त्रिविको जग्गा हिनामिना, अख्तियारले थाल्यो अनुसन्धान


https://www.annapurnapost.com/story/489094/

त्रिवि अतिक्रमण – शृंखला ५

त्रिविको जग्गा हिनामिना, अख्तियारले थाल्यो अनुसन्धान

त्रिविको जग्गा हिनामिना, अख्तियारले थाल्यो अनुसन्धान
तस्बिर : अशोक दुलाल
121Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button


काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय र मातहतका आंशिक क्याम्पसका अर्बौं मूल्य बराबरका जग्गा जमिन तथा अचल सम्पत्ति हिनामिनाबारे अनुसन्धान अघि बढाएको छ । अख्तियारले विश्वविद्यालयबाट जग्गा र अचल सम्पत्तिसम्बन्धी फाइल र कागजात नियन्त्रणमा लिइसकेको छ । 

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार विश्वविद्यालयका पदाधिकारीसँग जग्गा हिनामिनाबारे छलफल गरेकी थिएन् । त्यस क्रममा पदाधिकारीहरूले केही फाइल र कागजात अख्तियारले अनुसन्धानको लागि लगेको जानकारी गराएका थिए । अख्तियार स्रोतले पनि त्रिविको जग्गा जमिन तथा अचल सम्पत्ति हिनामिनाको विषयमा अनुसन्धान थालिएको बताएको छ ।

विश्वविद्यालयको कीर्तिपुर परिसर, डिल्लीबजार, त्रिपुरेश्वर, वसन्तपुर, नयाँ नैकाप, लुभु र कपन क्षेत्रमा प्रशस्त जग्गाजमिन छ । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदनअनुसार कीर्तिपुर परिसरमा मात्रै ५ हजार ५० रोपनी ३ आना १ पैसा १ दाम जग्गा छ । त्रिविको स्वामित्वको कुल जग्गा ५ हजार २१८ रोपनी ७ आना १ पैसा ३ दाम जग्गा छ ।

जसमध्ये झन्डै आधाजसो जग्गा जमिन अपचलन भएको प्रतिवेदनमा उल्लेख छ । विश्वविद्यालयको ८ सय ४३ रोपनी १० आना ६ पैसा १ दाम जग्गा त सरकारी निकाय र विभिन्न गैरसरकारी संघ–संस्थाले उपयोग गर्दै आएका छन् । विश्वविद्यालयको १०८ रोपनी १४ आना २ पैसा ३ दाम लेबोरेटरी माध्यमिक विद्यालयले उपभोग गर्दै आएको छ । राधास्वामी सत्संग व्यास नेपालले त्रिविको १५ रोपनी जग्गा आफ्नो नाममा दर्ता गर्ने कार्य प्रारम्भ गरेको देखिएको छ । 

नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ, त्रिवि कर्मचारी संघले त्रिविको स्वीकृतिबिना भाडा लगाएर आर्थिक लाभ लिने काम गरिरहेको पनि प्रतिवेदनमा छ । नेपाल प्राध्यापक संघले ११ रोपनी जग्गा उपभोग गर्दै आएको छ । त्रिवि प्राध्यापक संघले ३ रोपनी जग्गा उपभोग गर्दै आएको देखिएको छ ।

त्रिविको स्वामित्वमा रहेको ५ रोपनी ४ आना २ पैसा २ दाम जग्गा त्रिवि कर्मचारी संघलाई उपलब्ध गराइएको पनि प्रतिवेदनमा उल्लेख छ । त्रिविकै १ सय ५० रोपनी जमिन बीपी कोइराला मेमोरियल प्लानेटेरियम अब्जरभेटरी तथा विज्ञान संग्रहालयले भोगचलन गरिरहेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको आयुर्वेद रिसर्च सेन्टरले विश्वविद्यालयको ३० रोपनी जग्गा हत्याएको देखिएको छ । 

नेपाल नेत्रज्योति संघले विश्वविद्यालयको १० रोपनी जग्गा नि : शुल्क भोगचलन गरिरहेको छ । रक्तसञ्चार केन्द्र (लायन्स क्लब इन्टरनेसनल) ले पनि त्रिविको जग्गा उपयोग गरिरहेको छ । राष्ट्रिय खेलकुद परिषद्ले क्रिकेट रंगशाला बनाउन भनेर ७० रोपनी जग्गा भोगचलनका लागि त्रिविबाट लिएको छ ।  त्रिविको २ सय ८१ रोपनी १४ आना जग्गा कृषि बागवानी केन्द्रले कब्जा गरेको छ । कीर्तिपुर नगरपालिकाले पनि १ सय रोपनी जग्गा उपयोग गरिरहेको छ । गिट्टी, बालुवा डिपोद्वारा १० रोपनी जग्गा कब्जा गरेको छ । कुनै पेट्रोलपम्प, त्यो नर्सरीले उपभोग गरिरहेका छन् । 

काठमाडौं खानेपानी बोर्ड र खानेपानी तथा ढल निकास समितिलाई पनि त्रिविले १८ रोपनी जग्गा दिएको छ । प्रहरी वृत्त बल्खु÷कालीमाटी र महानगरीय प्रहरी वृत्त कीर्तिपुरले पनि त्रिविको जग्गा उपभोग गर्दै आएका छन् । नेपाल विद्युत् प्राधिकरण कीर्तिपुर वितरण केन्द्रले पनि त्रिविको जग्गा उपभोग गरेको छ । 

सुन्दरीघाटस्थित विद्युत् प्राधिकरणले दक्षिणकाली जाने राजमार्ग पूर्वपट्टीस्थित बागमती किनारको ५ रोपनी जग्गामा आफ्नो सामानहरू भण्डारण गरेको छ । कुनै सम्झौताबिना नै उसले उपभोग गर्दै आएको प्रतिवेदनमा उल्लेख छ । यसका साथै बागमती किनारको सुकुम्बासी बस्ती, कीर्तिपुर १० र काठमाडौं १४ को सिमानाको पक्की बाटोले समेत त्रिविको जग्गा अतिक्रमण गरेको छ । 

न गाउँको सुमो पार्किङ, पर्तिजग्गा, शिवालय, उमादेवी मन्दिर कुमारी क्लबले पनि त्रिविको जग्गा उपभोग गरेका प्रतिवेदनमा छ । कीर्तिपुर परिसर बाहिर डिल्लीबजारमा ३२ रोपनी २ आना २ पैसा, त्रिपुरेश्वरमा १० रोपनी १३ आना ३ पैसा जग्गा छ । जमलमा ७ रोपनी ५ आना, हनुमान ढोका बसन्तपुरमा क्षेत्रमा ४ आना १ पैसा, त्रिवि प्राकृतिक विज्ञान संग्रहालय, स्वयंम्भुमा २१ रोपनी आना, सिन्धुपालचोकको चौतारामा त्रिवी चिकित्साशास्त्र अध्ययन संस्थान(आईओएम)को ४ रोपनी १४ आना १ पैसा १ दाम जग्गा छ ।

कीर्तिपुर परिसरबाहिरका जग्गा पनि दुरुपयोग भएको देखिएको खोजबिन समितिका सदस्य जानकीबल्लभ अधिकारीले जानकारी दिए । तत्कालीन राजपरिवारका सदस्यले त्रिभुवन विश्वविद्यालयलाई ललितपुरको लुभु क्षेत्रमा दानमा दिएको ३७५ रोपनी जग्गा पनि गायब भएको पाइएको छ । नैकापस्थित १२५ रोपनी जग्गा अतिक्रमण भएको छ । विद्वेत शिरोमणि हेमराज पाण्डेको स्मृतिमा उनका छोरा बुहारीले दान दिएको साविकको कपन पञ्चायतमा रहेको २९ रोपनी ८ आना जग्गा स्वामित्वमा आउन सकेको छैन । 

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको जग्गाको अवस्थामा पनि त्यस्तै छ । खोजविनसमितिले काठमाडौं उपत्यका रहेका क्याम्पसको जग्गा जमिन तथा भवनको अवस्थाको अनुसन्धान गरेको छ । देशभरका ६० वटामध्ये उपत्यकामा २२ वटा आंगिक क्याम्पस छ । उनीहरूसँग १ हजार २५३ रोपनी १३ आना २ पैसा १ दाम जग्गाको स्वामित्व, भोगाधिकार छ । पाटन संयुक्त क्याम्पस,महेन्द्र रत्न क्याम्पस ताहाचल लगायतका अधिकांश क्याम्पसको जग्गा अपचलन नै भएको छ ।

उपत्यकाबाहिरका ४० मध्ये २६ वटा क्याम्पसको १० हजार  रोपनी जग्गा रहेको प्रतिवेदनमा छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले २०८१ जेठ १७ गते खोजबिन समिति बनाएको थियो । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणको समितिको नेतृत्व गरेका पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समिति बनेको थियो । विश्वविद्यालयको विभिन्न स्थानमा रहेको जग्गामध्ये प्रारम्भिक चरणमा काठमाडौं उपत्यकाभित्रको जग्गाको अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवनलगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्ने कार्यदेश पाएको थियो । 

समितिका सदस्यमा पूर्वसहसचिव महेन्द्रकुमार थापा, पूर्वसहसचिव जानकी बल्लभ अधिकारी र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. प्रेमसागर चापागाईं सदस्य थिए । समितिले २०८१ जेठ ३१ बाट काम थालेको थियो । तर, संयोजक त्रिताल बिरामी परेका कारण २०८१ असोज २ मा बाँकी कामका लागि समिति सदस्य थापालाई संयोजक तोकिएको थियो । त्यो समितिले २०८१ मंसिर १४ मा केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई प्रतिवेदन बुझाइएको थियो । २०८२ असोज २६ मा यो प्रतिवेदन सार्वजनिक भएको हो । 

सार्वजनिक गरेर सरकार कुनै कामकारवाही अगाडि बढाएको देखिएको छैन् । गुपचुपमा राख्ने प्रपञ्चमा देखिएको छ । प्रधानमन्त्रीद्वारा आयोजित बैठकमा सरकारले प्रतिवेदन अध्ययनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, भूमि व्यवस्था तथा त्रिविका पदाधिकारी समेत समेटेर समिति गठन गर्ने तयार भने गरेको छ । यो समितिले कस्को गल्ती छ, कसले बदमासी गरेको छ, कसलाई कारबाही गर्नेलगायत सबै विषयको अध्ययन गर्नुपर्ने छ । 

हतारमा प्रधानमन्त्री, बैठक अधुरो 
त्रिविको जग्गा हिनामिनाको विषयमा बैठक बोलाएकी प्रधानमन्त्री कार्की आफैं बैठक छोट्याउन लगाएकी थिइन् । मधेस प्रदेशका प्रमुखको शपथग्रहणमा राष्ट्रपति कार्यालयमा जानुपर्ने भन्दै विश्वविद्यालयकी कुलपतिसमेत रहेकी कार्कीले छोटो समयमा नै बैठक सकेकी थिइन् । बैठकमा रहेका एक पदाधिकारीले भने, ‘प्रधानमन्त्रीलाई हतार–हतार थियो । उहाँ प्रदेश प्रमुखको शपथग्रहणका लागि भन्दै राष्ट्रपति कार्यालयबाट तारम्तार फोन आइरहेको भन्दै विना निश्कर्ष बैठक सकेर जानुभयो । औपचारिकता बाहेक बैठकमा केही भएन ।’ 

उता बैठकमा उपस्थीति सरकारका मन्त्रीलगायत टोली बिना तयारी बैठकमा गएका थिए । उनीहरूले प्रतिवेदन नै अध्ययन नगरेको स्पष्ट देखिएको त्यहाँ सहभागीले बताए । उनले भने, ‘सरकारले रिपोर्ट राम्रो अध्ययन नभएको जस्तो हामीलाई लाग्यो । औपचारिकताका लागि मात्रै बैठक बसे जस्तो देखिएको छ ।’

उता प्रधानमन्त्री कार्कीको सचिवालयले त्रिभुवन विश्वविद्यालयको अपचलनमा परेको जग्गा फिर्ता प्रक्रिया र प्रगतिको समीक्षा भएको बताएको छ ।  सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले बैठकमा भनेकी छन्, त्रिविको जग्गा अनधिकृत, असम्बन्धित र गैरप्राज्ञिक पक्षले अतिक्रमण र बिक्रीसमेत गरेर लाभ लिने प्रवृत्तिको अन्त्य हुनैपर्छ । दोषीलाई दण्डित गर्नुपर्छ ।’ 

सरकारले प्रतिवेदन अध्ययन गरेर मन्त्रिपरिषद्बाटै आफूले गर्ने, करबाहीका लागि अख्तियार, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिफासित गर्नुपर्ने हुन्छ । बैठकमा त्रिविका सहकुलपति एवं शिक्षा मन्त्री महावीर पुन, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, त्रिविका उपकुलपति प्राध्यापक दीपक अर्याल, रेक्टर प्राध्यायक डा. खड्ग केसी, रजिस्ट्रार प्राध्यापक केदारप्रसाद रिजाललगायतसँग थिए । 

त्रिविको जग्गा कहाँ कति ? 
कीर्तिपुर परिसर क्षेत्र  :  ५०५०–३–१–१
कीर्तिपर परिसरभन्दा बाहिर 
१. त्रिपुरेश्वर  :  १०–१३–३–०
२.डिल्ली बजार  :  ३२–२–०–२
३. हनुमानढोका, बसन्तपुर  :  ०–४–१–०
जम्मा  :  ५०९३–७–१–३
साविक नयाँ नैकाप भन्ज्याङ  :  १२५ रोपनी 
त्रिविको स्वामित्वको कुल जग्गा  :  ५२१८–७–१–३
उपत्यकाका २१ वटा क्याम्पसहरू  :  १२५३–१३–२–१
उपत्यका बाहिरका ४० मध्ये २६ वटा क्याम्पसको जग्गा  :  १०३३२–१५–१–१.८९
स्वामित्वमा आइनसकेको तर स्वामित्वमा ल्याउन सकिने 
साविक कपन पञ्चायत वडा नम्बर ७ ‘क’  :  २९–८–० (रोपनी)
साविक लुभु पञ्चायत वडा नम्बर ९ ‘क’ समेत  :  ३७५–०–० (रोपनी)
स्वयम्भू क्षेत्र  :  २१–१–०–० (रोपनी)

 

Post a Comment

0 Comments