पूर्वराजाप्रति एमाले झन् आक्रोशित
‘मलाई साथ देऊ भन्दै उकास्ने, अनि जबाफदेहिताबाट पन्छिने ?’


काठमाडौं : सत्तारूढ नेकपा (एमाले) ले तीनकुने घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा पूर्वराजा पन्छिन नमिल्ने निष्कर्ष निकालेको हो।

उक्त दिन राजसंस्था पुनस्र्थापनाका लागि भन्दै तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ठूलो धनजनको क्षति भएको थियो। घटनामा दुई जनाको मृत्यु हुनुका साथै अन्नपूर्ण मिडिया नेटवर्कलगायतका सञ्चारमाध्यम, निजी र सरकारी भवन तथा जडीबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो। कोटेश्वरको भाटभटेनीमा लुटपाट भएको थियो। ‘पूर्वराजा ज्ञानेन्द्र शाह नैतिक रूपमा जबाफदेही हुनैपर्छ। किनभने फागुन ७ गते म अगाडि बढेँ, मलाई साथ देऊ भनिसकेपछि र चैत १४ गते कमान्डर (दुर्गा प्रसाईं) र त्यसअघि संयोजक (नवराज सुवेदी) तोक्नुभयो,’ बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘त्यसछि नै भीड भनेर लागिसकेपछि यो घटना भएको हो। उहाँले जबाफदेहिताबाट पन्छिन मिल्दैन।’

उनले चैत १५ भएको तीनकुने घटनाका विषयमा सरकारले अनुसन्धान गरिरहेको पनि बताए। एमालले नयाँ वर्षका अवसरमा पूर्वराजा शाहले दिएको भिडियो सन्देश आपत्तिजनक भएको बताएको छ। ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। ‘पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति आएको छ। उहाँको मनमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि, अहिलेका उपलब्धिहरूलाई पछाडि धकेल्न सकिन्छ कि भन्ने आशा र त्यससम्बन्धी सक्रियता जीवितै रहेको पायौं, जुन गलत भयो,’ ज्ञवालीले भने।

तीनकुने घटनालाई जनतामा आएको जागरण भनेर पूर्वराजाले भिडियो सन्देशमा भनेको विषयमा पनि एमालेले आपत्ति जनाएको छ। ज्ञवालीले सचिवालय बैठकको निष्कर्ष सुनाउँदै भने, ‘१५ गतेको आपराधिक घटनालाई जनतामा आएको जागरणका रूपमा व्यक्त गर्नुभयो। सर्वसाधारणको घरमा लुटपाट, तोडफोड, सरकारी कार्यालयमा विध्वंश आदि। उहाँले खोजेको जागरण त्यस्तै हो भने त्यो त धेरै आपत्तिजनक कुरा हो। त्यसैले यस्ता खाले कुनै पनि क्रियाकलाप नगर्न हामीले उहाँलाई भनेका छौं।’ एमालेले व्यवस्था उल्ट्याउने प्रयासलाई अवाञ्छित र असफल भनेको छ। ‘मुलुकले लोकतान्त्रिक गणतन्त्रको कोर्स लिइसकेको छ, यसलाई उल्ट्याउने कुनै पनि प्रयास अवाञ्छित हुन् र ती असफल हुनु अनिवार्य छन्, उनले भने, ‘त्यस्तो कुरा नहोस् भन्ने प्रस्ट पार्ने काम बैठकले गरेको छ।’
सरकार परिवर्तनको कुरा ‘सत्ताप्रति आशक्ति’
‘प्रचण्ड’ सत्ता बाहिर रहँदाको कुण्ठामात्रै भएको एमालेको निष्कर्ष छ। प्रचण्डको सरकार परिवर्तनको भनाइ सत्ताबाहिर हुँदाको कुण्ठा र पीडाबोध भएको निचोड एमालेको छ। एमालेले प्रचण्डले चितवनमा नयाँ वर्षसँगै सरकार परिवर्तन हुन्छ भनेर दिएको अभिव्यक्तिलाई खारेज गरेको छ। ‘प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ। यो सरकार बाहिर हुँदाको कुण्ठा र पीडाबोध प्रकट हुन्छ। अहिले सरकार परिवर्तन न कतैबाट सम्भव र सान्दर्भिक छ न यसको औचित्य छ,’ ज्ञवालीले भने, ‘राष्ट्रिय राजनीतिका यावत् कुरा छाडेर सरकार परिवर्तनको कुरामात्र गर्नु भनेको सत्तामोहबाहेक केही होइन। भ्रम सिर्जना गर्ने कोसिस भएको छ त्यसलाई हामीले खण्डन गरेका छौं।’
अझै राम्रो कामका लागि सरकारलाई एमालेले झकझक्याइरहेको पनि उनले बताए। ‘केही कमी, कमजोरीलाई आधार मानेर कोही व्यवस्था नै पल्टाउन कोसिस गर्ने, अर्काथरी सरकार परिवर्तनको ध्यानमा मात्र जानेः यी अस्थिरताका प्रयत्न हुन्। सफल हुँदैनन्,’ उनले भने।
एमालेले जनतामा असन्तुष्टि, निराशा बढ्नुमा माओवादी केन्द्रलाई जिम्मेवार ठानेको छ। ज्ञवालीले शान्ति प्रक्रियापछि सबैभन्दा बढी समय माओवादी केन्द्र सरकारमा रहेकाले उसले निराशा, असन्तुष्टिको जिम्मेवारी लिनुपर्नेबताए। ‘सत्तामा सबैभन्दा कम बसेको एमाले र बीचमा नेपाली कांग्रेस हो। माधव नेपाल सरकारमा हुँदा २० महिना र नेकपा विभाजनपछि केही महिना र अहिले हो माओवादी प्रतिपक्षमा बसेको,’ उनले भने, ‘अधिकांश समय सत्तामा छ। त्यसको जबाफदेहिता लिनुपर्दैन ? अरूलाई मात्रै औंला ठड्याएर हुन्छ ? ’
७ योद्धा सम्मानित हुने
एमालेले सात जनालाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय गरेको छ। सचिवालय बैठकले कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा सम्मानित हुनेहरूमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्नशर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), वाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण शिवाकोटी (झापा) छन्। एमालेले वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउँदै आएको छ। गत वर्ष पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’को सम्मानबाट विभूषित गरिएको थियो।
त्यसैबीच, एमालेले ११ वैशाखलाई गणतन्त्रको उत्सवको रूपमा मनाउने निर्णय पनि गरेको छ। त्यो दिन ४० वर्ष उमेरसम्मका एक लाख युवालाई काठमाडौंको टुँडिखेलमा भेला गरेर शक्ति प्रदर्शन गर्ने उनले जानकारी दिए।
0 Comments