सुख समृद्धिको वर्ष बनोस्


नयाँ वर्ष २०८२ सालको आरम्भले सम्पूर्ण नेपाली जनमानसमा नयाँ ऊर्जा, उत्साह र आशाको सञ्चार गरेको छ । प्रत्येक नयाँ वर्षसँगै भविष्यप्रति आशावादी दृष्टिकोण र नयाँ संकल्पहरू जोडिन्छन् । विगतका चुनौती र संघर्षलाई पछाडि पार्दै अब हामीले विकास, समृद्धि र स्थायित्वतर्फ दृढतापूर्वक कदम चाल्नुपर्ने बेला आएको छ ।

२०८२ सालले यही मार्गप्रति जनचेतना, नेतृत्व र नीतिगत प्रतिबद्धताको माग गरिरहेको छ । २०८१ सालमा मुलुकले प्राप्त गरेका केही सकारात्मक उपलब्धिले यो नयाँ वर्ष अझ उज्यालो हुने संकेत दिएको छ । आर्थिक वृद्धिदरमा सुधार, पर्यटन क्षेत्रको बिस्तार, कूटनीतिक सम्बन्धको विस्तार र पुँजी बजारमा बढ्दो विश्वासले देशमा विकासको नयाँ सम्भावना निर्माण गरेको छ । यी उपलब्धिहरूको जगमा उभिएर २०८२ सालमा हामीले अझ व्यापक र स्थायी परिवर्तनको बाटो समात्नुपर्नेछ ।

विशेषतः ऊर्जा, पर्यटन र कृषि क्षेत्रहरूमा यस वर्ष थप उत्साह देखिने प्रबल सम्भावना छ । जलविद्युत् उत्पादनमा भइरहेको लगानी, साना तथा मझौला परियोजनाहरूको विस्तारले ऊर्जा आत्मनिर्भरता तर्फको यात्रा द्रुत बनाउँदैछ । पर्यटन क्षेत्रमा सुधारिएको पूर्वाधार, अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा वृद्धि र सांस्कृतिक पहिचानको प्रवद्र्धनले रोजगारी र आम्दानीमा सकारात्मक प्रभाव पार्नेछ । उता, कृषि क्षेत्रमा प्रविधिको प्रयोग, अनुदान र सहुलियतपूर्ण कर्जा नीतिहरूले आत्मनिर्भरता र खाद्य सुरक्षामा बल पुर्याउनेछन् । २०८१ सालको अन्तिम समयका असन्तोष, असझदारीहरू ०८२ सँगै समाधानमा जाने वातावरण सिर्जना गर्नुपर्ने दायित्व छ । जसका लागि राज्य सञ्चालकहरू शीलबाट ओतप्रोत हुनुपर्नेछ भने, मैत्री, करुणा, मुदिता र उपेक्षाको भाव प्रकट भई सम्पूर्ण नेपालीमा नयाँ उर्जा प्राप्त होस् ।

२०८२ साल आशावादको मात्र संकेत नभएर कार्यान्वयनको पनि वर्ष हुनुपर्छ । जनतामा फैलिएको निराशा, बेरोजगारी र भ्रष्टाचारप्रतिको आक्रोशलाई सम्बोधन गर्दै राज्यको संयन्त्रले उत्तरदायी र पारदर्शी व्यवहार प्रस्तुत गर्नुपर्नेछ । यथार्थ परिवर्तनका लागि शुभेच्छा मात्र होइन, प्रभावकारी कार्यनीतिहरू आवश्यक छन् । नयाँ वर्षको सुरुवातलाई हामीले सामूहिक प्रतिबद्धताको रूप दिनुपर्छ– जहाँ सरकार, निजी क्षेत्र, नागरिक समाज र आम जनताले आआफ्नो भूमिकालाई इमानदारीपूर्वक निर्वाह गर्छन् ।
यही समन्वयले २०८२ साललाई विकास, समृद्धि र आत्मगौरवको यात्रातर्फ अघि बढाउनेछ । नयाँ वर्ष २०८२ साल सबै नेपालीका लागि सुख, समृद्धि, शान्ति र उत्साहको नयाँ अध्याय होस् । यही शुभकामना सहित, हामी सबैले यो वर्षलाई नेपालको उज्यालो भविष्य निर्माणको सशक्त माध्यम बनाऔं ।
0 Comments