जलप्रलयपछिको रसुवा : भोक र ओतको संघर्षमा बाढीपीडित



जलप्रलयपछिको रसुवा : भोक र ओतको संघर्षमा बाढीपीडित

जलप्रलयपछिको रसुवा : भोक र ओतको संघर्षमा बाढीपीडित
28Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button


नुवाकोट/ रसुवा: भोटेकोशीको बाढीले सिंगो रसुवा नै तहसनहस छ। नौकुण्ड गाउँपालिका बाहेक लगभग सबै पालिकाहरू प्रभावित छन्। प्रारम्भिक तथ्यांकअनुसार रसुवामा २ हजार १ सय ३० जना हराइरहेका छन्, जसमा १ हजार ९ सय ६७ नेपाली र १ सय ६३ जना विदेशी नागरिक बेपत्ता छन्। तर, योभन्दा धेरै मानिसहरू हराइरहेका छन्।

स्थानीयहरू १० हजार बराबर मानिसहरू भोटेकोशीले बगाएको दाबी गर्छन्। जिल्लाका ५ वटा स्थानीय तहमध्ये आमाछोदिङ्मो, गोसाइँकुण्ड गाउँपालिका र उत्तरगया गाउँपालिका सबैभन्दा बढी प्रभावित छन्। भोटेकोशीको बाढीले टिमुरे, स्याफ्रुबेँसी, खाल्टे, मैलुङ, बेत्रावती तहसनहस भएका छन्। 

गोसाइँकुण्डका रसुवागढी, घट्टेखोला, टिमुरे, तातोपानी, लिङलिङ, मेदाङपुदुङ, रुँगा, स्याफ्रुबेँसी, सानोभार्खु प्रभावित छन्। त्यस्तै आमाछोदिङ्मो गाउँपालिकाको हाकुबेँसी, कालिका गाउँपालिकाको गुम्चेतमा भोटेकोशीले क्षति पुर्‍याएको छ। त्यस्तै उत्तरगयाको मैलुङ, सल्लेटार, सिम्लेपुछार, उपल्लो पहिरे, तल्लो पहिरे, खाल्टे, नौबिसे, कैदलेटार, बेत्रावतीमा ठूलो क्षति पुगेको छ।

१५ सयभन्दा बढी घर ध्वस्त

भोटेकोशीको बाढीले १५ सयभन्दा बढी घरधुरी ध्वस्त भएका छन्। जिल्ला प्रशासन कार्यालयले निकालेको प्रारम्भिक विवरणअनुसार २८ वटा सरकारी तथा सार्वजनिक निकाय क्षतिग्रस्त भएका छन्। ८ वटा विद्यालय भोटेकोशीको बाढीले बगाएको छ। १४ वटा बैंक तथा वित्तीय संस्था पनि बगेका छन्। ४१ किलोमिटर सडक ध्वस्त भएको छ।

एउटा पेट्रोलपम्प पनि बगाएको छ। ९ वटा पक्की पुल, १० वटा बेलीब्रिज र १० वटा झोलुंगे पुल ध्वस्त भएका छन्। जम्मा ६ जनाको सनाखत भएको छ। रसुवामा १ सय २७ जनाको शव भेटिएको छ। गोसाइँकुण्ड–२ टिमुरे र घट्टेखोलामा १ सय ६ वटा शव भेटिएका थिए भने गोसाइँकुण्डकै स्याफ्रुबेँसीमा ११ र उत्तरगया–५ बेत्रावतीमा १० वटा शव भेटिएका छन्।

८ वटा जलविद्युत् आयोजना ध्वस्त

रसुवाका ८ वटा जलविद्युत् आयोजनाहरू ध्वस्त भएका छन्। रसुवागढी जलविद्युत् आयोजना (१११ मेगावाट) रसुवागढी, लाङटाङ भोटेकोशी जलविद्युत् आयोजना (१२० मेगावाट) स्याफ्रुबेँसी, चिलिमे जलविद्युत् आयोजना (२२ मेगावाट) स्याफ्रुबेँसी, लाङटाङ जलविद्युत् आयोजना (२० मेगावाट) स्याफ्रुबेँसी, माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना (२१६ मेगावाट) मैलुङ, मैलुङ जलविद्युत् आयोजना (५ मेगावाट) मैलुङ, माथिल्लो मैलुङ ए जलविद्युत् आयोजना (६.४ मेगावाट) मैलुङ, त्रिशूली ३ ए जलविद्युत् आयोजना (६० मेगावाट) सल्लेटार रहेका छन्।

सडक सञ्जाल विच्छेद

बाढी आएको एक हप्ता हुँदा सडक सञ्जालका सबै सम्पर्क विच्छेद भएकाले हवाई सम्पर्कबाहेक अरू कुनै विकल्प छैन। हवाई सम्पर्क मात्रै विकल्प हुँदा अझै पनि ती स्थानबाट शवहरू उठ्न सकिरहेका छैनन्। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी रसुवाको प्रभावित क्षेत्रमा अझै सडक सम्पर्क विच्छेद रहेको बताउँछन्।

गत भदौ १० गते भोटेकोशीमा बाढी आएको थियो। उनका अनुसार हेलिकप्टरमार्फत नै आमाछोदिङ्मो, गोसाइँकुण्ड पालिकामा व्यवस्थापनको काम भइरहेको छ। उत्तरगया गाउँपालिकाका १, २ र ३ नम्बर वडामा पनि सडक सञ्जाल अवरुद्ध भएकाले हेलिकप्टरबाटै व्यवस्थापन भइरहेको उनले बताए। उनले उद्धारको काम त लगभग सकिन लागिसकेको दाबी गरे। उनले भने, ‘अब ६–७ वटा रेस्क्यु क्षेत्रमा २–३ जना मानिसहरू मिसिङ छन् भन्ने विभिन्न ठाउँबाट सूचना प्राप्त भएबमोजिम ती ठाउँहरूमा टोली परिचालन गर्दै ड्रोन र हेलिकप्टरबाट रेकी गर्ने काम भइरहेको छ।’

 उनले प्रभावित क्षेत्रमा २/३ चरण राहत पठाइसकेको जानकारी दिए। ‘हामीले लगभग सबै प्रभावित क्षेत्रमा २–३ चरणसम्म राहत पठाइसकेका छौं।’ सहायक प्रमुख जिल्ला अधिकारी अधिकारी हेलिकप्टरबाट पठाउनुपर्ने स्थानमा प्रतिकूल मौसम र हेलिकप्टरमा पर्याप्त भण्डारण लोड गर्न नसकिने समस्याले अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्छन्। उनले भने, ‘मौसमले साथ नदिँदा र हेलिकप्टरमा पर्याप्त सामान लान नसकिने समस्याले अपेक्षाअनुसार गर्न गाह्रो भइरहेको छ, तर पनि राहत पुग्ने गरी हामी सबैतिर पुगेका छौँ।’ उनले राहत वितरणलाई थप प्रभावकारी बनाउन साँझ बसेर योजना र रणनीति बनाउने अनि भोलिपल्ट त्यसलाई कार्यान्वयन गर्ने काम गरिरहेको बताए।

बाँकी प्रभावित क्षेत्र उत्तरगयाका ४ र ५ नम्बर वडा तथा कालिका गाउँपालिकामा सेल्टर हाउसहरू निर्माण गरेर, भण्डारण गरी गाडीमार्फत सहजीकरण गरिरहेको पनि उनले जानकारी दिए। उनले सिंगो रसुवा नै प्रभावित भएको बताए। विशेष गरी गोसाइँकुण्ड गाउँपालिकाको वडा नं. २ र ५ मा एकदमै धेरै क्षति भएको छ। उनका अनुसार दुईवटा ठूला बजारहरू बगेर मरुभूमिमा परिणत भएका छन्। राम्रा व्यापारिक नाका र पर्यटकीय क्षेत्रहरू पूर्णरूपमा नष्ट भएका छन्। तल्लो क्षेत्रतर्फ उत्तरगया गाउँपालिकाको वडा नं. ४ र ५ (विशेष गरी ५ नम्बरको बेत्रावती), रसुवा र नुवाकोट दुवैतर्फका भागहरू क्षति भएका छन्। 

अझै पनि प्रभावित क्षेत्रहरूमा सडक सम्पर्क विच्छेद नै छ। ६–७ वटा उद्धार  क्षेत्रमा २–३ जना मानिस हराइरहेका छन् भन्ने सूचना प्राप्त भएबमोजिम ती ठाउँहरूमा टोली परिचालन गर्दै ड्रोन र हेलिकप्टरबाट रेकी गर्ने काम गरिरहेका छौं।

null

द्रुवप्रसाद अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी, रसुवा

सुरुका दिनमा समन्वयको अभाव र सबै पीडित परिवारसम्म पुग्न नसक्दा केही आलोचना पनि खेप्नुपर्‍यो। हाम्रो बुता र नियन्त्रणभन्दा बाहिरका संरचनाहरूसँग समन्वय गर्दा भएका कमजोरीले जनआक्रोश केही बढेको थियो। 

null

माधव अर्याल - अध्यक्ष, उत्तरगया गाउँपालिका

चीनको तिब्बत क्षेत्रबाट लेन्दे खोला हुँदै भोटेकोशी नेपाल प्रवेश गर्दा आएको बाढीले नेपाल–चीन सीमा बजार रसुवागढीका साथै टिमुरे, स्याफ्रुबेँसी, खाल्टेबेँसी, मैलुङ, पहिरेबेँसी क्षेत्र पनि बगाएको छ। उनका अनुसार विशेष गरी जलविद्युत् आयोजनाका टनेल, ड्याम साइट र पावर हाउसहरूमा धेरै क्षति पुगेको छ। नेपाली सेना र निजी हेलिकप्टरबाट १ हजार ६ सय ४७ जनाको उद्धार गरिएको छ। जसमा गोसाइँकुण्ड तीर्थयात्रामा आई अलपत्र परेका र हेलिकप्टरबाट उद्धार गरिएका १ हजार १ सय ५४ जनालाई नुवाकोट तथा काठमाडौंमा हेलिकप्टरमार्फत नै पठाइएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ। हाल बाढीपीडित २ हजार ८ सय ३१ जनालाई विभिन्न आ  श्रयस्थलमा राखिएको छ।

ऐतिहासिक बजार बेत्रावती

ऐतिहासिक बजार क्षेत्र जहाँ नेपाल–चीन/तिब्बतबीच सम्झौता भएको ऐतिहासिक थलो हो, त्यो बेत्रावती बजार पूर्णरूपमा नष्ट भएको छ। यो बजार रसुवा र नुवाकोट दुवैतिर पर्छ। रसुवाको उत्तरगया गाउँपालिका–५ र नुवाकोट विदुर नगरपालिका–१० मा यो ऐतिहासिक बजार थियो। उत्तरगया–५ मा मात्रै १ सय ९० भन्दा बढी घरधुरी थिए। यी घरधुरीको हाल नामोनिसान छैन। त्यहाँका अधिकांश घरहरू नष्ट भएका छन्।

विक्रम संवत् १८४९ (सन् १७९२) मा बेत्रावती त्रिशूली नदीको किनारमा नेपाल–तिब्बत/चीन युद्ध अन्त्य गर्न नेपाल र भोटबीच सन्धि भएको थियो। यसमा हस्ताक्षर गर्ने नेपालका प्रतिनिधि देवीदत्त थापा थिए भने तिब्बतका प्रतिनिधि जनरल टुङटुवान थिए। ऐतिहासिक सन्धिको चिनोका रूपमा रहेको ढुंगालाई पनि बाढीले बगाएर लगेको छ। यो बजारमा उद्योगी–व्यवसायीहरूको ठूलो बसोबास थियो। रसुवाको मुख्य व्यापारिक केन्द्र बेत्रावती पूरै ध्वस्त भएको छ।

भूकम्पपीडितको बस्ती खण्डहर

उत्तरगया गाउँपालिकाका ५ वटा वडामध्ये वडा नं. १ सबैभन्दा बढी प्रभावित क्षेत्र हो। पालिका अध्यक्ष माधव अर्यालका अनुसार त्यहाँ पहिले ३ सय घरधुरीको बस्ती रहेको थियो, जुन भूकम्पपछिको पुनर्स्थापनाका क्रममा त्रिशूली नदीको किनारमा बसेको थियो। उक्त बस्तीका लगभग सबै घर ध्वस्त भएका छन्।

 २०७२ सालमा आएको भूकम्पबाट पीडितहरूलाई यो बस्तीमा लगेर राखिएको थियो। उत्तरगयामा नै निर्माणाधीन २१६ मेगावाटको पावरहाउस निर्माण ध्वस्त भएको छ। मैलुङ बस्ती, सल्लेटार बस्ती बाढीले बगाएको छ। रसुवाले भौतिक पूर्वाधार मात्रै होइन, दक्ष जनशक्ति, इन्जिनियरहरू, उच्च शिक्षा हासिल गरेका नागरिकहरू र प्राविधिक म्यानपावरहरूको ठूलो पंक्ति गुमाएको छ। उत्तरगयामा मात्रै ३ वटा विद्यालयहरू पूर्णरूपमा नष्ट भएका छन्। पालिकाका ५ जना कर्मचारी र ६ जना विद्यालयका शिक्षक तथा कर्मचारी हराएका छन्।

उत्तरगयाका अध्यक्ष माधव अर्याल सुरुआती दिनमा संघ, प्रदेश र स्थानीय तहको समन्वयमा समस्या भएको बताउँछन्। उनले समन्वयको अभावमा आलोचना पनि खेप्नुपरेको बताए। उनले भने, ‘सुरुका दिनमा समन्वयको अभाव र सबै भिक्टिम परिवारसम्म पुग्न नसक्दा केही आलोचना पनि खेप्नुपर्‍यो। हाम्रो बुता र नियन्त्रणभन्दा बाहिरका संरचनाहरूसँग समन्वय गर्दा भएका कमजोरीले गर्दा जनआक्रोश केही बढेको थियो। तर, त्यसका बाबजुद हामीले राहतका लागि देश–विदेशमा आह्वान गर्‍यौं।’

सरकारको योजना एकद्वार प्रणालीबाट राहत संकलन र वितरण गर्ने भए तापनि जनताले थाहै नपाउने ठाउँमा सेन्टर राख्दा प्रभावकारी नहुने देखिएको उनले बताए। जिल्ला विपद् व्यवस्थापन समितिको अनुमति लिएर उत्तरगया–५, बोगटारमा ‘राहत संकलन केन्द्र’ स्थापना गरेको उनले जानकारी दिए। उनका अनुसार त्यहाँ कर्मचारीहरूमार्फत आउने राहतको व्यवस्थित रेकर्ड राख्ने काम भइरहेको छ।

छिमेकी पालिकाको गुन

सुरुआती दिनमा केन्द्रसँग पुरै सम्पर्क विच्छेद रहेका उत्तरगयाका बाढीप्रभावितलाई छिमेकी पालिकाले मानवीय र भौतिक सहयोग गरेको अध्यक्ष अर्याल बताउँछन्। उनले सहयोग गरेर ठूलो गुन लगाएको बताए। उनले भने, ‘हाम्रो मुख्य बजार क्षेत्र नै बाढीले ध्वस्त बनाएकाले सुरुका दिनमा खरिद गरेर खुवाउने स्थिति पनि थिएन। तर, विपद्को यस घडीमा छिमेकी पालिका– विशेष गरी कालिका गाउँपालिका, नौकुण्ड गाउँपालिकाले मानवीय तथा भौतिक सहयोग गरेर ठूलो गुन लगाउनुभएको छ। उहाँहरूको यो सहयोगको जति नै प्रशंसा गरे पनि कम हुन्छ।’ छिमेकी गाउँपालिकाका जनशक्तिले विभिन्न क्षेत्रमा सहयोग गरिरहेका छन्। 

उत्तरगया गाउँपालिकाले मंगलबार प्राप्त वस्तुगत राहतहरूलाई समानुपातिक ढंगले प्याकेज बनाएर वितरण गर्न सुरु गरेको अध्यक्ष अर्यालले जानकारी दिए। उनका अनुसार पहिलो प्याकेज मृतक परिवारका लागि काजक्रिया खर्च दिइएको छ भने दोस्रो प्याकेजमा घरबारविहीन भई एकसरो लगाएको लुगाबाहेक केही नरहेका अति विपन्न र प्रभावित परिवारका लागि दिइएको छ। अर्याल भन्छन्, ‘मूलतः विपद्को पहिलो चरणमा पूर्वतयारीका कामहरू सम्पन्न गर्नुपर्ने थियो, तर यसपालि पूर्वतयारीको नाम मात्र भयो, खासै सम्भावना पनि रहेन। पूर्वतयारीमा हामी पछि परे पनि त्यसपछिको दोस्रो चरण अर्थात् ‘प्रतिकार्य’ अन्तर्गत पहिलो प्राथमिकता उद्धारको कामलाई दियौं।’ सरकारले प्रतिकार्यका क्षेत्रमा केही कमजोरी देखाए पनि सीमित साधनस्रोतका बाबजुद जनताका माझ पुग्ने प्रयास गरिरहेको उनले बताए।

‘विपद्बाट प्रभावित परिवार, घरबारविहीन हुनुभएका नागरिक, मृतकका आफन्त तथा बेपत्ता भएका परिवारहरूलाई लक्षित गरी हामीले तत्कालका लागि राहत व्यवस्थापन सुरु गरेका छौं,’ उनले भने, ‘राहत व्यवस्थापनअन्तर्गत पहिलो चरणमा अस्थायी ‘होल्डिङ सेन्टर’का रूपमा माध्यमिक विद्यालयहरूलाई प्रयोग गरी मानिसहरूलाई कम्तीमा छानामुनि राख्ने र बिहान–बेलुकाको खानाको व्यवस्था गर्ने काम डे–टुदेखि नै सुरुआत गर्‍यौं।’

राहत तथा व्यवस्थापनको संयन्त्र

राहत वितरणलाई पारदर्शी र व्यवस्थित बनाउन उपाध्यक्षको नेतृत्वमा वडाध्यक्षहरू र पालिकाभित्र रहेका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू सम्मिलित ‘राहत वितरण तथा व्यवस्थापन समिति’ गठन गरिएको उनले जानकारी दिए। यो समितिले दैनिक समीक्षा गर्ने, बैठक बस्ने र भोलिको तयारी गर्ने काम गरिरहेको अध्यक्ष अर्यालले जानकारी दिए। उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङले विभिन्न विद्यालयका होल्डिङ सेन्टरमा खानेकुराको व्यवस्था गरिरहेको जानकारी दिएकी छन्। 

 

Post a Comment

0 Comments