ट १०० वटा विशेष निर्णयहरू पारित गरेको छ। सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउने उद्देश्यले गरिएका ती निर्णयहरूको विस्तृत विवरण शनिबारसम्ममा सार्वजनिक गरिने प्रवक्ता पोखरेलले बताएका छन्।

सेवामा समर्पित हुन राष्ट्रसेवकलाई रास्वपाको अपिल

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिएको छ । रास्वपाले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा समूहको प्रभावमा नपरी पूर्ण तटस्थ, निष्पक्ष र जिम्मेवार भई जनसेवामा समर्पित हुन अपिल गरेको छ ।

निजामती सेवालाई व्यावसायिक बनाएर सार्वजनिक सेवा प्रवाह एवं विकास व्यवस्थापनलाई प्रभावकारी बनाउने गरी यस क्षेत्रको सुदृढीकरणका लागि गरिएका वाचाहरू स्मरण गराउँदै रास्वपाले यस्तो अपिल गरेको हो । पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगतमा जस्तै प्रशासनलाई थर्काउने, डर वा त्रास सिर्जना गर्ने वा दलीय आडमा काम गर्ने संस्कृतिको अन्त्य हुनुपर्छ । हामी सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा समूहको प्रभावमा नपरी, पूर्ण तटस्थ र निष्पक्ष भई जनताको सेवामा समर्पित हुन हार्दिक अपिल गर्दछौं ।’

पछिल्लो समय निजामती सेवाभित्र विभिन्न नामका समूह वा अभियानहरू सञ्चालन गर्ने र त्यस्ता गतिविधिमा पार्टी र नेतृत्वको नाम जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको प्रति रास्वपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

निजामती प्रशासनभित्र गठन भएका कुनै पनि प्रकारका समूह, अभियान वा युनियन शैलीका संयन्त्रहरूसँग राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि प्रकारको आबद्धता, समर्थन वा संलग्नता नरहेको स्पष्ट पार्दै रास्वपाले कसैले पार्टी र नेतृत्वको नाम जोडेर स्वार्थ सिद्ध गर्न खोजेको भए त्यस्ता भ्रममा नपर्न कर्मचारी र सरोकारवालाहरूलाई आग्रह गरेको छ ।

 

Post a Comment

0 Comments