सीमामा एकतर्फी भारतीय सडक

–काली नदीमा ब्लास्टिङ गर्दा नेपालतर्फ पहिरो –कतै नदी थुनियो, कतै पहाडै खस्यो – सीमाविद् भन्छन्– नदी थुन्ने गरी सडक बनाउन पाइँदैन भारतले नेपाली भूमिमा क्षति हुने गरी काली नदी किनारमा एकतर्फी सडक बनाइरहेको छ । सुगौली सन्धिअनुसार कालापानी क्षेत्रको काली नदीसम्म नेपाल हो । नदी साँघुरो भएका कारण भारतले ब्लास्टिङ गर्दा नेपालतर्फ पहिरो गएको छ । ‘भारतले सडक बनाउँदा हाम्रोतिर क्षति भइरहेको छ’, स्थानीय पूर्वाधार तथा कृषि सडक विभागका इन्जिनियर जनकराज पन्तले भने, ‘बचेखुचेको घोडेटोमा पनि क्षति पुगेको छ । भारतले सडक बनाउँदा नेपालतर्फ ठाउँठाउँमा भत्किएको छ ।’ पन्त कालापानी जाने बाटोको डीपीआरका लागि स्थलगत अध्ययनबाट भर्खरै फर्किएका हुन् । उनी भारतीय बाटो हुँदै छाङरुङनजिक पुगेका थिए । गुम्दीसम्म भारतले सडक बनाइरहेको जानकारी उनले दिए । उनका अनुसार कतिपय स्थानमा भारतले नेपाली भूमिबाट एस्काभेटर लगिरहेको छ । ‘भारतले ब्लास्टिङ गर्दा थर्र्किएर धेरै ठाउँमा पहाडै खसेको छ’, उनले भने । कतिपय स्थानमा नदी थुनिएको छ । बाटामा कहीं पनि नेपाल प्रहरी नदेखेको उनले बताए । भारतीय प्रहरी र अर्धसैनिक बल भने जताततै थिए । भारतले ६ महिनासम्म कालापानीसम्मै सडक पु¥याउने गरी द्रुतगतिमा बाटो बनाइरहेको छ । सो सडक मानसरोवरसम्म पु¥याउने लक्ष्य भारतको छ । स्थलगत सर्वेक्षणमा नेपालले चाँडै बाटो बनाउनुको विकल्प नरहेको पन्तले बताए । ‘नेपालबाट हिँड्ने बाटो त चाहियो नि’, उनले भने । पञ्चायतकालमा कालापानीसम्म पुग्ने घोडेटो बाटो थियो । अधिकांश स्थानमा त्यसको नामोनिसान छैन । बाटो भएका ठाउँमा पनि भारतले सडक बनाउँदा क्षति भएको छ । ‘हाम्रो बाटो बनाउँदा उता असर पर्छ । उसले बनाउँदा हाम्रोमा क्षति पुगेको छ’, उनले भने, ‘नदी साँघुरो भएका कारण हामीले बाटो बनाउँदा उता क्षति पुग्छ अनि उसले कसरी बनाउन दिन्छ ? पाँच ठाउँमा त पहाड खोपेर झोलुंगे पुल बनाउनुको विकल्प छैन ।’ सीमाविद् पुण्यप्रसाद ओलीले सीमा क्षेत्रमा ढुंगा फुटाउँदा पनि छिमेकी राष्ट्रको सहमति चाहिने बताए । ‘नदी थुन्ने गरी सडक बनाउन पाइँदैन’, उनले भने, ‘त्यो राष्ट्रियता र सार्वभौमिकतासँग सम्बन्धित विषय हो ।’ यसमा सरकार गम्भीर हुनुपर्ने उनले बताए । ‘स्थानीय प्रशासनले गृह मन्त्रालय हुँदै परराष्ट्रलाई जानकारी गराउनुपर्छ’, उनले भने, ‘परराष्ट्र मन्त्रालयले त्यसबारे भारतसँग कुरा गर्नुपर्छ ।’ ०० नेपालतर्फ घोडेटोको डीपीआर सरकारले कालापानी क्षेत्र जाने घोडेटो बाटोको डीपीआर बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका–२ दाम्लिङबाट व्यास–१ छाङरुङसम्मको ३० किलोमिटर बाटो स्थलगत अध्ययनपछि डीपीआर बनाउन थालिएको छ । भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नक्सा बनाएपछि त्यो क्षेत्रमा जाने बाटोसमेत नभएको भन्दै आलोचना भएको थियो । काली नदी (महाकाली) किनारैकिनार लैजाने गरी घोरेटो बनाउन डीपीआर एक महिनाभित्र बुझाइने पन्तले बताए । स्थलगत सर्वेक्षणमा विभागका डिभिजनल इन्जिनियर महेश्वर घिमिरे पनि सहभागी थिए ।

Post a Comment

0 Comments