गुमनाम १०० दिनपछि जागेका बालेन


गुमनाम १०० दिनपछि जागेका बालेन

गुमनाम १०० दिनपछि जागेका बालेन
205Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button


काठमाडौं: सरकार गठन भएको १०० दिनपछि सरकार संवादको लयमा फर्किएको छ। सोमबार मात्रै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गरेका छन्।

null

भारतीय विदेश सचिव विक्रम मिस्रीसँग भेट गर्न अस्वीकार गरेका प्रधानमन्त्रीले सहसचिव स्तरका राजदूत श्रीवास्तवसँग छलफल गरेका हुन्। भेटपछि राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश हस्तान्तरण गरेको बताएका छन्।

null

आइतबार रातिमात्रै प्रधानमन्त्री बालेन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच करिब ४५ मिनेट लामो वार्ता भएको छ। सरकारले फेसबुकमार्फत देश चलाएको आरोप खेपिरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भने लगातार संवादमा जुटिरहेका छन्। उनी प्रधानमन्त्रीसँगै समानान्तर रूपमा छलफलमा सक्रिय छन्। सोमबार अर्थमन्त्री वाग्लेले नेपालका २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गरेका छन्।

प्रधानमन्त्री शाहले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाटै दिनहुँजसो छलफल चलाइरहेका छन्। सभापति लामिछानेले सुनसरीलगायत मधेसमा भएको साम्प्रदायिक हिंसा समाधानमा अग्रसरता देखाएका छन्। तर, उनीहरूको संवाद एक्लाएक्लै भइरहेको छ।

उद्योगी–व्यवसायीहरूसँगको संवादमा प्रधानमन्त्री बालेनले अर्थमन्त्रीलाई साथमा राखेका छैनन्। १०० दिनअघिसम्म न प्रधानमन्त्री, न मन्त्री, न त सत्तारूढ दलका सभापतिले नै गहन संवाद गरेका थिए। त्यो बेला पूर्णरूपमा संवादहीनताको अवस्था थियो।

२०८२ चैत १३ गते प्रधानमन्त्री बनेका शाह १०० दिन अर्थात् असार २० गतेसम्म गुमनामजस्तै रहे। प्रधानमन्त्री बालेनको पहिलो भेट एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दासँग भएको थियो। प्रोटोकल नमिल्ने भन्दै भारतीय विदेश सचिव विक्रम मिस्रीलाई भेट्न अस्वीकार गरेका प्रधानमन्त्रीले एडीबी अध्यक्षलाई भने भेटेका थिए। भेट अस्वीकार गरेकै कारण मिस्रीको नेपाल भ्रमण रद्द भएको थियो। त्यो घटना १०० दिनअघिकै हो।

नेपाल भ्रमणमा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरलाई भने उनले भेटेका थिएनन्। असार २४ गते भलभल अष्टमीको दिन भक्तपुरको कमलविनायकस्थित नवदुर्गा द्योछें मन्दिरमा पूजाआजा गरेपछि उनले निजी क्षेत्रसँग संवाद सुरु गरे। पहिलो चरणमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समिति सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघ (सीएनआई) का निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, महानिर्देशक डा. घनश्याम ओझा तथा नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्रालगायत उद्योगी–व्यवसायीहरूसँग छलफल भयो।

सय दिनअघि पनि कुनै संवादहीनताको अवस्था थिएन, संसद् र सरकार आ–आफ्नो कार्यादेशमा व्यस्त थिए। सामरिक र विशिष्ट महत्त्वका विषयमा समन्वय पुगेन कि भन्ने भाष्यलाई हामीले चरणबद्ध रूपमा चिरिरहेका छौं। अहिले पार्टी, सरकार र संसद्बीच अझ प्रभावकारी समन्वय, सहकार्य र साझा एजेन्डामा अघि बढ्ने काम भइरहेको छ। 
प्रकाशचन्द्र परियार,सचेतक, रास्वपा संसदीय दल

देशको प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दा आधिकारिक सरकारी सञ्चारमाध्यम होइन, मोनिटाइज्ड फेसबुक अकाउन्ट रोज्नुहुन्छ। यो राष्ट्रलाई सम्बोधन गर्नुभएको हो कि फेसबुकको भ्युज र कमाइ बढाउनुभएको हो ? प्रविधि र डिजिटल सरकार ठीक छ, तर राज्यका निकायलाई बाइपास गरेर देश फेसबुकको पहुँचले होइन, संविधान र स्थापित संस्थाहरूबाट चलाइनुपर्छ। 
नीता घतानी, सचेतक, एमाले

असार २५ गते प्रधानमन्त्रीले निर्माण व्यवसायीहरूसँग भेट गरे। छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थिए। सोही दिन प्रधानमन्त्री एवं राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष शाहको अध्यक्षतामा आयोगको बैठकसमेत बसेको थियो।

गणेश नेपालीको आत्मदाहका कारण संवाद रोकिए पनि असार ३० गते प्रधानमन्त्रीले विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गरे। बैठकमा प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने साझा प्रतिबद्धता जनाइएको थियो। छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका प्रा. डा. किसनदत्त भट्ट, पूर्वाञ्चल विश्वविद्यालयका प्रा. डा. सुजनबाबु मरहट्टा, पोखरा विश्वविद्यालयका प्रा. डा. देवेन्द्र अधिकारी, राजर्षि जनक विश्वविद्यालयका प्रा. डा. श्यामनारायण लाभ, मध्यपश्चिम विश्वविद्यालयका प्रा. डा. राजन सुवाल तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा. डा. ऋषिराम कट्टेल सहभागी थिए।

असार ३१ गते होटल व्यवसायीहरूसँग भेटवार्ता भयो। जसमा होटल संघ नेपाल (हान) का कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यद्वय जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा सचिवालय प्रमुख टेकबहादुर महत सहभागी थिए।
असार ३२ गते महिला उद्यमी महासंघका पदाधिकारीलाई सिंहदरबार बोलाएर भेटे। छलफलमा महासंघका अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी थिए।

सोही दिन प्रधानमन्त्री बालेन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भयो। छलफल समसामयिक राजनीतिक घटनाक्रम (विशेष गरी संविधान संशोधन), मुलुकको पछिल्लो अवस्था तथा आपसी हितका विषयमा केन्द्रित थियो। छलफलमा राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओली पनि सहभागी थिए। असार ३२ मै प्रधानमन्त्री बालेन शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच पनि भेटवार्ता भयो।

साउन १ गते प्रधानमन्त्री बालेनले जुत्ता उत्पादक संघका पदाधिकारीसँग छलफल गरे। जसमा संघका अध्यक्ष सुरज बञ्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई र रास्वपा सांसद विदुषी राणा सहभागी थिए।

साउन ४ गते पुँजी बजार, धितोपत्र व्यवसाय तथा बिमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल भयो। छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वसीईओ सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल, नागरिक स्टक डिलरका सीईओ महेश्वरलाल श्रेष्ठ, प्रियाराज रेग्मी र अम्बिकाप्रसाद पौडेल सहभागी थिए।

साउन ५ गते प्रधानमन्त्री बालेनले नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग भेट गरे। जसमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष वसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, सीईओ सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झा थिए।
साउन ६ गते नेपाल हस्तकला व्यवसायी महासंघका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र निर्यातकर्ता महेश्वर श्रेष्ठसँग भेट भयो।

साउन ७ मा नेपाल अर्गानिक संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्गानिक एग्रोका अध्यक्ष पर्शुराम आचार्यसँग 
संवाद भयो।

साउन ८ गते प्रधानमन्त्रीले प्रमुख निर्यातजन्य उद्योगका प्रतिनिधिहरूसँग छलफल गरे। जसमा नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछाने, निर्यातक देवानन्द सरावगी र नेपाल डग च्यु उत्पादक संघका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी थिए।null

राजनीतिक भेटघाट
प्रधानमन्त्रीले असार ३२ गते राप्रपासँग संवाद गरी राजनीतिक छलफल सुरु गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। सुनसरीको घटना फैलिएर मधेससम्म विस्तार भएपछि र ४ जनाको ज्यान गएपछि मात्रै उनले राजनीतिक संवाद तीव्र पारेका हुन्। चौतर्फी आलोचनापछि साउन १४ गते प्रधानमन्त्री बालेनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरे। null

नियमित रूपमा राष्ट्रपतिलाई भेटेर ब्रिफिङ गर्नुपर्ने विश्लेषकहरूको भनाइबीच उनले उपराष्ट्रपतिसँग पनि टेलिफोन वार्ता गरे। त्यसपछि प्रधानमन्त्रीले मधेसका दलहरू र धर्मगुरुहरूसँग संवाद थाले। मधेसको तनाव साम्य पार्न पहिले रास्वपा सभापति रवि लामिछानेले अग्रसरता लिएका थिए, त्यसपछि मात्र प्रधानमन्त्रीले संवाद गरेका हुन्।

साउन १५ गते प्रधानमन्त्री बालेनले मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरू डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी र जयकान्त राउतसँग छलफल गरे। सोही दिन मधेसका रास्वपा सांसदहरूसँग पनि संवाद भयो। सुनसरी घटनापछि राष्ट्रिय सुरक्षा परिषद्को बैठकसमेत बस्यो।

साउन १९ मा प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरे। तर, प्रधानमन्त्रीले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीजस्ता पुराना दलहरूसँग भने हालसम्म संवाद गरेका छैनन्। रास्वपाका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियार भने पहिले पनि पूर्ण संवादहीनताको अवस्था नरहेको दाबी गर्छन्। ‘संसद्, पार्टी र दल आ–आफ्नो कार्यादेशमा व्यस्त थिए,’ उनले भने, ‘विशिष्ट र सामरिक महत्त्वका विषयमा प्रभावकारी समन्वय हुन सकेन कि भन्ने भाष्यलाई हामीले चिर्दै लगिरहेका छौं।’

समानान्तर संवादमा अर्थमन्त्री
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भने छुट्टै भेटघाटको शृंखला चलाइरहेका छन्। उनले सूर्य नेपाल, एनसेल आजियाटा, डाबर नेपाल, बोटलर्स नेपाल, युनिलिभर, एसियन पेन्ट्स, होङ्सी सिमेन्ट, टर्किस एयरलाइन्ससहित २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबारे छलफल गरेका छन्। यसअघि साउन १९ मा उनले १६ वाणिज्य बैंकका सीईओहरूसँग र साउन २० मा राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग संवाद गरेका थिए। 

null

‘फेसबुकबाट सत्ता चलाइएको’ विपक्षीको आरोप
विपक्षी दलहरूले भने प्रधानमन्त्रीले सरकारी निकायलाई उपेक्षा गर्दै फेसबुकबाटै देश चलाइरहेको आरोप लगाएका छन्। एमाले सचेतक नीता घतानीले भनिन्, ‘प्रधानमन्त्रीको सम्बोधन सरकारी सञ्चार माध्यमबाट होइन, मोनिटाइज्ड फेसबुक अकाउन्टबाट आउँछ। यो राष्ट्रलाई सम्बोधन हो कि फेसबुकको भ्युज र कमाई बढाइने खेल ? देश संविधान र राज्यका संस्थाबाट चल्नुपर्छ, फेसबुकको पहुँचबाट होइन।’

 

Post a Comment

0 Comments