शिक्षाको स्थिति जति उच्च, बेरोजगारीदर उत्ति बढी











https://www.annapurnapost.com/story/481830/

शिक्षाको स्थिति जति उच्च, बेरोजगारीदर उत्ति बढी

शिक्षाको स्थिति जति उच्च, बेरोजगारीदर उत्ति बढी
94Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

धेरै पढेँ, राम्रो रोजगारी पाइन्छ, आम अभिभावकले बालबालिकालाई यही प्रेरणा दिन्छन् । तर, राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनले भन्छ– ‘जति धेरै पढ्यो, बेरोजगार हुने सम्भावना उत्तिकै छ ।’

काठमाडौं : मुलुकमा शिक्षाको स्तर जतिजति उच्च छ, बेरोजगारी दर पनि त्यति नै उच्च पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार सामान्य पढेलेखेकाभन्दा डिग्री हासिल गरेकाहरूमा बेरोजगारी दर उच्च देखिएको छ । त्यति मात्र होइन, राम्रो आर्थिक स्थिति भएका घरपरिवारका व्यक्तिहरूमा पनि पनि बेरोजगारी दर उच्च रहेको प्रतिवेदनले देखाएको छ । 

मुलुकमा स्नातक गरेका ६.२ प्रतिशत बेरोजगार छन् । जसमा ८.१ प्रतिशत महिला र ५.१ प्रतिशत पुरुष छन् । त्यस्तै माध्यमिक शिक्षा (प्लस टु) सम्म पास गरेका ६.५ प्रतिशत बेरोजगार छन् । जसमा महिलाको हिस्सा ६.८ र पुरुषको हिस्सा ६.२ प्रतिशत छ । जबकी अशिक्षित ३.६ प्रतिशत मात्रै बेरोजगार छन् । 

जसमा महिला ३.५ र पुरुष ३.६ प्रतिशत बेरोजगार रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै बालविकास वा साक्षर मात्रै ४.७ प्रतिशत बेरोजगार छन् । जसमा ४.५ प्रतिशत महिला र ४.९ प्रतिशत पुरुष छन् । आधारभूत शिक्षा हासिल गरेका ४.३ प्रतिशत बेरोजगार छन् जसमा महिलाको हिस्सा ४.३ प्रतिशत र पुरुषको हिस्सा ४.२ प्रतिशत छ । 

प्रतिवेदनअनुसार अशिक्षित वर्गमा रोजगारीको अवस्था राम्रो देखिएको छ । ६७.१ प्रतिशत असाक्षर रोजगारीमा छन् । जसमा पुरुष ७६.१ र महिला ६२.६ प्रतिशत छन् । जबकी उच्च शिक्षा हासिल गरेका पनि सबैले रोजगारी पाएका छैनन् । 

गाउँभन्दा सहरमा बढी बेरोजगार 
प्रतिवेदनअनुसार ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा बेरोजगारी दर उच्च देखिएको छ । ग्रामीण क्षेत्रमा ४.१ प्रतिशत बेरोजगारी दर छ भने सहरी क्षेत्रको (५.६ प्रतिशत) बेरोजगारी दर छ । आर्थिक रूपमा सम्पन्नभन्दा विपन्न नै बढी रोजगार रहेको प्रतिवेदनमा छ । अतिविपन्न वर्ग ६९.३ प्रतिशत रोजगार छन् भने अतिसम्पन्न वर्ग ५८.६ प्रतिशत मात्रै रोजगार छन् । 

विश्लेषणबाट देखिएअनुसार आर्थिक रूपले सक्रिय नहुनुको पछाडि उमेर, लिंग, वैवाहिक स्थिति, प्रदेशगत विशिष्टता, बसाइँसराइ र शिक्षा आदि विविध कारक देखिएको तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी ढुण्डिराज लामिछाने बताउँछन् । ‘पढेका मान्छे बेरोजगार छन्,’ लामिछाने भन्छन्, ‘तर निर्वाहमुखी कृषि, साना पसल लगायत अनौपचारिक रोजगारीले तल्लो वर्ग बढी रोजगार देखिएको छ ।’ 

प्रतिवेदनअनुसार आर्थिक रूपले सक्रिय नरहेकामध्ये ४८.६ प्रतिशत मानिसहरूले विद्यार्थी हुनुको कारणले आर्थिक काम नगरेको देखिएको छ । त्यस्तै, अन्य महत्वपूर्ण कारणहरूमा घरधन्दा (२८.४ प्रतिशत) र वृद्धावस्था (११.८ प्रतिशत) रहेका छन् ।

६५.५ प्रतिशत आर्थिक रूपमा सक्रिय 
मुलुकका १ करोड ५७ लाख (६५.५ प्रतिशत) व्यक्तिहरू आर्थिक रूपले सक्रिय जनसंख्या वा श्रमशक्तिका रूपमा गणना गरिएको छ । कुल श्रमशक्तिमध्ये ८२ लाख पुरुष र ७५ लाख महिला छन् । राष्ट्रिय जनगणना ०७८ अनुसार मुलुकमा कुल जनसंख्या २ करोड ९१ लाख छ । कुल

जनसंख्यामध्ये २ करोड ३९ लाख 
(८२.२ प्रतिशत) व्यक्ति १० वर्ष वा सोभन्दा माथिको उमेर समूहमा पर्छन् । आर्थिक रूपले सक्रिय उमेर समूह (१५–६४ वर्ष ) मात्र मानिएको खण्डमा कुल श्रमशक्ति १ करोड ३९ लाख रहेको देखिएको छ । जसमा ७३ लाख पुरुष र ६६ लाख महिला समावेश छन् । आर्थिक रूपले सक्रिय जनसंख्यामध्ये १ करोड २ लाख (६५.५ प्रतिशत) व्यक्तिहरू रोजगार रहेको देखिएको छ । जबकि ७ लाख ६० हजार (४.९ प्रतिशत) बेरोजगार छन् । 

आर्थिक रूपमा सक्रिय बागमतीमा धेरै 
मुलुकको ४६ लाख जनसंख्या (२९.७ प्रतिशत) आर्थिक रूपले सक्रिय छैन् । आर्थिक रूपले सक्रिय जनसंख्याको सबैभन्दा ठूलो उमेर समूह २५–२९ वर्ष छ जसमा १९ लाख रहेका छन् भने त्यसपछिको दोस्रो ठूलो उमेर समूह २०–२४ वर्ष उमेर समूह रहेको छ र यसमा १८ लाख रहेका छन् । आर्थिक रूपले सक्रिय जनसंख्को तेस्रो ठूलो उमेर समूह ३५–३९ वर्ष रहेको छ जहाँ १७ लाख ८० हजार जनसंख्या रहेको देखिएको छ ।

आर्थिक रूपमा सक्रिय सबैभन्दा बढी बागमतीमा, सबैभन्दा कम कर्णालीमा छन् । प्रदेशहरूमध्ये आर्थिक रूपले सक्रिय जनसंख्या सबैभन्दा धेरै (३४ लाख) बागमती प्रदेशमा रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम (९ लाख ५० हजार) मात्र छन् । भौगोलिक क्षेत्रानुसार तराईमा सबैभन्दा धेरै 
(७८ लाख) आर्थिक रूपले सक्रिय जनसंख्या रहेको छ भने हिमाली क्षेत्रमा सबैभन्दा कम (१० लाख) रहेको छ । सहरी तथा ग्रामीण वर्गीकरणको आधारमा हेर्दा आर्थिक रूपमा सक्रिय जनसंख्यामध्ये सबैभन्दा धेरै (५९ लाख) अर्धसहर क्षेत्रमा रहेको छ । ग्रामीण क्षेत्रमा ५८ लाख र सहरी क्षेत्रमा ३९ लाख छन् । 

१० वर्षमाथिको ८२ लाख जनसंख्या आर्थिक रुपमा सक्रिय नरहेको 
दश वर्ष वा सोभन्दा माथिका कुल ८२ लाख (३४.२७ प्रतिशत) जनसंख्या आर्थिक रूपमा सक्रिय नरहेको पाइएको छ जसले गर्दा नेपालमा श्रमशक्तिभन्दा बाहिर रहेको जनसंख्या उल्लेखनीय रूपमा ठुलो देखिएको प्रतिवेदनमा उल्लेख छ ।

श्रमशक्ति सहभागिता
प्रतिवेदनअनुसार १० वर्ष वा सोभन्दा माथिको जनसंख्याको श्रम सहभागितादर ६५.५ प्रतिशत छ जसमा पुरुषतर्फ ७१.३ प्रतिशत र महिलातर्फ ६०.४ प्रतिशत रहेको छ । श्रम सहभागिताको उमेर १५–६४ वर्ष मान्ने हो भने यो दर पुरुषका हकमा ८०.३ प्रतिशत र महिलाका हकमा ६७.१ प्रतिशत छ । श्रम सहभागितादरलाई उमेर समूहअनुसार हेर्दा ४०–४४ वर्ष उमेर समूहमा सबैभन्दा उच्च (८५.४ प्रतिशत) छ । त्यसपछिको दोस्रो (८४.९ प्रतिशत) र तेस्रो (८४.४ प्रतिशत) ठूलो उमेर समूह क्रमशः ३५–३९ वर्ष र ४५–४९ रहेको देखिएको छ ।

प्रदेशस्तरमा पुरुष, महिला र ती दुवैको समग्रलाई तुलना गर्दा श्रमशक्ति सहभागितादरमा उल्लेखनीय अन्तर देखिएको छ । सबैभन्दा उच्च श्रमशक्ति सहभागितादर कर्णाली प्रदेशमा ७१.१ प्रतिशत देखिएको छ भने सबैभन्दा कम (५७.२ प्रतिशत) मधेस प्रदेशमा देखिएको छ । लैंगिक आधारमा श्रमशक्ति सहभागितादरको अन्तर सबैभन्दा बढी मधेश प्रदेशमा देखिएको छ ( लैंगिक समता सूचकः ७०.७), भने सबैभन्दा कम कर्णाली प्रदेशमा (लैंगिक समता सूचकः ९५.६) रहेको छ ।

सहरी र ग्रामीण क्षेत्रमा श्रमशक्ति सहभागितादरमा स्पष्ट अन्तर देखिएको छ । ग्रामीण क्षेत्रमा श्रम शक्ति सहभागितादर सबैभन्दा उच्च ( ७४.० प्रतिशत) रहेको छ, त्यसपछि अर्धसहरी क्षेत्रमा (६३.६ प्रतिशत) र सहरी क्षेत्रमा सबैभन्दा कम (५८.० प्रतिशत) देखिएको छ । लैंगिक दृष्टिकोणबाट श्रमशक्ति सहभागितादरको सबैभन्दा धेरै विषमता सहरी क्षेत्रमा विद्यमान रहेको देखिएको छ ।
संखुवासभावको श्रम सहभागिता दरमा 

सबैभन्दा उच्च 
जिल्लास्तरमा पनि श्रमशक्ति सहभागितादरमा व्यापक भिन्नता देखिएको छ । यस सूचकको मान सबैभन्दा उच्च (९१.३ प्रतिशत) संखुवासभामा रहेको छ भने सबैभन्दा कम (५२.८ प्रतिशत) महोत्तरी जिल्लामा देखिएको छ । त्यसैगरी
उमेरअनुसारको अक्सर बेरोजगारीदर विश्लेषण गर्दा खासगरी १५–१९ वर्ष समूहका युवामा उच्च (९.३ प्रतिशत) बेरोजगारी रहेको छ भने दोस्रो (७६ प्रतिशत) र तेस्रो (६.७ प्रतिशत) मा क्रमशः १५–१९ र २५–२९ वर्ष उमेर समूह रहेका छन् । 

आफ्नै काम गर्ने धेरै 
जनगणना २०७८ अनुसार, रोजगारको स्थितिलाई चार श्रेणीमा वर्गीकृत गरिएको छ । जसमा अरूको काम गर्ने ४२ लाख (२८.६ प्रतिशत) छन् । रोजगारदाता २ लाख (१.४ प्रतिशत) र आफ्नै काम गर्ने ८२ लाख (५५.३ प्रतिशत) र परिवारलाई सघाउनेहरू २१ लाख (१४.५ प्रतिशत) देखिएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठनले ‘सामाजिक दृष्टिकोणबाट असुरक्षित रोजगारी’ लाई आफ्नै काम गर्ने वा परिवारलाई सघाउने समूहलाई परिभाषित गरेको छ ।

१ करोड ४ लाख असुरक्षित रोजगारी
जनगणना २०७८ ले १ करोड ४ लाख (६९.९ प्रतिशत) श्रमशक्तिलाई असुरक्षित रोजगारीमा संलग्न देखाएको छ, जसमा ४९ लाख पुरुष (६३.२ प्रतिशत) र ५४ लाख महिला (६३.२ प्रतिशत) छन् ।

प्रदेशस्तरमा तुलना गर्दा कर्णालीमा असुरक्षित रोजगारी उच्चतम (८४ प्रतिशत) छ । ग्रामीण क्षेत्रमा असुरक्षित रोजगारीको अनुपात ८४.८ प्रतिशत छ । शिक्षित व्यक्तिहरूतर्फ असुरक्षित रोजगारीको अनुपात ७६.५ प्रतिशत छ भने अशिक्षित वर्गमा यो अनुपात ७३.५ प्रतिशत रहेको छ ।
५७.३ प्रतिशत श्रमशक्ति प्राथमिक क्षेत्रमा 

प्रतिवेदनमा समग्र अर्थतन्त्रलाई विभिन्न औद्योगिक क्षेत्रहरूभित्र खण्डीकरण गरेर विश्लेषण गरिएको छ । कुल श्रमशक्तिको सबैभन्दा ठूलो (८५ लाख, ५७.३ प्रतिशत) हिस्सा प्राथमिक क्षेत्र (कृषि, वन र मत्स्यपालन) मा संलग्न रहेको छ । यसलाई लैंगिक आधारमा खण्डीकरण गरेर हेर्दा प्राथमिक क्षेत्रमा संलग्न पुरुषहरूको अनुपात ५०.६ प्रतिशत र महिलाहरूको अनुपात ६४.८ रहेको छ । उत्पादनमूलक अर्थात् औद्योगिक क्षेत्रमा १२.७ प्रतिशत व्यक्तिहरू मात्र संलग्न छन् । जसमा पुरुषतर्फ १६.६ प्रतिशत र महिलातर्फ ८.१ प्रतिशत) छन् र बाँकी ३० प्रतिशत (पुरुषतर्फ ३२.७ प्रतिशत र महिलातर्फ २७.१ प्रतिशत) सेवा क्षेत्रमा संलग्न छन् ।

सहरी र ग्रामीण क्षेत्रको सापेक्षतामा हेर्दा प्राथमिक क्षेत्रमा संलग्न हुने श्रमशक्तिको अंगमा ठूलो भिन्नता देखिएको । ग्रामीण क्षेत्रमा ७७.६ प्रतिशत व्यक्तिहरू प्राथमिक क्षेत्रमा संलग्न छन् भने सहरी क्षेत्रमा मात्र २४.२ प्रतिशत व्यक्तिहरू प्राथमिक क्षेत्रमा संलग्न देखिन्छन् । त्यस्तै, ग्रामीण क्षेत्रमा १५.८ प्रतिशत व्यक्तिहरू सेवा क्षेत्रमा संलग्न छन् भने सहरी क्षेत्रमा ५७.७ प्रतिशत व्यक्तिहरू सो क्षेत्रमा संलग्न छन् ।

१ करोड ३ लाख, अक्सर रोजगार 
१० वर्ष र माथिको कुल जनसंख्यामा केवल १ करोड ३ लाख (४२.९ प्रतिशत) व्यक्तिहरू अक्सर रोजगार रहेको प्रतिवेदनमा उल्लेख छ । अक्सर रोजगारीको अर्थ भनेको १२ महिनाको सन्दर्भ अवधिमा कम्तीमा ६ महिना कुनै पनि आर्थिक काम गरेको हुनुपर्छ । अक्सर रोजगार पुरुष र महिलाका बीचमा स्वाभाविक भिन्नता देखिएको छ । जनगणनाले ४० प्रतिशत महिला र ५२.५ पुरुष अक्सर रोजगारअन्तर्गत देखाएको छ । उमेर समूहअनुसार तथ्यांक केलाउँदा ३०–३४ देखि ५० –५४ वर्षका बिचमा रहेका ६० प्रतिशतभन्दा बढी व्यक्तिहरू अक्सर रोजगार देखिएका छन् ।

प्रदेशगत तुलना गर्दा कोशी शीर्ष (४९.० प्रतिशत) स्थानमा छ र मधेस सबैभन्दा तल्लो अर्थात् सातौं (३४.७ प्रतिशत) स्थानमा छ । अक्सर रोजगार जनसंख्याको अनुपात सहरी क्षेत्रमा ३९.० प्रतिशत र ग्रामीण क्षेत्रमा ४९.० प्रतिशत छ । यस्तो विषमताका पछाडि सहरी क्षेत्रमा अक्सर रोजगार हुने महिलाको न्यून संख्याले निर्धारण गरेको छ । सहरी क्षेत्रमा केवल २६.५ प्रतिशत महिला अक्सर रोजगार छन् भने ग्रामीण क्षेत्रमा ४५.१ प्रतिशत महिला अक्सर रोजगार छन् । अक्सर रोजगार जनसंख्याको उच्चतम अनुपात (५९.६ प्रतिशत) उच्च शिक्षा प्राप्त समूहमा र न्यूनतम अनुपात (३८.५ प्रतिशत) आधारभूत शिक्षा प्राप्त व्यक्तिहरूमा देखिएको छ ।

बाल श्रम ३२.१ प्रतिशत 

मुलुकको कानुनले १८ वर्षभन्दा मुनिका उमेरका सबैलाई बालबालिका मानेको छ । तर, जनगणनामा १० वर्ष र सोभन्दा माथिको जनसंख्याबाट आर्थिक कामसम्बन्धी विवरण संकलन गरिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार मुलुकमा बाल श्रम उच्च देखिएको छ । १० देखि १७ वर्षसम्मका बालबालिकाको श्रमशक्ति सहभागितादर ३२.१ प्रतिशत रहेको प्रतिवेदनमा छ । जसमा पुरुषतर्फ ३१.९ प्रतिशत र महिलातर्फ ३२.२ प्रतिशत) छ । 
कर्णाली प्रदेशमा बालबालिकाको सबैभन्दा उच्च (३९.५ प्रतिशत) र मधेसमा सबैभन्दा कम (२६.९ प्रतिशत) छ । यसैगरी, भौगोलिक क्षेत्रअनुसार हेर्दा हिमालमा सबैभन्दा उच्च (३९.१ प्रतिशत) देखिएको छ । ग्रामीण क्षेत्रमा ४०.३ प्रतिशत रहेको छ । 

शिक्षाबाट वञ्चित बालबालिकाहरूको हकमा श्रमशक्ति सहभागिता दर सबैभन्दा उच्च अर्थात् ४२.७ प्रतिशत रहेको छ । यसैगरी, अति विपन्न परिवारका बालबालिकाको हकमा यस सूचकको मान ३८.५ प्रतिशत रहेको प्रतिवेदनमा छ । अधिकांश (५२.९ प्रतिशत) बालबालिका १२ महिनाको सन्दर्भ अवधिमा तीन महिनाभन्दा कम आर्थिक रूपमा सक्रिय छन् र १३.४ प्रतिशत बालबालिका कम्तीमा ६ महिना आर्थिक रूपले सक्रिय देखिन्छन् । अधिकांश (५४.४ प्रतिशत) बालबालिका घरायसी क्षेत्रमा संलग्न छन् । आर्थिक रूपले सक्रिय बालबालिकामध्ये ६९.५ प्रतिशत बालबालिकाले कृषि, वन र मत्स्पालन क्षेत्रका दक्ष कामदारका रूपमा काम गरेको देखिएको छ । जसमा पुरुषतर्फ ६१.६ प्रतिशत र महिलातर्फ ७९ .१ प्रतिशत छन् । 

समग्रमा हेर्दा ४.८ बालबालिका अक्सर रोजगारमा रहेको प्रतिवेदनमा छ । प्रदेश तहमा अक्सर रोजगार बालबालिका सर्वाधिक (५.४ प्रतिशत) र न्यूनतम (३.७ प्रतिशत) मधेसमा देखिएको छ ।

आधा वृद्ध जोखिमपूर्ण रोजगारीमा 
६५ वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई श्रमबजारमा जोखिमप्रभावी समूह मानिन्छ । किनभने उनीहरूको शारीरिक दुर्बलताजन्य कारणले काम गर्नसक्ने क्षमता न्यून हुने गर्छ । अथवा उनीहरूलाई श्रमबजारमा आएका नवीनतम प्रविधि र प्रवृत्तिहरूसँग पर्याप्त सूचना नहुन सक्छ । 

नेपालमा ६५ वर्ष र सोभन्दा माथिको जनसंख्या २० लाख रहेको छ, जसमध्ये ४५.९ प्रतिशत आर्थिक रूपले सक्रिय छन् (पुरुषतर्फ ५३.४ प्रतिशत र महिलातर्फ ३८.७ प्रतिशत) छन् । ज्येष्ठ नागरिकतर्फ श्रमशक्ति सहभागितादर कोशीमा सबैभन्दा उच्च (५१.२ प्रतिशत) छ । हिमाली क्षेत्रमा ५६.३ प्रतिशत र ग्रामीण क्षेत्रमा ५४.२ प्रतिशत रहेको छ । अति विपन्न वर्गका ज्येष्ठ नागरिकहरूको श्रमशक्ति सहभागितादर ५३.० प्रतिशत रहेको छ ।

आर्थिक जीवन/कार्यशील जीवनको समयावधि
काम सम्बन्धि जीवनतालिकामा देखाएर अनुसार मृत्युदर श्रमशक्ति सहभागितादर कुनै व्यक्तिको जीवनकालभरि यथावत् रहेको अवस्थामा नेपालमा १५ वर्षको उमेरमा प्रवेश गरेको व्यक्तिको कार्यशील जीवन ३९.२ वर्ष र निष्क्रिय जीवन १९ ३ वर्ष हुनेछ । 
उमेरअनुसार १५ वर्षको प्रवेशविन्दु मानेर खण्डीकरण गरेर हेर्दा पुरुषको कार्यशील जीवन (४२.२ वर्ष) महिला (३६.३ वर्ष) को भन्दा लामो छ । पुरुषको भन्दा महिलाको जीवनप्रत्याशा बढी हुँदाहुँदै पनि कम श्रमशक्ति सहभागितादर भएको कारणले महिलाको औसत कार्यशील जीवन पुरुषको तुलनामा छोटो छ । नेपालको ६० वर्षको उमेरमा प्रवेश गरेको कुनै व्यक्तिको औसत कार्यशील जीवन थप ८.४ वर्ष (पुरुषतर्फ ९.४ वर्ष र महिलातर्फ ७४ वर्ष) हुने देखिएको छ ।राष्ट्रिय जनगणना २०७८ को नतिजाले श्रमशक्तिका सूचकांकहरूमा ठूलो भिन्नता देखाएको प्रतिवेदनमा छ ।

श्रमशक्ति सहभागितादर, अक्सर बेरोजगारीदर, रोजगारीमा हुँदाको हैसियत, पेसा र औद्योगिक क्षेत्रानुसारको संलग्नता र जोखिमप्रभावी रोजगारीलाई तथ्यांक संलकन गरिएको छ । रोजगारीका सन्दर्भमा विद्यमान लैंगिक अन्तर, भौगोलिक क्षेत्र र प्रादेशिक स्तरमा रहेका भिन्नता, सामाजिक संरचनाजन्य विषमता आदिलाई दृष्टिगत गरेर यी अनिच्छित विषमताहरू न्यूनीकरणका लागि नीति तथा कार्यक्रम अगाडि सारिनुपर्ने राष्ट्रिय तथ्यांक कार्यालयको सुझाव छ । ‘यसले क्षेत्रीय स्तरमा रहेका असन्तुलन र आर्थिक क्रियाकलापमा लैंगिक हिसाबले कमजोर रहेको सहभागितादरलाई पनि सम्बोधन गर्न सक्नेछ ।’ प्रतिवेदनमा भनिएको छ । 

उचित तालिम र सीप विकासमा दिइने प्राथमिकताबाट शैक्षिक बेरोजगारीलाई न्यूनीकरण गर्न मद्दत पुग्ने सुझाव पनि दिइएको छ । निजी र सार्वजनिक क्षेत्रहरूमा औपचारिक रोजगारी सिर्जना गर्ने नीतिमार्फत रोजगारीको अवस्थालाई पुनः संरचना गर्न र सम्मानजनक कामहरूलाई प्रवर्धन गर्न सघाउ पुग्ने प्रतिवेदनमा उल्लेख छ ।

बाल श्रमको विद्यमान क्षेत्र र संवेदनशीलताको लेखाजोखा गर्नका लागि थप अध्ययन हुनु आवश्यक छ र बाल श्रम समाप्त गर्नको लागि विद्यमान नीतिको पुनरावलोकन र कानुनी व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको पनि प्रतिवेदनमा सुझाइएको छ । 

राष्ट्रिय अर्थतन्त्रको श्रमबजारमा उपलब्ध मानिसहरूलाई रोजगारीका अवसरहरू विस्तार गर्नका लागि रोजगारी नीतिलाई केन्द्रित गर्नुपर्ने तथ्यांक कार्यालयका प्रवक्ता लामिछाने बताउँछन् । ‘उत्पादकत्वमा वृद्धिका साथसाथै श्रमको रूपान्तरण हुनु जरुरी छ । यसका लागि रोजगारीमा रहेको लैंगिक अन्तर पनि घटाउनुपर्दछ । औद्योगिक क्षेत्रमा महिला श्रमशक्तिको सहभागिता वृद्धि गर्न विशेष कार्यक्रमहरूको कार्यान्वयन अपेक्षित छ ।’ प्रतिवेदनमा सुझाइएको छ । आउँदा वर्षहरूमा जनसंख्याको उमेर लिंग संरचनामा देखिने परिवर्तन र देशका आर्थिक तथा सामाजिक परिवेशमा हुन जाने द्रुततर परिवर्तन सँगसँगै नेपालको श्रम बजारमा उल्लेखनीय परिरवर्तन हुने पनि बताइएको छ । 

अर्थन्त्रमा उपलब्ध काम गर्ने उमेरको जनसंख्यालाई लाभमूलक रोजगारीका अवसरको सिर्जनाद्वारा अवशोषण गर्ने रणनीति जरुरी रहेको सुझाउँदै प्रतिवेदनमा वृद्धताउन्मुख जनसंख्यासँग रहेको सीप र अनुभवलाई पुँजीकृत गर्ने खालका नीतिगत व्यवस्था पनि उत्तिकै अपेक्षित रहेको उल्लेख गरिएको छ । 


 

Post a Comment

0 Comments