पुराना दल भर्सेस बालेन–रवि–कुलमान गठबन्धनको पहल



चिसो काठमाडौंको मौसम बिहीबार राजनीतिक सरगर्मीले एकाएक तात्यो। काठमाडौं महानगरका मेयर बालेन साह, रास्वपा सभापति रवि लामिछानेलगायतका नेताहरूबीच ‘नयाँ वैकल्पिक शक्ति’ निर्माणका लागि छलफल र भेटवार्ता भइरहेको खबरले राजनीतिको बजार ह्वात्तै बढ्यो। बालेनले आफू सक्रिय राजनीतिमा आउन लागेको सन्देश दिए। नयाँ र पुराना शक्तिबीच चुनावी मैदानमा रोचक र कडा प्रतिस्पर्धा हुने राजनीतिक आंकलन गरिन थाले।
काठमाडौं :




जेन–जी आन्दोलनको साढे तीन महिनापछि भने बालेन एकाएक राजनीतिमा सक्रिय बनेका छन। बुधबार र बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उज्यालो नेपाल पार्टी नेता एवं ऊर्जामन्त्री कुलमान घिसिङ, पूर्वसांसद सुनील शर्मा, अमरेशकुमार सिंह लगायतका जेन–जी युवाहरूसँग बालेनले संवाद गरेका छन्। उनले आफूलाई शक्तिकेन्द्रका रूपमा प्रकट गर्दै बोलाएर कुराकानी गरेका छन्।
रास्वपा सभापति लामिछाने र बालेनबीच बिहीबार राति पनि एक्ला–एक्लै वार्ता भएको थियो। वैकल्पिक शक्ति निर्माण गरेर पुराना दलविरुद्ध एकजुट हुने विषयमा छलफल भएको थियो। ललितपुरस्थित कुपण्डोलको ज्वागलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको हो। त्यस क्रममा के–के छलफल भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा रास्वपा सभापति रविले भने, ‘मेरो अनुहारले के भन्छ ? बाँकी समयले बताउला, वार्ता राम्रो भयो।’ बालेनले भने कुनै प्रतिक्रिया दिएका छैनन्। जेन–जी युवाहरूको मागबमोजिम नयाँ र वैकल्पिक शक्ति एकगढ बनाउन भने बालेन सक्रिय बनेका छन्।
पहिलो परिदृश्यः रवि थुना मुक्तसँगै तीव्र भेटमा
थुना मुक्त भएसँगै रास्वपा सभापति रविले भेटघाट तिब्र बनाएका छन्। सहकारी ठगीको आरोपमा नख्खु कारागारमा रहेका लामिछाने पुस ४ मा धरौटीमा रिहा भएका थिए। उनी बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि थुना मुक्त भएका थिए। त्यस लगत्तै उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटे। त्यसपछि काठमाडौंका मेयर बालेन साहसँग भेट गरे। बालेनसँग रास्वपा नेता असिम साहको घरमा गत मंसिर ७ मा भेटवार्ता भएको थियो। करिब ६ घण्टा बालेन र रविबीच संवाद भएको थियो।
बालेन मौन, फेरि सक्रिय
२३ र २४ को जेन–जी आन्दोलनपछि बालेनलाई राजनीतिमा सक्रिय भएर नेतृत्व लिन युवाहरूले चौतर्फी दबाब दिए। तर, उनले सामाजिक सञ्जालमा स्टाटस मात्रै लेखे। उनको स्टाटसको आधारमा नै प्रतिनिधिसभासमेत विघटन गरियो। तर, उनीमाथि युवाको आवाज नसुनेको आरोप लाग्यो। चौतर्फी दबाबका बीचमा पनि बालेन बाहिर आएनन्। त्यसपछि भने लामै समय मौन बसे। यही बीचमा बालेनका बुवाको निधन भयो। रवि थुनामुक्त भए। त्यसपछि रवि र बालेनको भेट भयो।
त्यही बेला राष्ट्रिय मानवअधिकार आयोगले बालेन साहसँग २३ र २४ को घटनाको विषयमा लामै बयान लियो। रवि छुटेपछि र आयोगमा बयान दिएपछि बालेन पनि सक्रिय भएका छन्। बुधबार र बिहीबार नै बालेनले धेरै नेतासँग भेटघाट गरिसकेका छन्।
उनले बुधबार कांग्रेस नेता सुनील शर्मा, डा. चन्द्र भण्डारीदेखि नागरिक उन्मुक्तिका रेशमलाल चौधरी, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतदेखि कलाकार, नेता, जेन–जी युवालाई भेटेका छन्। उनले पत्रकार ऋषि धमलालाई पनि भेटे। मिलन पाण्डे, सागर ढकाललाई बुधबार नै भेटेका थिए। बिहीबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि पूर्वसांसद अमरेशकुमार सिंहसम्मले बालेनलाई भेटेका छन्।
भारतबाट फिर्ता भए लगत्तै डा. भट्टराई बालेन भेट्न पुगेका थिए। डा.भट्टराईले भने, ‘१० वर्षदेखि म नयाँ र वैकल्पिक शक्ति मिलेर जानुपर्छ भन्ने पक्षको मान्छे हो। यही विषयमा बालेनजीले फोन गरेपछि म भेट्न आएँ।’ डा.भट्टराईसँग बालेनले आफू राजनीतिमा आउने भन्दै अभिभावक बनिदिन आग्रह गरेका थिए। उता लामिछाने र बालेनबीच वार्ता चलिरहँदा विघटित प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह पनि भेटवार्ता स्थल पुगेका थिए। बालेनले जेन–जी युवा सुधन गुरुङ, रक्षा बम सँग पनि परामर्श गरेका छन्।
उनले २५ वर्ष उमेर पुगेकाहरू चुनावी प्रतिस्पर्धामा आउन पनि आग्रह गरेका छन्। बालेनले नयाँ, वैकल्पिक शक्तिहरूलाई एकजुट बनाउन प्रयास गरिरहेको जानकारी दिए । छलफलमा सुधन गुरुङ, रक्षा बम, धीरज जोशी, केपी खनाल, रेहान दंगाल, पुरुषोत्तम यादवलगायत थिए। ७ वटै प्रदेशका जेनजी वालेनसँगको वार्तामा थिए।
सेलीब्रेटीकरणको पहल
पछिल्लो समय धेरै नयाँ दल खुलेका छन। समाजमा सेलीब्रेटी रहेका व्यक्तिरूले नै दल खोलेका छन्। जनताका आवाज, मुद्दामा भन्दा उनीहरू सेलीब्रेटी हुनेतिर मात्रै केन्द्रित देखिएका छन्। कोही माइतीघरमा देखिन्छन् कोही सिहंदबार देखिन्छन्। कोही चुनाव हुनुहुँदैन भन्छन्, कोही चुनाव नभई हँुदैन भन्छन्। जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना सडक आन्दोलनमा छन्। सबै गतिविधिहरू सेलिब्रेटीकरण भइरहेका छन्।
नयाँ एक ठाउँ : कति सम्भव ?
प्रालिजस्ता दलहरू : नयाँ आएका राजनीतिक दलहरू प्रालि जस्ता देखिएका छन्। रवि लामिछाने, कुलमान घिसिङ, रेशमलाल चौधरी, खगेन्द्र सुनार, हर्क साम्पाङ र बालेन साहकै नामले पार्टी चलेका छन्। अर्कोतिर दुर्गा प्रसाईं आफ्नै नामले अघि बढिरहेका छन्। जेन–जीका नाममा पनि त्यति नै पार्टी खुलेका छन्। मिराज ढुंगाना, रक्षा बमलगायतका आआफ्नै पार्टी छन्। तर, न उनीहरूको विचार, सिद्धान्त छ, न संगठनात्मक संरचना नै।
कसरी देश बनाउने भन्ने कुनै मार्गचित्र पनि छैन। एउटै व्यक्ति केन्द्रित छन् नयाँ र वैकल्पिक भनिएका दलहरू। उनीहरूको आड र स्वार्थमा चलेका छन् ती दलहरू। हर्क साम्पाङ त पार्टीको विस्तारमा देशव्यापी अभियान चालेर हिँडिसकेका छन्। साम्पाङ पूर्वी पहाडदेखि पश्चिम नेपालसम्म दौडाहा गरिरहेका छन्। कुलमान घिसिङ पनि पार्टीको विस्तारमा लागेका छन्। घिसिङ सरकारको साधानस्रोतको प्रयोग गरेर नै पार्टी विस्तारमा सक्रिय देखिएका छन्।
तर बेर छैन जुट्न :
तर, पनि नयाँ दलहरू एकठाउँमा आए भने अन्यथा पनि मान्नुपर्दैन। उनीहरू सबैको एउटै एजेन्डा छ, पुराना दलको विस्थापन। जसरी पनि उनीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प खोजिरहेका छन्। ‘पुराना दलले देश बिगारे, उनीहरूबाट अब चल्दैन, युवा हामी हौं, हामी नै आउनुपर्छ’ भन्ने एक सूत्रीय एजेन्डा छ।
जसले गर्दा पनि उनीहरू नआउलान भन्न पनि नसकिने विश्लेशक बताउँछन्। जेनजी युवाहरू पनि नयाँ शक्ति सबै एक ठाउँमा आउनुपर्ने बताइरहेका छन्। उनीहरूले दबाव पनि सिर्जना गरिहेका छन्। जेन–जी युवाहरू सबै नयाँ र बैकल्पिक शक्ति एक ठाउँमा आएर युवाले आगामी सरकारको नेतृत्व गर्नुपर्ने भन्दै दबाब दिइरहेका छन्।
पुरानाको कार्टेलिङ पनि यथावत्, एमाले नेतृत्व यथावत्
एमाले मंसिर २७ देखि पुस ३ गतेसम्म महाधिवेशन गर्यो । सबैको टार्गेटमा रहेको एमालेले यो विषम परिस्थितिमा पनि उठेर महाधिवेशन पनि सकेको छ। गत भदौ २३ र २४ गते घटनाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्थ गरेको थियो। सबैभन्दा धेरै पार्टी कार्यालय आगजनी, तोडफोड र नेताका व्यक्तिगत घर एमालेकै ध्वस्त भएका थिए तर पनि आन्तरिक लोकतन्त्रको अभ्यास गर्दै यो महाधिवेशनबाट पुनः तेस्रोपटक केपी शर्मा ओली नै नेतृत्वमा आएका छन्। महासचिव पनि शंकर पोखरेल नै भएका छन्।
तर, १९ सदस्यीय पदाधिकारीमा ८ जना नयाँ आएका छन्। एमाले केन्द्रीय सदस्य विष्णु रिजाल ११ औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व तहमा काफी परिवर्तन आएको बताउँछन्। । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पुराना, बयस्क र युवा पुस्ताको संयोजन भएर नयाँ केन्द्रीय कमिटी निर्माणमा भएको उनले बताए। उनले भने, ‘महाधिवेशनबाट केही नेता बिदा हुने र केही नयाँ आउने क्रम चलेन भने पार्टी गतिशील हुन सक्दैन।’ उनका अनुसार १८ जना पुराना पदाधिकारीमध्ये ७ जना बिदा दिएका छन्।
८ जना नयाँ आएका छन्। ४७ जना पोलिटब्युरो सदस्यमध्ये १७ जना बिदा भए। २ सय ६२ केन्द्रीय सदस्यमध्ये १४३ जना बिदा भए। ९० जना नयाँ आए।
कांग्रेस पनि देउवाकै नेतृत्वमा रहेमा मिलेर उठ्ने सम्भावना
जेन–जी आन्दोलनमा त्यसपछि सबैभन्दा थिलथिलो भएको दल कांग्रेस हो । सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति बनाएर उपचारको लागि हिँडेपछि केन्द्रीय समितिको बैठक त बस्यो तर त्यसले केही निर्णय गर्न नसकि लम्बिएको लम्बिएै भयो। उसले न त महाधिवेशन नै गर्न सकेको छ न त पार्टीलाई क्रियाशिल नै गराउन सकेको छ।
देउवा सिंगापुरबाट उपचार गरेर फर्किएपछि पुनः कांग्रेस उनकै अधिनमा आएको देखिएको छ। स्वयम् महामन्त्री गगन थापाले समेत त्यो कुरालाई स्वीकार गरेका छन्। उनले बुधबारको पदाधिकारी बैठकपछि कार्यवाहक सभापति नाम मात्रै भन्दै देउवाले पार्टी चलाइरहेको आरोप पनि लगाए। र, यही यथार्थ पनि हो। उपचाबाट फर्किएपछि पार्टी देउवाले नै हाकीरहेका छन्। देउवाबाहिर आएपछि उनको निकट ओलीसँगै देखिएको छ। जता ओली उतै देउवा देखिएका छन्।
देउवा ओली भेटपछि लगतै कांग्रेस प्रतिनिधिसभाको पुनर्स्थापनाको पक्षमा देखियो। देउवा र ओलीको पहिलो प्राथमिकता नै संसद् पुनर्स्थापनामा छ। त्यो नभएको खण्डमा कांग्रेस र एमाले आम निर्वाचनमा मिलेर जाने सम्भावना पनि कम छैन। कतिपय नेताहरू यो अभिव्यक्ति पनि दिएका छन्। संगठन र संरचनाका बलियो भएको कारणले अब निर्वाचनको परिणाम पुन : उनीहरूको पक्षमा देखिने सम्भावना पनि त्यतिकै छ।
राष्ट्रियसभा निर्वाचन
राष्ट्रियसभा निर्वाचन पनि कांग्रेस एमाले मिलेर जाने विषयमा गृहकार्य गरिरहेका छन्। यदि राष्ट्रियसभा गठबन्धन भएमा प्रतिनिधिसभामा पनि कांग्रेस एमालेको गठबन्धन हुन सक्ने गरी छलफल पनि भइरहको छ। दुई दल मिलेर गएमा राष्ट्रिय सभामा उभिएमा उनीहरूको एकछत्र हुनेछ।
नेपाली कम्युनिस्ट पार्टी पनि चेपुवामा
अहिले सबैभन्दा चेपुवामा भने पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेतृत्व गरेको नेपाली कम्युनिस्ट पार्टी छ। एकातिर कांग्रेस र एमाले छन् भने अर्कातिर रास्वपासहितका नयाँ बैकल्पिक भन्ने शक्ति छन्। नेपाली कम्युनिस्ट पार्टी दुवै पक्षमा नजिकिन सकेको छैन। केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको छलफलमा देउवा, ओली र प्रचण्ड एकै ठाउँ देखिएका थिए तर उनीहरूको मुद्दा एक थिएन।
देउवा र ओली एकातिर थिए भने प्रचण्ड अर्कातिर। प्रचण्डसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनालदेखि वामदेव गौतम, भीम रावल, महिन्द्रराय यादवलगायतले नेतृत्व गरेका १६ दल मिलेर यो पार्टी बनेको छ। यो दल एकता सन्देश सभा भन्दै देशभरी कार्यक्रम पनि गरिरहेको छ ।
वृद्धा श्रम भनेर यो पार्टीको आलोचना हुने गरेको छ। अधिकांश नेता ७० वर्ष पार गरेका भएकाले पनि यो आरोप उसमाथि लागेको स्वयं प्रचण्डले स्वीकार्दै आएका छन्। यो पार्टी राष्ट्रियसभा निर्वाचनमा कांग्रेससँग मिलेर केही सिट हात आउँछ कि भनेर लागेको छ। निर्वाचनमा रवि लामिछानेसँग सहकार्यको प्रस्ताव गरिरहेको छ। तर, उसलाई न कांग्रेस र न लामिछाने कसैले भाउ दिएका छैन्। यदि कांग्रेस एमाले मिलेमा राष्ट्रियसभामा नेपाली कम्युनिस्ट पार्टीलाई गाहे पर्ने देखिएको छ।
जनताको बुझाइ : पुरानाले डुबाए
सुशासन दिन नसकेका कारण पुराना दल जनताको नजरमा आलोचित छन्। जनतालाई पुरानाले डुबाए भन्ने लागेको छ। उनीहरूप्रति निराशा र वितृष्णा छ। विगतमा भएका राम्रा काम पनि सुशासन र भ्रष्टाचारका कारण छोपिएका छन्। लगातार एउटै नेतृत्व हुँदा उनीहरू माथि खनिन सजिलो भएको छ।
विकल्प त्यही कारण
पुराना दल र नेताप्रतिको बुझाइले विकल्पको खोजी भइरहेको छ। अब पुरानाबाट भएन, नयाँ र वैकल्पिक चाहियो भन्ने आवाज पनि चर्को छ। अन्तरपार्टीभित्र पनि यो आवाज उठ्न थालेको छ। पार्टीभित्रै पुस्तान्तरण र रुपान्तरणको कुरा चर्को छ। तर, बहुमतको बलमा पुरानो नेतृत्वले राज गरिरहेको छ। फेरि पनि लोकतन्त्रको सुन्दर पक्ष नै बहुमत भएकाले बहुमतको निर्णयलाई सबैले मान्नै पर्छ।
अघिल्लो चुनावमा रविले ५ महिनामै २० सिट
२०७९ को निर्वाचनमा रवि लामिछानेले नेतृत्व गरेको रास्वपाले २० सिट जितेको थियो। समानुपातिकमा १० वर्ष सशस्त्र संघर्ष गरेर आएको प्रचण्डले नेतृत्व गरेको तत्कालीन माओवादी केन्द्रकै हाराहारीमा मत ल्यायो। छोटो समयमा नै ‘नो नट फर अगेन’ भन्दै रास्वपा स्थापित भयो। संसदको चौथो ठूलो दल बन्यो। जसले नेपाली राजनीतिमा ठूलो प्रभाव पार्यो। रास्वपाको उदयले पनि नयाँ र वैकल्पिक शक्तिको बाटो खुलेको स्पष्ट हुन्छ।
जेन–जी आन्दोलनले दुई ठूला राजनीतिक पर्खाल ढले, साम्राज्य भत्किए
सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल बन्दविरुद्धमा उत्रिएको जेनजी आन्दोलनले ठूलो उथलपुथल ल्यायो। कांग्रेस–एमालेको दुईतिहाइको सरकार मात्रै ढलेन। कांग्रेस र एमालेजस्ता दुई ठूला राजनीतिक पर्खाल पनि ढले। २०४६ सालदेखिको उनीहरूको साम्राज्य ढल्यो। ०४६ सालको प्रजातन्त्रको पुनर्स्थापनापछि लामो समयसम्म कांग्रेस एमालेकै सत्ता थियो।
- थुना मुक्तसँगै रवि तीव्र दौडधुपमा
- मौन बालेन,फेरि सक्रिय
- नयाँ एक ठाउँ : कति सम्भव ?
- पुरानाको कार्टेलिङ पनि यथावत्, एमाले नेतृत्व यथावत्
- नेपाली कम्युनिस्ट पार्टी पनि चेपुवामा
- जनताको बुझाइ : पुरानाले डुबाए
- कांग्रेस पनि देउवाकै नेतृत्वमा रहेमा मिलेर उठ्ने सम्भावना
- टुक्रे प्रालि बनाउनभन्दा शक्तिशाली एउटै बनाउन किन सम्भव छैन ?
- सेलीब्रेटीकरणको पहल
- प्रधानमन्त्री को ? अब तोकेर किन अघि नबढ्ने ?
२०६२/६३ पछि माओवादी केन्द्र पनि थपियो। यी तीन शक्तिले तीन दशक सत्ता चलाए। तर, जनताको चाहाना अनुसारका काम गर्न सकेनन्। जसको परिणाम स्वरूप जेन–जी आन्दोलन भयो। यो आन्दोलनले नेपालको राजनीतिक फरक कोर्सको सुरुवात भयो। हुन त त्यो आन्दोलनका नाममा भएको विध्वंसले देशै खरानी पनि भयो। यो आन्दोलन हाइज्याक भयो। देश र जनताले ठूलो नोक्सानी बेहोर्नु परेको छ तर पनि पछाडि फर्केर नर्हेदा अगाडि बाटो समाउन जरुरी छ।
परिवर्तन धेरैको चाहना
पछिल्लो समय जनतामा परिवर्तनको चाहना छ। विश्वस्तरको विकास र समृद्धि हुनु पर्ने उनीहरू चाहना छ। दल र नेताहरूमा पुस्तान्तरण र रुपान्तरण हुनुपर्ने उनीहरूको माग छ। जसरी देशबाट युवाशक्ति पलायन भएका छन्। उनीहरूलाई स्वदेशमै राजगारीको अवसर मिलोस। शिक्षा र स्वास्थ्यको सुलभता होस। भ्रष्टाचार नियन्त्रण होस। सुशासन कायम होस् भन्ने नै धेरैमा अपेक्षा र चाहाना छ।
युवा मिलौं, देश बनाऔं, के सम्भव छ यो ?
भदौ २३ र २४ गतेको आन्दोलनपछि युवा नेतृत्वमा जान लालायीत देखिएका छन्। जनतामा पनि युवाले नै नेतृत्व गर्नुपर्छ भन्ने आवाज छ। उनीहरू मिलेर देश बनाऊन भन्ने चाहना धेरैको छ। तर के युवा मिल्लान त ? भन्ने प्रश्न पनि त्यतिकै छ। एकैछिन आक्रोशमा आउने, असन्तुष्टि पोखिहाल्ने, धैर्यता पनि नहुने भएका कारणले पनि युवा शक्ति मिल्नेमा आंशका जीवित छन्।
टुक्रे प्रालि बनाउनभन्दा शक्तिशाली एउटै बनाउन किन सम्भव छैन ?
युवाहरूले टुक्रे प्रालि जस्तै पार्टी खोलेका छन्। जेनजी युवा पिच्छेका पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन्। त्यति मात्रै होइन बैकल्पिक भन्ने पार्टीहरूले छरपस्ट छन्। हर्क सम्पाङले श्रम संस्कृति पार्टी बनाएका छन्। कुलमानको उज्यालो नेपाल पार्टी छ।
मिराज ढुंगाना, रक्षा बम लगायतका जेन–जी युवाहरूका पनि आ–आफ्नै पार्टी छन्। उता बालेन साहले समर्थनको गरेको पार्टी पनि छ । रास्वपा छदैछ। पार्टी नै पार्टी छन्। पार्टीको नेतृत्व गर्नेहरू आआफ्नो स्वार्थ छ। उनीहरू एक अर्कामा आरोप प्रत्यारोप पनि गरिरहेका छन्। उनीहरूका अभिव्यक्तिर क्रियाकलापले सबै मिल्लान भन्ने सम्भावना न्यून छ। 
कति सम्भव होला मिल्ने पहल ?
नयाँ र बैकल्पिक शक्तिलाई मिलाउने र मिल्ने पहल भइरहेको छ। देशभित्रबाट मात्रै बाहिरबाट पनि उनीहरूलाई मिलाउन प्रयास भइरहेका खबर सार्वजनिक भइरहेका छन। डा. बाबुराम भट्टराई भारत जानु र यता बालेन साह सक्रिय भएको विषय पनि चर्चामा छ । सबै नयाँ र वैकल्पिक शक्तिलाई मिलाउन वर्तमान सरकार पनि लागेको छ। बालेन र रविको भेटवार्ता पटक–पटक भइरहेको छ ।
बालेन निकट युवा अगुवा एवं विवेकशील पार्टीका पूर्वअध्यक्ष मिलन पाण्डे सबै नयाँ र वैकल्पिक शक्तिलाई मिलाएर लाने प्रयास भइरहेको बताउँछन्।
युवा नेता पाण्डेले १४ गते भित्रै रास्वपासँग निर्णायक वार्ता पनि भइसक्ने बताए । रास्वपा नआएपनि अन्य सबै नयाँ र बैकल्पिक शक्तिलाई साथमा लिएर बालेन साह अगाडि बढ्ने उनले संकेत गरे। ‘बालेन जिले म अगाडि बढ्दैछु भनेर भनिसक्नु भएको छ, रास्वपा समेटेर लाने भन्ने नै हो, १४ गतेभित्र निर्णायक वार्ता पनि भइसक्छ,’ उनले भने, त्यो नभए पनि कुलमान घिसिङ, जेन–जी युवाहरू, विवेकशिललगायत नयाँ र वैकल्पिक शक्तिलाई एक ठाउँमा लिएर बालेन शाह अगाडि बढ्नु हुन्छ।’
प्रधानमन्त्री को ? अब तोकेर किन अघि नबढ्ने ?
नयाँ र वैकल्पिक शक्तिमा अबको प्रधानमन्त्री को भन्ने विषय पेचिलो छ । बालेन साह, रवि लामिछाने र कुलमान घिसिङ तीनै जना प्रधानमन्त्रीको दाबी गरिरहेका छन् । उनीहरूको मुख्य चासो आफू प्रधानमन्त्री बन्ने भन्नेमै देखिएको छ। उनीहरूका वार्ता संवादमा पनि प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न आग्रह भइरहेको नेताहरू बताउँछन्।
बालेनले आफूलाई प्रधानमन्त्री स्वीकार गरेर जान आग्रह गरेका छन्। रविले पनि आफू नै प्रधानमन्त्री हुनुपर्ने अडान लिएका छन्। कुलमानले त रवि जेलमा हुँदा नै आफू प्रधानमन्त्री र पार्टीको नेतृत्व रविले गर्ने भन्ने सहकार्यको प्रस्ताव नै पठाएका थिए। तर, वालेन, रवि र कुलमानमध्ये एकलाई प्रधानमन्त्री प्र्रस्ताव गरेर निर्वाचनमा गएमा भने परिणाम नयाँ र बैकल्पिक शक्तितर्फ केन्द्रित हुने सम्भावनाको विश्लेषण हुने गरेको छ।

.jpg)



0 Comments