भोटकोशीको जलप्रलय : हजारौं उद्धारको पर्खाइमा

 



भोटेकोशी विपत्ति : हजारौं उद्धारको पर्खाइमा

भोटेकोशी विपत्ति : हजारौं उद्धारको पर्खाइमा
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौं/ नुवाकोट : ‘पूरै दलदल छ, पैदल जाने अवस्था नै छैन। ग्रेगान र लेदोले सडक पूरै ढाकेको छ। हेलिकप्टरबाहेक प्रभावित क्षेत्रमा पुग्न सम्भव नै छैन,’ रसुवाको सबैभन्दा बढी प्रभावित गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढीपछिको अवस्थाबारे टेलिफोनमै बेलिबिस्तार लगाए। 

रसुवाका प्रभावित क्षेत्रहरू पूरै सम्पर्कविहीन रहेको र क्षतिको अनुमान नै गर्न नसकिने अवस्था रहेको तामाङ बताउँछन्। धेरै नागरिक उद्धारका लागि याचना र गुहार मागिरहेका छन्। रसुवाको ठ्याङ्बुसे, तिमुरे, रसुवागढी, हाकुबेँसी, मैलुङ, सल्लेटार, शान्तिबजार, पहिरेबेँसी, खाल्टे र बेत्रावती लगायतका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको छ।

लेदो र दलदलका कारण उद्धार तथा राहतमा भन्दा शव व्यवस्थापनमै कठिनाइ भइरहेको छ। मानिस र पशुका शवलगायत भग्नावशेष गनाउन थालिसकेका छन्।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले विभिन्न स्थानबाट हालसम्म ५ सय ७० जनाको जीवितै उद्धार गरिएको जानकारी दिए। ‘हिजो र आज गरेर ५ सय ७० जनाको जीवितै उद्धार गरिएको छ, तर हराएकाहरूको यकिन विवरण संकलन गर्न सकिएको छैन,’ उनले भने।

नुवाकोटको विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीका अनुसार बुधबार प्रभावित क्षेत्रका घरका छतमा फसेकाहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। तर, बिहीबार मौसम प्रतिकूल भएपछि स्थलगत रूपमा पुग्न सकिएको छैन। यसका कारण घरभित्र वा खोला आसपास फसेका व्यक्तिको अवस्था यकिन गर्न नसकिएको उनले बताइन्। सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये विदुरको वडा नम्बर ७ मा ५०–६० जना नागरिक सम्पर्कविहीन छन्। त्यस्तै वडा नम्बर १० को बेत्रावती र भैंसे बजार, वडा नम्बर ७ को चिपिटार, वडा नम्बर ९ को शिल्पेढुंगी, वडा नम्बर १ को त्रिशूली र ढुंगे बजार, वडा नम्बर ४ को सिमचौर तथा वडा नम्बर ५ को देवीघाट क्षेत्र प्रभावित छन्। 

उपप्रमुख बोगटीले उद्धारमा ढिलाइ भइरहेको बताएकी छन्। उद्धार र निरीक्षणका लागि पुगेकाहरू पनि नुवाकोटको ढुंगेबजारभन्दा अगाडि जान नसकेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्य बताउँछन्। ‘त्यहाँबाट अगाडि जाने अवस्था छैन। सबै दलदल छ, सडकभरि लेदो छ,’ उनले भने।

आचार्यले उद्धारका लागि हेलिकप्टरको विकल्प नभएको र बेपत्ताको खोजी तथा शवको पहिचानलाई प्रमुख प्राथमिकता दिनुपर्ने बताए। प्रभावित क्षेत्रमा मानिसका शव र पशुपन्छीको सिनो गनाउन थालिसकेकाले त्यसको व्यवस्थापन छिट्टै नभए अर्को महामारी निम्तिन सक्ने चेतावनी उनले दिए।
स्थलगत निरीक्षणका लागि पुगेका प्रधानमन्त्री वालेन्द्र शाह पनि नुवाकोटबाट फर्किएका छन्। सडकमार्गबाट अगाडि जाने अवस्था नभएकाले नै उनी फर्किएको बताइएको छ। प्रधानमन्त्री शाहसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्साल पनि नुवाकोट पुगेका थिए। मन्त्री लम्साललाई त्यहीँ छाडेर प्रधानमन्त्री फर्किएका हुन्।

प्रभावित क्षेत्रमा प्रधानमन्त्री बालेन शाहसहितको टोली पुगेपछि उनीहरूको स्वागत र सुरक्षामा सुरक्षाकर्मीहरू खटिनुपर्दा उद्धार र राहत प्रभावित भएको गुनासो पनि आएको छ। सडकमार्गबाट जाँदा प्रभावित जिल्ला धादिङ र नुवाकोटको सुरक्षा संयन्त्र भीभीआईपीको खातिरदारीमै अलमलिएको छ। जिल्लादेखि इलाका र चौकीसम्मका प्रहरी भीभीआईपी सुरक्षामा खटिनुपरेको छ। 

राम्रो उद्देश्यले नै प्रधानमन्त्री सडकमार्गबाट गए पनि उद्धारमा खटिनुपर्ने सुरक्षा निकाय अन्यत्रै अल्झिनुपरेको प्रहरी अधिकारीहरू बताउँछन्। एक प्रहरी अधिकृतले भने, ‘उहाँहरू राम्रो उद्देश्यले नै आउनुभएको हो, तर भीभीआईपी आएपछि सुरक्षा दिनु प्रहरीको कर्तव्य नै हो, जसले गर्दा उद्धार प्रभावित हुन पुग्यो।’

भूगोलविद् प्राध्यापक डा. नरेन्द्रराज खनालले यो बाढी आफ्नो कल्पनाबाहिरको रहेको बताए। स्थलगत अध्ययन नभएसम्म के कारण र कसरी बाढी आयो भन्ने स्पष्ट नहुने उनको भनाइ छ। ‘अहिलेसम्म आएका कुराहरू अधिकांश अफवाह र अनुमानमा आधारित छन्,’ उनले भने।
सामाजिक सञ्जालमा परिवारका सदस्य हराएको भन्दै बिलौना गर्नेहरू असंख्य छन्। धेरैले त तस्बिर नै राखेर खोजी दिन आग्रह गरिरहेका छन्।

बालबालिका पारि, अभिभावक वारिः उद्धारको पर्खाइमा सयौं बालबालिका

विद्यालय गएका विद्यार्थीहरू बाढीका कारण फसेका छन्। बुधबारदेखि नै विद्यार्थी खोला पारि र अभिभावक वारि छन्। साना बालबालिका आत्तिएर रोइरहेका छन्। उनीहरू अभिभावकसँग सम्पर्कमा आउन र घर फर्किन नपाएर उद्धारको पर्खाइमा छन्।

सडक सम्पर्क विच्छेद हुँदा विशेष गरी बालबालिका र अभिभावकहरू छुट्टिएका छन्। ठूला बालबालिकाले अवस्था बुझ्न सके पनि साना बालबालिका आत्तिएर आमाबुबा खोजिरहेको उपप्रमुख बोगटीले बताइन्। ‘स्कुल र विभिन्न क्याम्पमा बालबालिकाका लागि खान–बस्नको व्यवस्था गरिएको छ। तर, साना बच्चाहरू खाना नखाने र आमा–बुबा खोजेर आत्तिने गरेका छन्,’ उनले भनिन्, ‘यसले हामीलाई निकै दबाब परेको छ।’ उनका अनुसार बिहीबार हेलिकप्टरमार्फत उद्धार र खाद्यान्न पुर्‍याउने काम रसुवातर्फ बढी केन्द्रित हुँदा विदुरका बालबालिकाको उद्धार हुन सकेन। शुक्रबार बिहानैदेखि बालबालिकाको उद्धारलाई प्राथमिकता दिइनेछ।

विदुरस्थित वीरेन्द्र माध्यमिक विद्यालयमा करिब ५० र महेन्द्र माध्यमिक विद्यालयमा करिब २० गरी ७० जना बालबालिका छन्। यस्तै ज्ञानकुञ्ज विद्यालय क्षेत्रमा खोलापारि करिब ३० जना साना बालबालिका छन् भने उनीहरूका अभिभावक खोलावारि छन्। कोलोनी, मूलखर्क र त्रिवेणी क्षेत्रका बालबालिका बट्टारमा रोकिएका छन्। पोस्टबहादुर बोगटी पोलिटेक्निक शिक्षालयका विद्यार्थी तथा जेनिथ बोर्डिङ स्कुलका बालबालिका पनि बाटो अवरुद्ध भएपछि रोकिएका हुन्।

नगरपालिकाले सबै विवरण संकलन गरिरहेको र प्रारम्भिक अनुमानअनुसार करिब २ देखि ३ सय बालबालिका घर पुग्न नसकेको बोगटीले बताइन्। उद्धारमा ढिलाइ भएको भन्दै विद्यार्थीहरू आक्रोशित बनेका छन्। उनीहरूलाई मान्द्रेढुंगासम्म गाडीमा ल्याएर त्यहाँबाट हेलिकप्टरमा वारि ल्याउन सकिने अवस्था रहेको उनले बताइन्। बोगटी भन्छिन्, ‘अत्यधिक ढिलो भयो। बच्चा स्कुलमा, अभिभावक घरमा। यो परिस्थितिको कल्पना गर्दा पनि मुटु काँप्छ।’ सडक अवरुद्ध भएकाले राहत, उद्धार र शव व्यवस्थापन कठिन बनिरहेको उनले बताइन्। ‘हामी सबैले काम गरिरहेका छौं तर प्रभावकारी हुन सकेको छैन। बच्चाहरूको ख्याल गर्न स्कुल र स्थानीयलाई अनुरोध गरिरहेका छौं,’ उनले भनिन्।

विदुर नगरपालिका–५ स्थित त्रिभुवन त्रिशूल माध्यमिक विद्यालयमा पूर्णक्षति पुगेको छ। १ हजार ६ सय ४३ विद्यार्थी अध्ययनरत यस विद्यालयको भौतिक संरचनामा व्यापक क्षति पुगे पनि प्रधानाध्यापकको भूमिकाको प्रशंसा भइरहेको छ। उता सबैभन्दा बढी प्रभावित रसुवाका विद्यालय र विद्यार्थीको अवस्था भने अझै अन्योलमा छ। धादिङका केही विद्यालयसमेत बाढीबाट प्रभावित भएका छन्।

पूरै दलदल छ, पैदल जाने अवस्था नै छैन। ग्रेगान र लेदोले सडक पूरै ढाकेको छ। अहिलेको स्थितिमा हेलिकप्टरबाहेक प्रभावित क्षेत्रमा पुग्न सम्भव नै छैन। हाम्रा धेरै बस्तीहरू पूरै सम्पर्कविहीन छन्, क्षतिको यकिन अनुमानसमेत गर्न सकिएको छैन। सयौं नागरिकहरू बचाउनका लागि याचना र गुहार मागिरहेका छन्।
कैसाङ नुर्पु तामाङ अध्यक्ष, गोसाइँकुण्ड गाउँपालिका, रसुवा

बच्चा स्कुलमा र अभिभावक घरमा थुनिएका छन्। यो परिस्थितिको कल्पना गर्दा पनि मुटु काँप्छ। दुई–तीन सय बालबालिका घर पुग्न सकेका छैनन्, साना बच्चाहरू आमा–बुबा खोजेर आत्तिएका छन्। 
प्रभा बोगटी उपप्रमुख, विदुर नगरपालिका, नुवाकोट

हिजो र आज गरेर हामीले विभिन्न स्थानबाट ५ सय ७० जनाको जीवितै उद्धार गर्न सफल भएका छौं। तर, बाढी र लेदोका कारण धेरै क्षेत्रमा सडक तथा सञ्चार सम्पर्क विच्छेद भएकाले हराएका मानिसहरूको यकिन विवरण संकलन गर्न नै कठिन भइरहेको छ।
नरेन्द्र परियार प्रमुख जिल्ला अधिकारी, रसुवा

४ सय जनाको शव फेला

भोटकोशीको बाढीमा हालसम्म ३८९ वटा शव फेला परेका छन्। सयौं बेपत्ता छन्। हजारौं विस्थापित छन्।
बिहीबार राति अबेरसम्म रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १ सय ३७, गोरखामा ३२, तनहुँमा २८, नवलपरासी पूर्वमा ८७ र नवलपरासी पश्चिममा २७ जना भेटिएका छन्। शव धमाधम भेटिरहेका छन्। 

नेपाल प्रहरीका अनुसार पछिल्लो तथ्यांकमा ४ सय ६६ जना घाइते भएको उल्लेख छ। रसुवामा २ सय ८९ जना घाइते भएका छन्, त्यस्तै नुवाकोटमा ९० जना र धादिङमा ३ जना छन्। काठमाडौंमा उपचारका लागि ८४ जना घाइते ल्याइएका छन्। मृतक र घाइतेको संख्या अझै बढ्ने सम्भावना छ। मृतक, बेपत्ता र विस्थापितको यकिन विवरण आउन सकेको छैन।

प्रभावित क्षेत्रमा खोजी, उद्धार, उपचार र राहतका लागि सरकारले राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरेको छ। खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी १३ हजार २ सय ९५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका ७ हजार २ सय ५०, नेपाली सेनाका ४ हजार २ सय र सशस्त्र प्रहरी बलका १ हजार ८ सय ४५ जना उद्धार कार्यमा 
खटिएका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हवाई तथा स्थलमार्गबाट उद्धार कार्य जारी छ। बिहीबार मात्रै ६९ वटा हवाई उडानमार्फत ५ सय ७३ जनाको उद्धार गरिएको छ। थप हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने निजी हेलिकप्टरलाई समेत उद्धार तथा राहतमा परिचालन गरिएको छ। हवाई उद्धारमा बिरामी, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ।

रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित क्षेत्रमा फसेका नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। करिब ३ हजार ५ सय जनालाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिक र सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको सरकारले जनाएको छ।
प्रभावित नागरिकका लागि रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ तत्काल परिचालन गरिएको छ। चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस र ब्ल्यांकेतलगायत राहत सामग्री १० ट्रक प्रभावित क्षेत्रमा पठाइएको छ। थप खाद्य तथा गैरखाद्य सामग्री हेलिकप्टरमार्फत समेत पठाउने काम भइरहेको छ।

प्रभावित क्षेत्रमा अस्थायी राहत शिविर सञ्चालन गरी खाना, खानेपानी र आधारभूत सेवा उपलब्ध गराइएको छ। नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्थासमेत उद्धार तथा राहतमा परिचालित छन्। रेडक्रसले करिब ३० हजार जनालाई पुग्ने राहत सामग्री प्रभावित क्षेत्रमा पठाएको छ।

स्वास्थ्यतर्फ स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय गरिएको छ। वीर अस्पताल र ट्रमा सेन्टरमा १ सय–१ सय तथा पाटन अस्पतालमा ६० वटा आपत्कालीन शय्या तयार राखिएको छ। मेडिकल टोली, औषधि, एम्बुलेन्स र रक्तसञ्चार सेवा आवश्यकताअनुसार परिचालन गरिएको छ। प्रभावित तथा घाइते नागरिकको निःशुल्क उपचार सुनिश्चित गरिएको सरकारले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदामघर, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा राहत सामग्री संकलन गरी आवश्यकताका आधारमा प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको छ। जेनेरेटर, पोर्टेबल मोबाइल टावर, ब्याट्री, स्वास्थ्य सामग्री, टेन्ट तथा उद्धारमा प्रयोग हुने मेसिनरीसमेत प्रभावित क्षेत्रमा पठाइँदै छ। दूरसञ्चार सेवा पुनःस्थापनालाई पनि आपत्कालीन प्राथमिकतामा राखिएको छ। हालसम्म नेपाल टेलिकमका ३८ र एनसेलका ३२ गरी कम्तीमा ७० वटा टावर तथा साइट बन्द भएका छन्। प्राविधिक टोली, जेनेरेटर र ब्याट्री हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्‍याएर सेवा पुनःस्थापनाको काम भइरहेको छ।

प्रभावित नागरिकलाई तत्काल निःशुल्क सञ्चार सुविधा उपलब्ध गराइएको छ। नेपाल टेलिकमले दैनिक २ जीबी डेटा, ५० एसएमएस तथा निःशुल्क भ्वाइस कल सुविधा दिएको छ भने एनसेलले समेत निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा उपलब्ध गराएको सरकारले जनाएको छ।

सडक, पुल, खानेपानी, विद्युत् र दूरसञ्चारजस्ता अत्यावश्यक पूर्वाधार तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालय, विभाग तथा निकायलाई आवश्यक जनशक्ति, उपकरण र स्रोत परिचालन गर्न निर्देशन दिइएको छ। क्षतिग्रस्त संरचनाको क्षति मूल्यांकनसँगै पुनःस्थापनाको काम अघि बढाइएको छ।

प्रभावित क्षेत्रमा इन्धन अभाव हुन नदिन पनि व्यवस्था गरिएको छ। नुवाकोटका विभिन्न आयल स्टोरमा २३ हजार लिटर डिजेल र ६ हजार लिटर पेट्रोल मौज्दात रहेको छ। थप १५ हजार लिटर डिजेल र १५ हजार लिटर पेट्रोल पठाइएको छ। हवाई इन्धनसमेत थप ९ हजार लिटर पठाइएको सरकारले जनाएको छ।

प्रभावित क्षेत्रको वास्तविक अवस्था र क्षतिको विवरण संकलन गर्न ड्रोन सर्वेक्षण तथा स्थलगत मूल्यांकन भइरहेको छ। फसेका नागरिक, अवरुद्ध सडक र पहुँचको अवस्थाबारे जानकारी लिएर उद्धार तथा राहतलाई थप लक्षित बनाउने काम भइरहेको छ। 

Post a Comment

0 Comments