एमाले अनुशासन आयोगको चिन्ता, पार्टीमा विचार र आचरणको गम्भीर समस्या : पार्टीमा गणेश प्रवृति बढ्यो


एमाले अनुशासन आयोगको चिन्ता, पार्टीमा विचार र आचरणको गम्भीर समस्या

एमाले अनुशासन आयोगको चिन्ता, पार्टीमा विचार र आचरणको गम्भीर समस्या
132Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौं : सत्तासीन एमालेको अनुशासन आयोगले भनेको छ– ‘कतिपय नेताहरूमा पार्टीको विभिन्न तहको नेतृत्वमा पुग्नका लागि केही माथिल्लो तहका नेताहरूलाई प्रभावित गर्ने र नेताहरूको वरिपरि घुमिरहने गणेश प्रवृत्ति देखिएको छ । कतिपय पार्टी नेता तथा कार्यकर्ताहरू आत्मकेन्द्रित र व्यक्तिवादी हुँदै गएका छन् । आफ्नो स्वार्थ पूरा नहुँदा पार्टी काम वा निर्वाचनमा निष्क्रिय वा असहयोगी बनेका छन् ।’ 

पार्टीको विधान महाधिवेशनमा पेस गरिएको अनुशासन प्रतिवेदनले नै भनेको छ–पार्टीमा काम गर्नेभन्दा नेताहरूको वरिपरि घुम्ने ‘गणेश प्रवृत्ति’ मौलाएको छ । यति मात्र होइन, पछिल्लो समय पार्टीमा संगठनात्मक अराजकता, गुटगत गतिविधि मौलाएको तथा विचलन आउन थालेको प्रतिवेदनमा उल्लेख छ । अनुशासन आयोग अध्यक्ष केशव बडालले पेस गरेको प्रतिवेदनमा पार्टीमा बढ्दो अराजकता र अनुशासनहिनतालाई बुँदागत रूपमा प्रस्तुत गरिएका छन् । 

पार्टीमा दक्षिणपन्थी अवसरवादको प्रष्ट संकेत देखिन थालेको र समाजको वर्गीय स्वरूप अनुरूप सिर्जना हुने विसंगतिहरूको प्रभाव पार्टीमा समेत देखिन थालेको केन्द्रीय अनुशासन आयोगले औंल्याएको छ । समाजमा देखिएको विसंगति प्रतिबिम्बका रूपमा पार्टीभित्र कतिपय नेता कार्यकर्ताहरूबाट अनुशासन उल्लंघन, पार्टीहितविपरीत अभिव्यक्ति दिने तथा आचरण र व्यवहारमा त्रुटिहरू भइरहेको देखिएको अनुशासन आयोगको प्रतिवेदनमा उल्लेख छ । 

कुण्ठा र अतृप्त महत्वकांक्षा
समय–समयमा कतिपय नेताहरूका आफ्ना निहित स्वार्थहरू पूरा नहुँदा तिनीहरू कुण्ठाको रूपमा रहेको गरेको अनुशासन आयोगले औंल्याएको छ । ‘विगतको एमाले र माओवादी केन्द्रको एकता र नेकपा गठन अनि पार्टी विग्रहको सिलसिलामा कतिपय नेताहरूको तुष्टि कुण्ठाको रूपमा प्रकट भएको थियो,’ आयोगले भनेको छ, ‘त्यतिबेला कुण्ठाग्रस्त नेताहरूले आफ्नो लागि पद, प्रतिष्ठा र सुविधाका माग गरी बैठकहरू अवरुद्ध गरेका थिए । अत्यन्त संकिर्ण भएर व्यक्तिगत लाञ्छना लगाए ।

‘हामीलाई हेपियो, हामीले भनेको मानिएन, हाम्रा मान्छेहरूलाई विभिन्न पदहरूमा राखिएन, सुबिधा दिइएन, आदि–आदि ।’ कुण्ठा दूषित नियतबाट प्रेरित हुने र चरम आकांक्षाहरू पूरा नहुँदा अतृप्त महात्वाकांक्षाकोरूपमा प्रकट हुने आयोगको ठम्याइँ छ । 
‘उनीहरूले आफ्ना निहित तुष्टिहरू पूरा गर्न माग राख्ने, स्वार्थहरू मिलाएर गुट बनाउने, असहिष्णु तथा आक्रमक हुने आचरण र व्यवहार देखाएका थिए,’ आयोगको प्रतिवेदनमा छ, ‘त्यतिबेला प्रमुख नेताहरूले आआफ्ना गुटहरूमा धार लगाउन थालेका थिए । सुसुप्तरूपमा रहेका निहित स्वार्थ राख्ने गुटहरू एकआपसमा मिलेका थिए र अन्ततः पार्टीलाई विभाजित गरेका थिए ।’

अहिले पनि कतिपय व्यक्तिले पार्टीमा काम गरेबापत विशिष्ट सुविधाहरू पाउन पर्छ भन्ने मान्यता राख्ने गरेको आयोगको भनाइ छ । ‘उनीहरूले आकांक्षा गरे बमोजिमका सुविधाहरू प्राप्त हुन नसक्दा निराश हुने, कुण्ठाग्रस्त हुने, संकिर्ण सोच राख्ने तथा लापरबाही हुने गरेको देखिएको छ,’ आयोगले भनेको छ, ‘पार्टीभित्र सामान्य बहस हुँदासमेत यिनीहरूले आफ्नो पक्षधरता देखाइ हाल्ने गरेको देखिएको छ । 

चेतना कमजोर भएको बेला दुविधाहरू देखिन थाल्छन् र मनमा अनेक कुरा खेल्न थाल्छन् । जस्तोकि केही मानिसहरू पदीय जिम्मेवारीमा बसेपछि उनीहरूमा दम्भ देखिन थाल्छ, पार्टीका विधि र पध्दतिहरू अवज्ञा गर्न थाल्दछन्, अनि मर्यादा बिर्सन्छन् । उनीहरू पार्टीको विधि र पद्धति मेरो लागि होइन भन्ने ठान्दछन् । अझ पार्टीमा विवाद भएको बेला वा संकटपूर्ण अवस्था सिर्जना भएको बेला यिनीहरू मोलमोलाई गर्न थाल्छन् । यो प्रवृत्ति कुण्ठाको सुसुप्तरूप हो, संकिर्ण र कमजोर चेतना हो । यो नैतिक सोच होइन ।’

वैयक्तिक स्वार्थहरू
अनुशासन आयोगले पार्टी जीवनमा वैयक्तिक स्वार्थहरू विभिन्न ढंगले प्रकट भैरहेको जनाएको छ । आफ्ना निहित स्वार्थहरू पूरा गर्न अनेक प्रपञ्च गर्ने र पार्टीलाई समेत दुरुपयोग गर्ने प्रवृत्ति बढ्दै गएको आयोगको भनाइ छ । ‘यो प्रवृत्तिले नेताहरूको नैतिक आचरण र व्यवहारमा समस्या सिर्जना गरेको छ,’ आयोगले भनेको छ, ‘पार्टीभित्र कतिपय नेता तथा कार्यकर्ताहरूले आफूलाई कसरी फाइदा हुन्छ भन्ने गरी हेर्ने गरेका छन् । उनीहरूले हरेक काममा आफूलाई आर्थिक फाइदा हुने कि नहुने, विभिन्न सामाजिक पदहरूमा जाने अनुकूलता हुने कि नहुने, आदि मनसाय राखी व्यवहार गर्ने गरेको देखिएको छ ।’ जनप्रतिनिधिको उम्मेदवारी पाइन्छ कि पाइँदैन ? विभिन्न कमिटीहरूमा मनोनयन वा विभिन्न राजनीतिक नियुक्तिहरू प्राप्त गर्ने अनुकूलता हुन्छ कि हुँदैन ? आदि विषयमा उनीहरूको चासो हुने गरेको आयोगको बुझाइ छ । 

‘सामाजिक क्षेत्रहरूमा आफू चर्चामा रहिरहन सार्वजनिक सञ्जाल, पत्रपत्रिका, रेडियो तथा टेलिभिजनलाई दुरुपयोग गर्ने प्रवृत्ति देखिएको छ,’ आयोगले भनेको छ, ‘पार्टीका सार्वजनिक कार्यक्रमहरूमा मञ्चको अगाडि देखिन मरिहत्ते गर्ने प्रवृत्ति पनि व्यापक रूपमा देखिएको छ । कतिपय नेताहरूले पार्टीको विभिन्न तहको नेतृत्वमा पुग्नका लागि केही माथिल्लो तहका नेताहरूलाई प्रभावित गर्ने र नेताहरूको वरिपरि घुमिरहने गणेश प्रवृत्ति पनि देखिएको छ । कतिपय पार्टी नेता तथा कार्यकर्ताहरू आत्मकेन्द्रित र व्यक्तिवादी हुँदै गएका छन् । आफ्नो स्वार्थ पूरा नहुँदा पार्टी काम वा निर्वाचनमा निष्क्रिय वा असहयोगी बनेका छन् ।’

लाभ र अवसरको अनुचित आशक्ति
व्यक्तिगत लाभ र अवसरको आशक्ति राजनीतिक क्षेत्रमा समस्याको रूपमा देखिएको आयोगको भनाइ छ । ‘यो प्रवृत्ति लोकतान्त्रिक मूल्य र सार्वजनिक हितको विपरीत छ र अन्ततः राज्य, समाज र पार्टीलाई नकारात्मक असर गर्ने गरेको छ,’ आयोगको प्रतिवेदनमा लेखिएको छ, ‘यस्तो अनुचित आशक्तिको कारणले सार्वजनिक क्षेत्रमा रहेका कतिपय नेताहरू प्रतिआम जनतामा नकारात्मक धारणा बनिरहेको छ । यसले गर्दा नेताहरूको सार्वजनिक जीवन विवादित बनिरहेको अवस्था छ । यसको साथै सार्वजनिक जीवनको आकर्षण (ग्लेमर)ले कतिपय नेताहरूको जीवनशैली बदलिएको र खर्चालु भएको अवस्था पनि छ ।’

विचार र आचरणमा समस्या
अनुशासन आयोगले कतिपय नेताहरूका व्यवहार र आचरणमा विचलन देखिएको जनाएको छ । ‘यथास्थिति बदल्न हिँडेका नेताहरू वैचारिक रूपमा दृढ तथा आचरण र व्यवहारमा परिपक्क र नैतिकवान भएनन् भने पार्टीमा समस्या सिर्जना हुन थाल्छ,’ आयोगले भनेको छ, ‘कतिपय नेताहरूमा संकिर्ण मानसिकता देखिएको र उनीहरूले पार्टीका निर्णयहरू तथा संगठनात्मक पद्धतिलाई नमान्ने तथा उल्लंघन गर्ने जस्तो अराजक प्रवृत्ति पनि देखिने गरेको छ ।’ 

  •     पार्टीमा काम गर्नेभन्दा नेताहरूको वरिपरि घुम्ने ‘गणेश प्रवृत्ति’ मौलाएको
  •     संगठनात्मक अराजकता, गुटगत गतिविधि मौलाएको तथा विचलन आउन थालेको 
  •     कतिपय व्यक्तिमा पार्टीमा काम गरेबापत विशिष्ट सुविधाहरू पाउन पर्छ भन्ने मान्यता राख्ने गरेको
  •     कतिपय नेताहरूमा संकिर्ण मानसिकता देखिएको र उनीहरूले पार्टीका निर्णयहरू तथा संगठनात्मक पद्धतिलाई नमान्ने तथा उल्लंघन गर्ने जस्तो अराजक प्रवृत्ति पनि देखिने गरेको 
  •     बैठकहरू निरश, प्राविधिक र औपचारिकतामा सीमित हुने गरेको
  •     नेताहरुको आयको स्रोत देखिँदैन, तर, जीवनशैली अत्यन्त खर्चालु र सुविधाभोगी

पार्टीले के गर्नु पर्ने हो भनेर विकल्प नदिने बरु, छलफलमा आफ्ना कुरा मात्र भन्ने र अरुका कुरा सुन्नै नचाहने प्रवृत्ति बढेको आयोगको ठम्याइँ छ । ‘अरूले बोलेको कुरालाई टिपी हाल्ने र त्यसैमा टेकेर अनेक टिप्पणी गरी हाल्छन, नयाँ कुरा र सिर्जनशील विषयमा प्राय कुरै हुँदैनन्, आफूले नजानेको कुरा स्विकार्दैनन्,’ आयोगले भनेको छ, ‘कतिपय नेताहरूमा देखिने गरेका यी प्रतिनिधिमूलक प्रवृत्तिहरू हुन् ।’

कुनै नेता वा कार्यकर्ताले लापरबाही हुँदा वा विषयमा ध्यान पु¥याउन नसक्दा गलत निर्णय हुने गरेको पनि आयोगले औंल्याएको छ । ‘नेताहरू लापरबाही हुँदा विधि र पद्धति मिचेर काम गर्ने र त्यस्तो विधि मेरो लागि होइन भन्ने सोच भएको देखिएको छ,’ आयोगको बुझाई छ, ‘पार्टीभित्र कतिपय नेताले विचारको नाममा आफ्ना निजी कुराहरू तथा एकांकी चिन्तनहरू बताइरहने र जनताका कुराहरूलाई महत्व नदिने गरेको देखिएको छ । 
त्यसैगरी वर्गीय रूपमा आधारभूत तहका श्रमजीवी जनताको समस्यालाई यथासमयमा सम्बोधन गर्न नसकेको अवस्था पनि छ ।’ आयोगले कतिपय नेताहरूको व्यवहारमा देखिएको बडप्पन, रुखो वचन तथा आक्रमक गालीगलौजको शैलीलाई जनताले नरुचाएको पनि जनाएको छ । 

पार्टीभित्र र जनसंगठनमा यौनजन्य आचरणहरूसमेत कतैकतै देखिन थालेको भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ । ‘जनस्तरबाट नै प्रश्न उठिसकेपछि समेत आचरणहरूलाई सच्याउनुको सट्टा उनीहरूबाट सार्वजनिक रूपमा दम्भ प्रकट भैरहनु दुखःद कुरा हो,’ आयोगले भनेको छ । 

सांगठनिक अराजकता
पार्टी जीवनमा सांगठानिक अराजकता चुनौतीको रूपमा देखा परेको आयोगले बताएको छ । ‘यो प्रवृत्तिको कारणले, कतिपय पार्टी कमिटीहरू विधिसम्मत ढंगले चलेको देखिएको छैन, कतिपय नेताहरूले संगठनका कामहरूलाई बेवास्ता गरेका छन्,’ आयोगको प्रतिवेदनमा भनिएको छ, ‘पार्टीका निर्णयहरूलाई लागू नगरेको अवस्था छ, कतिपय नेताहरूबीच एकआपसमा परस्पर विश्वास नभएको अवस्था छ, कमिटीमा रहेकाहरूलाई कमिटीमा छु भन्ने अनुभूति नभएको समेत देखिएको छ । कतिपय जनप्रतिनिधिहरूले सम्बन्धित पार्टी कमिटीसँग समन्वय गर्ने चासो देखाएको पनि देखिँदैन । यो गम्भीर अवस्था हो ।’

बैठकहरू निरश, प्राविधिक र औपचारिकतामा सीमित हुने गरेको भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ । पार्टीमा लामो समय क्रियाशील भइरहेका धेरै नेता तथा कार्यकर्ताहरू कमिटीहरूमा नसमेटिएको वा जिम्मेवारी पनि नदिइएको आयोगले जनाएको छ । कमिटीका इन्चार्जको कामको ठोस व्याख्या नहुँदा सम्बन्धित इन्चार्जहरू कमिटीहरूमा हावी हुने गरेको प्रतिवेदनमा छ । आफू अनुकूल निर्णय गर्न दबाब सिर्जना गर्ने, कमिटीको नेतृत्वलाई तेजोबध गर्ने, आदि प्रवृत्तिहरू देखिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

अपारदर्शी आर्थिक गतिविधि
आयोगले आर्थिक अनुशासन पार्टीभित्र गम्भीर विषय बनेको जनाएको छ । पार्टीका कतिपय नेताहरूको रहनसहन अस्वाभाविक देखिने गरेको भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ । ‘यस्तो अपारदर्शी आर्थिक संकलनले पार्टीमा विकृतिहरू बढिरहेको छन्,’ आयोगले भनेको छ, ‘कतिपय नेताको आयको स्रोत देखिँदैन, तर, जीवनशैली अत्यन्त खर्चालु र सुविधाभोगी तथा कार्यकर्ताहरूका लागि विचार र आचरण प्राथमिकतामा रहेको देखिँदैन ।’

विधान संशोधनले सबै दुविधा निकास दिनुपर्ने 
अनुशासन आयोगले विधान संशोधनको विषय पनि उठान गरेको छ । विधान पार्टीको विचार, सिद्धान्त, संगठनात्मक स्वरूप र संरचना, कार्यदिशा, गतिशीलता, नेतृत्व, संगठन सञ्चालन विधि लगायतलाई प्रतिबिम्बित गर्ने पार्टीको प्रमुख दस्तवेज भएको पनि आयोगको प्रतिवेदनमा उल्लेख छ । 

पार्टीमा देखिएका सबै दुविधाहरूको निकास विधानले दिनु पर्ने पनि प्रतिवेदनमा छ । प्रतिवेदनमा उल्लेख छ ‘लोकतान्त्रिक विधिबमोजिम विधानलाई प्रष्ट, सरल, सूक्ष्म र त्रुटिरहित बनाउनुपर्छ, विधान नीतिगत दस्तावेज हो । यसले पार्टीको स्वरूप, संरचना र निर्णय विधिमा स्पष्ट दिशाबोध गर्नुपर्छ । पार्टीभित्र नेतृत्व र निर्णयमा कुनै दुविधिा र अन्यौलता वा दिशाहिनता नहुने गरी विधानमा व्यवस्था गरिनुपर्छ ।’

तोकेबमोजिम वा तजविजमा हुने गरी व्याख्या गर्नुहुँदैन विधानमा कुनै पनि विषयमा निर्णय गर्ने विधि बनाउँदा तोकेबमोजिम वा तजबिजमा हुने गरी व्याख्या गर्न नहुने आयोगको सुझाव छ । पार्टीका दैनिक कार्यहरू सञ्चालन गर्नका लागि मात्र विधान व्यवस्थासँग नबाँझिने गरी ‘तोकेबमोजिमको’ व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । विधानमा संगठन निर्माण र सञ्चालन सुस्पष्ट विधिबाट परिभाषित गर्नुपर्ने पनि सुझाव अनुशासन आयोगको छ । 

गुटगत पक्षधरताको आधारमा कारबाही 
पार्टीमा अनुशासन उल्लंघनका विषय आफू समक्ष नआउने गरेको आयोगले जनाएको छ । ‘हुने र भइरहेका कारबाहीहरू’ तथ्य र प्रमाणका आधारमा नभई गुटगत पक्षधरताको आधारमा हुने गरेको पनि प्रतिवेदनमा उल्लेख छ । कारबाही गर्दा नेताहरूबीच देखिएका अन्तरविरोधहरूको आधारमा हुने गरेको देखिएको प्रतिवेदनमा छ । ‘कारबाहीमा नेताहरूको नकारात्मक आग्रह, पूर्वाग्रह तथा स्वार्थहरू हावी हुने गरेको देखिएको छ,’ आयोगको गुनासो छ, ‘यस्तो व्यक्ति केन्द्रित निर्णयहरूको कारणबाट गुटहरू अस्वस्थढंगले बन्ने गरेका छन्, यी गुटहरूले एक आपसमा सत्रुतापूर्ण व्यवहार गर्ने र पार्टीभित्रका सम्बन्धहरूमा तिक्तता देखिने गरेका छन् ।’ 

कार्यकारी भूमिकामा रहेको पार्टी संगठन र नेतृत्वले मातहतका नेता तथा संगठनमाथि कारबाहीको निर्णय गर्ने र छानविन पनि गर्ने विधिले आग्रह र पूर्वाग्रहबाट प्रभावित हुन सक्ने सम्भावना भैरहने पनि प्रतिवेदनमा उल्लेख छ । ‘निर्णय र निर्देशन शृंखला (चेन अफ कमाण्ड) मा देखिने अराजकतालाई सम्बन्धित कार्यकारी कमिटीहरूले कारबाही गर्ने व्यवस्था स्वभाविक र तर्क संगत छ,’ आयोगले भनेको छ, ‘यसमा चित्त नबुझेको अवस्थामा आयोगमा पुनरावलोकन गर्ने व्यवस्था गर्नुपर्ने हुन्छ, तर वैचारिक विचलनहरू, आचरण र व्यवहार र नैतिकताका विषयहरू पर्टीको कायकारी कमिटीहरूको निर्णय र कार्यन्वयनमा सीमित हुँदैनन्, यसको विशेष ढंगले छानविन र कारर्वाही गर्नुपर्ने हुन्छ ।’

नियुक्ति वा मनोनीत हुन अनुशासनको कारबाही नभएको हुनुपर्ने 
कुनै पनि सार्वजनिक पदमा नियुक्त तथा मनोनीत गरिने नेता/व्यक्ति अनुशासनको कारवाही नभएको हुनुपर्ने व्यवस्था विधानमा गर्नुपर्ने सुझाव अनुशासन अयाोगको छ । 

राष्ट्रिय आकांक्षा (समृद्ध नेपाल, सुखी नेपाली) लाई साकार पार्न सबैले नैतिक आचरण र व्यवहारलाई नैतिकताको परीक्षण गराउँदै संगठनलाई सुदृढ र गतिशील बनाउन संकल्प गर्नुपर्ने प्रतिवेदनमा आग्रह गरिएको छ । पार्टीभित्र सांगठानिक अराजकता र दक्षिणपन्थी अवसवादको प्रष्ट संकेत देखिएको अहिलेको अवस्थामा वैचारिक कामलाई प्राथमिकताका साथ अगाडि बढाउन जरुरी देखिएको पनि सुझाव दिइएको छ । विषयगत प्रशिक्षण, विषयगत कार्यशाला, विषयगत अभ्यास, विषयगत परिक्षण र विषयगत बहस र पैरवी गर्नुपर्ने उल्लेख छ ।

पार्टीभित्रका विसंगतिको नियन्त्रण गर्न अनुशासनको विकल्प नभएको पनि प्र्रतिवेदनमा छ । नैतिक आचरणले पार्टी बलियो बनाउँछ भन्ने कुरा आत्मसाथ गर्दै पार्टीभित्रको अनुशासन कायम गर्न आचारसंहितालाई कडाइका साथ पालना गर्न पर्ने पनि सुझाव दिइएको छ । 

३ प्रतिवेदन पेस, समूहगत छलफल 
विधान अधिवेशनको दोस्रो दिन ३ वटा प्रतिवेदन पेस भएका छन् । शनिबार केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा. विजय सुब्बा, लेखा आयोग अध्यक्ष डा पुष्प कँडेल र अनुशासन आयोग अध्यक्ष केशव वडालले प्रतिवेदन प्रस्तुत गरेका छन् । पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संठनात्मक प्रतिवेदन तथा केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आफ्ना दस्तावेज प्रस्तुत गरेका थिए । शनिबार सबै प्रतिवेदनमा १० समूह बनाएर दिनभर छलफल गरिएको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै समूहमा छलफल गरेका छन् । 

उपत्यका विशेष प्रदेश, विभिन्न जनसंगठन, सम्पर्क समन्वय समिति र प्रवास, केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना, केन्द्रीय निकाय आयोजकले पनि छलफल गरिरहेको छ । प्रतिवेदनलाई अन्तिमरुपमा आइतबार दिँदै विधान महाधिवेशन समापन हुने छ । एमाले दोस्रो विधान महाधिवेशन शुक्रबारबाट ललितपुरको गोदावरीमा भइरहेको छ । अध्यक्ष ओली उद्घाटन गरेको योे महाधिवेशनमा महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३ सय १५ जना थप गरी कुल २३ सय ४१ जनाको सहभागी छन् । 

थापाको फरक मत 
स्थायी समिति सदस्य कर्णबहादुर थापाले फरक मतसहितको प्रतिवेदन राखेका छन् । उनले सुदूरपश्चिम प्रदेश समूहगत छलफलमा फरक मत राखेका हुन् । बन्दसत्रमा प्रस्तुत प्रस्ताव र प्रतिवेदनमाथि समूह विभाजन हुन लाग्दा स्थायी कमिटी सदस्य थापाले बोल्न खोज्दा अध्यक्ष ओलीले समय व्यवस्थापनका लागि समूहमै आफ्ना कुरा राख्न आग्रह गरेका थिए । 

अध्यक्ष ओलीले थापाको मूल प्रतिवेदनमा कुनै फरक मत नरहेको र विधान संशोधनको प्रस्तावमा समूहमै छलफल गर्न सकिने बताए । अध्यक्ष ओलीले हलमा अन्य प्रतिनिधिले पनि बोल्न चाहेमा समय दिने नदिने भन्ने प्रश्न आउने भएकाले समूहमा गहन छलफल गर्न सबैमा आग्रह गरेका थिए । स्थायी समिति सदस्य थापाले विद्या भण्डारीको सदस्यताको विषयमा फरक मत राखेका हुन् । उनले प्रतिनिधिलाई फरक मतको पर्चा दिएका थिए । 

आत्मकेन्द्रित संकिर्णताको प्रतिबिम्बः गुटगत गतिविधि

पार्टीभित्र विभिन्न कारणहरूले असन्तुष्टि बढ्दै गएको आयोगको बुझाई छ । पार्टीको नेतृत्वमा रहेका कतिपय नेताहरूमा यस्तो असन्तुष्टि देखिनुमा पद, प्रतिष्ठा र सुविधाको वितरणमा चित्त नबुझेको हुन सक्ने आयोगको भनाइ छ । ‘अपेक्षा गरेबमोजिमको जिम्मेवारी नपाएको हुन सक्छ, आफूले नरुचाएको व्यक्तिलाई बढी जिम्मेवारी दिएको कारणले कुण्ठा स्वरूप चित्त नबुझेको हुन सक्छ,’ आयोगले भनेको छ, ‘यी कमजोरीहरू सार्वजनिक भएमा आफ्नो शाख कमजोर हुन्छकि भन्ने त्रास नेताहरूमा भइरहेको हुन सक्छ ।

त्यसैगरी कतिपय नेता तथा कार्यकर्ताले कुनै घटनाबाट आफू अन्यायमा परेको वा पीडाबाट गुज्रिनु परेको अवस्थामा सम्बन्धित नेतृत्वबाट सहानुभूति प्राप्त नहुँदा असन्तुष्ठि विकास भएको हुन सक्छ र सम्बन्धित नेता प्रतिनकारात्मक आग्रह सिर्जना भइरहेको हुन सक्छ ।’

गुटगत गतिविधिहरू स्वार्थमा आधारित हुने र व्यक्तिमा अन्तरनिहित त्यस्ता स्वार्थहरू पूरा नहुँदा उसमा चिड्चिडोपन विकास हुने आयोगको भनाइ छ । ‘यस्तो अवस्थामा दम्भ देखाउने, अरूलाई हियाउने, अविश्वास प्रकट गर्ने, अनादार गर्ने, व्यक्तिगत लान्छनाहरू लगाउने, इत्यादि प्रवृत्तिहरू व्यक्तिले देखाउन थाल्छ,’ आयोगको सुझाव छ ‘यस्ता अपमानजनक व्यवहारहरू प्रकट हुँदै जाँदा त्यसको विपरित अर्को गुट पनि निर्माण हुन थाल्छ ।

विचाररहित स्वार्थहरू निरन्तर परिवर्तन भैरहने हुँदा यी गुटहरूसमेत बदलिइरहन्छन् । यिनीहरूले पार्टीमा समस्या सृजना गरिरहन्छन् ।’आयोगले वर्गीय समाजमा वर्गजन्य स्वार्थहरू हुने र पार्टीभित्र यसको प्रभाव हुनु स्वाभाविक रहेको जनाएको छ । ‘पार्टीको दैनिक जीवनमा कतिपय नेताहरूमा घमण्ड, असहिष्णुता, असहयोगी भावना, अधैर्यता, दम्भ जस्ता भावनात्मक प्रवृत्तिहरू तथा व्यक्तिगत स्वार्थ विभिन्न ढंगले प्रतिबिम्बित भइरहन्छन्,’ आयोगले भनेको छ, ‘यी प्रवृत्तिहरूले पार्टीमा असहज अवस्था निर्माण गरिरहेको छ ।’


 

Post a Comment

0 Comments